छुट्ला है !

एक फिल्म विद्यार्थीको रोजाइका फिल्म
किरण विक

आजको दिनमा फिल्मका दर्शक बढ्दै गइरहेका छन्  । फिल्मले मनोरञ्जक र बौद्धिक साधनका रूपमा स्वीकार्यता पाइसकेको छ  ।

छुट्ला है !

बिस्तारै यसले किताबका कीराहरूमाझ पनि ज्ञानको स्रोतको रूपमा स्पेस पाउन थालेको छ । नेपालमा पनि फिल्मलार्ई मनोरञ्जन र बौद्धिक कर्म मान्ने जमात छ । मनोरञ्जन मान्नेहरू फिल्मलाई ‘कमर्सियल प्रोडक्ट’ भन्छन् भने बौद्धिक कर्म मान्नेहरू फिल्मलाई ‘आर्ट’ भन्छन् । मेरो आफ्नो मतचाहिँ फिल्म ‘कमर्सियल प्रोडक्ट’ नै हो जसको कलात्मक मूल्य छ भन्ने हो ।


सिनेमाप्रेमी नेपालीहरूले विश्वबजारमा चर्चा कमाएका फिल्महरू सम्भव भए हलमै गएर नभए अन्य वैकल्पिक उपायबाट पनि हेर्न थालेका छन् । म पनि फिल्मको औपचारिक विद्यार्थी हुनाले र फिल्म मेकिङमा भविष्य खोजिरहेको हुनाले सम्भव भएसम्म धेरै फिल्म हेर्ने गर्छु । नेपालमा कलात्मक समीक्षाको दृष्टिले अब्बल मानिएका फिल्महरू बारे प्रशस्तै चर्चा परिचर्चा गरिएको सुनेको/देखेको तर व्यवसायिक फिल्मबारे कम चर्चा गरेको सुनेको/देखेको हुनाले कतै नेपाली दर्शकले राम्रा ‘कमर्सियल’ फिल्म हेर्न त छुटाएनन् भन्ने जिज्ञासा मेरो मनमा पलाइरह्यो । फलस्वरूप यो लेख लेख्न पुगें । यसमा ज्यादातर व्यावसायिक फिल्म छन् । यो लेख विश्व बजारमा चर्चित केही फिल्महरूको सामान्य परिचयात्मक विवरण मात्र हो र फिल्मप्रेमी दर्शकहरूलाई हेर्नका लागि सुझाव पनि हो ।

एगोरा : यो फिल्म हाइपासिया नामकी चौथो शताब्दीकी गणितिज्ञ तथा एस्ट्रोनोमीस्ट महिलाको बारेमा हो जसले उति बेलै सूर्य पृथ्वीको वरिपरि होइन, पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्ने तथ्य पेस गरेकी थिइन् भन्ने विश्वास गरिन्छ । धर्म (समाज) विज्ञानबीचको घर्षणले उत्पन्न गराएको युद्धका कारण एगोराको आफ्नै विद्यार्थीद्वारा हत्या हुन्छ । उनले पेस गरेको तथ्य १२०० वर्षपछि १७ औं शताब्दीमा फेरि वैज्ञानिक जोहान्स केप्लरले प्रमाणित गरे ।

ओमकारा : विशाल भारद्वाजले निर्देशन गरेको ‘ओमकारा’ सेक्सपियरको नाटक ‘ओथेलो’बाट प्रभावित भएको हो । तर, मेरो आफ्नो अनुभवमा राजा भर्तृहरिको कथा, महाभारतका धृतराष्ट्रको कथा र ओथेलो कथा गरी यो तीनवटा कथाको मिश्रण हो । यसका पटकथाकार रोबिन भट्टलाई उक्त फिल्मको कथाबारे मैले त तीनवटा कथाको मिश्रण देख्छु नि भन्दा त्यस्तो हुन सक्छ तर मलाई थाहा छैन भन्ने उत्तर दिएका थिए । मलाई यो फिल्म नेपालमै रोबिन भट्टसँगै बसेर हेर्ने मौका मिलेको थियो ।

द इल्युजनिस्ट : सानोतिनो चटक गर्ने एक गरिब केटाको प्रेम त्यसै गाउँको धनाढ्यकी छोरीसँग बस्छ । केटीको परिवारले गरिबको संगत थाहा पाएपछि छुट्टाउँछन् । केटा त्यो ठाउँ छोडेर जान्छ भने केटीको एक युवराजसँग बिहे हुन्छ । केटो केही समयपछि ठूलो जादुगर भएर सहर फर्किन्छ । मरेको आत्मा बोलाउन पनि सक्छ । आफ्नो कलाजादुको नक्कली प्रयोगबाट उसले आफ्नी प्रेमिका फिर्ता पाउँछ । मैले अंग्रेजी फिल्म हेर्न सुरु गरेको यो दोस्रो फिल्म भएकाले यसको प्रभाव ममा निकै परेको छ ।

