कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथावाचक प्रशिक्षक

जर्मन प्रशिक्षक रुदी गुटनडफलाई फुटबल निकै प्यारो थियो र यसै निहुँमा पूरा विश्व घुमे । नेपालसँगै उनले १८ देशको राष्ट्रिय टिम हेरे । उनले हेरेका क्लब त कत्ति कत्ति ।
हिमेश

फुटबलमा यस्तो पनि भन्ने गरिन्छ, प्रशिक्षक कति काबिल छ भनेर बुझ्ने एउटा उपाय उसले सुनाउने कथा नै हुन्  ।यस्तै गजब कथा सुनाउनेमा पर्थे, जर्मन प्रशिक्षक रुदी गुटनडफ । भर्खर उनको निधन भयो, फेरि एकपल्ट धेरैले उनले सुनाएका यस्तै कथा सम्झे । पछिल्लो समय उनी आरामले रिटायर्ड जीवन बिताइरहेका थिए र यस्तै–यस्तै अचम्मका कथा सुनाइरहेका थिए । उनीसँग कहिल्यै नसकिने यस्तै कथाको भण्डार थियो ।

कथावाचक प्रशिक्षक

नेपाली फुटबल प्रशंसकले उनलाई दोहोर्‍याएर सम्झनुको कारण एउटै हो, उनी कुनै समय हाम्रै राष्ट्रिय टिमका प्रशिक्षक थिए । त्यसो त उनले कहिले पनि विश्व फुटबलमा धेरै माथिल्लो स्तरमा प्रशिक्षण गरेनन् । उनले मौका नपाएका पनि होइनन । तर त्यतातिर लागेनन् । ‘साँच्चै तपाईंमा ठूला–ठूला क्लब सम्हाल्ने सपना थिएन ?’ अथवा ‘तपाईंसँग विश्वकप खेल्ने बलिया देशको जिम्मेवारी लिने लोभ थिएन ?’ धेरैले यस्तै आशयका प्रश्न गर्थे, उनलाई ।

रुदीका श्रीमतीले पनि यो प्रश्न उनलाई बारम्बार सोध्ने गर्थिन् । उत्तर हुने गर्थ्यो, ‘म त्यतातिर बरालिएको भए, मसँग यस्ता अचम्मका अनुभव बटुल्ने अवसर नै कसरी हुन्थ्यो र ?’ उनलाई फुटबल निकै प्यारो थियो र यसै निहुँमा पूरा विश्व घुमे । नेपालसँगै उनले १८ देशको राष्ट्रिय टिम हेरे । उनले हेरेका क्लब त कत्ति–कत्ति । यस्तैमा एउटा टिम थियो, चिली । सन् १९७२ मा उनले चिलीको फुटबल संघबाट त्यहाँको राष्ट्रिय टिम हेर्ने प्रस्ताव पाए ।
उनले त्यसलाई स्विकार्न दुईपल्ट सोचेनन् । चिली गएयता उनको त्यहाँका राष्ट्रपति साल्भाडोर एलेन्डेसँग गज्जब दोस्ती भयो । यी दुई प्रायः सँगै बसेर ह्विस्कीको चुस्की लिने गर्थे । चिली बसाइमै उनको त्यस्तो युवतीसँग प्रेम भयो, जो उनीभन्दा २० वर्ष कान्छी थिइन् । हल्ला के थियो भने सायद ती महिला सीआईएकी एजेन्ट थिइन् । कुनै एक दिन रुदी आफ्नी प्रेमिकासँग आराम गरिरहेका थिए, एक जना मान्छे आयो र सीधै ती महिलालाई गोली हानेर ठाउँको ठाउँ मारिदियो ।


