कविताको नियम

नयनराज पाण्डे

१.
कवि लासनिर टुसुक्क बसिरहेको थियो । चुपचाप । उसले केही मिनेटअघि एउटा बालकको छातीमा छुरी हानेको थियो । त्यसैले कविको हात रक्ताम्य थियो । ठीक मुटुमै छुरी रोपिएकाले बालकको मुटुबाटै रगतका पातला सिर्काहरू कविको अनुहारभरि छरिएको थियो । उसको कमिज र पाइन्ट पनि जताततै रगतैरगत लथपथिएको थियो ।

कविताको नियम

बालकको हत्या गरेर कवि भाग्न पनि सक्थ्यो । तर, भागेन । ऊ शान्त भावमा लासनिरै बसिरह्यो । उसले यतिन्जेल लासको छेउमै बसेर चारवटा चुरोट खाइसकेको थियो । चुरोटको धूवाँ उसकै शिरमाथिमाथि अझै उडिरहेको थियो । कवि, लेखकभित्र त करुणा र संवेदना खाँदाखाँद भरिएको हुनुपर्ने होइन र ? तर यो कवि किन यसरी संवेदनहीन भयो ? यस्तो प्रश्न सोध्ने त्यहाँ कोही थिएन ।


कविको कामना थियो, उसलाई लासनिर देख्ने सयौं व्यक्तिहरूमध्ये कसैले यो हत्याको बारेमा पुलिसलाई खबर गरिदिए पनि हुन्थ्यो । पुलिस आएर उसलाई गिरफ्तार गरिदिए हुन्थ्यो । उसको हातमा हतकडी पनि लगाइदिए हुन्थ्यो । मिल्ने भए पाउमा नेल पनि ठोकिदिए हुन्थ्यो । केही पत्रकार आएर उसको रगत लागेको अनुहार र लुगासहितको फोटो खिचे पनि हुन्थ्यो । तर, लाससँगै करिब दुई घण्टा बिताइसक्दा पनि उसलाई गिरफ्तार गर्न पुलिस आएन । उसको हातमा हतकडी र खुट्टामा नेल पनि लागेन । पत्रकारहरूले उसको फोटो पनि खिचेनन् । सहरको सन्ध्याकालीन अखबारले उसले गरेको हत्याको खबर छापेन । मानौं बालकको हत्या यो सहरका लागि एउटा मामुली कुरा थियो । सहरको संवेदना जागृत गराउन कतिवटा हत्याको समाचार छापिनुपर्छ ? यो प्रश्नको उत्तर पनि कसैबाट मिल्ने सम्भावना थिएन ।


उत्तर नआउने प्रश्न गर्न हुन्छ कि हुँदैन ?
उत्तर नदिनेसित प्रश्न गर्न हुन्छ कि हुँदैन ?
प्रश्नै मन नपराउनेलाई प्रश्न गर्न हुन्छ कि हुँदैन ?
हाल यस्ता प्रश्नहरू अर्थहीन भएका थिए ।


बालकको लासमा झिँगा भन्किन सुरु भइसकेको थियो । बालकका आँखाहरू अझै खुलै थिए । उसले अझै ती आँखाहरू बन्द गरिदिएको थिएन । कविलाई थाहा छ, ती आँखामा बालकका मृत सपनाहरू मात्र छैनन्, उसले हत्या गर्दैगर्दाका चित्रहरू पनि छन् । आफ्नो हत्या किन गरियो भन्ने प्रश्न पनि होलान् ती खुला आँखामा । प्रश्न गरिरहेका आँखाहरू खतरनाक हुन्छन् भन्ने थाहा छ कविलाई । तर, बालकको आँखामा उसले कुनै खतरा देखेन । त्यसैले उसले मृत बालकको आँखा बन्द गरिदिनु आवश्यक नै ठानेन ।


