कथा : भार

सुबिन भट्टराई

एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छु  । भरखर थामिएको वर्षापश्चात् देखिएको स्निग्ध, निरभ्र आकाशमुन्तिर हिलैहिलो बाटो छ  ।

बाटोबाट हिलोका केही छिटाहरूलाई एक जोडी चप्पलको एककोहोरो भट्याकभट्याकले कालो पाइन्टमा निरन्तरसित टिकटिक दाग बनाइदिरहेको छ ।


एकै दिनमा देखिएको दुई भिन्न परिदृश्यको पार्थक्यलाई म मनमा पाइतालासँगै चलाइरहेको छु । गाउँ गोठमा बाँधिएको भैँसीजस्तै लाचार देखेर आएको म सहर उन्मुक्त घोडाजस्तो गतिवान्, बेगवान् देख्न थाल्छु । बिरानो गाउँलाई केही समयका लागि विस्मृतिको शून्यमा लोप गराउँदै सहरमा सुखको सिरानीमा शिर अड्याएर केही सपना सँगाल्न चाहन्छु ।


एउटा झोला मेरो ढाडमा बुई चढेको छ । झोलामा केही थान कपडा, एक थान ब्रस, एक थान टुथपेस्ट र एउटा पुस्तक छ । झोलाभन्दा त आँखा धेरै भरिएको छ, असीम सपनाले । उमेरसित छ असीमित ऊर्जा । इच्छामा घुलेको छ यही उन्मुक्त घोडाझैँ रफ्तार ।


यही सब लिएर म एक आफन्तकहाँ जान्छु । यो एउटा निमन्त्रण थियो । लामै समय अघि मद्वारा गरिएको एक याचनाको प्रतिफल । सहरमा सहरसित सहरकै भएर बस्ने एउटा पुरानो रहर ।


मेरो आगमन र भ्रमणको उद्देश्य सुनेपश्चात् उनी एउटा मध्यमस्तरको उत्साह देखाउँछन् । उनको मध्यमस्तरको उत्साहलाई निम्नस्तरको मेरो दिमागले उच्चस्तरको अनुकम्पा सम्झन्छ र हरक्षण हरशब्द, वाक्य, वाक्यांश, हरहाँसो, प्रतिक्रिया, भावभङ्गी, श्वासप्रश्वास, हरउठाइ बसाइमा कृतकृत्य हुँदै, आफूलाई अझ बढी लाचार ठान्दै उनलाई अझ होनहार ठानिदिन्छ ।


किनकि म सचेत छु कि स्वाभिमानले सपनालाई आँखासम्म पनि नतरोस् ।


केही दिनका लागि म शरणार्थी । दुई छाक खाना र दुई कप चिया अनि एक मीठो निद्रा यहाँ निःशुल्क उपलब्ध छन् । गाउँबाट रहरका घडा टिलपिल भरेर आएको म निद्रा मात्रैलाई अञ्जुलीभरि उठाउन सक्तिनँ ।


‘लौ हिँड अब मसित,’ आफन्त अर्को दिन मलाई भन्छन्, ‘तिमीलाई बाटो देखाउँछु ।’


आखिर सपनाको गाउँसम्म पुग्नलाई पनि त निद्राको बाटो हिँड्नैपर्छ, सफलताको गाउँ पुग्नलाई संघर्षको बाटो हिँडेजस्तै । प्राप्तिको गाउँ पुग्नलाई प्रयासको बाटो नापेजस्तै ।


म निस्किएँ लुरुलुरु, उनको पछि, चप्पल फट्याकफट्याक गर्दै, उनले छाडेको पदछापमा आफ्नो पाइतालाको डोब मिलाउँदै । उनी चार कदम अघि छन् । म कुदेर पनि उनलाई भेट्न सक्तिनँ । समानान्तर हिँड्नलाई नाता, सम्बन्ध, जरा, विगत, आगत (जो अनिश्चित छ) ले आपत्ति नजनाए पनि वर्तमान र त्यसभित्रको यथार्थले अनुमति दिँदैन ।


आज हिलो सुकेर धूलो भइसकेको छ । पाइन्टमा टिकटिक दागहरू बस्न पाउँदैनन् ।


सहर मलाई हरहर बास्ना आउँछ । यहाँको व्यस्तता, कोलाहल, कम्पन, विविधता, भीड नजाने किन मेरा अभीप्सालाई एक फड्को माथि उचाल्दिन्छन् । मेरो दृढतालाई कसिलो बाँधिदिन्छन् । यहाँ अल्मलिने तत्त्वहरू धेरै छन् । सहरको छोटो बसाइ र गाउँको लामो बसाइबीचमा मैले आफू सधैँ सहरतिरै सम्मोहित भएको पाएको छु । गाउँमा मेरा लागि केही छैन । एउटा झिँझोलाग्दो फुर्सद, पट्यारलाग्दो दिनचर्या र सन्नाटामा विलय हुँदै गइरहेको ढुकढुकीबाहेक ।


त्यसै दिन मैले जागिर पाएँ । उनले लगिदिएको परिचितले उनकै भनाइ राख्दै मप्रति विश्वस्त र आश्वस्त भएको जिकिर गरे ।
यो सहरले गरेको पहिलो स्वागतका लागि म सहरसित कृतज्ञ रहेँ । सहरलाई मैले उहिल्यै आँखाभरि टिपेर मनमा सजाइसकेको थिएँ । सहरले मलाई यतिखेर अपनायो ।


‘डेरा नपाउन्जेल मकहीँ बस्नू । मैले दुई तीन ठाउँमा कुरा गर्द्या छु,’ बेलुकी उनले मलाई भने । बडो विनीत र धन्य भावले मैले उनको निर्णयलाई शिरोधार्य गरेँ । एउटा पराश्रित आगन्तुक, जो उनकै गुनको भारीले साससमेत अड्काएर, आँखासमेत उचाल्न नसकेर, वाक्यसमेत नफुटेर थचक्क थिचिएको छ, उसले नतमस्तक हुनुभन्दा बढ्ता के जानोस् ?


सम्भवतः उनले मभित्र लुकेर, नदेखिएका, अल्झिएका भावहरू पढ्न नसकेर भने, ‘चित्त बुझेन ? बोल्दैनौ त ?’


अघिपछिको डोरीजस्तो मेरो बोली यति बेला धागोजस्तै पातलिन्छ । म भन्छु, ‘होइन बुझेको छ ।’ यसो भनिरहँदा मेरो अनुहारमा स्वाभाविक ढंगका साथ आउनुपर्ने हाँसो स्थितिको भारले सिर्जित पासोमा अड्किन्छ ।


दुई चार, पाँच, दस गर्दै करिब पन्ध्र दिनपछि एउटा कोठाको टुङ्गो लाग्छ । खाटदेखि डस्ना, सिरकदेखि, तकिया, भाँडाकुँडा सबै उनले व्यवस्था गर्दिन्छन् र भन्छन्, ‘अरू केही चाहिए भन्नू ।’


यत्रो दिइसकेपछि म अरू के मागौँ ? हुन त माग्दै माग्दै उनीसम्म पुगेको थिएँ । तर अब कति मागूँ योभन्दा ? उनले दिएका हरएक चीजले थिचिएको छु । अझै कति थिचिऊँ ?