त्यति बेला रुदी आफैं कसरी बाँचे, त्यो उनलाई पनि थाहा छैन । उनी चिलीमै छँदा उनकै आँखा अगाडि सैनिक विद्रोह भयो, एलेन्डेका धेरै समर्थक मारिए । जर्मन राजदूतावासले उनलाई पनि भाग्न भन्यो तर उनले त्यसो गरेनन् । न त एलेन्डेले विद्रोहीको देश छाड्ने प्रस्ताव माने । बरु उनले आत्महत्या गरे । रुदीले भने बल्लतल्ल चिली छाडे । उनीसँग अरू उपाय पनि थिएन । त्यसपछि चिलीका खेलाडीको के भयो, उनलाई थाहा छैन, सायद केही खेलाडी मारिए पनि ।


जति बेला चिलीको राष्ट्रिय टिम उनको नेतृत्वमा राजधानी सान्टियागोको रंगशालामा खेल्न उत्रेथ्यो, दर्शकको संख्या एक लाखको हाराहारीमा पुग्यो । पछि त्यहीं रंगशाला विद्रोहका क्रममा मान्छे मार्ने ठाउँ बन्यो । त्यो फुटबल मैदानमा हजारौं मान्छेलाई लहरै उभ्याउने गरिन्थ्यो र पालैपालो मारिन्थ्यो । सन् १९९९ मा उनले अफ्रिदी देश रुवान्डाको जिम्मेवारी लिए र उनी भन्छ्न्, ‘यो मेरो जीवनकै सबैभन्दा सम्झनलायक अवसर रह्यो ।’


त्यसको पाँच वर्षअगाडि मात्र त्यहाँ निकै ठूलो नरसंहार भएको थियो । त्यसलाई मानव इतिहासकै सबैभन्दा बिर्सनलायक घटनामध्ये एक मानिन्छ । तुत्सी र हुटु जातिबीच चलेको त्यो युद्धमा कति मरे कति । मर्नेले पनि सजिलै मर्न फाएका थिएनन्, त्रूरताको मृत्यु भेटेका थिए । एउटा जाति अर्को जातिको सफाया गर्ने अभियानमा थियो । रुवान्डा टिम हेर्ने जिम्मा लिनुपछाडि रुदीको तर्क थियो, फुटबलले घृणालाई मायामा परिवर्तन गर्न सक्छ । फुटबलले शान्ति फर्काउन सक्छ ।


उनी फुटबलको माध्यमबाट त्यो देशमा अमन फर्काउन चाहन्थे । जति बेला उनी पहिलोपल्ट रुवान्डा पुगे, उनलाई अनुभव गर्न गाह्रो भएन, यी दुई जातिबीच एकआपसमा कति धेरै घृणा, रिस र आक्रोश छ भनेर । उनी भन्थे, ‘मैले आफ्नो पूरा जीवनमै एक मानिसले अर्को मानिसलाई घृणा गरेको कहिले पनि देखिना ।’ त्यसैले उनले त्यस्तो राष्ट्रिय टिम बनाए, जसमा आधा तुत्सी जातिका खेलाडी थिए, आधा हुटु जातिका खेलाडी ।
जति बेला पहिलो दिनको अभ्यासको साइत जुर्‍यो, रुदीले खेलाडीलाई दिएको पहिलो पाठ थियो, फुटबलमा सबैभन्दा ठूलो आफ्नो प्रतिद्वन्द्वीलाई माफी दिनु हो । उनी भन्थे, ‘मान्छेको जीवन ९० मिनेटको फुटबल खेलजस्तै हो, त्यो बीचमा जित्न खुबै संघर्ष गरिन्छ तर खेल सकेपछि त्यो शत्रुता (प्रतिस्पर्धा) को भाव पनि सकाउनुपर्छ ।’ जति बेला रुवान्डाको टिमले कुनै अभ्यास खेलमा पहिलोपल्ट गोल गरेको थियो, त्यति बेला सबै खेलाडीले एकआपसमा आगालो मारेछन् ।


