कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीको भुटुन

कृष्ण धरावासी

हरेक भेटमा भन्थे– कृष्णजी ! बसौं न एक दिन मज्जाले ।
त्यो दिन फेरि उनैको फोन आयो— कृष्णजी ! अहिले म तपाईंकै छेउछाउतिर छु । आज तपाईंको फुर्सद कस्तो छ ! कतै बसेर कफी पिउन सकिन्छ कि ?

पानीको भुटुन

आकाश धुम्म थियो । मौसमको टुङ्गै हुँदैन अमेरिकामा । पानी परिहाल्लाजस्तो त थिएन तर बाहिर निकै चिसो हावा चलिरहेको थियो । बाहिर जान पनि उति जाँगर थिएन । एक छिन सोचें अनि मनलाई चङ्गा बनाउन खोज्दै बोलाएँ । केही बेरमै उनको गाडी बाहिर आएर रोकियो ।

गाडी, नजिकैको स्टारबक्सको पार्किङ लटमा रोकियो । उनले भने— यता आउँदा प्रायः म यहाँ पसेर कफी पिउने गर्छु । उनले दुई कप कफी लिएर आए । मलाई मन पर्ने, मेरा लागि कडा खाले ब्ल्याक कफी थियो । हामीले कुनाको टेबल छान्यौं । विभिन्न टेबलहरूमा बसेर गफ गर्ने जोडीहरू, ल्यापटपमा अफिसको काम गरिरहनेहरू, कोही त लेखक पनि पो थिए कि ! लेखिरहेका देखिन्थे । उनले धेरैपल्ट भेट्न चाहेर पनि नभेटिएकोलाई आज भेट्न पाएर होला निकै खुसी थिए । केहीपल्ट कफीको चुस्की लिइसकेपछि उनैले कुरा सुरु गरे— तपाईंको बारेमा धेरै पहिलेदेखि सुनेको हो । केहीपल्ट विभिन्न कार्यक्रमहरूमा परैबाट देखेको मात्र हो ।


भन्न थाले— वास्तवमा म तपाईंसँग मेरा जीवनका केही कुरा साट्न चाहन्छु । कति कुरा आफैंलाई पनि लेखौंजस्तो लाग्छ तर त्यस्तो कला आफूमा विकास गर्न सकिएन । भावना र अनुभूति नभएको मानिस त को होला र तर कति कुरा त यस्ता हुन्छन् आफैंले भन्न पनि सकिँदैन ।


कफी सुरुप्प पारे । मलाई पनि इसारा गरे । मैले पनि सुर्क्याएँ । एक छिन ऐनाबाट पारी सडकतिर हेरे । केही नदेखेजस्तो गरी आफैंतिर फर्किए । मलाई लाग्दै थियो उनी त्यस्तो खास कुरो भन्न कोसिस गरिरहेका छन् र त्यसलाई बाहिर निकाल्न सकिरहेका छैनन् । सजिलो बनाइदिन मैले नै कुरो सुरु गरें— सबैको जीवन आफैंमा एउटा आख्यान हो । भन्न मन लागेका, भन्न नसकिएका वा नभनिएका कुराहरूले भरिएको हुन्छ त्यो । भन्छु भनेरै पनि भनिँदैनन् कति कुरा ।


उनी बिस्तारै सजिलो हुँदै जाँदै थिए । तपाईंसँग कुरा गर्न मन लाग्नुका खास कारण छन् । खासमा तपाईंको पछिल्लो उपन्यास ग्रेटफल्स पढेपछि त्यहाँ कतै मैले आफ्नो कथा पनि पाएँ तर आंशिक कथा । तपाईंसँग अलिक पहिले नै भेटिएको भए सायद मेरा कुरा पनि विस्तारित भएर आउँदा हुन्जस्तो लाग्यो । त्यही भएर पनि मैले तपाईंलाई भेट्न मन गरेको हुँ ।


मेरो अघि करिब सत्तरी वर्षका एक पुरुष मतिर फर्किएर बसेका थिए । उनको अनुहारमा रोक्न खोज्दाखोज्दै पनि बुढ्यौलीका चाउरीहरू आक्रामक ढङ्गले विस्तारित भइरहेका थिए । मुखभित्रका दाँत त सुरक्षित थिए तर पाखुराको छाला झोल्लिँदै गएको थियो । कपालमा रङ लगाउन छोडेको हुनुपर्छ अनुमानमा । सजिलो पार्न भनें— मलाई पनि आज तपाईंसँगको यो भेट उपलब्धिपूर्ण होला भन्ने लागेको छ । निर्धक्क कुरा गरौं ।


