राजगोमन रहस्य

सर्पले पनि गुँड बनाउँछ भन्ने तपाईंलाई थाहा छ ? सामान्यतः सर्पका अधिकांश प्रजाति अर्काले बनाएका प्वालमा बस्छन्  । लुक्न उपयोग गर्ने आश्रय आफैं बनाउने सरिसृपका प्रजाति नगन्य छन्  ।

राजगोमन रहस्य

प्रजनन्को याममा फुल पार्न आफ्ना लागि चराजसरी नै गुँड बनाउने सर्प राजगोमन हो । विषालु सर्पका सूचीमा संसारमै घातकमध्ये अग्रणीमा पर्ने यो सर्प हाम्रै वरपर बस्छ । २० देखि ३० वटासम्म अण्डा पार्ने सर्पको यो प्रजाति नेपालमा तराईदेखि झन्डै २५ सय मिटरसम्मका भूभागमा पाइएको रेकर्ड छ । करिब ३५ वर्षअघि कास्कीको नौडाँडास्थित बाँझगुराँसको जंगलमा राजगोमन भेटिएको थियो । उक्त घटना सार्वजनिक हुनुअघिसम्म नेपालमा पनि सर्पको यो प्रजाति पाइनेबारे यकिन भइसकेको थिएन । सरिसृप अध्ययनका क्रममा उक्त क्षेत्रमा पुग्दा स्थानीय गाउँलेहरूले राजगोमनको आश्रयलाई अजिंगरको गुँड भनेर देखाएका थिए । गुँड बिगारिएको थियो, त्यसका फुटाइएका अण्डाहरूका बोक्रा हेरेर त्यहाँ राजगोमनकै बासस्थान हो भन्ने यकिन गरिएको थियो ।
स्थानीयले गुँड र त्यसमा बसेको सर्प देखेपछि मारेर २५ वटा अण्डालाई फुटाइदिएका रहेछन् । त्यसपछि झन्डै तीन दशकको अवधिमा नेपालमा राजगोमनको गुँड फेला परेको न कतैबाट सुनियो न त सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नेहरूले कतै फेला पारेको उल्लेख गरेको पढ्न–सुन्न मिल्यो ।

विगत ४/५ वर्षदेखि राजगोमनको गुँड पाल्पा, कास्की, मकवानपुर, दोलखा र काठमाडौंलगायतका जिल्लाहरूमा फेला परेका छन् । मकवानपुरको कुलेखानी जंगलमा भेटिएका तीनवटा गुँड जोगाउन धेरै मिहिनेत गर्नुपरेको थियो । दुइटा गुँडका अण्डा स्थानीय गाउँलेले फुटाइदिएका थिए । हामीले स्थानीयलाई राजगोमनको विशेषताबारे जानकारी गराएका थियौं । त्यहाँका तीनवटा गुँडमा ७१ अण्डा रहेछन्, जसमा ५१ वटा अण्डाबाट बच्चा निकाल्न सकियो भने बाँकी २१ वटा नष्ट गरिसकिएका थिए ।


दोलखाको जगात क्षेत्रमा पनि गत वर्ष यस्तै भएको थियो । त्यहाँ गौरीशंकर संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले गुँडमाथि बसेको राजगोमनको फोटो हामीलाई पठाएर ‘कुन सर्प हो ?’ भनेर सोधेका थिए । हामीले ‘राजगोमन हो, गुँड बनाएर ओथारो बसेको अवस्था हो’ भनेर जवाफ दिनुका साथै उक्त क्षेत्रमा त्यसअघि सर्पको उक्त प्रजाति पाइएको अभिलेख नभएकाले जसरी पनि जोगाउनुपर्छ भन्ने सन्देश पठाएका थियौं । स्थानीयलाई उक्त सर्प र त्यो गुँडको विशेषताबारे जानकारी गराएर जोगाउन सकिने सल्लाह दिएका थियौं । हामो सल्लाहमा पाण्डेजी सहमत भए पनि परिणाम अनपेक्षित भयो । सुरुसुरुमा सर्पको गुँड अनौठो भन्दै हेर्नेको भीड लाग्यो । केही दिनपछि गुँडको नामनिसान थिएन ।

आजभोलि राजगोमनको गुँडलाई स्थानीयको कोपभाजनबाट जोगाउन धेरै गाह्रो छ । ‘एउटा सर्पले त हामीलाई टोकेर मार्ने सम्भावना रहन्छ भने यी अण्डाहरूबाट निस्केका बच्चाहरू त झन् हाम्रै गाउँमा आएर घरभित्रसमेत पसेर हामीलाई टोक्ने हुन्’ भन्ने भनाइ सर्वत्र सुनिन्छ, जुन सत्य होइन । मान्छेसँग सर्प डराउँछन् । आफूलाई आपत् परेर प्रतिरक्षा हेतु मात्रै सर्पले डस्ने हुन् । हामीले उनीहरूलाई बाधा नपारे उनीहरूले पनि हामीलाई केही गर्दैनन् ।

