१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दोस्रो हाफमा पंकज

कान्तिपुर संवाददाता

निम्न मध्यमवर्गका धेरै पिताजस्तै पंकज त्रिपाठीका किसान पिता पनि चाहन्थे, छोरो डाक्टर बनोस् । धेरै पैसा कमाओस् । सुखी र सम्पन्न जीवन बिताओस् । आफ्नो जस्तो दुखी किसानको जीवन छोराले भोग्नु नपरोस् । सबैका बाबु आमाको इच्छा पूरा हुने भए संसारमा कुनचाहिँ छोराछोरीले पो दुःख भोग्नुपर्ने थियो र ! पंकजको जीवनमा आफ्नो पिताले भन्दा बढी दुःख पाउनु लेखिएको थियो । त्यसैले उनको मनमा डाक्टरी चढेन ।

दोस्रो हाफमा पंकज

पटनामा कलेज त सुरु भयो होटल म्यानेजमेन्टको । साथै सुरु भयो छात्र राजनीति । पुरेतका छोरा पंकज लागे, बीजेपीको संगठनमा । नब्बेको दशकको छात्र राजनीति चर्को थियो । पंकज पनि चर्कै निस्किए । हडतालको नेतृत्व गर्न थाले । र, थुनामा पुगे । बिस्तारै राजनीति बेस्वादको लाग्न थाल्यो । मनमा शान्ति हुन छोड्यो । ‘यस्तै मन भड्किइरहेका बेला एक दिन म नाटक हेर्न पुगें,’ पंकज भन्छन्, ‘त्यस दिन बल्ल महसुस भयो मलाई सबभन्दा आनन्द त नाटकमा पो हुने रहेछ ।’ त्यसपछि उनी नियमित नाटकका दर्शक हुनथाले । पटनामा ६ वर्ष पंकजको नाटकगिरी चल्यो । ‘एक दिन एउटा अखबारमा मैले अभिनय गरेको नाटकबारे लेखिएको थियो । त्यसमा मैले चोरको भूमिका गरेको थिएँ । मेरोबारे एक लाइन थियो— यो कलाकारमा केही सम्भावना छ । पत्रिकाले समेत लेखेपछि त म पछि हट्ने कुरै थिएन,’ उनले भनेका छन् ।

पटनाको गाउँमा छँदा चाडपर्वमा केटी बनेर नाच्ने पंकज बिस्तारै नाटकको दुनियाँतिर लम्किन थाले । केही नाटकमा अभिनय गरेपछि पटनामा मन अडेन । अनि लागे, २००१ मा दिल्ली– नेसनल स्कुल अफ ड्रामामा अभिनय पढ्न । २००४ मा यहाँबाट ग्र्याजुएट गरेपछि नाटक गर्न पटना फर्किए । केही समयमा थाहा भयो, यहाँ नाटक गरेर बाँच्न सकिन्न । यसका लागि एउटै ठाउँ थियो— बलिउड, मुम्बई ।

‘म अक्टुबर १६ मा दिल्लीबाट ४६ हजार रुपैयाँ बोकेर मुम्बई गएको थिएँ, त्यसै वर्ष डिसेम्बर २५ मा मेरो गोजीमा जम्मा १० रुपैयाँ बाँकी थियो,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन् । त्यसै वर्ष उनी अभिषेक बच्चनको फिल्म ‘रन’ मा सानो भूमिकामा देखिए । यसको १५ वर्षमा त्रिपाठी अहिले नयाँ बलिउडमा ‘डिजिटल किङ’ बन्दै छन् ।

होटल म्यानेजमेन्टको पढाइ सकेपछि काम सुरु भयो, पटनाको होटल मौर्यमा । किचनको जिम्मा थियो । नाटक र फिल्मको चस्का चढिसकेको थियो । बिहारकै एक गाउँबाट मुम्बई पुगेर स्टार बनेका मनोज बाजपेयी थिए प्रेरणाका स्रोत । ससाना भूमिकामा अभिनय गर्दै १९९८ को ‘सत्या’ बाट रातारात स्टार बनेका बाजपेयी पटना आइजाइ गरिरहन्थे । एक दिन कसैले सुनायो— तेरो मनोज बाजपेयी यही होटलमा आएर बसेको छ त !


