भिक्षु भोजन

मनोज पौडेल

लुम्बिनीस्थित थाई विहारमा भोजन गर्दै धुतांगधारी थाई भिक्षु  । धुतांगधारी भिक्षुहरु हाते झोलामा खाने सबै कुराका बन्दोबस्ती गरेर हिँड्छन्  ।

थेरबादी परम्परा मान्ने भिक्षुले मध्याह्न १२ अघि भोजन गर्ने हुँदा उनी साढे ११ बजे भोजन गर्न लागेका हुन्। उनीहरु साँझ झोल पदार्थ खाएर बस्छन्। वन क्षेत्रमा बास बस्ने ध्यान गर्ने भिक्षुलाई थाइल्यान्डमा धुतांगधारी भिक्षु भनिन्छ। प्रकाशित : आश्विन ४, २०७६ १०:३४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनुभूति : महाभारत !

यमन श्रेष्ठ

अगस्ट ५ तारिखका दिन साँझपख फेसबुकमा सफल व्यवसायी जीबा लामिछानेले ‘नारायण गाउँले लेख्नुहुन्छ’ भन्दै नागपञ्चमीबारे जानकारीमूलक लेख सेयर गर्नुभयो  ।

जसमा लेखिएको थियो— जसरी अहिले हामी क्यान्सर दिवस, बाघ दिवस मनाउँछौं, नागहरूको महत्त्व जनमानसमा फैलाउने उति बेलाको नाग दिवसजस्तै थियो नागपञ्चमी । त्यो बेला प्रचार गर्नेहरूको क्या आइडिया थियो । नाग दिवसको प्रचार गर्न उक्त दिन प्रचारकहरू मान्छेहरूको घरघरमा जानै नपर्ने, मान्छेहरू आफैंले नै आ–आफ्नो घरका ढोकाहरूमा नागका फोटोहरू टाँस्न थाले ।


यो स्टाटसमा बुबा मदनकृष्ण श्रेष्ठले एउटा स्यानो कमेन्ट गर्नुभयो, ‘हिन्दू धर्म विज्ञानयुक्त छ । वैज्ञानिकहरूले खोज गर्न प्रशस्त आधारहरू भेटिन्छन् यसमा । भनिन्छ, महाभारत ग्रन्थमा नभएका विषयहरू ब्रह्माण्डमा पनि छँदै छैन । कसलाई सोधूँ खै महाभारतको गहन कथाका सयौं पात्रमध्ये मलाईजस्तै पार्किन्सन भएका कुनै न कुनै पात्र र त्यसको ओखती पनि हुनुपर्छ ।

मैले महाभारतको चलचित्र हेर्नेबाहेक ग्रन्थ पढेको छैन । तर बुबाको महाभारतवाला कमेन्टले मेरो मनमा केही कुरा खेल्न थाले ।


झन्डै १३ वर्ष भएको थियो अमेरिका बस्न थालेको । हरेक घर, टोल, छरछिमेकमा कोही न कोही विदेशमा गएका थिए, मलाई पनि विदेशको मोह नहुने कुरै भएन । जिन्दगी सुख–दुःखको अनुभव हो भन्ने त थाहा थियो तर आफ्नो उमेरअनुसारको प्याकेज–प्याकेजमा सुख–दुःख आउने रहेछ ।


सुरुमा त अमेरिकामा काम खोज्न नै धौ–धौ । बल्लबल्ल काम मिल्यो । एक महिना काम गरेको थिए, तर दुई हप्ताको मात्र पैसा दिए मलाई । सानो महाभारत त मैले त्यहीं देखें । पछि काम नै छोडिदिएँ ।