गत साउन १० मा सुन्दरीजलको पुवारगाउँमा पत्करको थुप्रोमाथि एउटा ठूलो सर्प केही दिनदेखि बसिराखेको छ भन्ने खबर र तस्बिर हामीले पायौँ । हेरेपछि त्यो राजगोमन हो र गुँड बनाएर बसेको भन्ने बुझ्न हामीलाई गाह्रो भएन । हामी शिवपुरी राष्ट्रिय निकुञ्जका अधिकारीहरूसँग त्यहाँ पुग्यौं । बाँसको गाँजमा पुरानो राजकुलोमाथि राजगोमनको गुँड रहेछ । पहिलोपटक हामी त्यहाँ पुग्दा गुँडमाथि राजगोमन बसिरहेको थियो । हामीले टाढैबाट उसलाई व्यवधान नपुग्ने गरी तस्बिर लियौँ । हामीले अवलोकन गरेको देखेर स्थानीय पनि आए । प्रश्नहरू सोध्न थाले । उनीहरूलाई हामी त्यो सर्प समात्न आएका हौं भन्ने भ्रम परेको रहेछ । ‘जसरी हुन्छ लिएर जानुहोस्’ भन्दै थिए । हामीले एक छिन त्यहाँ बसेर निकुञ्जका कर्मचारी र स्थानीयलाई सर्पको उक्त प्रजातिबारे धेरै चाखलाग्दा कुरा बतायौं, ताकि अन्यत्रजस्तै त्यहाँ पनि गुँड भत्काएर अण्डा फुटाउने काम नहोस् । सर्पको गुँड स्थानीय पवन खड्काको घरभन्दा माथि अन्दाजी १ सय ५० मिटरको दूरीमा थियो । त्यहाँसम्म पुग्न अत्यन्तै साँघुरो र अप्ठ्यारो गोरेटो बाटो मात्र थियो । अतः गुँड भएको ठाउँमा मान्छेहरू विरलै जान्थे । तर, राजगोमनको गुँड छ भन्ने थाहा पाएपछि त्यहाँ पनि दर्शनार्थीको घुइँचो लाग्न सुरु भएको थियो ।

हामी त्यहाँ बस्दै गर्दा जम्मा भएका गाउँलेले धेरै बेरसम्म फिर्न कुनै तरखर नदेखाएका कारण हामीले त्यहाँबाट झर्न लागेको नाटक गर्‍यौं । गुँडभित्रका अण्डा उनीहरूले नदेखुन् भन्ने हाम्रो चाहना थियो । सुरक्षाको दृष्टिले यो जरुरी पनि थियो । केही साथीहरू तल झर्न थाले । त्यहाँ होहल्लाका कारण सर्प पनि गुँड छाडेर अलि तल बाँसघारीभित्र पसेर टाउको मात्र देखाएर बस्यो । त्यसपछि गाउँले पनि तलतिर झरे । हामी त्यही मौकाको पर्खाइमा थियौँ । फटाफट गुँडको अध्ययनका लागि आवश्यक पर्ने तथ्यहरू अभिलेख गर्नतिर लाग्यौँ । गुँड बनाउन प्रयोग गरिएका सामग्री, गुँडको उचाइ, लम्बाइ र गोलाइ नापेर लेख्यौं । अनि सावधानीपूर्वक गुँड उघार्‍यौं । त्यहाँ २३ वटा सुन्दर अण्डा थिए । अण्डा सबै स्वस्थ थिए । पछिका अनुगमनमा आउँदा पुनः प्रत्येक अण्डाको अवस्थाको बारेमा जानकारी होस् भनेर प्रत्येकमा छुट्टाछुट्टै अंक लेख्यौँ । यसरी अंक लेख्दा एउटा अण्डामा तीन फरक–फरक ठाउँमा लेख्यौं, ताकि अन्य कुनै कारणले वा पछि बच्चा निस्कने बेलामा प्वाल पार्दा ती अंक नमेटियोस् । अनि अण्डाका तौल, लम्बाइ र चौडाइको पनि नाप लियौं । त्यसपछि, पुनः अण्डाहरूलाई गुँडमा राखी पोथी राजगोमनले राखेको जसरी नै राम्रोसँग छोपछाप पारिदियौं ।