परफ्युम : एकदमै फोहोरमा हुर्केको बढेको बालकले वासना परैबाट थाहा पाउने गुण पाएको हुन्छ । सधैं फोहोरमा हुर्केको उसलार्ई एक दिन युवतीको सुगन्ध मन पर्छ । संसारकै सबैभन्दा सुगन्धित युवतीको खोजी र युवतीको शरीरको वासना जम्मा गर्ने लोभले ऊ अनेक महिलाको हत्या गर्दै आफ्नो लक्ष्यमा पुग्छ ।

रेड स्प्यारो : सस्पेन्स रुचाउनेहरूलाई यो फिल्म रोचक हुन सक्छ । रसिया र अमेरिकाबीच शीतयुद्धकालमा युवती प्रयोग गरेर पनि जासुसी भयो । फिक्सनल भए पनि यो फिल्म सत्यतथ्यबाट प्रेरित छ ।

टु किल अ मकिङबर्ड : यो फिल्म हार्पर लिको १९६० मा प्रकाशित यसै नामको चर्चित उपन्यासमा आधारित छ । एउटा गोरो वकिलले कालो अभियुक्तको केस लडिरहेको छ । उसका एक सानो छोरा र एक सानी छोरी यस्तो काला र गोराको अन्याय हेर्दै बुबालाई प्रश्न गर्दै हुर्किरहेका छन् । यसकै वरिपरि फिल्म छ ।

आनोन : यो साइफाई जनराको फिल्म हो । हलिउडमा साइफाई जनरा विकसित र सफल मानिन्छ । पछिल्ला सबै हेरिएका साइफाईमध्ये यो मन परेको फिल्म हो । यसमा यस्तो संसार छ जहाँ सरकारी अधिकारीहरूले आँखाबाटै स्क्यान गरेर निगरानी गर्न सक्छन् ।

क्यापरनम : यो लेवनानी फिल्म हो । लेवनानको अशिक्षित गरिब सुकुम्बासी बस्तीमा धेरै बच्चाबच्ची हुने एक युवकले बाँच्नका लागि गरेको संघर्षको कथा हो । सन् २०१८ को यो फिल्म टोरेन्टबाट धेरै डाउनलोड हुनेमा पर्छ । नदाइन लवाकीले यही फिल्मबाट क्यान्समा जुरी अवार्ड पाएकी थिइन् ।
द डिपार्टेड : म्यासाचुसेट्स राज्य प्रहरीभित्रको अपारदर्शी क्रियाकलाप र यसका अन्डरकभर एक्सन र अन्डरकभर एजेन्टबीचको मिलेमतो र धोकाधढी बारेको यो फिल्म धेरै नै डरलाग्दो छ । यसमा चर्चित दुई हलिउड हिरो मेट डेमन र लियोनार्डो डिक्याप्रियोले एक अर्काको काउन्टरको भूमिका खेलका छन् ।

कर्स अफ द गोल्डेन फ्लावर : यो प्राचीनकालको चिनियाँ सम्राट्को दरबारभित्रको महत्त्वाकांक्षा जालसाजी षड्यन्त्र र अनैतिक सम्बन्ध आदिबारेको गठजोड हो । यो फिल्म हेर्दा म धेरैपटक तर्सिएको थिएँ, यद्यपि यो भूतको फिल्म होइन । चीनका अहिलेसम्मकै सफल निर्देशक मानिने च्याङ यिमाउले यसको निर्देशन गरेका हुन् ।

ब्ल्याकमास : यो अमेरिकी डकैत जेम्स ह्वाइटिको जीवनीलगायत अन्य डकैतीको घटनाको जोडजाड हो । कन्टेन्टभन्दा पनि यो फिल्मको मेकिङ स्टाइल मन परेको हो ।

डिटेक्टिभ डी : हिन्दी र अंग्रेजी जासुसी फिल्म हेर्नेहरूलाई पनि यो मोनोटोनस ब्रेक गर्ने फिल्म बन्न सक्छ । यस फिल्मका तीनवटै भाग हेर्न मेरो सुझाव छ । विशाल साम्राज्यको महारानीलाई मार्न एउटा मजदुरले कस्तासम्म योजना बनाउँछ हेर्न मजा आउँछ ।

ब्याटम्यान : यो सिरिजका तीनवटै फिल्म हेर्नुपर्छ । क्रिस्टोफर नोलानको निर्देशन बेजोड छ । ब्याटम्यानमा हिरोले कुनै जादू गर्दैन ।

अ डेन्जरस मेथड : फ्रायड र उनको साथी कार्ल जंगले जीवनमा सविना नाम गरेकी एक मानसिक बिरामी महिलामाथि विभिन्न प्रयोग र अन्तरंग गरे । यो फिल्म त्यसकै बारेमा हो ।

एक रुका हुआ फैसला : यो फिल्म ‘ट्वेल्भ एङ्ग्री म्यान’को हिन्दी अनुवाद हो । फिल्म मेकिङका विद्यार्थीलाई डायलग प्रोजेक्टअन्तर्गत यसलाई अनिवार्य रूपमा हेर्न भनिन्छ । मलाई यो अंग्रेजीभन्दा हिन्दी भाषामा हेर्दा मजा लाग्यो ।

