कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'इगोको एसिड'

मीरा प्रसाईं

 इन्स्टाग्रामको एउटा पोस्टबाट भदौ २० गते बिहानै थाहा भयो, वीरगन्ज छापगैयाँ निवासी कक्षा ९ मा पढ्ने पन्ध्र वर्षकी मुस्कान खातुनलाई दुई युवाले एसिड आक्रमण गरेछन्  । उनको अनुहार, घाँटी, हात जलेको रहेछ  ।

'इगोको एसिड'

मुस्कानका मुस्कानहरू बिलाएका रहेछन् एसिडका थोपाथोपामा । १५ वर्षीय किशोरी मुस्कानका ओठमा मुस्कान ल्याउने कति खुसीहरू थिए होलान् । कति सपनाहरू थिए होलान् उनका र उनका आमाबाबाका । सबै जलेर खरानी भएछन् केही बेरमै एसिडको रापमा परेर । सधैं ओछ्यानबाट ताजगी महसुस गर्दै उठ्ने मेरो बानी थियो तर त्यो दिन निकै ढिलासम्म उठ्न सकिनँ । कारण, उनै फूलझैं कोमल मुस्कान खातुन ।

संगीता पुलामी, सीमा बस्नेत, वसन्ती परियार, बिन्दवासिनी कंसाकार र समाचारमा आइरहने यस्ता थुप्रै नामलाई सम्झियो मनले । यतिखेर मुस्कान खातुनका बारेमा बल्झिएको छ यो मन । मुस्कानलाई पीडक युवकले जिस्क्याउँदै आएको र मुस्कानका बुबाले सम्झाएपछि त्यो क्रम बन्द भएको छ महिनापछि यो कहालीलाग्दो घटनाबाट पीडित बनिछन् उनी । मुस्कान मात्रै होइन थुप्रै छोरीहरू पीडित बनेका छन् र बन्ने क्रम जारी छ ।

सामान्यतः एसिड आक्रमणका घटनाहरू पर्सनालिटी डिजअर्डर, एन्टिसोसियल पर्सनालिटी डिजअर्डर, इम्पुल्स कन्ट्रोल, नार्सिस्टिक बिहेभियर आदि कुनै एक मानसिक विकृति भएका व्यक्तिले गर्छन् । विशेषतः छोरीमान्छेले गरेको तिरस्कार सहन नसक्ने हुन्छन् यस्ता प्रकृतिका केटाहरू । चाहे त्यो प्रेम प्रस्ताव अस्वीकृत होस् वा अरू नै कुनै कारण । यस्ता साइकोप्याथ मनोगतिका अपराधहरू भइरहेका सुनिन्छन् प्रायःजसो । ईर्ष्याका कारण हुने यस्ता प्रकृतिका घटनाहरूमा पीडितले पीडकलाई जानेको–चिनेको हुन्छ र कुनै प्रस्ताव अस्वीकृत हुँदा ईर्ष्याकै कारण बदलाको भावको ज्वाला हृदयमा बालेर हिँड्ने हुनाले यस्ता घटना हुन्छन् ।

थोरैतिनै ईर्ष्या मानवीय स्वभाव भएकाले यसलाई सामान्य नै मानिन्छः सामान्य ईख हुनु राम्रो मानिएजस्तै । ईर्ष्या वा ईख जे होस् मानिसमा सामान्य रूपमा हुँदा सकारात्मक परिणाम नै ल्याउँछ तर त्यो असामान्य बन्यो भने यसले बदलाको भाव पैदा गर्छ । अनि इख नै बिख बनिदिन्छ, मानिसको जीवनमा । सामान्यतया प्रेम सम्बन्धमा यस्ता घटनाहरू हुन्छन् र घटना गराउनेमा केटाहरू हुन्छन् । केटाहरू देब्रे मस्तिष्कबाट सञ्चालित हुने हुन्छन् । ईख (इगो) पनि देब्रे मस्तिष्कमै हुन्छ । फलस्वरूप प्रेम प्रस्ताव अस्वीकृत हुँदा वा तिरस्कृत हुँदा उनीहरूको ‘इगो हर्ट’ हुन्छ । छोरीमान्छेले हेपेको भन्ने भ्रमका कारण भित्रभित्रै जलन महसुस गर्छन् । यसै कारण उनीहरूले योजनाबद्ध रूपले एस्तो कुकृत्यको योजना बनाउँछन् । यसर्थ हाम्रो पारिवारिक र सामाजिक विश्वास पनि कहीं–कतै दोषी देखिन्छ, छोरीमान्छेप्रतिको बुझाइले सिर्जना गरेको इगो र पुरुष मनोविज्ञानप्रति ।

