'तँ बुढो के को हिरो ? भन्दा रिस उठ्छ'

फिल्म लेखक, निर्माता एवं कलाकार दीपकराज गिरीका पछिल्ला फिल्म ब्लकबस्टर छन् । तर बजारु मसलाको हाबी र कलात्मकता निर्धो हुने भएकाले चर्को आलोचना हुने गर्छ ।
कान्तिपुर संवाददाता

अघिल्ला दसैंमा तपाईं अरूलाई धकेल्नुहुन्थ्यो । यसपटक आफैं धकेलिनुपर्‍यो । कसरी फेल हुनुभयो ?
‘छ माया छपक्कै’ मेरो छैटौं फिल्म हो तर मैले दसैं खान पाएको ‘छक्कापञ्जा २’ मात्र हो । ‘छक्कापञ्जा ३’ घटस्थापनामा रिलिज गर्नुपर्‍यो । घटस्थापनामा बिदा हुन्न । मेसीले फुटबल खेल्दा चारतिरबाट घेर्छन्, त्यसमा मेसीले दुःख मान्नुहुन्न । बरु सबैलाई छलाएर कसरी गोल गर्ने भनेर दिमाग लगाउनपर्छ, म त्यही गर्दै छु । त्यसैले पछि सरें ।

'तँ बुढो के को हिरो ? भन्दा रिस उठ्छ'

तपाईंलाई चाडपर्वचाहिँ चाहिने नै हो ?
सलमान खानलाई इद, शाहरूखलाई नयाँ वर्ष किन चाहियो ? यसको मतलब हो, ठूलो कुरालाई ठूलै डेट चाहिन्छ ।

तपाईं नेपालको स्वघोषित सलमान हैन ?
इतिहास हेर्नुस्, ‘छक्का–पञ्जा ३’ ले १९ करोड व्यापार गर्‍यो, ‘छक्का–पञ्जा २’ ले १४ करोड अनि ‘छक्का–पञ्जा’ ले १६ करोड । हाम्रो टिमलाई दर्शकले मन पराएका छन् तर हाम्लाई हलमा पस्नै गाह्रो भयो । ३५ अन्य फिल्म र ‘छक्कापन्जा’ को व्यापार समान हुन्छ ।

खुला बजारमा मेरो फिल्म रिलिज भएको दिन अर्को फिल्म आउन पाउँदैन भन्न मिल्छ ?
अस्ति अक्षयकुमारसँग डराएर सलमान सर्‍यो, ‘साहो’ को हकमा पनि त्यस्तै भयो । म ‘कबड्डी कबड्डी कबड्डी’ सँग आएको भए नेपाली फिल्मसँग जुधायो भन्थे । घोडा चढेर आयो भने घोडालाई किन दुःख दिइस् भन्ने घोडा डोराएर भने माल पाएर चाल पाइनस् भन्ने समाज हो यो ।

तपाईं फिल्म बनाउनभन्दा चलाउन राजनीति गर्नुहुन्छ भन्छन् नि ?
ठ्याक्कै त्यसको उल्टो हो । म दस महिना फिल्म बनाउन खर्च गर्छु, २० दिन चलाउन राजनीति गर्छु । अरू साथी १५ दिनमा प्याकअप गर्छन्, बाँकी समय राजनीति ।

अरुले तपाईंलाई हामीसँग जुध्न आइज भन्दा तपाईंचाहिँ आफूलाई सलमान र मेसीसँग दाँज्नुहुन्छ । अनि...
त्यही त मैले यसपटक अरूलाई छोडें ।

त्यसो भए यतिबिघ्न रोइलो किन ?
रोइलो... (जंगिँदै) ? यो मेरो फाइट हो ।

फिल्म चलेपछि तपाईंको घमण्ड बढेर वितरक र हलवालालाई हेपेकाले तपाईंविरुद्ध एकजुट हुन बाध्य भएको भन्ने पनि सुनिन्छ नि ?
यसलाई घमण्ड नै भन्न सक्नुहुन्छ तर बिरालोलाई ढोका थुनेर कुट्न खोजियो भने बिरालो बाघ हुन्छ । पोहोर ३० सो हासउफुल हुँदा ‘जय भोले’ आउनासाथ १५ सो काटियो । चलेको फिल्मको सो घटाउने कि बढाउने ?

