१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कथा : चक्र

रमेशकाजी स्थापित

हाकिम साहेबको साइकोलजी नै यो छ कि जुन दिन उनी घरमा श्रीमतीसँग झगडा गरेर आउँछन्, त्यो दिन अफिसमा उनको अनुहार गमक्क फुलेको हुन्छ । अनि त्यो अनुहारमा कालो न कालो बाक्लो बादल पनि छाएको हुन्छ । कोही स्टाफ उनको अगाडि पुग्नुपर्छ, उनको दशा बिग्रिन्छ । यस्तो किनभने हाकिम साहेबले आफ्नी स्वास्नीसँग झगडा गरेर आएको रिस सबै आफ्नो अगाडि जो आउँछ, उसैलाई पोख्ने काम हुन्छ ।

आज दशा ब्रिगिने पालो कहाँ कहाँबाट पन्नादाइको रह्यो । हाकिम साहेबलाई स्वास्नीसँगको झगडाको रिस कसलाई पोख्ने हो भइरहेको स्थिति थियो । यता पन्नादाइलाई अफिसको एउटा कामबारे सोध्न हाकिम साहेबको अगाडि पुग्नुपर्‍यो । कस्तो साइत मिल्यो भने उनले हाकिम साहेबसँग केही सोध्न पनि पाएका थिएनन्, हाकिम साहेबको गाली खान मात्र ठिक्क भयो । गाली पनि केही चाहिने कारणले थियो र भने ? बिनाकारण लामो न लामो गाली । भएको मात्र भए, हरे ! चाहिए पनि नचाहिए पनि गाली खानुपरेकाले रिस त पन्नादाइलाई पनि उठेको थियो, तर त्यसलाई पोख्न सकेनन्, आफूभित्रै राखे । जे भनेपछि हाकिम न हुन् । कहिलेकाहीं गाली गर्दा पनि सहनैपर्‍यो ।