आफ्नो अहंममा पुगेको चोटलाई मलम लगाउन उनीहरू उनीहरूले कसैको जीवन बर्बाद पार्छन् । के कारणले प्रस्ताव अस्वीकृत भयो भन्ने विचार गरी खुला र सफा हृदयले जिन्दगीमा अगाडि बढ्दा खुसी मिल्छ । तर, जब व्यक्तिको इगो ‘अस्वस्थ इगो’ मा परिणत गराउँछ, अनि यस्ता आपराधिक योजनाहरू बन्छन् । हुन त यो व्यक्ति स्वयम्को मनोगति हो तर यसखाले कुकृत्यमा परिवार र समाज पनि दोषी छ । ढुंगेयुगबाट आज मानिस एक्काइसौँ शताब्दीको यो वैज्ञानिक युगमा अनूदित भैसकेको छ । मानिसले प्रविधिमा पनि धेरै फड्को मारिसकेको छ तर छोरीमान्छेप्रतिको हाम्रो नेपाली पुरातन मनोविज्ञान त्यो अनुपातमा अनूदित हुन सकेको छैन ।

छोरीमान्छेको ‘हुँदैन’ लाई अपहेलना र तिरस्कारको आशयले बुझ्न परिवार र समाजले सिकायो छोरामान्छेहरूलाई । हाम्रो समाजमा सानै उमेरका केटालाई ‘तँ त छोरोमान्छे, छोरीमान्छेले जस्तो कुरा गर्न वा काम गर्न सुहाउँदैन’ भनेर सिकाइन्छ । घरको काम छोराले गर्ने होइन भनेर भनिन्छ । छोरालाई खुल्लमखुला छोडिन्छ । उक्त भनाइ वा व्यवहारको अर्थले छोरीमान्छे आफूभन्दा तल्लो स्तरको हो र आफू सर्वेसर्वा भन्ने भावभ्रम उसको मस्तिष्कमा विकास गर्दै जान्छ उसले र व्यवहार पनि सोहीअनुसारको व्यवहार गर्दै जान्छ । र, भविष्यमा कुनै छोरीमान्छेले ‘हुँदैन’ भनेको सुन्न नसक्ने हुँदा ‘मेल इगो’ हर्ट हुन जान्छ ।

मपाईं गर्ने व्यक्ति वा आफैलाई अत्याधिक महत्व दिने मान्छे एउटी छोरीमान्छेले गरेको तिरस्कारले अपहेलनाको महसुस गर्छन् र उनीहरूको मनमा ईर्ष्याको हुँदा प्लानिङ गरेरै भए पनि तिरस्कार वा अपहेलना गर्नेलाई हानि गर्छन् । मेरो भनाइको मतलब, एसिड प्रहार मानिसको सिकाइ, बुझाइ, मानसिक समस्या र मनोगतिसँग सम्बन्धित छ भन्ने हो । यदि कसैले एसिड प्रहार गर्ने सोच बनाउँदै गरेको थाहा भएमा मनोपरामर्शदाता कहाँ लैजानुपर्छ थाहा हुने व्यक्तिले अगाडि गएर घटना नहोस् भन्नका लागि । पीडकको शरीर त जल्छ–जल्छ साथै मानसिक रूपमा समेत विक्षिप्त हुन सक्ने सम्भावना ज्यादै हुन्छ । अप्रत्याशित हुने घटनाले पीडितलाई ‘साइकोलोजिकल ट्रमा’ मा पुर्‍याउन पनि सक्छ ।

हामी शारीरिक पीडालाई वास्ता गर्छौं र मानसिक पीडालाई बेवास्ता । मानसिक पीडा पनि शारीरिकजत्तिकै पीडादायक हुन्छ भन्ने कुरासँग कहिले सचेत हुने हामी ? मुस्कानलगायत अन्य पीडितको मानसिक स्थिति कस्तो हुन्छ र हुन सक्छ भन्ने कुराको अनुमानसम्म गर्न सकिँदैन । कहिले संवेदनशील बन्ने हामी ? समाजमा ‘एसिड सर्भाइबल’ हरू थुप्रै छन् । संगीता पुलामी, सीमा बस्नेतजस्ता एसिड सर्भाइबललाई हेरेर दरिलो हुनुपर्छ । दिनभरिजसो यही कुरा सोचिरहेकी थिएँ । ‘तेरी छोरीलाई यस्तो भा’को भए तँ के गर्थिस् ?’ कसैले कानैमा फुस्फुसाएझैं गर्‍यो । साँच्चै, मेरी छोरीलाई यस्तो भएको भए के गर्थें होला म ? मेरी त छोरी छैनन् । जवाफ सीधा भए पनि मुटु काँप्यो थरथर । छोरीका आमाहरूलाई कति डर हुँदो हो यस्ता सिलसिलेवार एसिड र बलात्कारका घटना सुन्दा र पीडितका क्षतविक्षत तस्बिर हेर्दा ।

