जर्मनीमा कुँदिएको नेपाल–हिमालय मण्डप

जीवा लामिछाने

दृश्यले भावना र भावनाले शब्द जन्माउँछ  । जसै हामी रेगेन्सबुर्ग सहर काटेर एउटा निजी वन क्षेत्रमा प्रवेश गर्‍र्यौ, ममा पनि कविमा झैँ भावुकता पलाउला भन्ने मैले सोचेकै थिइनँ  ।

जर्मनीमा कुँदिएको नेपाल–हिमालय मण्डप

नेपाल–हिमालय मण्डपभित्र प्रवेश गरेपछि जेजस्ता दृश्य आँखामा आएर बसे, मैले आफ्ना भावना रोक्नै सकिनँ । म ती भावनाका लागि उपयुक्त शब्दहरू सोच्दै पनि थिएँ, खोज्दै थिएँ । शब्दहरू मसँग लुकामारी खेल्दै थिए ।
त्यो बेला मैले हाम्रा आदिकविलाई सम्झिएँ, महाकविलाई सम्झिएँ, आशुकविलाई सम्झिएँ । तैपनि म शब्दले गरिब भइरहें । कहिलेकाहीं सोचेको भन्दा नसोचेको कुरा मीठा भइदिन्छन् ।


जर्मन उद्यमी हेरिबेर्ट विर्थलाई वैभवको कुनै कमि छैन । पैसा हुनु र मन हुनु सधैं समान कुरा होइनन् । पृथ्वीको अर्कै कुनामा रहेको सांग्रिला मुलुक नेपालका लागि उनले आफ्नो निजी स्रोत साधन जसरी खर्च गरिरहेका छन्, त्यो शब्दातीत छ । ८० वर्षको पाको उमेरमा पनि युवा जोसका साथ नेपाल चिनाउन र हाम्रा ग्रामीण बस्तीमा स्वच्छ खानेपानीलगायतका समस्यामा सहयोगको हात बढाउन रातोदिन उनी लागिपरेका छन् ।

फ्र्याङ्फर्टबाट तीन सय पचास किलोमिटर टाढा रेगेन्सबुर्ग सहर नजिकको भिसेन्ट भन्ने गाउँमा तपाईंले गुगलम्याप गर्नुभयो भने एउटा जंगलको सानो घेरो देख्नुहुनेछ । काठमाडौंबाट सात हजार किलोमिटर टाढा पर्ने यो घेरोमध्येको एक सय असी रोपनी जग्गा नेपालप्रेमी हेरिबेर्ट विर्थको हो ।
यो जंगलभित्र नेपाल चिनाउने के छैनन् ? लिच्छविकालीन मन्दिर, मल्लकालीन धारा, राणाकालीन चित्र, पाटी–पौवा, सत्तल, स्तूपा, प्यागोडा शैलीका मन्दिर, भक्तपुरमा देखिने काष्ठकला र त्यसभित्र पाइने कामातुर कलाहरू, पाटनको मूर्तिकला, रुमानी जंगल, त्यसभित्रका हिमाली–पहाडी रूखबिरुवा र जडीबुटीहरू, काठमाडौंवासीले पानी नआएर प्रयोग गर्न छाडेका धारा, सुक्न थालेका पोखरी, कुमालेका माटोका भाँडाहरू, परम्परागत नेवारी घरहरू र नेपाली टोपी लगाएर काँचो माटोलाई विभिन्न आकार दिइरहेका परिश्रमी कुम्हाले दाइ— मोहन प्रजापति । त्यसबाहेक मन्दिरका छेउमा ध्यानस्त अनगिन्ती पश्चिमी अनुहार ।


यस्तो लाग्छ, तिब्बती पठारका संस्कृतिदेखि जनकपुरका मिथिला कलासम्म त्यही जंगलभित्र ध्यानमग्न छन् । यतिले चित्त नपुगेर नेपालका पहिरनदेखि भुटानसम्मका हिमाली संस्कृति यहाँ एकअर्कासँग हातेमालो गरिरहेछन् । जर्मनी बसाइँ सर्नुअघि नै यस मण्डपका विषयमा छापिएका केही सामग्री मैले पढेको थिएँ । त्यही बेला त्यहाँ पुग्ने हुटहुटी नलागेको होइन । तर म त्यहाँ गएर पर्यटकका रूपमा मात्र सीमित हुन चाहन्न थिएँ । त्यहाँ पुग्दा त्यो सानो नेपालका परिकल्पनाकारसँग भेट्ने र उनका कुरा सुन्ने चाहाना पनि सँगै हुर्किएको थियो ।
यो उत्कट चाहनालाई मैले जर्मनीमै लामो समय बसोबास गरेका अग्रज मित्र राम थापाजीसँग बिसाएँ । यो बृहत् कलाका योजनकार एवं प्रस्तुतकर्ता हेरिबेर्ट विर्थसँग रामजीको चिनजान छ भन्ने थाहा भएपछि मेरो हर्षको सीमा रहेन । तैपनि हेरीसँग मेरो भेटघाट र चिनजान हुन झन्डै पाँच वर्ष लाग्यो ।