पाँचौँ चुरोट पनि सकिएपछि कविले दिक्क मानेर सडकमा आवतजावत गरिरहेका मान्छेहरूतिर हेर्‍यो । सबै हतारमा थिए । हतारले गर्दा कतिले त रगतमा लथपथिएको कवि र केही बेरअघि मरेको बालकतिर हेर्दा पनि हेरेनन् । नजिकै एउटा मन्दिर थियो । लासनेरैबाट ती मन्दिरका पुजारी दिउसोको आरती गर्न मन्दिरतिर जाँदै थियो । उसले त हेरेको भए पनि हुने नि । तर, उसलाई देउताको चिन्ता थियो । देउतालाई खुसी पार्ने हतार थियो । त्यसैले उसले पनि न हत्यारा कवितिर हेर्‍यो न सडकमा रक्ताम्य बालकको लासतिर हेर्‍यो ।


सिङ्गो सहर लासको छेउछाउबाट यताउता गर्दैथ्यो । व्यापारी, विद्यार्थी नेता, कर्मचारी, चिकित्सक, इन्जिनियर, वकिल, चित्रकार, सिनेकर्मी, नाट्यकर्मी, सेयर दलाल, श्रमिक, ठेकेदार कसैले पनि लासतिर हेरेन । हत्यारा कवितिर पनि हेरेन । रोचक कुरा के भने, ओहोरदोहोर गरिरहेका सबै सहरवासीको हातमा संविधानको किताब थियो । नेपालको संविधान, २०७२ को किताब । नेपालीमा कमजोरहरू भने त्यसको अंग्रेजी अनुवाद लिएर हिँडिरहेका थिए । कविले एक जनासित सोध्यो पनि ।


‘तपाईँले कुन किताब बोक्नुभएको ?’


त्यसले हतारमा उत्तर दिएको थियो, ‘हाल सालै विमोचन भएको उपन्यास हो । फिक्सन ।’


कविले त्योसित नेपाली उपन्यासको विगत, वर्तमान र भविष्यबारे केही बेर छलफल गर्न चाहन्थ्यो । तर, त्यो व्यक्तिलाई उपन्यास पढ्ने हतार थियो क्या र ! जवाफ दिएर एक छिन पनि रोकिएन, गइहाल्यो ।


कवि निराश भयो र फत्फतायो, ‘उफ्, यो सहर कति संवेदना शून्य भैसकेछ ।’

२.
यो कवि पनि अचेल एउटा उपन्यास लेख्ने सोचमा छ । तर, एकताका उसले प्रायः फूलका कविता लेख्थ्यो । ऋतुहरूको कविता लेख्थ्यो । श्रीमतीले घरबाट गमलाहरू हटाइदिएकी थिइन् । किनभने तिनमा फूल फुल्नासाथ कविले एक थान कविता लेखिहाल्थ्यो । श्रीमतीले झ्याल किला ठोकिदिएकी थिइन् र झ्यालका सिसामा बाहिरको दृश्य नदेखिने गरी कालो इनामेल पोतिदिएकी थिइन् । किनभने कविले झ्यालबाट पानी परेको, आँधीहुरी चलेको, रूखबाट पात झरेको, रूखमा नयाँ पालुवा पलाएको देख्नै हुन्नथ्यो, थानका थान कविता जन्माइहाल्थ्यो । एक दिन नदीको कविता लेख्दालेख्दै नदीमै बगेको थियो । माझीहरूले बचाए उसलाई । यति हुँदा पनि उसले माझीहरूको दुःखको कविता लेखेन ।

बरु उसले नदीको कञ्चनपानीको कविता लेख्यो । पानीमा जलक्रीडा गरिरहेका राजहाँसहरूको कविता लेख्यो । राजारानी र युवराजहरूको जन्मोत्सवमा उसले तिनका गुणगानमा कविता लेखिहाल्थ्यो र गोरखापत्रमा छपाइहाल्थ्यो । सरकारी कर्मचारीहरूमाझ ऊ लोकप्रिय थियो । ऊ दुःखको साहित्य लेख्नु हुँदैन भन्ने सोच्थ्यो । साहित्यले पाठकलाई आनन्दको अनुभूति गराउनुपर्छ भन्ने उसको मान्यता थियो ।


एक दिन उसलाई दरबारबाट बोलावट भयो । यो जीवनमा यही दिनको प्रतीक्षामा थियो । कुनै दिन दरबारबाट बोलावट होस् र उसले राजारानीको पाउमा दाम राखेर दण्डवत् गर्न पाओस् । त्यो उसको जीवनकै अमूल्य क्षण हुनेमा ऊ विश्वस्त थियो । ऊ खुसी हुँदै नयाँ दौरा–सुरवाल लगाएर दरबार पस्यो । रानीले उसको काव्यकारिताको प्रशंसा गरिन् र भनिन्, ‘कवि अब तिमीले मेरालागि गीत र कविता लेख्नुपर्छ ।’


