साँघुरो कोट
यसो उठाउँछु अभिवादनमा हात
दाहिने काखीमा उध्रिनु खोज्छ
सेवारो, नमस्कार गर्दा माननीयहरुलाई
कसैले पाता कसेझौ लाग्छ
सिरानी हालेर सुत्न पनि त पुग्दैन घााटी अररिन्छन
जाडो छेक्छ न गर्मीमा बाहुलाले पसिना पुछ्न मिल्छ
तै पहिरिनै परेको छ बिहेमा, भोजमा, सार्वजनिक समारोहमा...
मलाई थाहा छ—
यसलाई बुन्ने कपडाको जन्म कुनै कारखानामा भएको हो
तर त्यसको गर्भाधान मैजस्तो यही धरतीमा भएको थियो
म जान्दछु—
यसलाई तुन्ने धागो र सियो कस्को हातमा छ !
एक–एक सम्झिल्याउँदा
बजारमा नाङ्गै निस्कुँझौ रिस उठ्छ
तर जति नै रिसमा, जोशमा, लाजसरममा पनि
दुवै हात गोजीमा लुसुक्क छिराएर
बडो शालीन मुद्रामा
बाँच्न त शान्त बाँचेको छु
थाहा छैन यसरी कतिन्जेल बाँच्न सक्ने हो !
मेरो साँघुरो कोट
मैले बाँचेको लोकतन्त्र हो ।