कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कथा : छापामारको छोरो–२

महेशविक्रम शाह

भुइँमा खुट्टा बजारेर सलाम ठोक्दै मेरो बडिगार्डले भन्यो, ‘सर छापामारको छोरो भन्ने हजुरलाई भेट्न चाहन्छ  । ’‘हँ... को रे ?’ कता कता सुनेझैं, महसुस गरिरहेझैं लाग्यो मलाई यो नाम  ।

कथा : छापामारको छोरो–२

‘छापामारको छोरो सर ।’ मेरो बडिगार्डले नाम दोहो‌र्‍यायो ।


‘छापामारको छोरो !!’ मेरो स्वरमा किञ्चित आश्चर्य थियो ।


‘हो सर ! छापामारको छोरो ।’ आफ्नो बोलीमा मेरो गार्ड आश्वस्त देखिन्थ्यो ।


‘कहाँ छ त्यो ?’ मैले गार्डको अनुहारमा हेर्दै भने ।


‘जिल्ला प्रहरी कार्यालयको हिरासतमा छ सर ।’ छाती तनक्क तन्काउँदै गार्डले फेरि सलाम ठोक्दै भन्यो । ऊ आफ्नो अनुहारमा आत्मविश्वासको भाव ल्याउने प्रयास गरिरहेको थियो ।


’प्रहरीको हिरासतमा छ ऊ ?’ मैले अचम्म मान्दै गार्डको अनुहारमा हेरें ।


‘हजुर सर । उसलाई प्रहरीले पक्रेर ल्याएको तीन दिन भयो । ऊ विप्लव माओवादी हो सर । तर खोइ किन हो आफूलाई छापामारको छोरो भन्दोरैछ हजुर ।’


आफ्नो अनुहार खुम्च्याउँदै मेरो गार्ड बोल्यो ।


उसको अनुहारको भावले बताउँथ्यो उसलाई यसभन्दा बढी केही थाहा छैन । तर मैले सोध्न सक्ने सम्भावित प्रश्नको अनुमान गरेर ऊ तनावग्रस्त बनिरहेको थियो ।


छापामारको छोरो नामले मेरो दिमागमा हलचल मच्चाइसकेको थियो । को होला त्यो ? मेरो मस्तिष्कमा अनेक विचार आइरहेका थिए । मैले जीवनमा पहिलोपटक छापामारको छोरोलाई अठाह्र वर्षअघि रोल्पामा भेटेको थिएँ । त्यस बेला म जिल्ला प्रहरी कार्यालय, रोल्पाको प्रमुख थिएँ ।

माओवादीहरूको सन्देशबाहकका रूपमा काम गरेको अभियोगमा छापामारकी स्वास्नीलाई प्रहरीले समातेको थियो । साथमा छोरो पनि भएकाले उसलाई पनि प्रहरीले आमासँगै ल्याएर हिरासतमा राखेको थियो । विद्रोही माओवादी छापामारको छोरो भएकाले उसलाई प्रहरीहरू छापामारको छोरो भनेर बोलाउने गर्थे । फुच्चे छापामारको छोरो बालक भए पनि निडर र निर्भीक थियो ।

ऊ निसंकोच प्रहरीहरूको जमात अगाडि छापामार युद्धकलाका करतबहरू प्रदर्शित गरिरहेको थियो । उसको यस कलाकारिताले प्रहरी कार्यालयमा हलचल मच्चाएको थियो । हामीले केही दिनपछि कानुनी प्रक्रिया पूरा गरेर मानवीयताको आधारमा आमा–छोरा दुवै जनालाई हिरासतमुक्त गरी घर फर्काइदिएका थियौं । घर फिर्ता पठाएको दोस्रो दिन नै छापामार आएर आफ्नी स्वास्नी र छोरोलाई जंगलमा लिएर गएको खबर हामीछेउ आइपुगेको थियो ।


मैले स्मृतिको पर्दा उघारेर अतीतमा चियाएँ । द्वन्द्वकालीन दिनको सम्झनाले मलाई भावुक बनाएको थियो ।