रानीको प्रस्तावबाट ऊ खुसी भयो । उसले रानीका लागि धमाधम मर्मस्पर्शी गीत र कविताहरू लेखिदियो । ती गीत र कविताहरू लोकप्रिय पनि भए । रेडियो नेपालबाट उसैले रानीको नाममा लेखिदिएका धेरै गीत बजे । रानीको नाममा उसले लेखिदिएको कवितासंग्रहलाई पनि देशका चर्चित समीक्षकहरूले विश्व साहित्यकै उम्दा कृति भनेर तारिफ पनि गरे ।


एक दिन रानीले उसलाई भनिन्, ‘तिमी जेठ १९ गते राति दरबारमा आऊ ! हाम्रोलागि सुन्दर गीत र राम्रा कविताहरू लेखिदिएबापत हामीले तिमीलाई पारिश्रमिक र पुरस्कार बक्सिनेछौँ ।’


ऊ दौरा–सुरुवाल लगाएर जेठ १९ गते राति आफूले लेखिदिएका गीत र कविताहरूको पारिश्रमिक लिन राजदरबार पुग्यो ।
२०५८ साल जेठ २० गते बिहानै कवि उदास भावमा पुलिस चौकीमा गयो र भन्यो, ‘मेरैअगाडि राजा वीरेन्द्रको वंशविनाश भयो । मेरै काखमा कवयित्री चाँदनी शाहले प्राण त्याग गरिबक्स्यो । अनि मैले पनि राजारानीको हत्या गर्ने युवराज दीपेन्द्रको हत्या गरिदिएँ । मलाई गिरफ्तार गरियोस् ।’


त्यति बेला पनि उसलाई कसैले वास्ता गरेन । कसैले उसको कुरा सुनेन । त्यति बेला पनि उसले उदास भएर भनेको थियो, ‘उफ्, यो सहर कति संवेदनाशून्य भैसकेछ !’

३.
कविले करिब आधा घण्टाअघि हत्या गरेको यो निरीह बालकलाई कविता लेख्ने रहर थियो । उसलाई कविबाट कविता लेख्ने कला सिक्नु थियो । त्यसैले कविले नै आफ्नो हत्या गर्छ भन्ने कुरामा ऊ पूरै बेखबर थियो । उसले कविमाथि बडो विश्वास गरेर कविताको नियम सोधेको थियो । कविले कविता लेख्ने तरिका सिकाउलान् भन्ने पूरा विश्वास थियो उसलाई । त्यसैले समय लगाएर बिस्तारै–बिस्तारै उसले आफ्नो भावना कविका सामु यसरी अभिव्यक्त गरेको थियो—

म नौ वर्षको भएँ
या दस,
एघार त हुँदै होइन ।
मेरा मातापिता गरिब थिए,
पिता मरिसके
आमा बौलाएर यो सहरको भीडमा
कता हराइन् कता ।
म सडकमा हुर्किएँ
सडकमै सुत्छु
प्लास्टिक बटुल्छु र
डेन्ड्राइट सुँघ्छु ।
मलाई अहिले कविता लेख्न मन लागेको छ
तर मलाई कविताको नियम थाहा छैन ।

