कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मन्त्री सङ्ग्राम सिंहको जेल यात्रा

रामलाल जोशी

साना दुःखले काठमाडौं छिर्‍याको होइन म । साथी हरायो, साथ छुट्यो । स्वास्नी मारिई, घरबार डुब्यो । छोरा मारियो, वंश उजाडियो । तर पनि मेरो देश छ भनेर आयाँ । नियाँ चाइयो सरकार, निसाब चाइयो भनेर करायाँ । कराउँदा कराउँदै दुनियाँका दृष्टिमा आज म पागल भयाँ ।’

मन्त्री सङ्ग्राम सिंहको जेल यात्रा

छातीमा तुलको ब्यानर टाँसेको एउटा कृषकाय पुरुष सिंहदरबार अगाडि ठिङ्ग उभिएको थियो— मानबहादुर बुढा । ऊ मात्रै होइन, घाँटीमा मखमली माला लगाएको एउटा अर्का मान्छे पनि सँगै उभिएका थिए— पृथ्वीनारायण शाह । उनी मात्र होइन, उनीसँगै बर्दीधारी छातीमा राष्ट्रिय निशान टाँसेर एउटा प्रहरी भाइ उभिएको थियो– निशान गुरुङ ।


मलाई सबैभन्दा बढी व्यानरका अक्षरहरूले तान्यो–, ‘साना दुःखले ...पागल भयाँ ।’ त्यसपछि तान्यो तुलको ब्यानरले । अनि ब्यानरधारी मान्छेले । झट्ट गएँ र बुझ्न खोजेँ । ऊ उल्टै बम्कियो, ‘ई पत्रकारहरूले सोधीसोधी मेरो कलेजो खाइसके । परश्न मात्तै सोद्धा, उत्तर लेख्दाइन काठ बान्ना । लेऊ यै लैजाऊ, मेरो कहानी सबै यस्मै छ । यै छाप ।’ उसले एउटा कापी मेरो हातमा थमाइदियो । म यति बेचैन थिए कि कापी टिपेर उडेँ । डिल्लीबजारको पीपलबोटमुनि बसेर पढ्न थालेँ— काठमाडौं झर्दा म निस्सासिएको थिएँ । कमिलाका ताँतीजस्तै जताततै गाडी नै गाडी । हावा फैलेजस्तै धूवाँ नै धूवाँ । भेडाका बथानजस्तै जताजतै घरैघर । कङ्क्रिटै कङ्क्रिटको सहर । हावा छिर्ने छिद्रसमेत छैन । ओहो ! दुलोमा खाँदिएका कमिलाजस्ता यस खाल्डोका मान्छेहरू कसरी सास फेर्दा हुन् ?


मान्छेहरूले काठमाडौंको आत्मा मारेजस्तै मलाई मेरो जिन्दगीले जिउँदो लास बनाएको थियो । युद्धका नाममा मेरो छोरो मारिएको थियो । श्रीमती मारिएकी थिई । प्यारो साथी सङ्ग्राम बेपत्ता पारिएको थियो । मेरो जिन्दगीबाट सबै चीज खोसिएको थियो । खोसिएको खुसीको क्षतिपूर्ति त थिएन । तथापि न्यायको खोजीमा धेरैपछि म काठमाडौं पसेको थिएँ । भनौँ, नयाँ युग आएपछि ।यसै पनि जिन्दगीबाट विरक्त थिएँ । दिनदिनै अदालत, वकिल र मानवाधिकारवादीहरूकहाँ धाउँदा–धाउँदा थकित भइसकेको थिएँ ।

उकुसमुकुसले मेरो सास फुल्न थालेको थियो । सोचेँ— पुलिसको छेउमा सास फेर्न सजिलो होला कि ? गएँ । सिंहदरबारको अगाडि सालिकको छहारीमा बसेँ । बस्न कहाँ पाउनु ? पुलिसको सिठीले पर धकेलिएँ । उफ ! यै बेला सूर्य पनि कति चर्को भएर आएका ? तालुमै किन आगो खन्याउनुपरेको ? खोल्सामा घाम पार्नु नि बरु । बायाँ हातले पश्चिमको सूर्यलाई छेको दिएर यसै टोलाइरहेथेँ, कान खाने साइरनको आवाजले म तिलमिलाएँ । ट्वाइँ ट्वाइँ ट्वाइँ साइरन बजाउँदै एक हूल प्रहरीका गाडीहरू सिंहदरबारको ठूलो गेटभित्र छिर्न थाले । प्रहरीहरूका गाडीको बीचमा सानो रातो झन्डा फिरफिराउँदै एउटा गाडी बिस्तारै गुड्यो ।

