कप्तानी इनिङ्स

राजु घिसिङ

श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले ठीक एक दशकअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान बन्न भनेका थिए पारस खड्कालाई  । सुरुमा उनले डायसको प्रस्ताव ठाडै अस्वीकार गरिदिए  । उनले सीधै ‘नो’ भनिदिए । उनको चाहना आर्किटेक्ट बन्ने थियो । त्यसका लािग विदेश जाने योजनामा थिए । त्यसैले उनको ध्यान देशका लागि क्रिकेट खेल्नेमा थिएन ।

कप्तानी इनिङ्स

‘पढ्नलाई विदेश जान चाहन्थें । त्यसैले डायस सरलाई सीधै नो भनिदिएँ,’ पारसले सम्झिए । तर, उनले प्रशिक्षक डायस र नेपाल क्रिकेट संघ (क्यान) को निर्णयलाई अस्वीकार गरिरहन सकेनन् । कप्तानको रूपमा उनले विनोद दासको स्थान लिए । विनोद टिमका खेलाडी मात्रै रहे र कप्तान बने २२ वर्षीय पारस । त्यस बेला राष्ट्रिय टिमका महबुब आलम, दीपेन्द्र चौधरी, शक्ति गौचनलगायत अधिकांश खेलाडी पारसभन्दा सिनियर थिए । त्यसैले उनलाई कप्तान बनाउन हतार गरेको भन्दै डायस र क्यानको आलोचना पनि भयो । विनोदलाई नै कप्तानमा निरन्तरता दिनुपर्ने आवाज पनि उठ्यो । हुन त पारसले सिनियर राष्ट्रिय टिमबाट खेल्न थालेको ५ वर्ष भइसकेको थियो ।

मिश्रित प्रतिक्रिया आइरहेकै बेला खेलाडीको टोलीनेताको रूपमा काम सुरु गरे पारसले । कप्तान पारसको पहिलो प्रतियोगिता बन्यो एसीसी ट्वान्टी–२० कप । नोभेम्बर २००९ मा यूएईमा भएको उक्त प्रतियोगितामा समूह चरणबाट नेपाल बाहिरियो । तर, पारस हतास भएनन् । अझ दृढ बने । अर्को वर्ष परिपक्व हुँदै नेपाललाई २०१० आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ५ च्याम्पियन बनाए, जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्र्रतियोगितामा नेपालको पहिलो उपाधि बन्यो । एसीसी ट्रफी २०१२ को संयुक्त विजेता भयो । सनसनीपूर्ण रूपमा छनोट हुँदै नेपालले ट्वान्टी–२० विश्वकप २०१४ नै खेल्यो, जुन विश्व क्रिकटमा नेपालको पहिलो र एक मात्र उपस्थिति हो । टी–२० इन्टरनेसनल (टी–२० आई) पायो । गत वर्ष प्रदर्शनकै आधरामा वान–डे इन्टरनेसनल (ओडीआई) मान्यता लियो ।

त्यसैले पारसको कप्तानी युगलाई तीन किमिसले मात्रै पनि बुझ्न मिल्छ, ट्वान्टी–२० विश्वकप २०१४ मा सहभागी, टी–२० आई र ओडीआई मान्यता । यसबीचमा नेपाली टिमले करिब–करिब बन्द घेरामा राखिएको क्रिकेटको सिन्डिकेट ‘टेस्ट मान्यता’ पाएका १० देश (अफगानिस्तान र आयरल्यान्ड थपिनुअघि) विरुद्ध मात्रै खेल्ने अवसर पाएन । अर्थात्, क्रिकेटको त्यो ‘इलिट वर्ग’ लाई चुनौती दिने मैदान पाएन । विश्व क्रिकेटको ‘दोस्रो वर्ग’ मा भने नेपाल ठूलै टिम हो र अरूलाई कडा चुनौती दिइरहेको छ । सफलतासँगसँगै केही असफलता पनि चाखिरहेको छ ।