मसित थोरै शब्दहरू छन्
एकदमै थोरै
कवितामा कति शब्द हुनुपर्छ ?
केही फोहोर गालीहरू थाहा छ मलाई
जुन मैले सुकिला बाबुसाहेबहरूबाट सधैँ सुन्नुपर्छ
ती गालीहरू कवितामा राख्न मिल्छ कि मिल्दैन ?
केही अपमान र तिरस्कारका बोधहरू छन् मसित,
तिनलाई कवितामा सामेल गर्न हुन्छ कि हुँदैन ?
बेलाबेलामा जुलुसहरूमा लगाउने
नाराहरू पनि छन् मसित
कवितामा नारा राम्रो हुन्छ कि हुँदैन ?
मेरी दिदीजस्ता युवतीहरूले
डान्सबारबाट आफ्नो अस्मिता जोगाएर निस्कँदा
फलाकेका केही अश्लील शब्दहरू पनि छन् मसित,
मलाई सानो छँदा हजुरआमाले
सुनाएका केही गीतका भाकाहरू पनि कण्ठ छन् मलाई
हजुरबुबाले मलाई
ठूलो मान्छे बन्नुपर्छ भनेर
दिनुभएको आशीर्वादका केही पंक्ति पनि थाहा छ मलाई
आफ्नो जिन्दगीभन्दा गह्रुंगो ठेला तानिरहेकै बेला
टडकले किचेर मरेका मेरा बुबाको रक्ताम्य लासको
दृश्य छ मेरो आँखामा
बाको शोकमा
आमाले रुँदै गरेका विलापहरू पनि छन् मेरा सम्झनामा
भनिदिनुस्न मलाई
दिदीका ती अश्लील शब्द, हजुरआमाका ती गीतहरू
र हजुरबुबाको आशीर्वादलाई
कवितामा राख्न मिल्छ कि मिल्दैन ?
भनिदिनुस्न यति कुरा
मेरी आमाको विलापलाई कविता बनाउन मिल्छ कि मिल्दैन ?
कवितामा सडकमा पोखिएको
मेरो बाको रगतको रातो देखाउन मिल्छ कि मिल्दैन ?
र मैले पोलिथिन खोज्न फोहोरको थुप्रो उधिन्दा आउने दुर्गन्ध
र मैले सुँघ्ने डेन्ड्राइटको वास्ना कवितामा मिसाउन मिल्छ कि मिल्दैन ?
म सडकमा सुतिरहँदा
मध्यरातमा सिंहदरबारतिरबाट आउँछ
प्रधानमन्त्रीको समृद्ध नेपालको चुटकुला
कवितामा त्यो चुटकुला कहाँनेर राख्ने ?
मलाई त कविताको नियम नै थाहा छैन ।

थोरै शब्द हुनेहरूले कविता लेख्नु हुन्छ कि हुँदैन ?
बोली नहुनेहरूले कविता लेख्नु हुन्छ कि हुँदैन ?
कविता भोको बस्नेले लेख्ने हो कि अघाएकाहरूले मात्र लेख्ने हो ?
कविता लयमा हुनैपर्छ कि बेसुर भए पनि हुन्छ ?
कविता मन्दिरमा चढाउने फूलजस्तै नरम हुनुपर्छ
कि मलाई दिनहुँ ठेस लागेर दुखाइरहने ढुङ्गाजस्तै कठोर हुनुपर्छ ?
मसित फोहोर बटुलेर हिँड्ने
मजत्रै एउटी केटी छ
मैले त्यो केटीको मायालाई कवितामा भन्न पाउँछु कि पाउँदिनँ ?
गएको जाडोमा सडकमा मसित सुतेको
मेरो साथी कठ्याङ्ग्रिएर मर्‍यो
मैले कवितामा उसको मृत्युको खबर भन्न पाउँछु कि पाउँदिनँ ?
उसले माटोमा काठको छेस्काले बनाएर देखाउँथ्यो
पहिरोले पुरिएको आफ्नो घरको चित्र
मैले कवितामा त्यो घरको चित्र देखाउन पाउँछु कि पाउँदिनँ ?
गाउँमा अब मलाई माया गर्ने कोही छैनन्
मलाई गाउँ आइज भनेर बोलाउने पनि कोही छैनन्
मैले बिर्सिसकेँ मेरो गाउँको बाटो
कवितामा म आफ्नो गाउँको बाटो सोध्न पाउँछु कि पाउँदिनँ ?
मलाई सबैले देशलाई माया गर्नुपर्छ भन्छन्
मलाई मेरो देशले किन माया गरेन भनेर
म कवितामा प्रश्न सोध्न पाउँछु कि पाउँदिनँ ?
म सत्ता, सरकार र माफियाको मिलोमतोबारे
कवितामा आफ्नो विरोध दर्ता गर्न पाउँछु कि पाउँदिनँ ?
देश बनाउँछु भन्नेहरूले नै देशलाई लुटिरहेको कुरा
कवितामा भन्न पाउँछु कि पाउँदैन ?
खासमा कविताको सीमा के हो ?
खासमा कविताको सामर्थ्य के हो ?
खासमा कविताको नियम के हो ?

