छुट्ला है !

एक फिल्म विद्यार्थीको रोजाइका फिल्म
किरण विक

आजको दिनमा फिल्मका दर्शक बढ्दै गइरहेका छन्  । फिल्मले मनोरञ्जक र बौद्धिक साधनका रूपमा स्वीकार्यता पाइसकेको छ  ।

बिस्तारै यसले किताबका कीराहरूमाझ पनि ज्ञानको स्रोतको रूपमा स्पेस पाउन थालेको छ । नेपालमा पनि फिल्मलार्ई मनोरञ्जन र बौद्धिक कर्म मान्ने जमात छ । मनोरञ्जन मान्नेहरू फिल्मलाई ‘कमर्सियल प्रोडक्ट’ भन्छन् भने बौद्धिक कर्म मान्नेहरू फिल्मलाई ‘आर्ट’ भन्छन् । मेरो आफ्नो मतचाहिँ फिल्म ‘कमर्सियल प्रोडक्ट’ नै हो जसको कलात्मक मूल्य छ भन्ने हो ।


सिनेमाप्रेमी नेपालीहरूले विश्वबजारमा चर्चा कमाएका फिल्महरू सम्भव भए हलमै गएर नभए अन्य वैकल्पिक उपायबाट पनि हेर्न थालेका छन् । म पनि फिल्मको औपचारिक विद्यार्थी हुनाले र फिल्म मेकिङमा भविष्य खोजिरहेको हुनाले सम्भव भएसम्म धेरै फिल्म हेर्ने गर्छु । नेपालमा कलात्मक समीक्षाको दृष्टिले अब्बल मानिएका फिल्महरू बारे प्रशस्तै चर्चा परिचर्चा गरिएको सुनेको/देखेको तर व्यवसायिक फिल्मबारे कम चर्चा गरेको सुनेको/देखेको हुनाले कतै नेपाली दर्शकले राम्रा ‘कमर्सियल’ फिल्म हेर्न त छुटाएनन् भन्ने जिज्ञासा मेरो मनमा पलाइरह्यो । फलस्वरूप यो लेख लेख्न पुगें । यसमा ज्यादातर व्यावसायिक फिल्म छन्। यो लेख विश्व बजारमा चर्चित केही फिल्महरूको सामान्य परिचयात्मक विवरण मात्र हो र फिल्मप्रेमी दर्शकहरूलाई हेर्नका लागि सुझाव पनि हो ।

एगोरा : यो फिल्म हाइपासिया नामकी चौथो शताब्दीकी गणितिज्ञ तथा एस्ट्रोनोमीस्ट महिलाको बारेमा हो जसले उति बेलै सूर्य पृथ्वीको वरिपरि होइन, पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्ने तथ्य पेस गरेकी थिइन् भन्ने विश्वास गरिन्छ । धर्म (समाज) विज्ञानबीचको घर्षणले उत्पन्न गराएको युद्धका कारण एगोराको आफ्नै विद्यार्थीद्वारा हत्या हुन्छ । उनले पेस गरेको तथ्य १२०० वर्षपछि १७ औं शताब्दीमा फेरि वैज्ञानिक जोहान्स केप्लरले प्रमाणित गरे ।

ओमकारा : विशाल भारद्वाजले निर्देशन गरेको ‘ओमकारा’ सेक्सपियरको नाटक ‘ओथेलो’बाट प्रभावित भएको हो । तर, मेरो आफ्नो अनुभवमा राजा भर्तृहरिको कथा, महाभारतका धृतराष्ट्रको कथा र ओथेलो कथा गरी यो तीनवटा कथाको मिश्रण हो । यसका पटकथाकार रोबिन भट्टलाई उक्त फिल्मको कथाबारे मैले त तीनवटा कथाको मिश्रण देख्छु नि भन्दा त्यस्तो हुन सक्छ तर मलाई थाहा छैन भन्ने उत्तर दिएका थिए । मलाई यो फिल्म नेपालमै रोबिन भट्टसँगै बसेर हेर्ने मौका मिलेको थियो ।

द इल्युजनिस्ट : सानोतिनो चटक गर्ने एक गरिब केटाको प्रेम त्यसै गाउँको धनाढ्यकी छोरीसँग बस्छ। केटीको परिवारले गरिबको संगत थाहा पाएपछि छुट्टाउँछन् । केटा त्यो ठाउँ छोडेर जान्छ भने केटीको एक युवराजसँग बिहे हुन्छ । केटो केही समयपछि ठूलो जादुगर भएर सहर फर्किन्छ । मरेको आत्मा बोलाउन पनि सक्छ। आफ्नो कलाजादुको नक्कली प्रयोगबाट उसले आफ्नी प्रेमिका फिर्ता पाउँछ । मैले अंग्रेजी फिल्म हेर्न सुरु गरेको यो दोस्रो फिल्म भएकाले यसको प्रभाव ममा निकै परेको छ ।

