सत्य अर्कै

उमा सुवेदी

म एउटा सामान्य लेखकमाथि यो के आपत् आइलाग्यो ? स्तब्ध छु । यस्तो स्थितिको त मैले कल्पना पनि गरेको थिइनँ । आज म आफ्नै घरमा लुक्नुपर्ने भएको छ । यतिखेर त्रासले मेरा हातखुट्टा लुला भएका छन् । कानमा तातो अनुभव गरिरहेको छु । मुटु त पक्कै चलेकै छ तर पनि मुटुको गति टक्क रोकिएजस्तो लागिरहेछ । कवि लेखकको जीवनमा डर र त्रासका अनेकन स्थितिहरू आउने–जाने गरिरहेकै हुन्छन् ।

तर, यो डर अलिक पृथक् खालको । आफ्नो लेखनको कारण म पुलिस प्रशासन या सरकारको कोपभाजनको सिकार हुने स्थिति त मैले पहिला पनि भोगकै हुँ । तर, व्यक्तिविशेषको क्रोध मेरालागि नयाँ अनुभव हो । नयाँ तर डरलाग्दो अनुभव !


खासमा मैले तिनलाई कहिल्यै देखेको थिइनँ। उनको अनुहार कुनै तस्बिरमा देखेको पनि हैन । कुनै आफन्त या चिनजानका सित उनको अनुहार मिलेजस्तो पनि लागेको छैन । तर, उनी भने मलाई नै खोज्दै मेरो घरसम्म कसरी आइपुगिन्?


साठी पैँसट्ठीकी जस्ती देखिन्थिन् उनी । कपाल सेतै थियो। अनुहार पनि निकै चाउरी परेको। उनी आउँदा अनुहारभरि रिस बोकेर आएकी थिइन्। ढोका पनि नढक्ढक्याई हावाको तीव्र वेगझैं बैठकभित्र प्रवेश गरिन्। मलाई लाग्यो, उनी हुरीबतासको मानवीय रूप हुन् । धन्न, म बैठकमा थिइन्, नत्र आउनासाथ ममाथि जाइलाग्ने रहिछन्।


कोठामा मेरी बहिनी सोनिया थिई । आमा पनि घरमै हुनुहुन्थ्यो। आगन्तुक महिलालाई देखेर उहाँहरू तर्सिनुभयो। तर्सिनु स्वाभाविक पनि थियो। किनभने ती महिलाको हातमा नरिवलको पातबाट बनेको खरेटो कुचो थियो। मानौँ उनी आफ्नो कुनै शत्रुलाई त्यही कुचोले हिर्काउन चाहन्छिन्।


उनी हाम्रो घरमा आउनुको अर्थ के ? न कुनै चिनजान, न कुनै नातापाता यसरी साधिकार हाम्रो घरभित्र प्रवेश गर्ने आँट उनले कसरी गरिन् ? कतै उनी झुक्किएर हाम्रो घरभित्र आइपुगेकी त होइनन् ? एक छिन मलाई लाग्यो— मैले नचिने पनि आगन्तुक महिलालाई आमा या सोनियाले पो चिनेका छन् कि ?तर, ती महिला प्रवेश गर्नासाथ कोठामा व्याप्त भएको मौनताले आमा र सोनिया पनि तिनीसित परिचित छैनन् भन्ने पक्का भएको थियो ।


म भान्साकोठामा आफ्नो लागि कालो चिया बनाएर कपमा खन्याउँदै थिएँ। उतै रोकिएँ। किनभने उनी आउनासाथ ठूलो स्वरमा कराउन थालिहालेकी थिइन्।


‘मलाई फूलवाली भनेर हेप्ने लेखक खै कता छन् ? निस्क बाहिर ? ए लेखक, बाहिर निस्क भनेको सुनेनौ ? के मेरो कुनै इज्जत छैन ? ठीक छ मैले फूल बेचेँ रे। इमान त बेचेको छैन नि। मैले यही आँखाले देखेकी छु, कति जना इमान बेच्छन् र त्यही पैसाले मेरो पसलमा फूलमाला किन्न आउँछन्। हिजै मात्र एक हुल आए र हजार रुपैयाँको माला किनेर गए । त्यो माला उनीहरूले भर्खरै प्रतिनिधिसभामा निर्वाचित भएको एक जना डनका लागि किनेका थिए । तिनीहरूले पहिला त्यो डनलाई के के मात्र भनेनन्।

माफियाको नाइके भने। तस्कर भने। दलाल भने। तर, जब त्यही मान्छे चुनावमा उठेर नेता भयो, सबैका लागि ठूलो मान्छे भयो। राजनीति त दलालको हातको खेलौना भैसक्यो। यसबारेमा लेखकले केही नलेख्ने तर मैले दोस्रो बिहे गरेँ भनेर सबैलाई पढाउँदै हिँड्ने ? मैले एउटा अशक्त पुरुषलाई छोडेर स्कुलको पालेसँग बिहे गरेँ भनेर मेरो बेइज्जत गर्ने ? खै, कहाँ छ लेखक ? त्यसलाई मेरोअगाडि ल्याउनुस् ।’


हैट्, तिनी त मेरै उपन्यासकी पात्र पो रहिछन् । अब भने म झनै आत्तिएँ । पात्रले नै घरमा आएर लेखकलाई धम्क्याएको मैले कतै थाहा पाएको थिइनँ । कमसेकम मेरो साहित्यिक जीवनमा कुनै लेखक कविसित यस्तो घटना भएको पनि थाहा थिएन । उपन्यास लेख्ने क्रममा उनको चरित्र चित्रण गर्दा लेखेका कुराले उनी क्रुद्ध भइछिन् । तर, मेरो उपन्यास त बजारमा आएकै छैन ! मैले लेख्दै गरेको उपन्यासमा आफ्नो भूमिकाबारे कसरी थाहा पाइन् ? यो प्रश्नले झनै अत्यायो मलाई । मेरा खुट्टाहरू झन् धेरै काम्न थालेँ । मेरा कानका लोती ताता भए । मलाई तीव्र ज्वरो आएको आभास भयो । कन्चटपछाडिबाट पसिना पनि बग्न थाले । यस्तो स्थितिको सामना मैले कसरी गर्ने ? त्यसैले म भान्सामै चुपचाप लुकेर बसेँ। उता, बैठकमा आमाले फूलवालीलाई सम्झाउन थाल्नुभयो।


