कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फरक छनोट, झन् चर्चा

गत वर्ष प्रदान नगरिएको साहित्यको नोबेल यस वर्ष घोषणा हुनासाथ विवादमा आयो । कारण थियो, यसपालि पुरस्कृत गरिएका लेखकका अभिव्यक्ति ।
बुद्धिसागर मरासिनी

राजनीतिक विचारका कारण विवादमा पर्ने कमै साहित्यकारमा पर्छन् अस्ट्रियाली लेखक पिटर हान्डके  । युद्धअपराधी स्लोबोदान मिलोसेभिचको सन् २००६ मा गरिएको अन्त्येष्टि समारोहमा गरेको टिप्पणीपछि उनी निकै विवादमा परे  ।

फरक छनोट, झन् चर्चा

‘बाल्कनको कसाही’ उपनामले समेत परिचित मिलोसेभिचको आदेशका कारण सन् १९९३ को बोस्निया युद्धमा १ लाख मानिसले ज्यान गुमाए । सर्बिया तथा युगोस्लाभियाका पूर्वराष्ट्रपति मिलोसेभिचलाई बोस्निया, क्रोएसिया र कोसोभोमा गरिएका क्रूर आक्रमण तथा यातनामा दोषी ठहर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधी घोषित गरेको थियो ।

मिलोसेभिचको अन्त्येष्टिका क्रममा उनले भनेका थिए, ‘मलाई सत्यता थाहा छैन । तर म हेर्छु, म सुन्छु, म अनुभव गर्छु, म स्मरण गर्छु । त्यसैले म आज यहाँ छु, युगोस्लाभिया, सर्बिया र स्लोबोदान मिलोसेभिचको नजिक ।’ अन्त्येष्टिमा बोल्दै उनले मिलोसेभिचले आफ्ना जनताको प्रतिरक्षा गरेको बताएका थिए । नाटक तथा उपन्यास सिर्जनामा क्रियाशील हान्डकेले जर्मनीको प्रतिष्ठित हेनरिच हेइन पुरस्कारका लागि गरिएको छनोटबारे प्रश्न उठेपछि रद्द गर्न माग गर्दै पत्रसमेत लेखे । पुरस्कारबारे स्वतन्त्र जुरीले निर्णय गर्ने भए पनि डुजलडर्फ सहरको काउन्सिलले अनुमोदन गर्नुपर्ने प्रावधान छ । डुजलडर्फको सिटी काउन्सिलले जुरीको निर्णयविरुद्ध भिटो लगाउने बताएपछि उनले आफूलार्ई पुरस्कारको आवश्यकता नरहेको भन्दै पत्र मेयरलाई लेखेका थिए ।

यसका साथै ‘केही क्षणका लागि ध्यान केन्द्रित गर्ने भएकाले साहित्यकारहरूका सिर्जना मार्ने’ भन्दै साहित्यका लागि नोबेल पुरस्कार उन्मूलन गर्नुपर्ने बताएका थिए । तर यिनै साहित्यकार हान्डकेलाई सन् २०१९ का लागि स्विडिस एकेडेमीले साहित्यको नोबेल पुरस्कार दिने घोषणापछि पक्ष–विपक्षमा विचार आइरहेका छन् । एकेडेमीले ‘हान्डकेको विचारलाई उनको सिर्जनशीलतासग जोडेर हेर्न नहुने’ भन्दै आफ्नो निर्णयको बचाउसमेत गरेको छ ।
७६ वर्षीया अस्ट्रियाली हान्डेकलाई ‘मानव अनुभवको विशिष्टता र परिधिको अन्वेषणका लागि विशेष योगदान पुर्‍याएका कारण’ यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिको भनाइ छ ।

एकेडेमीका अनुसार पुरस्कार ग्रहण गर्ने स्वीकार गरेपछि निर्णय लिइएको हो । हान्डकेका समर्थकहरूले ‘रुढीवादी सोचबाट अलग हान्डकेका विचारले स्वतन्त्र राजनीतिक चिन्तनसम्बन्धी सकारात्मक वादविवादलाई उजागर गर्न मद्दत पुर्‍याएका’ दाबी गर्छन् । तर पनि कतिपय साहित्यकारका विचारमा यो नोबेल समितिको इतिहासमा एक फरक छनोट हो । त्यसैगरी, यसै वर्ष घोषित सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोलिस साहित्यकार ओल्गा टोकारजुक जितेकी छन् । उनी पोल्यान्डको राजनीतिकी आलोचक तथा प्रखर वक्तासमेत हुन् ।


पोल्यान्डकी बेस्टसेलर टोकारजुक
आफ्नो छैटौं उपन्यास ‘फ्लाइट्स’ का लागि सन् २०१८ को बुकर अन्तर्राष्ट्रिय पुरस्कार जितेपछि भने निकै चर्चित बनेकी थिइन् । नोबेल समितिले ‘आप्रवासन र सांस्कृतिक संक्रमणको केन्द्रमा रहेका उनका लेखनले वास्तविकता उजागर गरेका’ जनाउँदै पुरस्कार दिने निर्णय गरेको हो । उनी खासगरी कल्पना दन्त्यकथासँग र मिथकलाई इतिहाससँग जोड्ने खुबीका लागि बेजोड मानिन्छिन् । सन् २०१८ को नोबेल पुरस्कारका लागि पनि उनको उपन्यास ‘फ्लाइट्स’ बाट जुरी प्रभावित भएका हुन् । पुस्तकमा उनले ‘समकालीन घुमन्ते मानिसको कथा’ लाई मनोवैज्ञानिक विम्बहरूसहित केलाएकी छन् ।

राजनीति तथा मनोविज्ञानका क्षेत्रमा समेत क्रियाशील टोकारजुक पोल्यान्डमा महिला अधिकारकर्मी तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा समेत उत्तिकै जागर चलाउँछिन् । उनले आफूले मानिसको सोचको दायर बढाउन, नयाँ दृष्टिकोण अघि सार्न र विभिन्न परिस्थितिको विश्लेषण गर्न र नयाँ कोण विकसित गर्न सघाउने उद्देश्यले साहित्य सिर्जनामा लागेको बताउँछिन् । उनी भन्छिन्, ‘म पाठकलाई दुविधामा पार्न निकै मन पराउँछु ।’स्विडिस एकेडेमीका सदस्यसँग सम्बन्धित एक विवादास्पद यौनकाण्डका कारण सन् २०१८ का लागि साहित्यतर्फको नोबेल पुरस्कार घोषणा स्थगित गरिएको थियो । एकेडेमीका सचिव म्याट्स माल्मले गतसाता स्टकहोममा पुरस्कार विजेता घोषणा गरेका हुन् ।आगामी डिसेम्बर १० मा स्टकहोममा हुने विशेष समारोहमा विजेताद्वयलाई जनही ९ लाख १८ हजार अमेरिकी डलर तथा स्वर्ण पदक प्रदान गरिनेछ । प्रारम्भिक छनोटमा ८ जनामध्ये दुईलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

(एजेन्सीको सहयोगमा ।)

प्रकाशित : कार्तिक २, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?