सी सेक्टरको सुब्बा दाजु

विमला तुम्खेवा

 
दिनको दुई बजे सी सेक्टरको पुरानो र साँघुरो क्वाटरमा आइपुग्दा प्रेम सुब्बा थकान भोक दुवैले हैरान थिए  । सुब्बेनीले तातो भातअगाडि राखिदिएपछि खपाखप खाइसकेर पुरानो सोफामा बस्दै भने, ‘अब अरुणाञ्चलमा बस्न सकिन्न, बाहिरको मान्छेलाई यहाँका ट्राइफहरूले देख्नै नसक्ने भए  ।

एकै स्वरमा भने प्रेम दाजुले । नेपाल घर धनकुटाको खाम्नेरा वडा नम्बर १ । आमा मरेर बाउले कान्छी बिहे गरेपछि १५ वर्षको उमेरमा आसाम भासिएका प्रेमबहादुर आङ्ला, असाम, मनिपुर, नागाल्यान्ड कहाँ मात्र पुगेनन् ? जहाँ गए पनि कर्मसँगै भनेजस्तै आफ्नो नामसम्म लेख्न सक्ने प्रेमबहादुर आङ्ला पिडब्लुमा चौकीदारीको स्थायी जागिर खाएपछि पच्चीस वर्षदेखि इटानगरको सी सेक्टरमा छन् ।


सी सेक्टरमा सबैले उनलाई सुब्बा दाजु भनेर चिन्छन् ।


पुरानो कुर्सीमा खुट्टा पूरैमाथि चढाएर कुक्रुक्क परेर हात घुँडामा बान्दै बोले, ‘सुन आमा ।’


बिस्तारै बोलिन् सुब्बेनी ‘के ?’


बिस्तारै बोले सुब्बा ‘मासुपसल छेउमा तरकारी बेचेर बस्ने बाहुन त मरेछ ।’


सुब्बेनी टाउटो कन्याउँदै बोलिन्, ‘के भएर मरेछ ?’


‘खोइ बेङग्ती नली छेउमा भुइँमै लडिरहेको थियो रे हेर्दा मरिसकेको ।’


उदास आँखाले दैलोदेखि बाहिर पानी परेको हेर्दै बोलिन् सुब्बेनी, ‘बढेको छोरी घरमा छ । कहिले यो नरकबाट निस्कनु सास रोक्केलाझैँ हुन्छ । नेपालीलाई मार्नु त कुकुर मार्नुभन्दा सजिलो भयो ।’


पानी र हुस्सु एकैपटक कमै ठाउँमा पर्छ । अहिले त झन् हुस्सु पनि भित्रै पस्न खोजेझैँ गरिरहेछ । इटानगरमा बाहिरको मान्छेलाई ट्राइबलहरूले देखिसहँदैनन् उनीहरूको भाषामा ‘हारिङ’ भन्छन् । ट्राइबललाई हारिङको पौरख मात्र मन पर्छ ।


छेउमै कुरा सुनेर बसिरहेकी माया मलीन स्वरमा बोली, ‘बाउ तामुल खाने ?’


‘ले ना त’ सुब्बा बोले ।


तामुल बनाएर माया बाहिर गई । डिसेम्बरको महिना । अरुणाञ्चलभरि नै महिनौं दिनसम्म पानी परिरहन्छ पृथ्वी नै भासिएलाजस्तो गरी । धेरैजसो गाउँमा वर्षाभरि आवत–जावत ठप्प हुन्छ । अचानक पानी रोकिए हुस्सु र बादलले ढाकिरहन्छ । कहिलेकाहीँ दिक्क लाग्छ यही मौसम कहिलेकाहीं फेरि यसै यसै रहरलाग्दो हुन्छ । उखान नै छ, ‘यहाँको मौसम र केटाको कहिल्यै भर हुन्न ।’


