३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टोटनहमको संकट

हिमेश

 
गत सिजनको अन्त्यसम्म टोटनहमको खेललाई लिएर ‘वाहवाही’ थियो  । जसरी उसले युरोपेली च्याम्पियन्स लिगमा आयाक्स र म्यानचेस्टर सिटीलाई पन्छाएको थियो, प्रशंसाका दुई शब्द खर्च गर्न कन्ज्युसाइँ गर्ने खालेको प्रदर्शन थिएन त्यो  ।

टोटनहमको संकट

अर्जेन्टिनी प्रशिक्षक मउरिसो पोचेटिनोलाई अब लामै समयका लागि क्लबको जिम्मा दिनुपर्छ पनि भन्न थालिएको थियो । अहिले नयाँ सिजन सुरु हुन पाएको छैन, त्यही टोटनहमको खेललाई लिएर ‘छिःछिः’ भन्न सुरु भएको छ ।


अनि अब त दिन गन्न पनि सुरु भएको छ, यिनै पोचेटिनो कहिले बर्खास्त हुनेछन् त भनेर । टोटनहमका लागि यति कम समयमा कति धेरै समय फेरिएको छ । गत सिजनको आफ्नो अन्तिम खेलमा लिभरपुलसँग माथ खाएको थियो । त्यो खेल गुमाए पनि क्लबमाथि धेरैको धेरै विश्वास थियो, यसले अबका दिनमा पनि राम्रो गर्छ भनेर । आखिरमा क्लब इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिग खेल्दा धेरै अपेक्षा गर्नु पनि ठीक थिएन, उपविजेता भयो, ठीकै थियो । तर अहिले दिन कस्तो आएको छ भने टोटनहमले त्यही अपेक्षाको छेउछाउ पनि प्रदर्शन गर्न सकिरहेको छैन । भर्खरै इन्टरनेसलन ब्रेकअगाडि टोटनहम बायर्न म्युनिखको हातबाट नराम्रोसँग पराजित भयो । उसले आफ्नै घरमा भएको खेलमा ७–२ को हार बेहोर्‍यो । टोटनहमले क्लब इतिहासमै आफ्नो घरेलु मैदानमा यसअघि ७ गोल खाएको थिएन् । फेरि त्यो यस्तो खेल थियो, जसमा टोटनहमले सुरुआती अग्रतासमेत लिएको थियो ।


जर्मन च्याम्पियनले पक्कै राम्रो खेलेको थियो तर यो खेलको सबैभन्दा ठूलो विशेषता नै थियो, टोटनहमको सर्वथा बिर्सनलायक प्रदर्शन । फेरि यो यस्तो एक मात्र खेल थिएन, जहाँ टिमले राम्रो खेल्न सकेन भनौं । इंग्लिस प्रिमियर लिगमै पनि टोटनहमले कहाँ राम्रो खेल्न सकेको छ र ? सकेको भए, टिम लिग तालिकाको शीर्षस्थानमा रहेको लिभरपुलसँग १० अंकको दूरीमा रहने थिएन, त्यो पनि जम्माजम्मी सात चरणको खेलको समाप्तिमा । अनि लिगकपमा टोटनहम कोलचेस्टरसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको पनि धेरै भएको छैन । कोलचेस्टर कस्तो प्रतिद्वन्द्वीभन्दा यसले इंग्लिस लिग संरचनाको चौथो डिभिजनमा खेल्छ र त्यहाँका क्लबहरूको वरीयता तयार पार्ने हो भने यो टोटनहमको तुलनामा कता हो कता पुछारमा छ । सबैखाले प्रतियोगिताको खेल जोड्ने हो भने पनि टोटनहमले जित्न बिर्सेको छ । पछिल्ला नौ खेलमध्ये टिम दुईमा मात्र विजयी रहेको छ ।


