पीडाको शिविर

पद्मावती सिंह

म पीडाको गहिरो सागरमा चुर्लुम्म डुबेकी छु  । कतिन्जेल म यस पीडाको शिविरमा कैद रहूँ ? यसबाट कसरी मुक्त होऊँ म, मलाई कहाली लागेर आउँछ  ।

पीडाको शिविर

मेरो कलिलो जीवन यस पीडाको शिविरमा प्रतिदिन धुजाधुजा भई अनन्त आकाशमा रुमल्लिरहेको छ । न म यस पीडादायी जीवनबाट मुक्त हुन सकिरहेकी छु, न आत्महत्या गरेर नै यस संसारबाट बिदा हुन सकिरहेकी छु । लाचार तथा असहाय बनी एक घायल पन्छीझैं बनी यस पीडाको शिविरमा कैद हुन म अभिशप्त छु । प्रतिक्षण मृत्युको कामना गर्दै आफ्नो यस बिनाअर्थको जीवनलाई धिक्कारिरहेकी छु ।


आमा के मरिन्, हामी दुई दिदीबहिनीको जीवन नरकतुल्य भएको छ । म भर्खर १२ वर्षको अनि बहिनी १० वर्षको कलिलो उमेरमा हामीलाई माताविहीन तुल्याई आमा मरेर गइन् । किशोरावस्थाको सप्तरंगी जीवनमा ठूलै बज्रपात भयो, हामी दुवै दिदीबहिनी सुन्दर भविष्यको सुन्दर सपना बुन्दै थियौं । आमाको असामायिक मृत्युले हाम्रा ती सपना दुःस्वप्नमा परिणत भैदियो । हामी अनाथझैं भयौं ।


आमाको मृत्युपछि मैले घरको सारा जिम्मेवारी आफ्नो काँधमा बोकें । बाबा र बहिनीको रेखदेख पनि मैले नै गर्नुपर्‍यो । मैले आइपरेका घरका सारा कामकाज र उत्तरदायित्वलाई सहर्ष स्विकारें । बाबाको हरकुरामा आमाले झैं ध्यान पुर्‍याएँ । बहिनीको म त आमा नै बनें । भरखरको किशोरावस्थामा उम्रिने सारा इच्छा र आकांक्षाका कोपिलालाई फक्रन नपाई निमोठिदिएँ ।
म पढ्नबाट विमुख भएँ । मैले स्कुल जान छोडें ।


दुई वर्ष हाम्रो दुःख र पीडामै रित्तियो । आमाको अभाव सधैं मनमा खट्किए पनि विस्तार–विस्तार सबै कुरा सामान्य बन्दै गए । समयले हाम्रो घाउलाई बिस्तारै मह्लम लगाई केही शीतल बनाइदियो । हामी दुवै दिदीबहिनी सामान्य अवस्थामा फर्किरहेका थियौं । तर हाम्रो वरिपरिको परिवेश असामान्य बन्दै गइरहेको थियो । हाम्रो जीवन फक्रिँदै गएकाले होला हामीमाथि गिद्घे दृष्टिहरू ओइरन थालेको छ— त्यसैले हामी त्रसित र असुरक्षित अनुभव गर्न थालेका छौं ।


‘कति राम्रा गुलाफका थुंगाजस्ता यी दानबहादुरका दुइटी छोरीहरू... ।’ भन्दै हाम्रो रूप तथा यौवनको बखान गाउँभरि चल्न थाल्यो । यस्ता चर्चा सुन्दा कताकता भित्र हामी फुरुंग पर्थ्यौं, कताकता अज्ञात भयबाट ग्रस्त पनि हुन्थ्यौं ।


हाम्रा बाबाको स्वभावमा पनि निकै परिवर्तन देखा पर्न थालेको छ । उनको दृष्टिमा कताकता खोट देखा पर्न थालेझैं अनुभव हुन थालेको छ । हुन सक्छ यो हाम्रो मनको सन्देह मात्र हो कि ... ? भगवान्ले आइमाईलाई पुरुषहरूको नराम्रो दृष्टिको अड्कल काट्न सक्ने शक्ति प्रदान गरेको हुन्छ । यो ईश्वरको देन हो ।


तर उनी त हाम्रा पूजनीय बाबा हुन् । सोच्दा पनि पाप लाग्छ— यसरी मैले आफ्नो मनलाई बुझाउँथे । एक दिन बाबाले हामी दुई दिदीबहिनीलाई बोलाएर भन्नुभो, ‘हेर नानीहरू, मैले पल्लो गाउँको महिलालाई भित्र्याउँदै छु । सानीमा आएपछि घरको काम उनले नै सम्हाल्छिन् ।’