हल र वितरकसँग तपाईंको समस्या के हो ?
दुई उपाय हुँदारहेछन् । एउटा, हात जोडेर सो माग्ने । अर्को, अधिकारका रूपमा सो लिने । मेरो काम हलवालासँग हात जोड्ने हैन, फिल्म बनाउने हो । आजको दिनमा भारतमा यशराजले हललाई फिल्म दिन्न भन्न सक्छ तर हलले यशराजको फिल्म चलाउँदिन भन्न सक्दैन । हलमालिक भन्ने सामन्ती शब्द हो, बरु निर्माताचाहिँ मालिक हो । मालिकलाई डिलिट गरेर हलसाथी भन्न थालेको छु, म पनि निर्मातासाथी हो । यहाँ त हलको गेटकिपरले समेत निर्मातालाई हेप्छ । हलभन्दा वितरकमा ज्यादा समस्या छ । मैले हललाई वर्षमा एउटा फिल्म दिन्छु, वितरकले दर्जनौं । पल्ला उसकै भारी हुन्छ । मसँग नेपाली मात्र छ, वितरकसँग हलिउड र बलिउडका चकाचौध फिल्म हुन्छ । अनि उसले विदेशी फिल्मको आड लिएर दीपकको फिल्मलाई बढी सो दिइस् भने... भनेर हललाई तर्साउँछ । ‘छक्कापन्जा २’ को रि–रिलिज हुनुअगाडि हलले ट्रेलर बजाको–बजाई गर्‍यो तर ‘एभेन्जर्स’ आएपछि एक सोसमेत राखिदिएन । वितरकलाई फिल्मप्रति माया हुन्न, एक साता एउटा फिल्म खान्छ, अर्को साता अर्को फिल्म । त्यसलाई म रक्तपिपाशु भन्ने शब्द प्रयोग गर्छु । नेपाली फिल्म मात्र चलाउने हलचाहिँ मभन्दा पीडित छन् ।

मल्टिप्लेक्स नभएको भए तपाईंको फिल्मको व्यापार १९ करोड पुग्थ्यो ? तैपनि मल्टिप्लेक्ससँगै यतिबिघ्न तुष ?
सिंहदरबार राणाले बनाएका हुन्, मन्त्री त्यही बस्छन् भनेर राणाको पूजा गर्ने ? हल पनि आफ्नै स्वार्थका लागि खुलेका हुन् ।

त्यसो भए हलले मन लागेको फिल्म मात्र चलाउँछु भन्न किन नपाउने ?
त्यसको बाउको हल हो र त्यसो भन्न पाउँछ ? म पसल खोल्छु भने सामान बेच्दिनँ भन्न पाउदिनँ, बेच्नैपर्छ । मैले कसैलाई फिल्म दिन्न भनेको छैन । हल र निर्माता पार्टनर हुन्, एकअर्कालाई पार्टनरजस्तै व्यवहार देखाउनुपर्छ ।

तपाईंका फिल्मका कुरा गरौं, ब्लकबस्टर छन् तर कलात्मक रूपमा निर्धो र जोक्सको भण्डार मात्र हुन्छ भन्ने आरोप छ । आफ्ना फिल्मको मूल्यांकन कसरी गर्नुहुन्छ ?
म ‘लाटो देशको गाँडो तन्नेरी’ हो । तपाईंले खोजेका कलात्मक पनि त्यस्तै हुन् । नेपालमा मीन भामबाहेकका निर्देशकको फिल्ममा व्यावसायिक भनिएका फिल्ममा जति पनि कलात्मकता देख्दिनँ । ढिला अभिनय गराउँदैमा कलात्मक हुँदैन । दर्शकलाई स्क्रिनप्लेले मन्त्रमुग्ध बनाउनुपर्छ । कलात्मक चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा उभिन मात्र सक्यो भने सलाम गर्छु, तर यहाँ उत्कृष्ट भनेका चलचित्र ‘पञ्चायत’ जसरी आउट हुन्छ भने त्यसको के अर्थ ?