त्यहाँबाट तल झरेर पवन खड्का दम्पतीसँग उक्त सर्प र गुँडको सुरक्षाबारे कुरा गर्‍यौं । उहाँलाई दिनको कमसेकम एकपटक त्यहाँ गएर अलि टाढैबाट हेरिदिन आग्रह गर्‍यौं । हामीले सबैलाई जति सकिन्छ सो क्षेत्रमा भएको राजगोमनको गुँडको कुरा गोप्य राख्न आग्रह गरेका थियौँ । तर त्यो त्यति सजिलो थिएन । चार–पाँच दिनको अन्तरालमै पत्रिकाहरूमा समाचार आउन थाले । एक कान दुई कान मैदान भनेझैँ टाढाटाढा जिल्लामा भएका साथीहरूले समेत फोन गरेर हामीलाई सोध्न थाले । सबैलाई हाम्रो एउटै उत्तर हुन्थ्यो ‘हुन त हो तर निकुञ्जका अधिकारीले त्यहाँ जान दिएका छैनन् ।’ यति भन्दाभन्दै पनि केहीले उल्टो बाटोबाट गएर समेत गुँडलाई हेर्न र फोटो लिन भ्याए । हामीलाई मुख्यतः तीन कुराको डर थियो । गुँड र गुँडभित्रका ती अण्डालाई स्थानीयले सर्पदंशको डरले फुटाइदिने पो हुन् कि ? ती अण्डाको महत्त्व थाहा पाएकाहरूले चोरेर लैजान्छन् कि ? वा गोहोरो, बँदेल, न्याउरीमुसो, मलसाँप्रोजस्ता जनावरले गुँड बिगारेर अण्डा खाइदिने हुन् कि ? उक्त क्षेत्रमा खोस्रिएका जमिन हेर्दा त्यहाँ बँदेल आउने गरेको प्रस्ट हुन्थ्यो ।

हामी काठमाडौंबाट प्रत्येक दुई हप्तामा उक्त स्थानमा गएर गुँडको अनुगमन गर्थ्यौं । निकुञ्जका अधिकारीहरू सधैं हामीसँगै हुन्थे । प्रत्येकपटक हामीले गुँड उघारेर अण्डाहरूको अवस्था जाँच गरी आवश्यक अन्य सबै तथ्यांक टिपोट गर्थ्यौं । हामी गत भदौ १२ मा त्यहाँ पुग्दा सधैँझैं गुँडमाथि पोथी राजगोमन बसेको देखिएन । कुरा बुझ्दै जाँदा ३/४ दिनअगाडि उसले गुँड छाडेकी रहिछ । यो सामान्य कुरा थियो । सामान्यतः अण्डाबाट जब बच्चाहरू निस्कने समय आउँछ तब माउ सर्प गुँड छाडेर जान्छन् । यसो गर्नुको कारण राजगोमनको सर्पहरू नै खाने बानी र आफू गुँड बनाएदेखि लामो समय केही नखाई बस्ने हुनाले भोकको झोंकमा आफ्नै बच्चा खाइएला भन्ने डर हो ।

यसपालि पनि हामीले उही तरिका दोहोर्‍यायौं । अनुगमनका क्रममा २३ वटामध्ये १७ नम्बरमा एउटा सानो प्वाल परेको भेटियो । त्यस प्वालबाट अण्डाभित्र हेर्दा अण्डाको पँहेलो भाग र बच्चा देखियो । यस्तो अवस्थामा बच्चा कि त मरेको हुन्छ वा नमरेको भए मर्ने सम्भावना अधिकतम रहन्छ । त्यसैले हामीले त्यो अण्डाभित्रको बच्चालाई बिस्तारै चलाएर हेर्‍यौं । यसो गर्दा बच्चा चलेको थाहा पायौं । अब त्यो अण्डालाई अरू अण्डाहरूसँगै राख्दा संक्रमण हुने वा किट/कमिला आकर्षित गर्ने सम्भावना भएकाले हामीले प्रयोगशाला ल्याएर राख्यौं । ल्याएको तेस्रो दिन त्यो बच्चा मरेको पाइयो । अण्डाबाट बाहिर निकालेर नाप लिँदा बच्चा ४१ सेमि लम्बाइको थियो ।

त्यहाँ हामी अन्तिमपटक भदौ १९ मा गयौं । अघिल्लोपटक जाँदा भेटिएको बिग्रिएको अण्डाभित्रको बच्चाको विकास अवस्था देखेर हामीले अबको एक हप्ता हाराहारीमा बच्चा निस्कन्छन् भन्ने बुझेका थियौं । गुँड उघारेर हेर्दा सबै अण्डाबाट बच्चा निस्किसकेका थिए । सबै गुँडभित्रै बसिराखेका देखिए । हामीले ती बच्चाहरूको नापतौल लिनुका साथै तस्बिर पनि लियौँ । त्यसपछि ती बच्चाहरूको वैज्ञानिक व्यवस्थापन गर्ने हेतु विशेष किसिमले बनाइएको कपडाको झोलामा राख्यौं र सुरक्षित स्थानमा लगेर छाडिदियौं । हामो त्यो अन्तिम अनुगमन यात्रामा निकुञ्जका अधिकारीहरूसहित नेपालका लागि अस्ट्रेलियाली राजदूत पिटर बड पनि गएका थिए । सर्पमा रुचि राख्ने उनी सबैभन्दा लामो विषालु सर्प, त्यसको गुँड र अण्डाबाट निस्किएका बच्चा प्रत्यक्ष देख्न पाउँदा निकै खुसी भएका थिए ।