परफ्युम : एकदमै फोहोरमा हुर्केको बढेको बालकले वासना परैबाट थाहा पाउने गुण पाएको हुन्छ । सधैं फोहोरमा हुर्केको उसलार्ई एक दिन युवतीको सुगन्ध मन पर्छ । संसारकै सबैभन्दा सुगन्धित युवतीको खोजी र युवतीको शरीरको वासना जम्मा गर्ने लोभले ऊ अनेक महिलाको हत्या गर्दै आफ्नो लक्ष्यमा पुग्छ ।

रेड स्प्यारो : सस्पेन्स रुचाउनेहरूलाई यो फिल्म रोचक हुन सक्छ । रसिया र अमेरिकाबीच शीतयुद्धकालमा युवती प्रयोग गरेर पनि जासुसी भयो । फिक्सनल भए पनि यो फिल्म सत्यतथ्यबाट प्रेरित छ ।

टु किल अ मकिङबर्ड : यो फिल्म हार्पर लिको १९६० मा प्रकाशित यसै नामको चर्चित उपन्यासमा आधारित छ । एउटा गोरो वकिलले कालो अभियुक्तको केस लडिरहेको छ । उसका एक सानो छोरा र एक सानी छोरी यस्तो काला र गोराको अन्याय हेर्दै बुबालाई प्रश्न गर्दै हुर्किरहेका छन् । यसकै वरिपरि फिल्म छ ।

आनोन : यो साइफाई जनराको फिल्म हो । हलिउडमा साइफाई जनरा विकसित र सफल मानिन्छ । पछिल्ला सबै हेरिएका साइफाईमध्ये यो मन परेको फिल्म हो । यसमा यस्तो संसार छ जहाँ सरकारी अधिकारीहरूले आँखाबाटै स्क्यान गरेर निगरानी गर्न सक्छन् ।

क्यापरनम : यो लेवनानी फिल्म हो । लेवनानको अशिक्षित गरिब सुकुम्बासी बस्तीमा धेरै बच्चाबच्ची हुने एक युवकले बाँच्नका लागि गरेको संघर्षको कथा हो । सन् २०१८ को यो फिल्म टोरेन्टबाट धेरै डाउनलोड हुनेमा पर्छ । नदाइन लवाकीले यही फिल्मबाट क्यान्समा जुरी अवार्ड पाएकी थिइन् ।
द डिपार्टेड : म्यासाचुसेट्स राज्य प्रहरीभित्रको अपारदर्शी क्रियाकलाप र यसका अन्डरकभर एक्सन र अन्डरकभर एजेन्टबीचको मिलेमतो र धोकाधढी बारेको यो फिल्म धेरै नै डरलाग्दो छ । यसमा चर्चित दुई हलिउड हिरो मेट डेमन र लियोनार्डो डिक्याप्रियोले एक अर्काको काउन्टरको भूमिका खेलका छन् ।

कर्स अफ द गोल्डेन फ्लावर : यो प्राचीनकालको चिनियाँ सम्राट्को दरबारभित्रको महत्त्वाकांक्षा जालसाजी षड्यन्त्र र अनैतिक सम्बन्ध आदिबारेको गठजोड हो । यो फिल्म हेर्दा म धेरैपटक तर्सिएको थिएँ, यद्यपि यो भूतको फिल्म होइन । चीनका अहिलेसम्मकै सफल निर्देशक मानिने च्याङ यिमाउले यसको निर्देशन गरेका हुन्।

ब्ल्याकमास : यो अमेरिकी डकैत जेम्स ह्वाइटिको जीवनीलगायत अन्य डकैतीको घटनाको जोडजाड हो । कन्टेन्टभन्दा पनि यो फिल्मको मेकिङ स्टाइल मन परेको हो ।

डिटेक्टिभ डी : हिन्दी र अंग्रेजी जासुसी फिल्म हेर्नेहरूलाई पनि यो मोनोटोनस ब्रेक गर्ने फिल्म बन्न सक्छ । यस फिल्मका तीनवटै भाग हेर्न मेरो सुझाव छ । विशाल साम्राज्यको महारानीलाई मार्न एउटा मजदुरले कस्तासम्म योजना बनाउँछ हेर्न मजा आउँछ ।

ब्याटम्यान : यो सिरिजका तीनवटै फिल्म हेर्नुपर्छ । क्रिस्टोफर नोलानको निर्देशन बेजोड छ । ब्याटम्यानमा हिरोले कुनै जादू गर्दैन ।

अ डेन्जरस मेथड : फ्रायड र उनको साथी कार्ल जंगले जीवनमा सविना नाम गरेकी एक मानसिक बिरामी महिलामाथि विभिन्न प्रयोग र अन्तरंग गरे । यो फिल्म त्यसकै बारेमा हो ।