हाकिम त पन्नादाइ पनि हाकिम नै हुन् । शैक्षिक प्रमाणपत्र अगाडि राखेर हेर्ने हो भने हाकिम साहेब र पन्नादाइको योग्यता पनि बराबर नै छ । हाकिम साहेबले जागिर चाँडै खाए, चाँडै प्रमोसन पनि भयो । पन्नादाइले ढिला जागिर खाए, प्रमोसन पनि भएको छैन् । त्यसैले त हो पन्ना दाइ हाकिमभन्दा दुई तहमुनि भएको । हाकिम साहेबको कोठबाट बाहिर निस्केर आफ्नो कुर्सीमा बसेका पन्नादाइ पूरा दिन त्यसमै रहे । कसैसँग चुइँक्क बोलेनन, काम मात्र गरिरहे । पूरा दिन उनले कुर्सी छाडेको भनेको ट्वाइलेट जानलाई मात्र थियो । होइन भने चिया त के, अफिसको मेसमा तयार भएको टिफिनसमेत उनकै टेबलसम्म ल्याइदिंदा पनि नखाएर फिर्ता पठाइदिए । रिस भनेको पनि गज्जबको नै हो । अरू कसैलाई नपोखेसम्म सेलाउने नै होइन । अनि जसलाई त्यो रिस पोख्ने काम हुन्छ, उसले पनि अरू कसैलाई नपोखेसम्म त्यो रिस बलिरहने नै रहेछ । यो हो होइन, बुझ्न अफिसको पर्खालबाहिर उभेर हेरे त्यत्तिकै पुग्छ । अफिस छुट्टी भएपछि मोटर साइकल चढेर फर्केका हाकिम साहेबको अनुहार चम्किलो थियो । हिंडिरहेका पन्नादाइको अनुहार भने त्यही बाटोमै खस्ने खालको थियो ।
हिजो अस्ति पन्नादाइ घर पुग्न पाएको हुन्न थियो, लुगा पनि राम्रोसँग नफुकालेर आफ्नी श्रीमतीलाई भन्ने गर्थे,
‘तिमीले चिया खायौं त ?’
‘बच्चालाई के खुवायौ त ?’
आज पन्नादाइले त्यस्तो सोधेनन् । नसोधको मात्र होइन, श्रीमतीको अनुहार पनि हेरेनन् । पन्नादाइकी श्रीमतीलाई पनि चित्त बुझेन्, लुगा फुकालिरहेका आफ्ना श्रीमान्लाई सोधिन्,
‘किन अनुहार अँध्यारो छ ? कतै अफिसमा काम मिलेन कि ?’
‘तिमीलाई किन चाहियो ?’
पन्नादाइले कराउँदै भने,
‘खुरुक्क खाना ल्याउनु त ।’
श्रीमती केही नबोलेर भान्छातिर लागिन् । एकै छिनपछि अमलेट र चिया लिएर कोठामा आइन् । रिसाएर खाटसँगै बसिरहेका पन्नादाइले चम्चाले अमलेट एक टुक्रा काटे र मुखमा हाले । अनि चिया कपलाई भुइँमा बजार्दै अमलेट भएको रिकापी परसम्म धकेले । जुरुक्क उठे ।
‘होइन, के भयो ?’ आत्तिएर श्रीमतीले सोधिन् ।
‘तेरो टाउको भयो । खाना पकाउँदा पकाउँदा बूढी भइसक्यौ, चिया एक कप र अमलेट एउटा ठीकसँग बनाउन जानेको होइन । आफैं खाएर त हेर, अमलेटमा फिटिक्क नुन छैन । चियामा चिनी खाएर साध्य छैन ।’
हिजो अस्ति भएको भए, चिनी बढी हुँदा चियामा दूध थप्न भन्थे, पन्नादाइ । अमलेटमा नुन राख्न बिर्सेको भए, नुन अलि छर्किन भन्ने खालका थिए, पन्नादाइ । तर आज यत्तिकै सानो कुरामा श्रीमतीले गाली खानुपर्‍यो । श्रीमतीले मनभरि रिस कोचेर रिकापी र कप उठाइन र माथितिर लागिन् । जुठो कौसीमा राखेर फर्कन पाएकी थिइनन्, त्यस अगाडि कोठामा बसेर होमवर्क गरिरहेका छोरा मनीष भान्छामा आइसकेका थिए । अनुहार जुध्न पाएको थिएन, भनिहाले,
‘मम्मी कर्न फ्लेक्स खाने ।’
पन्नादाइको श्रीमतीले दूधमा कर्न
फ्लेक्स राखेर छोरालाई दिइन् ।
बच्चाले जिद्दी गरे,
‘मम्मी, खुवाइदिनुस् न ।’
हिजो अस्ति भएको भए, आमाले माया गर्दै चम्चाले आफैं खुवाउने काम गर्थिन् । आज भने छोराको कुरा सुन्दै उनलाई पनि रिस उठ्यो । भनिन,
‘हात छैन ? आफैं खानु ।’
एक्लो छोरा न परे, जिद्दी गरिरहे,
‘मम्मी, खुवाइदिनुस् न ।’
बच्चाले जति जिद्दी गरे, आमाको पारा चढ्दै गयो । अनि रिसको झोंकमा बच्चाको ढाडमा जोडले दुईपल्ट हिर्काइन् र भनिन्,
‘खुवाउने भनेको होइन, लौ खा ।’
छोरा खुट्टा भुईमा बजार्दै चर्को स्वरमा रोयो । यसरी खुट्टाले चलाएपछि त्यसले धकेलेर कर्न फ्लेक्स र दूध भएको गिलास पनि भुइँमा पोखियो । रिसमा आमाले केही देखिनन् । भनिन्,
‘घिच्यौ होइन कर्न फ्लेक्स ?’
फेरि छोरालाई हिर्काइन र कोठातिर चुपचाप लागिन् ।
घरमा पालिरहेको पप्पी अघिदेखि भान्छाको कुनामा मस्तले सुतिरहेका थियो । बच्चा रोएको आवाजले उसको निद्रा खुल्यो । अनि बिस्तारै गएर भुइँमा पोखिरहेको कर्न फ्लेक्स चाट्न थाल्यो । रोइरहेका बच्चा टक्क रोकियो र कुकुरलाई घचेट्यो । रिकापी, कपमा भएको भए खानु हुन्न भनेर राम्रोसँग थाहा थियो, पप्पीलाई । बच्चाले घचेटिरहे पनि भुइँमा पोखिरहेको हुनाले पप्पीले चाटिरह्यो । बच्चालाई कर्न फ्लेक्स खान नपाएको एकातिर, अर्कोतिर त्यसै कुटाइ खानुपरेको, रिस थाम्न सकेन । उसले रिसमा केही समय पप्पीलाई हेरिरह्यो, जुरुक्क उठ्यो । कुनामा रहेको कुचो लिएर पप्पीमाथि बर्सियो । टाउकै टाउकोमा हान्यो । पप्पी दुखेको सुरमा कराउँदै भाग्न थाल्यो,
‘क्वाइँ..क्वाइँ..क्वाइँ..।’
(नेपाल भाषाबाट अनुवाद ः हिमेश ।)

प्रकाशित : आश्विन ११, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?