जारको घाँटी
त्यो दिन मेरो जारको घाँटी घाममा टिलिक्क टल्किएको थियो । हुन त यो अलि पहिलेको कुरा हो । तर टौदह जाँदाजाँदै पुराना घटनाहरू झल्झली सम्झन थालें । झोलामा लुकाएको एघार इन्चे भोजपुरे खुकुरी सम्झें । जारको सर्लक्क परेको घाँटी सम्झें ।
अनि त्यस घाँटीलाई छिनाउने अठोट सम्झें ।
म धेरै दिनपछि टौदह गएको थिएँ । सायद आफ्नै विगतसँग जम्काभेट गर्न वा लेखनको विषयवस्तु खोज्न ! किन ? आफैंलाई थाहा छैन ।
सोचेको थिएँ, पोखरीको डिलमा बसेर हाँस र माछा हेर्छु । अनि सूर्यास्तको सिन्दूरे आकाश धित मरुन्जेल हेरेर सोरखुट्टे फर्कन्छु । तर माइक्रोबस चोभारको डाँडा चढ्दा नचढ्दै हुरी चल्न थाल्यो । टौदह पुगुन्जेल त घनघोर पानी नै दर्किन लाग्यो ।
कालो आकाश गड्याङगुडुङ गर्दै तल, झन् तल झर्न थाल्यो, भुइँ नै चुम्लाजस्तो गरेर । आकाशमा तोपहरू पड्किरहेका थिए । कुनै युद्ध सुरु हुन लागेझैं थियो । दिउसै रात भएको थियो र झरीमा नुहाएका रूखहरू मातेझैं हल्लिरहेका थिए । मुसलधारे वर्षाले दहछेउको गोरेटो हिलाम्य थियो ।
पछि मात्र थाहा पाएँ, त्यो साताजत्तिको घनघोर वर्षा उपत्यकामा सय वर्षअघि मात्र भएको थियो रे ! सहरका सडकहरू खोला भएका थिए र मानिस घरमै कोचिन विवश !
माइक्रोबाट निस्कनेबित्तिकै वर्षाले चुट्न थाल्यो ।
एकै छिनमा लुगा निथ्रुक्क भिजे । जुत्ता ढाडिएर गह्रौं भए । पाइलैपिच्छे पिचिकपिचिक गर्न थाले । पोखरीको डिलनजिकै रहेको खाजाघरसम्म पुग्दा म दहभित्रको माछासरह भइसकेको थिएँ । खाजाघरभित्र लालटिनको प्रकाश पोखिएको थियो । वरिपरि छाया सलबलाउँदै थिए– एउटी कुप्री परेकी आमै, अर्का सेताम्य वृद्ध र अरमठ्ठ जुँगा भएको अधबैंसेका । थाहा भयो, ती आमै खाजाघरकी मालिक्नी रहिछन् र त्यो अधबैंसे टौदहकै नागराजा–नागरानी संस्थाको पाले । ती सेताम्मे वृद्धचाहिं को थिए, थाहा छैन । उनले सेतो सर्टमाथि मिलिटरी रङको ज्याकेट भिरेका थिए । धेरै वर्ष बर्मा बसेका रहेछन् भन्नेसम्म थाहा भयो ।
आकाशको दह गड्गडाउँदै पोखरीमा पोखिएको त्यो रात म टौदहमा बस्न बाध्य भएँ । सँगै रात बिताउँदा बुझें, ती सेताम्मे वृद्ध साधारण मानिस थिएनन् ।
उनलाई चराचुरुङ्गी र जनावरहरूबारे अथाह ज्ञान रहेछ । तिनको भाषासमेत बुझ्न सक्थे रे ! अन्य प्राणीका कुराकानी मान्छेको भाषामा उल्था गरेर भन्न सक्थे रे ! उनका कुरा सुन्दै जाँदा थाहा भयो– मानिसले झैं हाँस, बकुल्ला र भ्यागुताले समेत कथा भन्दा रहेछन् । मानिसलाई जस्तै चरा जनावरलाई पनि कथा चाहिंदो रहेछ ।
गड्याङगुडुङ चर्कियो । झन्–झन् अँध्यारो हुन थाल्यो । लालटिनको उज्यालोमा कोठाभित्र दुइटा टेबल र केही कुर्सी देखें । जुत्ता फुकाल्दा भलल पानी बग्यो । भिजेको गह्रौं सर्ट फुकालेर भित्ताको किलामा झुन्डाएँ । चिसोले जीउ काम्दै थियो । आमैले एक पाला ऐला टेबलमा राखिदिनुभयो । मैले माटाको पाला उठाएँ ।