सिटी त बाहिरबाट आएको मान्छेहरूले नै भरिएको छ । पारिपट्टि पूर्व उत्तरमा हात्तीजस्तो लम्पसार उभिएको पहाडको भिरालो चेपहरूमा यहाँको आदिवासीहरू बसोबास गर्छन् प्रायः बासको टाटीले बारेको भुइँभन्दा अलिकमाथि उठेको यी घरहरू घरभन्दा ज्यादा गोठघरजस्तो लाग्छ तर यसरी घर बनाउने चलनचाहिँ यहाँको प्रचलन नै हो । राति पहाडको जंगल बीचबीचमा बलेको आगो राँकेभूतजस्तै देखिन्छ । पहाडैभरि ठाउँ ठाउँमा बलेको आगोको उज्यालोले कस्तो नोस्टाल्जिक बनाउने ! रोमाञ्चक कथाजस्तै लाग्ने उनीहरूको जीवन अझ लोककथाझैँ लाग्छ ।


भारतको विभिन्न प्रान्त र बंगलादेशबाट चोरबाटो हुँदै कामको खोजीमा आउनेहरूको भीडले भरिएको छ इटानगर । यहाँका रैथाने आदिवासीहरूले माया गरेर बस्न दिएको माटोमा सा–सानो टहरो बनाएर जुगै काट्नेहरू कति छन् कति । यिनीहरूको दुःख र गुमनाम कथा लेखी नसक्नु छ ।

बेलुकीको करिब चार बज्यो । पानी पर्न कम भएको छैन । यसरी कालै भएर परेको पानीको छाँट हेर्दा अझै कति दिन पानी पर्ने हो भन्न सकिन्न । कस्सिएर दर्किएको पानीको थोपा टिनमा ठोक्किँदा निस्किएको आवाजको कारण सुब्बाले के बोले सुनिनन् सुब्बेनीले, फेरि सोधिन्, ‘के भन्नुभयो बाउ ?’


बिहे भएको सुरुसुरुमा सुब्बेनी लोग्नेलाई सुब्बा दाइ भनेर बोलाउँथिन् तर छोराछोरी जन्मिसकेपछि दुबैले एकअर्कालाई बाउ र आमा भनेर बोलाउछन् । बिहे भएको यो चालीस वर्षमा यी दुईको झगडा भएको वल्लो घर पल्लो घर कसैलाई थाहा छैन । ढुकुरको जोडीजस्तै सधैँ माया मात्र गरिरहने । सुब्बा दाजुले त झन् ठट्टा गरेको बेला बूढीलाई रेला गर्दै भन्छन्, ‘हाम्रो लिम्बुनीहरूले बूढालाई हजुर तपाईं भन्दैनन् मीठो मसिनो बनाएर दिनै जान्दैनन् तेरो हजुर तपाईं र मीठो मसिनो चट्ट बनाएर दिने बानीले मेरो यो जुनी सकिने भो ।’ यस्तो बेला सुब्बेनी केही नबोली सुनिरहन्छिन् तर घरको माहोल लिम्बूको जस्तो एउटै छैन ।


सुब्बेनीको माइती तेजु । नेपालको रामेछापबाट बाजेकै पालामा इन्डिया भास्सिएको उनको जिजुबाजे जातले पाँडे । उनीचाहिँ बिहेपछि सुब्बेनी भएकी । एक छोरी रोमा, दुई छोराहरू सन्तु र राकेश छन् मायालाई चाहिँ सानैदेखि पालेको । आमा मरेको बाउले कान्छी आमा ल्याएको कथा उस्तै ।


तामुल दिएर माया बाहिर निस्किएर गई कन्सिरीमा भए भरको सबै दुःख बिर्सिएर छाला बत्तीस मुजा पर्थे तर पनि कस्तो मीठो र उन्मुक्त । तर आज सुब्बा दाजु उदासउदास थिए । रिटायर हुन अझै एक दशक बाँकी छ । कताकताको पीर हुर्केको छोरी जोगाउन धौधौ । अत्याचार पनि कतिसम्म भने दुःख गरेर रोपेको तुलफूलसम्म खान नपाइने । ट्राइबलले नसोधी टिपेर लाने । छोडेर जाऊँ कहाँ जानु जीवनभरिको परिश्रम, नजाऊँ जहिल्यै त्रासमा बाँच्नुपर्छ । काम गरेको ज्याला नदिएको । पिटाइ खाएको । बेखर्ची भएको बिरामी भएर औषधि गर्न नपाएर मरेकाहरूको घटना त कति सुनिन्छ सुनिन्छ तर यसपल्टको घटनाले सुब्बा भित्रैबाट बिथोलिएका छन् ।


