फ्ल्याट नोज बेबिज फिनोमेना

तीर्थ गुरुङ

बाटुलेचौर, पोखरास्थित कोमागाने मितेरी प्रसूति अस्पतालमा आफ्नो प्रथम बच्चाको मुहार हेरिरहेको अभिनव अर्यालको खुसी केही छिन पनि टिकेन  । आँखा नीलो वा कपाल कैलो वा दुवै भएको भए कुनै पश्चिमेलीजस्तो लाग्ने उसको अनुहारबाट खुसीका रङहरू अनायसै पखालिए जब उसले मलमलको सानो ब्लान्केटमा बेरिएर आएको नवजात शिशुलाई केही बेर हेर्‍यो  ।

गर्भमा रहेको अवधिमा गरिएको भिडियो एक्सेरेमा बच्चा स्वस्थ र नर्मल भनिएको थियो । त्यसैले उसले शिशुका हातखुट्टाहरू अवलोकन गरेन । गुलाबी रङको शिशुलाई उसले आँखाभरि खुसीका आँसु छचल्काइरहेकी आफ्नो अलि पुरानो विचारधारिणी सासूको हातबाट पनि लिएन । चम्किलो प्रकाशमा स–साना आँखाहरू बिस्तारै चलिरहेका भए पनि उसले त्यति याद गरेन । सायद, हैन यथार्थमै नवजात शिशुको नाकले उसको भृकुटी खुम्च्याइदियो । त्यो उसको जस्तो लाम्चो र चुच्चे थिएन न त त्यो नाक न्यान्सी न्यौपानेको जस्तो खिरिलो र सौम्य नै थियो । त्यो नाक यति थेप्चिएको थियो कि नाकको नामोनिसानको रूपमा दुइटा स–साना प्वालहरू मात्र थिए । उसका आँखाहरू बच्चाका कानमा भने परेनन् जो अस्वाभाविक किसिमले ठाडा थिए । उसले बच्चालाई अलि उपेक्षा गरेजस्तो गरेर हेर्‍यो र सुस्तरी आफ्नो आमालाई सोध्यो, ‘बच्चा साटिएको त हैन होला नि है मामू ?’

नाक खुम्च्याएर बच्चालाई हेरिरहेकी आमाले भनिन्, ‘आँखा र मुखको वरिपरि त आफ्नो आमाजस्तै देखिन्छ तर बच्चाचाहिँ तिम्रो होइन ।’

बाहिरतिर चाहिँ अधिकार र शक्तिको आभा लिएर हिँडिरहनेजस्तो तर श्रीमतीको छेउमा चाहिँ ती सब गिरेका जस्ता पिताले अलि हाँस्दै भन्यो, ‘के भन्छन् आमा छोरा, मलाई त सबै बच्चा एउटै लाग्छन् त ।’ श्रीमतीको तिखो नजरले डाम्न नपाउँदै उसको हाँसो कतै अन्तरध्यान भइसकेको थियो । अभिनवले नजिकैकी एक जना बाटुलो अनुहार भएकी नर्सलाई सोधिहाल्यो, ‘मेरै बच्चा हो र सिस्टर ?’ नर्स नाजवाफ भइन् र नजिकैकी सहकर्मीलाई हेरिन् । अर्की परिचारिकाले व्यावसायिक अभ्यस्त मुस्कान अभिनवतिर फ्याँक्दै भनिन्, ‘किन त्यसरी सोध्नुभा ? बच्चा एकदम राम्रो छ, तीन किलो आठ सय ग्रामको घोर्ले छोरो पाएकोमा तपाईंलाई बिग कंग्रेचुलेसन्स, रिजनल एनेस्थेसिया भएकाले आमा होसमै हुनुहुन्छ तर उहाँलाई रेस्टको आवश्यकता छ । अहिलेलाई तपाईंहरू एकेक गरेर भेट्न सक्नुहुन्छ ।’ मनभरि शंका र आक्रोश भए पनि तिनलाई उसले आफ्नो आर्जित शिक्षा, कृत्रिम बडप्पन र सीमित इज्जतले थिचेर राख्यो ।


अभिनवकी आमालाई कसैको डर थिएन, बच्चालाई घृणापूर्वक पनि नहेरी बुहारीको अगाडि गइन् र कर्कश स्वरमा भनिन्, ‘के हो बुहारी, बच्चा त काटीकुटी केही मिल्दैन त, यतै माइतमै जागिर गर्छु भन्थ्यौं, कुन गुरुङ–मगरको पाप बोकेर मेरो घरमा ल्याउन खोजेकी हौ ?’


न्यान्सीका आँखाहरू प्रारम्भमा त अचम्म र तत्पश्चात् अपहेलनावश विस्फारित भए । उनी अक्क न बक्क परिन् । अभिनव पनि आक्रोशपूर्ण मुद्रामा आमाको छेउमा उभिरहेको देखिएपछि केही नभनी बरबर आँसु मात्र झारिरहिन् । न्यान्सीकी आमामाथि मानौं बज्रपात भयो । उनले सम्धिनीतिर पुलुक्क हेरिन् र अभिनवलाई मात्र यति भनिन्, ‘के भनिबक्सेको ज्वाइँसाब ? हजुरबाट यसप्रकारको अपेक्षा मैले गरेकी थिइनँ ।’ अभिनवले केही भनिरहन जरुरी ठानेन सायद किनभने उसको माता स्वयम् फत्फताइरहेकी थिइन्, ‘मलाई त सुरुमै निको लाको हैन, काठमाडौंको त्यस्तो राम्रो जागिर नखाई यो सानो सहरमा मास्टर्नी हुन आउँदा नै मलाई शंका लागेको हो...।’


बाटुली नर्सले बूढी सासूलाई त्यहाँबाट निस्कन आग्रह गरिन् र नवजात बच्चालाई इन्क्युवेटरमा राखिदिइन् । अभिनवअगाडि उभियो र काँपिरहेको स्वरमै सोध्यो, ‘हैन, यो बच्चा मेरो हैन न्यान्सी । यो धोका हो, सो सो डिस्कस्टिङ !’ यति भनेर ऊ त्यहाँबाट बाहिरियो । न्यान्सीलाई ऊ हिजो, हैन, अघि भर्खरसम्म न्यान मात्र भन्थ्यो । उसको अलि झुकेर बोल्ने र सधैं देखिने हँसिलो अनुहार आज, अहिले खास गरेर शिशुको आगमनपछि एकाएक परिवर्तित भएको थियो । यी सब कुराहरू न्यान्सीका लागि कुनै दुःस्वप्नजस्ता डरलाग्दा थिए । यो अचानकको व्यवहारले उनलाई गहिरोभन्दा गहिरो पीडा दियो । उनी आघातले निःशब्द बनिन् । आफूतिर एकपटक राम्रोसँग नहेरीकन भएको अभिनवको बहिर्गमनले न्यान्सीको छातीमा ठूलो भूकम्प ल्याइदियो ।


बाहिर आएपछि अभिनवले आमालाई सानो स्वरमा भन्यो, ‘भयो, यहाँ कराएर हाम्रै इज्जत जान्छ मामू । चर्को चर्को नबोलिस्योस् ।’ अस्पतालको करिडरमा खासखुस कुराहरू भए । पिताले अभिनवलाई सुझायो, ‘धेरै लफडा नगरौं, यतातिरका कोहीसँग हामी केही नभनौं, बरु यहीं डीएनए परीक्षण गराइहालौं । त्यसको नतिजा आएपछि के गर्नुपर्ने हो गरौंला ।’


तनावग्रस्त अभिनव तुरुन्तै अस्पतालको क्यास काउन्टरमा गयो, पैसा बुझायो र भुइँतलामा अवस्थित प्रयोगशालामा गयो । एक जना फ्रेन्चकट दाह्री पालिरहेको थेप्चेनाके ल्याब टेक्निसियनले अभिनवको रगत तान्नुअघि ‘रिल्याक्स प्लिज’ भन्यो र तानिसकेपछि हाँस्दै भन्यो, ‘बेबीको अलरेडी यहीँ छ, उसमा केही समस्याहरू छन् कि भनेर हामी छिट्टै मनिटर गर्छौं, त्यस्तो केही नहोला, रिपोर्ट भोलि दिउसो बाह्र बजेतिर तयार हुन्छ, ढिलोमा तीन बज्ला । माथि काउन्टरबाट बुझ्न सक्नुहुन्छ, अथवा बिलमा तपाईंले उपलब्ध गराउनुभएको आईडीमा पनि मेल आउँछ ।’


अभिनवले भित्ताको घडी हेर्‍यो, बिहानको साढे आठ बजिरहेको थियो, उसले सोध्यो, ‘आजै हुन सक्दैन ?’