लामो समयपछि, १६ सेप्टेम्बर २०१९ सोमबारको दिन हेरीले हामीलाई भेट्ने समय दिए । फ्रयांकफर्टबाट म, विन्दिता र लोकमणि भाइ हिँडेको थाहा पाएपछि राम थापा र उनकी पत्नी मारिया भाम्बेर्ग सहरबाट निस्किए । दिउँसो साढे १२ बजे हामी त्यहाँ पुग्दा हेरी र उनकी पत्नी मार्गिट आफ्नो निवासनजिक रहेको एक रेस्टुरेन्टमा हाम्रो प्रतीक्षा गर्दै रहेछन् । लन्चसँगै उनीहरूले देखाएको स्नेही व्यवहारबाटै त्यस दम्पतीको शालीनताको पहिलो परिचय हामीले पायौं ।


लन्चपछि हेरीले हामीलाई तबेलामा रहेका घोडाहरू देखाए । जंगल छेउको खुला बस्तीमा काठले बनेका केही तबेला र घर रहेछन् । त्यहाँ केही चिल्ला र हेर्दै आकर्षक लाग्ने घोडाहरू हिनहिनाइरहेका थिए । केही भने खानपानमा व्यस्त थिए । तबेलाको डिजाइन र घोडाका उच्च नश्ल देख्दा मलाई विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘कर्नेलको घोडा’ को सम्झना आयो । त्यही बेला हेरीले भने, ‘यहाँ उच्च जातका विभिन्न ६४ घोडा छन् ।’ घोडाका चालढाल देख्दा नै त्यो अनुभव हुन्थ्यो । मैले स्वीकृति जनाउँदै तीमध्ये एउटालाई सुम्सुम्याएँ । हेर्दै चढूँचढूँ लाग्ने त्यो घोडाको नथिया समाएर एक तस्बिर खिचेर मैले चित्त बुझाएँ ।


यी सबै घोडा हेरीको सोखका लागि पालिएका भए पनि कोही घोडचढी सिक्न चाहन्छ भने केही शुल्क तिरेर उसलाई अनुमति दिइने रहेछ । त्यसपछि बल्ल हामी नेपाल हिमालय पभेलियनतिर लाग्यौं । जहाँ सम्पूर्ण हिमाली–पहाडी क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले हामीलाई पर्खिरहेका थिए ।


पार्कभित्र एउटा चमेनागृह देखियो, जहाँ मानिसहरू लाइन लागेर चियापान गरिरहेका थिए । त्यहीं उभिएर हामीले पनि नेपाली चिया पियौं । चिया पिउँदै गर्दा मेरा आँखा पार्कमा रहेको बुद्ध स्तूपा र मन्दिरको मिश्रण गरिएको एउटा संरचनामा पर्‍यो । त्यहाँ ठ्याक्कै नेवारी जीवन झल्कने पाटी, सत्तल रहेछन् । भुइँतलालाई पाटीजस्तो सजाइएको थियो । पटांगिनी सँगै आयातकार सानो तलाउ पनि देखियो । पानीमा हल्लिरहेको छायासँगै गुम्बा र मन्दिरबाट मधुर धुन बजिरहेको थियो । धुनसँगै मानिसहरू कोही आँखा चिम्लेर ध्यान गरिरहेका थिए भने कोही आँखा हेरेरै निमग्न भइरहेका थिए ।


हामी काठको कलात्मक मन्दिर हुँदै अघि बढ्यौं । तर टुँडालमा कुँदिएका अनेक चित्रले हामीलाई रोके । हामीभन्दा आश्चर्य भएर त्यहाँ पुग्ने पर्यटकहरू टुँडालमा कुँदिएका काम वासनायुक्त चित्रहरू देखेर जिज्ञासा राखिरहेका थिए । पूर्वीय बन्द समाजले आफ्ना मन्दिरहरूमा यस किसिमका चित्र कोर्छन् भन्ने कल्पनासमेत कतिपय युरोपियनमा नहुँदो हो ।


