कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुभूति : महाभारत !

यमन श्रेष्ठ

अगस्ट ५ तारिखका दिन साँझपख फेसबुकमा सफल व्यवसायी जीबा लामिछानेले ‘नारायण गाउँले लेख्नुहुन्छ’ भन्दै नागपञ्चमीबारे जानकारीमूलक लेख सेयर गर्नुभयो  ।

अनुभूति : महाभारत !

जसमा लेखिएको थियो— जसरी अहिले हामी क्यान्सर दिवस, बाघ दिवस मनाउँछौं, नागहरूको महत्त्व जनमानसमा फैलाउने उति बेलाको नाग दिवसजस्तै थियो नागपञ्चमी । त्यो बेला प्रचार गर्नेहरूको क्या आइडिया थियो । नाग दिवसको प्रचार गर्न उक्त दिन प्रचारकहरू मान्छेहरूको घरघरमा जानै नपर्ने, मान्छेहरू आफैंले नै आ–आफ्नो घरका ढोकाहरूमा नागका फोटोहरू टाँस्न थाले ।


यो स्टाटसमा बुबा मदनकृष्ण श्रेष्ठले एउटा स्यानो कमेन्ट गर्नुभयो, ‘हिन्दू धर्म विज्ञानयुक्त छ । वैज्ञानिकहरूले खोज गर्न प्रशस्त आधारहरू भेटिन्छन् यसमा । भनिन्छ, महाभारत ग्रन्थमा नभएका विषयहरू ब्रह्माण्डमा पनि छँदै छैन । कसलाई सोधूँ खै महाभारतको गहन कथाका सयौं पात्रमध्ये मलाईजस्तै पार्किन्सन भएका कुनै न कुनै पात्र र त्यसको ओखती पनि हुनुपर्छ ।

मैले महाभारतको चलचित्र हेर्नेबाहेक ग्रन्थ पढेको छैन । तर बुबाको महाभारतवाला कमेन्टले मेरो मनमा केही कुरा खेल्न थाले ।


झन्डै १३ वर्ष भएको थियो अमेरिका बस्न थालेको । हरेक घर, टोल, छरछिमेकमा कोही न कोही विदेशमा गएका थिए, मलाई पनि विदेशको मोह नहुने कुरै भएन । जिन्दगी सुख–दुःखको अनुभव हो भन्ने त थाहा थियो तर आफ्नो उमेरअनुसारको प्याकेज–प्याकेजमा सुख–दुःख आउने रहेछ ।


सुरुमा त अमेरिकामा काम खोज्न नै धौ–धौ । बल्लबल्ल काम मिल्यो । एक महिना काम गरेको थिए, तर दुई हप्ताको मात्र पैसा दिए मलाई । सानो महाभारत त मैले त्यहीं देखें । पछि काम नै छोडिदिएँ ।


बेलाबेला नेपाल नै फर्कौंजस्तो पनि भएको थियो । टुरिस्ट भिसाको अवधि पनि सकिँदै थियो । तर नेपालमा अर्कै महाभारत चलिरहेको थियो, आन्दोलन, काटमारको महाभारत । जवान थिएँ, पढाइ सकिएको थिएन । आफ्नो भविष्यको चिन्ताले पनि सताइरहेको थियो । एउटा महाभारत छोडेर फेरि अर्को महाभारततिर जाने कि नजाने भन्ने कुराले सतायो । नेपाल फर्किने कुरालाई थाँती राखेर उतै बसी पढाइ सकाउने विचार गरें ।
ग्रिन कार्डको लागि अप्लाई गरें । ग्रिन कार्ड आउन ५ वर्ष जति कुर्नुपर्छ रे ।
घरबाट फोन आउँथ्यो, ‘बाबु अब के गर्ने ?’
म भन्थें, ‘कुर्ने ।’
घरबाट फोन आई नै रहन्थ्यो । भन्थे, ‘बाबु, अब के गर्ने ?’
म दोहोर्‍याई दोहोर्‍याई भन्थें, ‘कुर्ने ।’
समयक्रममा यो ‘कुर्ने’ शब्द नै पछि गएर एउटा हाँसो लाग्ने शब्द भैसकेको थियो । कति कुर्ने ? कुरी मात्र रहने ?
बुबाआमा पनि ५०/५१ वर्षको हुनुहुन्थ्यो । आमा जागिरे, बुबा कलाकारितामा व्यस्त । फेरि मैले घरको धेरै चिन्ता पनि गर्न नपर्ने । बुबा आमालाई अलिकति मात्र सन्चो भएन भने हरिवंश अंकलजस्तो बुबाको साथी हुनुहुन्थ्यो । मैले त घरमा पैसा पनि पठाउनु नपर्ने । उल्टो पैसा चाहे भन् है बाबु भनेर सोधिरहने बा–आमा ।


