कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खलनायक

सरला गौतम

आज रावण मुडमा छन् । साथमा उनका प्रिय अनुज कुम्भकर्ण छन् ।
आफ्नो सानदार लाइब्रेरीमा बसेर रावण पुस्तकका पानाहरू पल्टाइरहेछन् । रावणकोजस्तो पुस्तकालय सिंगो भारतमै छैन । अझै मीठो कुरा त के भने रावणले यो सबै पुस्तक सिनित्तै पारिसके । मखलेल कुम्भकर्ण दाजुलाई हेर्छन् । झनै मख्ख पर्छन् ।

खलनायक

को होला यो तीन लोकमा उनको दाजु रावणभन्दा तेजस्वी, सुरवीर र बुद्धिमान् ? भाइको मनमा फूलेको मुस्कानको सौन्दर्य रावणको मुहारमा दौडिन्छ । रावणले छाती तन्काएर सोध्छन् कुम्भकर्णलाई ‘कविता सुन्ने कुम्भ ?’ आश्चर्यले आँ भएको अनुहार दाजुतिर दौडाउँछन् कुम्भकर्ण, ‘दाइले कविता पनि लेख्नुहुन्छ ?’ रावणले सुरु गर्छन् कविता वाचन ।


रावण कवितामा हराउँदै जान्छन् । उनको कवितामा सूर्यका किरणहरूले धर्तीमा पाइला राख्छन् । बादलहरू पहाडमा ठोकिएका छन् । कुम्भकर्णको मगजको फ्युज उड्छ । सूर्य र धर्तीको कथामा यो बादल र पहाड कहाँबाट आए हँ ? छक्क परेको कुम्भको अनुहारलाई रावणले घुरेर हेर्छन् । बिचरो बालक कुम्भकर्ण ! फेरि एकचित्त भएर सुन्न थाल्छन् । रावणले पनि कसलाई सुनाउन जाउन् ! उनको भन्नु केवल एक कुम्भकर्ण त हो । यही बालक जो आफ्नो दाजुलाई तीन लोककै हिरो ठान्छन् । रावणले कुम्भलाई पितृस्नेह भुलाइदिएका छन् । भातृप्रेमका सारा कथा बिर्साइदिएका छन् । अब उनको कविता नसुनेर भयो त । किशोर रावणलाई हावाको हर झोक्काले एक सर्को मात दिएर जान थालेको छ । उनको दिलले पिरतीको फूल फुलाउन थालेको छ । बालक कुम्भकर्णले उनको भावनाका सबै छालहरू थामिदिनु परेको छ । संसारले उनीहरूलाई नागा भन्छ । यी दुई नागाका तीनै लोकमा आफ्नो भन्नु कोही छैन । आफ्नै बाबुबाट रिजेक्सनमा परेका छन् ।


ओहो यति राम्रो पनि कविता हुन सक्छ त । साक्षात विष्णु र महादेवले लेख्न सक्दैनन् होला दाजु ।’ रावणको कविता सुनेर कुम्भकर्ण प्रतिक्रिया दिन्छन् । भीमकाय शरीरमा लामा–लामा जुंगाको ताउ लाउँदै सबैको सातो खाने रावणले कविता सुनाइरहँदा मलाई पनि स्वाद लागेको छ । लेखक अमिशको ‘रावण’ नामको पुस्तकको नब्बेऔं पेजमा छु म । कथाको सुरुतिर फर्कौं अब । ऋषि पिताका राक्षस पुत्र । पिताको आँखाको कसिंगर । पत्नी कैकेसीसँगको सम्बन्ध र छोरा रावणको बारेमा दुनियाँलाई थाहा दिन्नन् ऋषि । उनका लागि सरमको बात छ । विणावादन प्रतियोगितामा छोरा रावणको झेली थाहा पाएपछि पिता भिसर्व रिसले आगो भएका हुन्छन् । बाघले सिकार झम्टेसरि बालक छोरामाथि जाइलाग्छन् । पिताको हृदयमा आफ्ना लागि भन्दा उनको चेलाको लागि बढी प्रेम देख्छन् रावणले । अपमान र तिरस्कार । त्यही घाउमा पिटाइको पुरस्कार । सिसाझैं टुट्यो रावणको मन । तर सम्हालियो बालक रावण । खायो कसम । तीन लोकमै कसैले छुन नसक्ने खतरा बनेर देखाउने । बाउको नामोनिसान मेटाउने । आफ्नै नामले लोक हल्लाउने ।