ल्याब टेक्निसियनले हाँस्दै तर लगभग गर्वका साथ भन्यो, ‘सरी सर, पूरा नेपालभरि फास्टेस्ट सर्भिस हामी दिन्छौं । हालै जापानबाट झिकाइएको यो मसिन यहाँ मात्र छ । अरू ठाउँमा डीएनए रिपोर्ट आउन तीनदेखि चार दिन लाग्छ । म्याटरनिटी सर्भिसमा हाम्रो हस्पिटल नेपालभरिकै उत्कृष्ट हो ।’


प्रतीक्षालयमा आएपछि उसले आफ्ना बेचैन मातापितालाई हेरिरहन सकेन । ऊ माथि ओटीसँगैको सुत्केरी वार्डको क्याबिनमा पनि जान सक्ने थिएन । उसले आफ्नो पितालाई रिसाएको जस्तो पारामा भन्यो, ‘हजुरहरू पर्दैन भनेर पनि बेकारमा आइस्यो, यसो गरिस्योस्, कार हायर गरेर पोखरा घुमिस्योस् वा घरै गइस्योस् । म यताको समस्या आफैं सम्हाल्छु ।’


‘यस्तो बेला के घुम्नु ?’ रातो सारीमा सजिएकी माताचाहिँले खुइय्य सुसेल्दै भनिन् । पिताचाहिँले भन्यो, ‘केही घुमौं, जान त जतिखेर गए पनि भैहाल्यो नि ।’


अचानक मौसम खराब भएर अन्तिम अवस्थामा काठमाडौं पोखरा उडान अनिश्चित घडीसम्मका लागि स्थगित गरिएकाले काठमाडौंबाट बुलेट रेलमा भर्खरै आएका अभिनवका मातापिता यात्राले त थकित थिएनन् तर नवसन्तान आगमनको खुसियाली मनाउन हैन, धोका भएको विश्वासले तनावग्रस्तचाहिँ थिए । ससुराली आउँदा ऊ पत्नी न्यान्सीकै कारमा सहर विचरण गर्थ्यो तर अब ऊसँग विकल्प थिएन । चाहिन सक्छ भनेर राखेको नम्बरमा उसले फोन हान्यो, व्यस्त थियो । तेस्रोपटक डायल नहुँदै उताबाटै तुरुन्त फोन आयो, ‘जी, ओबराय कार हायरिङ, जीपीएस बता रही है आप बाटुलेचौरके वह म्याटर्निटी हस्पिटल में हैं, आप के लिए क्या कर सकते हैं ?’ पूर्ण व्यावसायिक त्यो पुरुष स्वरमा विनयशीलताभन्दा पनि आदेशात्मकता हावी भएको जस्तो अनुभव गर्‍यो उसले । आफ्ना मातापिताको मनस्थिति अलि खल्बलिएको अवस्थामा भएकाले उसले पूर्ण स्वचालित कार मगाउन चाहेन । उसले अलि दबेको स्वरमा जवाफ दियो, ‘जी सर, एक ड्राइवरवाला भेज दिजिएगा प्लिज, मेरे पापाको सेल्फ ड्राइभिङ कारोंसे तनिक घबराहट है ।’ त्यो सत्य पनि थियो । उताबाट आवाज आयो, ‘जी बिल्कुल, वही इलाके में हमारा २३१ हैं, अभी हाजिर रहेगा, जस्ट टु मिनट सर ।’


कम उत्साहका साथ आफ्ना मातापिता अस्पतालबाट बाहिरिएको हेरेपछि अभिनव एक छिन त त्यसै यताउति भइरह्यो । प्रतीक्षालयमा निस्कने लिफ्टको ढोकाबाट एक जना प्रौढ मानिस हाँस्दै निस्कियो । उसको हातमा एउटा सानो हाते कोक्रो थियो र कोक्रोतिर हेर्दै भनिरहेको थियो, ‘के गर्ने मेरो नातिनी, तिमीसँग त देशको शासन गर्ने नाक होलाजस्तो छैन, यस्तो थेप्चे नाक कसरी पो भयो हँ, ममीको गर्भमा अँठियो कि क्या हो, हा हा हा ।’ सँगैकी धर्मपत्नी र बच्चाको आमा मुसुमुसु हाँसिरहेका थिए । उसलाई एकतमासले नरमाइलो लाग्यो ।


अस्पतालमा अरू केही गर्न नसकेर ऊ बाहिर निस्कियो र लुखुरलुखुर उत्तरतिर हिँड्यो । मैदानचोक नआउँदैको विशाल क्याथोलिक चर्च र झलकमान गन्धर्व संगीत महाविद्यालय बीचको एउटा आधुनिक रेस्ट्रो एन्ड बारमा छिर्‍यो । हलमा सारङ्गीको उदास तर मधुर धुन गुन्जिरहेको थियो । ग्राहक नभएर सुनसानजस्तो भएको थियो । ऊ बिस्तारै काउन्टरमा पुग्यो । मोबाइलमा झुकिरहेकी काउन्टरकी युवती सायद अर्कै संसारमा थिइन् । अभिनवले हल्का खोकेको स्वाङ पार्‍यो । युवती हत्तपत्त उभिइन् र मुस्कुराउँदै अभिवादन टक्र्याइन् । अभिनवले अनुमान गर्‍यो, त्यो रेस्ट्रोमा जागिर खाना आएकी तिनी चिनियाँ युवती हुनुपर्छ । उसले अंग्रेजीमै सोध्यो, ‘क्यान आइ ह्याब प्रिवेसी ?’


क्याबिन पूर्णतः शान्त थियो । ऊ थचक्क सोफामा बस्यो । आफूलाई एक्लो पाएपछि उसका मनभरि न्यान्सी घना रूपमा छाउन थाली । एकार्काका विचार र निर्णयलाई सम्मान गर्ने नाममा हतारमा उनीहरूले छुट्टाछुट्टै पेसा रोजेका मात्र थिएनन्, कर्मथलो पनि अलगअलग ठाउँमा बनाएका थिए । अभिनवले आफ्नो जन्मभूमि काठमाडौं छोड्न सकेको थिएन र न्यान्सीचाहिँ पोखरामै रमाइरहेकी थिई । कलेजका दिनदेखि लिभिङ टुगेदरमा बसेर विवाहको दुई वर्षजति सँगै बसेका थिए । तर, दुवैले जीवनमा नीरसताजस्तो अनुभव गर्न थालेदेखि केही नयाँपन र केही रोमाञ्चकताको नाममा कम्तीमा हप्तामा एक दिन भेट्ने अलिखित सम्झौता गरेका थिए । अलगअलग सहरमा भएपछि अभिनव पहिलाको भन्दा स्वतन्त्र र क्रियाशील भएको थियो । कहिलेकाहीं उसको जस्तो स्वतन्त्रता न्यान्सीले पनि भोग गरिरहेकी पो छिन् कि भन्ने उसलाई नलाग्ने हैन । खास गरेर यौनको मामलामा आउँदा उसको मनमा पहिरो जाने गर्दथ्यो । न्यान्सीको याद, जुन मायालुभन्दा आक्रोशपूर्ण बढी थियो, ले अभिनवका आँखाबाट आँसु झर्न थालिसकेको थियो । त्यति नै बेला ढोका ढक्ढक्याइयो । पेपर न्याप्किनले हतपत आँसु पुछ्दै उसले ‘एस’ भन्यो । एकजना चिटिक्क परेकी केटी भित्र पसी र अर्डन सोध्न थाली ।