एक रुका हुआ फैसला : यो फिल्म ‘ट्वेल्भ एङ्ग्री म्यान’को हिन्दी अनुवाद हो । फिल्म मेकिङका विद्यार्थीलाई डायलग प्रोजेक्टअन्तर्गत यसलाई अनिवार्य रूपमा हेर्न भनिन्छ । मलाई यो अंग्रेजीभन्दा हिन्दी भाषामा हेर्दा मजा लाग्यो ।

द प्रेस्टिज : बलिउडको ‘धुम थ्री’ यसबाटै प्रेरित थियो । दुई जादुगर जुम्ल्याहा दाजु भाइको अर्को प्रतिस्पर्धी जादुगरसँगको लडाइँ नै मुख्य कथा हो ।

ट्रान्सपोर्टर : जेसन स्टेथामलाई त हलिउडको सलमान खान भने पनि हुन्छ । उसो त सलमान खान नै स्टेथामबाट निकै प्रभावित भएजस्तो देखिन्छ । जेसनका फिल्म औसत कथाको हुने भए पनि मेकिङका हिसाबले हेर्न सधैं रमाइलो लाग्छ ।

ग्रिनमाइल : यो फिल्म मृत्युदण्ड सुनाइएकाहरूलार्ई करेन्ट लगाएर दिइने मृत्युदण्ड र एउटा जेलको कुरुवा प्रहरी जो पिसाबको बिरामी हुन्छ, काबीचको हो ।

पाइरेट्स अफ द क्यारेबियन : क्याप्टेन ज्याक स्प्यारो मलाई एकदम मन परेको पात्र हो । एक सामुद्री लुटेराको ठूलो जहाज ब्ल्याक पर्लको क्याप्टेन बन्ने रहरबाट जालझेल इच्छा आदि वरिपरि बनेको पहिलो फिल्मका थुप्रै भाग आइसकेका छन्।

वेलकम : हिन्दी फिल्म ‘वेलकम’को कथा, चरित्र र संवाद सबै असाध्यै मन परेको थियो । जोबाट भागेको हो उसैसँग सहारा माग्न पुग्नुपर्ने गरी घुमेको कथा छ ।

साइनो : प्राय: दुई हिरोइन र एक हिरो भएको त्रिकोणात्मक प्रेम कथामा एक जना मर्नै पर्ने नेपाली फिल्मको प्रचलित कथा हो । यसमा भने कसैलार्ई मारिएको छैन । यो क्लिसेभन्दा थोरै परको फिल्म हो ।

मारुनी : कथाका दृष्टिले ‘मारुनी’ अब्बल हो । ट्रान्सजेन्डरको विषयमा बनेको यो फिल्म मलाई निकै नै राम्रो लाग्यो । यसमा कथालार्ई अनावश्यक तोडमोड नगरी यथार्थपरक देखाइएको छ ।

डाउनफल : यो फिल्म हिटलरका अन्तिम दिनहरूको बारेमा बनेको छ ।

ट्रयाएंगल : यो प्रयोगात्मक फिल्म हो । कथा भन्ने तरिका पनि नौलो छ । उही घटना उही पात्र स्थितिको अन्त्यपछि पनि दोहोरिराख्छ । यसले दर्शकलाई पटक–पटक झुक्याउँछ ।

स्टोकर : यस फिल्मको मुख्य कन्टेन्ट आमा–अंकल–छोरीबीचको अन्तरंग सम्बन्ध र बदला हो । निर्देशनमा अब्बल यो फिल्म फिल्ममेकरलाई लाभदायी हुन सक्छ ।

भ्यान्टेज पोइन्ट : एउटा खुला समारोहमा कडा सुरक्षाबीच राष्ट्रपतिको हत्या भएपछि के हुन्छ? त्यसै हत्याको अनुसन्धान त्रिकोणात्मक हुन्छ । अनुसन्धान विधिले दर्शकलाई रमाइलो अनुभूति गराउँछ ।

अन्धाधुन : यस वर्ष उत्कृष्ट फिल्मको राष्ट्रिय पुरस्कार पाएको बलिउड फिल्म ‘अन्धाधुन’मा दृष्टिविहीनको अभिनय गरिरहेको युवक अचानक एउटा हत्याको साक्षी बन्न पुग्छ। कसरी त्यो हत्या उजागर गर्ने भन्ने सोच्दासोच्दै हत्याराहरूबाट साँच्चिकै दृष्टिविहीन बनाइन्छ ।

किंग्सम्यान : एउटा अन्डरकभर जासुसी संस्थाले केही नयाँ युवालाई विभिन्न मिसनका लागि भर्ती गर्छ र तालिम दिएर मिसनहरूमा पठाउँछ । फिल्म कथा, निर्देशन, पटकथा सबै आधारमा अब्बल छ ।

द गुड द ब्याड द अग्ली : वेस्टर्न जनरामा यो निकै राम्रो फिल्म हो । पैसाको लागि राज्यले घोषणा गरेका फरार अपराधी खोज्न तीन वयस्क लडाकुहरूको यात्रा र विभिन्न उतारचढावबारेको कथा यस फिल्ममा रहेको छ । खासगरी यसको जिंगल म्युजिक प्रसिद्ध मानिन्छ ।
readerkiran@yahoo.com

प्रकाशित : आश्विन २५, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बाघ किन बन्छ नरभक्षी ?