आमा कैकसीको पेट ठूलो हुँदै गएपछि बालक रावणको खुसी पनि बढ्दै जान्छ । खुब ख्याल राख्छन् आफ्नी आमाको । आमाको पेटमा उनको साथी खेलिरहेको बखत रावणका बाबु भने बेपत्ता हुन्छन् । बालक रावण आफ्ना मामासँग व्यथाले च्यापेकी आमा कुरेर बस्छन् । दस दिनसम्म अहोरात्र । आश्रम वरिपरि उनीहरूलाई आक्रमण गर्ने मानिसहरूको भीड जम्मा हुन्छ । नागालाई जन्म दिएकी उनकी आमा र भाइलाई सिध्याउन जम्मा भएका मानिसहरूसँग जुध्न बालक रावण स्ट्यान्ड बाई उभिन्छन् । उनका मामाको सहायतामा पूरै परिवार आश्रमबाट भागेर ज्यान जोगाउँछन् ।


आफ्ना पिताले नै नवजात भाइलाई मार्नका लागि मानिसहरू खटाएको कुरा थाहा पाउँदा नौवर्षे बालक रावणको मनमा रिस र पीडाको लाभा उम्लन्छ । जंगलमा विश्राम गरिरहेकी आमासँगबाट भाइलाई काखमा लिएर भन्छन्, ‘मेरो जीवन रहुन्जेल तिमीलाई केही हुन दिने छैन ।’ नौवर्षे बालकको यो क्रिया देखेर उनका आमा र मामा एकअर्कासँग आँखा जुधाउँछन् । हिँड्दाहिँड्दै घनघोर अँध्यारो हुन्छ । जंगलको बीच पुग्छन् सबैजना । भोकाएकी सुत्केरी आमाका लागि रावणले सिकार गर्छन् । जंगली जनावरको आवाज सुनेको भरमा उनले तीर चलाउँछन् । एक झट्कामा सिकार गर्छन् । यो दुर्लभ खुबी देखेर उनको मामाको मुख आश्चर्यले निकै बेर आँ हुन्छ । यो कठोर अप्ठेरोमा पनि रावणलाई मामाको साथ फिलर लाग्छ । मामालाई सहाराको पिलर ठान्दैनन् । आमा र भाइको सम्पूर्ण जिम्मेवारी र सुरक्षा अब उनले आफ्नो काँधमा थमाइसके ।
दुई नागा भान्जालाई लिएर घर पुगेको रावणको मामालाई उनको घरले स्वीकार गर्दैन । उनीहरू त्यहाँ पनि रिजेक्सनमा पर्छन् । अब जाने कहाँ ? रावणको दिमागमा हल्का बतास चल्छ । उनले आश्रममा भेटेकी कन्याकुमारीको गाउँ सम्झन्छन् । कन्याकुमारीको कुरा मनमै लुकाएर मामालाई भन्छन्, ‘हाम्रो बा पक्कै त्यो गाउँमा हुनुपर्छ । त्यतै जाम ।’ बालकको मनमा कन्याको मोहनी कुदिएको कसलाई के थाहा । सबै त्यतै लाग्छन् । वैद्यनाथमा केही दिन अडिँदा रावणले झुलुक्क कन्याकुमारीको दुर्लभ दर्शन भेट्छन् । मन भरिएकै हुँदैन । मामाले अझै पूर्वतिर कुदाउँछन् ।