हृदयमा एउटै कुराको हुटहुटी छ— छोराछोरीलाई नेपाल पुर्‍याएर नागरिकता निकाल्ने । तर कहिले पैसाको जोहो गर्न सकेनन् । अब त गाउँमा पनि चिन्दैनन् । शरीरले मुस्किलले वर्षमा नयाँ लुगा देख्छ । चौकीदारीको तलब कति नै हुन्छ ? साँघुरो दुई कोठा, दुई जना मान्छे एकैपटक पसे सजिलो गरी घुम्न नसकिने किचन र सँगै टास्सिएको ट्वाइलेट । सेफ्टी ट्यांकी भत्किएर बान्तै आउने दुर्गन्धले दिउसो खाएको भातको स्वादलाई नमीठो बनायो कि बनाएन थाहा भएन सुब्बालाई तर अहिले भने नाकमै ठोक्किएर गएको दुर्गन्धले तामुलको स्वादलाई नमीठो बनाएपछि झनक्क रिस उठ्यो । आमालाई भने ‘हन घरमा बस्नेहरूले फिनेल छर्केनौं ?’
सुब्बेनी केही बोलिनन् ।


झोक्किएर दोस्रोपटक सोध्दा सुब्बेनी बोलिन्, ‘अघि बनाउँदै थियो सन्तुले ।’


‘कहाँ गयो मुला ?’


‘नहरलगन जान्छु भनेर गएको छ ।’


सुब्बा अनुहार बिगारेर सुनिरहे । बाहिर भाडा धुँदै गरेको आवाज आयो ।


‘आज तो जल्दी जल्दी हो गया खाना माया ?’ पल्लो घरको गालो आन्टीको आवाज सुनियो ।


‘खालिया आन्टी,’ मायाको बोली सुनियो ।


पछाडिपट्टि अलिकता जमिन खाली छ, त्यसैमा भाडा माझ्ने ठाउँ बनाएका छन् । अघिभन्दा पानी अझै जोरजोरले पर्न थाल्थो । टिन थर्केर एक अर्को बोलेको सुनिएको छैन ।


सुब्बेनीले फेरि सोधिन्, ‘अनि नेपालचाहिँ कहाँको रहेछ हिजो मर्ने मान्छेको घर ?’


जिल्ला रामेछाप तर गाउँ कहाँ हो थाहा छैन । बाउआमा नै बम डिस्टिकमा बस्थे रे । पेसा आरा काट्दा एक दिन खबर आयो रूख काट्दाकाट्दै आफैंतिर आएर किचेर मारेको । लास हेरिसक्नु थिएन रे त्यसैले लासलाई उतै पुरेको खबर आएपछि लोग्नेको पीर र लगातार दुई महिना थला परेपछि आमा पनि मर्‍यो भन्ने सुनिएको हो । हिजो छोराको पनि बेवारिस मृत्यु भयो यसरी मर्नेहरूको कथा कति छ कति भनेर साध्या छैन । मान्छेलाई दुःखले जिउँदै मार्दोरहेछ ।


सी सेक्टरभरि त्यो अपरिचित नेपाली केटोको मृत्युको विषयमा चर्चा चल्यो । निहुँचाहिँ मासुपसल नजिकै सानो भुइँमा सब्जी पसल राखेको रहेछ । त्यही निहुँमा ट्राइबल आइमाईले चिर्पटै चिर्पटले पिटेको रहेछ । एउटा बीभत्स मृत्यु । अरुणाञ्चलको पाखाहरूमा नेपालीको कस्तो सस्तो मृत्यु ? जे होस् यो केटोको मृत्युले देशै बिर्सिएर बाँच्नेहरूको निम्ति प्रश्न गरेर गयो । धेरैले मनमनै हत्यारालाई उजुर दिएर जेलसम्म पुर्‍याए तर कोही चुँक्कसम्म बोलेनन् । पेटको निम्ति मर्दै मर्दै बाँचेकाहरूलाई मानव अधिकार के हो ? थाहै छैन ।


कतिले भने— हुँदा खान्थ्यो, नहुँदा भोकै सुत्थ्यो । आँत कमजोर भईसकेको थिय‍ो । यो झरीमा कुटाइकै कारण मर्‍यो, दुःख लुकायो । धेरैले मनमनै सोचे, यो ठाउँमा नाकसन्तान कोही नआओस् । जे होस् उसको मृत्युसँगै मान्छेहरूमा विद्रोह जन्मिसकेको थियो । सी सेक्टरभरि उसको मृत्युबारे भित्रभित्रै आगो सल्किएको थियो । आतंकित थिए । सबै दुःखी थिए । यो घटनापछि बाहिरबाट आएर बसेकाहरूले पहिलोपल्ट आफैंले आफैंलाई प्रश्न गरिरहेका थिए ।


