कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

समय यात्रा : मनाङ

कल्पना गर्छु, इतिहासको गर्तमा लुकेको कथाले भग्नावशेषमा उभिएर मूक भाषामा मानौं केही भनिरहेको छ । त्यो संरचना पर्यटकीय आकर्षकको जबरजस्त केन्द्र हुन सक्थ्यो ।
रोशन शेरचन

काठमाडौंबाट बेंसीसहर हुँदै कोतो एक दिनको गाडी यात्रा । कोतोबाट भने मोटरबाटोलाई छाडेर हिँड्नुपर्ने । त्यसैले कोतो–नार फू गन्तव्यलाई ‘अफ द बिटन’ मार्ग भन्दा रहेछन् । कोतोबाट डेढ दिन हिँडेपछि च्याखु आइपुग्नै लाग्दा साइनपोस्टमा दृष्टि गयो । त्यसमा लेखिएको थियो— च्याखु, खम्बा बस्ती, उचाइ ३७३५ मिटर ।

समय यात्रा : मनाङ

मनाङ यसै दुर्गम जिल्ला, च्याखु थप दुर्गम । झन्डै चार हजार मिटरको उचाइ मेरो निम्ति नौलो थिएन तर खम्पा बस्ती भन्ने सूचनाले कौतूहल जगायो । खम्पाबारे मलाई थोरै मात्र थाहा थियो । स्कुले उमेरमा सुनेको थिएँ— तिब्बतबाट आएको खास जाति हो खम्पा र सन् सत्तरीको दशकमा मुस्ताङमा खम्पा युद्ध भएकोथ्यो । बाटामा पर्ने मेता र झुनुम बस्तीको बोर्डमा पनि खम्पा बस्ती नै लेखिएको थियो । नार फू जाँदा बास पर्ने बस्ती हो— मेता । पर्यटकहरू मेतामै बस्न रुचाउँछन् । झुनुम भने परित्यक्त बस्ती हो । भग्नावशेष हेर्दा, झुनुम उहिलेको सम्पन्न बस्ती लाग्थ्यो । महामारीको कारणले बासिन्दाले त्यो गाउँ छाडेको थियो भन्ने बुझियो । खम्बा शब्दले उत्पन्न गरेको जिज्ञासा मस्तिष्कमा दौडिएको अनुभव गरे ।

च्याखु आउनुअगिको उकालोले थकाउनु थकायो । चिसो सुक्खा हावामा पनि उकालोले पसिना छुटाएको थियो । सानो मनोरम उपत्यकामा हामीले आफैंलाई पायौं । एकतले भवन भर्खर बनिभ्याएजस्तो देखियो । माछीकाँडे तारजालीले घेरेको । केही कर्मी नजिकै ढुंगामाटाका काम गरिरहेका थिए । तीमध्ये एक जनालाई सोधे । गाउँपालिकाको भवन रहेछ । त्यतै बढ्यौं । पालिकाको बोर्डमा लेखिएको थियो, नारपा भूमि गाउँपालिका, च्याखु । झोला त्यही बिसायौं र झन्डै पन्ध्र–बीस मिनेट हिँडी च्याखु गेस्टहाउस एन्ड रेस्टुरेन्टमा पुग्यौं । च्याखुमा जम्मा चारवटा मात्र होटल छन् । रंगीचंगी फूलहरू फुलेको उक्त गेस्टहाउसको बगैंचामा बसेर वरपर नियाल्दा ल्यान्डस्केप विछट्टै सुन्दर देखिन्थ्यो ।

मेरो ध्यान भने नजिकैको थुम्कोमा रहेको भग्नावशेषहरूले खिच्यो । पालिकाका उपाध्यक्ष कुन्जोक तेन्जिङ लामा पनि आइपुगे । पारिलो घाममा कागती चिया पिउँदै कुराकानी गर्‍यौं । ती भग्नावशेष विगतमा खम्बा बस्ने घर र उनीहरूको सुरक्षापोस्ट रहेछ । पृष्ठभूमिमा विशाल चट्टानको पहाड देखिन्थ्यो । खस्रो न खस्रो । रूखको रिङझैं त्यो पहाडको भित्री सेता पत्रहरू कतै सीधा रेखामा दौडेको कतै बांगिँदै धसेको थियो । भीरकै एक खण्डमा चाहिँ कसैले ड्रमका ड्रम अलकत्रा घोप्टाएको जस्तो देखिन्थ्यो । के त्यो चुहिएको नीरमसी हो ? नीरमसी चुहिन्छ र ? कुनै खनिज लवण हो कि ? अजंगको पहाड छेवैको बगैंचामा चिया पिउँदा प्रगाढ शान्तिको अनुभव भयो । मान्छेको कोलाहल कतै छैन । टाढाटाढासम्म नामनिशान छैन । हिमाली कागहरूले कहिलेकाहीं शान्ति भंग गरेको छ बस । समय रोक्किएको छ । मानौं यहाँसम्म आइपुग्दा नपुग्दै समय पनि थाकेर गहिरो विश्रान्तिमा छ ।

