कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ईश्वरको पतन

साधु फलाहारी थिए । चन्द्रमाको गतिअनुसार भोजन गर्थे । प्रतिपदामा एक थोक, द्वितीयामा दुई थोक, पूर्णिमामा पन्ध्र थोक र औंसीमा निराहार । एक दिन सन्ध्या आरतीपछि साधुले छ महिना फलफूल पनि नखाने घोषणा गरे ।
केशव दाहाल

म सानै थिएँ । तामाको मुनाजस्तो । आमाको हात समाएर दलान, आँगन र करेसाबारी गर्थे । आमा मलाई उनकै लयमा संसारको कथा सुनाउँथिन् । उनैबाट मैले रूख चिनें । फूल चिनें । नदी, झर्ना र बादल चिनें । आमाले मलाई मेरो परिवेश, त्यसको सिमाना र व्यापकता बताइन् । आमा भन्थिन्, ‘यो चराचर जगत् ईश्वरको सृष्टि हो । तिमी ईश्वरको सृष्टि हौ ।

ईश्वरको पतन

भँगेरा, जुरेली, गौंथली र धोबीचरा सबै नै ईश्वरका सृष्टि हुन् । यो आकाश र धर्ती ईश्वरको सृष्टि हो । हाम्रो अगाडि भीष्मपितामहझैं उभिएको मकालु हिमाल ईश्वरको सृष्टि हो ।’ आमा ईश्वरमाथि विश्वास गर्थिन् । त्यसैले मैले पनि ईश्वरलाई विश्वास गरें ।
म सात वर्षको थिएँ । त्यही वर्ष हाम्रो गाउँमा एक जना साधु आए । जो आफूलाई ब्रह्मचारी बताउँथे । उमेर ५५ वर्षजति हुनुपर्छ । उनको व्यक्तित्व प्रखर थियो । उनलाई जटाजुट, बिगुत र भष्मको शृंगार खुबै सुहाउँथ्यो । उनी गलामा रुद्राक्षका पाँचवटा माला लगाउँथे । नारीमा पनि रुद्राक्षकै माला बाँध्थे । कलेजी रङको बर्को ओढ्थे । तर खाली खुट्टा हिँड्थे । अनुहारको रोव, आँखाको तेज र रहस्यमय भावभंगिमाले म उनको ‘फ्यान’ भएँ । एक दिन मेरो सानो टाउको सुमसुम्याउँदै उनले भने, ‘यो बच्चा भविष्यमा भगवान्को निकै ठूलो भक्त बन्छ ।’ उनको वचन मेरा लागि त्यो समयकै सर्वाधिक अग्लो उत्प्रेरणा थियो । परिणाम म भक्त प्रह्लादजस्तो बन्दै गएँ । बिहान बेलुका भजन गर्थें । आमासँगै व्रत लिन्थें । मन्दिर जान्थें । यसरी म भगवान्को मात्र हैन ती साधुको समेत ठूलो भक्त भएँ ।

गाउँलेहरू साधुलाई ‘महाराज’ भनेर सम्बोधन गर्थे । उनै महाराजले एक साँझ हाम्रो गाउँमा सधैंका लागि बस्ने मनसाय व्यक्त गरे । सारा गाउँ प्रफुल्ल भयो । महाराजको आज्ञानुसार नै समस्त ग्रामवासीले मिलेर उनलाई सुन्दर कुटी बनाइदिए । जो हाम्रो घर नजिकै थियो । गैरीबारीमाथि, टारमा । नागढुंगाको आडैमा । दायाँतिर ठूलो ओखरको रूख थियो र बायाँतिर काइयोको । बीचमा बाँसको कुटी । बाँसको भित्तो, बाँसकै झ्यालढोका । फराकिलो आँगन, आँगनमा तुलसीको मठ । म कुटीको भव्यताले मोहित भए । साधु फलाहारी थिए । चन्द्रमाको गतिअनुसार भोजन गर्थे । प्रतिपदामा एकथोक, द्वितीयामा दुई थोक, पूर्णिमामा पन्ध्र थोक र औंसीमा निराहार । एक दिन, त्यो पौखे औंसीको दिन थियो । सन्ध्या आरतीपछि साधुले छ महिना फलफूल पनि नखाने घोषणा गरे । उनका लागि दूधको प्रबन्ध गरियो । गाउँलेहरूले कुटीको आडैमा सानो गोठ बनाए र दुईवटा गाई बाँधिदिए । दैनिक काममा सहयोग गर्न तीन जना मान्छे छानिए । कर्किनी भाउजू सेविका बनिन् । उनी बिधवा थिइन् । उनका पति दुई वर्षअघि आसममा कुयंर खेती लगाउने काम गर्दागर्दै बितेका थिए । न्यौपाने साइँला र कोइराला माइला सेवकमा नियुक्त भए ।