पछाडि पुलिसैपुलिसको अर्को गाडी । फेरि अर्को गाडी । फेरि अर्को । मेरो ध्यान त्यतै मोडियो । अकस्मात मेरा आँखाहरू झन्डावाल गाडीको बीचमा गएर टक्क अडिए । सिसाभित्र परिचितजस्तो एउटा धूमिल अनुहार देखेँ । घामका चर्का किरणहरूलाई हातको पालीले छेकेर आँखालाई तिखा पारेँ । हो त नि, चिनेकै मान्छेजस्तो । कहीँकतै देखेकै अनुहार । तर कस्तो दुर्भाग्य हेर्नुस् न, चिनौँ–चिनौँ भन्ने बेला हुइँक्क गाडी हुइँकिएर गयो । म रनभुल्लमा परेँ । नजिकैबाट फुत्केर गएको अनुहार कसको हो ? सम्झिने प्रयत्नमा म आफ्नो बालाजीवनमा फर्किएँ । बालाजीवनमा लुकाचोरी खेल्दै त्यसरी नै आफ्नो अनुहार लुकाउने मेरो प्रिय साथी को थियो । सम्झनाको अतल गहिराइमा डुबेँ— खड्कु उर्फ सङ्ग्राम ?


हो । अहिले भरखरै फुत्केर गएको अनुहार के उसैको हो ? खड्कु उर्फ सङ्ग्राम युद्धकालमै बेपत्ता पारिएको होइन र ? मेरो प्रिय सङ्ग्राम बेपत्ता पारिएको वर्षौं भइसक्यो । सिंहदरबारअगाडि झन्डा हल्लाउँदै कहाँबाट आउनु ऊ ? हरे भगवान् ! उसो भए कसको अनुहार हो त त्यो ? संशयले मेरो थिलथिलो मनमा केही तरंगहरू उब्जाइदियो । मैले मेरा पाइलाहरू दिनभरिका लागि त्यहीँ जड गरिदिएँ । निर्णय गरेँ— भरे गाडी गेटबाहिर निस्कने बेलासम्म पश्चिमको घाम खाएर यहीँ बस्छु । मरो नजिकबाट फुत्केर गएको अनुहार यकिन गरेरै छोड्छु ।


चार घण्टापछि पुलिसले फेरि उस्तै साइरन दियो । म सतर्क भएर उभ्भिएँ । पुलिसका गाडीहरू फेरि लस्करै आए । बीचमा फेरि उसैगरी सानो रातो झन्डा फिरफिरायो । मैले साना आँखालाई ठूला पारेर हेरेँ— हैट ! मेरा आँखाले कहाँ धोका खानु ? ऊ सङ्ग्राम नै थियो । म दौडेर गाडी नजिक गएँ । सिसालाई हातले छोएँ । तर, मलाई थाहा भएन, हुत्तिएर म कति टाढा पुगेँ । मान्छेहरूले सोचे— एक्सिडेन्ट भयो । तर, होइन । निमेषभरको खलबलले गर्दा गाडीको गति मन्द भयो । मैले घुँडाको धूलो टकटक्याएर होस सम्हालें । म फेरि उसरी नै दौडेर गएँ । मलाई मेरो साथी खड्कु उर्फ सङ्ग्रामसँग भेट्नु थियो ।ऊ सङ्ग्राम थियो या मेरा आँखाको भ्रम ? यकिन गर्नु थियो । वर्षौंअघि बेपत्ता भएको साथी आँखाको नजिक आएको साथीलाई मैले गला लगाउनु थियो । गएर मैले फेरि सिसा छोएँ । मेरो मुखबाट अनायास एउटा आवाज गुन्जियो, ‘सङ्ग्राम... ।’