उनलाई कहिलेकाहीं मेरो कोठामा आउन मन लाग्छ । मलाई बडो अप्ठ्यारो लाग्छ । उनको स्वागत पनि ठीकसित गर्न नसक्ने हुँ कि भन्ने लाग्छ ।


मेरो कोठामा आएको परिवर्तन देखेर मलाई सोध्छन्, ‘ए सिलिन्डर पनि जोडेछौ त ।’


म मुस्कुराउँदै कपाल कन्याउँछु र एक कप चिया बनाएर ख्वाउँछु । उनलाई पिलाएको त्यो एक कप तातो चियाले मलाई शीतल बनाउँछ ।


अर्कोचोटि आउँछन् । कोठामा आँखा डुलाएर हेर्छन् र भन्छन्, ‘ए, सोफा पनि हालेछौ ।’


म जवाफ दिन्छु, ‘मान्छे आउँदा बस्नै ठाँवै भएन ।’


अनि नास्ता, चिया बनाएर ख्वाउँछु । अलिकति तृप्ति मिल्छ ।


महिनौंपछि उनी आउँछन् आफ्नी श्रीमतीसाथ । खाना खान मैले नै निम्तो गरेको । डेरा फेरेँ योपटक । दुईवटा कोठा र भान्सा । एउटा आफ्नै बेडरुम, अर्को बैठककोठा ।


उनीहरूलाई बैठककोठामा बसाउँछु । भित्तामा एलईडीको सेट छ ।


‘तिमीले प्रगति गरेको देखेर खुसी लाग्छ,’ उनी भन्छन् । म खुसी हुँदै भन्छु, ‘हजुर । भरखर त बामे सर्दै छु ।’


कहिले उनी मलाई आफ्नो अफिस बोलाउँछन् र कुनै क्याफेतिर लैजान्छन् । अनि सुनाउँछन् आफ्नो घर व्यवहार आदिका कुराहरू । छोराको अटेरीपना, छोरीको जिद्दीपना, श्रीमतीको अल्छीपना । म सुनिदिन्छु, हरएक कुरा रोचक कहानीझैँ । उनीसितको संगत भएदेखि म सुन्नमा पारंगत भएको छु ।


कहिलेकाहीँ म उनको घरै जान्छु । अस्तिको शनिबार जाँदा उनी बरन्डामा बसेर कञ्चटका सेता केशहरू बडो ध्यान दिएर उखेलिरहेका थिए ।


मलाई देख्नेबित्तिकै उनले आफ्नो कामलाई बन्द गरे र भित्रपट्टि लगेर बसाए ।


‘के छ गाउँतिरको खबर ?’ सोधे ।


‘अब घडेरी किन्नुपर्‍यो एउटा,’ मैले गाउँतिरको खबर बताइसकेपछि उनले यो प्रस्ताव राखे ।


‘मैले किनेकोतिर किन्ने हो भने खोजिदिन्छु । अलिक महँगोचाहिँ छ ।’ मैले ‘खोजिदिनुस् न’ भनेपछि उनले यसो भने ।


अनि बिदावारी भइवरी निस्कने बेला उनैले अर्को प्रस्ताव राखे, ‘अर्को शनिबार के छ ? ट्राउट खान जाने हो ककनी ?’


मैले आफूलाई फुर्सद भएको बताउँदै उनको प्रस्तावमाथि विमतिको लेशमात्र प्रभाव पर्न नदिईकन स्विकारिदिएँ । उनको साथ पहिलेजस्तो भारी लाग्न छाडिसकेको थियो । उनको अघिल्तिर पर्दा थिचिएजस्तो महसुस हुन छाडिसकेको थियो । सम्बन्धको अनुहार फेरिइसकेको थियो । उनले मलाई बाँधेका गुन र सहायताका धागाहरू बिस्तारै मक्किँदै गइरहेका थिए र अर्को धागोले हामी बाँधिँदो थियौँ । आत्मीयता, समवयी र मैत्रिक भावसहितको धागोले । नभए उही पुरानै भावसहित यो सम्बन्धलाई बोकेर हिँडाऊँ या हुर्काऊँ, यात्रा निकै कष्टकर हुँदो हो । उनी के सोच्थे म जान्दिनँ । तर कमसेकम म उनको सोचाइबाट केही सोच्न सक्थेँ । यही कि उनी आफैँले जुन व्यवहार र अनुकम्पाले मलाई बाँधेका थिए, त्यसबाट बिस्तारै मुक्त हुन चाहन्छन् र मुक्त गराउन चाहन्छन् मलाई । नभए सम्बन्धका अरू आयामहरू खोज्दै उनी मसित किन नजिकिन खोज्थे ?


जिन्दगीको किताबमा सबै पन्नाहरू उस्तै रुचिकर हुँदैनन् । र सबै पन्ना पट्याइलाग्दा पनि हुँदैनन् । उनले सम्भवतः ममाथि एउटा रुचिकर अध्याय फेला पारे । एउटा पठनीय र स्मृतियोग्य दर्शन फेला पारे ।


शनिबारको ककनी भ्रमणले सम्बन्धमा केही रङहरू थपिन्छन् । त्यो पुरानो धागो झनै मक्किन्छ । करीब–करीब चुँडिने अवस्थामा पुग्छ । आत्मीयताको एउटा रेखा कोरिन्छ । सामीप्यको सिमाना फेरिन्छ ।


कमसेकम म यो ठान्छु ।


‘लौ कहाँ हो तिमी, तुरुन्त आउनुपर्‍यो,’ एकबिहानै फोनमा उनको बोली सुनिसकेपछि म नुहाइधुवाइ पनि नगरी हस्याङफस्याङ गर्दै उनकहाँ गएँ । केही अनिष्ट र भवितव्यको दुःखद परिकल्पनाले आफलिँदै ।


तर उनको घर पुगिसकेपछि उनले भने, ‘आज तिमी र म जग्गा हेर्न जाने ।’


उनको आग्रहलाई टाल्ने कुरो थिएन । गएँ । करिब पैँतालीस मिनेट मोटरसाइकल यात्रा गरिसकेपश्चात् पुगिएको ठाउँमा उनले जग्गा देखाए । जग्गा राम्रो भए तापनि त्यसलाई पर्ने मूल्यका लागि म तयार थिइनँ । तर यो कुरा स्पष्ट पनि भन्न सकिनँ । भनौँ, थिचिनु के हो भन्ने कुराले गर्ने अप्ठ्यारा यी र यस्तै परिस्थितिहरूमा स्पष्ट हुन्थ्यो ।


उनले मेरो दोधारे र अस्पष्ट कुराहरूको अनुमान सम्भवतः गर्न सके होलान्, किनकि लगत्तै उनले यो पनि भने कि बैना दिएर केही महिनाका लागि कागज गर्न सकिन्छ । नपुगेका खण्डमा आफैँले हाल्दिनेसम्मका कुरा पनि गरे । मलाई मान्न कर लाग्यो ।


‘कोही प्रेमिका छ ?’ अर्कोपटकको भेटमा उनले सोधेका थिए । मैले भएर पनि ‘छैन,’ भनेँ । एक दुई चरण आँखा जुधेपछि मेरो सपनामा आफ्नो पनि सपना मिसाउन कोही भरखर आएकी थिई । अरूलाई बताइहाल्ने स्थितिमा सम्बन्ध पुगेको थिएन । त्यसमाथि उनको प्रश्न ‘कोही प्रेमिका छ ?’ को महत्त्व कुन हदसम्म थियो बुझ्न सक्ने सामर्थ्य मेरो थिएन ।


‘लौ ठीक छ उसोभा,’ उनले भने, ‘मेरी साली छ । जोडा मिल्छ । कुरा चलाऊँ ?’