साधु महाराज मधुर लयमा कविता गुनगुनाउँथे । शार्दूलविक्रिडित छन्दमा । कहिले ईश्वरको कविता । कहिले गाउँको कविता । कहिले स्वर्ग र नर्कको कविता । उनको मनमोहक भाव र लय सुनेर भक्तजनहरू आह्लादित हुन्थे । उनी भन्थे, ‘तपाईंहरूको भूमि पवित्र छ । तपाईंहरूको मन पनि पवित्र छ । तपाईंहरूभित्र भगवान्को बास छ । तपाईंहरूभित्रको त्यही ईश्वरलाई जागृत गर्न म आएको हुँ ।’ कुराकानीमा उनी गाउँको रोचक रहस्य बताउँथे । भन्थे, ‘तपाईंहरूको गाउँ त्रिभुज आकारको छ । जसको तीन सुरमा तीनवटा देवस्थल छन् ।’ नभदै उत्तरमा सिद्धथान थियो । पश्चिममा नागेश्वर महादेवको गुफा र पूर्वमा सिद्धकाली मन्दिर । यस्तो थियो कि, साधुले सुनाउने प्रत्येक कथाहरू मेरालागि रसपूर्ण थिए । कथासँगै म रुन्थें । हाँस्थें । रमाउँथें । कहिले भावुक हुन्थें । कहिले चञ्चल । बडो आनन्दको समय थियो त्यो । त्यही समयको सिंहासन चढेर म सुदूर भविष्यको कल्पना गर्थें । मेरो कल्पनामा स्वयं मभित्र ईश्वर जागृत हुन्थे । निराकार, निरञ्जन । यो चराचर जगत्मा भगवान्को पवित्रता, कोमलता, शक्ति र सामर्थ्य बोध गरेर म मखलेल हुन्थें ।

यसरी नै आठ महिना बिते । दसैंको चहलपहल सुरु भयो । गाउँमा घर पोत्ने, बाटो सफा गर्ने र लिंगेपिङ हाल्ने काम थालियो । त्यो बेला हाम्रो स्कुल घटस्थापनादेखि नै बिदा हुन्थ्यो । एक दिन, घटस्थापनाको तेस्रो दिन हुनुपर्छ, आमाले मलाई कुटीमा लिपपोत गर्न रातोमाटो दिएर पठाइन् । सानो बोरामा रातोमाटो बाकेर म हानिँदै कुटीतिर लागें । कुटी सुनसान थियो । सबै चकमन्न । म सरासर पूजाकोठा, प्रवचनकक्ष, भान्सा हुँदै साधुको सयनकक्षसम्म पुगें । कोठा शान्त थियो, मात्र साधुको खाट चलायमान देखिन्थ्यो । खाटमा कर्किनी भाउजू र साधु थिए । अर्धनग्न । साधु कर्किनी भाउजूको छातिमा मडारिइरहेका । मलाई देख्नासाथ साधु खाटबाट उठे । भाउजू लुगा मिलाउन थालिन् । साधुले बिस्तारै भने, ‘यी देवी बिरामी परिछन्, त्यसैले झारफुक गरेको ।’ मैले धेरै कुरा बुझिनँ, न मलाई त्यस्ता कुरामा कुनै वास्ता थियो न जानकारी । त्यसपछि पनि दसैंमा म चारपटक कुटीतिर गएँ । संजोग कस्तो भने, चारैपटक साधु कर्किनी भाउजूलाई झारफुक गरिरहेका भेटिन्थे । मलाई फलफूल दिन्थे, त्यसैमा म रमाउँथें र फर्किन्थें ।