सर्र सिसा तल झर्‍यो । उसले मलाई भित्रैबाट यसरी घुरेर हेर्‍यो कि आँखा उसका च्यातिएलान्झैं विस्फारित भए । दीनहीन भएर मैले उसको अनुहार नियालिरहेँ । उसले निधार खुम्च्यायो । आँखा साना पार्‍यो । फेरि ठूला पार्‍यो । ऊ एकाएक चकमकायो, ‘अरे माने... ।’ भन्यो, ‘आकाशबाट झरिस् कि धर्तीबाट फुटिस् ? काँ’ट आइस् तँ ? ’उसको आश्चर्यको सीमा रहेन । ‘आइजा बस् ।’ उसले पछाडिको सिट देखायो । पछाडिकाहरूले ठाउँ दिए । म बसेँ । गाडीले आफ्नो लय पक्र्यो । म खुसीले फुलेको थिएँ— युद्धकालमै बेपत्ता भएको मेरो साथी यतिका वर्षपछि यस्तो अवस्थामा भेटिएला भन्ने मेरो कल्पना थिएन । म फेरि आफ्नो अतीत जिन्दगीतिर फर्किएँ— उसबेला खड्कु र म एउटै गुँडका बचेराजस्ता थियौं । मेरो हातमा खानेकुरा हुँदा उसको मुखमा पर्थ्यो, उसको हातमा हुँदा मेरो मुखमा । पौडी खेल्दाका साथी, गुच्चा खेल्दाका दोस्त । गाँस काटेर खाने मित्र, ओछ्यान बाँडेर सुत्ने जिग्री । हाँस्दा रुँदाको सखा, एकै उमेरको दौंतरी । आपत्–विपत्को सहारा, बदमासी गर्दाको यारा । खड्कु मेरो बालाजीवनको अभिन्न संगी ।


पौडी र गुच्चा खेल्दा ऊ भन्थ्यो, ‘मलाई ईश्वरले बनाएको सृष्टि मन परेन, आफ्नो संसार आफैं बनाउँछु ।’ कुनै दिन बाटोमा हिँड्ने केटीलाई जिस्क्याउन छोडेर ऊ कागजको पुतली बनाउँथ्यो । पुच्छरनेर पुतलीका आँखा बनाइदिन्थ्यो, आँखानेर खुट्टा । पखेटा लगेर टाउकोमा सिउरिदिन्थ्यो । पुतलीको दिमागनेर सानो योनी बनाएर भुर्र उडाइदिन्थ्यो । पौडी खेल्दाखेल्दै ऊ भन्थ्यो, ‘भगवान्ले बनाएको मान्छे मलाई मन परेको छैन । आफ्नो मान्छे आफैं बनाउँछु ।’ अनि पोखरीको डिलबाट गिलो माटो ल्याउँथ्यो । मान्छेको मूर्ति बनाउँथ्यो । मान्छेका खुट्टाहरू टाउकोमाथिपट्टि जोडिदिन्थ्यो । घाँटीमा पखेटा उमार्थ्यो । हातको बुढीऔंलामा दुइटा आँखा बनाउँथ्यो, नाइटो तल्तिर मुख । अनि भन्थ्यो, ‘मान्छेको जात साला, खानलाई जन्मेको हो, भुँडीनेरै मुख भयो भने खान सजिलो हुन्छ बुझिस् ।’ रुद्रघन्टी लगेर गोलीगाँठामा जोडिदिन्थ्यो । आइमाईका स्तन र योनी लगेर लोग्ने मान्छेका दिमागमा घुसारिदिन्थ्यो । घाममा सुकाइसकेपछि भन्थ्यो, ‘ल हेर, नयाँ युगको मान्छे यस्तो बनाउनुपर्छ बुझिस् ।’


दसैंअघिका प्रायः रातहरूमा ऊ भन्थ्यो, ‘सामन्तका काँक्रा चोरेर खाँदा पाप लाग्दैन, चल् काँक्रा चोर्न जाम् ।’


काँक्रा खाइसकेपछि ऊ साउती मार्थ्यो, ‘चल्, यी बियाँ लगेर गरिबको बारीमा छरिदिनुपर्छ ।’ ऊ त्यसै गर्थ्यो ।


एक दिन बौलाहा तालमा उसले भन्यो, ‘टुकीले गरिबको घरलाई पूरै उज्यालो गर्न सक्दैन, सिङ्गै सूर्य ल्याएर राख्दिनुपर्छ । हिड् लिन जाम् ।’


म उसको बकम्फुसे कुरामा लागिनँ । आफ्नी आमाको लाज ढाक्ने टालो जोर्न बम्बै जानु थियो । गएँ । ऊ त्यही रात घरबाट निस्केर बेपत्ता भयो ।