यो अर्थमा रहेछ । यस अर्थमा हुँदो हो त नभए पनि छ भन्दो हुँ । तर सकिनँ ।


जवाफमा भनेँ, ‘कुनै दिन ।’


उनी मेरो जवाफको ‘कुनै दिन’ लाई पटक–पटक हेर्न, खोज्न चाहिरहेँ । लामो समयसम्म कुरे । तर म उनीसितको भेटदेखि तर्किरहेँ ।
फोन आइरहन्थ्यो । कहिले भन्थेँ, ‘आज म सहरभन्दा पर छु ।’


कहिले भन्थेँ, ‘आज अलिक सञ्च छैन ।’


‘एक दुई दिनमा भेट्छु ।’


‘आज गाउँबाट पाहुना आएका छन् ।’


कहिले फोनै उठाउन्न थिएँ । हुँदाहुँदा अन्तिममा मोबाइलको सिमकार्ड नै फालिदिएँ । जग्गाको बैनाका लागि दिएको रु. दस हजार पनि माया मारिदिएँ । र डेरा सरेँ ।

गाउँबाट एक थान सपना बसको बुई चढेर फेरि सहर ओर्लिन्छ । पाइताला कतै, कुनै आफन्तकातिर सोझिन्छ । र, योपटक त्यो आफन्त म हुन पुग्छु ।


यो पनि प्रगतिकै संकेत हुँदो हो । कसैले सहयोग माग्ने कोटीको हुनु सानो कुरा हो र ?


ढकढकिएको ढोका उघार्न जाँदा म मेरो पुरानो साथी (उमेरले चाहिँ भाइ) फेला पार्छु । उसको उपस्थितिसितै उपस्थित हुन आइपुग्छन्, ऊसित बितेका मेरा ग्राम साहचर्य र सामीप्यका आभासहरू । फाउन्टेन पेन झट्कार्दा एक धर्सो मसी पोखिएजस्तै पोखिन्छन् मस्तिष्तकमा बाल स्मृतिका केही रहलपहल अवशेषहरू ।


एउटा निरीह मुस्कानका साथ ऊ भित्र पस्छ । ऊ पनि उही गाउँको रफ्तारसित आफ्नो रफ्तार मिलाउन नसकेको आरोप गाउँलाई लगाएर आएको छ । केही आश्रय, केही बाटो, केही दिग्दर्शनको अपेक्षासहित ।


ऊ किञ्चित आश्वासित हुन्छ । कमसेकम म यो महसुस गर्छु । झोला बिसाए पनि आँखाबाट संकोच बिसाउन सकेको छैन । उकाल्न सकेको छैन हृदयमा निर्धक्क हुनुको भाव । आस गरे पनि थोरै ढुक्कले फेर्न सकेको छैन सास । यद्यपि मबाट अतिथि परायण भाव स्वतःस्फूर्त रूपमा अविच्छिन्न निःसृत भइरहेको छ ।


मलाई ऐना हेरेजस्तै अनुभूति भइरहेछ । ऊ आयो, तर आफैँलाई भन्दा पनि मलाई बढी लिएर आयो । म, जो आउँदा आउँदै कतै छुटेको थिएँ । म, जो आउँदाआउँदै, थोरै आइपुगेको थिएँ ।


मैलो कमिज, जिङ्रिंग कपाल, क्रिजको मुखै नदेखेको पाइन्ट । अनि ऊ आफ्नो गन्धमा सिँगो गाउँ बोकेर आएको छ ।


बडो अप्ठ्यारोसित बस्छ मानौं ऊ ठान्छ बस्दा कुर्सीलाई पनि दुख्छ । बडो जतन गरेर हिँड्छ, मानौँ ऊ हिँड्दा भुइँको छाती छियाछिया हुन्छ । बडो सुस्तरी बोल्छ, मानौँ ऊ बोल्दा हावालाई धक्का पुग्छ ।


‘एकदुई दिन पर्ख है,’ उसको व्यक्तित्वमा लागेको संकोचको कुहिरो फाटोस् भन्ने अभिप्रायले म झलमल्ल उज्यालिँदै बोल्छु, ‘म केही उपाय गर्छु ।’


कुहिरो फाट्दैन ।


उपायहरूको खोजी म गर्छु । फेला पर्छ कुनै कुनोबाट उपायको एक धर्को प्रकाश चियाइरहेको । म पछ्याउँछु त्यसलाई । त्यो सजिलै वशीभूत हुन्छ । सहर बसेर यति शक्ति मैले पनि सञ्चय गर्न सकेको रैछु । आत्मश्लाघाले गद्गद् भएँ ।


ऊ आएदेखि मैले छर्न खोजेको उज्यालो बल्ल उसको मुहारमा टल्कियो ।


मैले भनेँ, ‘मसँगै बस्दा हुन्छ ।’


उसले भन्यो, ‘होइन, कति दुःख दिऊँ ।’


काम पाइसकेपछि ऊ गयो । दोस्रोपटक भनिनँ । ऊ जाँदै गर्दा मैले देखेँ, ऊसँगसँगै मसित साक्षात्कार भइरहेको, उठबस गरिरहने, झस्काइरहने, केही सम्झाइरहने मेरै केही अंश पनि लिएर गयो । ऊ गएदेखि मैले मेरो आफ्नो त्यो अनुहारलाई खोज्न छाडिदिएँ । उसको नयाँ डेरालाई तुरुन्त चाहिने आवश्यक चीजहरू मैले उपलब्ध गराएँ । ऊ ‘भइगो, पर्दैन, के को दुःख’ जस्ता औपचारिकता निर्वाह गरिरहेको थियो । मैले ‘यसमा के को दुःख र ?’ भन्दै व्यावहारिकताको दियो बालिरहेको थिएँ ।


भेटहरू भइरहन्छन् । ऊ आउँछ भेट्न कहिलेकाहीं । म पनि जान्छु, उसले बसाएको ठाउँ हेर्न । उसको सत्कार, आदर, आतिथ्य अनि धन्य हुनुको भावले ऊ मसित प्रस्तुत भइरहन्छ । लाग्छ यो सहरमा ऊसका लागि मभन्दा महत्त्वपूर्ण अर्थोक केही छैन, कोही छैन ।
कोठामा दूध सकिएको छ भने हस्याङफस्याङ गर्दै दौडिन्छ । यो किसिमको आदरले मलाई पनि उसले गलाएको छ ।


‘कहाँ छौ, आज आऊ न यहाँ ।’ कहिलेकाहीं फोन गरेर कोठामै बोलाउँछु उसलाई । ऊ एक घण्टामै आइपुग्छ । अनि म बोतल उघार्छु । तर ऊ उस्तो उघ्रिन सकेको छैन ।


मैले भनेँ भने रातै मकहाँ बिताउँछ ।


एक दिन उसले पनि मलाई बोलायो । पिउने उद्देश्यले । पच्चीस थोक सितनका साथ । उसको आतिथ्य देखेर म त्रसित भएको थिएँ । मलाई रक्सी चढ्थ्यो । ऊ मलाई चढाउँथ्यो । म कति महान् छु ! उसको मुखबाट सुनिसकेपछि गद्गद् हुन्छु । आफ्नो महानता मातेको शरीरसँगै घरमा ल्याउँछु र झन् पुल्पुल्याउँछु ।


मलाई ऊसित भेटिरहन मन पर्छ । नभए यहाँ, यो स्वार्थी सहरमा मलाई महान् कसले भन्छ ? आफ्नो महानताको गुणगान सुन्न पाउँदा निद्रा मीठो लाग्छ । आफ्नो औचित्यको अन्तःदर्शन हुन्छ । एक दिनको प्रशंसाले दस दिन दौडाउँछ । अनि फेरि रित्तिन्छु ।


एकपटक दसैँमा गाउँ जाँदा सँगसँगै गयौँ । ऊ मेरो गाउँको घरमा पनि आइरहन्थ्यो । ऊ गाउँमा समेत मसित गाउँकै पुरानो रूपमा फर्केर भेट्न सकेन । बरु हाम्रा साझा मित्रहरू भेट हुँदा अरूहरूबीच पुरानैजस्तो सम्बन्ध ब्युँझियो । तर ऊसितको पुरानो सम्बन्ध मरिसकेको थियो । उसले ती पुराना साथीहरूमाझ मेरो महानताको गुणगान गाइरह्यो ।