पारस एउटा खेलाडी वा कप्तानको रूपमा मात्र होइन, पूरा क्रिकेटमै ‘रियल लिडर’ को भूमिकामा स्थापित भए । टी–२० आई र ओडीआईमा पहिलो शतक बनाउने नोपाली क्रिकेटरको कीर्तिमानमा पनि आफ्नै नाम लेखाएका पारसले भने, ‘कति निर्णय सही भयो, कति निर्णय गलत भयो तर मैले जति गरें क्रिकेटकै राम्रोकै लागि गरें ।’ उनी प्राविधिक रूपमा निपुण ब्याट्सम्यान होइनन् तर चाहिएको बेला उत्कृष्ट इनिङ्स खेल्न माहिर छन् । ब्याटिङ लाइनमा उनी नेपाली टिमका खम्बा नै हुन् । उनी पार्टटाइम बलरको रूपमा पनि प्रभावशाली छन् ।

टिमलाई सही गतिमा नेतृत्व दिइरहेका पारसले मंगलबार कप्तानबाट राजीनामा घोषणा गरे । यसले तरंग नै ल्यायो । आईसीसीको रोडम्यापअनुसार ११ असोजमा नेपाल क्रिकेट संघको निर्वाचन भयो । आईसीसीको बैठकले सोमबार मात्रै तीन वर्षयता लगाइरहेको क्यानमाथिको निलम्बन सर्तसहित फुकुवा गर्‍यो । नेपाली क्रिकेटमा यी दुई सकारात्मक कार्यलगत्तै आएको पारसको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले खेलबाटै पनि तत्कालै ‘ब्रेक’ लिएका छन् । त्यसैले कप्तानको राजीनामाले लिएर क्रिकेट वृत्तमा ठूलै हलचल ल्याएको छ ।

पारस आफैं भने सोचविचार गरेरै निर्णय लिएको बताउँछन् । व्यक्तिगत रूपमा उनको निर्णय सही हुन सक्छ तर नेपाली क्रिकेटका लागि भने नोक्सान पर्न सक्छ । अझ उनले चन्द्र–सूर्यअंकित जर्सीमा ब्याट र बल चलाउन छाड्ने हो भने... ! ‘अहिलेलाई ब्रेक लिएको छु, यसको समयसीमा कति हुन्छ थाहा छैन,’ बिहीबार कीर्तिपुरमा पारसले भने, ‘कप्तानबाट राजीनामा दिने मेरो निर्णय हो, यसमा पुनर्विचार हुँदैन । कुनै न कुनै रूपमा क्रिकेटमै हुनेछु ।’ राजीनामापछि उनले आफूलाई जिम्मेवारीको हिसाबले ‘हल्का’ महसुस गरेका छन् । खेलाडीको रूपमा कहिले फर्किने ? ‘अहिलेलाई आराम नै हो । उस्तै जोस र इच्छाशक्ति लिएर आउनेछु,’ उनले जवाफ दिए । पारस अहिले ३२ वर्षका भए । ३७–३८ वर्षसम्म पनि क्रिकेट खेल्ने खेलाडीहरूको सूची लामो छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्टले कीर्तिपुरस्थित त्रिवि मैदानमा वुमेन्स च्याम्पियन्स लिग सञ्चालन गरिरहेको छ । उनी हाल यसैमा व्यस्त छन् । क्विन्स इभेन्टले गत वर्ष पोखरा प्रिमियर लिग (पीपीएल) आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । छुम्बी लामा प्रमुख रहे पनि क्विन्स इभेन्टमा पारससँगै राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल संलग्न छन् । पारसको चाहना पनि हो, क्रिकेट व्यवस्थापन । ‘खेलाडीकै फाइदा र क्रिकेटको विकास र व्यावसायिकताकै व्यवस्थापन थालिएको हो,’ उनले भने, ‘आयस्रोत नभएपछि नै भ्रष्टाचार हुने हो । त्यसैले क्रिकेटमा लाग्ने खेलाडी र व्यवस्थापकको भविष्य सुरक्षित हुनुपर्छ ।’