‘प्रसिद्ध गायिका आनी छोइङ डोल्मालाई चिन्नुहुन्छ होला ?’ मैले एकरसले ती दृश्य हेरिरहेका बेला हेरीले भने, ‘यसै ठाउँमा आनी डोल्माको कार्यक्रम गरिएको थियो ।’ मण्डपको पछाडिपट्टि मल्लकालीन दरबारको झल्को आउने सुन्दर भवन देखियो । काठैकाठले बनेको यो घरलाई पाहुना घरका रूपमा सजाइएको रहेछ । नेपालबाट आउने कालीगढलगायत कर्मचारीहरू यही घरमा बस्दा रहेछन् ।

पाटन दरबारभित्रको सुन्दरी चोकजस्तै लाग्ने ठाउँबाट हामी बगैंचामा प्रवेश गर्‍यौ । बगैँचा के भनौं, यो नेपाली हिमाली भूभागमा पाइने तीन हजारभन्दा बढी प्रजातिको वनस्पति पाइने जंगल नै रहेछ । त्यहाँ निगालाका झाडी थिए । गुराँसका विभिन्न प्रजाति थिए । मञ्जरीसहितका तुलसी मुस्कुराइरहेका थिए । मैले सानो छँदा चितवनका जंगलमा देख्ने गरेका अठ्याराजस्ता रूखहरू पनि थिए । ती जंगलभित्र अर्ना र गैँडा हुने कुरा त भएन तर उनीहरूको सम्झनामा ढुंगाको एक अर्ना जंगलमा बिसाई मारिरहेको देखिन्थ्यो । यस्तै जीवजन्तुहरूलाई ढुंगामा कुँदाएर उद्यानलाई जंगलमा परिणत गर्ने प्रयास भने राम्रैसँग गरिएको थियो ।


जंगलको बीचमा ससाना केही पोखरी पनि देखिए । पोखरीमा रहर लाग्दा रंगीन माछा पौडिरहेका थिए । मानिसहरू त्यहाँ चारो छर्दै उनीहरूलाई छेउछाउ बोलाइरहेका थिए । माछाको रहरलाग्दो पौडीले धेरैको ध्यान खिचिरहेको देखिन्थ्यो । हामी अघि बढ्दै जाँदा हेरीले त्यहाँका प्रत्येक वनस्पति, मूर्ति, स्तूपा, पुल, पुलेसा, रूखबिरुवाको जानकारी दिँदै गए । यो उमेरमा पनि नेपालका विषयमा उनको अध्ययन र स्मरणशक्ति दुवैले मलाई आश्चर्यचकित बनाउँदै लग्यो । उनी नेपालका वन्यजन्तु, हावापानी, रीतिथिति र संस्कृतिका विषयमा पूर्ण जानकार थिए । उद्यानभरि राखिएका मूर्ति, स्तम्भ, शिलालेख, पुलको वर्णन गर्दै जाँदा म उनको क्षमताबाट प्रभावित हुँदै थिएँ । एकजना गैरनेपाली उद्यमी र पाको उमेरका व्यक्तिले कहाँ–कहाँबाट यति धेरै सामग्री कसरी मगाए होलान् र यति धेरै अध्ययन कसरी गरे होलान् ? यी प्रत्येक सामग्रीको विशेषता र महत्त्वबारे यति रुचि र उत्साहका साथ हामीलाई बताउनुको पछाडि कुन ऊर्जा र प्रेरणाले काम गरिरहेको छ ?