बेलाबेला नेपाल नै फर्कौंजस्तो पनि भएको थियो । टुरिस्ट भिसाको अवधि पनि सकिँदै थियो । तर नेपालमा अर्कै महाभारत चलिरहेको थियो, आन्दोलन, काटमारको महाभारत । जवान थिएँ, पढाइ सकिएको थिएन । आफ्नो भविष्यको चिन्ताले पनि सताइरहेको थियो । एउटा महाभारत छोडेर फेरि अर्को महाभारततिर जाने कि नजाने भन्ने कुराले सतायो । नेपाल फर्किने कुरालाई थाँती राखेर उतै बसी पढाइ सकाउने विचार गरें ।
ग्रिन कार्डको लागि अप्लाई गरें । ग्रिन कार्ड आउन ५ वर्ष जति कुर्नुपर्छ रे ।
घरबाट फोन आउँथ्यो, ‘बाबु अब के गर्ने ?’
म भन्थें, ‘कुर्ने ।’
घरबाट फोन आई नै रहन्थ्यो । भन्थे, ‘बाबु, अब के गर्ने ?’
म दोहोर्‍याई दोहोर्‍याई भन्थें, ‘कुर्ने ।’
समयक्रममा यो ‘कुर्ने’ शब्द नै पछि गएर एउटा हाँसो लाग्ने शब्द भैसकेको थियो । कति कुर्ने ? कुरी मात्र रहने ?
बुबाआमा पनि ५०/५१ वर्षको हुनुहुन्थ्यो । आमा जागिरे, बुबा कलाकारितामा व्यस्त । फेरि मैले घरको धेरै चिन्ता पनि गर्न नपर्ने । बुबा आमालाई अलिकति मात्र सन्चो भएन भने हरिवंश अंकलजस्तो बुबाको साथी हुनुहुन्थ्यो । मैले त घरमा पैसा पनि पठाउनु नपर्ने । उल्टो पैसा चाहे भन् है बाबु भनेर सोधिरहने बा–आमा ।


नेपालमा कलेज पढ्न थालेपछि नै मैले घरबाट पैसा माग्न छोडिसकेको थिएँ ।


मैले पैसा माग्न छोडेपछि बुबाले मलाई हप्ता–दुई हप्तामा ४/५ सय रुपैयाँ दिइरहनुहुन्थ्यो । मैले पर्दैन भन्दाभन्दै पनि ‘तैंले फेरि पछि गएर म मेरो बुबाआमाको पैसा नै लिन्नथिएँ भन्दै हिँड्लास्’ भन्दै खल्तीमा जबर्जस्ती पैसा राखिदिनुहुन्थ्यो । एक्स्ट्रा बोनस अफर दिने अहिलेको एनटीसी, एनसेलको प्याकेजजस्तो ।


धेरै वर्ष कुरेपछि पनि ग्रिन कार्ड नमिलेपछि हामी बूढाबूढीबीच नेपाल फर्कने घर सल्लाह भयो । २००५ मे महिनासम्म पनि कागज आएन भने हामी नेपाल फर्कने भनेर बसिरहेका थियौं ।


आमाको मन न हो । अन्योलका यिनै दिनहरूमा आमाले ज्योतिषलाई मेरो चिना देखाउनुभएछ । ज्योतिषले भगवान् शिवजीले नै हो सबै चीज अड्काइरहेको, शिवजीको आराधना गर्नु भन्ने सल्लाह दिएछन् ।


ज्योतिषको सल्लाहपछि आमा बुबालाई लिएर एक दिन पशुपति जानुभएछ । बत्ती बाल्न अनि छोराको खुसीका लागि शिवलाई अनुरोध गर्न । पशुपतिको मूलगेटमा एक जना व्यक्ति कुनै साथीलाई बोलाएको जस्तो गरेर शिव, ए शिव, शिव भन्दै आफ्नै सुरमा कराइरहेको रहेछ । बुबा र आमा त्यो व्यक्तिलाई हेरेर दंग परिरहनुभएको रहेछ ।


त्यही बेला बुबाको शिव नाम गरेको पुरानो साथी भेट भएछ । बुबाले सोध्नुभएछ, ओहो कताबाट यता नि ? शिव नामकै साथी भेट्दा पनि भगवान् शिव नै प्रकट भएको जस्तो लागेर छोराको ग्रिन कार्डका लागि भगवान्लाई अनुरोध गर्न आको भनेर बुबाले ठट्यौली पारामा भन्नुभएछ । ती साथीले पनि मिल्छ, मिल्छ पिर नमान्नु भन्नभएछ । उक्त बोली बुबाआमालाई स्वयम् माता पार्वतीका पति नै आएर छातीमा भएको गह्रुंगो ढुंगो निकालिदिएजस्तो पर्न गएछ ।