विश्वकपको सनसनी
कीर्तिपुरमा सन् २०१० मा भएको डिभिजन ५ मा समूह चरणको अन्तिम खेलमा अमेरिकाविरुद्ध ‘दर्शकको व्यवहार’ भलाद्मीको खेल भन्नलायक थिएन, जसले नेपालको भाग्य कोरिदियो । त्यसपछि उपाधि होडमा अमेरिकामाथिको प्रभावशाली जित भने नेपाली खेलाडीको कर्मकै फल थियो । पारस युगको सुरुआत हो त्यो आईसीसीअन्तर्गतको पहिलो उपाधि ।

नेपाली टिमले वर्ल्ड क्रिकेट लिग डिभिजन ४ (सन् २०१२) र डिभिजन ३ (२०१३ र २०१४) को ट्रफी चुम्यो । फाइनलको स्कोर ‘टाई’ भएपछि एसीसी ट्रफी २०१२ मा यूएईसँग संयुक्त च्याम्पियन बन्यो । एसीसी ट्वान्टी–२० कप २०११ मा तेस्रो हुँदै आईसीसी ट्वान्टी २० विश्वकप छनोटको ढोका खोल्यो । यूएईमा भएको छनोटमा सनसनीपूर्ण प्रदर्शन गर्दै नेपाली टिम तेस्रो स्थानमा रहेर विश्वकपमै पुग्यो । विश्वकप २०१४ मा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि आयोजक बंगलादेशसँग रनरेटमा पछाडि परेपछि नेपाली टिम प्रारम्भिक चरणबाटै बाहिरियो ।

विश्वकप खेलेर स्वदेश फर्कंदा नेपाली टिमलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा हजारौंको भीड लागेको थियो । टिमलाई नगर परिक्रमा नै गराइयो । सरकार, सेलिब्रेटी, सबै दलका नेताहरूले बधाई दिए । ‘समर्थकको भीड देखेर चकित परें,’ ५ वर्षअघिको त्यो दृश्यलाई स्मरण गर्दै उनी अहिले पनि जोसिन्छन्, ‘हामी बंगलादेश जाँदा १–२ जना नेपालीले क्रिकेट हेर्थे । स्वदेश फर्कंदा पूरा देशले नै हेर्ने भयो ।’

छोटो संस्करणको क्रिकेट हो ट्वान्टी–२० । यसले विश्व खेलकुदमै क्रिकेटको क्रेज ह्वात्तै बढायो । र, यसैको विश्वकपमा उपस्थिति र दुई जितको नतिजाले नेपाललाई पनि विश्व क्रिकेटमै चर्चामा ल्यइदियो । पारस मान्छन्, ‘ओडीआई मान्यता सबभन्दा ठूलो उपलब्धि हो भने विश्वकप २०१४ कोसेढुंगा सावित भयो, जसले क्रिकेटमा लगानीको बाटो खोलिदियो ।’ नेपालले यसै वर्ष (२०१९) यूएईविरुद्ध उसैको भूमिमा ओडीआई र टी–२० आई सिरिज पनि जित्यो, जुन संरचनामा नेपालको पहिलो उपाधि हो । र, दुवैमा शतक बनाउने पहिलो नेपाली बने यिनै पारस ।

बंगलादेशको पिचमा नेपाली क्रिकेटर खुबै चले । विश्वव्यापी प्रशंसा भयो । स्वदेश फर्केलगत्तै कप्तान पारसको नेतृत्वमा खेलाडीहरूले पत्रकार सम्मेलन गरे, जसले मैदानबाहिर पनि नेपाली क्रिकेटमा सनसनी ल्यायो । खेलाडीहरूले आरोप लगाए, क्यानमा भ्रष्टाचार भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मै उजुरी दिए । क्यानका दस पदाधिकारीमाथि आर्थिक अनियमितता गरेकोमा मुद्दा नै चल्यो । पछि उनीहरूलाई अदालतले सफाइ दियो । त्यस बेला क्यान गुटबन्दीको सिकार भइसकेको थियो र पदाधिकारीको बजेट र भ्रमण मोह तथा शक्तिसंघर्षले क्रिकेटलाई ओझेलमा पार्‍यो । ठीक यही बेला पारसको नेतृत्वमा खेलाडीहरूले ‘विद्रोह’ गरे, उनीहरूलाई सबैले सुने पनि ।