टुक्का मिलाएर संवाद लेख्नुहुन्छ, जोक्स हाल्नुहुन्छ । टिभीमा रुचाइएका हास्य सिरियलजस्तो फिल्म बनाउनु हुन्छ, कलाकार पनि उनै । त्यसैले दर्शक तानेको हैन ?
म सिनेमाको क्राफ्ट र प्रोटागनिस्टलाई कसरी पछ्याउने पढाइदिन्छु, थ्री–एक्ट्स् पनि भन्न सक्छु । के बुझ्नुस् भने म अनपढ जोक्स हाल्ने कमेडियन होइन । जोक्स हालेन भने कमेडी हुन्न । यसको बाबजुद हामीमा कमजोरी छ, बजारको प्रेसर छ । मेरो दर्शक सात कक्षा पढ्ने दर्शकदेखि मन्त्रीसम्म हुन् । जोक मात्र हालेको भए मन्त्री हलमा आउँदैनथे होला । हिजोको सिरियलको क्रेजले अहिले दर्शक हलमा आउने होइन, मनोरञ्जनात्मक नहुँदा सलमानका फिल्म पनि फ्लप भएका छन् ।

तपाईंका फिल्मले व्यापार गरेपनि दर्शकको स्वाद बिगारिहेका छन्, फिल्म भनेकै ॅछक्कापञ्जा’ हो भन्ने मान्यता स्थापित हुँदै छ भन्ने चिन्ता छ नि ?
पहिले त दर्शक हलसम्म ल्याउने वातावरण बनाउनुपर्छ । मैले अनमोल केसीको टाइपको फिल्म बनाउन थालें भने म बिग्रन्छु । तपाईं गाउँपालिका अध्यक्ष हो भने देश कसरी हाँक्ने भनेर सोच्नुपदैन, गाउँपालिका हाँके पुग्छ ।

तपाईंका लागि फिल्मको श्रेष्ठताको मानक व्यापार मात्र हो ?
पक्कै हैन, मैले छन्द मिलाएर राख्ने संवाद पनि कम गर्दै गइरहेको छु तर सुरुमा हेर्ने बजार नै हो । भारतमा ‘लन्च बक्स’ धेरैलाई थाहा छ कि ‘शोले’ ? व्यापारसँगै कला दिन सक्यो भने राम्रो ।

तपाईं व्यंग्य गरेरै यहाँसम्म आइपुग्नुभयो । व्यंग्य भनेको आलोचना नै हो । आफ्ना फिल्मको आलोचना चाहिँ किन पचाउन सक्नुहुन्न ?
म समीक्षकलाई घोचिरहेको हुन्छु । समीक्षकको काम फिल्ममा यो राम्रो छ, यो खराब, बाँकी दर्शकको जिम्मा भन्ने हो । म पनि समीक्षक थिएँ । त्यसपछि कलाकार भएको हो । पछिल्लो चरणमा केही मान्छेले समीक्षाको नाममा गाली गर्न थाले । कबाड फिल्म भनेर लेख्न थाले । यो त स्विकार्न सकिन्न । फेसबुकमा ‘अनमोलजस्तो पो हिरो, तँ बूढा केको हिरो ?’ भनेर लेख्छन् । यस्तासँग भड्किन्छु ।

यसपटक ट्रेलरमा नकारात्मक कमेन्ट आएपछि आलोचकलाई दुश्मन नै ठान्नुभयो । तपाईंका फिल्म सबैलाई मन पर्नै पर्ने ?
म ५० वटा नक्कली आईडी देखाइदिन्छु, सरकारले कारबाही गर्न सक्छ ? कुनै पनि आईडी बनाउँदा नागरिकता चाहिन्छ, फेसबुक आईडी भनेको परिचय हो । नक्कली आइडी बनाएर नकारात्मक कमेन्ट गर्नेसँग चुप बस्न सक्दिनँ ।