उद्यमी र प्रेमी रावण
कहर छिचोल्दै रावण आफ्ना मामा र आमासँग प्रसिद्ध चिलिका लेक पुगे । सप्त सिन्धु देशका व्यापारीहरूको हब । राजाहरूका राजा अयोध्याका दशरथको रजगज चल्ने ठाउँ । सुरुमा मामा र भान्जाले लेकमा सानोतिनो काम पाउँछन् । यसैले गुजारा चलाउँछन् । रावण अैरे गैरे नत्थु खैरे कामदार कहाँ हुन् र ! छिट्टै उनले एउटा डुंगा भाडामा लिएर कारोबार सुरु गर्छन् । उद्यमशीलताको पहिलो पाइला चाल्छन् । बालककालदेखि अध्ययन अनुसन्धानमा माहिर रावणले यो एरियाको एक एक सुराकी गर्छन् । को हो खतरा डन यो एरियाको । उनले पत्ता लगाइहाले । अकम्पना हो डन । रावणको जोखिम बहन गर्न सक्ने खुबी, सामान स्मग्लिङमा उनले देखाएको कौशलताले अकम्पनाको मनमा अनुकम्पाको ढोका खुल्छ । अब रावण अकम्पनाको क्याम्पमा प्रवेश गर्छन् । रावणले अकम्पनाको खुबी र कमजोरीको फेहरिस्त आफ्नो दिमागको नक्सामा उतारिसकेका हुन्छन् ।


उसको घाटामा जाँदै गरेको व्यापार । मर्मत सम्भार नगरी घिसिपिटी चलिरहेको पानीजहाज । व्यापार घाटाको कारण गहिरिएको पारिवारिक कलह । यसैबीच रावण मामासँग अकम्पनाको घर पुग्छन् । तेह्रवर्षे बालक अब सीधासीधा व्यापारिक डिलिङमा उत्रन्छ । अकप्पनाको जहाज, लेकको किनारमा खडा हुन्छ । रावणले त्यतैतिर देखाएर सोझो प्रस्ताव गर्छन् । ‘म यो जहाज भाडामा लिन्छु । मर्मत सम्हार खर्च बेहोर्छु । यसले गर्ने कारोबारको नब्बे र दस भाग लगाऔं ।’ मख्ख भयो अकम्पना । भन्यो, ‘ नब्बे र दस भइहाल्छ नि ।’ रोके रावणले उसलाई बीचैमा ‘दस तिमीलाई, नब्बे मलाई ।’ आफ्ना तेह्रवर्षे भान्जाको सारा अजिब पारासँग वाकिफ मरीच आश्चर्यले हल न चल हुन्छन् । यतिसम्म त उनलाई अपेक्षा नै थिएन । एरियाको नामी डन, जोसँग जागिर मागेर खाएको छ, उसैलाई पार्टनर बनाएर नब्बे असुल्ने ! अनि सुरु हुन्छ चिलिका लेक एरियामा रावणगिरी फुल फेल्ज्डमा ।


उनको जहाजको कारोबार रफ्तारमा जान्छ । पन्ध्रवर्षे रावण अब नामी व्यापारी भइहाल्यो । व्यापारी राजा कुवेरको लंका आउने–जाने त पानी पँधेरो रावणका लागि । रावणले पत्ता लगाए कुवेर उनका ऋषि पिता भिसर्वका चेला हुन् । रावणलाई कुवेरसँग सम्बन्ध विस्तार गर्नु छ । तर उनका बाबुको नाम भजाउनु छैन । रावणले लंकाको गोकर्णमा आफ्नो व्यापारको आधारशिला खडा गरे । त्रिशंकु राजालाई सहयोग गरी समृद्ध लंका बनाउन सहयोग गर्ने गुरु विश्वामित्रको प्रभावको रिसर्च गरे । अब रावणलाई लंकामा जम्नु छ । यति बेलासम्म रावणले लंकाको गोकर्णमा शानदार घर खडा गरिसकेका छन् । विश्वामित्रसँग उनको आफ्नै आत्मनिर्भर सम्बन्ध बनिसकेको छ ।