त्यस बेलाका उपाध्यक्ष चतुरबहादुर चन्द क्यानका अध्यक्ष बने । आर्थिक अनियमितता र व्यवस्थापनलाई लिएर आईसीसीले क्यानलाई निलम्बन गर्‍यो । आईसीसीकै रोडम्यापअनुसार गत महिना भएको चुनावमा फेरि चन्दकै समूहले ‘क्लिनस्विप’ गर्‍यो । र, आईसीसीले सर्तसहित सोमबार निलम्बन फुकुवा गर्‍यो । पारस खुलेरै चन्द समूहको विपक्षमा लागेका थिए । पिचमा सफल भए पनि उनी यसपल्टको ‘क्रिकेट राजनीति’ मा कच्चा खेलाडी सावित भए । मैदानबाहिर उनको गतिविधिलाई लिएर आलोचना गर्नेको बाहुल्य छ, चन्द समूहमा । त्यसैले कप्तानको रूपमा त्यो समूहको नेतृत्वमा रहेर काम गर्नु वा कुनै किसिमले पेलिनुभन्दा पद त्याग्नु नै उनले उपयुक्त ठानेको हुन सक्छ ।

एकैपल्ट ५ भूमिका
यसबीच तीन वर्ष आईसीसीले नेपाली टिमलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोकेन । निरन्तर खेल्न दिइरह्यो र राष्ट्रिय खेलकुद परिषद्सँग सहकार्य गर्दै खेलाडी र टिमलाई बजेट पनि दिइरह्यो । अन्तर्राष्ट्रिय क्रिकेट हेर्ने निकाय हो आईसीसी । तर, उसको निलम्बनपछि क्यान र यसका पदाधिकारी नेपाली क्रिकेटको विकासे कार्य र गतिविधिबाट टाढिए । एक–दुई जनाबाहेक क्यानमा आबद्धहरू क्रिकेटमा देखिनै छाडे । नेपाली टिम भने अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त भइरह्यो । सुरुमा क्यानकी सीईओ भावना घिमिरेले नेपाली टिमको व्यवस्थापन गरेकी थिइन् । बिस्तारै यो काम पारस खड्काले गर्न थाले । क्यान निलम्बनमा परेपछि छनोट समिति पनि रहेन र यो काम पनि प्रशिक्षकसँगै पारसकै काँधमा पर्‍यो । जुनियर खेलाडीलाई प्रेरित गरिरहने टिमका ‘मेन्टर’ पनि पारस नै हुन् ।

करिब चार वर्ष व्यवस्थापक, छनोटकर्ता, मेन्टर, कप्तान र खेलाडीको आफ्नो जिम्मेवारीबारे उनले भने, ‘यो हुन्छु वा त्यो गर्छु भनेर योजना बनाएर कहिल्यै लागिएन । त्यसैले जति जिम्मेवारी पाएँ त्यसमा बोझ भएन । सबै भूमिकामा सधैं राम्रो गर्ने प्रयास गरिरहे । पूर्णतः सफल बनाउन हरसम्भव प्रयास गरे । जे गरे, क्रिकेटको राम्रैका लागि गरे ।’ क्यानले नयाँ निर्वाचनयता छनोट समितिलगायत अरू विभाग बनाएको छैन ।