‘त्यो मेरो छोरो हो। त्यसलाई अन्जान बालक सम्झेर माफी देऊबहिनी । हातको कुचो फ्याँक। मेरो छोरो कुचोसित सारै डराउँछ। कुचो देख्यो कि ऊ सडक बढार्ने एउटी केटीलाई सम्झिहाल्छ। त्यो केटीको सम्झनाले ऊ अहिले पनि व्यथित हुन्छ । त्यसैले कृपया कुचो नदेखाइदेऊ उसलाई।’


सोनियाले कुरा थपी, ‘दाइले त्यो केटीलाई साँचो प्रेम गर्थ्योजस्तो लाग्छ । किनभने जुन बेलादेखि उनले यो टोलको सडक बढार्न थालिन्, त्यही बेलादेखि मेरो दाइले मर्निङ वाक सुरु गरेको थियो। मलाई लाग्छ, उसले तन्दुरुस्तीका लागि मर्निङ वाक सुरु गरेको थिएन, त्यही कुचो बढार्ने युवतीलाई हेर्न गरेको हो।’


आमाछोरीको कुरा सुनेर फूलवालीको रिस अलिकति मत्थर हुँदै गयो। तर, उनले म कुचोसित डराउँछु भन्ने कुरामा शंका व्यक्त गर्दै सोधिन्, ‘अनि त्यत्तिको आधारमा लेखकले कुचोसित डराउनुपर्ने कारणचाहिँ के नि ?’


आमाले मेरो अतीतको कुरा नभनेको भए पनि हुने। म भान्छामा लुकेर बसेको थिएँ। आमालाई रोक्न पनि सकिनँ। सबै कुरा फूलवालीको अगाडि छ्यालब्याल पारिदिनुभयो।


‘पुस या माघको कुनै बिहानऊ चारै बजे मर्निङ वाकका लागि गयो। तपाईंलाई त थाहै छ, जाडोको बेला चार बजे कस्तो गाढा अँध्यारो हुन्छ। सडक बत्तीको मधुरो प्रकाशले हिँड्न सहयोग गरेको थियो । हिँड्दाहिँड्दै उसले कुचो बढारिरहेकी युवतीलाई देख्यो। अँध्यारोमा पनि ती युवतीको अनुहार धपक्क बलेको रहेछ। त्यो दिन खै, के विचार पलायो मेरो छोरोको मनमा, उसले हिम्मत गरेर ती युवतीलाई म तिमीलाई माया गर्छु भनेछ।’


आमाको यस्तो कुरा सुनेर फूलवालीको स्वरमा उत्साह थपियो। सोधिन्, ‘त्यसपछि के भनी त्यो कुचो बढार्ने केटीले ?’


हतारिँदै सोनिया अघि सरी । भनी, ‘दाजुको प्रेम प्रस्ताव सुनेर सायद केटी मुस्कुराई। मुस्कुराउनु जायज पनि थियो । किनभने दाजुले कवितामा प्रेम प्रस्ताव गरेको थियो । दाइको प्रस्ताव सुनेर त्यो केटी मुस्कुराउँदै आफ्नो घरतिर लागी। मेरो दाजु पनि उसको पछिपछि लाग्यो। त्यो केटीको घर कहाँ हो भन्ने पत्ता लगाउन चाहन्थ्यो ऊ।’


सोनियाले गलत भनेकी होइन। त्यो दिन मैले त्यसै गरेको थिएँ। म कुचो बढार्ने केटीको पछिपछि लागेको थिएँ। उनी अघिअघि म पछि पछि। धरतीमा रातको अन्तिम अँध्यारो अझै बाँकी थियो। त्यसमाथि बाक्लो कुहिरो। हरर मुभीको कुनै दृश्यजस्तो अँध्यारो बिहानी थियो त्यो। ती युवतीले सेतो लुगा लगाएकी थिइन्। उनी बेलाबेला कुहिरोमा हराउँथिन् र बेलाबेला फेरि देखापर्थिन्।

आफ्नो घरनिर पुगेपछि युवती टक्क रोकिइन्। अनि फर्केर मतिर हेरिन् र भनिन्, ‘हे लेखक। तिमी किन मेरो पछिपछि आएको ?’
मैले भनेँ, ‘प्रिया, म तिमीलाई प्रेम गर्न थालेको छु। त्यसैले म तिम्रो घर हेर्न चाहन्छु। किनभने तिमीसित बिहेको कुरा गर्नका लागि भोलि या पर्सि मेरी आमा र बैनी तिम्रो घरमा आउनेछन्।’


‘तर, म त सडकमा कुचो बढार्ने सामान्य केटी हुँ । कहाँ तिमी कवि, कहाँ म ? हाम्रो मिलन सम्भव छैन लेखक ।’


मैले सम्झाएँ उनलाई, ‘त्यसो नभन । तिमीले कुचो बढारेको मलाई खुब मन पर्छ । तिम्रो कुचोको आवाजमा म डुबिरहेको हुन्छु । किनभने त्यो आवाज श्रमबाट सिर्जित सर्वोत्तम संगीत हो । तिमी कुचो बढार्न आउँदा बज्ने तिम्रो चप्पलको आवाज पनि मलाई जीवनपथमा तिम्रो अविराम र अविचलित यात्राको संकेतजस्तो लाग्छ । तिमी यो संसारकी सबैभन्दा सुन्दर केटी हौ । त्यसैले तिमी ढुक्कले मेरो मन मन्दिरमा बस्न आऊ । यो मनको मन्दिरमा बस्न तिमीले चप्पल फुकाल्नु पर्दैन र हातको कुचोलाई ढोकाबाहिर राख्नु पनि पर्दैन । तिमी आफ्नो अस्तित्व र पहिचानसहित यो मनमन्दिरमा सगर्व पस्न सक्छ्यौ ।’


मेरो कुराले फेरि मुस्कुराइन् ती युवती र भनिन्, ‘अहिले मैले सेतो साडी लगाएकी छु। त्यसैले तिमीले मलाई परीजस्तै राम्री देख्यौ। जब म तिमीलाई आफ्नो वास्तविक रूप देखाउँछु। के त्यति बेला पनि तिमी मलाई त्यसरी नै प्रेम गर्न सक्छौ ?’