मैले भीख मागेको हैन हजुर
बस् अलिकति जानकारी मागेको हुँ
भन्न मिल्छ भने कृपया यति भनिदिनुस्न
मजस्तो कमजोर र मैलो मान्छेले कविता लेख्नु हुन्छ कि हुँदैन ?
कवितामा कति अक्षर र कति शब्द हुनुपर्छ ?
आवाज कति र आँसु कति हुनुपर्छ ?
हल्ला कति हुनुपर्छ र मौनता कति हुनुपर्छ ?
कला कति र विचार कति हुनुपर्छ ?
चिसो कति हुनुपर्छ र आगो कति हुनुपर्छ ?
माया कति र आक्रोश कति हुनुपर्छ ?
ती सबै अनुभवहरू छन् मसित
ती सबै अनुभूतिहरू छन् मसित
म सानै छु
तर भोगिसकेको छु भारीभारी दुःख, अभाव र कष्ट
मैले आफ्नो उमेरभन्दा भारी कविता लेख्न पाउँछु कि पाउँदिनँ ?
मैले सधैं सडकमा दुःख चपाएर हिँड्नुभन्दा
पक्कै कविता लेख्नु सजिलो हुन्छ होला
तर, मलाई कविता कसरी लेख्ने भन्ने नै थाहा छैन
मलाई कविताको नियम नै थाहा छैन ।

४.
बालकले सोधेको कविताको नियम आफैँमा एउटा कविताजस्तै थियो । तर, त्यो कवितामा हिमाल या नदीनाला थिएन । पानीमा जलक्रीडा गरिरहेको राजहाँसको चर्चा थिएन । ढकमक्क फुलिरहेको कमलको फूलको पनि उल्लेख थिएन । त्यसमा गुनासाहरू मात्र थिए । पूर्णविरामभन्दा बढ्ता प्रश्नचिह्नहरू थिए । त्यसैले विसं २०५८ साल जेठ १९ गतेको राति राजदरबारमा आफूले रानीका नाममा लेखिदिएको गीत र कविताको पारिश्रमिक लिन गएको कविलाई बालकको त्यो गुनासो कविताजस्तै लागेन । नत्र, ‘ए बालक, तिमीले कविताको नियम सोध्यौ । तर, तिम्रा यो सोधाइ नै कविता हो । तिमीले सोधेका प्रश्नहरू नै कविता हुन्’ भनिदिएको भए त्यो बालकले कति हौसला पाउँथ्यो होला ! भविष्यमा त्यो कति शक्तिशाली कवि हुन्थ्यो होला !


तर, असमय नै एउटा बालकको हत्या गरिदिएर कविले भविष्यको एउटा प्रतिभाशाली सर्जकको उदयको सम्भावनलाई समाप्त गरिदिएको थियो । यति हुँदा पनि कविलाई ग्लानि भइरहेको थिएन । उसको अनुहारमा तनाव पनि थिएन । बस्, अलिअलि उदासी थियो । तर, त्यो उदासी बालकको कविताको नियमसम्बन्धी जिज्ञासाले उत्पन्न गरेको थिएन । त्यो उदासी त २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डपछि उसको अनुहारमा स्थायी रूपमा टाँसिएको थियो । आफ्ना प्यारा राजारानीको हत्या हुनु र आफूले कविताको पारिश्रमिक नपाउनु । उसको जीवनका यी बिर्सनै नसकिने दुःख थिए । त्यही दुःख उदासीमा परिणत भएर सादा खाममा हुलाक टिकट टाँसिएझै उसको अनुहारमा टपक्कै टाँसिएको थियो ।