एक दिन पानी पँधेराबाट हल्ला सुरु भयो र गाउँभर फैलियो । हल्ला थियो, ‘कर्किनीले पेट बोकेको ।’ पेट बोक्नु भनेको के हो ? पेट कसरी बोक्छन् ? मलाई थाहा थिएन । तर धारा, बारी, खेत सबैतिर उखरमाउलो भएपछि मलाई लाग्यो पक्कै कुरा गडबड छ । कसको पेट हो ? को हो त्यो व्यभिचारी ? सर्वत्र यस्तै प्रश्नहरू सुनिन्थे । त्यो पातकीलाई कोर्रा हान्नुपर्छ । आक्रोश थियो जनजनमा । भाइटीकाको भोलिपल्ट कचहरी बस्ने भयो । राईबा प्रधानपञ्च थिए । उनी पनि आउने भए । कचहरी सुन्न हामी सबै उत्सुक थियौं । त्यसैले सबेरै म र मेरा दौंतरीहरू कुटीतिर लाग्यौं । गाउँका सबै भद्रभलाद्मी कुटीको आँगनमा जम्मा भैसकेका थिए । तर कस्तो अनौठो कि त्यो भीडमा साधु थिएनन् । डिलमा कर्किनी भाउजू थिइन् । विक्षिप्त । उनका आँखाबाट आँसु बगिरहेका थिए । ग्लानि, धोका र वेदनाले अनुहार सुन्निएको थियो । कुरा बुझ्दा थाहा भयो, साधुले राति नै चम्पट ठोकेछन् । कस्तो अचम्म ? ईश्वरको साधक यति धेरै निकृष्ट कसरी हुन सक्छ ? घटना यस्तो थियो कि मान्छेहरू आगो भए । गाउँको विश्वास आक्रोशमा फेरियो । गालीको वर्षा चल्यो । व्यभिचारी, पापी, नीच, पतित आदि । तीव्र आक्रोशमा प्रधानबा आफैंले कुटी भत्काउन सुरु गरे । एकै छिनमा सबै कुरा समाप्त भयो । र, त्यही दिन कुटीसँगै मेरो आस्थाको पहिलो ईश्वर धरमरायो ।

हाम्रो परिवार निकै धार्मिक थियो । बा हरेक बिहान गीता पाठ गर्थे । साँझ भजन गाउँथे । बा भन्थे, ‘गीता अमृत सागर हो’ । आमा साँझ नित्य आरती गर्थिन् । आमासँगै आरतीमा हामी छोराछोरीहरू पनि सहभागी हुन्थ्यौं । भजन गाउँदा बाको स्वर अत्यन्तै मधुर सुनिन्थ्यो । म त्यो स्वरको जादूमा लठ्ठ पर्थें । घरमा यस्तो वातावरण थियो कि तुलसीदासका कविताहरूको भावधारामा हामी ब्युँझिन्थ्यौं र निदाउँथ्यौं । प्रायश एकादशीमा हरिकीर्तन हुन्थ्यो । बा आमा दुवै प्रणामी, त्यसैले प्रत्येक कृष्णअष्टमीमा पारायण लाग्थ्यो । आमा आँखा चिम्लिएर सभक्ति प्राथर्ना गर्थिन् । उनी फुसफुसाउँदै भन्थिन्, ‘भगवान् परिवारमा सुख र शान्ति देऊ । रोग, दुःख र कष्ट नास होस् ।’ त्यो बेला लाग्थ्यो कि आमा साक्षात ईश्वरसंँग संवाद गर्दै छिन् ।