अनौठो प्रश्न थियो। मैले के जवाफ दिऊँ भनेर तत्काल सोच्नै सकिनँ। मैले केही सोच्नुअघि नै उनले आफ्नो सेतो साडी उतारिन्। उफ् ! मेरो अगाडि ठिंग उभिएको थियो एउटा कंकाल। हातमा कुचो लिएको अस्थिपञ्जर।


मलाई भननन्नै रिँगटा लाग्यो। मैले त्यसभन्दा अगाडि केही हेर्न सकिनँ। म बेहोस भएर ढलेँ सडकमै।


सोनियालाई यी सबै कुरा थाहा थियो। ऊ फूलवालीलाई भन्दै थिई, ‘होसमा आएपछि दाजुले पुलिसलाई खबर गर्‍यो। पुलिसले अस्थिपञ्जरलाई आफ्नो नियन्त्रणमा लियो।’


कोठामा मौनता व्याप्त भयो। सोनिया र आमा दुवैले यो मौनतालाई चिर्ने कुनै प्रयास गरेनन्। बरु धेरै बेरपछि फूलवाली आफैं बोलिन् । अब फूलवालीको कुरा सुनेर स्तब्ध हुने पालो मेरो थियो।


फूलवाली भन्दै थिइन्, ‘त्यो एउटी अभागी आमाकी छोरी थिई। उसकी आमाले पनि सडकमा कुचो बढार्ने काम गर्थी। नगरपालिकाले दिने थोरै पैसाले उसले आफ्नी छोरीलाई हुर्काएकी थिई। युवती ठूली हुँदै गई। उसले पनि आमाकै जस्तो सहरमा कुचो बढार्न थाली। एक दिन सडकमा कुचो बढारिरहेको बेलामा आफ्नो पार्टी अध्यक्षको चाकडीमा जान लागेको एउटा नेताले उसलाई देख्यो। नेता त्यतिबेलै युवतीको सुन्दरतामा मोहित भयो। उसले युवतीलाई फकायो। उसको जीवनस्तर उकासेर उसलाई ठूलो मान्छे बनाउने सपना देखायो। युवतीले नेताको कुरामा विश्वास गरी । नेतालाई प्रेम गर्न थाली ।

संविधानसभाको पहिलो निर्वाचनमा उ उम्मेदवार भयो। त्यो केटीको पेटमा अर्को शरीर हुर्कँदै थियो । जति जति युवतीको पेट बढ्दै गयो उति उति नेताको अनुहारमा बादल मडारिन थाले । युवती गर्भवती भएको थाहा पाएदेखि ऊ अर्कै अर्कै भएको थियो । ऊ सोच्थ्यो– जनताले उसलाई तिरस्कार गर्न सक्थे। विपक्षीहरूले यसलाई चुनावी मुद्दा बनाउन सक्थे। उसको नैतिकता र चरित्रमाथि ठूलो प्रश्नचिह्न लाग्न सक्थ्यो। यो कुरा थाहा पाएर जनताले उसलाई भोट नदिन सक्थे। त्यसैले एक दिन प्रेम गर्दागर्दै नेताले त्यो युवतीको घाँटी थिचेर हत्या गरिदियो।’


आमा भने यति बेला फूलवालीको कुरा सुनेरै जिल्ल पर्नुभएको थियो। आँखाका कोस पनि रसाएका थिए । उहाँले आफ्नो मनभित्र उत्पन्न भएको जिज्ञासालाई रोक्न सक्नुभएन। फूलवालीसित हतारहतार सोध्नुभयो, ‘तर, तिमीलाई ती आमाछोरीको बारेमा यी सबै कुरा कसरी थाहा भयो ?’


‘किन थाहा हुन्न मलाई ? एउटी आमालाई उसकी छोरीको कुरा किन थाहा हुन्न ? हो, ऊ मेरी छोरी थिई। म त्यति बेला सडकमा कुचो बढार्ने काम गर्थेँ र पछि मेरी छोरीले पनि त्यही काम गरी। उसको युवावस्थाका धेरैजसो बिहानहरू धूलोमा बिते। न केटाकेटी अवस्थामा सुख पाई उसले न जवानीमा। संसारका कुनै छोरीहरू त्यसरी नहुर्कून्, त्यसरी नबाँचून् र त्यसरी नमरून्।’


म ढोकाको चेपबाट चियाउँदै थिएँ, आमा र सोनिया फूलवालीको कुरा सुनेर दुःखी भएँ। पीडाले उनीहरूको गलामा गाँठो पर्‍यो। उनीहरू बोल्नै सकेनन्। ट्वाल्ल परेर फूलवालीतिर हेरिरहे। यता, मेरो मुटु पनि व्यथाले बटारिएको थियो।


फूलवाली एकोहोरो भनिरहेकी थिइन्, ‘तर, मेरो पीडा कति भयंकर छ, तिमीहरूले अन्दाजै लगाउन सक्दैनौ। म आजभोलि फूल बेच्छु। माला बेच्छु। ठीक त्यही नेताको घरअगाडि छ मेरो पसल। त्यही नेता, जसले सपना देख्दादेख्दैकी मेरी छोरीको सपनासहित हत्या गरेको थियो। गर्भमा उसको भविष्य थियो, उसले त्यो भविष्यलाई पनि असमय नै मर्न विवश बनाइदियो। आज ऊ ठूलो नेता भएको छ।

उसका कार्यकर्ताहरू आउँछन्, मेरै पसलबाट फूलमाला किन्छन् र उसलाई लगाइदिन्छन्। म लाचार भएर टुलुटुलु आफ्नै छोरीको हत्याराले मेरै पसलको फूलमाला लगाएर हाँसिरहेको हेरिरहेकी छु। के एउटी आमाको लागि यो कम पीडाको कुरा हो ? तर, तपाईँको लेखक भनाउँदो छोरोले मेरो सही कथा लेखिदिएन। उसले मैले अशक्त लोग्नेलाई छोडेर स्कुलको पालेसँग बिहे गरेको कुरा लेख्यो। उसले किन लेखेन, मैले अर्को बिहे गरेँ भनेर ? के म एउटा नपुंसकलाई जीवनभरि लोग्ने मानेर बसिरहन सक्थेँ ?’


फूलवालीको अन्तिम प्रश्न मेरो मनमा बमझैं पड्कियो। म आफूभित्रकै विस्फोटले आत्तिएँ। यति हुँदा पनि मैले फूलवालीको सामु पर्ने हिम्मत गर्न सकिनँ।


अन्ततः सोनियाले बिस्तारै सम्झाई।


‘ठीक छ, म मेरो दाइलाई तपाईँको सही कथा लेख्न अनुरोध गर्छु। उसले पक्कै मेरो कुरा मान्नेछ। आमाले पनि सम्झाउनुहुनेछ।’
फूलवाली अब भने नरम भइन्। भन्न थालिन्, ‘तिमीहरू भलाद्मीजस्ता लाग्यौ। नत्र म तिमीहरूलाई यसै छाड्ने थिइनँ। अब आफ्नो लेखक छोरोलाई सम्झाइदिनू। आफूले देखेको सत्य लेख्नु मात्र ठूलो कुरो हैन।