जति नै सफासुग्घर भए पनि अस्पताल वा त्यसको परिसरमा केही खान अभिनवलाई सिकसिक लाग्थ्यो । त्यसैले उसले हिजो बेलुकी न्यान्सी लेबरमा गएदेखिन केही खाएको थिएन । भेज स्यान्डविच र अमेरिकानो मगाएर बसेपछि उसलाई एकतमासको उदासीले आक्रमण गरेर ल्यायो । अघि मातापितासँग हुँदा उसलाई यतिबिघ्न लागेको थिएन । एकै छिनमा उसलाई न्यान्सीको याद आयो । चारदेखि बाह्र कक्षासम्मको सहपाठी, आफ्नो रुचिअनुसार अंग्रेजी विषय लिएर मानविकीमा भर्ना भएकी, पारिवारिक सल्लाह र आफ्नै रहरमा व्यवस्थापन विषय पढ्न थालेकी । एमबीएपछि ऊ बैंकको आकर्षक जागिर खाँदै गरेकी । उनी आफू समर्पित शिक्षकको रूपमा स्थापित । तर मायाको कारणले जस्तो कि अघि नै भनिएको छ, लिभिङ टुगेदर र विवाह । अलि स्वतन्त्र भएर बाँच्न रुचाउने भए पनि न्यान्सी अभिनवलाई प्रेम गर्थी र लोग्नेलाई पनि पूरा स्वतन्त्रता दिन्थी ।


उसले स्यान्डविच पूरै खान सकेन । बडो मुस्किलले अमेरिकानो रित्याउन सक्यो । गहिरो उदासीमा कसैलाई फोन गर्ने विचार बीचैमा त्यागिदियो । अचानक उसलाई कताकता हतारमा निर्णय गरेको जस्तो लाग्यो । बिल तिरेर ऊ लगभग दौडिँदै अस्पताल पुग्यो । म्याटरनिटी वार्डको त्यो क्याबिनमा भीड थियो, उसको ससुरालीतिरका मान्छेहरूको । अभिनवले ढोका खोल्नेबित्तिकै हल्लीखल्ली अचानक बन्द भयो । उसले बच्चा च्यापिरहेकी न्यान्सीलाई हेर्‍यो । उसले सबैलाई सुनाउँदै न्यान्सीलाई भन्यो, ‘न्यान्सी म तिमीसँग एक छिन एक्लै कुरा गर्छु ।’ न्यान्सीका आँखामा घृणा देखेर ऊ केही हच्कियो । न्यान्सीको मामा, जो गण्डकी प्रदेशको सांसद थिए, ले भन्यो, ‘हेनुस् अभिनवजी अब तपाईंलाई ज्वाइँ भन्ने हाम्रो अधिकारलाई कुण्ठित पारिदिनुभयो । विवाह विश्वास हो । विश्वास नै नभएपछि, तपाईंले हाम्रा छोरीलाई जुन तल्लो स्थानमा खसालेर आरोप लगाउनुभयो, त्यो घाउ अब कहिल्यै पुरिनेवाला छैन । काठमाडौं जिल्ला अदालतमा हामी पारपाचुकेको मुद्दा दर्ता गरिहाल्छौं । मानाचामलको चिन्ता गरिरहनु पर्दैन । हामीले त तपाईंमाथि चरित्रहत्याको मुद्दा पनि लगाउने भनेका थियौं तर न्यान्सीले अस्वीकार गरिन् । अब तपाईं जान सक्नुहुन्छ ।’


अपमान, हीनभावना र क्रोध बोक्दै अभिनव अस्पतालबाट निस्कियो र मैदानचोकबाट अमला बिसौनी हुँदै लामाचौरतिर हिँड्दै गयो । न्यान्सीसँगै पढेको आफ्नो स्कुल गण्डकी बोर्डिङमा जाने नै भनेर ऊ हिँडेको थिएन । दस बज्नै लागेको थियो । विद्यार्थीहरू र बसभित्र पस्दै थिए । गेटमा उभिने आफ्ना पालाका मामाहरू कोही नभए पनि एग्बोसाको सदस्यको हैसियतले ऊ त्यहाँ गइरहन्थ्यो । ऊ सिधै गण्डकी कलेज अफ जेनेटिक इन्जिनियरिङको भवनतिर हान्नियो जहाँ उसको साथी श्रवण फगामी चिफ अफ डिपार्टमेन्ट थियो । आफ्नो कार्यकक्षमा हतास मनोदशामा अभिनव पस्नेबित्तिकै रातो पिरो श्रवणले बुझिहाल्यो उसको साथी गम्भीर समस्यामा छ । उसले हाँस्दै भन्यो, ‘ओए, के भयो तँलाई ? हिँडेरै आएको जस्तो देखिन्छ, ह्वाट्स टमाटर ?’ स्वयम्लाई उडाउने उसको अभिप्राय सफल भएन । उसको अनुहारको रातोपनले उसले सानैदेखि गोलभेंडा वा टमाटर भन्ने नाम पाएको थियो । उसलाई स्नेह गर्ने शिक्षकहरू पनि ‘ह्वाट इज द म्याटर’ नभनी ‘ह्वाट्स टमाटर’ भन्थे श्रवणलाई । अनि उसको रातोपन अझ घना भएर आउँथ्यो ।


अभिनवले बडो दुःखी हुँदै आफ्नो समस्या सुनायो । श्रवणले बिस्तारै भन्यो, ‘डीएनएको रिपोर्ट कुर्नुपर्थ्यो त, किन हतारिएको ? कहिलेकाहीँ त्यस्तो हुन्छ । उत्परिवर्तन भनेको सुनेको छ ? म्युटेसन भनिन्छ अङ्ग्रेजीमा । अहिलेको पोलुसन, जङ्क फुड, विभिन्न किरणहरूको एक्सोपोजरले कहिलेकाहीँ बच्चाको एबनर्मल किसिमको अङ्गविकास वा अङ्गभङ्ग हुन सक्छ, त्यसलाई म्युटेसन भनिन्छ । अनि माइन्ड गर्दैनस् थाहा छ, तेरो हजुरबा पहिला ट्राफिक पुलिसको डीआईजी भन्या हैन ? त्यो जमानामा काठमाडौंको धूलोमा मास्क लगाईलगाई नाक थेप्चिएको हुन सक्छ । पछि ड्युटी आवरमै बूढाको मृत्यु भएपछि तेरो ड्याडले बाई डिफल्ट हात पारेको त्यही ट्राफिकको जागिरमा मास्कले कति नाक थिच्यो होला, अनुमान गर्न सक्छ नि हैन ? मैले भन्न खोजेको त्यो बच्चाको बाजे र बराजुको नाक सधैं थिचियो अनि लमार्कको सिद्धान्तअनुसार नाकको आकार घटेर आयो । तर यति छिटो कसरी भयो त्योचाहिँ बुझिएन । तँ मकहाँ आए पनि म केही गर्न सक्दिनँ, न्यान्सी पनि मेरो साथी हो, म उनलाई दोषी र तँलाई निर्दोषी देख्ने गल्ती गर्न सक्दिनँ अनि रिल्याक्स भएर बस । सँयोगले आज मेरो मणिपाल अस्पताल जाने काम छ, म त्यहाँको डाइरेक्टरलाई चिन्छु, डा. सृजा । उनले मलाई लन्चका लागि निम्ता दिएकी छन् । वी क्यान ह्याब अ टक विथ हर इन दिस म्याटर ।’