‘उनले कुनै पनि कुरा मगाए भने प्लिज मलाई पठाइदेऊ,’ उनले किचन विभागमा अर्जी हाले । तर, मौका मिलेन । दुई दिन बसेर बाजपेयी हिँडे । स्टोरको एउटा केटाले भन्यो, ‘तेरो बाजपेयीले चप्पल छोडर गएछ ।’ उनले बिन्ती बिसाए, ‘स्टोरमा राखेर यो चप्पल तिमीहरूले के गर्छौं ? मलाई देऊ । म त्यसलाई रामको खराउ जसरी राख्नेछु ।’ पंकजमा भरतको रूप प्रकट भयो । स्टोरको केटाले उनको भक्ति देखेर चप्पल दियो । ‘मलाई त्यस दिन ठूलो खजाना प्राप्त गरेजस्तो लाग्यो,’ पंकज भन्छन् ।

हालै ‘कपिल शर्मा सो’ मा हिन्दीका प्रसिद्ध कवि डा. कुमार विश्वासको कवितासंग्रह विमोचन गर्न मनोज वाजपेयीसँगै पंकज पनि आए । यो सोमा फेरि एकपटक मनोज बाजपेयीको चप्पलको किस्सा चल्यो । मनोजले भने, ‘ग्यांग्स अफ वासेपुरको सुटिङका बेला एक दिन पंकज मेरो छेउमा आयो र भन्यो— पटना मौर्यमा तपाईंको चप्पल हराएको याद छ ? मैले बिर्सिइसकेको थिएँ । उसैले भन्यो त्यो चप्पल मैले राखेको थिएँ ।’ सोमा यो कुरा चल्दा पंकज निकै भावुकसमेत भए । अनुराग कश्यपको ‘ग्यांग्स अफ वासेपुर’ (२०१२) मा सुल्तान नामक कसाहीको चरित्रमा देखिएपछि पंकज दर्शकको नजरमा परे । यसका लागि उनको अडिसन मात्रै ८ घण्टा चलेको थियो । नील बट्टे सन्नाटा, मसान, फुर्के, अनारकली अफ आरा, गुणगाव, बरेलीकी बर्फी, न्युटन, स्त्री र सुपर ३० जस्ता फिल्मले पंकजलाई बलिउडमा स्थापित गराए । ‘न्युटन’ का लागि त उनले राष्ट्रिय पुरस्कारसमेत पाए । ‘सिक्रेड गेम्स’ र ‘मिर्जापुर’ जस्ता वेब सिरिजले उनलाई डिजिटल दुनियाँको पनि स्टार बनाइदिएका छन् ।

‘कुनै बेला थियो म आफ्नो फोन घरमा फोनको सबभन्दा राम्रो नेटवर्क लाग्ने ठाउँमा राख्थें । मलाई लाग्थ्यो कुनै कास्टिङ निर्देशक वा सहायक निर्देशकहरूको फोन आइहाल्ला र मेरो फोन नलाग्ला । कैयौं दिनसम्म फोन त्यहीं हुन्थ्यो तर एकपटक पनि बज्थेन,’ उनले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘अहिले मेरो फोन यति बज्छ कि म उठाउन सक्दिनँ ।’ साथीहरूले बलिउडमा काम गर्न बम्बई बोलाउँदा पंकजले एउटा रणनीति बनाएका थिए— बाँच्नका लागि ससानाजस्ता भूमिका आउँछन्, सबैमा अभिनय गर्ने । ‘म अभिनय गर्न सक्थें, पढेको पनि थिएँ । मैले अभिनयलाई नै करिअर बनाउने निर्णय गरेपछि यसले मलाई बचाउनु पनि त पर्‍यो । मेरा लागि बाँच्नु पहिलो कुरा हो, अभिनय दोस्रो । तपाईं जीवित रहे न कला देखाउन सक्नुहुन्छ । तपाईं नै रहनुभएन भने केको कला ?’ उनले भन्ने गरेका छन् । यही नीतिअन्तर्गत उनले ‘रन’, ‘अपहरण’ र ‘ओमकारा’ जस्ता फिल्ममा एक दुई दृश्यमा अभिनय गरे । यी सबै चर्चित र सफल फिल्म थिए । तर, यिनको क्रेडिट टाइटलमा उनको नामसमेत थिएन । तर, त्यही सानो भूमिकाबाट आएको पैसाले उनी भाडा तिर्थे । ‘मुम्बई आएको पहिलो वर्ष मेरो गोजीमा श्रीमतीको जन्मदिनमा केक वा गिफ्ट किन्ने पैसा थिएन । त्यसै दिन मैले प्रण गरेको थिएँ, पहिला बाँच्न सक्ने बन्छु, त्यसपछि बल्ल कला देखाउनतिर लाग्छु ।’ यस्ता ससाना भूमिकाले बचाउँदै आएको पंकजले आठ वर्षपछि बल्ल ‘ग्यांग्स अफ वासेपुर’ पाएका थिए । यो फिल्मले भने उनलाई स्टार बनाउने बाटोमा पुर्‍याइदियो ।