गाउँमा अनेक धार्मिक कार्य हुन्थे । सिद्धथानमा बालाचतुर्दशी मेला लाथ्यो । नागेश्वर महादेवको गुफामा माघेसंक्रान्ति मेला भरिन्थ्यो । चिंखुवाखोलाको ओडारमा संसारी पूजा हुन्थ्यो । हामी सकल परिवार त्यसमा सहभागी हुन्थ्यौं । म स्कुल जाँदा बर्खाको भेलमा अड्किएका कमिला उतार्दै हिँड्थें । न परेवा काटिन्थ्यो न त कीरा फट्यांग्रा नै मारिन्थ्यो । खेतमा आँचिला हान्दा गँड्यौला काटिन्थे, त्यस्तो बेला म अनेक ढंगले प्रायश्चित्त गर्थें । आँधी आउँदा र चट्याङ पर्दा म हर्दम भगवान्को नाम जप्थें । भगवान्प्रतिको अगाध आस्थाकै कारण हामीले सिद्धथानमा घण्टदान गरेका थियौं । मन्दिरमा पित्तलको गजूर चढाएका थियौं । बाले आफ्नो जेठो छोरोको पहिलो कमाइबाट मन्दिरमा टिनको छानो हाल्ने भाकल गरेका थिए । सपरिवार ढुक्क थियौं कि भगवान्को आर्शीवाद सधैंसधैं हाम्रो साथ रहनेछ ।

तर त्यस्तो भएन । एक दिन अनिष्ट हुनहुनाउँदै हाम्रो घरको धुरीमा चढ्यो र अपशकुनको विगुल फुक्यो । त्यो यस्तो खबर थियो कि निमेषमै बाले जतन गरेर हुर्काएको सपना उजाडियो । आमाले साँचेको अनन्त विश्वासमाथि पैरो गयो । भयो के भने, कुनै अनिष्टको संकेत नगरीकनै मेरो दाजु बेपत्ता भएको खबर आयो । ऊ राजनीतिक कार्यकर्ता थियो । त्यो यस्तो निर्मोही खबर थियो जसले परिवारको भोक, तिर्खा, थकान र फुर्ती हरेर लग्यो । बिजुली चम्किएजस्तो झिलिक्क भयो र धर्ती र आकाशमा अँध्यारो छायो । आमा विलौना गर्न थालिन् । बासँग आमालाई सम्झाउने कुनै शब्दहरू थिएनन् । बाले यति मात्र भने, ‘यो सबै दैवको खेल हो ।’ ‘हामीले के पाप गरेका थियौं र दैवले झेल गर्‍यो ?’ आमा चिच्याइन् । त्यो सबै यति धेरै हृदयविदारक थियो कि म रुन थालें । मलाई लाग्यो ईश्वर मैले सुनेजस्तो ज्ञानी, दयालु, चरित्रवान र भरोसायोग्य छैन । त्यो दिन, मेरो आँसुसँगै मेरो आस्थाको अर्को मन्दिर पनि ढल्यो ।

दाजु बेपत्ता भएपछी हाम्रो जीवनधारा नै फेरियो । घरमा श्राप परेजस्तो भयो । हामी बसाइ सर्‍यौं । त्यो बिहानको मलाई अझै सम्झना छ, रिमरिम उज्यालो नखस्दै हामीले पोकापन्तुरा कस्यौं । बा अघिल्लै दिनदेखि चुपचाप थिए । आमाका आँखामा आँसुको भेल थियो । बाले घरको मूलढोकामा ताला ढोके र अगाडि लागे । आमाले मेरो हात समाइन् । दिदीहरूले सानोसानो झोला बोके । त्योभन्दा अगाडि लामो यात्रा गर्दा बा सिद्धथानतिर फर्किएर प्रार्थना गर्थें । मंगलस्तोत्र गाउँथें । तर त्यो दिन उनले मन्दिरतिर हेर्दा पनि हेरेनन् । हामी धागो चुँडिएको चंगाजस्तो भयौं । यस्तो भयो कि भीरबाट झरेको ढुंगोजस्तो भयो हाम्रो जीवन । लड्दैपड्दै कता थामिन्छ थाहा छैन । यसरी हामी तरहरा आइपुग्यौं ।