श्रवण फगामीको विद्युतीय कारमा छिट्टै फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल नजिकैको आवासमा पुग्दा प्रवेशद्वारमै अभिनवको सोचविपरीत भर्खरकी जस्ती देखिने डा. सृजा गुरुङ उभिरहेकी थिइन् । ढिलो भएकाले उनीहरू सीधै डाइनिङ रुममा बसे । सृजाकी दिदी र आमा मिलेर सेलरोटीलगायत विभिन्न परिकार बनाएको भान्सामा संकोचवश अभिनव चुपचाप बसिरह्यो । श्रवण र सृजा वर्षौंदेखिका मित्रझैं गफिरहे । सृजाले चाहिँ बेलाबेला अभिनवलाई ‘फिल होम प्लिज’ भन्दै कुराकानीमा सादर सरिक हुन उक्साइरहिन्् । अभिनवको समस्या अवगत भएपछि सृजा केही गम्भीर बनिन् र सीधै कुराकानीको निचोडमा आएको जस्तो बनिन्, ‘हेर्नुस् अर्यालजी, तपाईंलाई जस्तो हाम्रो लागि पनि यो नौलो केस हो । एकाध घटना भए त यसलाई सामन्य रूपमा लिन सकिन्थ्यो तर अनौठो किसिमले यस्ता धेरै केस आएका छन् । यो काठमाडौं, पोखराजस्ता ठूला सहरमा बढी देखिएको छ अनि तपाईं माइन्ड गर्नुहुन्न भने आर्य जातिमा यस्तो बढी पाइएको जस्तो छ । हुन त केही मंगोल जातिमा पनि यस्तो भेटिएको छ ।

सातादिन पनि भएको छैन, मेरै हस्पिटलमा एउटा टेरिबल एक्सिडेन्ट भयो । बच्चाको नाकको विषयमा प्यारेन्ट्समा झगडा भयो बाउले बच्चा लिएर जान मानेन । आमाचाहिँ सीधै माइतमा गएर बसेकी छन् । यसलाई हामीले ‘फ्ल्याट नोज बेबिज फिनोमेना’ नाम दिएका छौं तर नाक मात्र हैन, जिब्रो पनि अलि सानो आकारको पाइएको छ र अर्को कुरा यी शिशुहरू सामान्यभन्दा सामान्य आवाजमा तर्सिने भएका छन् । उनीहरूको श्रवणशक्ति अन्य शिशुको तुलनामा बढीजस्तो देखिन्छ तर उनीहरूको रुवाइ भने अरूको भन्दा कम छ । शिशुहरूमा अन्य कुनै एब्नर्मलिटी पाइएको छैन । यो चिकित्सिया रहस्यले अहिले अलि प्यानिकको स्थिति छ । मेडिकल काउन्सिलले स्वास्थ्य मन्त्रालयमा अलि परिपक्व नतिजा पठाएपछि सरकारले यो कुराको बारे छिट्टै केही भन्ला ।’

बाहिर निस्केपछि कारमा अभिनवले श्रवणलाई नर्भस हाँसोसहित सोध्यो, ‘डाक्टरसित तेरो चक्कर त छैन नि ?’
श्रवणले कर्के आँखाले हेर्दै भन्यो, ‘सी इज अ डिभोर्सी बट अर्कोचोटी भेट्दा भाउजू भनेर सम्बोधन गरेस् ।’

‘साले टमाटर, भाउजूले सस बनाएर खानबेर छैन ।’ दुवै जना मजाले हाँसे । तर अभिनवको अनुहारमा छिट्टै त्यही अँध्यारोले बास माग्न आयो । श्रवणलाई कलेजतिरै पठाएर अभिनव एक्लै पोखरामा भौंतारियो । यसबीच उसले आफ्नो पितालाई फोन गर्‍यो र थाहा पायो उनीहरू ट्राफिक प्रहरीका एसपी साबको आवासमा आराम गरिरहेका छन् । बैदामतिर हिँड्दै गर्दा उसले न्यान्सीलाई फोन गर्न खोज्यो तर गरेन । ऊ न्यान्सीसँग मजाले झगडा गर्न चाहन्थ्यो ? पश्चात्ताप व्यक्त गर्न चाहन्थ्यो ? आफ्नो उकुसमुकुस पोख्न चाहन्थ्यो ? ऊ आफैंलाई थाहा थिएन । ऊ एक्लै पामेतिर हिँडेर गयो । साँझ नढल्दै ऊ एउटा बारमा छिर्‍यो । सुनसान बारमा कुनै पश्चिमी संगीत बजिरहेको थियो तर उसलाई त्यहाँ कोलाहलको अनुभव भयो । केही समयपछि थरीथरीका मान्छेहरू आए । बारले जीवन्त रूप लिएपछि उसलाई असाध्य एक्लो महसुस भयो । रात भइसकेपछि ऊ निस्कियो । अचानक उसको फोन बज्यो । न्यान्सीको होला जस्तो लागेर हेर्दा प्रदीप्तको थियो । तीन दिनअघि सँगै बसेर पिएको प्रदिप्तले सोध्यो, ‘कहाँ हो तिमी ? समय छ भने, राइटर्समा आऊ, तिमी आउँछौ भने श्रवण पनि आउँछ ।’


ट्याक्सी लिएर ऊ न्युरोड गयो र राइटर्समा पस्यो । कवि लेखकको लागि लेखपढ गर्न र अस्थायी किसिमले बस्न मिल्ने राइटर्स कर्नर नगरपालिकाको पुरानो भवनमा आधुनिक शैलीमा बनेको थियो । स्कुलमा कविता र गजल सुनाएर दिक्क पार्ने प्रदीप्त पछिल्लो समय नेपालको एउटा चर्चित लेखक भइसकेको थियो । राइटर्स कर्नरको उपन्यास कक्षमा किताबैकिताबको बीचमा बसेर प्रदीप्त हातमा एउटा गिलास समाइरहेको थियो । अभिनवको हालत देखेर प्रदीप्त अलि आहत भयो । अभिनवले एकै सासमा आफ्नो नवीनतम अवस्था बतायो । श्रवणले सबै बताइसकेको भनेर प्रदीप्तले उतिसारो प्रतिक्रिया दर्साएन । श्रवण पनि हातमा ब्ल्याक लेभल बोकेर आयो । प्रदीप्तले अघि नै स्न्याक्सहरू जम्मा गरेर राखिसकेको थियो । श्रवणले बोतलको बिर्को खोल्दै भन्यो, ‘ल गाइज, आज त जसरी पनि पिउने प्लान थियो । खुसियालीमा पिउन पाएनौं त के भो, यो उदासी कृत्रिम पनि त हुन सक्छ । कम अन चियर अप अभि, अब हामी पिउँदै तिम्रो अवस्थाप्रति हाम्रा सेलेब्रेटी राइटरको विचार श्रवण गर्ने ।’


एताउतिका टिप्पणीहरूपछि उनीहरू मूल समस्यामा आइपुगे । प्रदीप्तले विचार राख्यो, ‘अरू केही हैन, बल्ल देखिएको हो, हाम्रो नाक गएको । हामीले देखेका यी भौतिक निर्माणहरू के हामीले आफैं बनाएका हौं ? आपत् पर्दा जस्तापाता र त्रिपालसमेत माग्न हात फैलाउने हामी सधैं अरूतिर आशालु नजर लिएर बसिरह्यौं । हाम्रो स्वाभिमानले बनाएको यहाँ खै के छ ? नीतिनिर्माण र नेतृत्वमा बस्नेहरूले देश खोक्रो पारे । छिमेकीको दयाको भरमा बनेका यी संरचनामा के हामीले गर्व गर्न हुन्छ ? यही कारणले हाम्रो नाक उहिल्यै काटिइसकेको हो । त्यसको नतिजा अहिलेका शिशुहरूमा देखिन आएको हो । हाम्रा पुर्खाले त देश दिएर गए तर हामीले हाम्रा सन्ततिलाई लाज र लघुताभास दिएर जाँदै छौं । यस्तो त हुनु नै थियो । तर केही हैन, धेरै राम्रो हुनेवाला छ अब । ठूलो कानको अर्थ उनीहरू धेरै सुन्दै छन् र सानो जिब्रोको अर्थ उनीहरू थोरै बोल्नेछन् ।’


त्यही बेला उसको पिताको फोन आयो । सुरुमा उसले उठाएन तर पछि आफैंले गर्‍यो । छोराको भासिएको जस्तो आवाज सुनेर बाबाले भन्यो, ‘बाबु, तिम्रो मामू र मैले हस्तक्षेप गरेको जस्तो लाग्यो भने भन्नू, बुहारीसँग कुरा गर्न मन लागे गर । हामीले अलि हतारमा निर्णय गर्‍यौं कि जस्तो लागेको छ । जीवन तिम्रो हो, पुनः विचार गर, अहिले पनि केही बिग्रिहालेको छैन ।’