रावणको अलग च्याम्बर पनि छ । जहाँ छन् पुस्तक, चित्रहरू र बाजाहरू । उनको त्यो आलिसान च्याम्बरमा पस्ने कसको हिम्मत । कुम्भकर्णलाई भने उनी लैजान्छन् । र सुन्दर चित्रहरू देखाउँछन् । थरीथरीको पोजमा कन्याकुमारीको प्रत्यक वर्ष फेरिँदै गएको मुहार र मुद्रामा । कुम्भकर्ण फेरि हेरेको हेर्‍यै हुन्छन् । मखलेल पनि हुन्छन् । आफ्ना दाजुको निजी जीवनको एक मात्र हकदार हुन पाएकोमा । रावणले आफूले बनाएको हाथा कुम्भकर्णलाई देखाउँछन् । कुम्भ सल्लाह दिन्छन्, ‘दादा तपाईंले बनाएको सामानको नाम तपाईंकै नामले चिनिनुपर्छ ।’ दादाको हनुमान कुम्भ । सानो भाइलाई आफ्नो मनको कुरा सुनाउन थाल्छन् रावण । कन्याकुमारिको चित्र हेर्दै कुम्भ सोध्छन्, ‘दादा हरसाल यी केटीले तपाईंका लागि पोज मार्छिन् ? कसरी बने यी चित्रहरू ।’ भाइको नादानीले हैरान हुन्छन् रावण । मुसार्छन् उसको कपाल । र भन्छन्, ‘उनी त कहाँ छन् कहाँ । मैले कल्पनामा कोरेका हुन् यी सबै चित्र ।’ कुम्भले अँगाल्छन् आफ्नो दाजुलाई । ढाडस दिन्छन् ‘दादा कन्याकुमारीलाई भेटाइछाडिन्छ ।’
रावणको दिल प्रेमको रापले रन्केको हुन्छ । दिमाग महत्त्वाकांक्षाको आगोले तातेको हुन्छ । दिल र दिमागको रकेट रफ्तारमा उनको सानो भाइ मायालु सारथि बन्छ । मामा मारीच र पहिलेको मालिक अकम्पना त रावणको सेवक भइसके । अब रावणको टार्गेटमा को त भन्दा लंकाको महासेठ राजा विदुर ।


उनी पुगे गुरु विश्वामित्रको कुटीमा । तीन लोकमै दुर्लभ पुष्पक विमान केवल विदुरसँग छ । सो विमानको असली यन्त्र विश्वामित्र सप्लाई गर्छन् । रावणको तीरभन्दा तेज दिमागले सँगालेर राखेको छ सूचना । रावण सामुन्नेमा उभिएर विश्वामित्रसँग डिल गर्न तम्सेको देखेपछि ऋषि र उनका सहयोगी जिल खाएर फिलिली हुने भइहाले । किन चाहियो रावणलाई पुष्पक विमानलाई चाहिने सामान । कतै विदुरलाई सीधा माल सप्लाई गरेर आफ्नो नाफा चौपट पार्ने त होइन ? विश्वामित्र सशंकित बन्छन् । रावणले आफैं विमान खरिद गर्न लागेको भान दिन्छन् । रावणको असली मक्सद के हो बुझ्न विश्वामित्र रावणलाई एकटक हेर्छन् । रावणले आफ्नो दिमागको ढोकामा ताला लगाइदिन्छन् । कुनै माइकालाल ऋषिमुनिसमेतले उनको दिमाग पढ्न नसक्ने बनाइदिन सक्ने टेक्निक रावणको हुन्छ ।


विश्वामित्रले सो पदार्थको वार्षिक मूल्य पाँच लाख सुनको सिक्काबराबर तोकिदिन्छन् । रावणले एक सटमा कन्ट्र्याक ओके गरिदिन्छन् । विश्वामित्रको यो चलाखी उनलाई पहिल्यै आभास भइसकेको थियो । यो सबै थाहा पाएर रावणको मामा र अकम्पना बेहोस हुन मात्र सक्दैनन् । अझ पुगेन यो सबै असुलउपर गर्न दुई सयवटा पानीजहाज खरिद गरेर तुफानी वेगमा समुद्रमा कुदाउने रावणको प्लान सुनेपछि उनीहरूको होस उड्छ ।


तर पैसा ल्याउने कहाँबाट ? छेउमा बसेर लेमन जुस खाँदै गरेको कुम्भकर्ण दाजुलाई आइडिया दिन थाल्छन् । कुम्भले चिलिकाको गभर्नरको अकूत सम्पत्ति लुट्ने योजना दिँदा मामा मरीचले पिउँदै गरेको पानी धन्नै सड्काएनन् । कालिंगाको राजाको सम्पत्तिबाट घोटाला गरी कर्कचाबहुले दौलत कुम्लाएर जमिनमा पुरेर राखेको सूचना कुम्भले बजारबाट टिपेर ल्याएका हुन्छन् । यति सुनाएर उनले अझै थप्छन्, ‘ठीक छैन त दादा आइडिया । चोरको सम्पत्ति लुट्नुको मजै बेग्लै ।’ भाइलाई मुसार्दै रावणले भने, ‘आखिर भाइ कसको ?’