म प्रश्न गर्न तयार हुँदाहुँदै उनी अर्को कुनै विषयमा प्रवेश गरिहाल्थे । यस्तो बेलामा प्रश्न सोधेर उनलाई रोक्ने धृष्टता मैले गर्न सकिनँ । उद्यानका ठाउँठाउँमा फरकफरक शैलीका पुलपुलेसा थिए । हरेक पुलको वर्णन गर्नुअघि उनी भन्थे, ‘यो पुलले नेपाल र जर्मन जोड्ने काम गरेको छ । बुझ्नु भो, पुल योगको संकेत हो । दुई फरक देश, दुई फरक संस्कृति र दुई फरक भूगोल जोड्ने प्रतीक ।’


एउटा काठेपुलमा कतै पनि किला काँटीको प्रयोग गरिएको थिएन । त्यस पुलको बारेमा एकजना व्यक्तिले विद्यावारिधि पनि गरिसके रे । उनी जुन उत्साहका साथ यहाँका सामग्रीका विषयमा कुरा गर्दै थिए, यसले पार्कभित्रका प्रत्येक सामग्रीप्रति उनको अगाध प्रेम झल्काइरहेको थियो । उनी कुनै विषय बताउनुअघि त्यो चीजलाई सुम्सुम्याउँथे र माया गर्थे, मानौं ती सामग्री जीवित छन् र तीनले उनको स्नेह महुसस गरिरहेका छन् ।

त्यहाँ निर्जीव नेपाली कलाले मात्र नेपाल बोकेका थिएनन्, केही नेपालीको अथक परिश्रम पनि देखिँदै थियो । उद्यानलाई एक फन्को मारेपछि हामीले माटोको सुभेनियर सामग्री प्रदर्शन एवं विक्री केन्द्र पुग्यौं । सँगै देख्यौं, मध्यपुर ठिमीका मोहन प्रजापतिलाई, जसले कुम्हालेको चक्र घुमाउँदै माटोका भाडा बनाएर आगन्तुकहरूलाई मोहित पार्दै थिए । उनी झन्डै २० वर्षदेखि नियमित रूपमा जर्मनीमा सोभिनियर बनाउने काम गरिरहेका रहेछन्, पहिले ह्यानोभर र पछि यहाँ । उनले चक्रमा कुदेका माटोका भाँडाहरू सुकेपछि सहर पुर्‍याएर पोलिँदो रहेछ । जसको बिक्री पनि उत्साहजनक भएको उनी बताउँदै थिए ।


हेरी र उनकी पत्नी मात्रै होइनन्, उनीहरूकी छोरीले पनि नेपाललाई आफ्नो जीवनको अभिन्न अंग बनाएकी रहिछन् । छोरीले नेपालबाटै अदित नामको एक बालकलाई ल्याएर धर्मपुत्र पालेको कुरा बताइरहँदा हेरीको अनुहारमा एकप्रकारको तृप्ति देखिन्थ्यो । अब त अदित पनि वयस्क भइसकेछन् । हेरी दम्पती वर्षैपिच्छे नेपाल पुग्छन् र फर्कंदा जहाजभरि नेपाल बोकेर फर्कन्छन् ।

उद्यानलाई एक चक्कर लगाउन हामीलाई झन्डै तीन घण्टा लाग्यो । ती तीन घण्टामा उद्यानमा अटेसमटेस भएर नेपालसँग सम्बन्धित सामग्री देखिए । मैले भने उनको नेपाल माया पनि अटेसमटेस भएको देखेँ । उद्यानको चक्कर लगाइरहँदा मैले यति ठूलो व्यवस्थापनमा खर्च कति लाग्यो होला भन्ने मनमनै हिसाब निकाल्दै थिएँ । जसै मैले खर्चको कुरा निकालेँ, उनले एक पाइला अघि बढेर नेपालका लागि गरेका केही परोपकारी कामका बारेमा वर्णन गरे । धुलिखेल अस्पतालका विभिन्न विभागको स्थापनामा उनले ठूलो धनराशि सहयोग गरेका रहेछन् । त्यसैगरी फर्पिङको आर्यतारा स्कुलमा पनि उनको सहयोग रहेछ । उनकै संयोजनमा प्रत्येक वर्ष दर्जनौं जर्मन चिकित्सकले नेपालमा स्वयम्सेवकको रूपमा काम गर्दा रहेछन् ।


कुरैकुरामा थाहा भयो– १० वर्षअघि देवघाटमा गैरआवासीय नेपाली संघको पहलमा बनेको वृद्धाश्रममा राम थापाजीको सौजन्यमा प्राप्त सहयोग रकम पनि ‘वाटर फर द वर्ल्ड’ भन्ने उनकै संस्थाले गरेको रहेछ । ‘वाटर फर द वर्ल्ड’ संस्थाले नेपालका पानी नपुग्ने दुर्गम स्थानमा काम गर्ने संस्थाहरूलाई आज पनि नियमित सहयोग गरिरहेको छ । नेपालबाहेक यो संस्थाले निकारागुवालगायत विश्वका अन्य देशहरूमा पनि परोपकारी काम गरिरहेको छ । नेपालमा यो संस्थाले के कति रकम सहयोग गर्‍यो होला भन्ने चासो लागेर मैले सोधें । जवाफ दिन उनले केही अप्ठ्यारो माने । उनले भन्न नचाहे पनि राम थापाजीमार्फत मैले यस विषयमा केही कुरा पत्ता लगाएँ । अहिलेसम्म नेपालमा उनले गरेको सहयोगको रकम पाँच मिलियन युरो अर्थात् ६० करोड रुपैयाँभन्दा बढी पुगिसकेको रहेछ ।