‘त्यो फुच्चे छापामारको छोरो अहिले कहाँ होला ? उसको बाबु र आमा के गर्दै होलान् ? सशस्त्र द्वन्द्वको चपेटामा परेर जीवन गुमाएका रहेनछन् भने सायद जीवितै होलान् । दसवर्षे माओवादी सशस्त्र द्वन्द्वको समाप्तिपश्चात् देशमा शान्ति बहाल भयो ।नागरिकले नयाँ संविधान पाए । देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लागू भयो । सायद उसका बाबुआमाले पनि माओवादी जनयुद्धमा गरेको योगदानस्वरूप पक्कै उपल्लो पद र पहुँच भेट्टाए होलान् । छापामारको छोरोको बाबु केन्द्र अथवा प्रदेश सरकारको मन्त्री नै पो बनिसक्यो कि ! छापामारको त्यो फुच्चे छोरो पनि पच्चीस छब्बीस वर्षको लक्का जवान भइसक्यो होला । ऊ पनि आफ्नो बाबुको पीएसीए बनेर जनयुद्धको बेला देखेका सपनाहरू साकार पारिरहेको पो छ कि !' मेरो दिमागमा यिनै कुराहरू खेलिरहे । मेरो मन छापामारको छोरोको स्मृतिमा द्रवित बनिरहेको थियो ।


‘सर म के खबर पठाऊँ ? त्यो छापामारको छोरोलाई यहाँ लिएर आइज भनौं हजुर ?’ मेरो गार्ड मेरा सम्मुख हलचल नगरी उभिइरहेको थियो ।


‘म उसलाई भेट्न आफैं त्यहाँ जान्छु । यही खबर पठाइदेऊ,’ मैले गार्डलाई आदेश दिएँ ।


ऊ मेरा सामुन्ने खडा थियो । फरक यत्ति थियो ऊ हिरासत कक्षको बारभित्र थियो । म बाहिर ।


पच्चीस–छब्बीस वर्षको हट्टाकट्टा युवा थियो ऊ । दारी–जुँगाले छोपिएको अनुहार । लापरबाह तरिकाले छोडेको नमिलेको कपाल । मलाई देख्नेबित्तिकै ऊ भुइँबाट जुरुक्क उठेको थियो । मुस्कुराउँदै उसले दुई हात जोड्दै भन्यो, ‘नमस्कार सर ।’


‘नमस्ते ।’ मैले उसको शिरदेखि पैतालासम्म सर्सर्ती हेर्दै भनें । म उसलाई चिन्ने प्रयास गरिरहेको थिंए । तर ऊ मेरालागि अपरिचित व्यक्ति थियो ।


‘सर चिन्नुभएन मलाई ?’ ऊ मलाई हेर्दै मुस्कुराइरहेको थियो ।


‘अहँ ...!’ मैले सम्झेसम्म उसलाई न त कहिले देखेको थिएँ न त हाम्रो कहिले भेट नै भएको थियो ।


‘सर अठाह्र वर्षपहिले तपाईं जिल्ला प्रहरी कार्यालय, रोल्पाको इन्चार्ज हुनुहुन्थ्यो । त्यस बेला मेरी आमा र म तपाईंको हिरासतमा थियौं । तपाईं मलाई ए छापामारको छोरो भनेर बोलाउनुहुन्थ्यो । मैले तपाईंको अगाडि छापामार युद्धका करतबहरू देखाएको थिएँ ।

पछि तपाईंको छोरोसँग पनि मेरो दोस्ती भयो । जीवनमा पहिलोपल्ट मैले तपाईंको छोराको साइकल चढेको हुँ सर । म तपाईंहरूको दुश्मन छापामारको छोरो भए पनि तपाईंले मलाई घृणा होइन माया गर्नुभयो । मैले तपाईंको त्यो मायालाई कहिले भुल्न सकिनँ सर ।’ बोल्दाबोल्दै रोकियो ऊ । उसका आँखाहरू रसाउन थालेका थिए । आफ्नो भावुकतामाथि नियन्त्रण राख्ने प्रयास गर्दै ऊ बोल्यो—
‘अब त मलाई चिन्नुभयो होला नि सर ?’


