कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फणीन्द्रको घर

आन्विका गिरी

म फणीन्द्रलाई कसैले चिन्दैन थिए । उसका बाउ पनि त्यति धेरै परिचित होइनन् । आमा त झनै अपरिचत । फणीन्द्रको अनुहार पनि उतिसारो कसैलाई याद थिएन । पढाइमा तेज थिएन । गाउँमा हूलदुंगामा पनि तेज थिएन । ऊ गाउँमा थियो कि थिएनसमेत मान्छेहरूले ख्याल गरेका थिएनन् ।

फणीन्द्रको घर

फणीन्द्रका बाउ गाउँको चियापसलमा बिरलै देखा पर्थे । खेती, जजमानीले गर्दा उनलाई फुर्सद थिएन । उनका जजमान पनि सामान्य थिए । त्यसलै उनको नाम थिएन भन्दा फरक पर्दैन । अति सामान्य मान्छेको सामान्य छोरा थियो । खेत पनि आफ्नो थिएन । अरूको अँधिया लिएका थिए । फणीन्द्र सायद खेतैमा हुन्थ्यो, त्यसैले गाउँमा उसलाई देखिँदैनथ्यो ।


गाउँमा हुने फुटबल होस् कि सांस्कृतिक कार्यक्रम कतै उसको खोज खबर थिएन । कोहीलाई ऊ चाहिएको थिएन । मान्छे भैकन पनि कसरी नभएजस्तो हुन्छ भनेर जान्न मन हुनेलाई फणीन्द्र खासाको पात्र थियो ।


चार वर्ष भो । फणीन्द्रलाई नचिन्ने कोही भएन । बालबच्चा, युवा, बूढाबूढी सबै फणीन्द्रलाई चिन्छन् । गाउँको मध्यमा घर भएको फणीन्द्रलाई चिन्नुको कारण पनि उसको घर नै थियो । हुन सक्थ्यो, पहिला कसैले नचिन्नुको कारण पनि उसको ढल्नै लागेको फुसको घर हुन सक्छ । त्यसमाथि गाउँको पुछारमा थियो उसको घर । अहिले उसको मार्बलवाला घर छ । त्यो पनि गाउँकै बीचैमा ।


पहिला गाउँमा फणीन्द्रले बेलायत भासिएका रमेश क्षत्रीको घरसहितको १० कठ्ठा जग्गा किन्यो । मोलतोलमा निकै हठी क्षत्रीको घरसहितको जग्गा किन्न कोही गाउँलेले आँटेका थिएनन् । बेलायतमा छोराबुहारीसँग बस्न जान लागेका क्षत्री दम्पतीले सस्तोमा घर देलान् भनेर दाउ ताकेर बसेकाहरू फणीन्द्रले ठ्याम्मै मोलमलाई नगरी जग्गा किनेपछि चनाखो भए ।


‘आम्मै !’ धेरैले आश्चर्य प्रकट गरे ।


‘आँट्यो है केटोले !’ भने ।


क्षत्रीको घर काठको भए पनि भव्य नै थियो । माथि चारवटा कोठा त्यसमाथि चारैतिर काठले बारेको । हरेक दसैंमा नबिराईकन चुन लगाउँथे । गाउँमा भान्छा र खाना खाने ठाउँ छुट्टै भएको घर उनैको मात्र थियो । टेबल र कुर्सीमा बसेर खाने उनैको परिवार थियो ।

माथि पूजाकोठाबाहेक सबैमा कार्पेट बिछ्याएका थिए । क्षत्रीका हजुरबुबाले नै बनाएको त्यो घर गाउँमा सबैभन्दा लायकको थियो । आँगन पनि फराकिलो थियो । शौचालयमा दिसा–पिसाब गर्ने कुरा सहरमै पनि उति चलिनसक्दा नै उनको घरमा शौचालय र नुहाउने ठाम छुट्टै थियो । आँगन पनि सबैतिर बाँसको टाटीले बारेका थिए । सीधै घरमा कोही छिर्न सक्तैनथ्यो । टाटीकै गेट थियो । भित्रबाट सिक्री लगाएका थिए । हात छिराएर खोल्न त मिल्थ्यो तर कोही आफैंले खोल्दैनथे । क्षत्री र उनका परिवारले मात्रै खोल्थे ।