बोल्न थाले— मलाई आफ्नै जीवन फिल्मजस्तो लागेको छ । मैले कति कुरा चाहेर गरें कति नचाहेर । आज फर्केर हेर्दा आफ्नै जिन्दगी निचोरिएको मौरीको चाकाजस्तो लागिरहेछ । यत्ति लामो जीवन मैले जुन बाँचे, के बाँचे ? केका लागि बाँचे ? किन बाँचें ? हुन त सबैलाई आफ्नै जीवन आफैंलाई अन्योल लाग्दो हो । यो संसारमा ममात्र त्यस्तो मान्छे होइन जसलाई आफ्नै जीवन प्रश्नहरूको क्याराभान लागोस् । फेरि पनि गुनासो त आफ्नै बढी हुँदो रहेछ ।


बाइस वर्षको उमेरमा अमेरिका पस्दा मसँग सपनाहरूको जङ्गल थियो । आमाबाबाको झन् कति हुँदो हो । यहाँ आएर मैले आफ्नै मिहिनेतले जेनेटिक इन्जिनियरिङमा पीएचडी गरें । विद्यार्थीले गर्नुपर्ने संघर्षलाई म दुःख भन्दिनँ । यहाँका अमेरिकी युवाहरूको पनि अवस्था उस्तै हो ।


एक छिन अडिएर बोले— यहाँको खुला वातावणमा कुनै पनि युवा, नेपाली आदर्शमा बाँधिएर बस्न सक्ने कुरै हुँदैन । म पनि यहाँको भासमा बिस्तारै पस्दै गएँ । मैले पनि उमेरले मागेको बाटोलाई राजमार्ग बनाउँदै गएँ । नेपालबाट आएको चार वर्षसम्म म आदर्श नेपाली युवक थिएँ । कामको सिलसिलामा नजिकिँदै जाँदा एउटी मेक्सिकन युवतीको संगतमा रमाउँदै जान थालें ।


पढाइ सकिएपछि कमाउनु, घुम्नु र खानु नै त थियो । त्यस्तो बेलामा कुनै केटीको संगत पाउनु के कम रमाइलो कुरा हो र ! हामी मजैले एकअर्कामा घुल्न लाग्यौं । मन र शरीरले राम्ररी नै एकअर्कालाई चिन्दै गयो । जागिर त उसको पनि थियो । कमाइ मेरो जति नभए पनि ऊ अभावमा थिइन । तर खर्चचाहिं मैले नै गरोस् भन्ने चाहन्थी । म पनि अनौठो भावुकतामा थिएँ । लोभ भन्ने कुरा यस्तो हुँदै गयो मानौं त्योसँग मेरो कहिल्यै परिचय नै थिएन । अनि यस्तो लाग्न थालेको थियो अब मेरो जिन्दगीको चारै चक्का ऊ नै हो । दुई वर्ष बितेको पत्तै भएन ।


एक दिन उसले एकदम नै भावुक भएर भनी— मेरी आमा निकै बिरामी छन् । तिमीलाई थाहा नै छ । उनको क्यान्सरको उपचारका लागि मैले निकै नै खर्च गर्नुपरेकाले तिमीसँग पनि भर पर्नुपर्‍यो । उनको अवस्था अब धेरै कमजोर भइसक्यो । म उनी मर्नुअघि एकपल्ट उनको अघि उभिन चाहन्छु । के तिमी मलाई केही पैसा सापटी दिन सक्छौ ?


मैले तत्कालै राम्रै रकमको चेक काटिदिएँ र ऊ लगत्तै मेक्सिको फर्की । ऊ गएको महिना दिन जति हाम्रो कुरा भइरहेको थियो । त्यसपछि बिस्तारै ऊ सम्पर्कबाट टाढिँदै गई र गएको गएकै भई । उसले पैसा लगी भनेर हैन कि उसको मायाको व्यथाले मलाई नराम्रो घायल बनायो । म अहिले पनि उसले धोका दिएकी होला भनेर विश्वास गर्न सक्दिनँ । मेरो जीवनको त्यो पहिलो प्रेम थियो । आज पनि ताजा छ ।