हाम्रो सम्बन्ध पनि सहरजस्तै भएको देखेर पुराना साथीहरू जिल्लिए ।


एकपटक नमज्जाले बिरामी परेँ । ज्वरो घट्नै मानेन । एन्टिबायोटिक्सको डोजले पनि छोएन । डाक्टरले अस्पताल भर्ना भएर सलाइनबाट एन्टिबायोटिक्स चढाउने बताए । मैले बिरामी कुरुवाको रूपमा उसैलाई रोजेँ । ऊ मैले इच्छाएबमोजिम अस्पतालमा अफिस बिदा लिएरै मलाई रुँगेर बस्यो ।


‘मैले दुःख दिएँ है ?’ योपटक मैले औपचारिकता निर्वाह गरेँ ।


‘केको दुःख र, यति जाबोलाई,’ ऊसले व्यावहारिकताको दियो बाल्यो । अनि एकपटक फेरि मेरो महानताको गुणगान गायो । मैले उसलाई गरेको सहयोग उल्लेख गर्न बिर्सेन । म अस्पतालको शय्यामा समेत मखलेल भइरहेँ ।


बाटोमा हिँड्दाहिँड्दै ऊसित जम्काभेट हुन्छ । ऊ एउटी केटीसित हुन्छ । छिनमै उसको अनुहारको रोगनले कोल्टे फेर्छ । उन्मुक्त हाँसो, किञ्चित लाज र निर्धक्कसित हिँडिरहेको ऊ मलाई देख्नासाथ सतर्क हुँदै बडो अदब राख्दै सम्हालिन्छ र ती युवतीलाई मेरो परिचय गराइदिन्छ ‘म कुरा गरिराख्थेँ नि, उहाँ नै हो... ।’


युवतीले नमस्ते गरिन् । नजिकै कुनै क्याफेमा तीनै जना गयौँ । मेरै आग्रह थियो ।


यहाँ पनि ऊ सुरु भइहाल्यो । कोही अञ्जान र सुन्दर युवतीका अगाडिसमेत यसरी प्रशंसित हुन पाउँदा मलाई कफीभन्दा पनि प्रशंसा रुचिकर लागिरह्यो । सधैँ दुई जनामा मात्र सीमित प्रशंसाले योपटक अलिक फैलिन पाएको थियो । युवतीले हतार देखाएर मात्रै, नभए अर्को चरणको कफी मगाउन खोज्दै थिएँ म ।


भेटहरू भइरहे । ऊसितको संगतमा म बोल्नमा पारंगत भएको छु । हर एक सानासाना समस्या, प्रगति, उपलब्धि, हैरानी सब ऊ बडो रोचक मानेर सुनिदिन्छ । त्यसैले मलाई उत्प्रेरणा दिन्छ, सुनाइरहने ।


सहरमा अनेकथरीका सम्बन्ध हुन्छन् । कहिल्यै नजोडिने । चाँडै जोडिने । जोडिँदै, तोडिँदै गर्ने । एकचोटि तोडिएपछि कहिल्यै नजोडिने । एक दिन राम्रैसित जोडिएको भन्ठानेको सम्बन्ध नमज्जाले तोडियो । सम्बन्ध प्रेमिकासितको । जो चौथो कोटीको सम्बन्ध थियो ।


त्यस दिन रक्सी मात्रको साथ पर्याप्त हुँदैन भन्नेमा म ढुक्क थिएँ । उसलाई घरमै बोलाउने योजना बनाएँ । रक्सीको रमरम, उसका अघिल्तिर प्रेमिकाको धोकेबाज चरित्रको बयान, अनि ऊबाट सधैँ खाईपाई आएको प्रशंसा र महानताका वाणीहरू । यो हालतमा सबै थोक मिसिएमा पक्कै मल्हमको काम गर्नेछ । यत्तिले रात घटिया नबित्ला । औसतभन्दा अलिकति कम बिते पनि चल्नेवाला थियो ।


ऊ आफू उपलब्ध हुन नसक्ने बताएर फोन राख्यो । प्रेमिकाले मुटुमा बनाइदिएको सुरुङ ऊसको इन्कारले अझै गहिरियो । कतै टाल्न चाहन्थेँ यो ।


एक्लै पिएर सुतेँ ।


भोलिपल्ट उसलाई फोन गरेँ । किनकि पीडा भोलिपल्ट के महिनौंलाई दिएर गएकी थिई । मेरो पौरुष अहम्लाई क्षत–विक्षत तुल्याएर गएकी थिई ।


भोलिपल्ट पनि ऊ उपलब्ध हुन सकेन । विकल्पहरू नभएका होइनन् । अफिसका साथीहरू थिए । तर अफिसकै सहकर्मीसित परेको गुपचुप प्रेम उनीहरूका सामु ओकल्ने कुरा थिएन । यता केही दिनदेखि उसको फोन अफ थियो ।


एक दिन उसकै डेरामा गएँ । ऊ डेरा सरिसकेको रैछ । फोन गरेँ, अफ नै थियो । यताउता सम्पर्क सूत्र फेला पारेर खोजेँ पनि । अफिसै फेरिसकेको थियो । अब उसलाई खोज्नुको कुनै तुक थिएन । किनकि ऊ हराएको थिएन, भागेको थियो ।


स्मृतिको यानमा चढेर आफ्नो विगतमा गएँ । घटनाहरूको तादात्म्यता मिलाउन खोज्दा, मेरो चेतनाको पातलो पर्दा हलुकोसित फरफरायो । एउटा सम्बन्ध जसको बोझ थाम्न नसकेर मैले जे गरेको थिएँ, उसले पनि ऐजन गरेको देखियो । नदेखे पनि, देखासिकीझैँ देखिने गरी ।


महान् हुनुको सुन्दरता पनि एउटा उचाइसम्म मात्र सुहाउँदोरैछ । त्यो धेरै उच्च भयो भने, लत्रिन्छ, भाँचिन्छ । चाहिनेभन्दा बढी भयो भने खुकुलो र असुहाउँदिलो लुगा लगाएजस्तो अस्वाभाविक देखिन्छ । अत्यधिक आभूषणले असहुउँदिलो र भद्दा देखिएझैँ देखिने रैछ ।
कसैको पनि धेरै गुनले पोल्छ । विवश तुल्याउँछ । पिँजडाको सुगा बनाउँछ । यो निरंकुश शासकझैँ हुन्छ, जसका अगाडि पर्दा मात्र पनि हामी फत्रक्क हुन्छौँ । म उनको गुनको भार थेग्नै नसकेर, त्यसको रिन तिर्नै नसकेर उनीबाट उम्केको थिएँ । आज ऊ मेरो गुनको भार थेग्न नसकेर, तिर्न नसकेर (नचाहेर हो कि !) मबाट भागेको थियो ।


थाहा छ दुःखी हुनुको कुनै अर्थ छैन तर जीवन यस्तै अर्थहीन कुराहरूको उल्झनमै बढी अल्झिन्छ।

प्रकाशित : आश्विन ११, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कथा : छापामारको छोरो–२

महेशविक्रम शाह

भुइँमा खुट्टा बजारेर सलाम ठोक्दै मेरो बडिगार्डले भन्यो, ‘सर छापामारको छोरो भन्ने हजुरलाई भेट्न चाहन्छ  । ’‘हँ... को रे ?’ कता कता सुनेझैं, महसुस गरिरहेझैं लाग्यो मलाई यो नाम  ।