बार्दलीमा लहरै गमला राखेका थिए । कान्छी फूल, जेठी फूल, गोदावरी मिलाएर रोपेका थिए । उनको घरको भव्यतालाई क्षत्रीको व्यक्तित्वको भव्यताले छोपेको थियो । त्यसैले त कसैले पनि ‘घर हुनु त क्षत्रीको जस्तो’ भनेर भनेको सुनिन्नथियो । क्षत्री सरकारी कर्मचारी थिए । उपसचिव भैसकेका । तीन छोराछोरीलाई विदेश नै पठाएका थिए । उनको घरको बारेमा कसैले केही नभने पनि ‘जे होस्, क्षत्री सरले छोराछोरी चाहिँ पढाएकै हुन्’ भन्थेँ । गाउँमा यावत् चर्चाको अन्त्यमा क्षत्रीको बारेमा यति कुराचाहिँ भनेकै हुन्थे । घर त बिस्तारै वैदेशिक रोजगारीमा गएका कमल, हरि, जानकी, सृजनाले पनि बनाए जो पहिला सुकुम्बासी टोलमा थिए । पसिना र रगत एकैचोटि मुछ्ता पनि तीनका घर बस्नसम्मका मात्र थिए । तैपनि आफ्नै जमिनमा घर बनाउन सकेकोमा उनीहरूलाई गर्व थियो । तर तीनका घर कसैका नजरमा थिएनन् । तिनका घरको चर्चा कसैले गरेन ।


क्षत्रीको घरदेखि तीन घर पर गाउँको बीचोबीचमै दिव्यकला निरौलाको चियापसल थियो । बिहान चना–मटरको तरकारी र भुजा खाजा पनि पाउँथ्यो । त्यसपछि दिउसोभरि वन, आयातकार पाउरोटी र अरू बिस्कुट पाइन्थ्यो । गाउँमा आइरहने, गइरहने बिजुलीको भर परेर एउटा फ्रिज पनि राखेकी थिइन् । गाउँलेहरू टीभीमा विज्ञापनमा जस्तो ट्याग लाइन आउँथ्यो, उसैगरी पेय पदार्थ माग्थे । एक वर्षअगाडि ठन्डा मतलब कोकोकला भन्दै मुख परपर गर्ने ग्लोबल ड्रिंक पिइरहेकाहरू अर्को साल ‘चलो कुछ तुफानी करते हैं’ भन्दै थम्जअप मागिरहेका हुन्थे । केही सालअघि हुरीले फुसको छानो उडाएपछि टिनले पसल छाएकी थिइन् । भित्र दुईवटा बेन्ची र बाहिर केही कुर्सी थिए । गाउँमा कसैले चाल नपाओस् भनेर चुरोट तान्ने तन्नेरी र आइमाई मान्छेहरूका लागि पसलको पछाडितिरबाट बारीमा निस्कने ठाउँ पनि थियो ।


‘बेच्नुपरिगो आइमाईले चुरोट खाएको देख्ता मनचाहिँ खिन्न हुने !’ यसो भन्दाभन्दै गामका बुढियाहरूको साथमा पहिला तिनले बिँडी तानिन् । पछिपछि बिजुली चुरोट हुँदै खुकुरी चुरोटसम्म पुगिन् । अरूले खाइरहेको एक–दुई सर्को तानेर आफ्नो खर्च भने सधैं बचाइन् ।


दलितहरूका लागि पहिला पहिला उनको पसलमा चियासँगै गिलास माझ्नुपर्ने नियम थियो । ‘देशमा गणतन्त्र आइसकेपछि यत्रा नि माझिन्न ! दाम तिररे खाएपछि अरूझैं हामी पनि चियाको गिलास छाडेर हिँडिन्छ’, पद्मा विश्वकर्माले एक दिन गिलासै फोडेरै हिँडी । पसल नचले मुखमा माड लाग्न मुस्किल थियो । दिव्यकलाले बोल्न सकिनन् । देशमा गणतन्त्र आएको उनलाई पनि थाहा थियो ।