‘मैले तिमीलाई चिनें बाबु । तिमी त्यही छापामारको छोरो हौ जसलाई मैले रोल्पाको प्रहरी हिरासत कक्षमा भेटेको थिएँ । त्यस बेला तिमी सानो फुच्चे बालक थियौ । तर तिमीलाई आज यो अवस्थामा देख्दा मलाई दुःख लाग्यो । आऊ भित्र बसेर कुरा गरौं ।’


‘उसलाई कार्यालयमा लिएर आऊ ।’ मैले हिरासत कक्ष व्यवस्थापन प्रहरी अधिकृतलाई आदेश दिएँ ।


म कार्यालयको कुर्सीमा बसिरहेको थिएँ । प्रहरीले उसलाई हातमा हतकडी लगाएर ढोकानिर ल्यायो ।


‘सरभित्र ल्याऊँ हजुर ?’ हिरासत कक्ष हेर्ने प्रहरी अधिकृत बोल्यो ।


‘ल्याऊ ।’ मैले भनें । छापामारको छोरोतिर हेर्दै मैले भनें, ‘कुर्सीमा बस ।’


‘धन्यवाद सर ।’ हात जोर्दै ऊ कुर्सीमा बस्यो ।


‘हतकडी खोलिदेऊ ।’ प्रहरीलाई आदेश दिएँ । प्रहरीले हतकडी खोलिदियो ।


उसले मतिर हेर्दै मुस्कुराउँदै भन्यो, ’धन्यवाद सर ।’


‘तिमीलाई अझै छापामारको छोरो भनेर बोलाउनु र !’ म मुस्कुराएँ । ‘अब त तिमी लक्का जवान भइसक्यौ । तिम्रो नाम के हो ?’ मैले उसका आँखामा हेंरे ।


उसले पनि मलाई हेरिरह्यो । केही बोलेन । निरपेक्ष भावमा आफ्ना दुवै हात एकआपसमा रगडिरह्यो ।


मैले उसको अनुहार नियालिरहें । मेरा आँखाहरूमा प्रश्नैप्रश्नका खात थिए ।


‘म विप्लव माओवादी हुँ सर । अर्को नामको केही अर्थ रहेन ।’ उसले आफूलाई सम्हाल्दै भन्यो । उसको अनुहारमा अघि देखिएका छापामारको छोरोका बालसुलभ भावहरू लुप्त भइसकेका थिए । उमेरभन्दा वयस्क र कठोर देखिएको थियो उसको अनुहार ।


उसलाई यस अवस्थामा पाएर म अचम्मित र विष्मित थिएँ । देशमा नयाँ शासन व्यवस्था आएपछि सशस्त्र द्वन्द्वमा माओवादी विद्रोहीको तर्फबाट जजसले योगदान दिएका थिए, बहुसंख्यकले राज्यबाट केही न केही पाएका थिए । मलाई लागिरहेको थियो छापामारको छोरोका बा आमाले पनि आफ्नो सारा जीवन होमेका छन् । तिनीहरूले पनि निश्चय नै कुनै राजनीतिक, प्रशासनिक वा सैनिक नियुक्ति पाए होलान् । तर छापामारको छोरोको अवस्थाले ठीक उल्टो संकेत गरिरहेको थियो ।


‘तिमी कसरी विप्लवको समूहमा लाग्यौ ? तिम्रा बा–आमा कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?’ अधैर्य हुँदै सोधें मेले ।