जनवरीमा फुलहमलाई पराजित गरेयता टोटनहमले प्रतिद्वन्द्वीको घरमा कुनै खेल जित्न सकेको छैन । आर्सनल र ओलम्पियाकोजविरुद्धका खेलमा टोटनहम दुई गोलले अगाडि रह्यो तर खेल टुंगिँदा नतिजा रह्यो, बराबरी । लेस्टरविरुद्ध लिगमा पनि सुरुआती अग्रता त लियो तर अन्त्यमा खेल टुंगिँदा हार्ने टिम बन्यो । यस्तोमा टोटेनहमले बायर्नविरुद्धको खेल गुमाउनु संयोगमात्र थिएन । अनि, प्रश्न स्वाभाविक बन्छ– कुरा कहाँनिर
ब्रिगियो त ? सबैभन्दा पहिलो कुरा यिनै प्रशिक्षक पोचेटिनोको । आजभन्दा केही वर्षअगाडिसम्म पनि इंग्लिस फुटबलमा अर्जेन्टिनीको उपस्थिति कल्पना नै गर्न सकिन्न थियो । सन् असीतिरको फोकल्यान्ड युद्धपछि चिस्सिएको दुई देशबीचको सम्बन्धको प्रभाव त्यहाँको फुटबलमा पनि परेको थियो । अहिले दिन फेरिएका छन्, इंग्लिस फुटबलमा अर्जेन्टिनी प्रशिक्षक, अझ भनौं पूर्वखेलाडीको उपस्थिति सहज बनेको छ । नत्र जति बेला उनी खेल्थे, इंग्ल्यान्ड र अर्जेन्टिनाको फुटबल ‘राइभरि’ उत्कर्षमै थियो ।


इंग्लिस फुटबलको समर्थक हो भने सन् २००२ को विश्वकप कसरी भुल्न सक्छ र ? लिग चरणमा इंग्ल्यान्ड र अर्जेन्टिना एउटै समूहमा थिए । जति बेला दुई टिम एक आपसमा भिडेका थिए, माहोल निकै तनावपूर्ण थियो । खेल पनि उत्तिकै तनावपूर्ण रह्यो, इंग्ल्यान्ड १–० ले विजयी रह्यो । डेभिड बेकह्यामले त्यसमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । त्यो पेनाल्टीका कारक थिए, यिनै पोचेटिना । उनले माइकल ओवेनमाथि फल खेलेका थिए । त्यो विश्वकपमा अर्जेन्टिना लिग चरणबाटै बाहिरियो । पोचेटिनोका लागि त्यो हार र अर्जेन्टिना नकआउट चरण पनि पुग्न नसक्नुको प्रदर्शन कति धेरै असह्य थियो भने उनी घर पुगेयता आफ्नो कोठामा के छिरे, लगभग १० दिन बाहिर नै निस्केनन् । उनी अहिले पनि भन्छन्, ‘त्यो दिन सम्झँदा अहिले पनि मन उदास हुन्छ ।’ भन्न त उनी लिभरपुलविरुद्धको च्याम्पियन्स लिग फाइनल गुमाउँदा पनि उत्तिकै दुःख लागेको बताउँछन् ।
सायद अहिले पनि उनी उत्तिकै निराश छन् कि ? अहिले टोटनहमको खराब प्रदर्शनका सबैभन्दा बढी कोही आलोचक बनेका छन् भने ती क्लबकै समर्थक हुन् । पोचेटिनाको भाषामा यी समर्थकको यति हकचाहिँ बन्छ बन्छ । उनको भनाइ छ, ‘जस्तो अपेक्षा गरिएको थियो, त्यस्तो नतिजा निस्केन भने आलोचना त हुन्छ नै । पछिल्लो पाँच वर्षमा हाम्रो प्रदर्शन राम्रै रह्यो । त्यति बेला सबैले राम्रो माने । अहिले खराब खेलिरहेको, आलोचना पनि हुनैपर्‍यो ।’