रातदिन राजनीतिको चर्चा चल्ने भएपछि उनका कानले सुन्ने नै भए । पद्मा जनआन्दोलनमा नारा लाउँदै हिँडेकी थिई । त्यति बोल्न उसले जानी । उसको त्यति बोलिले अरू थुप्रै दलितहरू भुइँमा टुक्रुक्क बस्नुपर्ने अपमानबाट माथि खाली बेन्ची र कुर्सीमा सरेका थिए । अझै पनि आफूलाई जातैले उच्च मानेकाहरू भने दलितहरू बेन्ची र कुर्सीमा बसेको देखे भने उभिएरै चिया पिउँथे । ‘हैन ठीकै छ’, बेन्चीमा खाली ठाउँ हुँदाहुँदै पनि उनीहरू भन्थे । उनीहरू ठीकै भए दिव्यकलालाई पनि केको खसखस ! यही चियापसलमा क्षत्री नभएका बेला एकाध दिनको फरकमा उनले बेलायत पठाएका छोराछोरीको चर्चा चलिरहन्थ्यो ।


फणीन्द्रको चर्चा उसका बा क्षत्रीको घडेरी र बारी किन्ने काम–कुरो छिन्न आएपछि सुरु भएको थियो ।


‘फणीन्द्रले गाउँमै बस्नुपर्छ भनेर किनेको,’ फणीन्द्रका बाले चोकको चियापसलमा सुनाए ।


‘जे होस् केटोले गाउँको बारेमा यति सोचेछ,’ फणीन्द्रको चर्चा यसरी सुरु भएको थियो ।


क्षत्री बेलायत गएको एक सातामा गाउँमा एउटा डोजर आयो । डोजर जसै आयो, क्षत्री गाउँको चिया चर्चाबाट स्वाट्टै हराए । डोजर सँगसँगै फणीन्द्र पनि आयो । अनि गाउँमा चर्चा पनि उसैको मात्र भयो ।


फणीन्द्रले सुरुमा त क्षत्रीको घर पूरै भत्काइदियो । उनका घरका सारा सामान फणीन्द्रले आँगनमा ल्यायो र भन्यो, ‘जसजसलाई जे लान मन छ, लानुभए हुन्छ ।’ दिनको उज्यालोमा सुरुमा फणीन्द्रकै सामुन्ने त मान्छेहरूले धक माने । तैपनि दिव्यकलाले सोफा र टेबल कुर्सी छोरीहरूलाई स्कुलबाट बोलाएर लतारेरै भए पनि लगिन् । त्यसपछि त को–को आयो, के–के हारालुछ गरेर लग्यो । कसैले हिसाब राखेन । लाज भएकाहरूले राति गएर रहलपहल सामान ल्याए ।


‘केटोले क्षत्रीको एउटै सामान राखेन । धेरै कमाएछ !’ गाउँमा अब यसरी फणीन्द्रको चर्चा व्यापक हुँदै गयो ।


बिस्तारै फणीन्द्रको घरको जगको, रडको, सिमेन्टको, इँटाको गफ दिव्यकलाको चियापसलमा हिट भए । दिनको कुनै न कुनै समय फणीन्द्रको घरको सामान ओसारिरहेका ट्याक्टरहरू दिव्यकलाकै पसल हुँदै जान्थे । हरेक ट्याक्टर गएपिच्छे फणीन्द्रको कुरा आइहाल्थ्यो । ट्याक्टरमा इँटा भए ‘चाइनिज इँटाको घर यो गाउँमा कसले बनाउँछ, घरचाहिँ बनाउने नै’ भयो भन्थे । रड गए रडकै कुरा, सिमेन्ट गए सिमेन्टकै कुरा । जे गयो त्यसैको कुरा गर्दा गाउँका लोग्नेमान्छेको समय कटेकै थियो । एकाधबाहेक आइमाईहरू चिया गफबाट वर्षौंदेखि छुटिरहेका छन्, फणीन्द्रको चर्चाबाट पनि छुटे । तैपनि आँखैअगाडि बनिरहेको घर उनीहरूले पनि देखिरहेका थिए । आफ्ना लोग्नेहरू, छोराहरू, दाईहरू, भाइहरू फणीन्द्रको कुरा लिएर घरसम्मै आइरहेका थिए ।


‘कहाँबाट आयो त्यत्रो पैसा ?’ विष्णु मास्टरलाई शंका लाग्यो । चियापसलमा उनको कुरा सुनेर अरू एकाधलाई पनि शंका नलागेको होइन । तर हिजोसम्म बेवास्ता गरेको फणीन्द्रले कहाँबाट पैसा ल्याइरहेको थियो कसैले पक्का केही भन्न सकेन ।