यत्रो फिल्म बनाउँदै गरेको मान्छे, फेसबुक/युट्युबमा कसले के कमेन्ट गर्‍यो भन्नेजस्ता कुरामा अल्झन सुहाउँछ ?
त्यसका लागि मेरा मान्छे छन्, उनीहरूको सल्लाहबमोजिम अगाडि बढ्छु । जसरी मेरा ‘हेटर्स’ छन्, त्यसरी ‘फ्यान’ पनि छन् ।

ॅयसपालि त दीपाश्री ब्याउने कुरो छ’ जस्तो चिप प्रमोसन गीत सार्वजनिक गर्नुभयो । नैतिकता र जिम्मेवारीबोध हुन्न ?
मैले प्रोपोगान्डा नगर्ने कोसिस गरें । टिपिकल नेपाली शब्द राखेर ‘जूनको जूनेली...’ गीत ल्याएँ । ट्रेलरमा पनि संयमित भएँ । कथा भन्न खोजें तर यी दुवैको रिजल्ट हेरेपछि लाग्यो कि, मान्छेहरू मलाई फेल गराउन चाहन्छन् । मलाई बजार थाहा छ । त्यो भएर ‘बीच्च बीच्चमा गीत...’ ल्याएँ । योजनाबद्ध ढंगले स्क्यान्डलकै लागि ल्याएको हो ।

भनेपछि तपाईं ॅएटेन्सन सिकर’ हो ?
‘नाम हो, बदनाम हो, गुमनाम मत हो’ भन्ने सूत्रलाई मान्छु ।

ॅछ माया छपक्कै’ मा निर्देशक दीपेन्द्र लामाको इन्ट्रीचाहिँ कसरी भयो ?
उहाँले मूल आइडिया सुनाउनुभयो । स्क्रिप्ट पूरै छ भन्नुभयो तर मैले स्क्रिप्ट लिन्नँ, बरु निर्देशन गर्नुस् भनें । त्यसै पनि म सहायक निर्देशक त सबैको भइहाल्छु ।

तपाईं सहायक निर्देशक, दीपाश्री निरौला सल्लाहकार निर्देशक । निर्देशक कति चेपुवामा परे होलान् ?
मैले सुपरहिट फिल्म दिएँ भने केको चेपुवा ? हस्तक्षेप गरेर फ्लप फिल्म बनाएको भए पो !

आफैं निर्देशनचाहिँ किन गर्नुहुन्न ?
हाम्रो टिममा पूर्ण अधिकार कसैलाई छैन । निर्देशकले गलत डिसिजन गर्दा खुम्चाउनैपर्छ । पोस्ट–प्रोडक्सनमा सम्पादकले खुम्चाउँथ्यो भने हामीले सेटमै अलि खुम्चायौं होला । त्यति हो ।

तपाईं त चलचित्र विकास बोर्डसँग पनि रुस्ट हुनुहुन्छ रे, हो ?
त्यहाँ धेरैले जागिर खान पाएका छन्, बेरोजगारी कम भएको छ, केही चलचित्रकर्मीलाई प्रोत्साहित गरेर पद दिइएको छ, उनीहरूको कमाइ भएको छ । यसबाट उत्साहित छु । विकासचाहिँ यसले विदेशी चलचित्रको गरिरहेको छ । मन्त्रीजी (सञ्चारमन्त्री गोकुल बाँस्कोटा) र बोर्ड अध्यक्ष (केशव भट्टराई) को आवाज ठूलै थियो, म व्यस्त भएर हो कि आवाज सुन्न छोड्या छु । विदेशी फिल्मलाई कडाई गरिएन भने नेपाली फिल्म पनि बन्थ्यो भन्ने दिन आउँछ । विदेशी फिल्मको टिकट सय रुपैयाँ बढाउनुपर्छ । बिहीबार आएको हिन्दी फिल्म राष्ट्रिय टोपी लगाएकाले सेन्सर गरेर शुक्रबार मेरो फिल्मसँगै हान्न आउँछ । हामीले बनाउनदेखि चलाउनसम्म झमेलाझमेलै सहनुपर्छ । यो अन्त्य हुनैपर्छ ।
प्रस्तुति ः गोकर्ण गौतम

प्रकाशित : आश्विन २५, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?