उसले त्यो साल जेठ २० गते बिहान पुलिस चौकीमा जानुअघि डेरामा आएर श्रीमतीलाई भनेको थियो, ‘बूढी, महारानीले मलाई कविता र गीतको पारिश्रमिक दिन राजदरबार बोलाइबक्सेको थियो । त्यहाँ रात्रिभोज चलिरहेको थियो । महारानीले मलाई पनि भोजमा सरिक हुन आग्रह गरिबक्सियो । मैले पेटभरि चित्तलको मासु र मार्सी चामलको भात खाएँ । भोज चलिरहेकै बेलामा महारानीले मलाई असर्फीहरू दिन थालिबक्सियो । सयौं असर्फी । महारानीले लगतार असर्फी गनिरहिबक्सिएको थियो । त्यही बखत युवराज दीपेन्द्रले गोली चलाएर महारानीको हत्या गरिबक्सियो । मौसुफले राजा वीरेन्द्रलाई पनि गोली हानिबक्सियो । आफ्ना सहोदर भाइबैनीलाई पनि मारिबक्सियो । राजपरिवारका अरू सदस्यलाई पनि सिध्याइबक्सियो । मलाई साह्रै झोंक चल्यो । त्यो दृश्य देखेर मेरो कवि हृदय व्यथित भयो । म आवेशमा आएँ । मैले एक जना अङ्गरक्षकको बन्दुक खोसेँ र ठाउँको ठाउँ युवराज दीपेन्द्रको हत्या गरिदिएँ ।’


कविजीको कुरा सुनेर त्यति बेला उनकी श्रीमती आतङ्कित भइनन् । डराइनन् पनि । बरु निकै बेर जिल्ल परेर कविको अनुहारमा हेरिरहिन् । अनि डाँको छाडेर रुन थालिन् ।

५.
अन्ततः पुलिसले आफूलाई गिरफ्तार नगरेपछि कवि आफैँ बालकको लास बोकेर अदालत पुग्यो । कविलाई थाहा छ, बालक हत्याबापत उसलाई के कति सजाय दिने भन्ने कुरामा अदालतमा बहस हुनेछ र ऊसित सोधिनेछ बालक हत्याको कारण । उसले अदालतमा आफूले दिने बयान पनि सोचिसकेको छ । उसले कठघरामा उभिएर सगौरव भन्ने छ, ‘श्रीमान्, यो बालकले फूलहरूसित खेल्ने उमेरमा डरलाग्दा प्रश्नहरू गर्न थाल्यो । यो देशमा हिजो पनि प्रश्नहरू वर्जित थिए र आज पनि वर्जित छ । यहाँ मजस्तो फूलवादी कविबाहेक अरूलाई बाँच्न निषेध छ । यो समय कविताको होइन, स्तुतिको हो । यो समय सङ्गीतको हैन, भजनको हो । त्यसैले कविताको नियम सोधिरहेको यो बालकको हत्या गरेर मैले देशको सेवा गरेको हुँ । यसबापत मलाई सरकारले पदक दिनुपर्छ ।’


कवि लाससहित इजलासमा प्रवेश गर्‍यो । बिदाको दिन थिएन । अदालतमा बहस पैरवी हुने समय पनि भइसकेको थियो । तर, इजलास सुनसान थियो । अदालतमा स्रेस्तेदार, इजलास तोक्ने रजिस्ट्रार, इजलास सहायकलगायत अदालतका कुनै कर्मचारी पनि थिएनन् । अझ अचम्मको कुरा के भने त्यहाँ हरेक कठघरामा अभियुक्तहरू पिसाब च्यापेर ठिङ्ग उभिएका थिए । तर, तिनीहरूका पक्षबाट बहस गर्ने वकिलहरू पनि थिएनन् र तिनलाई हदैसम्म सजायको माग गर्ने सरकारी वकिलहरू पनि थिएनन् । गुनासो सुन्ने र फैसला दिने न्यायाधीशहरू पनि थिएनन् ।


कविले निकै बेर खोजतलास गरेपछि बल्ल एक जना कार्यालय सहयोगी भेट्यो । उसले कविलाई जानकारी दियो, ‘आज अदालतबाहिर एउटा ठूलो बहुराष्ट्रिय कम्पनी पक्षमा मुद्दाको फैसला हुँदैछ । लेनदेनको कुरा पनि भएकाले अदालत पूरै रित्तो भएको हो ।’