नेपालमा कलेज पढ्न थालेपछि नै मैले घरबाट पैसा माग्न छोडिसकेको थिएँ ।


मैले पैसा माग्न छोडेपछि बुबाले मलाई हप्ता–दुई हप्तामा ४/५ सय रुपैयाँ दिइरहनुहुन्थ्यो । मैले पर्दैन भन्दाभन्दै पनि ‘तैंले फेरि पछि गएर म मेरो बुबाआमाको पैसा नै लिन्नथिएँ भन्दै हिँड्लास्’ भन्दै खल्तीमा जबर्जस्ती पैसा राखिदिनुहुन्थ्यो । एक्स्ट्रा बोनस अफर दिने अहिलेको एनटीसी, एनसेलको प्याकेजजस्तो ।


धेरै वर्ष कुरेपछि पनि ग्रिन कार्ड नमिलेपछि हामी बूढाबूढीबीच नेपाल फर्कने घर सल्लाह भयो । २००५ मे महिनासम्म पनि कागज आएन भने हामी नेपाल फर्कने भनेर बसिरहेका थियौं ।


आमाको मन न हो । अन्योलका यिनै दिनहरूमा आमाले ज्योतिषलाई मेरो चिना देखाउनुभएछ । ज्योतिषले भगवान् शिवजीले नै हो सबै चीज अड्काइरहेको, शिवजीको आराधना गर्नु भन्ने सल्लाह दिएछन् ।


ज्योतिषको सल्लाहपछि आमा बुबालाई लिएर एक दिन पशुपति जानुभएछ । बत्ती बाल्न अनि छोराको खुसीका लागि शिवलाई अनुरोध गर्न । पशुपतिको मूलगेटमा एक जना व्यक्ति कुनै साथीलाई बोलाएको जस्तो गरेर शिव, ए शिव, शिव भन्दै आफ्नै सुरमा कराइरहेको रहेछ । बुबा र आमा त्यो व्यक्तिलाई हेरेर दंग परिरहनुभएको रहेछ ।


त्यही बेला बुबाको शिव नाम गरेको पुरानो साथी भेट भएछ । बुबाले सोध्नुभएछ, ओहो कताबाट यता नि ? शिव नामकै साथी भेट्दा पनि भगवान् शिव नै प्रकट भएको जस्तो लागेर छोराको ग्रिन कार्डका लागि भगवान्लाई अनुरोध गर्न आको भनेर बुबाले ठट्यौली पारामा भन्नुभएछ । ती साथीले पनि मिल्छ, मिल्छ पिर नमान्नु भन्नभएछ । उक्त बोली बुबाआमालाई स्वयम् माता पार्वतीका पति नै आएर छातीमा भएको गह्रुंगो ढुंगो निकालिदिएजस्तो पर्न गएछ ।


संयोग पनि कस्तो । नभन्दै त्यही दिन लेटर बक्समा अमेरिकी सरकारको एउटा चिठ्ठी आयो । खोलेर हेर्दा त त्यसमा धेरै वर्ष कुर्दा–कुर्दा केका लागि कुरेकै बिर्सिसकेको त्यही ग्रिनकार्ड भन्ने चीज हात पर्‍यो । खुसीको सीमा नै रहेन ।