संयोग पनि कस्तो । नभन्दै त्यही दिन लेटर बक्समा अमेरिकी सरकारको एउटा चिठ्ठी आयो । खोलेर हेर्दा त त्यसमा धेरै वर्ष कुर्दा–कुर्दा केका लागि कुरेकै बिर्सिसकेको त्यही ग्रिनकार्ड भन्ने चीज हात पर्‍यो । खुसीको सीमा नै रहेन ।


दिनहरू दिनजस्तै गरी बित्दै गए । रातहरू रातजस्तै गरेर बित्दै गए । आफ्नो थाँती रहेको पढाइ पनि पढ्दै गएँ ।


नेपाल फर्कने मन त सधैं भैरहन्थ्यो तर अरूले झैं म पनि छोरीको भविष्य अमेरिकामै राम्रो हुन्छ भनेर सोचिरहन्थें । फेरि अर्को मनले भन्थ्यो— अर्को जुनी भन्ने भए पो अर्को जुनीचाहिँ परिवारसँग बस्ने यो जुनीचाहिँ विदेशमै बिताउँछु भन्नु । अर्को जुनीको ग्यारेन्टी नै छैन । नेपालमै आफ्नो आमाबुबासँग बस्न पाए हुन्थ्यो भन्ने कुराले मनमा पिरलिरहन्थ्यो ।


आफूले आफ्नो बुबाआमालाई फोन गरेर सधैं ‘मिस यू’ भनिरहँदा कतै मेरो छोरीले पनि ऊ ठूलो भैसकेपछि मभन्दा टाढा गएर मलाई पनि ‘ड्याडी मिस यू’ मात्र भनिरहने हो कि भन्ने पीर पनि थियो मनमा । परिवारबाट टाढा जाने अनि मिस यू भन्ने त अचेलको संस्कृति नै भैसकेको छ । अझ कति त मिस यू भन्नका लागि मात्र भए पनि टाढा जाने कल्चर नआउला भन्न सकिन्न ।


सधैं खुसीको प्याकेज कहाँ हुन्छ र जिन्दगीमा । एक दिन आमालाई क्यान्सर भएको खबर आयो ।
आमालाई क्यान्सर भएको कुरा थाहा पाएपछि विश्वको कुनै पनि देश, सुख, ग्याजेट्स, विलासितालाई मैले धेरै सानो देखें । परिवारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि सिकाउनु थियो छोरीलाई । हामीले नेपाल फर्कने निर्णय गर्‍यौं ।


बिरामी आमासँग झन्डै ६ वर्ष नेपालमा सँगै बितायौं । बुबा तनाव भए पनि नदेखाउने । घर–अस्पताल, अस्पताल–घर गर्दागर्दै परिवारको दैनिकी बित्थ्यो । छोरी ग्रिष्मा सानी थिइन् । उनी पनि कति पटक त अस्पतालमै बसेर आफ्नो होमवर्क गर्थिन् ।


रेक्टमबाट सुरु भएको क्यान्सर लिभर, फोक्सो, करङ हुँदै आमाको शरीरभरि फैलँदै थियो । एक किसिमको महाभारत नै चलिरहेको थियो हाम्रो जिन्दगीमा । हामीलाई युद्ध जित्नु थियो त क्यान्सरसँगको युद्ध ।


सानी छोरीले एक दिन अस्पतालमै बसिरहँदा भनिन्, ‘ड्याडी, म पनि ठूलो भएपछि तपाईंहरूजस्तै हुने ।’
मैले बुझिनँ, के भन्न खोजेकी भनेर ।


उनैले अर्थ्याइन्, ‘तपाईंहरू बूढाबूढी भएपछि म पनि तपाईंहरूलाई छोडेर कतै जान्नँ । तपाईंहरूले तपाईंको बाआमाको साथ दिएजस्तो म पनि तपाईंहरूसँगै बस्छु र सेवा गर्छु ।’


उनले कृष्णको महाभारत त हेरेकी थिइनन् तर हाम्रो परिवारको महाभारतको एक पात्र भने थिइन् ।
बुबालाई पार्किन्सन अनि आमालाई क्यान्सर त्यो पनि एकैचोटि । एउटै समयमा । योभन्दा ठूलो महाभारत के होला र !
यता आमालाई इमर्जेन्सीमा लानुपर्दा उता बुबा कतै लड्नु त भएन भनेर चिन्ता लिइराख्नुपर्ने ।