‘छापामारको छोरो सर ।’ मेरो बडिगार्डले नाम दोहो‌र्‍यायो ।


‘छापामारको छोरो !!’ मेरो स्वरमा किञ्चित आश्चर्य थियो ।


‘हो सर ! छापामारको छोरो ।’ आफ्नो बोलीमा मेरो गार्ड आश्वस्त देखिन्थ्यो ।


‘कहाँ छ त्यो ?’ मैले गार्डको अनुहारमा हेर्दै भने ।


‘जिल्ला प्रहरी कार्यालयको हिरासतमा छ सर ।’ छाती तनक्क तन्काउँदै गार्डले फेरि सलाम ठोक्दै भन्यो । ऊ आफ्नो अनुहारमा आत्मविश्वासको भाव ल्याउने प्रयास गरिरहेको थियो ।


’प्रहरीको हिरासतमा छ ऊ ?’ मैले अचम्म मान्दै गार्डको अनुहारमा हेरें ।


‘हजुर सर । उसलाई प्रहरीले पक्रेर ल्याएको तीन दिन भयो । ऊ विप्लव माओवादी हो सर । तर खोइ किन हो आफूलाई छापामारको छोरो भन्दोरैछ हजुर ।’


आफ्नो अनुहार खुम्च्याउँदै मेरो गार्ड बोल्यो ।


उसको अनुहारको भावले बताउँथ्यो उसलाई यसभन्दा बढी केही थाहा छैन । तर मैले सोध्न सक्ने सम्भावित प्रश्नको अनुमान गरेर ऊ तनावग्रस्त बनिरहेको थियो ।


छापामारको छोरो नामले मेरो दिमागमा हलचल मच्चाइसकेको थियो । को होला त्यो ? मेरो मस्तिष्कमा अनेक विचार आइरहेका थिए । मैले जीवनमा पहिलोपटक छापामारको छोरोलाई अठाह्र वर्षअघि रोल्पामा भेटेको थिएँ । त्यस बेला म जिल्ला प्रहरी कार्यालय, रोल्पाको प्रमुख थिएँ ।

माओवादीहरूको सन्देशबाहकका रूपमा काम गरेको अभियोगमा छापामारकी स्वास्नीलाई प्रहरीले समातेको थियो । साथमा छोरो पनि भएकाले उसलाई पनि प्रहरीले आमासँगै ल्याएर हिरासतमा राखेको थियो । विद्रोही माओवादी छापामारको छोरो भएकाले उसलाई प्रहरीहरू छापामारको छोरो भनेर बोलाउने गर्थे । फुच्चे छापामारको छोरो बालक भए पनि निडर र निर्भीक थियो ।

ऊ निसंकोच प्रहरीहरूको जमात अगाडि छापामार युद्धकलाका करतबहरू प्रदर्शित गरिरहेको थियो । उसको यस कलाकारिताले प्रहरी कार्यालयमा हलचल मच्चाएको थियो । हामीले केही दिनपछि कानुनी प्रक्रिया पूरा गरेर मानवीयताको आधारमा आमा–छोरा दुवै जनालाई हिरासतमुक्त गरी घर फर्काइदिएका थियौं । घर फिर्ता पठाएको दोस्रो दिन नै छापामार आएर आफ्नी स्वास्नी र छोरोलाई जंगलमा लिएर गएको खबर हामीछेउ आइपुगेको थियो ।


मैले स्मृतिको पर्दा उघारेर अतीतमा चियाएँ । द्वन्द्वकालीन दिनको सम्झनाले मलाई भावुक बनाएको थियो ।


‘त्यो फुच्चे छापामारको छोरो अहिले कहाँ होला ? उसको बाबु र आमा के गर्दै होलान् ? सशस्त्र द्वन्द्वको चपेटामा परेर जीवन गुमाएका रहेनछन् भने सायद जीवितै होलान् । दसवर्षे माओवादी सशस्त्र द्वन्द्वको समाप्तिपश्चात् देशमा शान्ति बहाल भयो ।नागरिकले नयाँ संविधान पाए । देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लागू भयो । सायद उसका बाबुआमाले पनि माओवादी जनयुद्धमा गरेको योगदानस्वरूप पक्कै उपल्लो पद र पहुँच भेट्टाए होलान् । छापामारको छोरोको बाबु केन्द्र अथवा प्रदेश सरकारको मन्त्री नै पो बनिसक्यो कि ! छापामारको त्यो फुच्चे छोरो पनि पच्चीस छब्बीस वर्षको लक्का जवान भइसक्यो होला । ऊ पनि आफ्नो बाबुको पीएसीए बनेर जनयुद्धको बेला देखेका सपनाहरू साकार पारिरहेको पो छ कि !' मेरो दिमागमा यिनै कुराहरू खेलिरहे । मेरो मन छापामारको छोरोको स्मृतिमा द्रवित बनिरहेको थियो ।


‘सर म के खबर पठाऊँ ? त्यो छापामारको छोरोलाई यहाँ लिएर आइज भनौं हजुर ?’ मेरो गार्ड मेरा सम्मुख हलचल नगरी उभिइरहेको थियो ।


‘म उसलाई भेट्न आफैं त्यहाँ जान्छु । यही खबर पठाइदेऊ,’ मैले गार्डलाई आदेश दिएँ ।


ऊ मेरा सामुन्ने खडा थियो । फरक यत्ति थियो ऊ हिरासत कक्षको बारभित्र थियो । म बाहिर ।


पच्चीस–छब्बीस वर्षको हट्टाकट्टा युवा थियो ऊ । दारी–जुँगाले छोपिएको अनुहार । लापरबाह तरिकाले छोडेको नमिलेको कपाल । मलाई देख्नेबित्तिकै ऊ भुइँबाट जुरुक्क उठेको थियो । मुस्कुराउँदै उसले दुई हात जोड्दै भन्यो, ‘नमस्कार सर ।’


‘नमस्ते ।’ मैले उसको शिरदेखि पैतालासम्म सर्सर्ती हेर्दै भनें । म उसलाई चिन्ने प्रयास गरिरहेको थिंए । तर ऊ मेरालागि अपरिचित व्यक्ति थियो ।


‘सर चिन्नुभएन मलाई ?’ ऊ मलाई हेर्दै मुस्कुराइरहेको थियो ।


‘अहँ ...!’ मैले सम्झेसम्म उसलाई न त कहिले देखेको थिएँ न त हाम्रो कहिले भेट नै भएको थियो ।


‘सर अठाह्र वर्षपहिले तपाईं जिल्ला प्रहरी कार्यालय, रोल्पाको इन्चार्ज हुनुहुन्थ्यो । त्यस बेला मेरी आमा र म तपाईंको हिरासतमा थियौं । तपाईं मलाई ए छापामारको छोरो भनेर बोलाउनुहुन्थ्यो । मैले तपाईंको अगाडि छापामार युद्धका करतबहरू देखाएको थिएँ ।

पछि तपाईंको छोरोसँग पनि मेरो दोस्ती भयो । जीवनमा पहिलोपल्ट मैले तपाईंको छोराको साइकल चढेको हुँ सर । म तपाईंहरूको दुश्मन छापामारको छोरो भए पनि तपाईंले मलाई घृणा होइन माया गर्नुभयो । मैले तपाईंको त्यो मायालाई कहिले भुल्न सकिनँ सर ।’ बोल्दाबोल्दै रोकियो ऊ । उसका आँखाहरू रसाउन थालेका थिए । आफ्नो भावुकतामाथि नियन्त्रण राख्ने प्रयास गर्दै ऊ बोल्यो—
‘अब त मलाई चिन्नुभयो होला नि सर ?’