स्टार बने पनि पंकज आफ्नो पुरानै शैलीमा कायम छन् । उनको कुनै प्रचार संयन्त्र छैन । उनी सबै स्क्रिप्ट आफैं पढ्छन् । निर्देशक र कास्टिङ निर्देशकसँग आफैं मिटिङ गर्छन् । दुई वर्षअघि समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘बलिउड खासमा कुवाका भ्यागुताहरूले भरिएको छ । यिनका लागि संसार यही मुम्बई सहर र यहींको मिडिया हो । पेज थ्रीमा जसको फोटो धेरै छापियो त्यही सफल हो भन्ने यिनलाई लाग्छ । मिडिया र प्रचार हेर्नका लागि सबैले मान्छे राखेका हुन्छन्, तिनले जे सुनाउँछन् स्टारले त्यही पत्याउँछन् । म यस्ता कुरामा विश्वास गर्दिनँ । संसार धेरै ठूलो छ । मेरा प्रशंसक मुम्बईमा मात्र छैनन् । राजस्थानमा छन् । भारतबाहिर नेपालमा पनि मेरा निकै प्रशंसक छन् । म ती दर्शकलाई ध्यानमा राख्छु, जो मेरो पहुँचभन्दा पर छन् तर मेरो फिल्मको नजिक छन् ।’

५५ वर्षको हाराहारी उमेरमा रहेका तीन खान, अजय देवगन र अक्षयकुमारको दबदबा रहेको बलिउडमा ४२ वर्षीय पंकज हिरो हिरोइनका बाबुको भूमिका गरिरहेका छन् । तर, उनलाई यसमा आपत्ति छैन । ‘म कुन चरित्रमा छु भन्ने महत्त्वपूर्ण होइन, अभिनेताका रूपमा मैले त्यसलाई कत्तिको विश्वसनीय र रोचक बनाउन सकें भन्ने महत्त्वपूर्ण हो । म राम्रो अभिनेता हो कि होइन भन्ने कुरा मैले पाउने भूमिकाले होइन मैले त्यसलाई न्याय गर्न सक्ने क्षमताले निर्धारण गर्छ,’ उनी भन्छन् ।

मनोज बाजपेयी र इरफान खानको सफलतापछि बलिउड अहिले राम्रो अभिनय गर्ने औसत ‘लुक्स’ का अभिनेताहरूप्रति पनि आकर्षित छ । यसैको फलस्वरूप नवाजुद्धिन सिद्दिकी, केके मेनन, सञ्जय मिश्रा र पंकज त्रिपाठीजस्ता अभिनेताहरू बलिउडमा स्टार भइरहेका छन् । हुन त असी र नब्बेको दशकमा पनि नसिरुद्धिन शाह, ओम पुरी, पंकज कपुरजस्ता अभिनेताहरू थिए । तर, उनीहरू मुख्यतः समानान्तर सिनेमामा मात्र देखिन्थे । अहिले भने त्यो अवस्था छैन । धर्मा प्रोडक्सनको ‘ड्राइभ’, कंगना रनावतको ‘पंगा’, इरफान खानसँग ‘अंग्रेजी मिडियम’ र कपिल देवको बायोग्राफी ‘८३’ लगायतमा पंकज देखिदैछन् ।

पंकज त्रिपाठी अभिनयलाई सिक्नुपर्ने कुरा मान्छन् । ‘तपाईंमा केही खुबी छ भने पनि त्यसलाई परिस्कार गर्दा झन् राम्रो नि । कोही प्यासनले मात्र डाक्टर वा इन्जिनियर बन्न सक्दैन । भावना वा आवेग/संवेगको सिर्जना जीवनमा हुन्छ । अभिनेताले त्यसको पुनःसिर्जन गर्ने हो । यसका लागि थोरै प्रशिक्षण आवश्यक हुन्छ,’ उनले द हिन्दुसँगको अन्तर्वार्तामा भनेका छन् ।

पंकजका केही ‘स्वप्न भूमिका’ छन्, जसमा उनी अभिनय गर्न चाहन्छन् । साहित्यानुरागी पंकजको रोजाइका ती भूमिका हुन् फणिश्वरनाथ रेणुको कथा ‘मारे गए गुलफाम’ र श्रीलाल शुक्लको उपन्यास ‘रागदरबारी’ का पात्र । मारे गए गुलफाममाथि भने यसअघि नै फिल्म बनिसकेको छ । सन् १९५७ मै कवि/गीतकार शैलेन्द्रले यो कथामाथि ‘तिसरी कसम’ नाम फिल्म निर्माण गरेका थिए । वासु भट्टाचार्यले निर्देशन गरेको यो फिल्ममा राजकपुरले हिरामनको भूमिकामा अभिनय गरेका थिए भने वहिदा रहमानले हिराबाईको ।
–एजेन्सी

प्रकाशित : कार्तिक २, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?