खम्पा प्रसंग चलिरहेकै थियो । हिमाली क्षेत्रको सामाजिक, सांस्कृतिक र अर्थराजनीतिका ज्ञाता डा. शैलेन्द्र थकालीले सुनाए— सन् १९५० मा चीनले तिब्बत कब्जा गरेपछि खम्पा मूलका केही तिब्बतीले हतियार उठाए र चिनियाँविरुद्ध विद्रोह थाले । विद्रोहीलाई सीआईएले कोलोराडोमा सैन्य तालिम दिएको थियो । तिब्बतीजस्तै भूसतह भएकाले कोलोराडो नै छानिएको थियो । त्यसपछि मुस्ताङ, मनाङजस्ता दुर्गम स्थानमा तत्कालीन नेपाल सरकारको उपस्थिति नभएकाले त्यही बेस बनाएर खम्पाहरूले चिनियाँसँग गुरिल्ला युद्ध लडे । गुरिल्ला युद्धलाई उपयुक्त दुर्गम बस्ती र बन्जर खोंचहरू भएकाले मेता, झुनुम र च्याखुजस्ता स्थानहरू रोजेका होलान् । मुस्ताङ झन् महत्त्वपूर्ण बेस थियो । जोमसोम निवासी डा. थकाली बाल्यकालमा आफूले खम्पाहरू देखेको बताउँछन् । अग्ला न अग्ला, चुप्पी भिरेका उनीहरू खस्रा र डरलाग्दा हुन्थे ।

चौतर्फी टाउको घुमाउँछु । दक्षिणतर्फ अन्नपूर्ण दोस्रो हिमाल देखिन्छ । कोतोबाट त्यो उत्तर दिशामा देखिएको थियो । डेढ दिनको हिँडाइको बलले हामीले हिमालकै दिशा परिवर्तन गरिदिएका थियौं । पूर्वी दिशामा च्याखु शिखर र ग्लासियर छेवैमा छ । कहिलेकाहीं प्रकृति लाग्छ । प्रकृतिको सान्निध्यमा त्यस्तै मात मलाई कतै लाग्यो । त्यो शान्त बगैंचामा केही हप्ता एक्लै रम्न सकिन्थ्यो । एक बिहान भने च्याखु ग्लासियरमा हिम पहिरो गएको देखें । जीवनकै पहिलो अनुभव । भयानक विस्फोटको आवाज आयो । झस्कें । पहाडहरूमा ठोक्किँदै प्रतिध्वनि निस्क्यो । ग्लासियरबाट हिउँपहिरोको धूवाँ उड्दै फैलिँदै गरेको देखियो । प्रकृति बाहिर मात्र शान्त देखिन्छ । भित्र हमेसा आवेगमा हुँदो रहेछ ।

दिउँसो कुन्जोकले हामी सबैलाई खर्क देखाउन लगे । समूहमा थियौं— शंकर कोइराला, शैलेन्द्र थकाली, लाक्पा तेन्जी शेर्पा, छ्योकी, डोल्मा र म । त्यो खर्कमा बहुमूल्य जडीबुटी यार्चागुम्बु पनि पाइदो रहेछ । यार्चागुम्बु यसरी खोज्ने हो, कुन्जोकले हात र घुँडा टेकेर देखाएपछि केहिले त्यसको सिको गर्न लाग्यौं । घण्टौ त्यसरी यार्चागुम्बु खोज्नु कम्ती कठिन काम थिएन । विगतमा यसै भेगमा यार्चागुम्बु टिप्दा बाहिरी जिल्ला र स्थानीयवासीबीच झगडा हुँदा केही व्यक्ति मारिएका पनि थिए । त्यो द्वन्द्वको निरुपण कसरी भयो ? थाहा भएन । कसैले त्यसको बारेमा विस्तृत अनुसन्धान गरेको भए, प्राकृतिक स्रोतमा आधारित द्वन्द्वको विषयमा त्यो उपयोगी सन्दर्भ बन्ने थियो । विडम्बना, बाहिरका केसहरू हामी प्रशस्त पढ्छौं तर आफ्नै वरपरका घटनाहरूतिर भने हाम्रो ध्यान जान सकेको छैन ।