उसले लामो सास तान्यो । सायद मेरा प्रश्नहरूले उसलाई विचलित बनाएको हुनुपर्छ । उसले आफ्नो टाउको निहुरायो । केही बेर मौन केही सोचिरह्यो । टाउको उठाएर झ्यालबाहिर हे‌र्‍यो । केही बेर टोलाइरह्यो । तत्पश्चात् मेरा आँखामा हेर्दै बोल्यो, ‘जिन्दगी सोचेजस्तो भएन सर ! न मेरा बाले सोचेजस्तो न त मैले सोचेजस्तो नै भयो जिन्दगी । तर हाम्रो जिन्दगी हामीहरूले चाहेजस्तो बनाउने आशा छोडेको छैन सर । म अझै लडिरहेको छु । यो सास रहुन्जेल लडिरहनेछु ।’ उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा आत्मविश्वास र दृढता झल्किरहेको थियो ।


‘तपाईंले सोचेको जस्तो छैन मेरो वास्तविक कथा । मेरो कथा चुरे पहाडझैं कतै अग्लिएको छ त कतै भास्सिएको छ । धेरै ठाउँमा मेरो कथा क्रमभंग भएर टुट्दै विशृंखलित बनेको छ । रूखको हाँगामा फुल्न नपाई असमयमै झरेको फूलजस्तो मेरो कथा सुन्नुहुन्छ सर ?’ विषादपूर्ण आवाजमा छापामारको छोरो बोल्यो ।


मैले शिर हल्लाएर स्वीकृति दिएँ ।


ऊ आफ्नो कथा बताउन थाल्यो । म फुच्चे छापामारको छोरोलाई आफ्नो मनमा राख्दै युवा छापामारको छोरोको कथा सुन्न थालें ।
उसले सुनाएको कथा यस्तो थियो ...!


‘हाम्रो सानो परिवार थियो । बा, आमा र म । हामीसँग घरवरिपरिको एक टुक्रा जमिन मात्र थियो । त्यत्तिले खान पुग्दैन थियो । बा अर्काको खेत जोत्थे । आमा घरधन्दा गर्थिन् र बाको हात बटाउँथिन् । रोल्पाका गाउँबस्तीहरूमा माओवादीहरूको प्रभाव बढ्दै गइरहेको थियो । एक दिन बाले हामीलाई सुनाए उनी पनि माओवादीसँग जंगल पस्दै छन् ।

रोइरहेकी आमालाई थुमथुम्याउँदै बा बोलेका थिए— एक दिन हामीजस्ता गरिबहरूका दिन आउनेछन् । म त्यसैका लागि लडाइँ लड्न जाँदै छु । मेरा बा रक्तबीज मिहिनेती र इमानदार कार्यकर्ता थिए । माओवादी भएको छोटो समयमा नै उनी सामान्य कार्यकर्ताबाट सिंढी उक्लिँदै स्क्वाड कमान्डर बने । स्क्वाड कमान्डरका रूपमा उनले पार्टीको काम बखुबी निभाए ।

उनी लडाकु छापामारको रूपमा युद्धमा होमिए र कैयौं लडाइँहरू लडे । बाको कामप्रतिको निष्ठा र लगनशीलता देखेर पार्टीले उनलाई स्क्वाडबाट प्लाटुनमा लग्यो । केही समयपछि मेरा बा प्लाटुन कमान्डर बन्न सफल भए । प्लाटुन कमान्डर हुँदा मेरा बाले राज्य पक्षका प्रहरी र सेनाविरुद्ध ठूलठूला युद्धमा भाग लिए र सफलता प्राप्त गरे ।

मेरा बा जहिले भन्थे कि ‘यो युद्ध हामीले जनताको मुक्तिका लागि लडेका हौं । हामीले युद्ध जितेपछि मात्र हाम्रा नागरिकहरूले सुख र शान्तिको अनुभव गर्नेछन् ।’ युद्ध सिद्धेर जनआन्दोलनमार्फत गणतन्त्र बहाल भएपछि मेरा बा सेना समायोजनमा अयोग्य ठहरिए ।