उसलाई भुल्न मलाई सजिलो भएन । मलाई खाँदै गरेको जागिरसँग पनि विरक्त लागेर आयो । सदाका लागि भनी नेपाल गएँ तर धेरै दिन बस्न सकिनँ । उतैबाट एउटा एनजीओमा अन्तर्वार्ता दिएँ र डेनमार्क पुगें । जाडो ठाउँ । भाषाको पनि समस्या । बिस्तारै बानी पर्दै गयो । रोजालाई भुल्न सजिलो थिएन त्यहाँ पनि । वास्तवमा म एउटै प्रेम जीवनभरिको संगत होस् भन्ने शास्त्रीय प्रेममा परेको रहेछु त्यस बेला ।


डेनमार्कमा म बिस्तारै फेरि मारियाको नजिकमा पुगें । रूपरङ, बानी सबैमा आकर्षक, मभन्दा दुई वर्ष जेठी थिई ऊ । पहिला त मैले उति वास्ता गरेको थिइनँ । मलाई मेरै पीडा काफी थियो । एक दिन उसैले कफी हाउसमा अलिक गम्भीर हुँदै सोधी— तिमी जहिले पनि किन यति गम्भीर छौ ? तिमीलाई केही समस्या छ कि ? सेयर गर्न मिल्ने भए मलाई भने हुन्छ ? म तिमीलाई केही सहयोग गर्न सकुँली पनि कि ! उसको कुराले कताकता मेरो निराश मनमा आशाजस्तो पलायो ।


अलिअलि गर्दै हामी नजिकिँयौं । यो निकटताले पनि सिमाना भत्काउँदै गयो । एक दिन लिभिङ टुगेदर बस्ने निर्णय गर्‍यौं । यस्तो सम्बन्ध मेरालागि नयाँ थियो । तर उसैले सम्झाई— यो चलन धेरै पुरानो हो । यसबाट दुवैलाई सबै कुरामा हुने खर्च पनि कम पर्छ । यस बसाइमा विश्वास वा प्रेम दुवै हुन पनि सक्छ । मानिसहरू जीवनभरि लिभिङ टुगेदरमा बसेका हुन्छन् । एकअर्कालाई चिन्न र माया गरिरहन बिहेभन्दा यस्तो सम्बन्ध धेरै व्यावहारिक र दिगो हुन्छ । यस्तो सम्बन्धमा प्रेमले कहिल्यै हार्नु पर्दैन । यहाँ कसैले कसैको मानसिक, आर्थिक, मनोवैज्ञानिक आदि भार वा दबाब बेर्होनु पर्दैन । तिमी वा म जुनै बेला पनि अलग हुन पाउने स्वतन्त्रताका साथी हुनेछौं ।


उसको कुराले मलाई अनौठो आकर्षण गर्‍यो । प्रेम परिसकेपछि नजिक बस्नै मन लाग्ने हो । त्यो प्रस्ताव मेरा लागि अनौठो भए पनि मनपर्दो थियो । अनि हामी सँगै बस्न लाग्यौं । म फेरि बिस्तारै मारियाको मायाको मझेरीमा लुटपुटिन लागें । दुई वर्ष सँगै बस्दा मारियाले मलाई कुनै प्रकारको आर्थिक दुरुपयोग गरिन । ऊ मलाई आर्थिक कारणले कुनै बेला पनि असजिलो भइन । सुरुमा हामीले अलगअलग बेडरुमको प्रयोग गरे पनि बिस्तारै हाम्रो एउटा बेडरुम बढार्दै पुगिने ठाउँ मात्र हुन थाल्यो । वास्तवमा मारिया एकदम नै मायालु थिई । ऊ लोभी पनि थिइन । रिसालु पनि थिइन । मलाई रोजाभन्दा मारिया कताकता असल लाग्न थाली ।


एक दिन मैले आफ्नो विगत उसलाई बताइदिएँ । सोचेको थिएँ त्यो सुनेर ऊ मसँगको सम्बन्धप्रति निराश होली तर त्यस्तो भएन । बरु उसले पनि आफ्नो विगतको कथासँग उसको ब्वाईफ्रेन्डलाई सम्झेर रोई । त्यो रात हामी दुवैले दुवैका प्रेमीहरूलाई सम्झँदै रुँदै एकअर्कालाई खुबै माया गर्‍यौं ।