बाघले आखिर कुन अवस्थामा मान्छेको सिकार गर्छ ? यसमा विज्ञहरूका विभिन्न मत छन् । धेरैको भनाइचाहिँ मानिस बाघको स्वाभाविक सिकार होइन भन्नेमा छ । धेरैको भनाइ छ– ॅप्राकृतिक विपत्तिले वा घाइते भएका बाघमात्र नरभक्षी बन्छन् ।’ अपवाद त जंगलमा पनि हुन्छन् !
युवराज भट्टराई

सन् १८९८ को कुरा हो, ब्रिटेनले आफ्नो उपनिवेश केन्या र युगान्डा जोड्ने रेल्वे लाइन विस्तार गर्दै थियो  । केन्याको तासाभो नदीमाथि पुल हालिँदै थियो  ।

आठ माइल क्षेत्रभित्र छरिएका हजारौं भारतीय कामदारका क्याम्प थिए । अचानक सिंगो क्याम्प दुई नरभक्षी सिंहद्वारा आतंकित हुन पुग्यो । यिनको सिकार गर्ने लेफ्टिनेन्ट जोन हेनरी प्याटरसनका अनुसार, यी दुई जग्गर नभएका सिंहहरूले मार्चदेखि डिसेम्बरसम्ममा १३५ जना मारेका थिए । क्याम्पमा जस्तै तारबार र काँडा लगाए पनि राति लुसुक्क छिरेर मान्छे तानेर लगिहाल्थे । धेरै कामदार विस्थापित भएका थिए ।


२००१ मा वैज्ञानिकहरूले ती सिंहका अवशेषहरूको सूक्ष्म अध्ययन गरेर निचोड निकाले कि ती सिंहका शरीरमा मात्र २८ देखि ३१ जना मान्छेको मासु परेको थियो । कुरो मिल्दोजुल्दो पनि छ किनकि तिनले मात्र ९ महिना आतंक मच्चाएका थिए । हुन सक्छ तिनले मारेको सबैको सिङ्गै शरीर खाएनन् होला ? त्रासले बिनासूचना काम छोडी भागेका कामदारहरूलाई पनि सिंहकै सिकार सोचियो होला ? ब्रिटिसको रेल्वे प्रोजेक्टमै व्यवधान खडा गर्ने यी सिंहहरू संसारकै सबैभन्दा ‘सेलिब्रेटी’ नरभक्षीहरू हुन् । यिनको सिकार गरिँदा तत्कालीन प्रधानमन्त्री लर्ड स्यालिसबरीले ‘हाउस अफ लर्ड’ मा सम्बोधन नै गरेका थिए ।


यिनीहरू कसरी नरभक्षी भए त ? यसको बारेमा थुप्रै
अड्कलबाजी गरिँदै आइयो । प्याटरसनले २०१४ को रिसर्चमा केही तर्क अघि सारेका थिए ः ‘त्यति बेला स्वाभाविक सिकारको अभाव हुन सक्छ, नदी तर्दा मरेका र दाहसंस्कारबिना छोडिएका मृत कामदारहरूको शवमा पल्किएर पनि यिनीहरू नरभंक्षी भएका हुन सक्छन् ।’ २०१७ को प्याटरसनकै नयाँ रिसर्चले एउटा सिंहको ‘क्यानी टिथ’ को फेदमा इन्फेक्सन भएको पत्ता लगायो । तासोभोहरू कसरी नरभक्षी भए र यो इन्फेक्सन कस्तो थियो भन्ने हुटहुटी बाँकी नै थियो । सिकागोको म्युजियममा अवस्थित यिनको खप्परलाई मिहिन तरिकाले स्क्यान गरियो। २०१९ को पछिल्लो अनुसन्धानले त्यसमा दुम्सीको काँडा बिझेको तथ्य बाहिर ल्यायो । यो एकदमै विश्वसनीय देखिन्छ । अधिकांक्ष नरभक्षीहरू दुम्सीका काँडाबाट घाइते भएर प्राकृतिक आहारा सिकार गर्न असमर्थ हुने हुँदा सजिलो सिकारको रूपमा मान्छेलाई रोज्ने गर्छन् ।