बिहानको कलिलो घाम दिउसो चर्को भएजस्तै समय चर्कै भएर आयो । मैले घर फर्केर बिहाबारी गरे । छोरो जन्मियो । आमाको स्वर्गवास भयो । स्वास्नी र छोराको लाज छोप्न परदेश जानैपर्ने । म प्रायः परदेसिइरहेँ ।


यता देशमा गरिब र निमुखाका लागि भनेर पुरानो सत्ताका विरुद्ध युद्ध सुरु भयो । सबै गरिब, निमुखा र शोषित–पीडितहरू एक ठाउँमा आए । सत्ताको बन्दुक खोस्न थाले । शोषक र सामन्तका रोटी खासेर खान थाले । युद्धकालमा उसले आफ्नो नाम परिवर्तन गर्‍यो । हजार जनताका बीचमा खड्कु, सङ्ग्राम सिंह भनेर चिनियो । उसले आफ्नो पुरानो नाम पूरै बिर्सियो । यदाकदा परदेशबाट फर्केको बेला ऊ भूमिगत रूपमै मेरो घरमा आउँथ्यो । भन्थ्यो, ‘तेरो साथी खड्कु मरिसक्यो, अब सङ्ग्राम सिंह नै तेरो साथी हो, बुझिस् ।’


युद्ध अनन्तकालसम्म लम्बियो । विद्रोहीहरूले सत्ताका भित्ताभित्तामा प्वाल पार्न थाले । युद्धमा कति पुलिस र सैनिक मारिए, कति लडाकुहरूले जीवन गुमाए । कति धनजनको क्षति भयो । युद्धकै नाममा कति सर्वसाधारणले ज्यान गुमाए । विद्रोहीहरूलाई आश्रय दिइएको आरोपमा कति निर्दोषहरूका छातीमा सत्ताका बुटले कुल्चिइए । सरकारलाई सुराकी दिएको बहानामा कति निरपराधका छातीमा गोली ठोकियो । कति कोख रित्ता भए, कति सिउँदो पखालिए । कति घाइते र अंगभंग भए । समयले कुनै न्यायपूर्ण हिसाब राख्न सकेन ।


त्यही युद्ध हो जसले मजस्तो भीखमङ्गालाई पनि रक्त आहालमा नचोबी छोडेन । अर्काको देशमा भीख मागेर त मैले आफ्नी स्वास्नी र छोराको पेट पालेको थिएँ । युद्धलाई मैले कहाँ चलाएको थिएँ र ? विद्रोहीहरूलाई मैले के अन्याय गरेको थिएँ ? ईश्वरका दृष्टिमा म कहाँनेर गलत थिएँ ?


त्यही युद्ध हो, जसले मेरो चौध वर्षमा टेकेको छोरालाई खायो । श्रीमतीलाई उडाइदियो । विद्रोहीहरूलाई आश्रय दिएको आरोपमा मेरी श्रीमती र नाबालक छोराको छातीमा गोली ठोकियो । परदेशमा पसिना चुहाइरहेको एउटा गरिबको घरबार उजाडियो । मेरो सानो संसार त्यही युद्धले समाप्त गरिदियो । घर फर्किंदा घर थिएन । छोरा थिएन । श्रीमती थिइन । सुनेँ— मेरो प्रिय सखा सङ्ग्राम सिंहलाई पनि बेपत्ता पारियो । कतै जेलमा छ अथवा मारियो, थाहा थिएन । लाग्यो— संसारमा अब कोही रहेन मेरो । रुँदै लुरुलुरु फेरि परदेश हिँडेँ ।


समयले घाउ मात्र पार्दैन, पाप्रा पनि निकाल्छ । लामो कालखण्डपछि सुनामीका छाल स्थिर भएझैं बन्दुकका आवाजहरू रोकिए । रूखका पातहरूले शान्तिको पवन छोड्न थाले । शनैशनै देश शान्तिको बाटोमा फर्कियो । एउटा ठूलो क्रान्तिपछि आएको मुर्दाशान्तिमा कसका अनुहार आँसुले भरिएका थिएनन् र ? मर्नेहरूको यादमा बाँच्नेहरूले चिरशान्तिको दीप बाले । आत्मशान्तिको प्रार्थना गरे । नयाँ सपनाहरूका बिस्कुनमा टेकेर देश अगाडि बढ्यो ।


वर्षौंपछि मेरो मनमा एउटा विचार आयो— आफ्नो देश भनेको आफ्नै हो । छोरा मारिए पनि, स्वास्नी मारिए पनि र साथी बेपत्ता पारिए पनि आफ्नो देश त छ । जाऊँ आफ्नो गु–मुतले आफ्नै देश मलिलो पारूँ । आफ्ना आँसुले आफ्नै माटो ओसिलो पारूँ । यो विचारले मलाई स्वदेश मात्रै फर्काएन, काठमाडौंसम्मै ल्याइपुर्‍यायो ।


‘भन माने, काँट देखिइस् आज ? कहाँ हराको थिइस् यतिका वर्षसम्म ?’