कवि त्यसपछि लास बाकेर लखरलखर नयाँ बानेश्वरतिर लाग्यो । उसलाई देखेर बटुवाहरू आतङ्कित हुनुपर्ने हो नि । तर, सबैले त्यसलाई सिनेमाका सामान्य दृश्यझैं ठाने र वास्तै नगरेर हिँडिरहे । अन्ततः ऊ नयाँ बानेश्वरस्थित संसद भवनमा लाससहित प्रवेश गर्‍यो । सूचनापाटीमा ‘आज संसद् चालु छ’ भनेर सूचना त टाँसिएको थियो तर संसद् भवन भने अदालतजस्तै सुनसान थियो ।

संसद्भित्र पनि सत्तापक्ष र विपक्षीका कुर्सीहरू पूरै खाली थिए । सभामुखको आसन पनि खाली थियो । त्यहाँ पनि बल्लबल्ल कविले एउटा कार्यालय सहायकलाई भेट्यो । उसले कविजीलाई जानकारी दियो, ‘आज संसद्बाहिर एउटा विदेशी कम्पनीलाई अर्बौं कर छुट दिने विषयमा छिनोफानो भएर आपसमा लेनदेन गर्ने कार्यक्रम छ । सबै त्यतै गएकाले अहिले संसद् सुनसान छ ।’


‘साँझसम्म त संसद् सुरु हुन्छ होला नि ?’ कविले सोध्यो ।


‘सम्भावना छैन ।’


‘किन ?’


‘त्यसपछि सबै सांसदहरू दीनबन्धुको पुराणवाचनमा सहभागी हुने कार्यक्रम छ ।’


जीवनमा कवि योभन्दा बढी कहिले निराश भएको थिएन । आफैँसित बर्बरायो, ‘मेरो कविता र गीतबापत महारानीबाट मेरो पारिश्रमिक नपाउँदा पनि म यति निराश भएको थिइनँ, जति निराश आज यो बालकको हत्यामा कुनै उचित कारबाही नहुँदा भैरहेछ ।’

६.
अन्ततः कवि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्न सिंहदरबारतिर लाग्यो । बालकको लास उसले उसैगरी काँधमा बोकिरहेको थियो ।
तर, सिंहदरबारको दक्षिणी गेटबाहिर उसले गजबको दृश्य देख्यो ।


त्यहाँ थरीथरीका हजारौंको सङ्ख्यामा जटाधारी जोगीहरू गेटमा भेला भएका थिए । कोही कनफट्टा थिए र तिनले कानमा काठका मोटामोटा कुण्डल झुन्ड्याएका थिए । कान नचिरेका अघोरीहरू पनि थिए । जीउभरि खरानी धसेका सर्वाङ्ग नग्न नागा बाबाहरू पनि थिए । कसै कसैले मेखला र कम्मरमा गेरु रङको कौपिन बेरेका थिए । कसैसित डमरुवाला त्रिशूल र चिम्टा पनि थियो । खपरिया जोगी पनि थिए, जसका हातहातमा मानव खप्पर थिए । तीमध्ये केहीका हातमा भर्खर चिहानबाट झिकिएका नरमुण्ड पनि थिए ।
हेर्दै डरलाग्दो दृश्य थियो त्यो । सबै ठूल्ठूलो स्वरमा चिच्याइरहेका थिए, ‘हामीले प्रधानमन्त्री र नेपालको कल्याणका लागि डाकिनी शाकिनी, भूतप्रेत, पिसाच र बेताल भगाउने भभूत लिएर आएका छौं ।’


ती सबै प्रधानमन्त्रीको निधारमा भस्म लगाइदिन मात्र आएका थिएनन् । उनीहरू राजतन्त्र पुनःस्थापना र नेपाललाई विश्वको एक मात्र हिन्दु राष्ट्र घोषित गर्नुपर्ने माग लिएर आएका थिए ।


तर, त्यहाँ कुन सम्प्रदायको र कुन जोगी पहिला सिंहदरबारभित्र छिर्ने भन्ने विषयमा जोगीहरूबीच नै विवाद भइरहेको थियो । सबैले आआफ्नो दाबी पेस गरिरहेका थिए । कविले हेर्दाहेर्दै विवादले उग्ररूप लियो । अचानक जोगीहरू एकअर्कालाई अश्लील गाली गर्दै आपसमा मारमार गर्न थाले । अलख निरञ्जन र बम भोले भन्दै एकअर्कालाई चिम्टा, त्रिशूल र खप्परले प्रहार गर्न थाले । एकै छिनमा गेटअगाडि फुटेका खप्परहरूको रास लाग्यो । जोगीको लडाइँ हेरिरहेको एक वृद्धले खुसुक्क कविको कानमा भन्यो, ‘तँलाई थाहा छ ? यी सबै विभिन्न लडाइँमा सहादत प्राप्त गरेका सहिदका खप्पर हुन् ।’