‘मैले तिमीलाई चिनें बाबु । तिमी त्यही छापामारको छोरो हौ जसलाई मैले रोल्पाको प्रहरी हिरासत कक्षमा भेटेको थिएँ । त्यस बेला तिमी सानो फुच्चे बालक थियौ । तर तिमीलाई आज यो अवस्थामा देख्दा मलाई दुःख लाग्यो । आऊ भित्र बसेर कुरा गरौं ।’


‘उसलाई कार्यालयमा लिएर आऊ ।’ मैले हिरासत कक्ष व्यवस्थापन प्रहरी अधिकृतलाई आदेश दिएँ ।


म कार्यालयको कुर्सीमा बसिरहेको थिएँ । प्रहरीले उसलाई हातमा हतकडी लगाएर ढोकानिर ल्यायो ।


‘सरभित्र ल्याऊँ हजुर ?’ हिरासत कक्ष हेर्ने प्रहरी अधिकृत बोल्यो ।


‘ल्याऊ ।’ मैले भनें । छापामारको छोरोतिर हेर्दै मैले भनें, ‘कुर्सीमा बस ।’


‘धन्यवाद सर ।’ हात जोर्दै ऊ कुर्सीमा बस्यो ।


‘हतकडी खोलिदेऊ ।’ प्रहरीलाई आदेश दिएँ । प्रहरीले हतकडी खोलिदियो ।


उसले मतिर हेर्दै मुस्कुराउँदै भन्यो, ’धन्यवाद सर ।’


‘तिमीलाई अझै छापामारको छोरो भनेर बोलाउनु र !’ म मुस्कुराएँ । ‘अब त तिमी लक्का जवान भइसक्यौ । तिम्रो नाम के हो ?’ मैले उसका आँखामा हेंरे ।


उसले पनि मलाई हेरिरह्यो । केही बोलेन । निरपेक्ष भावमा आफ्ना दुवै हात एकआपसमा रगडिरह्यो ।


मैले उसको अनुहार नियालिरहें । मेरा आँखाहरूमा प्रश्नैप्रश्नका खात थिए ।


‘म विप्लव माओवादी हुँ सर । अर्को नामको केही अर्थ रहेन ।’ उसले आफूलाई सम्हाल्दै भन्यो । उसको अनुहारमा अघि देखिएका छापामारको छोरोका बालसुलभ भावहरू लुप्त भइसकेका थिए । उमेरभन्दा वयस्क र कठोर देखिएको थियो उसको अनुहार ।


उसलाई यस अवस्थामा पाएर म अचम्मित र विष्मित थिएँ । देशमा नयाँ शासन व्यवस्था आएपछि सशस्त्र द्वन्द्वमा माओवादी विद्रोहीको तर्फबाट जजसले योगदान दिएका थिए, बहुसंख्यकले राज्यबाट केही न केही पाएका थिए । मलाई लागिरहेको थियो छापामारको छोरोका बा आमाले पनि आफ्नो सारा जीवन होमेका छन् । तिनीहरूले पनि निश्चय नै कुनै राजनीतिक, प्रशासनिक वा सैनिक नियुक्ति पाए होलान् । तर छापामारको छोरोको अवस्थाले ठीक उल्टो संकेत गरिरहेको थियो ।


‘तिमी कसरी विप्लवको समूहमा लाग्यौ ? तिम्रा बा–आमा कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?’ अधैर्य हुँदै सोधें मेले ।


उसले लामो सास तान्यो । सायद मेरा प्रश्नहरूले उसलाई विचलित बनाएको हुनुपर्छ । उसले आफ्नो टाउको निहुरायो । केही बेर मौन केही सोचिरह्यो । टाउको उठाएर झ्यालबाहिर हे‌र्‍यो । केही बेर टोलाइरह्यो । तत्पश्चात् मेरा आँखामा हेर्दै बोल्यो, ‘जिन्दगी सोचेजस्तो भएन सर ! न मेरा बाले सोचेजस्तो न त मैले सोचेजस्तो नै भयो जिन्दगी । तर हाम्रो जिन्दगी हामीहरूले चाहेजस्तो बनाउने आशा छोडेको छैन सर । म अझै लडिरहेको छु । यो सास रहुन्जेल लडिरहनेछु ।’ उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा आत्मविश्वास र दृढता झल्किरहेको थियो ।


‘तपाईंले सोचेको जस्तो छैन मेरो वास्तविक कथा । मेरो कथा चुरे पहाडझैं कतै अग्लिएको छ त कतै भास्सिएको छ । धेरै ठाउँमा मेरो कथा क्रमभंग भएर टुट्दै विशृंखलित बनेको छ । रूखको हाँगामा फुल्न नपाई असमयमै झरेको फूलजस्तो मेरो कथा सुन्नुहुन्छ सर ?’ विषादपूर्ण आवाजमा छापामारको छोरो बोल्यो ।


मैले शिर हल्लाएर स्वीकृति दिएँ ।


ऊ आफ्नो कथा बताउन थाल्यो । म फुच्चे छापामारको छोरोलाई आफ्नो मनमा राख्दै युवा छापामारको छोरोको कथा सुन्न थालें ।
उसले सुनाएको कथा यस्तो थियो ...!


‘हाम्रो सानो परिवार थियो । बा, आमा र म । हामीसँग घरवरिपरिको एक टुक्रा जमिन मात्र थियो । त्यत्तिले खान पुग्दैन थियो । बा अर्काको खेत जोत्थे । आमा घरधन्दा गर्थिन् र बाको हात बटाउँथिन् । रोल्पाका गाउँबस्तीहरूमा माओवादीहरूको प्रभाव बढ्दै गइरहेको थियो । एक दिन बाले हामीलाई सुनाए उनी पनि माओवादीसँग जंगल पस्दै छन् ।

रोइरहेकी आमालाई थुमथुम्याउँदै बा बोलेका थिए— एक दिन हामीजस्ता गरिबहरूका दिन आउनेछन् । म त्यसैका लागि लडाइँ लड्न जाँदै छु । मेरा बा रक्तबीज मिहिनेती र इमानदार कार्यकर्ता थिए । माओवादी भएको छोटो समयमा नै उनी सामान्य कार्यकर्ताबाट सिंढी उक्लिँदै स्क्वाड कमान्डर बने । स्क्वाड कमान्डरका रूपमा उनले पार्टीको काम बखुबी निभाए ।

उनी लडाकु छापामारको रूपमा युद्धमा होमिए र कैयौं लडाइँहरू लडे । बाको कामप्रतिको निष्ठा र लगनशीलता देखेर पार्टीले उनलाई स्क्वाडबाट प्लाटुनमा लग्यो । केही समयपछि मेरा बा प्लाटुन कमान्डर बन्न सफल भए । प्लाटुन कमान्डर हुँदा मेरा बाले राज्य पक्षका प्रहरी र सेनाविरुद्ध ठूलठूला युद्धमा भाग लिए र सफलता प्राप्त गरे ।

मेरा बा जहिले भन्थे कि ‘यो युद्ध हामीले जनताको मुक्तिका लागि लडेका हौं । हामीले युद्ध जितेपछि मात्र हाम्रा नागरिकहरूले सुख र शान्तिको अनुभव गर्नेछन् ।’ युद्ध सिद्धेर जनआन्दोलनमार्फत गणतन्त्र बहाल भएपछि मेरा बा सेना समायोजनमा अयोग्य ठहरिए ।

पार्टीले अन्य कुनै राजनीतिक जिम्मेवारी पनि दिएन । उनले यसको विरोध गरे । त्यसपछि पार्टीले बाको वास्ता गर्न छोड्यो । पार्टीले मेरा बालाई कुनै पनि भूमिका दिन चाहेन । अन्ततः निराश भएर मेरा बा गुन्टा बोकेर काठमाडौंबाट गाउँ फर्किए । उनका केही वर्ष पागलपनमा बिते । रातदिन उनी बरबराइरहन्थे । एक दिन बाले भने, ‘म यहाँ बसेर के गर्न सक्छु र ! खेती गरौं भने जमिन छैन, व्यापार गरौं भने नगद छैन । लडाइँमा लागेर आफू त अनपढ भएँ, भएँ, छोरोलाई पनि अनपढ बनाएँ ।