अहिले क्रिकेटमा स्रोत र साधनको कुनै अभाव नभएको मान्छन् पारस । ‘क्रिकेटलाई माया गर्ने मान्छे छन्, क्यान छ, लगानीकर्ता तयार छन् । यसै बेला हो सबै मिलेर क्रिकेटलाई अगाडि बढाउने,’ उनले भने । उनको कप्तानी कालमा क्रिकेटलाई हेर्ने दृष्टिकोण फेरियो तर क्रिकेटवालाको व्यवहारमा परिवर्तन आएको छैन । यसबाट उनी पनि चिन्तित छन् । प्रस्ट बोलेका छैनन् तर उनी यी सबै पक्षलाई सच्याएर क्रिकेटको नेतृत्व गर्न चाहन्छन् । त्यसैको अभ्यास हुनुपर्छ, क्विन्स इभेन्ट, पीपीएल र डब्लूसीएल । उनी नेपाली बजारका पनि मुख्य ‘ब्रान्ड’ हुन् र उन आफैंले धेरै खेलाडीका लागि प्रायोजक मिलाइदिएका छन् ।

ब्याट र ब्याटको कनेक्सनको आउने साउन्डले उनलाई पिचतिरै फर्कन लोभ्याउँछ । उनी बाहिर जति शान्त देखिन्छन्, मैदानमा उत्तिकै आक्रामक रूप लिन्छन् । ‘देशका लागि खेल्दाको अनुभव नै बेग्लै हुन्छ । मैदानमा बेग्लै ऊर्जा आउँछ । मैदानमा देखिने आक्रामक रूप त्यसैको सकारात्मक पक्ष होला,’ उनले भने । विश्वकै नम्बर १ वरीयतामा रहेकै बेला अफगानिस्तानी बलर रसिद खानविरुद्ध रनको वर्षा पनि गरे । उनले यू–१९ विश्वकपमा नाम चलेका खेलाडीविरुद्ध प्रतिस्पर्धा गरे, जसले पछि विश्व क्रिकेटमा तहल्का मच्चाए । त्यो तह (टेस्ट मान्यता) मा खेल्न नपाएको महसुस भने उनलाई हुन सक्छ । उनी आफ्नो मुख्य लक्ष्य पनि नेपाल टेस्ट मान्यतास्तरमा पुगोस् भन्ने नै हो ।

ज्ञानेन्द्रमा आशा
भारतीय क्रिकेट टिममा कप्तान महेन्द्रसिंह धोनीको विकल्प छैन भनिन्थ्यो । तर, उनको स्थान लिएयता विराट कोहलीले सफलताका एकपछि अर्को इतिहास बनाइरहेका छन् ।पारसको कप्तानीमा लगातार एक दशक उपकप्तान बने, ज्ञानेन्द्र मल्ल । त्यसैले पारस अबको कप्तानमा ज्ञानेन्द्रलाई सिफारिस गर्छन् । पारस अनुपस्थित रहेका केही खेलमा ज्ञानेन्द्रले नै कप्तानी गरेका थिए । ‘निर्णय गर्ने क्यान र प्रशिक्षकले हो,’ नयाँ कप्तानबारे भने, ‘म वा आफ्नाका लागिभन्दा क्रिकेटलाई माया र काम गर्ने कप्तान हुनुपर्छ । अनि आफैं सबै कुरा सही हुन्छ, राम्रो हुन्छ ।’

‘धेरैले मलाई जस दिन्छन् तर एक्लैले गरेर केही हुँदैन, पूरा टिम (खेलाडी र व्यवस्थापन) को मिहिनेतले सफलता मिलेको हो,’ पारसले भने, ‘महान् खेलाडीहरूको समूह पाएँ । क्रिकेटलाई नै माया गर्ने प्रशिक्षकहरू पाएँ । त्यसैले म भाग्यमानी भएँ ।’ प्रशिक्षकहरू रोय डायस, पुबुदु दसानायके, जगत टमाटा, उमेश पटवालसँग खेलेका उनी भावुक बने, ‘मैले त क्रिकेट खेल्ने सपना पनि देखेको थिइनँ न कि खेलाडी वा कप्तान नै बन्ने । विदेश जाने सोचमा थिएँ । भाग्यमा लेखिएको कुरा भएरै छाड्ने रहेछ ।’ क्रिकेट व्यवस्थापनमा उनको भाग्य कस्तो हुन्छ त ?
Twitter : @rghising

प्रकाशित : कार्तिक २, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?