त्यो सत्यपछाडिका अरू सत्यहरू पनि खोतल्नुपर्छ। कसैलाई नराम्रो लेख्नुअघि लेखकले पात्र किन नराम्रो भयो भनेर स्थापित गर्न सक्नुपर्छ। लेखकलाई सही कुरा लेख्न भन्नू। नत्र, अर्कोपल्ट आएँ भने तिम्रो छोरो फेरि बेहोस हुनेछ। किनभने, म पनि जीवित पात्र होइन। छोरीको हत्याका लागि न्याय माग्दामाग्दै इजलासमै ढलेर मरेकी पात्र हुँ। म पनि मरिसकेकी छु। नपत्याए राति सहरको कुनै न्यायालयको इजलासमा जानू। त्यहाँ मेरो आत्मा अझै पनि न्यायका लागि कराइरहेको भेटिनेछ।’


आमा र सोनियाको सातो गयो। ठीक त्यही बेला हावाहुरी चल्यो। जसरी कुनै उपन्यासहरू या सिनेमामा यस्ता अप्रत्याशित दृश्य आउँदा चल्ने गर्छ। कोठा दिउसै बत्ती बाल्नुपर्ने खालको अँध्यारो थियो। त्यही बेला बत्ती पनि झ्याप्प निभ्यो। आमा र सोनिया डरले चिच्याउँदै बेहोस भए । म पनि कम्ता डराको थिएँ र । तर म दौडिँदै बैठकमा आएँ।


बत्ती फेरि आफैं बल्यो । फूलवाली त्यहाँ थिइनन्। तर, उनले बोकेको कुचो भुइँमा लडिरहेको थियो।

प्रकाशित : आश्विन ११, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

कथा : छापामारको छोरो–२

महेशविक्रम शाह

भुइँमा खुट्टा बजारेर सलाम ठोक्दै मेरो बडिगार्डले भन्यो, ‘सर छापामारको छोरो भन्ने हजुरलाई भेट्न चाहन्छ  । ’‘हँ... को रे ?’ कता कता सुनेझैं, महसुस गरिरहेझैं लाग्यो मलाई यो नाम  ।

‘छापामारको छोरो सर ।’ मेरो बडिगार्डले नाम दोहो‌र्‍यायो ।


‘छापामारको छोरो !!’ मेरो स्वरमा किञ्चित आश्चर्य थियो ।


‘हो सर ! छापामारको छोरो ।’ आफ्नो बोलीमा मेरो गार्ड आश्वस्त देखिन्थ्यो ।


‘कहाँ छ त्यो ?’ मैले गार्डको अनुहारमा हेर्दै भने ।


‘जिल्ला प्रहरी कार्यालयको हिरासतमा छ सर ।’ छाती तनक्क तन्काउँदै गार्डले फेरि सलाम ठोक्दै भन्यो । ऊ आफ्नो अनुहारमा आत्मविश्वासको भाव ल्याउने प्रयास गरिरहेको थियो ।


’प्रहरीको हिरासतमा छ ऊ ?’ मैले अचम्म मान्दै गार्डको अनुहारमा हेरें ।


‘हजुर सर । उसलाई प्रहरीले पक्रेर ल्याएको तीन दिन भयो । ऊ विप्लव माओवादी हो सर । तर खोइ किन हो आफूलाई छापामारको छोरो भन्दोरैछ हजुर ।’


आफ्नो अनुहार खुम्च्याउँदै मेरो गार्ड बोल्यो ।


उसको अनुहारको भावले बताउँथ्यो उसलाई यसभन्दा बढी केही थाहा छैन । तर मैले सोध्न सक्ने सम्भावित प्रश्नको अनुमान गरेर ऊ तनावग्रस्त बनिरहेको थियो ।


छापामारको छोरो नामले मेरो दिमागमा हलचल मच्चाइसकेको थियो । को होला त्यो ? मेरो मस्तिष्कमा अनेक विचार आइरहेका थिए । मैले जीवनमा पहिलोपटक छापामारको छोरोलाई अठाह्र वर्षअघि रोल्पामा भेटेको थिएँ । त्यस बेला म जिल्ला प्रहरी कार्यालय, रोल्पाको प्रमुख थिएँ ।

माओवादीहरूको सन्देशबाहकका रूपमा काम गरेको अभियोगमा छापामारकी स्वास्नीलाई प्रहरीले समातेको थियो । साथमा छोरो पनि भएकाले उसलाई पनि प्रहरीले आमासँगै ल्याएर हिरासतमा राखेको थियो । विद्रोही माओवादी छापामारको छोरो भएकाले उसलाई प्रहरीहरू छापामारको छोरो भनेर बोलाउने गर्थे । फुच्चे छापामारको छोरो बालक भए पनि निडर र निर्भीक थियो ।

ऊ निसंकोच प्रहरीहरूको जमात अगाडि छापामार युद्धकलाका करतबहरू प्रदर्शित गरिरहेको थियो । उसको यस कलाकारिताले प्रहरी कार्यालयमा हलचल मच्चाएको थियो । हामीले केही दिनपछि कानुनी प्रक्रिया पूरा गरेर मानवीयताको आधारमा आमा–छोरा दुवै जनालाई हिरासतमुक्त गरी घर फर्काइदिएका थियौं । घर फिर्ता पठाएको दोस्रो दिन नै छापामार आएर आफ्नी स्वास्नी र छोरोलाई जंगलमा लिएर गएको खबर हामीछेउ आइपुगेको थियो ।


मैले स्मृतिको पर्दा उघारेर अतीतमा चियाएँ । द्वन्द्वकालीन दिनको सम्झनाले मलाई भावुक बनाएको थियो ।


‘त्यो फुच्चे छापामारको छोरो अहिले कहाँ होला ? उसको बाबु र आमा के गर्दै होलान् ? सशस्त्र द्वन्द्वको चपेटामा परेर जीवन गुमाएका रहेनछन् भने सायद जीवितै होलान् । दसवर्षे माओवादी सशस्त्र द्वन्द्वको समाप्तिपश्चात् देशमा शान्ति बहाल भयो ।नागरिकले नयाँ संविधान पाए । देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लागू भयो । सायद उसका बाबुआमाले पनि माओवादी जनयुद्धमा गरेको योगदानस्वरूप पक्कै उपल्लो पद र पहुँच भेट्टाए होलान् । छापामारको छोरोको बाबु केन्द्र अथवा प्रदेश सरकारको मन्त्री नै पो बनिसक्यो कि ! छापामारको त्यो फुच्चे छोरो पनि पच्चीस छब्बीस वर्षको लक्का जवान भइसक्यो होला । ऊ पनि आफ्नो बाबुको पीएसीए बनेर जनयुद्धको बेला देखेका सपनाहरू साकार पारिरहेको पो छ कि !' मेरो दिमागमा यिनै कुराहरू खेलिरहे । मेरो मन छापामारको छोरोको स्मृतिमा द्रवित बनिरहेको थियो ।