पालाभित्रको सानो पोखरी मुखनजिकै आइपुग्यो । पालामा अर्कै संसार डुबेको थियो । र, त्यहाँ थुप्रै कथा पौडिरहेका थिए ।
पहिलो चुस्की लिएँ । जिब्रोमा बलेको आगो घाँटी हुँदै पेटसम्म पुग्यो । त्यसपछि न्यानो ताप नसा–नसा हुँदै शरीरभरि दौडन थाल्यो ।
आमै र सेताम्य वृद्ध कुनै पुरानो कथाबारे गफिँदै थिए, हाँस र मानिसका कथा । मलाई तिनका स्वरहरू आकाशको गडगड र बतासको सुसेलीमा बिलाउँदै गएजस्तो लाग्यो ।
दोस्रो चुस्कीले त मलाई झन् आफ्नै विगतमा डुबाउन थाल्यो ।
दमित स्मृतिहरू पालाको पींधमा सलबलाउँदै ब्युँझिन थाले । राष्ट्रवादीलाई सम्झें । सीमालाई सम्झें । जारलाई सम्झें । टौदहको यसै डिलमा टल्किएको जारको घाँटी सम्झें । झोलामा बोकेको भोजपुरे खुकुरीको तिखो धार सम्झें । जारको गर्धन छिनाएर टाउको दहमै हुत्याउने अठोट सम्झें ।
त्यस दिन म साह्रै छटपटाएको थिएँ । धारिला प्रश्नले मनलाई च्वास्स–च्वास्स घोचेका थिए ।
जारले मेरी सीमाको शरीरलाई कसरी सुम्सुम्यायो होला ? मैले चुमेका रसिला ओठमा कसरी आफ्नो मुख जोत्यो होला ? उसका भूगोलका खोंचहरूमा कसरी लुटुपुटु भयो होला ? सीमाले आनन्द उत्कर्षमा सीत्कार गर्दा मेरो पुंसत्वको उपहास गर्दै कसरी हाँस्यो होला ? यस्तै अनेकन् प्रश्न मनमा उम्लिरहन्थे । लाग्थ्यो, जारलाई काटेपछि मात्र मन शान्त हुनेछ ।
हुन त म पनि निर्दोष थिइनँ । मेरा आफ्नै कथा–व्यथा थिए । आफ्नै कमीकमजोरी थिए । मेरो सबैभन्दा ठूलो गल्ती सीमाबारे फिँजाइएका अफवाहमा विश्वास गर्नु थियो । खोइ कसरी पत्याएँ हुँला, मैले त्यस बेला यस्तो वाहियात हल्ला ? त्यसैले गर्दा त सीमासित मेरो झगडा भएको थियो र ऊ घर छाडेर निस्केकी थिई !
मैले सीमालाई साह्रै ठूलो चोट पुर्याएको थिएँ । पछि कैयौंचोटि कोसिस गर्दा पनि उसले भेट्न मानिन । छ महिनापछि मात्र थाहा पाएँ, सीमा डीभी लटरी पाएर अमेरिका उडिसकिछ ।
त्यस बेला म रन्थनिएको थिएँ, डीभीको आवेदन भर्न र सम्पूर्ण प्रक्रिया पुग्न त एक वर्षभन्दा बढी लाग्छ ! के त्यसो भए ऊ पहिलेदेखि नै मलाई छाडेर अमेरिका भासिने योजना बुन्दै थिई ? कोसँग गई ? त्यस बेला मैले सोचेको थिएँ, सायद बैंकको त्यही हाकिमसित गइहोली, जसबारे भट्टीपसलमा राष्ट्रवादीले भनेका थिए ।
पछि थाहा पाएँ, मेरो सोचाइ गलत रहेछ । त्यो तथाकथित प्रेमी त बैंकमै रहेछ । अलि धार्मिक किसिमको र परिवारमै रम्ने व्यक्तिसमेत रहेछ । उसको सीमासितको लसपसको कुरा त केवल मलाई होच्याउन रचिएको अफवाह रहेछ । मेरो जार त्यो हाकिम होइन रहेछ ।
मेरो जार त अर्कै रहेछ ।
‘अनुज !’
यो नामले मलाई गिज्याइरहन्छ सधैं । मेरो अहम्लाई चकनाचुर पार्दै... ! तर न मैले यस नामलाई मनबाट मेटाउन सकें, न अनुज पाँडे अर्थात् मेरो जारलाई बिर्सन नै सकें ।
(उप्रेतीको उपन्यास हंसको अंश ।)
प्रकाशित : आश्विन ११, २०७६ १०:२१