कवि चकित भयो । तत्काल उसको कल्पनाशील दिमागले राजतन्त्र पुनःस्थापित भएको कल्पना गर्‍यो । यो उसका लागि खुसीको कुरा थियो । उसले बालकको लासलाई गेटको एउटा कुनामा थपक्क राखिदियो । भागाभाग मच्चिँदा जोगीहरूका पहिरन र अरू सामानहरू यत्रतत्र छरपस्ट खसेका थिए । उसले ती सामानहरू टिप्यो । उसले कानमा कुण्डल लगायो । जीउभरि खरानी घस्यो । कम्मरमा कौपिन धारण गर्‍यो । डमरुवाल त्रिशूल र चिम्टा पनि समात्यो । एउटा नरमुण्ड पनि समात्यो र अलख निरञ्जन पनि भन्न थाल्यो ।


अचानक उसको छेउमा चाँदनी शाह आइन् र भनिन्, ‘यही जेठ १९ गते राजदरबार आउनू ! हामी तिमीलाई तिम्रो गीत र कविताको पारिश्रमिक दिबक्सनेछौं ।’


खुसीले कविजी चिच्यायो, ‘राजारानी जिन्दावाद ।’


कविले देख्यो, उनकै नजिक नयाँ नेपालका प्रधानमन्त्री उभिएका छन् र विभिन्न रत्नजडित श्रीपेच लगाउँदै छन् । वरिपरि मन्त्रीहरू, न्यायाधीशहरू, वकिलहरू, पुलिसका उच्चपदस्थ अधिकृतहरूलगायत मल्टिनेसनलका कर छलीमा बदनाम भएका कम्पनीका सीईओहरू ताजाताजा राजा बनेका प्रधानमन्त्रीको पाउमा दाम चढाउँदै छन् ।


कवि यो दृश्य देखेर गदगद भयो । ऊ राजतन्त्र फर्किएकोमा अथाह खुसी भयो । ऊ हतारहतार प्रधानमन्त्रीनिर पुग्यो र भन्यो, ‘मैले बालकको हत्यासित सम्बन्धित एउटा सार्वजनिक महत्त्वको विषयमा हजुरलाई केही बताउनु छ ।’


श्रीपेच लगाउँदै गरेका प्रधानमन्त्रीले उसको कुरा सुनेनन् । प्रधानमन्त्रीका सल्लाहकारले भने, ‘कविजी, प्रधानमन्त्रीज्यूलाई अहिले हतार छ ।’


‘हो र ? कहाँ जाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’ कविले सोध्यो ।


‘चक्रे मिलनजीको एकल कवितावाचन छ । प्रधानमन्त्री त्यहीँ कविता श्रवण गर्न जाँदै हुनुहुन्छ ।’


यसरी बालक हत्या सम्बन्धमा प्रधानमन्त्री बेखबर भए र हतारहतार त्यहाँबाट निस्किए । तर, एउटा अर्को दृश्यबारे कवि पनि पूरै बेखबर थियो । कवि मात्र हैन, भर्खर श्रीपेच धारण गरेका प्रधानमन्त्री पनि यो दृश्यबारेमा बेखबर थिए ।


दृश्य यस्तो थियो—
घाम पूरै अस्ताइसकेको थिएन । वातावरणमा पूरै उदासी पनि छाइसकेको थिएन । मानिसहरूको ओहोरदोहोर जारी थियो । उनीहरूका ओठबाट मुस्कान पूरै गायब भइसकेको थिएन । केही बालकहरू आपसमा खेलिरहेका थिए र उनीहरूको आँखाबाट भविष्यका सुन्दर सपनाहरू पनि गायब भइसकेका थिएनन् । त्यही समयमा सिंहदरबारको गेटभन्दा अलिक पर एउटा बालक सबैसित सोधिरहेको थियो— कविताको नियम !

प्रकाशित : आश्विन ११, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?