पार्टीले अन्य कुनै राजनीतिक जिम्मेवारी पनि दिएन । उनले यसको विरोध गरे । त्यसपछि पार्टीले बाको वास्ता गर्न छोड्यो । पार्टीले मेरा बालाई कुनै पनि भूमिका दिन चाहेन । अन्ततः निराश भएर मेरा बा गुन्टा बोकेर काठमाडौंबाट गाउँ फर्किए । उनका केही वर्ष पागलपनमा बिते । रातदिन उनी बरबराइरहन्थे । एक दिन बाले भने, ‘म यहाँ बसेर के गर्न सक्छु र ! खेती गरौं भने जमिन छैन, व्यापार गरौं भने नगद छैन । लडाइँमा लागेर आफू त अनपढ भएँ, भएँ, छोरोलाई पनि अनपढ बनाएँ ।


छोरोको भविष्य बर्बाद पारें मैले । अब भएको यो पाखो जमिन बेचेर भए नि म अरब जान्छु । मेरो जीवन बनाए नि बिगारे नि जे गर्छ अब अरबले नै गर्छ ।’ केही दिनपछि जमिन बेचेर पाएको रकम खर्च गरेर बा अरब भास्सिए । तर अरब गएको छ महिनामा नै मेरा बा सदाका लागि बन्द काठको बाकसमा चिरनिद्रामा सुतेको अवस्थामा फर्किए । त्यसपछि हामी दुई आमा छोरा बेसहारा भयौं ।

हामीसँग न जमिन थियो न अन्न । हामीले भोकभोकै काठमाडौंका गल्ली र बाटाहरू चहा‌र्‍यौं । बाका कमान्डरहरू जो सरकारका ठूला मन्त्री थिए, हात जोड्दै अनुनय–विनय गर्‍यौं । बाका समकालीन साथीहरू जो ठूलठूला ओहोदामा पुगेका थिए, तिनका खुट्टा समातेर डाँको छोड्यौं । बाले गरेको बलिदानको दुहाई दियौं । अहँ हाम्रा आँसुहरूले तिनका मन पगाल्न सकेन । बाको बलिदानको गाथाले तिनका ढुंगा बनेका हृदयमा करुणाको अंकुर टुँसाउन सकेन । पछिपछि त हामीलाई देखेर तिनीहरू मुख लुकाउन थाले ।

मेरा बाको बलिदानले सुकिला बनेका कामरेडहरूले हामीलाई प्रतिगमनकारी देख्न थाले । हामी आमाछोरा असहाय भएर गाउँ फर्कियौ । गाउँमा हाम्रो भन्ने न झोपडी थियो न एक मुठी माटो ! गाउँमा अर्काको नोकर भएर हामीले जेनतेन गुजारा चलाउन थाल्यौं ।

फर्किएको एक महिनामा नै बाको मृत्युको पीडा र सुकिला कामरेडहरूको तिरस्कार र अवहेलनाको सन्तापले पिरोलिँदै आमा मरिन् । म एक्लो र टुहुरो भएँ । केही समय गाउँको भेडी गोठालो बनेर गुजारा गरें । त्यसपछि गाउँ छोडेर म सहर पसें । सहरमा अनेकौं हन्डर खाएपछि मलाई चेतना भयो । मेरा बाले जुन दिन देख्नका लागि सशस्त्र युद्ध लडेका थिए, त्यो दिन त आएकै रहेनछ ।’


यति भनिसकेपछि शून्यमा हेर्दै ऊ टोलाइरह्यो । जीवन भोगाइले पाषाण बनेको उसको अनुहारलाई आँखाका डिलबाट झर्न नसकेका आँसुहरूले भित्रभित्रै थिलथिलो र द्रवित बनाइरहेको थियो ।


‘...त्यसपछि मलाई लाग्यो जुन सपना देखेर मेरा बा जनयुद्धमा होमिनुभएको थियो, त्यो सपना त तुरियो । त्यसभन्दा पनि पीडादायक दृश्यहरू देखेर म कहालिएँ । हामीलाई मुक्तिको सपना देखाउने आदरणीय कामरेडहरू दलाल, गल्लावाल र ठेक्कावालमा रूपान्तरण हुनुभयो । मेरा बाले देशमा ठेकेदारतन्त्र ल्याउन बन्दुक उठाएका थिएनन् ।