‘सर म के खबर पठाऊँ ? त्यो छापामारको छोरोलाई यहाँ लिएर आइज भनौं हजुर ?’ मेरो गार्ड मेरा सम्मुख हलचल नगरी उभिइरहेको थियो ।


‘म उसलाई भेट्न आफैं त्यहाँ जान्छु । यही खबर पठाइदेऊ,’ मैले गार्डलाई आदेश दिएँ ।


ऊ मेरा सामुन्ने खडा थियो । फरक यत्ति थियो ऊ हिरासत कक्षको बारभित्र थियो । म बाहिर ।


पच्चीस–छब्बीस वर्षको हट्टाकट्टा युवा थियो ऊ । दारी–जुँगाले छोपिएको अनुहार । लापरबाह तरिकाले छोडेको नमिलेको कपाल । मलाई देख्नेबित्तिकै ऊ भुइँबाट जुरुक्क उठेको थियो । मुस्कुराउँदै उसले दुई हात जोड्दै भन्यो, ‘नमस्कार सर ।’


‘नमस्ते ।’ मैले उसको शिरदेखि पैतालासम्म सर्सर्ती हेर्दै भनें । म उसलाई चिन्ने प्रयास गरिरहेको थिंए । तर ऊ मेरालागि अपरिचित व्यक्ति थियो ।


‘सर चिन्नुभएन मलाई ?’ ऊ मलाई हेर्दै मुस्कुराइरहेको थियो ।


‘अहँ ...!’ मैले सम्झेसम्म उसलाई न त कहिले देखेको थिएँ न त हाम्रो कहिले भेट नै भएको थियो ।


‘सर अठाह्र वर्षपहिले तपाईं जिल्ला प्रहरी कार्यालय, रोल्पाको इन्चार्ज हुनुहुन्थ्यो । त्यस बेला मेरी आमा र म तपाईंको हिरासतमा थियौं । तपाईं मलाई ए छापामारको छोरो भनेर बोलाउनुहुन्थ्यो । मैले तपाईंको अगाडि छापामार युद्धका करतबहरू देखाएको थिएँ ।

पछि तपाईंको छोरोसँग पनि मेरो दोस्ती भयो । जीवनमा पहिलोपल्ट मैले तपाईंको छोराको साइकल चढेको हुँ सर । म तपाईंहरूको दुश्मन छापामारको छोरो भए पनि तपाईंले मलाई घृणा होइन माया गर्नुभयो । मैले तपाईंको त्यो मायालाई कहिले भुल्न सकिनँ सर ।’ बोल्दाबोल्दै रोकियो ऊ । उसका आँखाहरू रसाउन थालेका थिए । आफ्नो भावुकतामाथि नियन्त्रण राख्ने प्रयास गर्दै ऊ बोल्यो—
‘अब त मलाई चिन्नुभयो होला नि सर ?’


‘मैले तिमीलाई चिनें बाबु । तिमी त्यही छापामारको छोरो हौ जसलाई मैले रोल्पाको प्रहरी हिरासत कक्षमा भेटेको थिएँ । त्यस बेला तिमी सानो फुच्चे बालक थियौ । तर तिमीलाई आज यो अवस्थामा देख्दा मलाई दुःख लाग्यो । आऊ भित्र बसेर कुरा गरौं ।’


‘उसलाई कार्यालयमा लिएर आऊ ।’ मैले हिरासत कक्ष व्यवस्थापन प्रहरी अधिकृतलाई आदेश दिएँ ।


म कार्यालयको कुर्सीमा बसिरहेको थिएँ । प्रहरीले उसलाई हातमा हतकडी लगाएर ढोकानिर ल्यायो ।


‘सरभित्र ल्याऊँ हजुर ?’ हिरासत कक्ष हेर्ने प्रहरी अधिकृत बोल्यो ।


‘ल्याऊ ।’ मैले भनें । छापामारको छोरोतिर हेर्दै मैले भनें, ‘कुर्सीमा बस ।’


‘धन्यवाद सर ।’ हात जोर्दै ऊ कुर्सीमा बस्यो ।


‘हतकडी खोलिदेऊ ।’ प्रहरीलाई आदेश दिएँ । प्रहरीले हतकडी खोलिदियो ।


उसले मतिर हेर्दै मुस्कुराउँदै भन्यो, ’धन्यवाद सर ।’


‘तिमीलाई अझै छापामारको छोरो भनेर बोलाउनु र !’ म मुस्कुराएँ । ‘अब त तिमी लक्का जवान भइसक्यौ । तिम्रो नाम के हो ?’ मैले उसका आँखामा हेंरे ।


उसले पनि मलाई हेरिरह्यो । केही बोलेन । निरपेक्ष भावमा आफ्ना दुवै हात एकआपसमा रगडिरह्यो ।


मैले उसको अनुहार नियालिरहें । मेरा आँखाहरूमा प्रश्नैप्रश्नका खात थिए ।


‘म विप्लव माओवादी हुँ सर । अर्को नामको केही अर्थ रहेन ।’ उसले आफूलाई सम्हाल्दै भन्यो । उसको अनुहारमा अघि देखिएका छापामारको छोरोका बालसुलभ भावहरू लुप्त भइसकेका थिए । उमेरभन्दा वयस्क र कठोर देखिएको थियो उसको अनुहार ।


उसलाई यस अवस्थामा पाएर म अचम्मित र विष्मित थिएँ । देशमा नयाँ शासन व्यवस्था आएपछि सशस्त्र द्वन्द्वमा माओवादी विद्रोहीको तर्फबाट जजसले योगदान दिएका थिए, बहुसंख्यकले राज्यबाट केही न केही पाएका थिए । मलाई लागिरहेको थियो छापामारको छोरोका बा आमाले पनि आफ्नो सारा जीवन होमेका छन् । तिनीहरूले पनि निश्चय नै कुनै राजनीतिक, प्रशासनिक वा सैनिक नियुक्ति पाए होलान् । तर छापामारको छोरोको अवस्थाले ठीक उल्टो संकेत गरिरहेको थियो ।


‘तिमी कसरी विप्लवको समूहमा लाग्यौ ? तिम्रा बा–आमा कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?’ अधैर्य हुँदै सोधें मेले ।