भाडाको घर थियो । ठूलोघर, खेतबारी, गाईबस्तु, छरछिमेकी, गोठालाखेतालाबीच रमाउने हामी भाडाको दुई कोठामा थन्कियौं । ती दिनहरू निकै दुःखद थिए । बाआमा चौबीसै घण्टा शोकमा हुन्थे । हामी सानै थियौं र उनीहरूलाई सम्झाउने हामीसँग शब्दहरू थिएनन् । अगाडि मात्र अनिश्चित भविष्य छ, बाँकी सबै लुटियो भन्ने बोधले होला सायद बाआमा डराएका थिए । आफैंसँग । समयसँग । नाताकुटुम्बसँग । त्यसैले सधैं अतालिएजस्तो देखिन्थें । बिहान उठ्दा आमाका आँखा राता हुन्थे । जीउमा आलस्य देखिन्थ्यो । बाको अनुहारमा न जीवन थियो न आस्था थियो न त सपना ।

तर समय सधैं एउटै रहँदैन । यसैले होला, बिस्तारै बिस्तारै समयले हामीलाई पुनः समाल्दै लग्यो । बाआमाले सिन्का सिन्का जोडेर घर बनाए । घरमा सानो मन्दिर पुनः सजाइयो र अर्चना सुरु भयो । यसो भनौं हामीले भगवान्लाई माफ गर्‍यौं । अभाव त थियो नै तर आशाहरू जागृत भएका थिए । यसरी नै लगभग पन्ध्र वर्ष बिते । यी पन्ध्र वर्षमा फेरि जीवन आफ्नै लयमा फर्कियो र सबै कुरा नियमित बन्यो । तर यो सबै त्यतिबेला एक्कासि रोकियो जब बा बिरामी परे । सुरुमा उनका पाइलाहरू लरबराउँदै गए । बोली बिस्तारै लट्टिँदै गयो । यति चाँडो रोगले गाँज्यो, मानौं कि हामीले सोच्न र सम्हालिनै पाएनौं । बा ओछ्यान परे । खाना, बस्न, बाथरुम सबैसबै बाका लागि कष्ट बने । सहाराबिना बा चटपटाउन पनि नसक्ने भए । घरमा परिचित मान्छेहरू आउँदा उनका आँखाबाट आँसु झर्थे । हामीलाई थाहा थियो बा सबै कुरा बुझ्छन् । उनका रहरहरू आँखामा छचल्किन्थे । यस्तो लाग्थ्यो कि, बासँग उसरी नै भजन गाउने रहर छ । उसरी नै आफ्नो घरगोठ सुमसुम्याउने रहर छ । उसरी नै मान्छेसँग कुरा गर्ने रहर छ । सायद बा आफूले हिँडेको बाटोको कुरा गर्न चाहन्थे । तर शब्दहरू थिएनन् । सायद बा आफ्ना दौंतेरीहरूसँग आफूले बिताएका पुराना दिनहरू सम्झिन चाहन्थें । तर सम्झनामा लय थिएन । त्यो सबै आफ्नै आँखाले देखेको मैले ईश्वरलाई प्रश्न गरें, कुनै पाप नगरेका मेरा बा किन थला परे ? सधैं पूजापाठमा मंग्न मान्छेमाथि किन तिम्रो दृष्टि पुगेन प्रभु ? कथाहरूमा दयालु देखिने तिमी हाम्रा लागि किन यति धेरै निष्ठुरी भयौं ? तर ईश्वर बोलेन । बा झन्झन् गल्दै गए ।