म मनमनै दंग परें । अब म स्कुल जान पाउने भएँ भनेर । हाम्रो अनुमति लिन होइन । हामीलाई जानकारी दिन बाबाले यसो भन्नुभएको हो । हामीले केही बोलेनौं । केवल चुप लागी अनेक प्रश्नहरू आँखामा खेलाएर बाबालाई हेरिरह्यौं । बाबालाई केही भन्न हाम्रो हैसियत नै छ र ? बाबाको यस फैसलालाई छरछिमेकीले पनि स्विकारे ।


‘लोग्नेमान्छे स्वास्नीबिना कहाँ बस्न सक्छन् र... । छोरीहरू बिहे गरेर गइहाल्छन् । बुढेसकालमा कसले हेरचाह गर्छन् र ...?’ हुन पनि हो, हामी छोरीको जात बिहे गरी अर्काको घरमा गइहाल्छौं । बूढेसकालमा हेरचाहका लागि पनि बाबाले बिहे गर्नुपर्छ । मनमा साह्रै ननिको लागे पनि बाबाको बिहेलाई मनमनै स्विकारें ।


बाबाले पल्लो गाउँको एकल महिलालाई घरमा भित्र्याए । त्यस दिन हामी दुवै आमालाई सम्झी धेरै रोयौं । केही दिन त्यस महिलालाई आमा भनेर सम्बोधन गर्न धेरै गाह्रो भो । रहँदा बस्दा उनको उपस्थित पनि बिस्तारै सहज बन्दै गयो ।


सानीआमा बराबर माइती जान्थिन् । केही दिन बसेर मात्र घर फर्किन्छिन् । बाबालाई उनको माइतीमा बस्ने बानी पटक्कै मन पर्दैनथ्यो । गाउँमा उनको नाठो छ भन्ने गाइँगुइँ सुनिन थाल्यो । एक दिन बाबा र सानीआमाको बीच ठूलै झगडा पर्‍यो । बाबाले सानीआमाको चरित्रमा औंला ठड्याई भन्नु नभन्नु भने । कपाल समातेर लछारपछार पारे । त्यसपछि सानीआमाले घर छोडिन्– फर्केर आइनन् । त्यसपछि हाम्रो जीवनरूपी कथाले अर्कै मोड लियो ।


एक रातको कुरा । त्यो रात जूनेलि रात भए पनि मेरो जीवनको सबैभन्दा भयानक रात थियो । राति अबेरसम्म बाबा नफर्किएकाले बाबाको खाना छोपछाप गरी हामी दुवै दिदीबहिनी सुत्न तरखर गर्दै थियौं । बाहिर कुकुर एकनासले भुकिरहेको थियो ।


बहिनी भुसुक्कै निदाइन्, मचाहिँ निदाउन नसकी झ्यालबाट बाहिर आँखा दौडाइरहेकी थिएँ । टहटह जून लागेको हुँदा बाहिरको दृश्य छर्लंग देखिन्थ्यो ।


‘बाबा कुनै दुर्घटनामा त परेनन् ?’ मुटु ढुकढुक भयो । सास रोकेझैं भयो । केही बेरमा मूलढोका ढकढकाएपछि बल्ल सास फर्केझैं भयो । दौडेर गई ढोका खोलिदिएँ । ढोका खोल्नासाथ रक्सीको गन्ध वातावरणमा ह्वास्स फैलियो । हतपत भर्‍याङ चढ्न के खोजेकी थिएँ— बाबाले दुवै हत्केलाले मलाई जुरुक्क उचाले ।


‘बाबा छोड्नुस् मलाई,’ म आतंकित भएर कराएँ ।


‘चुप लाग्,’ बाबाले हप्काए मलाई ।


मैले फुत्किन अथक प्रयास गरें तर ती बलिया हातहरू बेस्सरी समातेका हुँदा मेरो सारा प्रयास विफल भैदियो । बाबाले एक अपहरणकर्ताले झैं मेरो मुख सलले थुनिदिए ।


‘आमा ऽऽऽ’ मरेको आमालाई गुहार्दै म चिच्याएँ । सललाई मुखबाट पन्छाएँ मैले । त्यसपछि बाबाले दुवै हातले मेरो सलले बाँधिदिएर मलाई हल नचल बनाइदिए । म चिच्याउन थालें । मेरो मुखमा बुझो हालिदिए ।


म चाहन्थे मेरो आवाज यस चार कोठामा चार दिवारीलाई नाघेर गाउँ र बस्तीभरि गुन्जियोस् तर त्यो हुन पाएन । बाबु भनाउँदो त्यस नरपशुले मलाई धुजाधुजा पार्दै भने, ‘मेरो बोटमा फलेको फल पहिला म चाख्छु ।’


म डरले थरथर काम्न थालें । रगतझैं सहस्र आँसु मेरो दुवै आँखाबाट बग्न थाले । मेरो सर्वांगभरि सयौं अरिंगालले टोक्न थालेझैं मलाई अनुभव भयो । मेरो सहोदर बाबुले म बेहोस नहुन्जेल मलाई बलात्कार गरे । होसमा आएपछि घृणित अनुहार भएको त्यस बाबु भनाउँदो नरपिचासले खुकुरी हातमा नचाउँदै भने, ‘कसैलाई भनिस् भने म यही खुकुरीले टुक्राटुक्रा पारी मारिदिन्छु । आफ्नै सहोदर बाबु नै बलात्कारी भएपछि कसको के लाग्दो रहेछ र ...?’


मैले स्वप्नमा पनि नचिताएको ठूलो दुर्घटना भयो मेरो जीवनमा । म कहाली कहाली रोएँ तर मेरो रुवाइ त्यही कोठाको भित्तामा ठक्कर खाएर कोठाभित्र गुन्जिरह्यो । घाइते मृगझैं म थरथर काम्दै उठें र आफ्नो बिछ्यौनामा मरेतुल्य भई पसारें । मेरो अवस्था देखी बहिनी पनि भयभीत भई । ऊ मलाई अङ्गाली सँगसँगै रोई ।

बालबालिका, युवती अनि महिलाहरू घरमै असुरक्षित हुन्छन् भन्ने कुरा साँच्चै रहेछ भनी बल्ल मलाई प्रस्ट भयो । उता मेरो बाबु भनाउँदो युद्घ जितेको सिपाहीझैं मस्त घुरिरहेको थियो ।


अब मैले मरे हुन्छ । आत्महत्या गर्ने सोच आयो मेरो मनमा । म मरेँ भने मेरो भरखर कोपिलाबाट फूल हुन तरखरमा रहेकी मेरो बहिनीको के हविगत होला... ? उनले पनि बलात्कारको पीडा भोग्नुपर्‍यो भने...? अहँ, म मर्नु हुँदैन । जसरी भए पनि बहिनीको मैले संरक्षण गर्नुपर्छ । मलाई खाने बाघले उसलाई छोड्छ र...? प्रत्येक पल हामी मरेर बाँच्न थाल्यौं । कुन बेला त्यस हिंस्रक पशुले हामीलाई घात गर्ने हुन् ...?


हाम्रा पलपल असुरक्षित भएको हामीले अनुभव गर्‍यौं । म त झन् बलात्कारको त्यस घटनापछि विक्षिप्तझैं भएकी छु । बाबाको छाया मात्रले भयभीत हुन्छु । सानो सानो आवाजले पनि म तर्सिन्छु र सर्वांग मेरा काम्न थाल्छ । सास फुलेर रोकिएलाझैं हुन्छ । मनभित्र ठूलै पहिरो गएको हुँदा म प्रतिक्षण सन्त्रास भोगिरहेकी हुन्छु ।


मलाई आफ्नोभन्दा बहिनीको धेरै चिन्ता लाग्छ । म छाया बनेर उसको अघिपछि हुन्छु । एकक्षण उसलाई एक्लै छोड्दिनँ । उसलाई बाबाको छेउ नजान सचेत गरिसकें । ऊ पनि भयभीत मृगसरी मेरो अघिपछि लाग्छे ।


कुन बेला फेरि त्यो भोको बाघले हामीलाई आक्रमण गर्ने हो ? सधैं मुटु थरथर हुन्छ । हाम्रो घर अब घर नभई असुरक्षित जंगलमा परिणत भैसकेको छ । यस असुरक्षित आतंकित जंगलमा एकजना विक्षिप्त भोकाएको बाघ छ— हामी दुई भयभीत मृगहरू... ? हाम्रो यस अभिशप्त जीवनको पीडा कहाँ गएर जाहेर गरौं ? बाबुबाटै बलात्कृत हुनुपरेको घटना कसलाई सुनाऊँ ?


हाम्रा आमापट्टि पनि कोही छैनन्– भागेर जाऔं भने । एक जना मामा विदेशमा छन् । आगोको मुङ्ग्रामा हामी छटपटाइरहेका छौं ।

यो पीडाको शिविरबाट हामीलाई कसले उद्घार गर्ला ? यो अभिशप्त जीवनबाट हामीलाई कसले मुक्ति देला... ? कहाँ जाऔं– के गरौं ?
मेरो कथाको पात्रले यसरी सबैलाई गुहारिरहेकी छन् । बलात्कृत पात्रले सबैको सामु आफ्नो पीडा बयान गरिरहेकी छन् । अनि मुक्तिको शंखघोष गरिरहेकी छन् ।


पाठकवृन्द,


यदि मेरो बलात्कृत पात्रप्रति सहानुभूति र समवेदना छ भने कृपया मुक्तिको मार्ग औंल्याइदिनुहोस् । केही सुझाव र सल्लाह पस्किदिनुहोस् ।


तपाईंहरूको सल्लाह र सुझावपछि मैले यस कथालाई अगाडि बुन्नेछु, टुङ्ग्याउनेछु ।


अहिले यो कथा अधुरै छ ।

प्रकाशित : आश्विन ११, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?