जिम कुर्बेले उत्ताराखण्डमा सिकार गरेका ‘मुक्तेश्वर’, ‘तालादेश’ ‘मोहन’ लगायतका बाघहरू दुम्सीद्वारा घाइते भएका भए । ‘मुक्तेश्वर’ बाघको शरीरमा त एक इन्चदेखि ९ इन्चसम्मका ५० वटा भन्दा बढी, काँडाहरू गडेका थिए । मासंपेशी बढ्दै जाँदा गडेका दुम्सीका काँडाहरू बाङ्गिएर जोर्नीमा बेरिएर ‘सेमी प्यारालाइसिस’ भएको अवस्था पनि आएको थियो । यस्तो खतरनाक दुम्सीलाई कुनै ‘बिग क्याट’ हरू किन आहारा बनाउन खोज्छन् त ? यसलाई रहस्यपूर्ण रूपमा लिइएको छ । तर दुम्सीबाट घाइते हुनेहरू प्रायः कलिलै उमेरमा घाइते भएको पाइएको छ । त्यसैले लाग्छ, कतै यो ‘सब एडल्ट एरोगेन्ट’ वा चुलबुले उमेरको कौतूहलको परिणाम त होइन ? हुन सक्छ भोकले रन्थनिएको बेला जे भेट्यो त्यसलाई आहारा बनाउने कुचेष्टा गर्दा पनि कतिपयले यो अवस्था भोग्नुपर्छ । संयोगवश तासोभोका दुई सिंहहरू पनि जग्गर नभएका कलिलै उमेरका थिए ।
‘बिग क्याट’ नरभक्षी हुने थुप्रै कारण छन् । वर्गअनुसार फरक–फरक कारण हुन सक्छन् । यद्यपि बाघ नरभक्षी हुनुको मुख्य कारणचाहिँ अरू ‘बिग क्याट’ सँग मिल्न जान्छ । जिम कुर्बेले ‘विशाल हृदय र अदम्य साहस बोकेको एउटा भद्र प्राणी’ भनी बाघलाई परिभाषित गरेका छन् । यो एकान्तप्रेमी हुन्छ र एक्लै बस्छ । कुर्बेका अनुसार जंगलमा गइरहने हरेक व्यक्तिलाई बाघले सूक्ष्मसँग तलदेखि माथिसम्म नियाल्ने गर्छ, जसको मान्छेले सुइँको नै पाउँदैन । देखादेख भैगयो भने ‘हेल्लो किड ! ह्वाट द हेल यु आर डुइङ हेयर ?’ भन्दै सोध्छ र जवाफ नपाएपछि आफ्नै बाटो लाग्छ । फर्केर एक टक पनि हेर्दैन । कुर्बेले जस्तै आधुनिक बाघ संरक्षणकर्मी र बाघविज्ञहरूले बाघलाई भद्र जनावरका रूपमा लिएका छन् । यिनका अनुसार, मान्छे बाघको प्राकृतिक आहारा होइन । उनीहरू विशेषतः प्राकृतिक सिकार गर्न समर्थ हुँदा सजिलो आहाराका रूपमा मान्छेको सिकार गर्छन् । नभन्दै नेपाललगायत उत्तराखण्डका खास–खास नरभक्षीको प्रवृत्तिले यो कुरा पुष्टि गर्छ ।


थाहा पाएसम्म अहिलेसम्मकै सबैभन्दा कुख्यात नरभक्षी चम्पावत बघिनी हो । नेपालकै कञ्चरपुरको यो बघिनीले नेपालमा २ सय जनाभन्दा बढी मान्छे खाएकी थिई । नेपाली सेनाले यसलाई लखेटेका थिए । त्यसपछि ऊ कुमाउको चम्पावत डिस्ट्रिक सरेकी थिई । सन् १९०७ मा यसलाई सिध्याउने जिम्मा प्रख्यात बाघ सिकारी (संरक्षणकर्मी) जिम कुर्बेलाई सुम्पिएको थियो । चार वर्षसम्म कुर्बेले यसलाई पछ्याएका थिए, पटक–पटक उनको हातबाट फुत्किएको थियो । कुर्बेका कुनै पनि रणनीतिले काम गरेको थिएन । अन्ततः उनले ठूलो मास भेला पारेर हच्काउँदै गुफाबाट निकालेर गोली हानेका थिए । त्यति बेलासम्म उसले थप २ सय ३६ कुमाउवासीलाई खाइसकेकी थिई ।


१९७२ मा १० महिनाको अवधिमा बैतडी नरभक्षीले १ सय जनाभन्दा धेरैको सिकार गर्‍यो । मुख्यत यसले केटाकेटीहरू ओसारेको थियो । स्थानीयहरूले घाइते बाघ भनेर चिन्ने यसलाई नेपाल सरकारले भारततिर लखेटेन बरु दक्ष सिकारी परिचालन गरेर मारिदियो । चम्पावतजस्तै यो पनि अपरिपक्व सिकारीको गोलीबाट घाइते थियो । र नरभक्षी भएको थियो । घाइते बाघलाई ट्र्याक गरेर समाप्त नपार्ने गैरजिम्मेवार सिकारीको परिणाम थियो त्यो । थाक नरभक्षी, चुका नरभक्षीलगायतका बाघहरू पनि भरुवाले हानेर घाइते बनाइएका थिए । त्यसो त हेमन्त मिश्रले ‘डार्ट’ गरेर १९८८ मा जावलाखेल पठाएको जोगी पोथी बाघ वृद्ध र अशक्त भएर नरभक्षी बनेको थियो । मिश्रले नै चिडियाखाना पठाएको चितवनकै ‘बांगे’ भाले अर्को बाघसँग जुधेर घाइते बनेको थियो र नरभक्षी भएको थियो । तर चितवनकै ‘भिम्ले नरभक्षी’ एकदमै स्वस्थ थिई । बाघविद्हरू यसले सानैमा आमाद्वारा नरभक्षी हुन सिकेको आशंका गर्छन् । आमाद्वारा सिकेर नरभक्षी हुने कुरा कुर्बे नकार्छन् । तर उनी आफैँले तालादेश नरभक्षीको सिकार गर्दा अञ्जानमा वयस्क भइसकेका उसका दुई छोराछोरी पनि मारेका थिए ।


उत्ताराखण्ड र नेपालको अनुभवले भन्छ कि मानिस बाघको स्वाभाविक आहारा होइन । दुम्सीद्वारा कलिलैमा नराम्ररी घाइते मुक्तेश्वर नरभक्षीको अनुभवले यही भन्छ । एउटा आँखा पनि गुमाएकी र नराम्ररी घाइते भएकी मुक्तेश्वर बाक्लो घाँसमा लुकेर घाउ चाटिरहेकी थिई । यत्तिकैमा त्यो घाँस काट्न एउटी महिला आइपुग्छिन् । मुक्तेश्वरले एकै पञ्जामा तिनलाई मार्छे तर त्यो शव त्यक्तिकै छोडेर ऊ अलिक परको लडेको ठुटोमा सरेर आराम गर्छे । दुई दिनपछि एउटा मान्छे दाउरा काट्न त्यहीँ आइपुग्छ । गर्मीले कपडा खोलेर दाउरा काट्न लागेको दाउरेलाई मुक्तेश्वरले झम्टन्छे र ढाडमा चोट बोक्दै दाउरे ढल्छ । कुर्बेका अनुसार, ढाडबाट रगत बगेको देखेपछि झोकले रन्थनिएकी मुत्तेश्वरले भोक मेटाउने विकल्पको रूपमा लिन्छे र अलिकति मासु खान्छे । एक दिनपछि फेरि आफ्नो तेस्रो सिकार अर्को मान्छेलाई बनाउँछे र नामूद नरभक्षी भएर निस्कन्छे ।


नरभक्षीका लागि सबैभन्दा सजिलो सिकार मानिस नै हो । हेमन्त मिश्रदेखि कुर्बेसम्म सबै बाघविज्ञहरू मानिस बाघको स्वाभाविक सिकार नभएको निष्कर्ष निकाल्छन् । यद्यपि भारतकैं सुन्दरवनका बाघहरूले यो तर्कको खण्डन गरिदिएका छन् । सुन्दरवनलाई संसारकै अत्यधिक नरभक्षी बाघ भएको क्षेत्र मानिन्छ । त्यहाँ बिल्कुलै स्वस्थ बाघहरू पनि नरभक्षी छन् । यिनका लागि मानिस पनि स्वाभाविक आहारामा पर्छन् । सुन्दरवन बंगालको खाडीसँग जोडिएको छ । इतिहासदेखि नै सामुद्रिक आँधीले सताइरहने क्षेत्र हो यो । प्राकृतिक विपत्ति आइरहने हुँदा अकालमा मृत्यु हुने मानिसहरूको शव यस क्षेत्रभित्र यत्रतत्र छरिएको हुन्थ्यो । यिनै मानिसको शवमा पल्किएका सुन्दरवनका बाघहरूले मानिसलाई पनि स्वाभाविक आहाराको रूपमा लिएको बाघविद्हरू तर्क गर्छन् ।


त्यसो त भियतनाम युद्धमा जंगलमा यत्रतत्र छरिएका मानव शवसँग पल्किएर थुप्रै बाघ नरभक्षी भएर निस्किएका थिए । दोस्रो विश्व युद्धमा बर्माको लडाइँमा पनि ब्रिटिस र जापानी सेनाको शवमा पल्किएर बाघहरू नरभक्षी बनेका थिए । युद्ध सकिएपछि तिनले स्थानीय गाउँलेहरूलाई आतंकित पारेका थिए । बाघविज्ञका अनुसार वास्तवमा बाघहरू मान्छेको मासुको स्वादमा पल्किएर चाहिँ नरभक्षी भएका होइनन् बरु शव खाइसकेपछि मानिससँगको डर हराउँछ र मान्छेलाई सामान्य आहाराको रूपमा लिन्छन् । जहाँसम्म सुन्दरवनका बाघहरूको कुरा छ डा. हब्रे हेन्ड्रिकले त्यहाँको नुनिलो पानीले गर्दा तिनको कलेजो र मृगौलामा असर परेको कारण तिनीहरू आक्रामक भएको निष्कर्ष निकालेका छन् । जसले जे भने पनि डा. भीम गुरुङको निष्कर्ष नै उपर्युक्त देखिन्छ । वृद्ध र अशक्त भएर प्राकृतिक आहार सिकार गर्न नसक्नु र जंगलमा पर्याप्त आहारा प्रजातिको अभाव हुनुलाई बाघ नरभक्षी हुनुका प्रमुख कारणका रूपमा उनले औंल्याएका छन् । उनका अनुसार बाघको पहिलो मानव आक्रमण आकस्मिक हुने गरेको छ ।


उत्तराखण्ड र नेपालका बाघहरू मुख्यतः आफैँले मारेको ताजा मासुमा अभ्यस्त छन् । तसर्थ शव ग्रहण गरेर नरभक्षी हुने सम्भावना देखिन्न । बाघ प्रायःजसो अरूले मारेको सिकार रुचाउँदैन । सिंह र चितुवाहरूको यस कुरामा प्रवृत्ति अलिक फरक छ । यिनले सिनो या शव पनि खाइहाल्छन् । शवमा मांसहारी नपल्कियोस् भनेर नै मानिसले शव लुकाउने या डिस्पोज गर्ने संस्कृति हरेक समुदायमा छ । शव डिस्पोज नगर्दा कस्तो परिणाम आउँछ भन्ने उदाहरण हुन् ‘पानर’ र ‘रुद्रप्रयाग’ चितुवा ।


सन् १९१८ मा उत्तराखण्डमा ठूलो महामारीबाट गुज्रियो । सिंगो गाउँ नै रित्तिने गरी भएको महामारीमा दाहसंकार गर्ने जनशक्ति अभावमा शवहरू न्जिकैको भीरमा घिसार्दै लगेर मिल्काइयो । महामारी त सकियो तर रुद्रप्रयागमा एउटा चितुवा निस्कियो, जसले जिउँदै मान्छे ओसार्न थाल्यो । उसले मान्छेबाहेक अरू जनावरको मासु खान नै रुचाएन । आठ वर्षसम्म उसले एकछत्र आतंक मच्चाइरह्यो । घाम ढलेपछि सिंगो इलाकामा कर्फ्यु लाग्थ्यो । अन्ततः १९२६ मा कुर्बेले यसको सिकार गर्न सफल भए । त्यति बेलासम्म उसले १ सय २५ जनालाई खाइसकेको थियो । तर यो संख्या एकदम न्यून थियो रेकर्ड नगरिएका अरू सयौंलाई उसले आहारा बनाएको थियो । रुद्रप्रयागबाट प्रतिवर्ष ६० हजार त तीर्थालु यात्रा गर्थे । त्यस्तै १९०७ मा अलमोरा हैजाले सोत्तर भएपछि अनि अर्को नरभक्षी चितुवा निस्केको थियो । कुर्बेले पानर नरभक्षी नाम दिएको यसले ४ सयभन्दा बढी मानिसको सिकार गरेको थियो ।


माइकल ब्राइटले आफ्नो पुस्तक ‘म्यान इटर’ मा भारतमा मात्र पछिल्लो ४ सय वर्षमा दस लाखभन्दा बढी व्यक्ति बाघको सिकार भएको आँकलन गरेका छन् । सामान्यतया बाघले मान्छे मार्दैन किन त ? किन मान्छे बाघको आहाराभित्र परेन ? अहिलेसम्मको एउटा विश्वसनीय तर्क स्टेफन मिल्सले दिएका छन् । उनका अनुसार १ मिटर अग्लो र ३ मिटर लामो शरीर भएको बाघले उभिएको मान्छेलाई पाँच मिटर अग्लो भयंकरको राक्षसजस्तो देख्छ र आक्रमण गर्न हिचकिचाउँछ । बाघले प्रायः बसेका, कुप्री परेका वा काम गर्दै गरेका मानिसलाई निसाना बनाउँछ । मिल्सका उनुसार, अरू नै जनावर हुन सक्छ भनेर झुक्किएर यस्तो आक्रमण हुने गर्छ ।