सङ्ग्रामको सम्बोधनले म झसंग भएँ । म आफ्नो अतीतबाट वर्तमानमा ओर्लिएँ । गाडी गुड्दै थियो । सङ्ग्रामको कुराले लज्जित भएँ । भनेँ– ‘काँ हुनु ? इन्डियामै हरायाको थियाँ ।’


‘बम्बै बसेर पैसा त भक्कु कमाइस् होला नि माने, के गरिस् ? काठमाडौंमा घर किनिस् ?’


उसको झटारोले मलाई यति निरीह बनायो कि गाडीको सिटमुनि टाउको लुकाऊँझैं भयो । भनेँ, ‘कठै साइबौ ! अग्ला डाँडामी बस्न्याले मात्तै घाम ताप्न पाउँदा । खोल्सामा पिल्सिएका गरिब गुर्दाका तालुमी न सूर्यको घाम पुग्दो, न सरकारको दिरिष्टि । हामी गरिब भन्याका पीपलका छायाले पिल्सिएका पहेँला पिपिरा हौं । गरिबको जात भन्याको अर्काका अग्ला घर हेरीकन आफ्नै मुन्टाको टोपी सडकमा झार्ने जात हो, हजुर । काँबाट काठमाडौंमा घर हुँदो हो, सुइना सपनामा पन नचिताउन्या कुरा ।’


मेरो कुरालाई गाडीमा भएकाहरूले यसरी हाँसोमा उडाए कि लाग्यो, तिनीहरू हाँसेको देखेर गाडी पनि हाँस्दै छ ।
मैले पुलुक्क सङ्ग्रामतिर हेरेँ— रातो अनुहार । खाइलाग्दो जीउ । चौडा निधार । निधारमाथि ढाका टोपी । आँखामाथि चस्मा । टाई र कोटमा सजिएको । ऊ कुनै नयाँ लोकको राजाजस्तै लाग्यो ।


एकातिर मनमा अपार खुसी र आनन्द थियो । हर्षले उसको निधार चुमुचुमुझैं लागेको थियो । युद्धकालमै बेपत्ता पारिएको मेरो प्रिय साथी यस अवस्थामा यसरी बाँचेको होला भन्ने मलाई कल्पना थिएन । उसलाई देखेर मनमनै आशा पलायो— कतै मेरो छोरो र श्रीमती पनि बाँचेकै छन् कि ? अर्कोतिर मनमा सङ्कोच लागिरहेको थियो । उसबेलाको बालसखा नै भए पनि यस्तो छाँटको मान्छेलाई तँ भनेर कसरी सम्बोधन गरूँ अब ? मलाई धक लागिरहेको थियो । भनेँ, ‘सङ्ग्राम सिंहज्यू, हजुर त युद्धकालमै बेपत्ता पारिएको मान्छे, कसरी बाँचेर यस अवस्थासम्म पुग्नुभयो ? यसरी बाँचेको हुनुहोला र भेट होला भनेर मैले सपनामा पनि चिताएको थियाँन । आज भेट भएर बहुत खुसी लाग्यो । हजुर कसरी बस्नुभयाको छ ? राजनीति छोड्नुभयो कि ? क्या नौकरी छ ? हाकिम हुनुहुन्छ कि ?’


फेरि मेरो कुरा गाडीको धूवाँसँगै हाँसोमा उडेर गयो । सङ्ग्राम सिंह फिस्स हाँस्यो, केही बोलेन । अरूहरू गलल्ल हाँसेर भने, ‘मन्त्रीज्यूलाई पनि चिन्नुहुन्न ? कस्तो मान्छे तपाईं ?’


‘हँ... । मन्त्री ?’