आम नागरिकको आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हक स्थापित गर्न बन्दुक उठाएका थिए । हामीले भन्ने गरेको सामन्ती व्यवस्थामा हामीहरू जति उपेक्षित र पीडित थियौं त्योभन्दा बढी उपेक्षित र अपहेलित हामी आफूले सशस्त्र युद्ध लडेर ल्याएको व्यवस्थामा भयौं । हाम्रालागि यसभन्दा पीडादायक विषय अरू के हुन सक्छ ? यो पीडाबाट व्यक्तिगत रूपमा उन्मुक्ति पाउन बहुलाउनु र भीरबाट हाम फालेर मर्नुभन्दा जनताको उन्मुक्तिका लागि फेरि बन्दुक समातेर युद्धमा होमिनु र दुश्मनको गोली खाएर मर्नु श्रेयष्कर र गौरवपूर्ण हुन्छ भन्ने लागेर म विप्लव माओबादी बन्न विवश भएँ सर ।’


उसले मतिर हे‌र्‍यो । उसको अनुहारमा अहिले कोमल भावहरू थिएनन् । एकप्रकारको स्थूलता र जडता थियो ।


उसको जीवन भोगाइ सुनेर म भावशून्य बनेको थिएँ । ऊ र उसका बा–आमाले भोगेको दुःख र पीडालाई महसुस गरेर म विचलित बनिरहेको थिएँ । उसलाई भेट्नुभन्दा पहिले उसको बारेमा मैले गरेको कल्पना र उसले मलाई साक्षात्कार गराएको उसको विपनाबीच गहिरो खाडल थियो ।

उसले भोगेको वास्तविकतालाई आत्मसात् गरे तापनि म अझैं विश्वास गर्न सकिरहेको थिइनँ, विद्रोही छापामारहरूले सशस्त्र युद्ध लडेर ल्याएको शासन व्यवस्थामा पनि के छापामारको छोरोले त्यही नियति भोग्नुपर्ने जुन उसले युद्धकालमा भोगेको थियो ?


‘के तिमीलाई लाग्छ कि विप्लव माओबादीहरू वर्तमान व्यवस्थामा देखिएका त्रुटिहरू सुधारेर अघि बढ्छन् ? के तिनीहरूले पनि जनताकै मुक्तिका लागि बन्दुक उठाएका हुन् त ?’ विप्लव माओवादी बनेको छापामारको छोरोको अनुहारमा हेर्दै मैले भनें ।


उसले आफ्ना आँखाहरूमा गम्भीर भाव ल्याउँदै मतिर हे‌र्‍यो र भन्यो, ‘मलाई विश्वास छ, विप्लव माओवादीको उद्देश्य यही हो । तर कहिलेकाहीं म भयग्रस्त पनि हुन्छु यो सोचेर कि मेरा बाले लडेको आदर्शको लडाइँ त खेर गयो । दस वर्षसम्म लडाइँको नेतृत्व गरेका र हजारौं कार्यकर्ताको बलिदानी रगतले पोतिएका कामरेडहरूले त बाटो बिराए भने त्यो बटवृक्षको हाँगोका रूपमा रहेको यो विप्लवले पनि बाटो नबिराउला भन्न सकिन्न । जनताको मुक्तिको आडमा राजनीतिक शक्ति प्राप्तिका लागि यो संघर्ष गरिएको हो भने यसकै विरुद्धमा फेरि अर्को हिंसाको शृंखला सुरु नहोला भन्न सकिन्न ।’ ऊ गम्भीर देखियो ।


‘तिम्रो उद्देश्य परिपूर्तिका अन्य विकल्प पनि त छन् नि । तिमी त्यसमा किन प्रयास गर्दैनौ ? के बन्दुक समात्दैमा र हिंसा मच्चाउँदैमा देशमा परिवर्तन आउँछ ? राजनीतिक परिवर्तनको साथसाथै राजनीतिक स्थिरता महत्त्वपूर्ण हो भन्ने कुरा अहिलेको अवस्थाले देखाउँदैन र ?’ मैले आफ्नो तर्क प्रस्तुत गरें ।