दिनहरू दिनजस्तै गरी बित्दै गए । रातहरू रातजस्तै गरेर बित्दै गए । आफ्नो थाँती रहेको पढाइ पनि पढ्दै गएँ ।


नेपाल फर्कने मन त सधैं भैरहन्थ्यो तर अरूले झैं म पनि छोरीको भविष्य अमेरिकामै राम्रो हुन्छ भनेर सोचिरहन्थें । फेरि अर्को मनले भन्थ्यो— अर्को जुनी भन्ने भए पो अर्को जुनीचाहिँ परिवारसँग बस्ने यो जुनीचाहिँ विदेशमै बिताउँछु भन्नु । अर्को जुनीको ग्यारेन्टी नै छैन । नेपालमै आफ्नो आमाबुबासँग बस्न पाए हुन्थ्यो भन्ने कुराले मनमा पिरलिरहन्थ्यो ।


आफूले आफ्नो बुबाआमालाई फोन गरेर सधैं ‘मिस यू’ भनिरहँदा कतै मेरो छोरीले पनि ऊ ठूलो भैसकेपछि मभन्दा टाढा गएर मलाई पनि ‘ड्याडी मिस यू’ मात्र भनिरहने हो कि भन्ने पीर पनि थियो मनमा । परिवारबाट टाढा जाने अनि मिस यू भन्ने त अचेलको संस्कृति नै भैसकेको छ । अझ कति त मिस यू भन्नका लागि मात्र भए पनि टाढा जाने कल्चर नआउला भन्न सकिन्न ।


सधैं खुसीको प्याकेज कहाँ हुन्छ र जिन्दगीमा । एक दिन आमालाई क्यान्सर भएको खबर आयो ।
आमालाई क्यान्सर भएको कुरा थाहा पाएपछि विश्वको कुनै पनि देश, सुख, ग्याजेट्स, विलासितालाई मैले धेरै सानो देखें । परिवारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि सिकाउनु थियो छोरीलाई । हामीले नेपाल फर्कने निर्णय गर्‍यौं ।


बिरामी आमासँग झन्डै ६ वर्ष नेपालमा सँगै बितायौं । बुबा तनाव भए पनि नदेखाउने । घर–अस्पताल, अस्पताल–घर गर्दागर्दै परिवारको दैनिकी बित्थ्यो । छोरी ग्रिष्मा सानी थिइन् । उनी पनि कति पटक त अस्पतालमै बसेर आफ्नो होमवर्क गर्थिन् ।


रेक्टमबाट सुरु भएको क्यान्सर लिभर, फोक्सो, करङ हुँदै आमाको शरीरभरि फैलँदै थियो । एक किसिमको महाभारत नै चलिरहेको थियो हाम्रो जिन्दगीमा । हामीलाई युद्ध जित्नु थियो त क्यान्सरसँगको युद्ध ।


सानी छोरीले एक दिन अस्पतालमै बसिरहँदा भनिन्, ‘ड्याडी, म पनि ठूलो भएपछि तपाईंहरूजस्तै हुने ।’
मैले बुझिनँ, के भन्न खोजेकी भनेर ।


उनैले अर्थ्याइन्, ‘तपाईंहरू बूढाबूढी भएपछि म पनि तपाईंहरूलाई छोडेर कतै जान्नँ । तपाईंहरूले तपाईंको बाआमाको साथ दिएजस्तो म पनि तपाईंहरूसँगै बस्छु र सेवा गर्छु ।’


उनले कृष्णको महाभारत त हेरेकी थिइनन् तर हाम्रो परिवारको महाभारतको एक पात्र भने थिइन् ।
बुबालाई पार्किन्सन अनि आमालाई क्यान्सर त्यो पनि एकैचोटि । एउटै समयमा । योभन्दा ठूलो महाभारत के होला र !
यता आमालाई इमर्जेन्सीमा लानुपर्दा उता बुबा कतै लड्नु त भएन भनेर चिन्ता लिइराख्नुपर्ने ।