छोरोको भविष्य बर्बाद पारें मैले । अब भएको यो पाखो जमिन बेचेर भए नि म अरब जान्छु । मेरो जीवन बनाए नि बिगारे नि जे गर्छ अब अरबले नै गर्छ ।’ केही दिनपछि जमिन बेचेर पाएको रकम खर्च गरेर बा अरब भास्सिए । तर अरब गएको छ महिनामा नै मेरा बा सदाका लागि बन्द काठको बाकसमा चिरनिद्रामा सुतेको अवस्थामा फर्किए । त्यसपछि हामी दुई आमा छोरा बेसहारा भयौं ।

हामीसँग न जमिन थियो न अन्न । हामीले भोकभोकै काठमाडौंका गल्ली र बाटाहरू चहा‌र्‍यौं । बाका कमान्डरहरू जो सरकारका ठूला मन्त्री थिए, हात जोड्दै अनुनय–विनय गर्‍यौं । बाका समकालीन साथीहरू जो ठूलठूला ओहोदामा पुगेका थिए, तिनका खुट्टा समातेर डाँको छोड्यौं । बाले गरेको बलिदानको दुहाई दियौं । अहँ हाम्रा आँसुहरूले तिनका मन पगाल्न सकेन । बाको बलिदानको गाथाले तिनका ढुंगा बनेका हृदयमा करुणाको अंकुर टुँसाउन सकेन । पछिपछि त हामीलाई देखेर तिनीहरू मुख लुकाउन थाले ।

मेरा बाको बलिदानले सुकिला बनेका कामरेडहरूले हामीलाई प्रतिगमनकारी देख्न थाले । हामी आमाछोरा असहाय भएर गाउँ फर्कियौ । गाउँमा हाम्रो भन्ने न झोपडी थियो न एक मुठी माटो ! गाउँमा अर्काको नोकर भएर हामीले जेनतेन गुजारा चलाउन थाल्यौं ।

फर्किएको एक महिनामा नै बाको मृत्युको पीडा र सुकिला कामरेडहरूको तिरस्कार र अवहेलनाको सन्तापले पिरोलिँदै आमा मरिन् । म एक्लो र टुहुरो भएँ । केही समय गाउँको भेडी गोठालो बनेर गुजारा गरें । त्यसपछि गाउँ छोडेर म सहर पसें । सहरमा अनेकौं हन्डर खाएपछि मलाई चेतना भयो । मेरा बाले जुन दिन देख्नका लागि सशस्त्र युद्ध लडेका थिए, त्यो दिन त आएकै रहेनछ ।’


यति भनिसकेपछि शून्यमा हेर्दै ऊ टोलाइरह्यो । जीवन भोगाइले पाषाण बनेको उसको अनुहारलाई आँखाका डिलबाट झर्न नसकेका आँसुहरूले भित्रभित्रै थिलथिलो र द्रवित बनाइरहेको थियो ।


‘...त्यसपछि मलाई लाग्यो जुन सपना देखेर मेरा बा जनयुद्धमा होमिनुभएको थियो, त्यो सपना त तुरियो । त्यसभन्दा पनि पीडादायक दृश्यहरू देखेर म कहालिएँ । हामीलाई मुक्तिको सपना देखाउने आदरणीय कामरेडहरू दलाल, गल्लावाल र ठेक्कावालमा रूपान्तरण हुनुभयो । मेरा बाले देशमा ठेकेदारतन्त्र ल्याउन बन्दुक उठाएका थिएनन् ।

आम नागरिकको आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हक स्थापित गर्न बन्दुक उठाएका थिए । हामीले भन्ने गरेको सामन्ती व्यवस्थामा हामीहरू जति उपेक्षित र पीडित थियौं त्योभन्दा बढी उपेक्षित र अपहेलित हामी आफूले सशस्त्र युद्ध लडेर ल्याएको व्यवस्थामा भयौं । हाम्रालागि यसभन्दा पीडादायक विषय अरू के हुन सक्छ ? यो पीडाबाट व्यक्तिगत रूपमा उन्मुक्ति पाउन बहुलाउनु र भीरबाट हाम फालेर मर्नुभन्दा जनताको उन्मुक्तिका लागि फेरि बन्दुक समातेर युद्धमा होमिनु र दुश्मनको गोली खाएर मर्नु श्रेयष्कर र गौरवपूर्ण हुन्छ भन्ने लागेर म विप्लव माओबादी बन्न विवश भएँ सर ।’


उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा अहिले कोमल भावहरू थिएनन् । एकप्रकारको स्थूलता र जडता थियो ।


उसको जीवन भोगाइ सुनेर म भावशून्य बनेको थिएँ । ऊ र उसका बा–आमाले भोगेको दुःख र पीडालाई महसुस गरेर म विचलित बनिरहेको थिएँ । उसलाई भेट्नुभन्दा पहिले उसको बारेमा मैले गरेको कल्पना र उसले मलाई साक्षात्कार गराएको उसको विपनाबीच गहिरो खाडल थियो ।

उसले भोगेको वास्तविकतालाई आत्मसात् गरे तापनि म अझैं विश्वास गर्न सकिरहेको थिइनँ, विद्रोही छापामारहरूले सशस्त्र युद्ध लडेर ल्याएको शासन व्यवस्थामा पनि के छापामारको छोरोले त्यही नियति भोग्नुपर्ने जुन उसले युद्धकालमा भोगेको थियो ?


‘के तिमीलाई लाग्छ कि विप्लव माओबादीहरू वर्तमान व्यवस्थामा देखिएका त्रुटिहरू सुधारेर अघि बढ्छन् ? के तिनीहरूले पनि जनताकै मुक्तिका लागि बन्दुक उठाएका हुन् त ?’ विप्लव माओवादी बनेको छापामारको छोरोको अनुहारमा हेर्दै मैले भनें ।


उसले आफ्ना आँखाहरूमा गम्भीर भाव ल्याउँदै मतिर हे‌र्‍यो र भन्यो, ‘मलाई विश्वास छ, विप्लव माओवादीको उद्देश्य यही हो । तर कहिलेकाहीं म भयग्रस्त पनि हुन्छु यो सोचेर कि मेरा बाले लडेको आदर्शको लडाइँ त खेर गयो । दस वर्षसम्म लडाइँको नेतृत्व गरेका र हजारौं कार्यकर्ताको बलिदानी रगतले पोतिएका कामरेडहरूले त बाटो बिराए भने त्यो बटवृक्षको हाँगोका रूपमा रहेको यो विप्लवले पनि बाटो नबिराउला भन्न सकिन्न । जनताको मुक्तिको आडमा राजनीतिक शक्ति प्राप्तिका लागि यो संघर्ष गरिएको हो भने यसकै विरुद्धमा फेरि अर्को हिंसाको शृंखला सुरु नहोला भन्न सकिन्न ।’ ऊ गम्भीर देखियो ।


‘तिम्रो उद्देश्य परिपूर्तिका अन्य विकल्प पनि त छन् नि । तिमी त्यसमा किन प्रयास गर्दैनौ ? के बन्दुक समात्दैमा र हिंसा मच्चाउँदैमा देशमा परिवर्तन आउँछ ? राजनीतिक परिवर्तनको साथसाथै राजनीतिक स्थिरता महत्त्वपूर्ण हो भन्ने कुरा अहिलेको अवस्थाले देखाउँदैन र ?’ मैले आफ्नो तर्क प्रस्तुत गरें ।