‘त्यही त !’ उनीहरूले ठोस कारण दिएर आफ्नो शंकाको पुष्टि गर्न नसके पनि यतिचाहिँ भने ।


‘जग्गाको कारोबारमा छ रे,’ दिव्यकलाले मास्टरलाई चिया थमाउँदै बोलिन् ।


‘ए ए’, थिरबहादुर दमाइले भने, ‘जग्गामा पैसा छ ।’


‘हो, हो । जग्गामा पैसा छ’, अरूले पनि सही थापे । जग्गाको कारोबार सुस्ताएर आफ्नो पैसा फसेको महेश पनि केही बोलेनन् । उनले ओठ लोप्राए । उनको लोप्रिएको ओठ कसैले नोटिसमा लिएन । सबै फणीन्द्रले तीन तला घर बनाउने भो भन्ने नयाँ सूचनामै गफिए ।


तीन तलाको चाइनिज इँटाको घर बन्न झन्डै डेढ वर्ष लाग्यो । यो बीचमा फणीन्द्र गाउँमा अपरिहार्य भयो । गाउँको कुनै काममा पनि ऊ नछुट्ने भयो । स्कुलको वार्षिक उत्सव, सहकारीको बोर्ड, सडक उपभोक्ता समिति हरेकमा ऊ नभई नहुने भयो । हुँदाहुँदा अब उसको बचपनका किस्सा बन्न लागे । उसले फलाना चीज गरेको, आफूले हप्काएको वा उसले ढिस्काना चीज गरेको, आफूले स्याबासी देको आदि इत्यादि कथा सुनाउन तछाँडमछाड गर्न लागे ।


यी किस्साहरूमा दिव्यकलाले पनि आफ्नो किस्सा जोडिन् । ‘मेरो दोकानको चिया नखाई हुँदैन, फणीन्द्रबाबुलाई !’ दिव्यकलाले ङिँच्च दाँत देखाउँदै भनी ।


‘भो भाउजू गफ नदेऊ,’ महेशले भने, ‘आजसम्म उसले यो चियापसलमा पाइला राखेको मैलेचाहिँ देख्या छैन ।’


‘तपाईंले देखे हुने नभए नहुने !’ दिव्यकलाको आवाजमा थोरै टर्रो भए पनि उनको गिलास उठाइमा रिस देखियो । रित्तिन लागेको महेशको चियाको गिलास उनले फुत्तै खोसेर हिँडिन् ।


फणीन्द्र सामान्य उचाइको मान्छे थियो । नाकनक्सामा पनि उल्लेख्य केही थिएन । थियो त उसको बुलेट मोटरसाइकल । जसको आवाज परैदेखि आउँथ्यो । ‘दाजु के छ ?’, ‘भाउजू खाना पाक्यो ?’ ‘आमै खानपिन भो ?’ ऊ भेटे जतिसँग बोल्दै हिँड्थ्यो ।

चियापसलबाट गुज्रँदा पनि ऊ ‘नमस्कार है’ भन्दै एक हात उचालेर जान्थ्यो । यो पनि उसले घर बनाउन थालेदेखि मात्रै गरेको थियो । त्योभन्दा पहिला उसले बोलेको अरूले वास्ता गरेका थिएनन् वा ऊ बोलेकै पो थिएन कि !


घर सकिन सकिन लाग्दाताकादेखि नै विभिन्न किसिमका मोटरको ओहोरदोहोर बढ्यो गाउँमा । ती सबै मोटरको गन्तव्य फणीन्द्रको बन्दै गरेको घरसम्मको थियो । ती मोटरहरूमा रातोसँगै सेतो प्लेट नम्बरहरू पनि थिए । मोटरहरू आउने क्रम घर बनिसकेपछि पनि चलिरह्यो । गाउँमा कार्यक्रममा बोलाउँदासमेत नआउने नेता, कर्मचारी, भद्रभलाद्मी, प्रख्यात, कुख्यात सबैको आउजाउ हुन थालेको थियो ।