खर्क उक्लँदै गर्दा, कुन्जोक बताउँछन्, ‘ऊ त्यहाँ गुरु रिम्पोचेको मूर्ति स्थापना गर्ने योजना छ ।’ गुरु रिम्पोचे वा पद्मसम्भवलाई बुद्धमार्गीहरू धेरै पुज्छन् । वातावरण संरक्षणको दृष्टिले बौद्व धर्म उत्तिकै उपयोगी पनि छ । कुन्जोकले इसारा गरेको दिशातिर नियालें । लमतन्न पसारिएको हरियो खर्क ग्लासियरतिर बढ्दै गएको र भोजपत्रको एकलकाटे रूखहरू ट्रिलाइनमा उघेंजस्तो देखिन्थ्यो ।

शंकर कोइराला उमेरले समूहमै जेठो भईकन पनि उत्तिकै उत्साही । कर्मचारी जीवनका कैयन् वर्ष हिमाली जिल्लामा बितेका रहेछन् । हिमालप्रेमी । छुकी र डोल्मा अरूहरूभन्दा बढी प्रफुल्ल देखिन्थिन् । नयाँ स्थानमा पुलकित थिइन् । छुकी हुम्ला निवासी, डोल्मा पूर्वकी । अगि–अगि हिँड्थिन् र रमणीय स्थान वा त्यस्तै वनस्पति देखे फोटो खिचिहाल्थिन् । हामी खर्कको डिलमा पुग्यौं । ग्लासियरबाट निस्केको ठाडो खोला गडगडाउँदै बगेको देखिन्थ्यो । तल झोलुंगेपुल देखिन्थ्यो, जुन हामीले हिजो तरेका थियौं । खोलापारि भोजपत्रको घना वन थियो । नाउर, कस्तूरी मृग, झारलको बासस्थान पनि । त्यहाँ गुच्ची च्याउ पनि पाइन्छ भन्ने सुनियो । गुच्ची च्याउ दुर्लभ र महँगो च्याउ मानिन्छ । सहर बजारमा त्यसको खुद्रा मूल्य रु. ११ हजारप्रति केजीदेखि सुरु हुन्छ । समय हुन्थ्यो भने, च्याउ खोज्न जान हुन्थ्यो । लेकाली वनमा पहिलोपटक च्याउ देखिँदा प्राप्त हुने आनन्दको मूल्य त्यसको भौतिक मूल्यभन्दा कता–कता बढी हुने प्रस्टै थियो । तर समय अभावले सम्भव भएन । जाडो र थकाइ बढ्दै गएपछि फर्क्यौं ।

बासको प्रबन्ध गाउँपालिकामै गरिएको थियो । त्यहाँ बस्ने पहिलो समूह हाम्रै थियो । लाक्पा तेन्जी शेर्पाले पालिकासँग समन्वय गरी त्यहाँ व्यवस्था गरेका थिए । अर्को दिनदेखि तालिम सुरु हुन्थ्यो । गाउँपालिकाका प्रतिनिधिहरू सहभागीको रूपमा नार र फूदेखि आउँदै थिए । खाना भने च्याखु गेस्टहाउसमै लियौं । राति थेन्तुप खाने सल्लाह भयो । थुक्पाजस्तै देखिने थेन्तुपमा पिठोका लाम्चा फित्ताहरू पानीमा उसिनिन्छ । लेकाली मसला, सागपात, प्याज, लसुनले थेन्तुप बिर्सिन नसकिने बनेको थियो । त्यसमा रैथाने पेय पदार्थ मिस्सिएपछि त सक्की गो ! बाहिरको ल्यान्डस्केप र मस्तिष्कभित्रको ब्रह्माण्ड मिस्टिकल भयो । बासस्थान फर्क्यौं । चाँडै ओछ्यानमा पल्टें । मानसमा खम्पा–विम्ब खेलिरह्यो ।

खम्पा विद्रोहताका म दुई–तीन कक्षामा पढ्थें । गण्डकी बोर्डिङ, पोखरामा । धमिलो सम्झना छ–हेलिकप्टर बारम्बार हेम्जा र सारङ्कोट डाँडामाथिबाट उडेको । शिक्षकबाट थाहा पायौं— मुस्ताङमा खम्मा युद्व हुँदै छ । सायद बत्तीस, तेत्तीस वा चौंतीस सालतिरको घटना हुनुपर्छ । युद्वको कारण भने यसपटकको यात्रामा थाहा भयो । अमेरिकाले खम्पाहरूलाई सैन्य सहयोग गरेपछि चीनले नेपाल सरकारलाई दबाब दिएछ— नेपालले खम्पाहरूलाई हटाउनुपर्‍यो, हैन भने चीन नै अघि सर्छ । चीनको दबाबमा नेपाल सरकारले खम्पा हटाउन त्यो अपरेसन थालेको रहेछ । डा. थकालीका अनुसार, रिचार्ड निक्सन राष्ट्रपति भएपछि अमेरिकाको परराष्ट्र नीति फेरियो र खम्पा विद्रोहीलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग रोकियो । खम्पा विद्रोह त्यसपछि मत्थर बन्दै गयो । साथै दलाई लामाले हिंसा त्याग्न अपिल गरेपछि धेरै खम्पा विद्रोहीहरूले हातहतियार बिसाई सामान्य नागरिक जीवनमा फर्किए ।