साथीहरूले पनि उसलाई न्यान्सीलाई फोन गर्न भने । उसले दुईपटक मात्र गर्‍यो र केही समयपछि छोटो एसएमएस पायो, ‘आएम डेड फर यु एन्ड सो यु आर फर मी, नेवर ट्राई टु कन्ट्याक्ट मी, एवर ।’


भोलिपल्ट बिहान प्रदीप्तको एपार्टमेन्टमा उठेर मुख धोइरहँदा उसले वास बेसिनमा एउटा नाकको चुच्चो भेट्टायो । उसले ऐनामा हेर्‍यो । उसको नाकको टुप्पो खसेको रहेछ । रामघाटस्थित गण्डकी अस्पतालको प्लास्टिक सर्जरी विभाग अगाडि मान्छेहरूको भीड थियो । सबैले मुख छोपेका थिए।

प्रकाशित : आश्विन ११, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

कथा : छापामारको छोरो–२

महेशविक्रम शाह

भुइँमा खुट्टा बजारेर सलाम ठोक्दै मेरो बडिगार्डले भन्यो, ‘सर छापामारको छोरो भन्ने हजुरलाई भेट्न चाहन्छ  । ’‘हँ... को रे ?’ कता कता सुनेझैं, महसुस गरिरहेझैं लाग्यो मलाई यो नाम  ।

‘छापामारको छोरो सर ।’ मेरो बडिगार्डले नाम दोहो‌र्‍यायो ।


‘छापामारको छोरो !!’ मेरो स्वरमा किञ्चित आश्चर्य थियो ।


‘हो सर ! छापामारको छोरो ।’ आफ्नो बोलीमा मेरो गार्ड आश्वस्त देखिन्थ्यो ।


‘कहाँ छ त्यो ?’ मैले गार्डको अनुहारमा हेर्दै भने ।


‘जिल्ला प्रहरी कार्यालयको हिरासतमा छ सर ।’ छाती तनक्क तन्काउँदै गार्डले फेरि सलाम ठोक्दै भन्यो । ऊ आफ्नो अनुहारमा आत्मविश्वासको भाव ल्याउने प्रयास गरिरहेको थियो ।


’प्रहरीको हिरासतमा छ ऊ ?’ मैले अचम्म मान्दै गार्डको अनुहारमा हेरें ।


‘हजुर सर । उसलाई प्रहरीले पक्रेर ल्याएको तीन दिन भयो । ऊ विप्लव माओवादी हो सर । तर खोइ किन हो आफूलाई छापामारको छोरो भन्दोरैछ हजुर ।’


आफ्नो अनुहार खुम्च्याउँदै मेरो गार्ड बोल्यो ।


उसको अनुहारको भावले बताउँथ्यो उसलाई यसभन्दा बढी केही थाहा छैन । तर मैले सोध्न सक्ने सम्भावित प्रश्नको अनुमान गरेर ऊ तनावग्रस्त बनिरहेको थियो ।


छापामारको छोरो नामले मेरो दिमागमा हलचल मच्चाइसकेको थियो । को होला त्यो ? मेरो मस्तिष्कमा अनेक विचार आइरहेका थिए । मैले जीवनमा पहिलोपटक छापामारको छोरोलाई अठाह्र वर्षअघि रोल्पामा भेटेको थिएँ । त्यस बेला म जिल्ला प्रहरी कार्यालय, रोल्पाको प्रमुख थिएँ ।

माओवादीहरूको सन्देशबाहकका रूपमा काम गरेको अभियोगमा छापामारकी स्वास्नीलाई प्रहरीले समातेको थियो । साथमा छोरो पनि भएकाले उसलाई पनि प्रहरीले आमासँगै ल्याएर हिरासतमा राखेको थियो । विद्रोही माओवादी छापामारको छोरो भएकाले उसलाई प्रहरीहरू छापामारको छोरो भनेर बोलाउने गर्थे । फुच्चे छापामारको छोरो बालक भए पनि निडर र निर्भीक थियो ।

ऊ निसंकोच प्रहरीहरूको जमात अगाडि छापामार युद्धकलाका करतबहरू प्रदर्शित गरिरहेको थियो । उसको यस कलाकारिताले प्रहरी कार्यालयमा हलचल मच्चाएको थियो । हामीले केही दिनपछि कानुनी प्रक्रिया पूरा गरेर मानवीयताको आधारमा आमा–छोरा दुवै जनालाई हिरासतमुक्त गरी घर फर्काइदिएका थियौं । घर फिर्ता पठाएको दोस्रो दिन नै छापामार आएर आफ्नी स्वास्नी र छोरोलाई जंगलमा लिएर गएको खबर हामीछेउ आइपुगेको थियो ।


मैले स्मृतिको पर्दा उघारेर अतीतमा चियाएँ । द्वन्द्वकालीन दिनको सम्झनाले मलाई भावुक बनाएको थियो ।


‘त्यो फुच्चे छापामारको छोरो अहिले कहाँ होला ? उसको बाबु र आमा के गर्दै होलान् ? सशस्त्र द्वन्द्वको चपेटामा परेर जीवन गुमाएका रहेनछन् भने सायद जीवितै होलान् । दसवर्षे माओवादी सशस्त्र द्वन्द्वको समाप्तिपश्चात् देशमा शान्ति बहाल भयो ।नागरिकले नयाँ संविधान पाए । देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लागू भयो । सायद उसका बाबुआमाले पनि माओवादी जनयुद्धमा गरेको योगदानस्वरूप पक्कै उपल्लो पद र पहुँच भेट्टाए होलान् । छापामारको छोरोको बाबु केन्द्र अथवा प्रदेश सरकारको मन्त्री नै पो बनिसक्यो कि ! छापामारको त्यो फुच्चे छोरो पनि पच्चीस छब्बीस वर्षको लक्का जवान भइसक्यो होला । ऊ पनि आफ्नो बाबुको पीएसीए बनेर जनयुद्धको बेला देखेका सपनाहरू साकार पारिरहेको पो छ कि !' मेरो दिमागमा यिनै कुराहरू खेलिरहे । मेरो मन छापामारको छोरोको स्मृतिमा द्रवित बनिरहेको थियो ।


‘सर म के खबर पठाऊँ ? त्यो छापामारको छोरोलाई यहाँ लिएर आइज भनौं हजुर ?’ मेरो गार्ड मेरा सम्मुख हलचल नगरी उभिइरहेको थियो ।


‘म उसलाई भेट्न आफैं त्यहाँ जान्छु । यही खबर पठाइदेऊ,’ मैले गार्डलाई आदेश दिएँ ।


ऊ मेरा सामुन्ने खडा थियो । फरक यत्ति थियो ऊ हिरासत कक्षको बारभित्र थियो । म बाहिर ।


पच्चीस–छब्बीस वर्षको हट्टाकट्टा युवा थियो ऊ । दारी–जुँगाले छोपिएको अनुहार । लापरबाह तरिकाले छोडेको नमिलेको कपाल । मलाई देख्नेबित्तिकै ऊ भुइँबाट जुरुक्क उठेको थियो । मुस्कुराउँदै उसले दुई हात जोड्दै भन्यो, ‘नमस्कार सर ।’


‘नमस्ते ।’ मैले उसको शिरदेखि पैतालासम्म सर्सर्ती हेर्दै भनें । म उसलाई चिन्ने प्रयास गरिरहेको थिंए । तर ऊ मेरालागि अपरिचित व्यक्ति थियो ।


‘सर चिन्नुभएन मलाई ?’ ऊ मलाई हेर्दै मुस्कुराइरहेको थियो ।


‘अहँ ...!’ मैले सम्झेसम्म उसलाई न त कहिले देखेको थिएँ न त हाम्रो कहिले भेट नै भएको थियो ।


‘सर अठाह्र वर्षपहिले तपाईं जिल्ला प्रहरी कार्यालय, रोल्पाको इन्चार्ज हुनुहुन्थ्यो । त्यस बेला मेरी आमा र म तपाईंको हिरासतमा थियौं । तपाईं मलाई ए छापामारको छोरो भनेर बोलाउनुहुन्थ्यो । मैले तपाईंको अगाडि छापामार युद्धका करतबहरू देखाएको थिएँ ।

पछि तपाईंको छोरोसँग पनि मेरो दोस्ती भयो । जीवनमा पहिलोपल्ट मैले तपाईंको छोराको साइकल चढेको हुँ सर । म तपाईंहरूको दुश्मन छापामारको छोरो भए पनि तपाईंले मलाई घृणा होइन माया गर्नुभयो । मैले तपाईंको त्यो मायालाई कहिले भुल्न सकिनँ सर ।’ बोल्दाबोल्दै रोकियो ऊ । उसका आँखाहरू रसाउन थालेका थिए । आफ्नो भावुकतामाथि नियन्त्रण राख्ने प्रयास गर्दै ऊ बोल्यो—
‘अब त मलाई चिन्नुभयो होला नि सर ?’