द प्रेस्टिज : बलिउडको ‘धुम थ्री’ यसबाटै प्रेरित थियो । दुई जादुगर जुम्ल्याहा दाजु भाइको अर्को प्रतिस्पर्धी जादुगरसँगको लडाइँ नै मुख्य कथा हो ।

ट्रान्सपोर्टर : जेसन स्टेथामलाई त हलिउडको सलमान खान भने पनि हुन्छ । उसो त सलमान खान नै स्टेथामबाट निकै प्रभावित भएजस्तो देखिन्छ । जेसनका फिल्म औसत कथाको हुने भए पनि मेकिङका हिसाबले हेर्न सधैं रमाइलो लाग्छ ।

ग्रिनमाइल : यो फिल्म मृत्युदण्ड सुनाइएकाहरूलार्ई करेन्ट लगाएर दिइने मृत्युदण्ड र एउटा जेलको कुरुवा प्रहरी जो पिसाबको बिरामी हुन्छ, काबीचको हो ।

पाइरेट्स अफ द क्यारेबियन : क्याप्टेन ज्याक स्प्यारो मलाई एकदम मन परेको पात्र हो । एक सामुद्री लुटेराको ठूलो जहाज ब्ल्याक पर्लको क्याप्टेन बन्ने रहरबाट जालझेल इच्छा आदि वरिपरि बनेको पहिलो फिल्मका थुप्रै भाग आइसकेका छन् ।

वेलकम : हिन्दी फिल्म ‘वेलकम’को कथा, चरित्र र संवाद सबै असाध्यै मन परेको थियो । जोबाट भागेको हो उसैसँग सहारा माग्न पुग्नुपर्ने गरी घुमेको कथा छ ।

साइनो : प्राय: दुई हिरोइन र एक हिरो भएको त्रिकोणात्मक प्रेम कथामा एक जना मर्नै पर्ने नेपाली फिल्मको प्रचलित कथा हो । यसमा भने कसैलार्ई मारिएको छैन । यो क्लिसेभन्दा थोरै परको फिल्म हो ।

मारुनी : कथाका दृष्टिले ‘मारुनी’ अब्बल हो । ट्रान्सजेन्डरको विषयमा बनेको यो फिल्म मलाई निकै नै राम्रो लाग्यो । यसमा कथालार्ई अनावश्यक तोडमोड नगरी यथार्थपरक देखाइएको छ ।

डाउनफल : यो फिल्म हिटलरका अन्तिम दिनहरूको बारेमा बनेको छ ।

ट्रयाएंगल : यो प्रयोगात्मक फिल्म हो । कथा भन्ने तरिका पनि नौलो छ । उही घटना उही पात्र स्थितिको अन्त्यपछि पनि दोहोरिराख्छ । यसले दर्शकलाई पटक–पटक झुक्याउँछ ।

स्टोकर : यस फिल्मको मुख्य कन्टेन्ट आमा–अंकल–छोरीबीचको अन्तरंग सम्बन्ध र बदला हो । निर्देशनमा अब्बल यो फिल्म फिल्ममेकरलाई लाभदायी हुन सक्छ ।

भ्यान्टेज पोइन्ट : एउटा खुला समारोहमा कडा सुरक्षाबीच राष्ट्रपतिको हत्या भएपछि के हुन्छ ? त्यसै हत्याको अनुसन्धान त्रिकोणात्मक हुन्छ । अनुसन्धान विधिले दर्शकलाई रमाइलो अनुभूति गराउँछ ।

अन्धाधुन : यस वर्ष उत्कृष्ट फिल्मको राष्ट्रिय पुरस्कार पाएको बलिउड फिल्म ‘अन्धाधुन’मा दृष्टिविहीनको अभिनय गरिरहेको युवक अचानक एउटा हत्याको साक्षी बन्न पुग्छ । कसरी त्यो हत्या उजागर गर्ने भन्ने सोच्दासोच्दै हत्याराहरूबाट साँच्चिकै दृष्टिविहीन बनाइन्छ ।

किंग्सम्यान : एउटा अन्डरकभर जासुसी संस्थाले केही नयाँ युवालाई विभिन्न मिसनका लागि भर्ती गर्छ र तालिम दिएर मिसनहरूमा पठाउँछ । फिल्म कथा, निर्देशन, पटकथा सबै आधारमा अब्बल छ ।

द गुड द ब्याड द अग्ली : वेस्टर्न जनरामा यो निकै राम्रो फिल्म हो । पैसाको लागि राज्यले घोषणा गरेका फरार अपराधी खोज्न तीन वयस्क लडाकुहरूको यात्रा र विभिन्न उतारचढावबारेको कथा यस फिल्ममा रहेको छ । खासगरी यसको जिंगल म्युजिक प्रसिद्ध मानिन्छ ।
[email protected]

प्रकाशित : आश्विन २५, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?