यो चहलपहलले दिव्यकलाको चियाको बिक्री पनि बढेको थियो । ती मोटरमा आएका मान्छे आएर होइन, मोटर आउनेबित्तिकै गाउँलेको पुरुष मण्डली आफ्नो खसखस मेटाउन दौडँदै पसलमा आइपुग्थे । भर्खरै चिया खाएर गएको भए पनि उनीहरू पुगिहाल्थे । चिया नखाई गफ मात्र दिव्यकलाको पसलमा गर्न पाइँदैनथ्यो ।


‘जे होस् केटो गाउँमै घर बनायो र गन्यमान्य मान्छे यो गाउँमा आए,’ फणीन्द्रप्रति आभार प्रकट गर्दै मान्छेहरू आफ्ना घरतिर लाग्थे । तीनलाई आफ्नो घरले कोही मान्छे बोलाउन नसकेकोमा चुकचुक लाग्थ्यो ।


घर सकिएपछि फणीन्द्रले वरपर इँटाकै पर्खाल लगायो । सात फिट उचाइको पर्खालले बाहिरबाट केही देखिँदैनथ्यो । कालो र सुनौलो इनामेलले पेन्ट गरेको गेट अब घन्टी थिचेपछि मात्र खुल्थ्यो । क्षत्रीको घरमा पनि गेट थियो तर त्यो पारदर्शी थियो । सबैले भित्र देख्थे । भित्रका सबैले पनि सडकका मान्छे देख्थे । तर अब फणीन्द्रको घरभित्र के छ, के हुँदै छ कसैले देख्तैनथ्यो । न फणीन्द्रले पनि सडकमा को हिँडिरहेको छ देख्थ्यो । तर भित्र के छ, कस्तो घर बन्यो भनेर देखाउन फणीन्द्रले सारा गाउँलेलाई र उसका आफन्तलाई डाक्यो ।


गाउँलेहरू उत्सुक थिए । उस्तै उत्सुक फणीन्द्रका आफन्तहरू पनि । गेटबाट छिर्नेबित्तिकै सिमेन्टले छापेको फराकिलो आँगनमा सबै पुगे । आँगनको चारैतिर स्ट्यान्ड बनाएर थरीथरी फूलहरू गमलामा सजिएका थिए । ती नर्सरीबाट ल्याएजस्ता देखिन्थे । वैशाखमै सयपत्री फूलिरहेको थियो । गाउँमा पूजा वा अरू कार्जे हुँदा आँगनमा नै सबैका लागि बस्ने र खाने व्यवस्था हुन्थ्यो । तर यहाँ आँगनमा केही छैन, सिवाय दायाँ छेउमा बकैनाको बोटमुनि एउटा फलामे झुलुगों । त्यसमा फणीन्द्रकी छोरी झुलिरहेकी थिई ।

आउनेहरू नअलमलिउन् भनेर फणीन्द्र ढोकामा छतको बाटो देखाउन बसेको थियो । अनि पो मान्छेहरूले देखेँ, भर्‍याङमा मार्बल ओछ्याएको । उनीहरूले तला उक्लँदै गर्दा हरेक कोठामा मोटो उज्याला कार्पेट ओछ्याएको पनि चियाउन भ्याए । भर्‍याङको मुखैमा ठूला गमलामा फूल नफुल्ने तर सधैं हरिया देखिने बिरुवा राखिएका । भित्तामा पोखरा, लुम्बिनी, राराका बडेमानका फोटाहरू फ्रेम गरेर राखेको । भुइँ तलामा नै भर्‍याङको दाहिनेतिर एउटा टेबल, अनि पाँच जना बस्न मिल्ने सोफासेट थियो । बाहिर बसेर आँगनतिर हेर्दै चिया खान हुने । पहिलो तल्लामा ठ्याक्कै त्यस्तै सेटिङ ।


गाउँका मान्छे आश्चर्यचकित छन् । एक त तल उक्लँदाको स्वाँस्वाँ त्यसमाथि तीनले चिताउँदै नचिताएको साजसज्जा । कति कुरा त तिनले चिन्न सकेनन् । कति अनुमान लाए । कति सहरतिरका आफन्तले भन्दा तिनले थाहा पाए । उनीहरूमाथि छतमा पुगुन्जेल असिनपसिन भएका थिए । छतमा पाल टाँगेर एक छेउमा कुर्सीको व्यवस्था गरिएको थियो । अर्को छेउमा खाने कुरा स्टलमा मिलाएर राखिएका थिए । फणीन्द्रका बाआमा, पत्नी, साली, बहिनी सबै पाहुनाको स्वागतमा व्यस्त थिए । फणीन्द्र पनि माथि आएर पाहुनाकै सत्कारमा लाग्यो । यसपछिका दिनमा त फणीन्द्रको चर्चा यति चुलियो कि भनिसाध्य भएन ।