‘मैले तिमीलाई चिनें बाबु । तिमी त्यही छापामारको छोरो हौ जसलाई मैले रोल्पाको प्रहरी हिरासत कक्षमा भेटेको थिएँ । त्यस बेला तिमी सानो फुच्चे बालक थियौ । तर तिमीलाई आज यो अवस्थामा देख्दा मलाई दुःख लाग्यो । आऊ भित्र बसेर कुरा गरौं ।’


‘उसलाई कार्यालयमा लिएर आऊ ।’ मैले हिरासत कक्ष व्यवस्थापन प्रहरी अधिकृतलाई आदेश दिएँ ।


म कार्यालयको कुर्सीमा बसिरहेको थिएँ । प्रहरीले उसलाई हातमा हतकडी लगाएर ढोकानिर ल्यायो ।


‘सरभित्र ल्याऊँ हजुर ?’ हिरासत कक्ष हेर्ने प्रहरी अधिकृत बोल्यो ।


‘ल्याऊ ।’ मैले भनें । छापामारको छोरोतिर हेर्दै मैले भनें, ‘कुर्सीमा बस ।’


‘धन्यवाद सर ।’ हात जोर्दै ऊ कुर्सीमा बस्यो ।


‘हतकडी खोलिदेऊ ।’ प्रहरीलाई आदेश दिएँ । प्रहरीले हतकडी खोलिदियो ।


उसले मतिर हेर्दै मुस्कुराउँदै भन्यो, ’धन्यवाद सर ।’


‘तिमीलाई अझै छापामारको छोरो भनेर बोलाउनु र !’ म मुस्कुराएँ । ‘अब त तिमी लक्का जवान भइसक्यौ । तिम्रो नाम के हो ?’ मैले उसका आँखामा हेंरे ।


उसले पनि मलाई हेरिरह्यो । केही बोलेन । निरपेक्ष भावमा आफ्ना दुवै हात एकआपसमा रगडिरह्यो ।


मैले उसको अनुहार नियालिरहें । मेरा आँखाहरूमा प्रश्नैप्रश्नका खात थिए ।


‘म विप्लव माओवादी हुँ सर । अर्को नामको केही अर्थ रहेन ।’ उसले आफूलाई सम्हाल्दै भन्यो । उसको अनुहारमा अघि देखिएका छापामारको छोरोका बालसुलभ भावहरू लुप्त भइसकेका थिए । उमेरभन्दा वयस्क र कठोर देखिएको थियो उसको अनुहार ।


उसलाई यस अवस्थामा पाएर म अचम्मित र विष्मित थिएँ । देशमा नयाँ शासन व्यवस्था आएपछि सशस्त्र द्वन्द्वमा माओवादी विद्रोहीको तर्फबाट जजसले योगदान दिएका थिए, बहुसंख्यकले राज्यबाट केही न केही पाएका थिए । मलाई लागिरहेको थियो छापामारको छोरोका बा आमाले पनि आफ्नो सारा जीवन होमेका छन् । तिनीहरूले पनि निश्चय नै कुनै राजनीतिक, प्रशासनिक वा सैनिक नियुक्ति पाए होलान् । तर छापामारको छोरोको अवस्थाले ठीक उल्टो संकेत गरिरहेको थियो ।


‘तिमी कसरी विप्लवको समूहमा लाग्यौ ? तिम्रा बा–आमा कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?’ अधैर्य हुँदै सोधें मेले ।


उसले लामो सास तान्यो । सायद मेरा प्रश्नहरूले उसलाई विचलित बनाएको हुनुपर्छ । उसले आफ्नो टाउको निहुरायो । केही बेर मौन केही सोचिरह्यो । टाउको उठाएर झ्यालबाहिर हे‌र्‍यो । केही बेर टोलाइरह्यो । तत्पश्चात् मेरा आँखामा हेर्दै बोल्यो, ‘जिन्दगी सोचेजस्तो भएन सर ! न मेरा बाले सोचेजस्तो न त मैले सोचेजस्तो नै भयो जिन्दगी । तर हाम्रो जिन्दगी हामीहरूले चाहेजस्तो बनाउने आशा छोडेको छैन सर । म अझै लडिरहेको छु । यो सास रहुन्जेल लडिरहनेछु ।’ उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा आत्मविश्वास र दृढता झल्किरहेको थियो ।


‘तपाईंले सोचेको जस्तो छैन मेरो वास्तविक कथा । मेरो कथा चुरे पहाडझैं कतै अग्लिएको छ त कतै भास्सिएको छ । धेरै ठाउँमा मेरो कथा क्रमभंग भएर टुट्दै विशृंखलित बनेको छ । रूखको हाँगामा फुल्न नपाई असमयमै झरेको फूलजस्तो मेरो कथा सुन्नुहुन्छ सर ?’ विषादपूर्ण आवाजमा छापामारको छोरो बोल्यो ।


मैले शिर हल्लाएर स्वीकृति दिएँ ।


ऊ आफ्नो कथा बताउन थाल्यो । म फुच्चे छापामारको छोरोलाई आफ्नो मनमा राख्दै युवा छापामारको छोरोको कथा सुन्न थालें ।
उसले सुनाएको कथा यस्तो थियो ...!


‘हाम्रो सानो परिवार थियो । बा, आमा र म । हामीसँग घरवरिपरिको एक टुक्रा जमिन मात्र थियो । त्यत्तिले खान पुग्दैन थियो । बा अर्काको खेत जोत्थे । आमा घरधन्दा गर्थिन् र बाको हात बटाउँथिन् । रोल्पाका गाउँबस्तीहरूमा माओवादीहरूको प्रभाव बढ्दै गइरहेको थियो । एक दिन बाले हामीलाई सुनाए उनी पनि माओवादीसँग जंगल पस्दै छन् ।

रोइरहेकी आमालाई थुमथुम्याउँदै बा बोलेका थिए— एक दिन हामीजस्ता गरिबहरूका दिन आउनेछन् । म त्यसैका लागि लडाइँ लड्न जाँदै छु । मेरा बा रक्तबीज मिहिनेती र इमानदार कार्यकर्ता थिए । माओवादी भएको छोटो समयमा नै उनी सामान्य कार्यकर्ताबाट सिंढी उक्लिँदै स्क्वाड कमान्डर बने । स्क्वाड कमान्डरका रूपमा उनले पार्टीको काम बखुबी निभाए ।

उनी लडाकु छापामारको रूपमा युद्धमा होमिए र कैयौं लडाइँहरू लडे । बाको कामप्रतिको निष्ठा र लगनशीलता देखेर पार्टीले उनलाई स्क्वाडबाट प्लाटुनमा लग्यो । केही समयपछि मेरा बा प्लाटुन कमान्डर बन्न सफल भए । प्लाटुन कमान्डर हुँदा मेरा बाले राज्य पक्षका प्रहरी र सेनाविरुद्ध ठूलठूला युद्धमा भाग लिए र सफलता प्राप्त गरे ।

मेरा बा जहिले भन्थे कि ‘यो युद्ध हामीले जनताको मुक्तिका लागि लडेका हौं । हामीले युद्ध जितेपछि मात्र हाम्रा नागरिकहरूले सुख र शान्तिको अनुभव गर्नेछन् ।’ युद्ध सिद्धेर जनआन्दोलनमार्फत गणतन्त्र बहाल भएपछि मेरा बा सेना समायोजनमा अयोग्य ठहरिए ।