नेपाल–हिमालय मण्डप निर्माणको पनि आफ्नै कथा रहेछ । सन् २००० को जुन महिनादेखि अक्टोबरसम्म जर्मनीको ह्यानोभर सहरमा एक्स्पो २००० आयोजना भएको थियो । विश्वभरिका कला–झाँकी प्रस्तुत गरिएको त्यस एक्स्पोमा विश्वका १ सय ७८ देशले भाग लिएका थिए । त्यसै एक्स्पोमा नेपाली उद्यमीहरूको ‘इम्प्लिमेंन्टिङ एक्स्पर्ट ग्रुप’ कम्पनीले नेपाली काष्ठकलाको उत्कृष्ट नमुना प्रस्तुत गरेर एक मण्डप बनायो । ८ सय कालीगढले
आफ्नो अद्भुत हस्तकला प्रस्तुत गरेर बनाएको यो मण्डप त्यस एक्स्पो घुम्न आउनेहरूबीच यति मन पराइयो कि पाँच महिनाको अवधिमा ३५ लाख मानिसले यसको अवलोकन गरे । नेपालप्रेमी हेरी त्यो मण्डपको कलाकारिताबाट यति प्रभावित भएछन् कि उनले त्यसलाई सधैंका लागि जर्मनीमा राख्ने निर्णय गरेर यो भवन नेपाली व्यवसायीहरूबाट खरिद गरे ।


त्यो घरलाई स–साना समूहमा टुक्राएर बभेरिया राज्यअन्तर्गत पर्ने रेगेन्सबुर्ग नजिकको भिसेन्ट गाउँको आरक्षित वन क्षेत्रमा ल्याइयो । त्यसै जंगल छेउको आफ्नो स्वामित्वमा रहेको ९ हेक्टर जमिनमा उनले यसलाई स्थापना गरे । यति ठूलो क्षेत्रफलमा एउटा मण्डप मात्र राख्ने कुरा भएन । त्यसलाई हराभरा र सुन्दर बनाउन नेपालबाट अनेक कलाकृति, मूर्ति, प्रतिमा, वनस्पतिलगायतका सामग्री ल्याउन थालियो । मण्डप निर्माण सुरु गरेको १७ वर्ष पूरा भयो तर अझै पनि यसमा निरन्तर काम भइरहेको छ । यस्तो लाग्छ, मानौं जर्मनीको एक कुनामा सानो तर आकर्षक नेपाल निर्माण भइरहेको छ ।


रेगेन्सबुर्ग आफैँमा एक प्रसिद्ध पर्यटकीय सहर हो । सहरबाट केही दूरीमा मात्र रहेकाले पर्यटकहरू यो उद्यानसम्म आइपुग्न सजिलो छ । १० युरो शुल्क तिरेर उनीहरूले यहाँ मिनी नेपाल र नेपाल वरपरका सामाजिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरूको अवलोकन–अनुभव गर्न पाउँछन् । पर्यटकले तिरेको शुल्कसमेत सीधै नेपालका विभिन्न सामाजिक काममा जाँदो रहेछ । निजी भए पनि सरकारको आरक्षित क्षेत्र नजिक भएकाले भीडभाड कम गर्न स्थानीय नगरपालिकाले साताको दुई दिन मात्रै यसलाई सार्वजनिक गर्ने अनुमति दिएको रहेछ । जाडो मौसमका पाँच महिना यो बन्द नै रहन्छ । यो समयमा भने यहाँका नेपाली कालीगढहरू नेपाल फर्कने गर्दा रहेछन् । यी काममा हेरीले अनेक झन्झट पनि भोगेका छन् । मन्दिरको मर्मत सम्भारका लागि नेपालबाट मानिसहरू बोलाउनुपर्दा दूतावासमा आइपर्ने झन्झट अलग्गै रहेछ । तर उनले यसलाई सहज रूपमा व्यवस्थापन गरेका छन् ।