ओहो ! सम्झिँदा मात्रै पनि कहाली लाग्छ । यदि मेरी छोरी नै भएकी भए पनि सचेतताका लागि केही गर्न सक्दिनथें म । कसैले एसिड छ्याप्ला कि भनेर मुख छोपेर हिँड्न पनि त सकिँदैन न त घरभित्रै बसिरहन सकिन्छ । छोराले यदि एसिड हान्न लागेको कतैबाट थाहा पाएको खण्डमा दुइटा काम गर्थें म । पहिलो, उसलाई सम्झाउँथें र दोस्रो, मनोपरामर्शदाताकहाँ लैजान्थें । एसिड पीडक मनस्थितिसँग सम्बन्धित हुन्छ भन्ने सच्चाइ थाहा नभएको अवस्थामा भने के गर्थें ? गाली गर्थें, पछुताउँथें जन्म दिएकामा वा छोराप्रतिको ममताले घुँडा टेक्थ्यो कि ? वा कानुनको जिम्मा लगाउँथें कि ? जे होस् समाजमा यस्ता घटना मौलाउनु हुँदैन ।

अनाहकमा कोही कसैद्वारा पीडित बन्नु हुँदैन । कहिले हुने छोरीमान्छे सुरक्षित ? आफ्नै दाजु, काकाबाउ, हजुरबाउ र मामाहरूबाट कहिले सुरक्षित महसुस गर्ने हामीले ? ‘दिदी हेर्नु न दाइलाई जस्तो मलाई विश्वासै गर्नुहुन्न घरमा । जे गरे पनि ‘तँ छोरीमान्छे होस् छोरा मान्छेसँग जुध्न सक्दिनस् । घरमै बसेर पढ्नू । नाच्ने, गाउने होइन !’ भन्नुहुन्छ । मलाई भने कलाकारिता मन पर्छ । घर छोडेर कतै भागौं र आफैं संघर्ष गरौंजस्तो लाग्छ, फेरि समाजमा डर भन्ने चीजको आहालमा यसरी भासिदिएको छ कि हत्तपत्त निस्किनै सक्दिनँ म के गरौँ ? आमाको कुरा सुनेर पढाइमा मात्रै ध्यान दिऊँ भने पनि सकस हुन्छ नदिऊँ भने पनि सकस हुन्छ मलाई,’ हिजो भर्खरै मात्र आफन्त बहिनीले गुनासो गरिन् । सुरुमा त उनको कुरै बुझिनँ मैले । पछि थाहा भयो– क्रमबद्ध हुने एसिड र बलात्कारका घटनाले उनकी आमाको मनमा पनि डर उम्रिएको रहेछ । एक्लै हिँड्दा कसैले बलात्कार गर्देला वा एसिड छ्यापिदेला भन्ने पीरले गाँजेको रहेछ ।

एसिड आक्रमण र बलात्कारदेखि डराएका कति आमाबाबु होलान् समाजमा ? के त्यसको महसुस गर्न सकिएला र ? महसुस त्यस्तो एउटा मात्रै शब्द हो जसको न कुनै नाप हुन्छ न त कुनै तौल नै । सायद यस्तै भयावह स्थितिको सामना गर्नुपर्छ भविष्यमा भनेर सन्तान प्राप्तिमा छोराको चाहना राख्दिहुन् छोरीमान्छे ! छोरी जन्मिए पिँजडाको सुगा बनाउन खोज्ने र चाँडै अन्माइदिए आफ्नो कर्तब्य र सम्भावित घटनाको भयबाट पनि मुक्ति मिल्ने कारण हतारमा देखिन्छन् होला छोरीका आमाबाबु । भय र भ्रमसँग डराएर आफ्नो इच्छा र खुबीलाई कहिलेसम्म तिलान्जली दिइरहने छोरीमान्छेले ? भय र डरकै कारण कति छोरीमान्छेहरूले उनीहरूसँग भएका खुबी मार्नु परेको छ । छोरा मान्छेजस्तै खुल्लाखुल्ला भएर अगाडि बढ्न घरसमाजले छुट दिँदो हो त छोरीमान्छे पनि छोरा मान्छेकै तुलनामा निडर, साहसिक र सफल बन्थें होला !

एसिड आक्रमणका घटनाबारे सोचिरहँदा मनमा एउटा प्रश्न उब्जियो– पीडकले एसिड कहाँबाट ल्याउँछन् ? हाइड्रोक्लोरिक र सल्फुरिक एसिडजस्तो शीघ्र जलन गराउने क्षमतावान पदार्थ खुल्लमखुला बेच्न किन दिन्छ सरकार ? तमाम छोरीका तमाम आमाबुबाको प्रतिनिधित्व गर्दै यो प्रश्न सरकारका लागि । एसिड आक्रमणजस्तो जघन्य अपराधप्रति विमर्श गर्दै अनियन्त्रित बिक्री–वितरण बन्द गरियोस् । एसिड के कस्तो बेला उपलब्ध हुने भन्ने विषयमा कानुन बनाइ कडाइका साथ लागू गरियोस् ।

प्रकाशित : कार्तिक २, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?