पार्टीले अन्य कुनै राजनीतिक जिम्मेवारी पनि दिएन । उनले यसको विरोध गरे । त्यसपछि पार्टीले बाको वास्ता गर्न छोड्यो । पार्टीले मेरा बालाई कुनै पनि भूमिका दिन चाहेन । अन्ततः निराश भएर मेरा बा गुन्टा बोकेर काठमाडौंबाट गाउँ फर्किए । उनका केही वर्ष पागलपनमा बिते । रातदिन उनी बरबराइरहन्थे । एक दिन बाले भने, ‘म यहाँ बसेर के गर्न सक्छु र ! खेती गरौं भने जमिन छैन, व्यापार गरौं भने नगद छैन । लडाइँमा लागेर आफू त अनपढ भएँ, भएँ, छोरोलाई पनि अनपढ बनाएँ ।


छोरोको भविष्य बर्बाद पारें मैले । अब भएको यो पाखो जमिन बेचेर भए नि म अरब जान्छु । मेरो जीवन बनाए नि बिगारे नि जे गर्छ अब अरबले नै गर्छ ।’ केही दिनपछि जमिन बेचेर पाएको रकम खर्च गरेर बा अरब भास्सिए । तर अरब गएको छ महिनामा नै मेरा बा सदाका लागि बन्द काठको बाकसमा चिरनिद्रामा सुतेको अवस्थामा फर्किए । त्यसपछि हामी दुई आमा छोरा बेसहारा भयौं ।

हामीसँग न जमिन थियो न अन्न । हामीले भोकभोकै काठमाडौंका गल्ली र बाटाहरू चहा‌र्‍यौं । बाका कमान्डरहरू जो सरकारका ठूला मन्त्री थिए, हात जोड्दै अनुनय–विनय गर्‍यौं । बाका समकालीन साथीहरू जो ठूलठूला ओहोदामा पुगेका थिए, तिनका खुट्टा समातेर डाँको छोड्यौं । बाले गरेको बलिदानको दुहाई दियौं । अहँ हाम्रा आँसुहरूले तिनका मन पगाल्न सकेन । बाको बलिदानको गाथाले तिनका ढुंगा बनेका हृदयमा करुणाको अंकुर टुँसाउन सकेन । पछिपछि त हामीलाई देखेर तिनीहरू मुख लुकाउन थाले ।

मेरा बाको बलिदानले सुकिला बनेका कामरेडहरूले हामीलाई प्रतिगमनकारी देख्न थाले । हामी आमाछोरा असहाय भएर गाउँ फर्कियौ । गाउँमा हाम्रो भन्ने न झोपडी थियो न एक मुठी माटो ! गाउँमा अर्काको नोकर भएर हामीले जेनतेन गुजारा चलाउन थाल्यौं ।

फर्किएको एक महिनामा नै बाको मृत्युको पीडा र सुकिला कामरेडहरूको तिरस्कार र अवहेलनाको सन्तापले पिरोलिँदै आमा मरिन् । म एक्लो र टुहुरो भएँ । केही समय गाउँको भेडी गोठालो बनेर गुजारा गरें । त्यसपछि गाउँ छोडेर म सहर पसें । सहरमा अनेकौं हन्डर खाएपछि मलाई चेतना भयो । मेरा बाले जुन दिन देख्नका लागि सशस्त्र युद्ध लडेका थिए, त्यो दिन त आएकै रहेनछ ।’


यति भनिसकेपछि शून्यमा हेर्दै ऊ टोलाइरह्यो । जीवन भोगाइले पाषाण बनेको उसको अनुहारलाई आँखाका डिलबाट झर्न नसकेका आँसुहरूले भित्रभित्रै थिलथिलो र द्रवित बनाइरहेको थियो ।


‘...त्यसपछि मलाई लाग्यो जुन सपना देखेर मेरा बा जनयुद्धमा होमिनुभएको थियो, त्यो सपना त तुरियो । त्यसभन्दा पनि पीडादायक दृश्यहरू देखेर म कहालिएँ । हामीलाई मुक्तिको सपना देखाउने आदरणीय कामरेडहरू दलाल, गल्लावाल र ठेक्कावालमा रूपान्तरण हुनुभयो । मेरा बाले देशमा ठेकेदारतन्त्र ल्याउन बन्दुक उठाएका थिएनन् ।

आम नागरिकको आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हक स्थापित गर्न बन्दुक उठाएका थिए । हामीले भन्ने गरेको सामन्ती व्यवस्थामा हामीहरू जति उपेक्षित र पीडित थियौं त्योभन्दा बढी उपेक्षित र अपहेलित हामी आफूले सशस्त्र युद्ध लडेर ल्याएको व्यवस्थामा भयौं । हाम्रालागि यसभन्दा पीडादायक विषय अरू के हुन सक्छ ? यो पीडाबाट व्यक्तिगत रूपमा उन्मुक्ति पाउन बहुलाउनु र भीरबाट हाम फालेर मर्नुभन्दा जनताको उन्मुक्तिका लागि फेरि बन्दुक समातेर युद्धमा होमिनु र दुश्मनको गोली खाएर मर्नु श्रेयष्कर र गौरवपूर्ण हुन्छ भन्ने लागेर म विप्लव माओबादी बन्न विवश भएँ सर ।’


उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा अहिले कोमल भावहरू थिएनन् । एकप्रकारको स्थूलता र जडता थियो ।


उसको जीवन भोगाइ सुनेर म भावशून्य बनेको थिएँ । ऊ र उसका बा–आमाले भोगेको दुःख र पीडालाई महसुस गरेर म विचलित बनिरहेको थिएँ । उसलाई भेट्नुभन्दा पहिले उसको बारेमा मैले गरेको कल्पना र उसले मलाई साक्षात्कार गराएको उसको विपनाबीच गहिरो खाडल थियो ।

उसले भोगेको वास्तविकतालाई आत्मसात् गरे तापनि म अझैं विश्वास गर्न सकिरहेको थिइनँ, विद्रोही छापामारहरूले सशस्त्र युद्ध लडेर ल्याएको शासन व्यवस्थामा पनि के छापामारको छोरोले त्यही नियति भोग्नुपर्ने जुन उसले युद्धकालमा भोगेको थियो ?


‘के तिमीलाई लाग्छ कि विप्लव माओबादीहरू वर्तमान व्यवस्थामा देखिएका त्रुटिहरू सुधारेर अघि बढ्छन् ? के तिनीहरूले पनि जनताकै मुक्तिका लागि बन्दुक उठाएका हुन् त ?’ विप्लव माओवादी बनेको छापामारको छोरोको अनुहारमा हेर्दै मैले भनें ।


उसले आफ्ना आँखाहरूमा गम्भीर भाव ल्याउँदै मतिर हे‌र्‍यो र भन्यो, ‘मलाई विश्वास छ, विप्लव माओवादीको उद्देश्य यही हो । तर कहिलेकाहीं म भयग्रस्त पनि हुन्छु यो सोचेर कि मेरा बाले लडेको आदर्शको लडाइँ त खेर गयो । दस वर्षसम्म लडाइँको नेतृत्व गरेका र हजारौं कार्यकर्ताको बलिदानी रगतले पोतिएका कामरेडहरूले त बाटो बिराए भने त्यो बटवृक्षको हाँगोका रूपमा रहेको यो विप्लवले पनि बाटो नबिराउला भन्न सकिन्न । जनताको मुक्तिको आडमा राजनीतिक शक्ति प्राप्तिका लागि यो संघर्ष गरिएको हो भने यसकै विरुद्धमा फेरि अर्को हिंसाको शृंखला सुरु नहोला भन्न सकिन्न ।’ ऊ गम्भीर देखियो ।