यस्तैमा एक दिन आमाले भनिन्, ‘दाँत दुख्यो ।’ दाँत दुख्नु कति साधारण कुरा हो । तर त्यही साधारण कुराले बिस्तारै घरमा अर्को संकट थपिदियो । आमाको दाँत चेक जाँच गर्दै डाक्टरले भन्यो, ‘यो दाँत दुखेको हैन, क्यान्सरले समातेको हो ।’ आमाको मुखमा क्यान्सर देखियो । परिवारमा पुनः भुइँचालो गयो । आमालाई उपचारका लागि भरतपुर लैजान एक्बुलेन्स बोलाइयो । अर्को दिन मिरमिरेमै आँगनमा एम्बुलेन्स आइपुग्यो । जति बेला हामी एम्बुलेन्स चढ्दै थियौं, ठीक त्यही बेला बा लडे । बालाई उठाउन जाँदा मैले देखें उनका आँखामा आँसुका धारा थिए । तर ओठमा शब्दहरू थिएनन् । म र कालिका दुवैका लागि त्यो सायद सबैभन्दा ठूलो कष्टको क्षण थियो । हो, त्यही क्षण मलाई लाग्यो ईश्वर छैन । ईश्वर मिथ्या कुरा हो ।

अब म थोरै मेरी आमाका विषयमा बताउँछु । मेरी आमा संसारकै सबैभन्दा राम्री आमा हुन् । मलाई यस्तै लाग्थ्यो जब म बच्चा थिएँ । आमा बिहीबारे बजारबाट कटहर ल्याउँथिन् । मलाई आलु तारेर खुवाउँथिन् । आमाको पोल्टामा प्रायशः मिस्री हुन्थ्यो जो मलाई खुबै मन पर्थ्यो । बाले गाली गर्दा आमा मेरो पक्ष लाग्थिन् । मलाई थपथपाउँदै सुताउने र बिहान गुनगुनाउँदै उठाउने मेरी आमा मेरालागि सुखको अनन्त समुद्र थिइन् । म आमाको बास्ना आँखा चिम्लिएरै अनुभूति गर्थें । त्यो बास्ना, त्यो स्पर्श, त्यो ममता, त्यो श्वासप्रश्वास मेरालागि अमूल्य थिए । मैले आमालाई कहिले चिनें ? समय, दिन र घडीपला थाहा छैन । तर आमाको सम्झना आउँदा पसिनाले भिजेर नाकको टुप्पोसम्म झरेको सिन्दूर सम्झन्छु । म सम्झन्छु बिफरले खाएको अनुहारमा उज्याला धर्साहरू, केही फुस्रा आँखा, कालो र बाक्लो कपाल, निधारमा ठूलो टीका । म सम्झन्छु आमाले धारामा लुगा धुँदै गरेका ती पुराना क्षणहरू । म पानीमा खेल्दै हुन्छु र आमा नजिकै चौरमा लुगा सुकाउँदै हुन्छिन् । आमाले डोकोमा हालेर बोकेको लुगाको भारी र त्यसमाथि बसेको म आफैंलाई सम्झन्छु । म सम्झन्छु मेरी आमाका हातमा हर्दम छम्छम् बज्ने चुराहरू । नृत्यमग्न अप्सराका जस्ता सधैं चलायमान खुट्टाहरू । उनी निरन्तर काममा हुन्थिन् । हामी सुतेपछि सुत्थिन् । हामी नब्युँझिँदै उठ्थिन् । आमाका अनेक चित्र जब मेरो मनमा बतासझैं आउँछन्, मलाई लाग्छ आमा भनेको काख हो । आस हो । हाँसो हो । खुसी हो । आमा भनेको मनचिन्ते संसार हो । आमा छन् र नै यो संसार बस्नयोग्य छ । अन्यथा यो संसार कति धेरै उराठ हुन्थ्यो होला ?