गभर्नर कर्कचाबहुको सेनापति प्रहास्तलाई कुनै समय रावणले बचाएका हुन्छन् । यही कुरा नै प्रहास्तलाई हातमा लिने कडी बन्छ । प्रहास्त र उनका केही सेना लिएर, चिलिकाको गभर्नरको सम्पत्तिमा लुटपाट मच्चाउँछन् रावणको ग्याङले । दुवैतिरका मानिसहरूको ज्यान पनि जान्छ । रावण कल्पनै नगरेको दौलतको मालिक बन्छन् । अब उनले आफ्नै तालिमप्राप्त सेनाको टुकडी खडा गरे । एक व्यापारीका लागि यो सामान्य होइन । तर रावणका लागि के सामान्य के असामान्य । रावणको शक्तिको तेज लंकामा आगोसरि फैलियो । राजा विदुर वाकिफ नहुने कुरै भएन । रावण अब लंकाको आर्थिक सुरक्षाको प्रधानसेनापति बने ।


रावणले जे–जे हासिल गरे पनि उनको मन खाली छ । खाली ठाउँ भर्ने कन्याकुमारी भेटिएकी छैनन् । बृहत् डाँकागिरीको समयमा कालिंगामा झुलुक्क कन्याकुमारीको दर्शन पाएका हुन्छन् कुम्भले । यही संकेतको आधारमा दाजुको एकोहोरो प्रेम सफल पार्न उनी कन्याकुमारीको खोजीमा जान्छन् । अब त कुम्भकर्णको पनि आफ्नै पानीजहाज छ नि । उनी वैद्यनाथको वरिपरि रहेको कन्याकुमारीको गाउँ भेटाउन जान्छन् । तीन वर्षसम्मको अथक खोज अनुसन्धानपछि पत्ता लगाइछाड्छन् । तीन वर्षसम्म विछोडिएको भाइ प्रेमिकाको खबर लिएर आयो । रावणलाई अब के चाहियो । तर, कुम्भको बोली अड्किन्छ । कन्याकुमारी विवाहित हुन् । उनी त गर्भवती पनि छन् । यो समाचारले रावणको दिलमा गडेको प्रेमको खाँबो हल्लन्न ।


उनी भाइलाई लिएर कन्याकुमारीको गाउँतिर लाग्छन् । रावणले सुख–सयलका कुनै आइटम बाँकी राख्दैनन् । जहाजमा पनि नाच सिकाउने ट्रेनर लिएर हिँड्छन् । आफ्नो निजी च्याम्बरमा भाइलाई डान्सको स्टेप देखाउँछन् । कुम्भको पानी धन्नै सड्केन । उनले भन्छन्, ‘दाजु प्लिज तिमी ननाच । यो नाच देखेर कन्याकुमारी दस माइल पर भाग्नेछिन् । प्रभावित हुने कल्पनै नगर ।’ आफ्नो तेह्रवर्षे कुमार भाइलाई वाइन चखाउनेदेखि पहिलोपटक सुन्दरी कन्याको दर्शन गराउने सबै गर्छन् रावणले । प्रसिद्ध वेश्यालयमा भाइलाई पुर्‍याएर, मागेजति रकम मालिक्नीलाई बुझाउँछन् । लोककै सबैभन्दा सुन्दरी कन्या भाइका लागि प्रबन्ध गरिदिन्छन् । कुमारत्व भंग हुन्छ कुम्भको । काम कुरो सकेपछि कुम्भ सिरियस हुँदै फर्कन्छन् र रावणलाई भन्छन्, ‘दादा म प्रेममा परें ।’ रावण हाँसेर धन्नै मूर्च्छा परेनन् ।