उसले लामो सास तान्यो । सायद मेरा प्रश्नहरूले उसलाई विचलित बनाएको हुनुपर्छ । उसले आफ्नो टाउको निहुरायो । केही बेर मौन केही सोचिरह्यो । टाउको उठाएर झ्यालबाहिर हे‌र्‍यो । केही बेर टोलाइरह्यो । तत्पश्चात् मेरा आँखामा हेर्दै बोल्यो, ‘जिन्दगी सोचेजस्तो भएन सर ! न मेरा बाले सोचेजस्तो न त मैले सोचेजस्तो नै भयो जिन्दगी । तर हाम्रो जिन्दगी हामीहरूले चाहेजस्तो बनाउने आशा छोडेको छैन सर । म अझै लडिरहेको छु । यो सास रहुन्जेल लडिरहनेछु ।’ उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा आत्मविश्वास र दृढता झल्किरहेको थियो ।


‘तपाईंले सोचेको जस्तो छैन मेरो वास्तविक कथा । मेरो कथा चुरे पहाडझैं कतै अग्लिएको छ त कतै भास्सिएको छ । धेरै ठाउँमा मेरो कथा क्रमभंग भएर टुट्दै विशृंखलित बनेको छ । रूखको हाँगामा फुल्न नपाई असमयमै झरेको फूलजस्तो मेरो कथा सुन्नुहुन्छ सर ?’ विषादपूर्ण आवाजमा छापामारको छोरो बोल्यो ।


मैले शिर हल्लाएर स्वीकृति दिएँ ।


ऊ आफ्नो कथा बताउन थाल्यो । म फुच्चे छापामारको छोरोलाई आफ्नो मनमा राख्दै युवा छापामारको छोरोको कथा सुन्न थालें ।
उसले सुनाएको कथा यस्तो थियो ...!


‘हाम्रो सानो परिवार थियो । बा, आमा र म । हामीसँग घरवरिपरिको एक टुक्रा जमिन मात्र थियो । त्यत्तिले खान पुग्दैन थियो । बा अर्काको खेत जोत्थे । आमा घरधन्दा गर्थिन् र बाको हात बटाउँथिन् । रोल्पाका गाउँबस्तीहरूमा माओवादीहरूको प्रभाव बढ्दै गइरहेको थियो । एक दिन बाले हामीलाई सुनाए उनी पनि माओवादीसँग जंगल पस्दै छन् ।

रोइरहेकी आमालाई थुमथुम्याउँदै बा बोलेका थिए— एक दिन हामीजस्ता गरिबहरूका दिन आउनेछन् । म त्यसैका लागि लडाइँ लड्न जाँदै छु । मेरा बा रक्तबीज मिहिनेती र इमानदार कार्यकर्ता थिए । माओवादी भएको छोटो समयमा नै उनी सामान्य कार्यकर्ताबाट सिंढी उक्लिँदै स्क्वाड कमान्डर बने । स्क्वाड कमान्डरका रूपमा उनले पार्टीको काम बखुबी निभाए ।

उनी लडाकु छापामारको रूपमा युद्धमा होमिए र कैयौं लडाइँहरू लडे । बाको कामप्रतिको निष्ठा र लगनशीलता देखेर पार्टीले उनलाई स्क्वाडबाट प्लाटुनमा लग्यो । केही समयपछि मेरा बा प्लाटुन कमान्डर बन्न सफल भए । प्लाटुन कमान्डर हुँदा मेरा बाले राज्य पक्षका प्रहरी र सेनाविरुद्ध ठूलठूला युद्धमा भाग लिए र सफलता प्राप्त गरे ।

मेरा बा जहिले भन्थे कि ‘यो युद्ध हामीले जनताको मुक्तिका लागि लडेका हौं । हामीले युद्ध जितेपछि मात्र हाम्रा नागरिकहरूले सुख र शान्तिको अनुभव गर्नेछन् ।’ युद्ध सिद्धेर जनआन्दोलनमार्फत गणतन्त्र बहाल भएपछि मेरा बा सेना समायोजनमा अयोग्य ठहरिए ।

पार्टीले अन्य कुनै राजनीतिक जिम्मेवारी पनि दिएन । उनले यसको विरोध गरे । त्यसपछि पार्टीले बाको वास्ता गर्न छोड्यो । पार्टीले मेरा बालाई कुनै पनि भूमिका दिन चाहेन । अन्ततः निराश भएर मेरा बा गुन्टा बोकेर काठमाडौंबाट गाउँ फर्किए । उनका केही वर्ष पागलपनमा बिते । रातदिन उनी बरबराइरहन्थे । एक दिन बाले भने, ‘म यहाँ बसेर के गर्न सक्छु र ! खेती गरौं भने जमिन छैन, व्यापार गरौं भने नगद छैन । लडाइँमा लागेर आफू त अनपढ भएँ, भएँ, छोरोलाई पनि अनपढ बनाएँ ।


छोरोको भविष्य बर्बाद पारें मैले । अब भएको यो पाखो जमिन बेचेर भए नि म अरब जान्छु । मेरो जीवन बनाए नि बिगारे नि जे गर्छ अब अरबले नै गर्छ ।’ केही दिनपछि जमिन बेचेर पाएको रकम खर्च गरेर बा अरब भास्सिए । तर अरब गएको छ महिनामा नै मेरा बा सदाका लागि बन्द काठको बाकसमा चिरनिद्रामा सुतेको अवस्थामा फर्किए । त्यसपछि हामी दुई आमा छोरा बेसहारा भयौं ।

हामीसँग न जमिन थियो न अन्न । हामीले भोकभोकै काठमाडौंका गल्ली र बाटाहरू चहा‌र्‍यौं । बाका कमान्डरहरू जो सरकारका ठूला मन्त्री थिए, हात जोड्दै अनुनय–विनय गर्‍यौं । बाका समकालीन साथीहरू जो ठूलठूला ओहोदामा पुगेका थिए, तिनका खुट्टा समातेर डाँको छोड्यौं । बाले गरेको बलिदानको दुहाई दियौं । अहँ हाम्रा आँसुहरूले तिनका मन पगाल्न सकेन । बाको बलिदानको गाथाले तिनका ढुंगा बनेका हृदयमा करुणाको अंकुर टुँसाउन सकेन । पछिपछि त हामीलाई देखेर तिनीहरू मुख लुकाउन थाले ।

मेरा बाको बलिदानले सुकिला बनेका कामरेडहरूले हामीलाई प्रतिगमनकारी देख्न थाले । हामी आमाछोरा असहाय भएर गाउँ फर्कियौ । गाउँमा हाम्रो भन्ने न झोपडी थियो न एक मुठी माटो ! गाउँमा अर्काको नोकर भएर हामीले जेनतेन गुजारा चलाउन थाल्यौं ।