तेस्रो दिन, अझै पानी रोकिने छाँटकाँट छैन । लगातारको वर्षाले चिसो स्वाट्टै बढेको छ । इटानगरमा चिस‍ो यति छ कि अ‍ोछ्यान छोड्ने मनै छैन । मध्यदिन भैसक्दा पनि हुस्सुले पूरै सहर छोपिएको छ । रातो चिया खाँदै सुब्बेनी सिरकभित्रै बसिरहेकी थिइन् । माया फाटेको सुरुवाल सिलाउँदै थिई । राकेश गितार बजाउँदै थियो कहिले नसुनेको नेपाली गीत गाउँदै ।


सुब्बा दिउसोको खाना खान आए । जुत्ताको तुना फुकाल्दै दैलोको पेटीमै बसे ।


सुब्बेनी बोलिन्, ‘बाउ ।’


सुब्बा बिस्तारै बोले, ‘ह ।’


सुब्बेनी बिस्तारै बोलिन्, ‘लास कहाँ छ अहिले ?’


‘बन्दरदवा लगेर जलाएछन् बेङ्तीनलीमा होटल चलाउने गुरुङ्नी ठूलीको भाइ रमेश र अरू छ सात जना मिलेर ।’


‘मर्दा लाससम्म जलाउन नदिने यो ठाउँमा मान्छेको ओइरो पनि कति लागेको ?’ सुब्बेनी रिसाएर फुस्फुसाइन् । सुब्बा चुप लागेर सुनिरहे । मंगोलियन ती आखाँ कहिल्यै यति विरक्त थिएनन् । सधैँ दिउसो खाना खान आउँदा एक छिन आँखा झिमिक्क पार्थे तर आज आँखा शून्य छ । निद्राको नामनिसान छैन । यसरी वर्षौंदेखि घर परिवारसँग बिछोडिएर एक्लै एक्लै यो ठाउँ मात्र नभएर पूरै भारतको उत्तरी भूभागमा फिँजिएर बस्ने नेपालीहरू लाखौंको संख्यामा छन् । धेरैजसो त नेपाल फर्कन्छु भन्दाभन्दै मरेर जान्छन् । कहिले नसकिने दुःख र सपना एकसाथ बोकेर हिँड्ने यो पृथ्वीभरि दुःखी मान्छे छन् भने यहीं छन्जस्तो ।


कुनै समय सुब्बा दाइको तुजुक पहाड फोड्ने थियो । बम डिस्ट्रिक र क्युमाको घना जंगलहरूमा लकडी त कति काटे काटे मात्र जीवनको दुःखलाई काट्न सकेनन् । महिनौं घना जंगलमा बिताएका छन् । चिन्नेहरू भन्छन् यो ठाउँमा एकाध घरहरू हुँदादेखि सुब्बा दाइ सी सेक्टरमा छन् । कुनै लोककथाको पात्रझैं लाग्ने सुब्बा दाइले मन्त्री क्वाटर बेङ्ती नली र सी सेक्टरको उकालो ओरालो हिँडेको पाइला गन्ती गर्ने हो भने पूरै पृथ्वी चक्कर लगाएको हिसाब निस्कन्छ ।


त्यो घटना भएको पाँच महिनापछि आज सी सेक्टरको भिरालो पाखामा बनेका सयौं कटेरोमध्ये सुब्बा दाजुको कटेरोमा थोत्रे टिनको दैलोमा ताला झुन्डिरहेको थियो । कहाँ गए, कतिखेर गए थाहै भएन । सबैले अनुमान लगाए— नेपाल गए होला ! घरभित्र भने साँघुरो प्यासेजमा गमलामा फुलिरहेको हल्का गुलाबी कलरको जिरेरियम फूललाई हुस्सुसँगै चलिरहेको बतासले हल्लाउँदा एउटा–एउटा गरेर पत्रहरू झरिरहेका थिए ।

प्रकाशित : आश्विन ११, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?