तालतालका तमासासहित उनीहरू कन्याकुमारीको गाउँमा पुग्छन् । भेष बदलेर लो प्रोफाइलमा डुल्छन् । वेदावती नामकी पूर्वकन्याकुमारी गाउँमै सम्मानित छन् । किसानहरूसँगै काम गर्छिन् । सामान्य मानिससँग बिहा गरेकी छन् । उनलाई गर्ने विश्वास र सम्मानले गाउँ नै एकतामा बाँधिएको छ । तीन दिन भइसक्यो रावण वेदावतीले काम गरिरहेको ठाउँमा पुगेर नदेख्ने गरी टोलाउन थालेको । उनका आँखा वेदावतीको मुहारबाट हट्दैन । दाइ एकोहोरो टोलाएको टोलाएै छन् । भाइलाई बोर भइसक्यो । कन्याकुमारीको अघि पुगेर एक शब्द बोल्ने हिम्मत रावणलाई छैन ।


उनी कसैकी गर्भवती श्रीमती हुन् । यो कुराको परवाह रावणलाई छैन । थाहा पाएदेखि मनमा सजाएकी वेदावतीलाई कुनै पनि सुरतमा हासिल गर्नु छ । अनेक योजना बुन्छन् । वेदावतीको श्रीमान्लाई पनि लंका लैजाने, राम्रो जागिर दिने । वेदावतीलाई आफ्नी बनाउन पनि परेन । लंकामा उनलाई हेर्न मात्र पाए पुग्यो रावणलाई । हिम्मत जुटाएर रावण वेदावतीसँग बोल्छन् । उनको घरमा खानाको निम्तो पनि पाउँछन् । निकै कष्ट गरी एक मौका जुर्छ । रावणले गर्भवती वेदावतीको अघि घुँडा टेकेर आफ्नो प्रेम जताउँछन् । उनको साथ पाए सधैंका लागि राम्रो मानिस बन्ने कसम खान्छन् । वेदावती सम्झाउँछिन्, रावण तिमी कहाँ खराब छौ । हेर त तिमीले आफ्नो भाइ, आमा र मामाको कस्तो जिम्मेवारी लियौ । तिमीमा योभन्दा पनि राम्रो हुने तागत छ । यति सम्झाएर वेदावतीले उनीसँगै लंका जान नसक्ने बताउँछिन् । तर पनि हल्लँदैन रावणको प्रेम । वेदावतीको गाउँका लागि आफ्नी प्रेमिकाको हातमा ठूलो रकमको हुन्डी थमाउँछन् । वेदावती नमानेपछि फेरि घुँडा टेकेर बिन्ती गर्छन्, ‘म स्वार्थी हुँ । सबै कुरा आफ्नो नाफाका लागि मात्र गर्छु । अस्ति गाउँलाई गरेको सहयोग पनि तिमीलाई प्रभावित पार्न हो । यो निःस्वार्थ सहयोग पहिलोपटक गरेको छु । समाइदिएर मेरा लागि कृपा गरिदेऊ ।’ वेदावतीले हुन्डी लिएपछि रावणले आफूभित्रको राक्षसी स्वभावको खील निकाल्ने मन हुन्छ ।


रावणको देवत्वले शिर उठाउन मात्र के खोजेको हुन्छ । नियतिले त्यसो हुन दिँदैन । वेदावतीको मुखियाको छोरा नामी चोर हुन्छ । हुन्डीको बारेमा उसले लुकेर सुराकी गर्छ । आफ्ना अपराधी साथीहरूसँग मिलेर वेदावती र उसको श्रीमान्को बीभत्स हत्या गरिदिन्छ । भर्खर सुत्केरी वेदावतीको नाबालक सन्तानलाई जंगलमा फालिदिन्छन् । आफ्नो मुटुभन्दा प्यारो प्रेमिकाको यो हाल गराउने दानव र तमासा हेर्ने गाउँले सबैसँग पागल हुन्छन् रावण । पूरै गाउँलेलाई कत्लेयाम गरिदिन्छन् । वेदावतीको सदगति गरेर लंका फर्कन्छन् ।