म फेरि खुसीले गदगद भएँ । उही जमानामा बेपत्ता पारिएको र मर्‍यो भनेर आशा मारिएको मेरो बालसखा आज राष्ट्रको मन्त्री भएको रहेछ । आहा ! मेरा लागि अकल्पनीय खुसीको क्षण थियो । हर्षले मेरा आँसु झर्न खोजे । तर आँखैमा लुकाएँ । ‘उठ् माने, उत्र । हिँड् भित्र जाम् ।’ उसको आवाजले म झसङ्ग भएँ । ओहो ! सबै उत्रिसकेछन् गाडीबाट । म मात्रै होस गुमाएर बसेको रहेछु । राष्ट्रको मन्त्री, मेरो प्रिय बालसखा सङ्ग्राम सिंहले हातै समातेर भित्र लग्यो । म उसको गेटभित्र छिरेँ ।


ओहो ! इन्द्रको दरबारजस्तो उसको सिसमहल । स्वर्गकै बगैंचाजस्तो उसको फूलबारी । मखमली आँगन । इन्द्रलोककी अप्सराजस्ती बीसौं कमकर केटीहरू । हीरा र रत्नजडित आभूषणले सुसज्जित उसको कोठा र बैठक कक्ष । चौरासी व्यञ्जन खानाका परिकार । सयौं गाडी मोटर । मलाई कुनै नयाँ लोकमा पुगेको अनुभूति भइरहेथ्यो । विश्वास गर्न मलाई गाह्रो भइरहको थियो कि आँखाअगाडिको चमत्कार के मेरो बालसखा खड्कुकै हो ? एकपटक म फेरि आफ्नो बाल स्मृतिमा डुबेँ— खड्कु उस जमानामा केटी जिस्काउँदै हिँड्ने आवारा थियो । बीच बाटोमा हगी हिँड्ने बदमास । पानी पर्दा बाटो चिप्लो बनाइदिने बिगारु । सुन्दा पनि मीठा लाग्ने र भोग्दा पनि काउकुती लाग्ने उसका मासुम बदमासीहरू । लाग्यो, ती सब अब छुटेर गए ।


स्मृतिबाट उत्रिँदा आँखाअगाडि मैले देखेँ— इन्द्रकै सिंहासनजस्तो सोफामा ऊ गजक्क बस्यो । अनुहार उसको तमतमाउँदो थियो । राजसी ठाँट र शान । अर्को सोफा देखाएर भन्यो, ‘बस् माने ।’


उद्दाम यौवनाको चौडा अँगालोमा नभरिने फिस्टे पोइझैं म सिकुडिएर टुसुक्क सोफामा बसेँ । मलाई वर्षौंपछि साथी भेटेको जति खुसी थियो, त्यत्तिकै हीनता पनि । हीनता यस कारण थियो कि एकै रथका दुई पाङ्ग्राजस्ता साथीहरूमा एउटा आकाशतिर लम्किएको थियो भने अर्को धर्तीको खोंचमा भासिँदो थियो । मेरै अगाडि राजसी ठाँटमा बसेको व्यक्तिसँग मैले कसरी बोल्ने ? के बोल्ने ? राष्ट्रको मन्त्रीसँग मैले कस्तो भाषामा कुरा गर्ने ? मन्त्रीलाई सम्बोधन गर्ने भाषा के हो ? बोल्न खोज्दा मैले शब्द भेटाइन । भाषा पाइन । कहाँ राजसी ठाँटमा गजक्क बसेको राष्ट्रको रातोपिरो मन्त्री, कहाँ झुस्स दाह्री पालेको, झुत्रे र मरन्च्याँसे म । तँ भनेर लद्रको दरबार जस्तो उसको शिशमहल । स्वर्गकै बगैचाजस्तो उसको फूलबारी । मखमली आागन । बोल्ने साहस थिएन । सरम र हीन भावनाले मलाई धर्तीको खोँचमा कतै बिलाइजाऊँ जस्तो लागिरहेको थियो । आफ्ना निरीह नेत्र टीठलाग्दो गरी उसतिर फर्काएँ । केही बोलूँबोलूँ लाग्यो । तै जे पर्लापर्ला भनेर बोलेँ, ‘मन्त्री सङ्ग्राम सिंहज्यू, हजुर्ले मलाई बिर्सिबक्स्याको रहेनछ । दोस्त भन्याको आखिरमा दोस्त नै हुँदो रहेछ । कहाँबाट जोडिबक्सियो हजुर यत्रो सम्पत्ति ? कसरी सम्भव भयो यो चमत्कार ?’
फेरि तेस्रोपटक फिस्स हाँस्यो ऊ ।