भरतपुर अस्पतालमा अप्रेसन गरेर आमालाई भर्खर मात्र निकालिएको थियो । आमाको होस आउँदा म उनको अगाडि थिएँ । आमाले आँखा खोलेर सोधेको पहिलो प्रश्न थियो— के खायौ ? खाना खायौ ? मेरा आँखा भरिए । मनमा आमाकै बारेमा केही प्रश्न लहरझैं उठे । मायाको परिभाषा के हो ? थाहा छैन । आमाको माया कहाँ हुन्छ ? थाहा छैन । आमा किन आफ्ना सन्तानलाई यति धेरै माया गर्छन् ? थाहा छैन । आमा किन आफू भोकै बसेर सन्तानलाई खुवाउँछन् ? थाहा छैन । मलाई लाग्यो संसार भगवान्ले हैन, आमाको आशीर्वादले चल्छ ।

अस्ति मात्र, यो असोज पहिलो हप्ताको कुरा हो । घरमा दसैंको विषयमा सरसल्लाह हुँदै थियो । किनमेलको लिस्ट बन्दै थियो । आमाले भनिन्, ‘मन्दिरमा चढाउन एउटा झुल ल्याउनू । राजीको पाउदान पनि फेर्नुपर्छ ।’ मेरी आमा क्यान्सरलाई जितेर पुनः आफ्नै लयमा फर्किंदै थिइन् । उनी आफैं अनेक कष्टसँग जुधिरहन्थिन् । तर पनि सुन्दर साथको कुरा गर्दार् रमाउँथिन् र गोकुलधामका कविताहरू गुनगुनाउँथिन् । हो, त्यही रात सबै कुरा फेरि गडबड भयो । मानौं संगीतको लय बिग्रियो । सितारको तार टुट्यो र हाम्रो परिवारमा अर्को बज्र खस्यो । भयो के भने, आमा रातभर सुत्न सकिनन् । बोली बिग्रियो । होस हरायो । आमा परिचय, सम्बन्ध र स्वार्थको संसारबाट निस्किइन् र बेहोसीमा प्रवेश गरिन् । हामी रातभर सुतेनौं । बिहान अस्पताल लगियो । डाक्टरले भने आमामा ‘डिमेन्सिया’ को लक्षण देखियो । हामी फेरि थिलथिलो भयौं । हाम्रो जीवनको शान्त तलाउमा फेरि कसैले ढुंगा हान्यो ।

अस्पतालबाट आमालाई घर लगियो । स्वाभाविक छ मान्छेहरू आउने नै भए । सबैले सोध्ने प्रश्न उही हुन्थ्यो— मलाई चिन्नुहुन्छ ? उसलाई चिन्नुहुन्छ ? आदि इत्यादि । यस्तैमा एक जना छिमेकीले मलाई देखाएर सोधे— यो मान्छे को हो, चिन्नुहुन्छ ? आमाले भनिन्, ‘मेरो बूढो ।’ बस मेरो जमिन काम्यो । जब आफ्नी आमाले छोरालाई आफ्नो लोग्ने भनेर चिन्छन् तब के हुन्छ ? मेरा आँखाबाट आँसु झरे । मेरी आमा जीवनको कस्तो क्षणमा आइपुगिन् ? मैले आकाशलाई प्रश्न गरें । धर्तीलाई प्रश्न गरें । त्यो क्षण मलाई पूरापूर विश्वास भयो, ईश्वर छैन । ईश्वर मान्छेले निर्माण गरेको फगत एउटा भ्रम हो ।

आमाको कुरा सुनेर सबै स्तब्ध भएँ । मैले आमालाई हेर्न सकिनँ र आकाशतिर हेरें । आकाशमा शरदको कञ्चन सूर्य झलमल्ल थियो । मैले उसैलाई सोधें, हे सूर्यदेव भन के ईश्वरको पतन भयो ? सूर्य मौन थियो । आकाश मौन थियो । हावा मौन थियो । हो, त्यही क्षण मैले निष्कर्ष निकाले, ‘ईश्वरको पतन भयो ।’ ईश्वरको गरिमा, पवित्रता र शक्तिको स्खलन हाम्रो समयकै सबैभन्दा ठूलो दुर्घटना हो । प्रिय बन्धुहरू ! मेरो यो निष्कर्षका लागि मलाई माफ गरिदिनुहोला ।
[email protected]

प्रकाशित : कार्तिक २, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?