तृष्णाको घैलाको पिँध टालिएको हुँदैन, कसैको पनि । रावणको त झन् ह्वाङ थियो । वेदावतीको हत्याले उनलाई झनै विक्षिप्त पार्‍यो । एकपछि अर्को महत्त्वाकांक्षा । सम्पत्ति र शक्तिले अघिअघि दौडिएर जिस्काइरहे । उनी पागलसरि पछिपछि कुदिरहे । अब रावणको निसानामा पर्‍यो अयोध्या राज्य । सम्पत्ति र शक्तिपछि उनलाई अब अयोध्याका विद्वान्हरूबाट सम्मान चाहिएको छ । सजिलै हुनेवाला छैन यो सब । अयोध्याका राजा दशरथसँग निहुँ खोज्न जान्छन् । उनीसँगै गएका विदुर डरले थरथर हुन्छन् । तर रावणलाई के मतलब । उनीसँग आफ्नै सेना छ । राज्यको सेना मिसाउँदा दशरथको सेना हराउन सकिने हिसाबकिताब प्रस्ट छ । अयोध्यासँग युद्ध छेडियो । कुशल योद्धा रावणले हार्ने कुरै भएन ।
जित हासिल भयो तर पुगेन । अब उनको निसानामा लंकाको प्रधानसेनपति पर्‍यो । उसलाई सिध्याए । आर्थिक बिट र सामाजिक सुरक्षा बिट दुवैका प्रमुख रावण भएपछि राजा विदुर एक्लिए । रावणको निसाना हुनुभन्दा पहिला विदुरले राजीनामा दिए । विदुरको पुष्पक विमान त रावणले उहिले खरिद गरिसके । रावण अब संसारकै धनी राजा । तर भरिएन रावणको मन । समय बित्यो । मिथिला राज्यमा स्वयंवरको चर्चा चल्यो । परम सुन्दरी सीतालाई पाउन राजकुमारको ताँती लाग्यो । विष्णुको अवतार रामले सीता भित्र्याए । रावणले जिल खाए । रावणलाई विष्णु अवतार रामभन्दा कम हुनु छैन । हुनु छैन कम महादेवभन्दा पनि ।


कालान्तरमा सीता अपहरणपछि रावणको दशा सुरु भयो । उनको शक्ति र अभिमानको लंका खरानी भयो ।
को नायक को खलनायक ?
ब्राह्मण ऋषि पिताका नागा छोरा हुन् रावण । आफ्नै पिताबाट बहिष्करणमा परेका उनको लागि राजकाज विरासतको बात थिएन । एक एक गरी सबै आफ्नै बलबुतामा हासिल गरे । आफ्नो नागा सन्तानको हत्या गराउने साजिस रच्ने, श्रीमतीलाई बाइपास गर्न सक्ने उनका पिता ऋषि हुन् । परिवारको अन्तसम्म रेखदेख गर्ने रावण खलनायक । ऋषि विश्वामित्रलाई थाहा थियो रावण गलत बाटोमा छन् । तर विश्वामित्रलाई रावणलाई सही बाटोमा ल्याउनु थिएन । उनलाई योग्य खलनायक चाहिएको थियो । किन ? विश्वामित्रको सहायक छक्क पर्छन् । विश्वामित्रले राज खोल्छन् । ऋषि विश्वामित्रकै पालामा विष्णुको नयाँ अवतार खडा गर्नु छ । भगवान् बनाउन केही मिसन त चाहियो । कोही देव हुन् कोही राक्षस त चाहियो । रावणभन्दा काबिल उम्मेदवार को होला । विदुरलाई पुष्पक विमानका लागि सामान बेचेर दौलत जम्मा गर्छन् विश्वामित्र । हेर्दा कुटीको बास छ । ताक अर्कै छ । विष्णुका लागि चाहिने अस्त्र निर्माणका लागि द्रव्यको दरकार छ उनलाई । विश्वामित्र अयोध्या राजकुलका हेड । उनका प्रतिद्वन्द्वी ऋषि बसिष्ठ, मिथिला राजकुलका हेड । एकको लक्ष्य रामलाई विष्णु बनाउने अर्कोको लक्ष्य मिथिलाकी सीतालाई । दुवैका लागि असली खलनायक रावण । सीता हरणको बेला भएको भीषण लडाइँमा रावणले आफ्ना भाइलाई सन्देह व्यक्त गर्छन्, ‘मलाई घरीघरी लाग्छ म कसैका लागि सञ्चालित छु । तर आफूलाई रोक्नै सक्दिनँ ।’ रावण अस्त्र बनेका छन् नायकहरूलाई महानायक बनाउनका लागि । रिमोट लिएर गुफामा बसेकाहरू निश्कलंक छन् ।