‘त्यस्तो खाना आजसम्म यो गाउँमा त के चार गाउँमा कसैले खुवाएको थिएन ।’


‘कस्ता राम्रा फूल ! कस्तो मिलाएर सजाएको !’


‘सोफाको रङ कस्तो राम्रो !’


‘भान्छा पनि कस्तो फराकिलो !’


‘भान्छामा पनि मार्वल ओछ्याएको रहेछ !’


‘कहाँकहाँबाट फोटो ल्याएर राखेको !’


‘बाथरुममा तातो चिसो दुवै पानी आउँछ रे !’


‘घर हुनु त त्यस्तो पो !’


यी सबैमा पनि ट्वाइलेट र बाथरुममा पनि मार्बल ओछ्याएको कुराले धेरैचोटि दोहोरिने मौका पायो । सबैले एक न एकपटक यो कुरा उल्लेख गरेकै थिए ।


‘फणीन्द्रको घर सारै राम्रो,’ सबैका चर्चाको सारांश यही थियो । फणीन्द्रको घर देखेर सबैले घुटुक्क थुक निलेका थिए । चर्चाकै बीच गाउँमा एक दिन फणीन्द्रको बुलेट तुफानी गतिमा पसलअघि बाट गयो । त्यो दिन उसले गाउँका मान्छेतिर हेर्दा पनि हेरेन ।

फणीन्द्र गएको पाँच मिनेट पनि भएको थिएन, प्रहरीको भ्यान पनि उही गतिमा आयो । अरू बेला पनि प्रहरीको भ्यान नआएको होइन । तर अरू बेला फणीन्द्रको र प्रहरी भ्यान दुवैको तुफानी गति हुन्नथियो । यो तुफानी गतिले चिया खाइरहेका मान्छेको ध्यान तान्यो । प्रहरीको भ्यान कहाँसम्म पुग्ला भनेर दिव्यकला र महेशले सडकमै पुगेर हेरे । भ्यान फणीन्द्रको घर अगाडि रोकियो । भटाभट प्रहरीहरू झरे । गाउँका मान्छे हिँड्दाहिँड्दै पनि कुदेर भ्यान छेउमा पुगे ।


‘के भयो ? किन प्रहरी आए ?’ गाउँलेका मनको प्रश्न कसैले स्क्यान गर्न नपाउँदै दुई जवान तल झरे ।


‘सर खोइ को नेतालाई फोन गर्दै छ’, उनीहरूले एकै स्वरमा सुनाए, ‘तल आउन मान्दै मानेन !’


‘त्यसका बाउको पनि नाम आइसक्यो,’ इन्स्पेक्टर अरू पनि गाली बक्दै भित्र छिर्‍यो । एकै छिनमा फणीन्द्र लुरुलुरु प्रहरीबाट घेरिएर आइपुग्यो । त्यति हुँदा पनि उसले त्यहाँ भेला भएका गाउँलेलाई हेरेर ङिच्च गर्‍यो । गाउँलेले पनि ङिच्च गरे ।


‘के गर्‍यो र यसले ?’ विष्णु मास्टर चुप बस्न सकेनन्, ‘किन पक्रेको ! हाम्रो गाउँको केटो हो त्यसै केही नभनी लान पाइन्छ ।’
‘हो, हो’ को भावमा अरूले नि टाउको हल्लाए तर कोही बोलेनन् ।


इन्स्पेक्टरले घुरेर सबैलाई हेर्‍यो । ‘बजारको हटिया छ नि,’ उसले फणीन्द्रतिर हेर्दै भन्यो, ‘बेचेछ यसले । मालपोतका कर्मचारीसँग मिलेर । फूलमाला लगाऊँ ?’