मलाई सुनेर उसले एक छिन गम खायो । तत्पश्चात् लामो सास तानेर छोड्दै ऊ बोल्यो—
‘बन्दुक समातेर हिंसा मच्चाउँदैमा परिर्तन आउने भए अहिलेसम्म नेपाली नागरिकहरू संसारमा सबैभन्दा सुखी र समृद्ध बनिसक्नुपर्ने हो । हामीले सोचेको यो समृद्धि र सुख कहिले आएन । तर हिंसा अझैं जारी छ । तपाईंको यो मतसँग म सहमत छु तर मेरालागि वर्तमान समयमा अन्य कुनै विकल्प छैनन् । राज्यले हाम्रालागि कुनै उपयुक्त विकल्प दिएको छैन । कमसेकम भावनामा भए पनि मैले आफूलाई आश्वस्त पार्न सकेको छु कि म मेरा बाले अँगालेको सिद्धान्तबाट विचलित भएको छैन ।

म आफैंले आफैंलाई घृणा गर्ने गरी आफ्नो चरित्रबाट स्खलित भएको छैन । विप्लव माओवादी अँगाल्नुको तात्पर्य मेरो आत्मसन्तुष्टि पनि हो कि मेरा बाका समकालीन कामरेडहरूको दया र मायामा म बाँचिरहेको छैन । हामी युवाहरूलाई राज्यले गरेको चरम बेवास्तालाई टुलुटुलु हेरेर बाँच्न म अभिषप्त छैन । म स्वतन्त्र छु । म पृथक् छु । बरु तिनीहरूलाई चुनौती दिन सक्ने सामर्थ्य राख्छु । यस अनुभूतिले मात्र पनि मलाई बाँच्ने प्रेरणा दिएको छ सर ।’


उसले शिर ठाडो पारेर मलाई हे‌र्‍यो । आफूले समातेको मार्गप्रति पूर्णरूपमा आश्वस्त नभए पनि आफ्नो उद्देश्यप्रति भने ऊ विश्वस्त देखिन्थ्यो ।


‘त्यसो भए के जेलको छिंडीभित्र आफ्नो जीवन समाप्त पार्ने विचार हो तिम्रो ?’ मैले उसको अनुहारमा दृष्टिपात गरें ।


‘राजनीतिक सिद्धान्तका कारण जेल जानुपरे, त्यो मेरालागि अवसर हुनेछ सर । आफ्नो व्यक्तित्वलाई निखार्ने उपयुक्त समय हुनेछ ।’ उसले निर्विकार भावमा जवाफ दियो ।


‘तिमीमा यत्ति चेत त हुनुपर्ने हो कि तिमी राजनीतिक सिद्धान्तका कारण नभई बम विस्फोटन गरी मानवीय र भौतिक क्षति गरेको अभियोगमा जेल जाँदै छौ । यो राजनीतिक नभई आपराधिक कार्य हो । तिम्रो भाषामा यो क्रान्ति होला तर कानुनको भाषामा यो विशुद्ध अपराध हो ।’ म तिखो आवाजमा चिच्याएँ ।


‘बम विस्फोटन र मानवीय क्षतिको यो घटना नेपालको पहिलो घटना होइन डीआईजी साहेब । तपाईं रोल्पाको प्रहरी प्रमुख हुँदा जोसँग युद्ध लड्दै हुनुहुन्थ्यो ती मान्छेहरू अहिले सत्तामा छन् र तपाईं अहिले तिनीहरूकै आदेशको पालना गर्दै हुनुहुन्छ । के थाहा भोलि तपाईंले मेरो आदेश पो मान्नुपर्ने हो कि ? अपराध र क्रान्तिको परिभाषा समयसापेक्ष हुन्छ सर ।’


धक फुकाएर हाँस्यो ऊ । ऊ युद्ध जितेको विजयी योद्धाझैं प्रतीत भइरहेको थियो ।


मैले बिस्तारै उसको हात समातें । मेरो स्पर्शले प्रफुल्ल देखियो ऊ । मलाई त्यही फुच्चे छापामारको छोरोको हात स्पर्श गरेझैं लागिरहेको थियो । मैले मायालु भावले उसका आँखामा हेरें । उसका आँखामा मप्रति अगाध प्रेम र श्रद्धा थियो ।

मैले उसका गहिरा आँखामा नियाल्दै भनें—‘मैले रोल्पामा तिमी र तिम्री आमालाई हिरासतबाट मुक्त गरेर घर पठाउँदा सोचेको थिएँ पक्कै तिमी पनि आफ्नो छापामार बासँगै लागेर छापामार बन्नेछौ । त्यसबेला म तिमीलाई त्यो परिस्थितिबाट बचाउन नसकेकोमा दुःखी थिएँ । अहिले तिमीलाई विप्लव माओवादीको रूपमा पाउँदा मलाई दुःख लागेको छ । देश र जनतामा परिवर्तन ल्याउन हिंसा नै एक मात्र विकल्प होइन । यस आधुनिक युगमा थुप्रै विकल्प छन् जसलाई हामी आफ्नो आवश्यकता र उद्देश्यका आधारमा छनोट गर्न सक्छौं । आशा छ एक न एक दिन तिमी हिंसाको मार्ग त्यागेर अहिंसाको मार्गमा आउनेछौ र राष्ट्र निर्माणमा आफ्नो यागदान दिनेछौ ।’


उसले पुलुक्क मतिर हे‌र्‍यो । अनुहारको भावले भन्थ्यो, ऊ मसँग असंख्य प्रश्न सोध्न चाहन्छ । तर उसले मसँग कुनै प्रश्न सोधेन ।
‘सर उसकी स्वास्नी उसलाई भेट्न आएकी छे ।’ मेरो गार्ड सलाम ठोक्दै दैलोनिर उभियो ।


‘यहाँ बोलाऊ ।’ मैले आदेश दिएँ ।


एउटा सानो बच्चासहित एउटी महिला दैलोमा झुल्किन् । मैले कुर्सीमा बस्ने इसारा गरें । कुर्सीमा बस्नेबित्तिकै उनी लोग्नेतिर हेर्दै घ्वाँघ्वाँ रुन थालिन् । आमा रोएको देखेर सानो बच्चा पनि आमालाई अँगालो हाल्दै रुन थाल्यो ।


‘सर यो मेरी स्वास्नी हो । बिहे गरेको पाँच वर्ष मात्र भयो । मैले उसलाई पेटभरि खान दिन सकेको छैन । मेरो घरद्वार छैन । ऊ माइतमा बस्छे । यो मेरो छोरो मलाई चिन्दैन सर । म कहिल्यै उनीहरूसँग बस्न पाउँदिनँ । कसरी आफ्नो बालाई चिनोस् !’ छोरोतिर हेर्दै ऊ भावुक भयो । उसका आँखाबाट तुरुक्क दुई थोपा आँसु गालातिर झरे ।

बाहुलाले आँसु पुछ्दै उसले मतिर हेर्दै भन्यो—‘सर मैले देखेका सपनाहरू पनि मेरा बाका सपनाझैं तिरोहित भए भने मेरो पुस्ता पनि खेर जानेछ । तपाईंले चाहेजस्तो अहिंसाको मार्गमा हिँडेर भविष्य बनाउने युवाहरू कोही हुने छैनन् देशमा । धेरै युवा बिदेसिनेछन् भने ती थोरै युवा जो विदेश जान नपाएको सन्तापमा देशभित्रै हिंसा मच्चाउनेछन् । त्यसपछि के तपाईं मेरो छोरोलाई भविष्यको छापामार बन्नबाट बचाउन सक्नुहुन्छ सर ?’


म अवाक मुद्रामा कहिले उसलाई त कहिले उसको सानो छोरोलाई हेरिरहेको थिएँ ।

प्रकाशित : आश्विन ११, २०७६ १३:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT