१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाउ खोज्ने केटो

दिल महरा

प्रायः मंसिरको अन्ततिर । बाँसका झाङहरूमा । सारौंका हुलहरू असाध्यै कराइरहेका हुन्छन् साँझपख । त्यसै समय बकैना, सिसौ र अम्रैका रूखहरूबाट खसेका शीतका थोपाहरूले जमिनमा असंख्य मसिना खोपिल्टाहरू निर्माण गरिरहेका हुन्छन् । त्यो समय म पुलिसको हल्दार थिएँ । जति बेला मेरो उमेर चौंतीस वर्षको थियो । हो, यो घटना त्यसै बखत घटिरहेको थियो ।

बाउ खोज्ने केटो

हाम्रो क्याम्पमा साँझको खाना खाने बेला भएको थियो । त्यो बेला चेकपोस्टमा एकै जनाले सुरक्षा दिइरहेका हुन्थ्यौं । खाना खाने समयमा हाम्रो नियम यस्तै थियो । त्यस दिन चेकपोस्टको सुरक्षा मैले दिइरहेको थिएँ । एउटा अन्दाजी १२/१३ वर्षको केटो चेकपोस्टको सामुन्ने देखिइरहेको थियो । त्यो केटो सिसौंको रूखमुनि आएर मतिर हेर्दै ठमठम उभिएको थियो ।

क्याम्पको नियमअनुसार, साँझपख हामीले दुई सय मिटर वरपर रहेका मानिसहरूलाई उभिएको ठाउँबाट हटाउनुपर्ने हुन्थ्यो । त्यसै कारण मैले त्यो केटोलाई हातको संकेतले पर जाऊ भन्दै थिएँ । केटो त पर जानुको सट्टा लम्किँदै चेकपोस्टतिर आएको थियो । र, सुस्तरी आफ्ना समस्याहरू बताउँदै गइरहेको थियो– ‘सर, मिल्छ भने मेरा लागि आजको बास यतै मिलाइदिने व्यवस्था गरिदिनुस् । हजुरको हाकिमलाई बरु यो फलफूल लगेर दिनुस् । अब यहाँबाट मेरो घर पुग्नलाई चार घण्टा हिँड्नुपर्ने हुन्छ । त्यति बेलासम्म म केटाकेटी मानिस एक्लै हिँडेर कसरी पो जाऊँ ? फेरि रातको समय । मेरो घर जाने बाटोमा बाघ र भूतहरूको त्रास हुने गर्छ । सर, बरु म त्यही बाहिरको गल्लीमा सुतेर रात काट्नेछु । भोलि बिहान सबैरे निस्केर जानेछु ।’

केटोले आफ्नो दायाँ हातले दुई दाना स्याउ र चार कोसा केराको पोको मतिर तेर्साउँदै, बायाँ हातले हाम्रो हाकिम सुत्ने भवनको गल्ली देखाउँदै ,मेरो सामुन्ने आइसकेको थियो । त्यो सप्रिएको लौकाको उचाइ जत्रैको केटो । त्यसको कुरा र व्यवहार देखेर मलाई त्योप्रति सजिलै प्रेम जागेको थियो । चेकपोस्टबाट धकेलेर बाहिर पठाउन मन लागेन । मलाई ऊप्रति दयाभाव उर्लेर आएको थियो । त्यो रातमा एक्लै चार घण्टा हिँडेर पुगोस् घरमा कसरी ? मलाई त्यो केटोप्रति चिन्ता बढिरहेको थियो । केटोलाई मैले चेकपोस्टभित्र रहेको प्लास्टिकको कुर्सीमा बस्न आग्रह गरें । केटो उपरखुट्टी लगाएर आरामले बस्यो । मलाई केटोको बस्ने तरिका असाध्यै मन परेको थियो । अनि उसले पानी मागेको थियो । केटोले दुई घुट्की पियो । बाँकी पानीलाई भुइँमा राखेर एक छिन त्यत्तिकै फिस्स हाँस्यो । म पनि ऊजस्तै हाँस्ने प्रयास गरिदिएँ । सायद मेरो व्यवहारले केटो खुसी भयो होला के रे ? केटोले अघि मतिर तेर्साएको पोको छेउबाट उठाएर आफैंले खोल्यो । पोकोबाट दुईवटा केराका कोसा झिकेर पोकोलाई फेरि बन्द गरेर भुइँमा नै राख्यो ।

केटो उठ्यो । मलाई राम्रोमध्येको एउटा कोसा केरा टक्रायो । अर्को आफैंले खान थाल्यो । एक छिन हामीहरूले केरा खान थालेका थियौं । मैले खाइसकेर मुख मिठाइरहेको बेला । केटो कुर्सीबाट फेरि उठ्यो । मेरो हातमा झुन्डिएको बोक्रा आफ्नो हातमा लिएर अगाडि गयो । केटोले फोहोर फाल्ने भाँडोमा खसालेर आउँदै गर्दा गज्जबको कुरा बोल्यो– ‘सर, जहाँतहीँ फोहोर भयो भने त हाकिम रिसाउँछन् होला है ।’

केटोको कुराले मलाई केटो साह्रै बौद्धिक लागिरहेको थियो । केटोले त्यस समय वरिपरि अवलोकन गर्न खोजेको पनि थियो । सायद मेरो व्यवहारले पनि खुला महसुस गरेको हुनुपर्छ । केटोले मेरो पाइन्टलाई अवलोकन गर्दै भनेको थियो– ‘सर, मलाई पनि एक दिन पुलिस हुने मन छ । मलाई पुलिस सबैभन्दा मन पर्ने मानिसहरू हुन् । जस्तै हजुर पुलिस । अनि त मलाई आजको बासँ आफ्नो क्याम्पमा मिलाउने जिम्मा लिनुभएको छ । के यो पुलिसको राम्रो काम हैन र ?’

केटोले फेरि गज्जबको कुरा गरेको थियो । त्यति भन्दा मलाई असाध्यै खुसी लाग्यो । त्यो बौद्घिकजस्तै केटोले मेरो मन जिती नै गएको थियो । मैले केटोलाई मायाले गालामा हल्का छोएको थिएँ । त्यसको गाला एकदम कोमल थियो । मलाई मेरो छोराको याद पनि आयो ।

केटोले बडो शालीन तरिकाले भर्खर भुइँमा राखेको पोको समायो । दुईवटै दाना स्याउ झिकेर हातमा लियो । ठूलो र धेरै रातो स्याउ मेरो हातमा थमाइदियो । सानो र अलि नरातो आफूले चपाउन सुरु गर्‍र्या । मलाई मनमनै महसुस भएको थियो । केटो भोकाउन लाग्यो क्यारे । केटाले आफ्नो हातमा लागेको स्याउको रस आफ्नो शरीरको कपडामा दलेको थियो । अनि ऊ उठेर मेरो कम्मरको पेस्तोल छुँदै बोलेको थियो, ‘सर, यस्ले मान्छे मार्न सकिन्छ ?’

केटोले पेस्तोल पहिलोपटक देखेको कुरा बताइरहेको थियो । मैले उसको जिज्ञासा मेटाइदिएको थिएँ । उसले भनेको थियो, ‘सरले त मलाई एकछिनमै पेस्तोल चलाउन सक्ने बनाइदिनुभयो । पड्काउन मिल्ने भए म भर्खर पड्काएर देखाउने थिएँ ।’

लगत्तै केटोले केराका कोसालाई पोको पार्दै केही भन्न लागेको थियो– ‘सर, मलाई अस्तिको मंसिरे पूर्णिमामा आमाले दुई सय रुपैयाँ दिनुभएको थियो । आज यी फलफूलहरू त्यसैले खरिद गरेको थिएँ । राम्रो कुरा त सरसगँ भेट भयो । मलाई यही कुराले रमाइलो लागिरहेको छ । सर, एकपटक हाम्रो घर आउनुस् । म आमाले पकाएको खीर खुवाउनेछु ।’

हामी फेरि हाँस्ने प्रयास त गरेका हौं । तर केटोले बीचैमा हाँसोको लय छोडेर हाम्रो क्याम्पतिर बलिरहेको सबै बत्ती देखाउँदै सोध्न थाल्यो– ‘सर, तपाईंको सुत्ने कोठाचैँ कुन पो हो ? त्यहाँ देखिएका छन् नि ?’

केटोले म सुत्ने कोठा थाहा पाएपछि पो गल्लल हाँस्यौं । हामीले अघि भुलेको हाँसोको लय अहिले सही ठाउँमा लिएका थियौं । केटोले हाँस्दाहाँस्दै मेरो कोठाको तारिफ नि गरिभ्याएको थियो । र, फेरि केटो केही त बोलेको थियो, ‘सर, कुनै दिन म पुलिस भएँ भने यस्तै कोठामा सुत्ने रहर छ ।’

केटोको अहिलेको कुराले योपटक हामी अलि जोडले हाँसेका थियौं क्यारे । यसपटक हाम्रो क्याम्पको कुकुर पनि जोडजोडले भुकेको थियो । अनि त केटो मेरो छेउमा आएर पूर्वतिरको सबैभन्दा उज्यालो बत्ती देखाउँदै सुस्तरी बोलेको थियो, ‘सर, त्यहाँ को पो सुत्छ नि ?’ केटोले औंला टोक्न लागेको थियो ।

‘हामी एक छिनपछि त्यहीं जानेछौं । र, तिम्रा लागि आजको बासस्थानको अनुमति लिनेछौं । त्यो खुब मीठा स्वादका दुई कोसा केरा त्यहीं नै लगेर छोड्नेछौ ।’ मेरो कुरा सुनेपछि केटो मतिर हेरेर उत्तेजित हुँदै रमाएको थियो । उसैले भनेको थियो, ‘उसो भए त्यहाँ सरको हाकिम बस्नु पो हुन्छ है ।’ केटो र म अहिले पनि बेकारमा गल्लल हाँसेका थियौं । ओ हो, केटो त कति चाँडै मेरो पुरानो नातेदार भयो । म त ऊसँग धेरै पछि भेटेर रमाइलो पो गरिरहेको थिएँ ।

त्यसपछि पनि मैले हाम्रो क्याम्पको बारे त्यो केटालाई अरू कुरा पनि जानकारी गराउँदै गएको थिएँ । केटोले पनि धेरै कुरा सोधी नै रहेको थियो । हामी दुवै जना रातको आठ बजेर चार मिनेट जाँदासम्म चेकपोस्टमा कुरा गरेर बसिरहेका थियौं । त्यसपछि मेरो त्यस दिनको ड्युटी समापन भयो । लगत्तै मैले केटोलाई हाकिमको कोठामा लगेर गएको थिएँ । हाकिमले केरा खाएर मुख मिठाइसकेपछि, केटो र मलाई मेसतिर जानलाई आदेश दिनुभएको थियो । हामी मेसतिर लागेका थियौं ।

त्यो छाक केटो र मैले सँगै खाएका थियौं । केटोले हाम्रो मेसमा पाक्ने हरेक परिकारको खुब तारिफ गरेको थियो । त्यस दिन हाम्रो मेसमा कालो सिमीको दाल, पनिर र केराउको तरकारी, टमाटरको अचार सगँसँगै जरायोको सुकुटी परिकारमा थियो । खाना खाइसकेर दोस्रोपटक हामी हाकिमको कोठामा गएका थियौं । हाम्रो हाकिमले केटोलाई त्यसपटक धेरै नै कुरा सोध्नुभएको थियो ।

केटोले पनि फटाफट सबैको उत्तर दिएको हो । बरु उसले, हाकिमसँग पनि भनेको थियो । पुलिस केटोलाई सबैभन्दा मन पर्ने मानिस हुन् । अनि हाम्रो हाकिमको अन्तिम प्रश्नको उत्तर केटोले लजाएको सुरमा यस्तो दिएको थियो, ‘सर, सहर आउनुको कारणचैँ यसो घुमघाम नै हो । आमाले फिलिम हेर्न पठाउनुभएको मलाई । फिलिम हेरियो । जादू थियो बाटोमा । अनि जादू नि हेरियो । सहरमा यस्तै त हुन्छ । सहर हेर्दैमा यो बेला भयो । यतै रात भयो ।’

केटो हाकिमको उत्तरमा पनि बुद्धिमान भएको थियो । अनि केटो र म सुत्नलाई मेरो कोठातिर लागेका थियौं । त्यति बेला रातको दस बजेर ४१ मिनेट गइरहेको थियो ।

घटना यस्तै त हुन्छ नि । अर्को दिन बिहानै हामीहरू दैनिकी व्यायामहरू सकेर चिया पिउँदै थियौं । आकाश बैजनी रङले छोपिएको थियो । स–साना बादलका टुक्राहरू पश्चिमबाट पूर्वतिर बिस्तारै सरिरहेका थिए । अब त्यो गोलो सूर्यको चक्का बादलमा छिर्न लागेको थियो । त्यसहीबेला अँध्यारो घटना भयो । त्यो केटोले चियाको कप कति चाँडै फ्याँकेर आयो । मानौं त्यो बिजुलीको गतिमा थियो । केटोले मेरो कम्मरको पेस्तोल तानेको मलाई पत्तै भएन । त्यसपछि त हाम्रो हाकिमलाई सुताइदियो । धन्न केटोले खुट्टामा हानेको रहेछ । नत्र त हाम्रो हाकिमको स्वर्गे नै हुने त्यो समय ।


केटोले सोधपुछको क्रममा मलाई बताएको थियो, ‘म बाउलाई नै खोज्न आएको । मेरो आमा उही मधुरामा गाउँकी यानीमाया त हो नि ।’

यानीमाया ? मलाई केटोको बयानले अच्चम पारेको थियो । खास १४ वर्षअघिको छोटो घटना यस्तो थियो ।

त्यस समय हाम्रो हाकिम र म मधुरामा गाउँको क्याम्पमा सँगै सिपाही पदमा जागिरे थियौं । एक दिन यानीमायासँग हाम्रो हाकिमको भेट भएको थियो । त्यसपछि त हाम्रो हाकिम र यानीमाया हरेक रात सँगै हुन्थे । मैले त सोचें कि दुवैको बिहे हुनेछ । केको हुनु बिहे । यस्तो हुँदै गरेको तीन महिनापछिको कुरा । एक दिन हाम्रो सँगै सरुवा भयो । हिँड्ने बेला मैले कुरा उठाएको पनि हुँ । त्यति बेला त्यस्ता घटनालाई जीवनका झिनामसिना र सामान्य घटना भनेर सम्बोधन गर्नुभएको थियो हाम्रो हाकिमले । अनि हामी यता आयौं । यानीमाया उतै छुटेकी थिई ।

त्यस समय आकाशमा ताराहरूको असंख्य सानासाना चक्का आइसकेका थिए । त्यसै बेला मैले केटो र हाम्रो हाकिमलाई लिएर मधुरामा गाउँ जानलाई गाडी गुडाइसकेको थिएँ ।

कथा त यत्ति नै थियो । अहिले म बूढो भएर धेरै वर आइसकेको छु । रिटायर्ड जिन्दगी, यसो यस्तै कुरा सम्झेर दिन बिताइरहेको हुन्छु । मलाई बेला बेला केटोको साह्रै याद आउँछ । साँच्चै केटो के पो गर्दै होला ? केटो साह्रै बौद्घिक खालको थियो । त्यो दिन मलाई कसरी छलेको थियो केटोले । अहिले आफ्नो बाउ यानेकि हाम्रो हाकिमलाई कत्ति माया गर्छ होला केटोले ?
तर, हाम्रो जिन्दगीमा हामीलाई झिनामसिना र सामान्य लाग्ने घटना कति बलिया हुन्छन् है ।

प्रकाशित : आश्विन ११, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?