उनको यही परिश्रमको उच्च कदर गर्दै जर्मनीको संघीय सरकारले हेरी दम्पतीलाई यहाँको सर्वोच्च राज्यपदक ‘फेडेरल अर्डर अफ मेरिट’ ले सम्मान गरेको रहेछ । नेपालका लगि यति ठूलो काम गरिरहेका हेरीलाई बितेका दुई दशकमा कुनै न कुनै पदक वा राष्ट्रिय सम्मान गर्‍यो होला भन्ने मलाई लागेको थियो । तर कुरैकुरामा उनले सानो गुनासो पनि गरे, ‘नेपालका लागि काम गरेको भनेर यहाँको राज्यले समेत हामीलाई सम्मान गर्‍यो तर नेपालले त्यो महसुस कहिल्यै गरेन ।’ पछि थाहा भयो, कतिपय नेपाली उच्च पदाधिकारीहरू उनका पाहुना भएर आउँदा निकै ठूला आश्वासन दिएका रहेछन् तर पछि उनीहरूले त्यस विषयमा कुनै फलोअप नगरेको थाहा भयो ।


उनको गुनासो सुन्दा हामीले केही लज्जाबोध पनि महसुस गर्‍यौं । यी शब्द लेखिरहँदा नेपाल सरकारले संविधान दिवसका अवसरमा देश–विदेशका केही व्यक्तिलाई सम्मान गरेको पढ्दै थिएँ । त्यो सूचीमा हेरीको नाम परेको छ कि भन्ने मेरो झिनो आशासमेत थियो । तर, त्यहाँ उनको नाम थिएन । यस्तो लाग्यो, हामी कतै मनका पनि गरिब त हुँदै गैरहेका छैनौं ?

साँझ पर्दै गएपछि हाम्रो यात्रालाई बिट मार्नुपर्ने संकेत देखिँदै थियो । तर हेरी अझै आफ्नो सपना हामीलाई देखाएर, सुनाएर थाकेका थिएनन् । उनले एउटा घण्टतर्फ संकेत गरे । त्यो घण्ट पशुपति मन्दिर परिसरमा झुन्डिएको घण्टजस्तै देखिन्थ्यो । तर यसभित्र फलामको ओखल छैन । त्यो खाली घण्टमा टाउको घुसारेर बाहिरबाट ओखलले हिर्काएपछि त्यसबाट झन्डै ३ मिनेटसम्म विशेष किसिमको ध्वनि तरंगित भएर आउँदो रहेछ । त्यो ध्वनि तीन मिनेटको भए पनि त्यसले गहिरो शान्तिको अनुभव गराएको महसुस भयो । पालैपालो घण्टभित्र टाउको पसाएर हामीले त्यस ध्वनिको अनुभूति गर्‍यौं ।


त्यही घण्टको एकातर्फ हेरीले आफ्नोसहित परिवारका अन्य चार सदस्यको नाम कुँदेका छन्– पत्नी मार्गिट, छोरी अरियाना, ज्वाइँ निकलस र नाति अदितको । त्यसको अर्कोपट्टिआफ्नो जीवनको परम लक्ष्य (मोटो) जर्मन भाषामा कुँदाएका छन् । त्यहाँ लेखिएको छ, ‘गेबे निई आउफ’ अर्थात् नेभर गिभ अप ।


बिदा हुनुअघि मैले अघिदेखि मनमा दबेको प्रश्न निकाल्दै सोधेँ– आखिर नेपालका लागि समर्पित भावले यति धेरै काम गर्न तपाईंलाई के चीजले प्रेरणा दिन्छ ? उनले भने, ‘अभाव र गरिबीमा बाँचे पनि नेपाली बालबालिकामा देखिने अवोध खुसी र निश्छलपनले ।’ जवाफ छोटो थियो र मार्मिक पनि । घर फर्किन ३ सय ५० किलोमिटरको दूरी तय गर्नुपर्ने भएकोले उनको सुकर्मलाई हृदयदेखि धन्यवाद दियौँ र आफ्ना लागि मात्र गर्ने संसारका अनेक मानिसले उनीबाट केही प्रेरणा लिऊन् भन्ने कामना गर्दै हामी उनीबाट बिदा भयौं ।
twitter: @Jibalamichhane

प्रकाशित : आश्विन २५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?