यता आमाको फोक्सोको अपरेसन गरिरहँदा उता बुबा मकाउमा आफ्ना दर्शकहरूलाई हँसाइराख्नुपर्ने ।
यता बुबाको टाउकाको अपरेसन गरिरहँदा घरमा आमा बेडबाट हिँड्न नसक्ने ।


एक दिन आमाको खुट्टा नै चलेन । भुइँमा टेक्न नै सक्नुभएन । आमा आफ्नो हालत देखेर एकदम रोइरहनुभएको थियो । आमालाई मैले दोस्रो तलाबाट बोकेर गाडीभित्र राखिरहँदा रोई नै रहनुभएको थियो ।


मैले आमालाई सोधें, ‘म तपाईंलाई हँसाइदिऊँ ?’
आमाले ल हँसा भन्नुभयो ।


मैले भनें, ‘मलाई त अहिले आमालाई बोकेर गाडीमा राख्दा दुलही अन्माउन लागेको जस्तो लागिरहेको छ ।’
नभन्दै आमा बेस्कन हाँस्नुभयो । म, मेरो बुबा अनि रिंकु पनि आमाको हाँसोमा हाँसो मिलाउँदै आँखाबाट आँसु नै आउने गरी हाँस्यौं । बगिरहेको आँसुका कुन थोपा रोदनको र कुन थोपा ठट्टाको, हामीले छुट्याउन नै सकिरहेका थिएनौं ।


आमा त्यसपछि कहिले घर फर्कनुभएन । क्यान्सरसँगको महाभारत युद्धमा हामी हार्‍यौं । अहिले बुबा पार्किन्सनले ग्रस्त भए पनि सन्चै हुनुहुन्छ । जहाँ गए पनि सबैले बुबालाई कस्तो छ, बुबाको हेरचाह गर्नु है भन्छन् । ७० वर्ष पुग्नुभयो तर ८० वर्ष पुगेको जस्तो देखिनुहुन्छ । तैपनि अझै जोस, जाँगर छ । व्यस्त बस्न रुचाउनुहुन्छ ।


कसैले स्वास्थ्य स्थिति सोध्दा, मलाई ठीकै छ, शरीर अलि गोलमाल छ भन्नुहुन्छ । पार्किन्सनका अप्ठ्याराहरू सुनाउँदा पनि मान्छेहरू मरी–मरी हाँसेको देख्छु । सुरुसुरुमा यस्तो कुरामा किन हाँसेका होलान् भन्ने लाग्थ्यो । तर अहिले लाग्दैन, बानी परिसकेको छ । सायद बुबाको आफ्नो इमेज नै त्यस्तो छ, जे भने पनि हाँस्ने ।


अहिले बुबा धेरैवटा व्यवसायहरूको ब्रान्ड एम्ब्यासडर हुनुहुन्छ । कहिले कता कहिले कता प्रमोसनका लागि दौडिरहनुहुन्छ । एक छिन फुर्सद छैन । नेपालमा पार्किन्सन भन्ने रोग धेरैले सुनेका थिएनन् तर अहिले धेरैले मदनकृष्णलाई लागेको रोग भनेर चिन्छन् । यो रोगको नेपालीमा नाम छैन । यसले मान्छेको वेगलाई घटाइदिने भएकाले बुबाले यसलाई वेगनास भनेर नेपाली नाम दिनुभएको छ । लाग्छ मेरो बुबालाई भगवान्ले ‘तिमी यो पार्किन्सन (वेगनास) को नेपालका लागि ब्रान्ड एम्ब्यासडर हौ’ भनेर धर्तीमा पठाउनुभएको छ । बुबाले महाभारतको गहन कथाका सयौं पात्रमध्ये पार्किन्सन भएका कुनै न कुनै पात्र त होला नि भनेर खोजिरहनुभएको छ । खासमा, महाभारतमा पार्किन्सन लागेको पात्र अरू कोही नभएर मेरो बुबा आफैं हुनुहुन्छ।

प्रकाशित : आश्विन ४, २०७६ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×