३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'वाइल्ड' शुक्लाफाँटा

आरके अदीप्त गिरी

नेपालको एक मात्र बाह्रसिंगा भूमि— शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । सुन्दर सुदूरपश्चिमको दक्षिण–पश्चिमी कुनामा अवस्थित । शुक्लाफाँटाको विशाल छातीमा चरिरहेका बाह्रसिंगाको दृश्य पर्यटकहरूका लागि अविस्मरणीय त छ नै, उत्तिकै सुन्दर पनि । उसो त यहाँ बाह्रसिंगा मात्रै छैनन् । दुर्लभ पाटेबाघ, गैंडा, हात्ती, कृष्णसार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल आदि थुप्रै संरक्षित जीव छन् । यी विविधामय जैविकी र प्रकृतिले गर्दा यहाँ आउने पर्यटकले एकसाथ अनेक आनन्दानुभूति सँगाल्न सक्छन् ।

'वाइल्ड' शुक्लाफाँटा

त्यस्तै शुक्लाफाँटाको विशाल जंगलले अनेकन किसिमका चराचुरुंगीलाई समेत आश्रय दिएको छ । यसको कञ्चन आकाशमाथि आफ्ना बहुरंगी पखेटाहरू फैलाएर कावा खाइरहेका ती चराहरूको दृश्य अझ आनन्ददायी हुन्छ । हर्ष र उमंगले त्यसै पुलकित भइदिन्छ मन ।घना जंगलबीच आँगनजस्तो यस ठाउँमा कतैबाट अचानक देखापर्छ दुर्लभ पाटेबाघ । तब अघिसम्म निर्धक्क रमाइरहेको मनमा हल्का डर पनि पस्छ । गैंडाहरूको मस्तीले फेरि मन हर्न थाल्छ । हात्तीहरूको लम्काइले हाम्रो आफ्नै जीवनको पदचाप सम्झना हुन्छ । यी यावत् दृश्य–संयोजनले लाग्छ, शुक्लाफाँटा विचित्र छ । मानौँ कि प्रकृतिको कलाकारिताले सुसज्जित ।

कोसीटप्पुपछिको ‘चरा–हब’ का रूपमा पनि परिचित छ शुक्लाफाँटा । दुर्लभ पन्छी खरमजुर यहाँ देख्न पाइन्छ । मयूर, किंगफिसर, सारस, सिमतित्रा, विश्वमै दुर्लभ मानिएको लेसर भुँडीफोरलगायत करिब ४ सय २४ प्रजातिका पन्छीहरू यहाँ छन् ।

शुक्लाफाँटाको आकार कति हो ? तथ्यांक बोल्छ— ३ सय ५ वर्गकिलोमिटर । सुरुमा (विसं २०२६) ‘शाही सिकार आरक्ष’ को रूपमा स्थापित शुक्लाफाँटालाई पछि (विसं २०३१) ‘वन्यजन्तु आरक्ष’ बनाइयो । लामो समय पर्यटकहरूका लागि यहाँ सहज पहुँच थिएन । विसं २०७३ मा सरकारले यहाँको पर्यापर्यटन विकासका लागि भनेर राष्ट्रिय निकुञ्ज घोषणा गर्‍यो । त्यसपछि नै यसको पर्यटकीय विकासमा समेत ध्यान दिन थालिएको हो ।

निकुञ्ज आसपासको २४३.५ वर्ग किमि क्षेत्रलाई विसं २०६१ मा मध्यवर्ती क्षेत्र घोषणा गरियो । त्यसपछि सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।शुक्लाफाँटाको बीचोबीचमा छ— हरियो विशाल घाँसैमैदान । उपत्यकाझैं लाग्ने करिब ५५ वर्ग किमि क्षेत्रफलमा फैलिएको हरित घाँसेभूमि यहाँको अर्को आकर्षण हो । जहाँ बाह्रसिंगा निर्धक्क चरिरहेका देखिन्छन् । यही घाँसेभूमि हो उनीहरूको बासस्थान र आहारा क्षेत्र । एसियाकै ठूला घाँसेमैदानमध्ये यसलाई समेत चित्रित गरिएको पाइन्छ । बाह्रसिंगालगायत जैविक विविधता र वन सम्पदाको अध्ययन गर्न चाहनेहरूका लागि यो निकुञ्ज एउटा खुला विश्वविद्यालय हो ।