दुई वर्ष पछि हामी दुवैको प्रोजेक्ट सकियो । अब नयाँ जागिर खोज्नु थियो । हामी दुवैले भिन्दाभिन्दै संस्थामा इन्टरभ्यु दियौं । मेरो जागिरको रिजल्ट पहिले भयो र मैले अमेरिका आउनुपर्ने भयो । अब हाम्रो छुट्टिने समय आएको थियो । मनमा अलिकति पनि एकअर्कामा वितृष्णा उत्पन्न हुनुभन्दा पहिल्यै छुट्टिनुपरेकाले पनि होला दुवै खुब भावुक भयौं । बानी भइसकेका हामीलाई छुट्टिनुपर्ने सम्भावनाबारे नै सोच हराएको रहेछ । मभन्दा बढी ऊ दुःखी भई । मेरो लागि त अमेरिका आफ्नै देश थियो, उसका लागि भने यो टाढाको सपना थियो ।


छुट्टिनुअघिको रात साँच्चै नै वियोगान्तक थियो । उसले त्यति धेरै दुःख मान्ली भन्ने लागेको थिएन किनकि ऊ सधैं एउटा सीमाको सम्बन्धमा मात्र उभिन खोजेकी अनुभव गर्थें । उसले भनी— मलाई तिमी यति प्रेमिल हौला भन्ने लागेको थिएन । तिम्रा लागि म यति धेरै भावुक बनौंली भन्ने पनि थिएन । आज अनुभव गर्दै छु, मैले भित्रभित्रै धेरै माया गर्न थालेकी रहिछु । हुन त हामी आफ्आफ्नै जरुरीले सँगै बसेका थियौं तर अब हाम्रो प्रेमको सम्बन्ध धेरै अघि पुगिसकेछ । मेरो तिमीमाथिजस्तै ममाथि भर हुन्छ भने म तिमीसँग बिहे गर्न पनि तयार छु ।


उसको पछिल्लो कुराले झन् धेरै भावुक बनायो । मलाई पनि ऊबाट टाढिन गारो भइरहेको थियो । उसको प्रस्ताव मन परे पनि म तुरुन्तै जवाफ दिन सक्ने अवस्थामा थिइनँ । अमेरिका सुनेजस्तो सजिलो थिएन । बिहे नै गर्नेबारेमा त मैले पनि सोच्न थालेको रहेनछु । मैले उसलाई आश्वासन दिंदै भनें— म उता पुगेर तिमीलाई बोलाउन् ेप्रोसेस गर्छु । मेरो कुरा सुनेर ऊ झन् धेरै खुसी र राम्री देखिई । भोलिपल्ट एयरपोर्टमा मलाई बिदाइ गर्दा पनि भावुक थिई ।


म अमेरिका उत्रेपछि फेरि एकपल्ट रोजाको खोजीमा लागें । तर ऊ भेटिइन् । यो बीचमा मारियासँगको संवाद पनि निरन्तर थियो । उसले मेरो कागजी प्रक्रियालाई निकै पर्खी । मैले यताबाट टारिरहेपछि बिस्तारै उसको पनि ममाथिको विश्वास पातलिँदै गयो होला । एक दिन इमेल लेखी— तिमीलाई प्रक्रिया पुर्‍याउन समय लाग्छ होला । त्यसबीचमा म यतै नयाँ काममा लाग्दै गर्छु । पछि प्रक्रिया पुगेपछि हामी आपसमा भेटिने नै छौं । आफ्नो ख्याल गर्नू । अनि त्यसको केही दिनपछि नै काममा लागेको कुरा लेखी ।


बिस्तारै संवाद पातलिँदै गयो । रोजालाई भेट्ने आशा पूरै मरेपछि मारियाका लागि प्रक्रिया अघि बढाउने विचार गरेर इमेल लेखें । ढिलो गरी आएको इमेलको जवाफ त्यति उत्साहजनक थिएन । उसले भनेकी थिई— मैले नयाँ काम थालिसकें । अब तत्कालै यो छाड्न मिल्दैन । अहिले तिम्रो प्रोसेस पछि सार । त्यसपछि ऊ सदाका लागि सम्पर्कबाट बाहिर पुगी ।