त्यत्रो नरसंहारपछि तुत्सी जातिका कसैले हुटु जातिका कसैलाई यसरी माया र सद्भाव देखाएको थियो । अथवा कोही हुटुले कोही तुत्सीमाथि । त्यो दृश्य देखेर रुदीले आफूलाई पनि रोक्न सकेनन् । भावनामा डुबे नै । उनको नेतृत्वमा रुवान्डाको टिमले फुटबल मैदानमा खासै ठूलो सफलता हात पार्न सकेन तर रुदी खुबै सन्तुष्ट थिए, किनभने फुटबलकै कारण पनि त्यहाँ फेरि सद्भावना पलाएको थियो । यो नै जित–हारभन्दा धेरै ठूलो थियो । र, अब नेपालको प्रसंग । सन् १९८१ मा नेपाल आए र यहाँको फुटबलमा कायापलट गरे । उनले नेपाली फुटबललाई आधुनिक स्वरूपमा ढाले । त्यसैले त उनलाई नेपाली आधुनिक फुटबलको पिता पनि भन्ने गरिन्छ । नेपाली फुटबलसँग जोडिएको दुई घटना पनि रुदी खुबै रोचक मानेर सुनाउने गर्थे । सन् १९८२ मा नेपालमा भएको थियो, एसियन युथ यू–१९ । त्यति बेला नेपालको समूहमा थिए— इरान, इराक, साउदी अरेबिया, कुवेत, यमन र भारत । त्यही बेला हो, नेपालले भारतमाथि ४–० को सनसनीपूर्ण जित निकालेको ।


त्यस खेलको दिन काठमाडौंमा घनघोर पानी परेको थियो र दशरथ रंगशालाको मैदानमा पानी नै पानी थियो । सीधा सीधा भन्दा खेल हुने स्थिति नै थिएन । उनले जसोतसो रेफ्रीसँग कुरा मनाए । खेल सकेर सबै होटल पुगेपछि रुदीले ती रेफ्रीलाई उपहारमा ह्विस्कीको एउटा ठूलै बोतल दिए । खासमा त्यही ह्विस्की दिने लोभ देखाएर रुदीले त्यो रेफ्रीलाई खेल खेलाउन राजी गरेका थिए । उनले यो सबै कुरा धेरै पछि मात्र सुनाएका हुन् ।
त्यही प्रतियोगितामा नेपालको अन्तिम खेल कुवेतविरुद्ध थियो । त्यसमा कुवेतलाई ८–० को जित आवश्यक थियो । यति धेरै गोल अन्तरले जिते मात्र कुवेत नकआउट चरणमा पुग्ने थियो । यस्तोमा कुवेतले रुदीलाई प्रस्ताव राखेको रहेछ, ‘म्याच फिक्सिङ’ को । काठमाडौं आएका कुवेती शेखले नेपाली टिमलाई आठ गोलको अन्तरले पराजित भए, त्यसबापत पाँच लाख डलर दिने प्रस्ताव राखेका थिए । उनले त्यसलाई मानेनन् नै । उल्टै नेपालले कुवेतविरुद्ध त्यस खेलमा सक्दो ज्यानै फालेर खेल्ने निर्णय भयो ।


खेल सकिन केही मिनेट मात्र बाँकी छँदा कुवेत ४–० ले मात्र अगाडि रहन सक्यो । आठ गोल अब सम्भव भएन । यसको अर्थ थियो, कुवेत अगाडिको चरणमा पुग्न नसक्ने भयो । यस्तै तनावबीच दुवै टिमका खेलाडी एकआपसमा झगडा गर्न थाले र दशरथ रंगशालाको मैदान युद्धभूमिमा परिणत भयो । अन्तर्राष्ट्रिय फुटबलमा यस्तो झगडा दशरथ रंगशालामा पहिलोपल्ट भएको थियो । यस्ता कथाहरू सँगालेका रुदी अब रहेनन् । तर पक्कै जीवन्त रहनेछन्, उनले सुनाएका यस्तै कथाहरूमा ।
twitter : @himeshratna

प्रकाशित : आश्विन ४, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?