मिल्सको तर्क त्यति सान्दर्भिक भने देखिँदैन । अर्थात् मान्छेको उचाइ देखेर बाघ डराएको होइन । पछिल्लो समय जिम कुर्बे राष्ट्रिय निकुञ्जमा अनौठो दृश्य देखियो । छ महिनाको अवधिमा दर्जनभन्दा बढी हात्तीहरू बाघको सिकार भए । हुर्किसकेको हात्ती बाघको आहारा होइन । न त बाघसँग सिकार गर्न सिंहको जस्तो ‘बटालियन’ नै हुन्छ । सायद स्वाभाविक सिकारको अभावले हुन सक्छ त्यहाँ बाघ हात्तीमाथि जाइलागेका । यसको अर्थ मान्छेको उचाइ देखेर मात्रचाहिँ बाघ मान्छेसँग डराउँदैन ।


बल र तागत होउन्जेल किन बाघ मान्छेसँग तर्कन्छ ? अशक्त हुँदा किन खोजीखोजी मान्छे नै खान्छ । यो पनि एउटा रहस्य नै हो । इभोलुसनले बिस्तारै प्राणीहरूमा शारीरिक र मानसिक परिवर्तन मात्र ल्याउँदैन बरु यसले समयअनुसार सबैलाई गतिलो पाठ पनि सिकाएको हुन्छ । सिकारी युगदेखि नै प्रायःजसो जंगली जनावरहरू मान्छेसँग तर्किए । बाघ पनि तर्कियो । यो भनेको त्यस जातिको ‘सर्भाइबल स्ट्राटेजी’ पनि हो । खतरा ननिम्त्याएको हो । एउटा अध्ययनअनुसार, वन्यजन्तु संरक्षण ऐन ल्याएर सिकारमा कमी आएपछि वन्यजन्तुहरू मान्छेहरूप्रति झन् आक्रामक बन्दै गएका छन् । अर्थात् मान्छेसँगको डर हराउँदै गएको छ । यो विशेषतः हात्तीमा गरिएको अनुसन्धान हो । बाघको ठीक उल्टो छ, बाल्मिक थापरका अनुसार, जब १९७० मा बाघ सिकारमा रोक लगाइयो, नरभक्षीको संख्यामा पनि कमी आयो । सीधा अर्थ, विगतका प्रायःजसो नरभक्षी बाघहरू सिकारीद्वारा घाइते पारिएका हुन्थे ।


जे होस् नरभक्षी बनाउन प्रत्यक्ष/अप्रत्यक्ष मानिसकै हात छ । यो साउनमा बर्दियामा एकै हप्ता एक बाघले दुई जना मार्‍यो । डार्ट गरिसकिएको त्यो बाघ वृद्ध र कमजोर थियो । प्रत्येक सय किलोमिटरभित्र ४ देखि ५ बाघ अट्नुपर्ने बाध्यताका कारण सायद उसले आफ्नो इलाका नियन्त्रण गर्न नसकेर मानव इलाकामा छिरेको हुन सक्छ । त्यसो त चितवनमा प्रायः बाघहरू जुधेर मर्ने गर्छन् । चितवन र बर्दियामा जुधेर घाइते भई नरभक्षी हुने सम्भावना ज्यादा देखिन्छ । किनकि संख्या विस्तारअनुसार, बाघहरू फैलन सक्ने क्षेत्र विस्तार गर्न सकिएको छैन ।


हामी मानिसलाई बाघ नरभक्षी भएको अप्राकृतिक लाग्छ तर यो उसको रहर होइन, बाध्यता हो । तालादेश नरभक्षीको बारेमा कुर्बेले बडो घतलाग्दो कुरा गरेका छन्, ‘आठ वर्ष पहिला कलिलैमा ऊ दुम्सीसँगको घम्साघम्सीमा नराम्ररी घाइते भई । ऊसँग स–साना डमरु पनि हुनुपर्छ । ऊ तिनलाई स्वाभाविक सिकार खुवाउन असक्षम भई र मान्छेको मासु खुवाउन बाध्य भई । जेको सक्यो त्यसैको मासु खुवाउनु प्रकृतिकै नियम थियो । मान्छे त असामान्य परिस्थतिमा जे पनि खान बाध्य हुन्छ । उसले आठ वर्षको अवधिमा जम्मा १ सय ५० अर्थात् प्रतिवर्ष २० भन्दा कम मान्छे खाएकी थिई । यसको अर्थ अत्यन्त बाध्यतामा मात्र उसले मान्छेको सिकार गर्ने गरेकी थिई । तर उसको यो बाध्यताको मूल्य ऊ र उसका हुर्किसकेका दुई छोरा–छोरीले ज्यान दिएर तिर्नुपरेको थियो ।’

प्रकाशित : आश्विन २५, २०७६ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×