‘मलाई सङ्ग्राम सिंह नभन् माने । सङ्ग्राम सिंह त मर्‍यो । म मन्त्री खडकबहादुर हुँ । मलाई मन्त्री खडकबहादुर भन् ।’ बोल्दाबोल्दै ऊ अलि उपदेशक बन्यो, ‘हेर माने, यो सामन्तहरूले बनाको देश हो । सामन्तहरूले धेरै लुटे । सामन्तले बनाको देश लुट्दा पाप लाग्दैन, बुझिस् कुरा ।’


ओहो ! त्यही एक शब्दले मेरो आङमा चिसो पानी खन्याएझैं भयो । म इन्द्रलोकबाट खस्दै खस्दै नरकमा पछारिएझैं भएँ । सोचेको थिएँ— बन्दुकको नालमा छाती राखेर मेरो साथीले क्रान्ति गर्‍यो । नयाँ युग ल्यायो । मन्त्री भयो । नाम कमायो । देशको सेवा गरिरहेछ । यो जुनीको सार्थकता योभन्दा बढी के होला र ? सोचिल्याउँदा गर्वले छाती चौडा भएको थियो ।


कठै ! मेरो विश्वास धेरै बेर टिकेन । उसको कुराले मलाई बिजुलीभातीमा यसरी पछार्‍यो कि पलभरमै म घाइतेजस्तै भएँ ।
गाला उसका स्याउजस्ता भएका थिए । निधार उसको चौडा भएको थियो । आँखामा धूपछाया चस्मा परेको थियो । कोटमाथि राष्ट्रिय झन्डाअंकित लोगो लागेको थियो । ढाका टोपीमा क्रस खुकुरीमाथि राष्ट्रिय निशान अंकित थियो । मान्छे ऊ सुकिलो भएको थियो । बोल्ने कला उसले भलीभाँती सिकेको थियो । सारा जिन्दगी उसको कायापलट भएको थियो । परन्तु मेरो मनमा एउटा उच्छवास छुट्यो । मनमनै भनेँ, ‘तेरीमाँ टोक्ने खड्कु, सारा चीज परिवर्तन भए पनि मूल चरित्र तेरो उही रहेछ । उहिले भन्थिस्— सामन्तीका काँक्रा चोर्दा पाप लाग्दैन । अहिले भन्दै छस्– सामन्तले बनाको देश लुट्दा पाप लाग्दैन ।’
मैले आफ्नो छोराको रगत सम्झिएँ । उसकी आमाको कोख सम्झिएँ । युद्धावधिमा ध्वस्त भएको मेरो प्यारो खैरीफाँट सम्झिएँ । मेरो दिमागका नसाहरू फुट्लान्जस्तै भए । टाउको मेरो फनफनी घुम्न थाल्यो ।


मेरा नसाहरू तातिए । भनेँ, ‘मेरो छोरो कहाँ छ खड्कु ? मेरी श्रीमती कहाँ छ ? बूढा दले दाइ कहाँ छन् । लाहुरेनी बज्यैको छोरो कहाँ छ ? के तिनका रगतको पनि पाप लाग्दैन तँलाई ?’


ऊ जङ्गियो, ‘यतिका वर्षपछि आज आएर यस्तो पागल कुरा नगर् न माने । तेरा बाउ, आमा, छोरा र श्रीमतीको मैले ठेक्का लिएको हुँ र ? मरेका मान्छे सप्पैको पाप मैलाई लाग्नुपर्ने ? के नचाइने कुरा गर्छस् ।’


धुरुक्क मेरो आँसु खसे । मलाई त्यो वैभवशाली खड्कु निवास नरककुण्डझैं लाग्यो । धेरै बोल्ने मन भएन । बस्ने मन भएन । मनमनै उसलाई सरापें, ‘हे भगवान ! मेरा आँसुको सराप तँलाई लागोस् ।’ उसको मुख नहेरी फटाफट म निस्केँ । सास फेर्न गाह्रो त्यस विशाल वैभवबाट हतारिएर सडकमा निस्कें । खुला सडकमा शान्तिको सास फेरेँ— खुइय... ।