फर्किएको एक महिनामा नै बाको मृत्युको पीडा र सुकिला कामरेडहरूको तिरस्कार र अवहेलनाको सन्तापले पिरोलिँदै आमा मरिन् । म एक्लो र टुहुरो भएँ । केही समय गाउँको भेडी गोठालो बनेर गुजारा गरें । त्यसपछि गाउँ छोडेर म सहर पसें । सहरमा अनेकौं हन्डर खाएपछि मलाई चेतना भयो । मेरा बाले जुन दिन देख्नका लागि सशस्त्र युद्ध लडेका थिए, त्यो दिन त आएकै रहेनछ ।’


यति भनिसकेपछि शून्यमा हेर्दै ऊ टोलाइरह्यो । जीवन भोगाइले पाषाण बनेको उसको अनुहारलाई आँखाका डिलबाट झर्न नसकेका आँसुहरूले भित्रभित्रै थिलथिलो र द्रवित बनाइरहेको थियो ।


‘...त्यसपछि मलाई लाग्यो जुन सपना देखेर मेरा बा जनयुद्धमा होमिनुभएको थियो, त्यो सपना त तुरियो । त्यसभन्दा पनि पीडादायक दृश्यहरू देखेर म कहालिएँ । हामीलाई मुक्तिको सपना देखाउने आदरणीय कामरेडहरू दलाल, गल्लावाल र ठेक्कावालमा रूपान्तरण हुनुभयो । मेरा बाले देशमा ठेकेदारतन्त्र ल्याउन बन्दुक उठाएका थिएनन् ।

आम नागरिकको आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हक स्थापित गर्न बन्दुक उठाएका थिए । हामीले भन्ने गरेको सामन्ती व्यवस्थामा हामीहरू जति उपेक्षित र पीडित थियौं त्योभन्दा बढी उपेक्षित र अपहेलित हामी आफूले सशस्त्र युद्ध लडेर ल्याएको व्यवस्थामा भयौं । हाम्रालागि यसभन्दा पीडादायक विषय अरू के हुन सक्छ ? यो पीडाबाट व्यक्तिगत रूपमा उन्मुक्ति पाउन बहुलाउनु र भीरबाट हाम फालेर मर्नुभन्दा जनताको उन्मुक्तिका लागि फेरि बन्दुक समातेर युद्धमा होमिनु र दुश्मनको गोली खाएर मर्नु श्रेयष्कर र गौरवपूर्ण हुन्छ भन्ने लागेर म विप्लव माओबादी बन्न विवश भएँ सर ।’


उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा अहिले कोमल भावहरू थिएनन् । एकप्रकारको स्थूलता र जडता थियो ।


उसको जीवन भोगाइ सुनेर म भावशून्य बनेको थिएँ । ऊ र उसका बा–आमाले भोगेको दुःख र पीडालाई महसुस गरेर म विचलित बनिरहेको थिएँ । उसलाई भेट्नुभन्दा पहिले उसको बारेमा मैले गरेको कल्पना र उसले मलाई साक्षात्कार गराएको उसको विपनाबीच गहिरो खाडल थियो ।

उसले भोगेको वास्तविकतालाई आत्मसात् गरे तापनि म अझैं विश्वास गर्न सकिरहेको थिइनँ, विद्रोही छापामारहरूले सशस्त्र युद्ध लडेर ल्याएको शासन व्यवस्थामा पनि के छापामारको छोरोले त्यही नियति भोग्नुपर्ने जुन उसले युद्धकालमा भोगेको थियो ?


‘के तिमीलाई लाग्छ कि विप्लव माओबादीहरू वर्तमान व्यवस्थामा देखिएका त्रुटिहरू सुधारेर अघि बढ्छन् ? के तिनीहरूले पनि जनताकै मुक्तिका लागि बन्दुक उठाएका हुन् त ?’ विप्लव माओवादी बनेको छापामारको छोरोको अनुहारमा हेर्दै मैले भनें ।


उसले आफ्ना आँखाहरूमा गम्भीर भाव ल्याउँदै मतिर हे‌र्‍यो र भन्यो, ‘मलाई विश्वास छ, विप्लव माओवादीको उद्देश्य यही हो । तर कहिलेकाहीं म भयग्रस्त पनि हुन्छु यो सोचेर कि मेरा बाले लडेको आदर्शको लडाइँ त खेर गयो । दस वर्षसम्म लडाइँको नेतृत्व गरेका र हजारौं कार्यकर्ताको बलिदानी रगतले पोतिएका कामरेडहरूले त बाटो बिराए भने त्यो बटवृक्षको हाँगोका रूपमा रहेको यो विप्लवले पनि बाटो नबिराउला भन्न सकिन्न । जनताको मुक्तिको आडमा राजनीतिक शक्ति प्राप्तिका लागि यो संघर्ष गरिएको हो भने यसकै विरुद्धमा फेरि अर्को हिंसाको शृंखला सुरु नहोला भन्न सकिन्न ।’ ऊ गम्भीर देखियो ।


‘तिम्रो उद्देश्य परिपूर्तिका अन्य विकल्प पनि त छन् नि । तिमी त्यसमा किन प्रयास गर्दैनौ ? के बन्दुक समात्दैमा र हिंसा मच्चाउँदैमा देशमा परिवर्तन आउँछ ? राजनीतिक परिवर्तनको साथसाथै राजनीतिक स्थिरता महत्त्वपूर्ण हो भन्ने कुरा अहिलेको अवस्थाले देखाउँदैन र ?’ मैले आफ्नो तर्क प्रस्तुत गरें ।

मलाई सुनेर उसले एक छिन गम खायो । तत्पश्चात् लामो सास तानेर छोड्दै ऊ बोल्यो—
‘बन्दुक समातेर हिंसा मच्चाउँदैमा परिर्तन आउने भए अहिलेसम्म नेपाली नागरिकहरू संसारमा सबैभन्दा सुखी र समृद्ध बनिसक्नुपर्ने हो । हामीले सोचेको यो समृद्धि र सुख कहिले आएन । तर हिंसा अझैं जारी छ । तपाईंको यो मतसँग म सहमत छु तर मेरालागि वर्तमान समयमा अन्य कुनै विकल्प छैनन् । राज्यले हाम्रालागि कुनै उपयुक्त विकल्प दिएको छैन । कमसेकम भावनामा भए पनि मैले आफूलाई आश्वस्त पार्न सकेको छु कि म मेरा बाले अँगालेको सिद्धान्तबाट विचलित भएको छैन ।