मलाई सुनेर उसले एक छिन गम खायो । तत्पश्चात् लामो सास तानेर छोड्दै ऊ बोल्यो—
‘बन्दुक समातेर हिंसा मच्चाउँदैमा परिर्तन आउने भए अहिलेसम्म नेपाली नागरिकहरू संसारमा सबैभन्दा सुखी र समृद्ध बनिसक्नुपर्ने हो । हामीले सोचेको यो समृद्धि र सुख कहिले आएन । तर हिंसा अझैं जारी छ । तपाईंको यो मतसँग म सहमत छु तर मेरालागि वर्तमान समयमा अन्य कुनै विकल्प छैनन् । राज्यले हाम्रालागि कुनै उपयुक्त विकल्प दिएको छैन । कमसेकम भावनामा भए पनि मैले आफूलाई आश्वस्त पार्न सकेको छु कि म मेरा बाले अँगालेको सिद्धान्तबाट विचलित भएको छैन ।

म आफैंले आफैंलाई घृणा गर्ने गरी आफ्नो चरित्रबाट स्खलित भएको छैन । विप्लव माओवादी अँगाल्नुको तात्पर्य मेरो आत्मसन्तुष्टि पनि हो कि मेरा बाका समकालीन कामरेडहरूको दया र मायामा म बाँचिरहेको छैन । हामी युवाहरूलाई राज्यले गरेको चरम बेवास्तालाई टुलुटुलु हेरेर बाँच्न म अभिषप्त छैन । म स्वतन्त्र छु । म पृथक् छु । बरु तिनीहरूलाई चुनौती दिन सक्ने सामर्थ्य राख्छु । यस अनुभूतिले मात्र पनि मलाई बाँच्ने प्रेरणा दिएको छ सर ।’


उसले शिर ठाडो पारेर मलाई हे‌र्‍यो । आफूले समातेको मार्गप्रति पूर्णरूपमा आश्वस्त नभए पनि आफ्नो उद्देश्यप्रति भने ऊ विश्वस्त देखिन्थ्यो ।


‘त्यसो भए के जेलको छिंडीभित्र आफ्नो जीवन समाप्त पार्ने विचार हो तिम्रो ?’ मैले उसको अनुहारमा दृष्टिपात गरें ।


‘राजनीतिक सिद्धान्तका कारण जेल जानुपरे, त्यो मेरालागि अवसर हुनेछ सर । आफ्नो व्यक्तित्वलाई निखार्ने उपयुक्त समय हुनेछ ।’ उसले निर्विकार भावमा जवाफ दियो ।


‘तिमीमा यत्ति चेत त हुनुपर्ने हो कि तिमी राजनीतिक सिद्धान्तका कारण नभई बम विस्फोटन गरी मानवीय र भौतिक क्षति गरेको अभियोगमा जेल जाँदै छौ । यो राजनीतिक नभई आपराधिक कार्य हो । तिम्रो भाषामा यो क्रान्ति होला तर कानुनको भाषामा यो विशुद्ध अपराध हो ।’ म तिखो आवाजमा चिच्याएँ ।


‘बम विस्फोटन र मानवीय क्षतिको यो घटना नेपालको पहिलो घटना होइन डीआईजी साहेब । तपाईं रोल्पाको प्रहरी प्रमुख हुँदा जोसँग युद्ध लड्दै हुनुहुन्थ्यो ती मान्छेहरू अहिले सत्तामा छन् र तपाईं अहिले तिनीहरूकै आदेशको पालना गर्दै हुनुहुन्छ । के थाहा भोलि तपाईंले मेरो आदेश पो मान्नुपर्ने हो कि ? अपराध र क्रान्तिको परिभाषा समयसापेक्ष हुन्छ सर ।’