कुनै बेला लडाइँको बेला निहत्था नागरिकलाई आक्रमण गर्ने सेनापतिसँग कुम्भकर्ण रिसाएका हुन्छन् । पाप र धर्मबारे दाजुलाई सम्झाउँछन् । भन्छन्, ‘सेनापति बर्खास्त गर दाजु ।’ परिबन्धले जताजता घिसारे पनि पाप र धर्मको हरदम ख्याल गर्छन् कुम्भ । लडाइँमा हिँडिरहेकै बेला रावणले भन्छन्, ‘कुम्भ अब तिमी मलाई छोडिदेऊ । म त पापी स्वार्थी हुँ । तिमी तिम्रो धर्मको बाटो लाग । म त चाहेर पनि फर्कन सक्दिनँ,’ पितातुल्य दाजुलाई कुम्भले स्नेह बर्साएर भन्छन्, ‘दाजु मैले धर्म नै पालन गरिरहेको छु । दाजुलाई साथ दिनु मेरो धर्म हो ।’ लडाइँको बेला घाइते भएर ढलेका कुम्भकर्णलाई रावणले छातीमा टाँसेर रोएको दृश्य मन हल्लाउनेछ । एक प्रसंगमा रावणले भाइलाई भनेका छन्, ‘हेर कुम्भ म स्वार्थी व्यापारी हुँ । जे गर्छु फाइदाका लागि गर्छु । कुनै पनि मानिसलाई आफ्नो महत्त्वाकांक्षाका लागि प्रयोग गर्छु । म निकै असल हुँ भनेर आफैंलाई ढाँट्ने र मूर्ख हुने काम गर्दिनँ ।’ केवल महान् देखिनका लागि ढोङ गर्नेहरूका लागि रावण खुला किताब हुन् । उनीसँग संगत नगर्न मानिसलाई सुविधा छ । उनी आफैंप्रति इमानदार छन् । दुनियासँग इमानदार छन् ।


अपहरणमा परेकी आफ्नी श्रीमतीको अग्नि परीक्षा लिने राम भगवान् भए । अर्कैसँग बिहा गरेकी र गर्भ बोकेकी आफ्नी प्रेमिकाका लागि जे पनि गर्न तयार रावण राक्षस भए । प्रेमको परिभाषामा रावणले रामलाई हराएका छन् । परिवारको जिम्मेवारीमा रावण कहीं चुकेका छैनन् । रामायणको युद्ध सुपर्णखालाई राम र लक्ष्मणले गरेको अपमानको जमिनमा उभिएको छ । आफ्नी सौतेली बहिनीको अपमानको बदला लिन रावणले सीता अपहरण गर्छन् । सीताको रूपले कायल भए पनि खराब व्यवहार गर्दैनन् । बहिनीको आत्मसम्मानका लागि छेडेको युद्ध, रावणको नजरमा एक गहकिलो पारिवारिक जिम्मेवारी हो । रावण हृदयमा देवत्व पनि थियो । राक्षस पनि थियो । प्रेम र स्नेह र आत्मसम्मानका भोका रावणको हृदयमा ठूलो खाडल थियो । अपमान र तिरस्कारको विषले उनको हृदयको घैला भरिभराउ थियो । त्यही विष छचल्किएर पोखिँदा वरिपरि सबैतिर विष छरियो । विष भर्ने नायकहरूले पनि रावणको खलनायकीको केही हिस्सा त लिनैपर्छ । मिथकमा रावणलाई केवल खलनायकको पगरी भिराइदिँदा अन्याय पो भयो कि ?


हुन त श्रीलंकामा कतिपय ठाउँमा रावणको पूजा हुन्छ । रावणको नाममा पर्यटकीय ठाउँ मात्र होइन, क्याफे र बुकसपसम्म छन् । भारतमा रावण वध उत्सव भइरहँदा श्रीलंकामा रावणको जय उत्सव हुन्छ । आकाशमा बसी सबै तमासा हेर्ने रावणले भन्दा हुन् ‘म नायक कि खलनायक ?’

प्रकाशित : आश्विन २५, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?