त्यसको केही दिनपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पानी मुहान क्षेत्रमा राजगोमनका दुइटा बच्चा भेटिएको सूचना निकुञ्जका अधिकारीहरूबाट पायौं । ती बच्चाहरूको लम्बाइ हेर्दा कोरलिएको हप्ता दिन जति भएको देखिन्थ्यो । हामीले एक दिन पूरै ती भेटिएको क्षेत्र आसपास खोजी गर्‍यौं तर गुँड फेला परेन । बरु अर्को एउटा बच्चा फेला पर्‍यो, जसको तस्बिर लिएर छाड्यौं । राजगोमनले गुँड बनाउने सुरुका समयमा जमिनमा वर्षे घाँसपात उम्रिएका हुँदैनन् र माउ सर्प पनि बसिराख्ने भएकाले गुँड फेला पार्न अलि सजिलो हुन्छ । वर्षा बढेसँगै घाँसपात बढ्दै जाने हुँदा गुँड छोपिँदै जान्छ र गुँड भेटाउन कठिन हुन्छ । यसको सार कुरा के हो भने जहाँ वयस्क भालेपोथी सर्प हुन्छन् त्यस क्षेत्रमा ती सर्पले गुँड बनाएर बच्चा अवश्य काढ्छन् । हामीले तिनका गुँड भेट्नु संयोग हो । जानिराख्नुपर्ने कुराचाहिँ के हो भने कुनै पनि विषालु सर्पको भर्खर जन्मेको बच्चा पनि आफ्ना आमाबाबुजत्तिकै विषालु हुन्छन् । यसकारण तिनलाई हेपेर जिस्क्याउने चलाउने गर्नुहुँदैन ।

राजगोमनबारे विभिन्न चाखलाग्दा तथ्य लेखिएका भेटिन्छन् । पुराना किताबहरूमा लेखिएको एउटा कुरा के थियो भने गुँड बनाउँदा यसले जमीनमा भएका सुक्खा पातपतिंगर पुच्छरको सहायताले जम्मा पार्छ । तर, हामीले गरेको अध्ययनमा यो प्रक्रिया अलि फरक देखिएको छ । राजगोमनले आफ्नो टाउकोदेखि पुच्छरसम्म शरीरको सम्पूर्ण लम्बाइ प्रयोग गरी गुँड बनाउने गरेको पाइयो, जुन पछिल्लो समय भारत र थाइल्यान्डलगायतमा गरिएका अवलोकनसँग मेल खान्छ । राजगोमन अत्यन्तै आक्रामक हुन्छन् भन्ने पुरातन मान्यताविपरीत हामीले यो सर्प निकै भलाद्मी र डसिहाल्ने प्रवृत्ति नभएको पायौं । नेपालमा अहिलेसम्म राजगोमन सर्पको डसाइबाट मानिसको मृत्यु भएको एउटा मात्र घटना हाम्रो जानकारीमा छ । उक्त घटना पनि मृतकले सो सर्प राजगोमन हो भन्ने पहिचान नगरी सर्पलाई पीडा हुने गरी समाएर खेलाउँदा भएको थियो ।

बासस्थान विनासका कारण सबै प्रकारका सरिसृपका प्रजाति संकटमा छन् । अझ देख्नेबित्तिकै मान्छेले मारिहाल्ने भएकाले सर्प निकै नै असुरक्षित छन् । राजगोमनलाई आईयूसीएनको रेड लिस्टमा सन् २०१० मै ‘असुरक्षित’ को दर्जामा राखिएको छ । यसले पनि अरू सर्प जसरी मुसा खाने भए पनि मुख्य आहारा सर्प नै हो । यसले अरू प्रजातिका सर्पको सिकार गर्छ । संसारमा हालसम्म राजगोमन १९.२ फिट लामो राजगोमन पाइएका छन् । अण्डाबाट निस्केर वयस्क हुन्जेल सर्पलाई अरू जीवजन्तुको सिकार हुनबाट बच्न निकै सास्ती छ । सरदर २० वटा अण्डाबाट निस्कने बच्चामध्ये वयस्क हुने अवस्थासम्म पुग्नेको संख्या आधा दर्जन हाराहारी मात्रै हुन्छ ।

प्रकाशित : कार्तिक २, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?