एक छिन घोरिएर फेरि सडकतिर हेरें । मतिर फर्किंदा आँखा रसिला देखिए । भनें— मैले मारियालाई गुमाएर जीवनमा सबैभन्दा ठूलो दुर्भाग्य बोकें भन्ने लाग्छ । त्यो वास्तवमै असल महिला थिई ।


निराशाका दिनहरू निकै लम्बिए । एउटा वियोगबाट निस्किन फेरि अर्को सम्पर्कमा पुग्नैपर्ने रहेछ । नयाँ सम्बन्धहरूले नै पुरानाहरूलाई विस्थापन गर्ने रहेछन् । लामो अन्तरालपछि म फेरि अर्की एक सुन्दरी अमेरिकी युवतीको संगतमा पुगें । यो पनि जागिरकै क्रममा भेटिएकी थिई । उसका दुई पूर्वप्रेमीहरूसँग पहिल्यै परिचय गराई । फेरि पनि म उसको संगतमा पुगें र बिस्तारै उसका बानीहरू मन पर्दै गए । सम्बन्ध विकसित हुँदै जाँदा किन उसका अघिल्ला दुई प्रेमीहरूसँग सम्बन्ध टिकेन होला भन्ने लागिरह्यो । मन पर्नु आफैंमा एउटा अनौठो अवस्था हो । बुद्धिले नमान्दा नमान्दै पनि कति बेला अघि नै मन परिसक्छ । तर यो मन पर्ने कुरा कसरी सँगसँगैजस्तो हुन सकेको होला । मलाई सोफिया मन पर्दै गर्दा उसले पनि फराकिलो पार्दै लगेकी रैछे आफ्नो मन । एक दिन हामी खुल्यौं र पोखियौं ।


कथा दोहोरियो लिभिङ टुगेदरकै । मलाई यसको पूर्वअनुभव थियो । एक्लोपनबाट बाहिर आउन र कम खर्चिलो हुन पनि यो बसाइले ठूलो मद्दत गर्छ । मारिया र सोफियामा उति फरक लागेन । प्रेम गर्ने शैली सबै महिलाको उस्तै हो कि जस्तो पनि लाग्छ । यो नै अन्तिम प्रेम होजस्तो लाग्ने गरी सम्बन्धहरू व्यक्ति नै पिच्छे समानजस्तै भएर अगाडि आइरहेका थिए ।


सोफियासँगको सम्बन्ध सबैभन्दा लामो चल्यो । एकपल्ट त मैले उसलाई भने पनि— के हामी बिहे गरेर सधैं सँगै बस्न सक्दैनौं ! उसले सजिलै भनेकी थिई— मैले तिमीलाई अझै बिचार्न बाँकी छ । बिहे गर्न हतारिनु पर्दैन । बरु तिमीलाई सन्तानको रहर भए म जन्माइदिन सक्छु तर बिहेको बारेमा आजै निर्णय गर्न सक्दिनँ ।


आश्चर्य हुँदै मैले सोचेको थिएँ— बच्चा जन्माउन सक्ने बिहे गर्न नसक्ने किन ? उसले भनी— बच्चा म तिम्री प्रेमिका भएरै पनि जन्माउन सक्छु तर बिहे गरिसकेपछि अरू पनि धेरै कर्तव्य जोडिन आउँछन् । पहिलो कुरा त आफ्नो स्वतन्त्रता गुम्छ । स्वतन्त्र बाँच्न चाहने नारीका लागि विवाह बन्धन हो ।


उसका कुरा मलाई अनौठा तर मन पर्दा लागे । मलाई पनि बिहेभन्दा यस्तै जीवन ठीक होजस्तो लाग्न थाल्यो । अनि मैले पनि विवाहको सम्बन्धलाई दिमागबाटै हटाइदिएँ । एक छिन रोकिएँ र भनें— नदीजस्तै रहेछन् सम्बन्धहरू । बग्दै जाने र गइरहने । मन पर्दापर्दै पनि पच्छ्याउन नसकिने ।


उनी आज आफ्नो वर्षौदेंखिको मनको बह पोख्न खोजिरहेका थिए । मलाई पनि उनको कथाले तानिरहेको थियो । हतार गरिनँ । उनले सोधे— कफी थपौं ? मैले हुन्छमा टाउको हल्लाउँदै भनें— यसपालि दूधको ।