०००
त्यसपछिका दिनहरू प्रायः मैले सडकमै बिताएँ । सत्ताप्रतिको आक्रोशले दिमाग तातो भएर आउँथ्यो । झन् त्यसैमाथि खड्कुको रबैयाले आगो ओकल्न मन लाग्थ्यो । यसै पनि जिन्दगीदेखि विरक्त थिएँ म । कहिले चना चटपट बेचेर त कहिले मम्फली बचेर सडकमा जिन्दगी गुडाउन थालेँ । नयाँ युगका लागि क्रान्ति गरेकाहरूले रगत र बलिदानको मूल्य बिर्सिए । सत्ताको स्वाद चाख्ने खड्कुहरूले त बिर्सिए तर जसका मुटुमा कहिल्यै नटालिने प्वाल परेका थिए, तिनीहरूले कसरी बिर्सनु ? छोरो र श्रीमती मजस्ता गरिबका मारिएका थिए, घरवार मजस्ता निमुखाहरूको उजाड भएको थियो, बिर्सनु कसरी ?


त्यही सम्झनामा छातीमा तुलको ब्यानर टाँसेर मैले मेरो क्रूर युगलाई प्रतिविम्बित गर्न चाहेँ । र, मैले त्यसै गरेँ । आम मान्छेहरूका अगाडि भन्दा मैले सत्ताधारीको आँगनमा आफ्नो छाती उघार्नु थियो । त्यसैले सत्ताको आँगन सिंहदरबारको गेटअगाडि नै तुल बाँधेर मैले आफ्नो छाती चौडा गरिदिएँ ।


पाँच वर्षपछिको एक दिन फेरि त्यस्तै दृश्यले मलाई चकित तुल्यायो । बिनासाइरन चुपचाप एक हूल प्रहरीका गाडी सिंहदरबारको गेटबाटै अघि बढे । अगाडि प्रहरीको गाडी । पछाडि प्रहरीको गाडी र बीचमा पनि प्रहरीकै गाडी । अचम्म के भने प्रहरीहरूका गाडीको बीचमा सानो राष्ट्रिय झन्डा फिरफिराउने गाडी आज थिएन । बरु अर्को आश्चर्यलाग्दो कुरा के थियो भने प्रहरीकै गाडीमा, प्रहरीकै बीचमा एउटा सफेद मान्छे थियो । को रहेछ ? आश्चर्यचकित भएर मैले सूक्ष्म दृष्टि दिएँ । धन्य भगवान ! समयले मलाई कुनै भ्रम दिएन । मेरो अगाडि प्रहरीका बीचमा खड्कु थियो । उही मेरो बालसखा, खड्कु ।


गाला उसका स्याउजस्ता थिए । निधार उसको चौडा थियो । आँखामा धूपछाया चस्मा परेका थिए । टाउकोमा ढाका टोपी थियो । टोपीमा क्रस खुकुरी चिह्नमाथि राष्ट्रिय निशान अंकित थियो । दौरा–सुरुवालमाथि कोट थियो । कोटको बायाँ छातीनेर राष्ट्रिय झन्डाको लोगो थियो । मान्छे ऊ बिलकुल सुकिलो थियो । उसका यी सबै शृङ्गार परिधानमाथि एउटा थप शृङ्गारले ऊ सजिएको थियो । थियो के भने, दुवै हात उसका हतकडीले सुसज्जित थिए ।


मलाई अचम्म लाग्यो राष्ट्रको एउटा मन्त्रीलाई यस्तो भयो कसरी ?


उसले गाडीबाटै कराएर आफैं भन्यो, ‘माने, मैले कुनै भ्रष्टाचार गरेको छैन । बदमासी गरेको छैन । मलाई लगाइएको आरोप सरासर झूटा हो ।’ सायद उसलाई लाग्यो होला, छातीमा तुलको ब्यानर टाँसेर मेरा समर्थक सडकमा आए । हेर्‍यो, हेर्दा देख्यो मलाई । तमासा हेर्नेहरू मेरो वरिपरि थिए । उसलाई फेरि लाग्यो— ती सबै मेरा समर्थक हुन् । त्यसैले भन्यो, ‘माने, म निर्दोष छु । निरपराधी हुँ । कम्तीमा नारा त लगाऊ माने । बोल न, केही त बोल ।’


मेरो दायाँ हात सहजै माथि उठेर हल्लिन थाल्यो, ‘सामन्तीले बनाएका जेलमा बस्दा पाप लाग्दैन खड्कु, अपराधी भइँदैन । जा मजाले बस्, जा ।’

प्रकाशित : आश्विन ११, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?