शुक्लाफाँटाको अर्को महत्त्वपूर्ण विशेषता छ— सिमसारको । यसभित्र थुप्रै सिमसार क्षेत्र छन् । सिमसार गैंडाको प्रमुख बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका गैंडाहरूले सिमसार क्षेत्र पाएरै यहाँ सहज जीवन बिताइरहेका छन् । डेढ दर्जन हाराहारी रहेका गैँडाको संख्या पनि बर्सेनि बढ्दो छ ।सन् २०१४ को वन्यजन्तु गणनाअनुसार यहाँ २३ सयको संख्यामा बाह्रसिंगा छन् । अहिले अनुमान गर्दा पनि त्यो झुन्ड सयौँको संख्यामा वृद्धि भएको हुन सक्छ ।भारतीय वन्यजन्तु आरक्षण ‘लग्गाभग्गा’ सँगै पाखुरी जोडेसरी जोडिएको छ यो । सीमाले निकुञ्ज छेक्न नसक्ने रहेछ । त्यसैले पनि शुक्लाफाँटा दुईदेशीय ‘जंगल हब’ बनेको छ । जनावरहरूलाई सिमानाले असर गर्दै गर्दैन । तिनीहरू बिनाबाधा सीमा वारपार गर्छन् ।

तर, बाह्रसिंगा भने भारतीय जंगलमा पाइँदैन । शुक्लाफाँटामा रहेको घाँसे मैदान नै उनीहरूको चरिचरन एवं बासस्थान भएकाले यसै वरिपरि रम्ने गर्छ । पहिलेपहिले भारतीय जंगलमा धेरैजसो बास बस्न रुचाउने हात्तीहरूको झुन्ड पनि अहिले यहाँको सहजताका कारण शुक्लाफाँटामै रमाउन थालेका छन् ।

शुक्लाफाँटाको मुख्य विशेषता बाह्रसिंगाका आफ्नै केही गजब विशेषता छन् । यसले समय–ऋतुअनुसार आफ्नो शरीरको रङ परिवर्तन गर्छ । प्रत्येक दुई वर्षको अन्तरालमा आफ्ना सिङहरू फेर्ने गर्छ । यो रहस्यमय विशेषता वैज्ञानिक खोज र अनुसन्धानको विषय हो ।


बाह्रसिंगा सिङ भएको ‘स्पोटेड डियर’ हो भन्ने धेरैको बुझाइ हुन सक्छ । तर, बाह्रसिंगा विश्वमै दुर्लभ मानिएको फरक प्रजातिको जनावर हो । यसबारे गलत बुझाइलाई चिर्न मात्र सक्ने हो भने पनि शुक्लाफाँटालाई बाह्रसिंगाको हबका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिन्छ ।



कसरी अवलोकन गर्ने ? मचानमा बसेर मज्जाले अवलोकन गर्न सकिन्छ । शुक्लाफाँटाको छातीमा रमाइरहेका ती चुरुंगी र जनावरलाई सहजै अवलोकन गर्न सकिने व्यवस्था निकुञ्जले नै मिलाइदिएको त्यहाँ भेटिएका आरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए । अग्लो मचानमा चढेर आँखाले भ्याएसम्म वन्य जीवनको अवलोकन गर्दै रमाउन पाइन्छ ।


सफारी सोखिनहरूका लागि पनि यो उपयुक्त गन्तव्य हो । नेपालकै सर्वाधिक लामो ‘जंगल जिप सफारी’ यहाँको अर्को विशेषता हो । हात्ती सफारीको पनि यहाँ राम्रो व्यवस्था छ । यी दुवैको प्रयोग गर्न नचाहनेले भरपर्दो गाइड लिएर ‘जंगल वाक’ मा निस्कन पनि सक्छन् । आफ्नै निजी सवारी प्रयोग गर्न चाहनेले पनि निकुञ्जका निश्चित सर्त स्विकारेर प्रवेश गर्न सक्छन् । माघदेखि चैत, वैशाख–जेठलगायतका महिनाहरू यहाँ भ्रमणका लागि उपयुक्त मानिन्छ ।
[email protected]/fb.com

प्रकाशित : कार्तिक २, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?