धक फुकाएर हाँस्यो ऊ । ऊ युद्ध जितेको विजयी योद्धाझैं प्रतीत भइरहेको थियो ।


मैले बिस्तारै उसको हात समातें । मेरो स्पर्शले प्रफुल्ल देखियो ऊ । मलाई त्यही फुच्चे छापामारको छोरोको हात स्पर्श गरेझैं लागिरहेको थियो । मैले मायालु भावले उसका आँखामा हेरें । उसका आँखामा मप्रति अगाध प्रेम र श्रद्धा थियो ।

मैले उसका गहिरा आँखामा नियाल्दै भनें—‘मैले रोल्पामा तिमी र तिम्री आमालाई हिरासतबाट मुक्त गरेर घर पठाउँदा सोचेको थिएँ पक्कै तिमी पनि आफ्नो छापामार बासँगै लागेर छापामार बन्नेछौ । त्यसबेला म तिमीलाई त्यो परिस्थितिबाट बचाउन नसकेकोमा दुःखी थिएँ । अहिले तिमीलाई विप्लव माओवादीको रूपमा पाउँदा मलाई दुःख लागेको छ । देश र जनतामा परिवर्तन ल्याउन हिंसा नै एक मात्र विकल्प होइन । यस आधुनिक युगमा थुप्रै विकल्प छन् जसलाई हामी आफ्नो आवश्यकता र उद्देश्यका आधारमा छनोट गर्न सक्छौं । आशा छ एक न एक दिन तिमी हिंसाको मार्ग त्यागेर अहिंसाको मार्गमा आउनेछौ र राष्ट्र निर्माणमा आफ्नो यागदान दिनेछौ ।’


उसले पुलुक्क मतिर हे‌र्‍यो । अनुहारको भावले भन्थ्यो, ऊ मसँग असंख्य प्रश्न सोध्न चाहन्छ । तर उसले मसँग कुनै प्रश्न सोधेन ।
‘सर उसकी स्वास्नी उसलाई भेट्न आएकी छे ।’ मेरो गार्ड सलाम ठोक्दै दैलोनिर उभियो ।


‘यहाँ बोलाऊ ।’ मैले आदेश दिएँ ।


एउटा सानो बच्चासहित एउटी महिला दैलोमा झुल्किन् । मैले कुर्सीमा बस्ने इसारा गरें । कुर्सीमा बस्नेबित्तिकै उनी लोग्नेतिर हेर्दै घ्वाँघ्वाँ रुन थालिन् । आमा रोएको देखेर सानो बच्चा पनि आमालाई अँगालो हाल्दै रुन थाल्यो ।


‘सर यो मेरी स्वास्नी हो । बिहे गरेको पाँच वर्ष मात्र भयो । मैले उसलाई पेटभरि खान दिन सकेको छैन । मेरो घरद्वार छैन । ऊ माइतमा बस्छे । यो मेरो छोरो मलाई चिन्दैन सर । म कहिल्यै उनीहरूसँग बस्न पाउँदिनँ । कसरी आफ्नो बालाई चिनोस् !’ छोरोतिर हेर्दै ऊ भावुक भयो । उसका आँखाबाट तुरुक्क दुई थोपा आँसु गालातिर झरे ।

बाहुलाले आँसु पुछ्दै उसले मतिर हेर्दै भन्यो—‘सर मैले देखेका सपनाहरू पनि मेरा बाका सपनाझैं तिरोहित भए भने मेरो पुस्ता पनि खेर जानेछ । तपाईंले चाहेजस्तो अहिंसाको मार्गमा हिँडेर भविष्य बनाउने युवाहरू कोही हुने छैनन् देशमा । धेरै युवा बिदेसिनेछन् भने ती थोरै युवा जो विदेश जान नपाएको सन्तापमा देशभित्रै हिंसा मच्चाउनेछन् । त्यसपछि के तपाईं मेरो छोरोलाई भविष्यको छापामार बन्नबाट बचाउन सक्नुहुन्छ सर ?’


म अवाक मुद्रामा कहिले उसलाई त कहिले उसको सानो छोरोलाई हेरिरहेको थिएँ ।

प्रकाशित : आश्विन ११, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?