एकएक सुर्को कफी निलेपछि फेरि बोल्न थालें— तर एक दिन सोफियाले पनि आफ्नो गुन्टा बाँधी । एक छिन टाउको निहुराएर केही सम्झेझैं गरे र मतिर हेर्दै बोले । तर उसको पनि दोष छैन । लिभिङ टुगेदर बस्नेले निस्केर जाने नै हो । रिसाउन वा कुनै आरोप लगाउन मिल्दैन । तैपनि जानुअघि उसले मलाई चित्त दुखाएर गई । उसले अरू नै कारण देखाएकी भए मलाई उस्तो नमीठो लाग्ने थिएन होला ।


त्यस बेला मेरो कम्पनी अर्को कुनै कम्पनीसँग मर्ज भएको थियो र म बेरोजगारजस्तै भएको थिएँ । निकै ठाउँमा कोसिस गरेर पनि काम पाउन सकेको थिइनँ । यसबीचको मेरो पनि खर्च उसैले बेहोरिरहेकी थिई ।


एक दिन म बाहिरबाट आउँदा उसले आफ्ना सबै सामान झोलामा कँसेर पर्खेर बसेकी रहिछे । म पुगेपछि सँगै बसेर कफी पियौं । केही बेर उसले हाम्रा सम्बन्धका पुराना कुरालाई सम्झेर वातावरण भावुक बनाई । बेरोजगारले चिन्तित मेरो मन पनि भावुक भएछ । जीवनमा पहिलोपल्ट निकै पग्लिएर रोएँ । निकै बेरपछि दुवै जना शान्त भयौं । उसले मेरो हात समातेर म्वाई खाँदै भनी— कृश ! आइ एम सरी । आजदेखि म तिमीबाट छट्टिँदै छु । तिमीबाट टाढिने मन नहुँदा नहुँदै पनि तिम्रो स्थितिले गर्दा मैले छुट्टिनुपरेको छ । म बसिरहें भने तिमी बेरोजगारीबाट बाहिर आउन नसक्ने देखें । मेरो खर्चमा पालिने बानी हुने भो तिम्रो । तिमीले आफूलाई पाल्न जान्नुपर्छ । तिम्रो जिन्दगी पनि लामो छ । यसरी कसरी अर्काको भरमा बाँच्न मिल्छ । अब तिमीले जस्तो काम भए पनि खोज्नुपर्छ । सानोतिनो जे भेट्छौ, काम खोज । म तिमीलाई धेरै माया गर्छु ।


ऊ कोठामा पसी र साँच्चै नै आफ्ना दुईवटा ब्यागहरू घिसार्दै बाहिर निस्की । म एकोहोरो हेरिरहेको थिएँ । उसले आएर एकपल्ट मलाई अँगालो हाली । ओठ, गाला, निधारमा चुम्मा गरी । अनि आँखा पुछ्दै बाहिर निस्की । मैले केही बोल्नै परेन । पछिपछि गाडीसम्म गएँ । सामान हाल्न सघाइदिएँ । ड्राइभिङ सिटमा बस्नुअघि फेरि एकपल्ट अङ्गाली र गई । जीवनमा सबैभन्दा धेरै आश्चर्यचकित भएको यो नै अन्तिम दिन थियो ।


त्यसपछि मेरा जीवनमा प्रेममय भएर अरू कुनै महिला आएनन् । सबैभन्दा पछिल्लो समय आजभन्दा पाँच वर्षअघि एउटी साठी वर्षकी महिलासँग सँगै बस्दै थिएँ । उसका दुई छोरा थिए । कहिलेकाहीं भेट्न आउँथे । बुढेसकालमा आमाले साथी पाएकोमा खुसी थिए । ऊ पनि एक महिनाअघि छोटो बिमारले मरी । यो सत्तरी वर्षको उमेरमा फेरि पनि म एक्लै छु । सम्पत्ति त कमाइयो होला तर जीवनमा अन्तिमसम्म साथ दिने साथी बनाउन सकिएन । अहिले पनि एउटी चालीस वर्षकी महिला रिलेसनमा छ । यो यात्रा पनि कहाँसम्मको हो थाहा छैन ।


उनको कथा सुन्दासुन्दै म त अलमल्ल परेछु । उनले अन्तिममा बोले— यहाँसम्म आइपुगेपछि थाहा भयो जीवन पानीको भुटुन रहेछ । दुवैले आँखा जुधायौं । फुस्रो हाँसो हाँस्यौ र उठ्यौं ।

प्रकाशित : आश्विन ११, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?