म आफैंले आफैंलाई घृणा गर्ने गरी आफ्नो चरित्रबाट स्खलित भएको छैन । विप्लव माओवादी अँगाल्नुको तात्पर्य मेरो आत्मसन्तुष्टि पनि हो कि मेरा बाका समकालीन कामरेडहरूको दया र मायामा म बाँचिरहेको छैन । हामी युवाहरूलाई राज्यले गरेको चरम बेवास्तालाई टुलुटुलु हेरेर बाँच्न म अभिषप्त छैन । म स्वतन्त्र छु । म पृथक् छु । बरु तिनीहरूलाई चुनौती दिन सक्ने सामर्थ्य राख्छु । यस अनुभूतिले मात्र पनि मलाई बाँच्ने प्रेरणा दिएको छ सर ।’


उसले शिर ठाडो पारेर मलाई हे‌र्‍यो । आफूले समातेको मार्गप्रति पूर्णरूपमा आश्वस्त नभए पनि आफ्नो उद्देश्यप्रति भने ऊ विश्वस्त देखिन्थ्यो ।


‘त्यसो भए के जेलको छिंडीभित्र आफ्नो जीवन समाप्त पार्ने विचार हो तिम्रो ?’ मैले उसको अनुहारमा दृष्टिपात गरें ।


‘राजनीतिक सिद्धान्तका कारण जेल जानुपरे, त्यो मेरालागि अवसर हुनेछ सर । आफ्नो व्यक्तित्वलाई निखार्ने उपयुक्त समय हुनेछ ।’ उसले निर्विकार भावमा जवाफ दियो ।


‘तिमीमा यत्ति चेत त हुनुपर्ने हो कि तिमी राजनीतिक सिद्धान्तका कारण नभई बम विस्फोटन गरी मानवीय र भौतिक क्षति गरेको अभियोगमा जेल जाँदै छौ । यो राजनीतिक नभई आपराधिक कार्य हो । तिम्रो भाषामा यो क्रान्ति होला तर कानुनको भाषामा यो विशुद्ध अपराध हो ।’ म तिखो आवाजमा चिच्याएँ ।


‘बम विस्फोटन र मानवीय क्षतिको यो घटना नेपालको पहिलो घटना होइन डीआईजी साहेब । तपाईं रोल्पाको प्रहरी प्रमुख हुँदा जोसँग युद्ध लड्दै हुनुहुन्थ्यो ती मान्छेहरू अहिले सत्तामा छन् र तपाईं अहिले तिनीहरूकै आदेशको पालना गर्दै हुनुहुन्छ । के थाहा भोलि तपाईंले मेरो आदेश पो मान्नुपर्ने हो कि ? अपराध र क्रान्तिको परिभाषा समयसापेक्ष हुन्छ सर ।’


धक फुकाएर हाँस्यो ऊ । ऊ युद्ध जितेको विजयी योद्धाझैं प्रतीत भइरहेको थियो ।


मैले बिस्तारै उसको हात समातें । मेरो स्पर्शले प्रफुल्ल देखियो ऊ । मलाई त्यही फुच्चे छापामारको छोरोको हात स्पर्श गरेझैं लागिरहेको थियो । मैले मायालु भावले उसका आँखामा हेरें । उसका आँखामा मप्रति अगाध प्रेम र श्रद्धा थियो ।

मैले उसका गहिरा आँखामा नियाल्दै भनें—‘मैले रोल्पामा तिमी र तिम्री आमालाई हिरासतबाट मुक्त गरेर घर पठाउँदा सोचेको थिएँ पक्कै तिमी पनि आफ्नो छापामार बासँगै लागेर छापामार बन्नेछौ । त्यसबेला म तिमीलाई त्यो परिस्थितिबाट बचाउन नसकेकोमा दुःखी थिएँ । अहिले तिमीलाई विप्लव माओवादीको रूपमा पाउँदा मलाई दुःख लागेको छ । देश र जनतामा परिवर्तन ल्याउन हिंसा नै एक मात्र विकल्प होइन । यस आधुनिक युगमा थुप्रै विकल्प छन् जसलाई हामी आफ्नो आवश्यकता र उद्देश्यका आधारमा छनोट गर्न सक्छौं । आशा छ एक न एक दिन तिमी हिंसाको मार्ग त्यागेर अहिंसाको मार्गमा आउनेछौ र राष्ट्र निर्माणमा आफ्नो यागदान दिनेछौ ।’


उसले पुलुक्क मतिर हे‌र्‍यो । अनुहारको भावले भन्थ्यो, ऊ मसँग असंख्य प्रश्न सोध्न चाहन्छ । तर उसले मसँग कुनै प्रश्न सोधेन ।
‘सर उसकी स्वास्नी उसलाई भेट्न आएकी छे ।’ मेरो गार्ड सलाम ठोक्दै दैलोनिर उभियो ।


‘यहाँ बोलाऊ ।’ मैले आदेश दिएँ ।


एउटा सानो बच्चासहित एउटी महिला दैलोमा झुल्किन् । मैले कुर्सीमा बस्ने इसारा गरें । कुर्सीमा बस्नेबित्तिकै उनी लोग्नेतिर हेर्दै घ्वाँघ्वाँ रुन थालिन् । आमा रोएको देखेर सानो बच्चा पनि आमालाई अँगालो हाल्दै रुन थाल्यो ।


‘सर यो मेरी स्वास्नी हो । बिहे गरेको पाँच वर्ष मात्र भयो । मैले उसलाई पेटभरि खान दिन सकेको छैन । मेरो घरद्वार छैन । ऊ माइतमा बस्छे । यो मेरो छोरो मलाई चिन्दैन सर । म कहिल्यै उनीहरूसँग बस्न पाउँदिनँ । कसरी आफ्नो बालाई चिनोस् !’ छोरोतिर हेर्दै ऊ भावुक भयो । उसका आँखाबाट तुरुक्क दुई थोपा आँसु गालातिर झरे ।

बाहुलाले आँसु पुछ्दै उसले मतिर हेर्दै भन्यो—‘सर मैले देखेका सपनाहरू पनि मेरा बाका सपनाझैं तिरोहित भए भने मेरो पुस्ता पनि खेर जानेछ । तपाईंले चाहेजस्तो अहिंसाको मार्गमा हिँडेर भविष्य बनाउने युवाहरू कोही हुने छैनन् देशमा । धेरै युवा बिदेसिनेछन् भने ती थोरै युवा जो विदेश जान नपाएको सन्तापमा देशभित्रै हिंसा मच्चाउनेछन् । त्यसपछि के तपाईं मेरो छोरोलाई भविष्यको छापामार बन्नबाट बचाउन सक्नुहुन्छ सर ?’


म अवाक मुद्रामा कहिले उसलाई त कहिले उसको सानो छोरोलाई हेरिरहेको थिएँ ।

प्रकाशित : आश्विन ११, २०७६ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्