‘तिम्रो उद्देश्य परिपूर्तिका अन्य विकल्प पनि त छन् नि । तिमी त्यसमा किन प्रयास गर्दैनौ ? के बन्दुक समात्दैमा र हिंसा मच्चाउँदैमा देशमा परिवर्तन आउँछ ? राजनीतिक परिवर्तनको साथसाथै राजनीतिक स्थिरता महत्त्वपूर्ण हो भन्ने कुरा अहिलेको अवस्थाले देखाउँदैन र ?’ मैले आफ्नो तर्क प्रस्तुत गरें ।

मलाई सुनेर उसले एक छिन गम खायो । तत्पश्चात् लामो सास तानेर छोड्दै ऊ बोल्यो—
‘बन्दुक समातेर हिंसा मच्चाउँदैमा परिर्तन आउने भए अहिलेसम्म नेपाली नागरिकहरू संसारमा सबैभन्दा सुखी र समृद्ध बनिसक्नुपर्ने हो । हामीले सोचेको यो समृद्धि र सुख कहिले आएन । तर हिंसा अझैं जारी छ । तपाईंको यो मतसँग म सहमत छु तर मेरालागि वर्तमान समयमा अन्य कुनै विकल्प छैनन् । राज्यले हाम्रालागि कुनै उपयुक्त विकल्प दिएको छैन । कमसेकम भावनामा भए पनि मैले आफूलाई आश्वस्त पार्न सकेको छु कि म मेरा बाले अँगालेको सिद्धान्तबाट विचलित भएको छैन ।

म आफैंले आफैंलाई घृणा गर्ने गरी आफ्नो चरित्रबाट स्खलित भएको छैन । विप्लव माओवादी अँगाल्नुको तात्पर्य मेरो आत्मसन्तुष्टि पनि हो कि मेरा बाका समकालीन कामरेडहरूको दया र मायामा म बाँचिरहेको छैन । हामी युवाहरूलाई राज्यले गरेको चरम बेवास्तालाई टुलुटुलु हेरेर बाँच्न म अभिषप्त छैन । म स्वतन्त्र छु । म पृथक् छु । बरु तिनीहरूलाई चुनौती दिन सक्ने सामर्थ्य राख्छु । यस अनुभूतिले मात्र पनि मलाई बाँच्ने प्रेरणा दिएको छ सर ।’


उसले शिर ठाडो पारेर मलाई हे‌र्‍यो । आफूले समातेको मार्गप्रति पूर्णरूपमा आश्वस्त नभए पनि आफ्नो उद्देश्यप्रति भने ऊ विश्वस्त देखिन्थ्यो ।


‘त्यसो भए के जेलको छिंडीभित्र आफ्नो जीवन समाप्त पार्ने विचार हो तिम्रो ?’ मैले उसको अनुहारमा दृष्टिपात गरें ।


‘राजनीतिक सिद्धान्तका कारण जेल जानुपरे, त्यो मेरालागि अवसर हुनेछ सर । आफ्नो व्यक्तित्वलाई निखार्ने उपयुक्त समय हुनेछ ।’ उसले निर्विकार भावमा जवाफ दियो ।


‘तिमीमा यत्ति चेत त हुनुपर्ने हो कि तिमी राजनीतिक सिद्धान्तका कारण नभई बम विस्फोटन गरी मानवीय र भौतिक क्षति गरेको अभियोगमा जेल जाँदै छौ । यो राजनीतिक नभई आपराधिक कार्य हो । तिम्रो भाषामा यो क्रान्ति होला तर कानुनको भाषामा यो विशुद्ध अपराध हो ।’ म तिखो आवाजमा चिच्याएँ ।


‘बम विस्फोटन र मानवीय क्षतिको यो घटना नेपालको पहिलो घटना होइन डीआईजी साहेब । तपाईं रोल्पाको प्रहरी प्रमुख हुँदा जोसँग युद्ध लड्दै हुनुहुन्थ्यो ती मान्छेहरू अहिले सत्तामा छन् र तपाईं अहिले तिनीहरूकै आदेशको पालना गर्दै हुनुहुन्छ । के थाहा भोलि तपाईंले मेरो आदेश पो मान्नुपर्ने हो कि ? अपराध र क्रान्तिको परिभाषा समयसापेक्ष हुन्छ सर ।’


धक फुकाएर हाँस्यो ऊ । ऊ युद्ध जितेको विजयी योद्धाझैं प्रतीत भइरहेको थियो ।


मैले बिस्तारै उसको हात समातें । मेरो स्पर्शले प्रफुल्ल देखियो ऊ । मलाई त्यही फुच्चे छापामारको छोरोको हात स्पर्श गरेझैं लागिरहेको थियो । मैले मायालु भावले उसका आँखामा हेरें । उसका आँखामा मप्रति अगाध प्रेम र श्रद्धा थियो ।

मैले उसका गहिरा आँखामा नियाल्दै भनें—‘मैले रोल्पामा तिमी र तिम्री आमालाई हिरासतबाट मुक्त गरेर घर पठाउँदा सोचेको थिएँ पक्कै तिमी पनि आफ्नो छापामार बासँगै लागेर छापामार बन्नेछौ । त्यसबेला म तिमीलाई त्यो परिस्थितिबाट बचाउन नसकेकोमा दुःखी थिएँ । अहिले तिमीलाई विप्लव माओवादीको रूपमा पाउँदा मलाई दुःख लागेको छ । देश र जनतामा परिवर्तन ल्याउन हिंसा नै एक मात्र विकल्प होइन । यस आधुनिक युगमा थुप्रै विकल्प छन् जसलाई हामी आफ्नो आवश्यकता र उद्देश्यका आधारमा छनोट गर्न सक्छौं । आशा छ एक न एक दिन तिमी हिंसाको मार्ग त्यागेर अहिंसाको मार्गमा आउनेछौ र राष्ट्र निर्माणमा आफ्नो यागदान दिनेछौ ।’


उसले पुलुक्क मतिर हे‌र्‍यो । अनुहारको भावले भन्थ्यो, ऊ मसँग असंख्य प्रश्न सोध्न चाहन्छ । तर उसले मसँग कुनै प्रश्न सोधेन ।
‘सर उसकी स्वास्नी उसलाई भेट्न आएकी छे ।’ मेरो गार्ड सलाम ठोक्दै दैलोनिर उभियो ।


‘यहाँ बोलाऊ ।’ मैले आदेश दिएँ ।


एउटा सानो बच्चासहित एउटी महिला दैलोमा झुल्किन् । मैले कुर्सीमा बस्ने इसारा गरें । कुर्सीमा बस्नेबित्तिकै उनी लोग्नेतिर हेर्दै घ्वाँघ्वाँ रुन थालिन् । आमा रोएको देखेर सानो बच्चा पनि आमालाई अँगालो हाल्दै रुन थाल्यो ।


‘सर यो मेरी स्वास्नी हो । बिहे गरेको पाँच वर्ष मात्र भयो । मैले उसलाई पेटभरि खान दिन सकेको छैन । मेरो घरद्वार छैन । ऊ माइतमा बस्छे । यो मेरो छोरो मलाई चिन्दैन सर । म कहिल्यै उनीहरूसँग बस्न पाउँदिनँ । कसरी आफ्नो बालाई चिनोस् !’ छोरोतिर हेर्दै ऊ भावुक भयो । उसका आँखाबाट तुरुक्क दुई थोपा आँसु गालातिर झरे ।

बाहुलाले आँसु पुछ्दै उसले मतिर हेर्दै भन्यो—‘सर मैले देखेका सपनाहरू पनि मेरा बाका सपनाझैं तिरोहित भए भने मेरो पुस्ता पनि खेर जानेछ । तपाईंले चाहेजस्तो अहिंसाको मार्गमा हिँडेर भविष्य बनाउने युवाहरू कोही हुने छैनन् देशमा । धेरै युवा बिदेसिनेछन् भने ती थोरै युवा जो विदेश जान नपाएको सन्तापमा देशभित्रै हिंसा मच्चाउनेछन् । त्यसपछि के तपाईं मेरो छोरोलाई भविष्यको छापामार बन्नबाट बचाउन सक्नुहुन्छ सर ?’


म अवाक मुद्रामा कहिले उसलाई त कहिले उसको सानो छोरोलाई हेरिरहेको थिएँ ।

प्रकाशित : आश्विन ११, २०७६ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्