उनी के पनि भन्छन् भने अहिले क्लबमा चाहिएको भनेको एकता हो । एकले अर्कोको आलोचना गरेर, एकले अर्कोको खेलमा खोट देखाएर हुने केही पनि होइन, टिम फेरि राम्रो लयमा फर्कने एक मात्र उपाय भनेकै सबै मिलेर उत्कृष्ट खेल पस्कने हो । उनले यत्ति गह्रौं र भावनात्मक कुरा इंग्लिसमा भन्न गाह्रो भएपछि स्पेनीमा भनेका थिए । उनी पोस्ट म्याच कन्फ्रेन्समा इंग्लिसको बीच–बीचमा स्पेनी छिराउँछन् । यसले उनलाई टिम कस्तो स्थितिबाट गुज्रिरहेको छ, त्यसबारे व्याख्या गर्न सजिलो हुन्छ । उनी प्रशिक्षकका रूपमा खुसी पनि छन्, टोटनहमलाई आफ्नो शतप्रतिशत दिन तयार छन् । के उनी इन्टरनेसनल ब्रेकपछि आफ्नो टिमलाई फेरि पुरानै लयमा फर्काउन सक्षम हुनेछन् त ? यो त्यही प्रश्न हो, जसमा धेरै प्रतिशत टिमले किन खराब खेल्यो भन्ने पनि जोडिएर आउँछ । साँच्चै टोटनहमले यो सिजन किन राम्रो गर्न सकिरहेको छैन ?


इंग्लिस फुटबलमा निकै पुरानो र उत्तिकै लोकप्रिय क्लबमा पर्छ, टोटनहम । इंग्लिस फुटबलमा के पनि भनिन्छ भने टोटनहम समर्थक हुनु भनेको दुःख र पीडा सहन तयार हुनु हो । यस्तो किनभन्दा क्लबले जति बेला केही गर्ला र जित्ला भन्ने अनुभव हुन्छ, अहिलेको जस्तै प्रदर्शन दोहरिन्छ, क्लबको भाग्यमा मार पर्छ । क्लब व्यवस्थापनमा ठूला प्रतियोगिता जित्नुपर्छ र यसका लागि खर्च पनि गर्नुपर्छ भन्ने मानसिकता छैन पनि भनिन्छ ।


यो अहिलेको मात्र समस्या होइन, यो त एक प्रकारले टोटनहममा दोहरिरहेको प्रवृत्ति हो । निकै राम्रो र सफल क्लबीच जुन अन्तर हुन्छ, त्यसमै प्रायः अलमलिरहेको हुन्छ, टोटनहम । अहिलेको टिमका लगभग अधिकांश प्रमुख खेलाडीसँगै खेल्न थालेको पाँच वर्ष जति भयो । अहिले उनीहरूबीच कलह छ । केही प्रमुख खेलाडीले सिजन सुरु हुनुअगाडि अन्यत्र जान इच्छा पनि देखाए । यस्तो गर्ने खेलाडी सात थिए, तर जान भने कोही गएनन्, यसले टिममा ठूलै समस्या भित्र्यायो । केही खेलाडी घाइते छन्, केही खेलाडीले मानसिक रूपमा राम्रो गर्न सकिरहेका छैनन् । जब कि पोहोर सिजनको खेलको आधार मान्दा टोटनहमले जबरदस्त पो खेल्नुपर्ने हो । जब एउटा सिजनबाट अर्को सिजन गइन्छ, क्लबले आफूलाई त्यहीअनुसार रूपान्तर गर्न सक्नुपर्छ । प्रशिक्षकले आफ्ना खेलाडीलाई विश्वास दिलाउन सक्नुपर्छ, हामी यसपल्ट अझ राम्रो गर्छौं भनेर । यसका लागि प्रशिक्षकलाई व्यवस्थापनको सहयोग चाहिन्छ । ठ्याक्कै भन्दा टोटनहम यस्तै–यस्तै परिस्थितिमा चुकिरहेको छ । यो अहिलेको रोग पनि होइन, पहिलेदेखिकै हो ।
Twitter: @himeshratna

प्रकाशित : आश्विन २५, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?