कल्पना गर्छु, इतिहासको गर्तमा लुकेको कथाले भग्नावशेषमा उभिएर मूक भाषामा मानौं केही भनिरहेको छ । त्यो संरचना पर्यटकीय आकर्षकको जबरजस्त केन्द्र हुन सक्थ्यो । ‘भग्नावशेषबारे गाउँपालिकाको योजना के छ ?’ मैले दिउसो सोधेको थिएँ । ‘भग्नावशेष भत्काउँदैनौं । बरु सूचना पाटीहरू बनाई त्यसको प्रवर्द्धन गर्छौं,’ कुन्जोकको जवाफ थियो । यौटा भग्नावशेष भने आकारमा ठूलो थियो । ब्यारेक, खरखजाना राख्ने वा बैठककोठा त्यस्तै केही हुनुपर्छ । अहिले त्यहाँ कामदार र सिकर्मीहरू बस्दा रहेछन् । सप्पै रोल्पाबाट आएका ।

कुन्जोकले सुनाए, ‘रोल्पालीहरू अचम्मै काम गर्छन् । असाध्य मिहिनेती छन् । तोकेकै समयमा काम सक्काउँछन् ।’ जंगली च्याउबारे पनि रोल्पालीहरूको ज्ञान फराकिलो रहेछ भन्ने थाहा पायौं । भयो के भने, दिउसो च्याउको तरकारी खाएका थियौं । एक जना स्थानीय महिलाले आधा डोकोजति च्याउ भर्खर जंगलबाट टिपेर ल्याएकी थिइन् । फररर परेको काउलीजस्तो र छाता च्याउ । ‘कतिथरीको च्याउ पाइन्छ ?’ सायद छुकीले सोधिन् । ‘हामीले यी दुई खालका च्याउ मात्र खाने गरेका थियौं । रोल्पालीहरूले भनेपछि मात्र थाहा भयो, अरू च्याउहरू पनि खान मिल्ने रहेछ,’ कुन्जोकको जवाफ थियो, ‘सबै गन्दा त्यस्तै दस–बाह्रथरीका च्याउ होला ।’ म जिल खाएँ । पुस्तौं बिताएका रैथानेहरू पनि त्यतिविधि अनभिज्ञ हुँदा रहेछन् । बाहिरी समाजसँगको अन्तरक्रियाको महत्त्वलाई त्यस घटनाले दर्साउँथ्यो ।

बेलुका समसामयिक विषयमा छलफल भएको थियो । कुन्जोकले आफ्नो धारणा बताए, ‘संघीय व्यवस्था लागू भएपछि पालिकाहरूले निकै अधिकार पाएका छन् । गाउँपालिकाको नामकरण गर्दा हामीले नारपा भूमि भन्यौं । शेर्पा भनेझैं, नारपा । नार, फू वा वरपर बस्ने सबै नारपा । नारपा, हाम्रो पहिचान । पहिला अधिकार थिएन । अधिकार सबै केन्द्रमा, सत्तामा बस्ने बाहुन–क्षत्रीसँग थियो । त्यसैले देशको अवस्था बिग्रँदा, सोचेजस्तो नहुँदा, बाहुन–क्षत्रीले नै बिगार्‍यो भन्थ्यौ । अब स्थानीय सरकारलाई अधिकार र दायित्व छ । अब पनि हामीले गर्न सकेनौं भने, लाज हुन्छ । हामीलाई पनि अरूले त्यस्तै भन्छ ।’ उनले इमानदारीपूर्वक भने । बेलुकाको मद्दिम प्रकाशमा पनि उनको अनुहार दीप्त देखिन्थ्यो । केन्द्रमा बस्नेले संघीयतालाई कसरी लिएका छन्, मलाई थाहा छैन तर स्थानीय स्तरमा अपनत्व लिएको देखिन्थ्यो ।

मनाङ झरनाहरूको भूमि पनि रहेछ । मेता पुग्नुअगाडि एक स्थानमा त झरनाको पारदर्शी कर्टेन टाँगिएको पहरा हुँदै हिँड्यौं । त्यो अनुभूति अतियथार्थिक बन्यो । यसपटकको मनाङ, च्याखुको यात्रा समययात्रा थियो । संघीय गणतान्त्रिक संरचनाबाट खम्पाकालसम्मै तन्किएको । मानौं समययात्राले भनिरहेको छ— समय सधैं गतिवान् छ, त्यसैले कहिल्यै नबिसाउनू । थाके विश्राम गर्नू तर कहिल्यै नरोकिनू ।

प्रकाशित : कार्तिक २, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?