कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धेरै सजिलो छ

चन्द्र गुरुङ

भत्किएको सडकको अनुहार मिलाइदिनु छैन
वारि र पारि जोड्ने आकाशेपुल तेर्साइदिनु छैन
बाटो, र गल्लीहरु उज्यालो पारिदिनु छैन
चोकतिर थुप्रिएको फोहोर उठाइदिनु पनि छैन
नाबालकलाई ढाँट्नुजस्तै धेरै रमाइलो छ ।

सोधिएको प्रश्नको जवाफ फर्काउनु छैन
चित्तबुझ्दो स्पष्टीकरण दिइरहनु छैन
न कुनै परियोजनाको तस्बिर कोर्नु छ
न विकासको कुनै नौलो चरी समात्नु छ
सुकेको सिन्को भाँच्नुजस्तै धेरै आराम छ ।

आँखाहरु चिम्लेर बस्छन् केही हेर्नु छैन–
छिमेकीले मिचिरहोस् साँधसिमाना
जनता भेडाबाख्राझैं चरिरहोस्
परदेशमा
अग्लिरहोस् विदेशी रिनको टाकुरो
केही फरक पर्दैन दैनिकीमा
जाडोमा न्यानो घाम ताप्नुजस्तै
धेरै सुख छ ।

कानहरु छोपिएका छन् यिनका
कतै नाराहरुमा असन्तुष्टि चर्केको जान्नु छैन
कोही भोकले व्याकुल बनेको थाहा
राख्नु छैन
कुनै गुनासो र बिन्ती सुन्नु छैन
धूवाँ उडाउँदै चियापसलमा गफिनुजस्तै
धेरै मज्जा छ ।

यिनका मुखहरु थुनिएका छन्
मुनाफाखोर कता लुकेको बताउनु छैन
चोर कता पसेको देखाउनु छैन
दलालहरु कहाँ भेला भएर भोज गर्दै छन्
भ्रष्टहरुले कुन बैंकमा नयाँ खाता खोलेका छन्
कसैलाई केही जवाफ दिनु छैनबारीमा ठड्याएको बुख्याचाजस्तै
धेरै गजब छ ।

बिहानहरु बलात्कारको खबर लिएर आउँछन्
बलात्कारीलाई यताउता खोज्नु छैन
दिनहरु हत्या र चोरीको हल्लासित हिँड्छन्
कतै कुनै जाँच पडताल गर्नु पर्दैन
एउटा सनकीले अँध्यारोमा आकाश ताक्दै
जून र ताराहरू टिपिरहेकोजस्तै
धेरै सजिलो छ

मेरो देशको सरकार चलाउनु ।

प्रकाशित : आश्विन ११, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?