यता आमाको फोक्सोको अपरेसन गरिरहँदा उता बुबा मकाउमा आफ्ना दर्शकहरूलाई हँसाइराख्नुपर्ने ।
यता बुबाको टाउकाको अपरेसन गरिरहँदा घरमा आमा बेडबाट हिँड्न नसक्ने ।


एक दिन आमाको खुट्टा नै चलेन । भुइँमा टेक्न नै सक्नुभएन । आमा आफ्नो हालत देखेर एकदम रोइरहनुभएको थियो । आमालाई मैले दोस्रो तलाबाट बोकेर गाडीभित्र राखिरहँदा रोई नै रहनुभएको थियो ।


मैले आमालाई सोधें, ‘म तपाईंलाई हँसाइदिऊँ ?’
आमाले ल हँसा भन्नुभयो ।


मैले भनें, ‘मलाई त अहिले आमालाई बोकेर गाडीमा राख्दा दुलही अन्माउन लागेको जस्तो लागिरहेको छ ।’
नभन्दै आमा बेस्कन हाँस्नुभयो । म, मेरो बुबा अनि रिंकु पनि आमाको हाँसोमा हाँसो मिलाउँदै आँखाबाट आँसु नै आउने गरी हाँस्यौं । बगिरहेको आँसुका कुन थोपा रोदनको र कुन थोपा ठट्टाको, हामीले छुट्याउन नै सकिरहेका थिएनौं ।


आमा त्यसपछि कहिले घर फर्कनुभएन । क्यान्सरसँगको महाभारत युद्धमा हामी हार्‍यौं । अहिले बुबा पार्किन्सनले ग्रस्त भए पनि सन्चै हुनुहुन्छ । जहाँ गए पनि सबैले बुबालाई कस्तो छ, बुबाको हेरचाह गर्नु है भन्छन् । ७० वर्ष पुग्नुभयो तर ८० वर्ष पुगेको जस्तो देखिनुहुन्छ । तैपनि अझै जोस, जाँगर छ । व्यस्त बस्न रुचाउनुहुन्छ ।


कसैले स्वास्थ्य स्थिति सोध्दा, मलाई ठीकै छ, शरीर अलि गोलमाल छ भन्नुहुन्छ । पार्किन्सनका अप्ठ्याराहरू सुनाउँदा पनि मान्छेहरू मरी–मरी हाँसेको देख्छु । सुरुसुरुमा यस्तो कुरामा किन हाँसेका होलान् भन्ने लाग्थ्यो । तर अहिले लाग्दैन, बानी परिसकेको छ । सायद बुबाको आफ्नो इमेज नै त्यस्तो छ, जे भने पनि हाँस्ने ।


अहिले बुबा धेरैवटा व्यवसायहरूको ब्रान्ड एम्ब्यासडर हुनुहुन्छ । कहिले कता कहिले कता प्रमोसनका लागि दौडिरहनुहुन्छ । एक छिन फुर्सद छैन । नेपालमा पार्किन्सन भन्ने रोग धेरैले सुनेका थिएनन् तर अहिले धेरैले मदनकृष्णलाई लागेको रोग भनेर चिन्छन् । यो रोगको नेपालीमा नाम छैन । यसले मान्छेको वेगलाई घटाइदिने भएकाले बुबाले यसलाई वेगनास भनेर नेपाली नाम दिनुभएको छ । लाग्छ मेरो बुबालाई भगवान्ले ‘तिमी यो पार्किन्सन (वेगनास) को नेपालका लागि ब्रान्ड एम्ब्यासडर हौ’ भनेर धर्तीमा पठाउनुभएको छ । बुबाले महाभारतको गहन कथाका सयौं पात्रमध्ये पार्किन्सन भएका कुनै न कुनै पात्र त होला नि भनेर खोजिरहनुभएको छ । खासमा, महाभारतमा पार्किन्सन लागेको पात्र अरू कोही नभएर मेरो बुबा आफैं हुनुहुन्छ ।

प्रकाशित : आश्विन ४, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?