‘एऽऽऽ’, गाउँलेले यति मात्र भने । फणीन्द्रका बाले प्रहरीको भ्यान गइसकेपछि ‘फसाए मेरो छोरालाई’ भने । गाउँले खासै बोलेनन् । महेश पनि बोलेनन् । दिव्यकला ‘दूध बसाल्नु छ’ भनेर हिँडिन् । बिस्तारै लोग्नेमान्छे जतिले उनैलाई उनको चियापसलसम्म पछ्याए । स्वास्नी मान्छेहरू आ–आफ्नो घरतिर छिरे ।


‘मैले त पत्याएको थिनँ,’ कुरा महेशले नै सुरु गरे, ‘जग्गाको कारोबार नै ठप्प छ अहिले ! कहाँबाट आउँछ त्यत्रो पैसा ?’


‘मलाई पनि खासै विश्वास त थिएन,’ विष्णु मास्टरले हात मोल्दै, घाँटी सफा गर्दै भने, ‘त्यति छिटो फटाफट त कसरी पैसा कमाउँछ मान्छेले !’


‘मलाई त पहिल्यैदेखि जाली जाली लाग्थे,’ दिव्यकलाले पनि आफूलाई रोक्न सकिन । दिव्यकलातिर हेरेर पद्माले ‘है’ गर्दै ङिच्च गरी ।


यावत् चर्चा चलिरह्यो । मालपोतका कर्मचारीसँग मिलेर सरकारी जग्गा विभिन्न मान्छेको नाममा पारेर त्यसैबाट कमाएको पैसाले घर बनाएको कुरा निस्कियो । दोहोरियो । एकै छिनमा अनेक कुरा हावामा उड्दैउड्दै आए ।


‘त्यो मन्दिरको जग्गा त झन् नेताकै आफन्तलाई दिलाइदिएर खाएको रे !’ हीराबहादुर दमाईले फोन राखेपछि नयाँ सूचना सुनाए ।
‘छुटिहाल्छ, पुलिसलाई नै ख्वाएर गरेको छ रे सबै काम !’ दिव्यकलाले पनि थपिन् ।


‘कल्ले भन्यो ?’ हीराबहादुरले उनको कुरा पत्याएनन्, ‘मिलेको भए अहिले लग्थ्यो त ?’


‘यो पुलिसलाई खुवाएको हैन नि त’, दिव्यकलाले पद्मातिर हेर्दै आँखा झिम्क्याइन्, ‘खुवाएको पुलिस आज छुट्टीमा थियो होला नि !’

एक चरण हाँसो फैलियो । हाँसो रोकिएकै थिएन विष्णु मास्टर बोले, ‘अलि दिनमा आउँछ फेरि बुलेट चढेर । यस्तै हो यो देशमा जे गरे पनि छुट छ ।’


‘आवोस्, त्यसको मुख हेर्दिन,’ महेशले कड्केर भन्यो, ‘जे भए पनि हामी भलाद्मी मान्छे हौं ।’


‘कस्तो फटाहा रैछ’, विष्णुले दुई–तीनचोटि भने ।


आधा–एक घण्टाको छलफलपछि सबै उठ्ने तरखरमा लागे भात जो खाने बेला भएको थियो । सबैभन्दा पहिला बाटामा पुगेका विष्णु मास्टरले फणीन्द्रको घरतिर हेरे । चाइनिज इँटाको अग्लो घर चम्किरहेको थियो ।


‘फणीन्द्रको घरचाहिँ सारै राम्रो !’ विष्णु मास्टरले पसलतिर फर्केर भने, ‘यस्तो घर त चार गाउँमा छैन ।’


‘ओहो त्यो ट्वाइलेटको मार्बल पनि कति चम्किएको !’ महेशले थपे ।


‘ती फूलहरू कहाँदेखि ल्याएका होलान् । कति राम्रा !’ पद्माले फूलको बखान गरी ।


‘कति फराकिलो बैठक । अनि कति मज्जाका सोफा !’ विष्णुले भने ।


‘माथि छतबाट सबै गाउँ हेर्दै चिया खान मिल्ने,’ दिव्यकलाले भनिन् ।


‘हो हो केटोले घरचाहिँ साह्रै राम्रो बनाएको !’ अरूले पनि थपे ।


आखिरमा फणीन्द्रको घरको चर्चा नगरी गाउँलेहरू रहन सकेनन् ।

प्रकाशित : आश्विन ११, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?