कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ठूलालाई चुनौती

युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो साता नै अनपेक्षित नतिजाहरू निस्किए । यसले प्रतियोगितालाई रोमाञ्चक बनाएको छ ।
राजु घिसिङ

पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार प्रतिबन्धमा छन्  । किलियन एम्बाप्पे र एडिन्सन काभानी घाइते  । यी तीन स्टारबिना पनि पीएसजीले १३ पल्टको युरोपेली च्याम्पियन रियल म्याड्रिडलाई ३–० ले हरायो । रियलले १६७ खेलयता पहिलोपल्ट गोलपोस्टमा बल प्रहार गर्न पनि सकेन ।

ठूलालाई चुनौती

–डिफेन्डिङ च्याम्पियन लिभरपुललाई नेपोलीले २–० ले पराजित गर्‍यो । लिभरपुल गत वर्षको समूह चरणको खेलमा पनि नेपल्समा हारेको थियो । यर्गेन क्लोपको टिम इटाली यात्राका पछिल्ला पाँचै खेलमा हारेको छ । उपाधि जितेको अर्को सिजन सुरुमै हार्ने लिभरपुल सन् १९९४ यताको पहिलो टिम हो ।


–पछिल्लो सिजन लिभरपुलविरुद्ध फाइनलमा हारेको टोटेनहम २–० को अग्रता लिएर पनि ओलम्पियकोससँग एथेन्समा २–२ मा राकियो । स्पर्स च्याम्पियन्स लिगमा दुई गोलको अग्रता लिएर नौ वर्षयता पहिलोपल्ट जितबाट वञ्चित भयो । पछिल्लोपल्ट फाइनल खेलेका दुवै टिम अर्को सिजनको पहिलो खेलमै जितविहीन भएको आठ वर्षयता पहिलो नै हो ।–फ्रांक लाम्पार्ड चेल्सीको व्यवस्थापकको रूपमा च्याम्पियन्स लिगको पहिलो खेलमै भ्यालेन्सियाविरुद्ध १–० ले लन्डनमै पराजित भए । अघिल्ला ११ मध्ये १० प्रशिक्षकले पहिलो खेल नै जितेका थिए र जियानलुका भियालीले सन् १९९९ मा एसी मिलानसँग बराबरी गरेका थिए ।


–रेडबुल साल्जबर्गका एर्लिङ हालन्ड (१९ वर्ष ५८ दिन) च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने कम उमेरका तेस्रो खेलाडी बने । उनीसँगै डायनमो जाग्रेबका मिसलाव ओरसिचले च्याम्पियन्स लिग डेब्यूमै ह्याट्रिक गरे । एउटै सिजन डेब्यूमै दुई खेलाडीको ह्याट्रिक पहिलो नै हो । यिनै सनसनीपूर्ण नतिजासँगै युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन सुरु भएको छ । पहिलो साता नै थुप्रै अनपेक्षित नतिजा निस्किए । नसोचिएका केही खेलाडीले उच्चस्तरको प्रदर्शन गरे । केही टिमको प्रदर्शन पनि शानदार रह्यो ।


बायर लेभरकुजनलाई आफ्नै मैदानमा रसियन क्लब लोकोमोटिभ मस्कोले हरायो । इटालियन इन्टरमिलनले स्लाभिया प्रागसँग अंक जोड्न पनि इन्ज्युरी समयको गोल कुर्नुपर्‍यो । पछिल्लो सजन इटालियन सिरी ‘ए’ मा तेस्रो भएर युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्ने अवसर पाएको एट्लान्टालाई क्रोएसियाको डायनमो जाग्रेबले ४–० ले हराएर स्वागत गर्‍यो । क्रोएसियन च्याम्पियनको च्याम्पियन्स लिगका २५ खेलमा यो मात्र दोस्रो जित हो । ठूला टिमहरूमध्ये म्यानचेस्टर सिटी र बायर्न म्युनिखले मात्रै सहज जित हात पारे । सिटीले युक्रेनमा साख्तर डोनेस्क र बायर्नले म्युनिखमा सर्वियाली क्लब रेड स्टार बेल्ग्रेडलाई समान ३–० ले हराए । गएको सिजन सनसनीपूर्ण रूपमा सेमिफाइनल पुगेको आयक्स र लाइपजिगले पनि सुखद सुरुआत गरे ।


अफ्रिकी मुलुक गिनीका अन्सु फाटीले (१६ वर्ष ३२१ दिन) च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए । बार्साले जर्मन यात्रामा बोरुसिया डर्टमुन्डविरुद्ध तीन अंक भने जोड्न सकेन । सुपरस्टार लियोनल मेसी चोटमुक्त भएर आधा घण्टाका लागि भए पनि मैदानमा फर्किएर सबैको ध्यान आफूतर्फ मोडि दिए । तर, घरेलु टिमका मार्को रिउसको पेनाल्टी गोलकिपर मार्क–आन्द्रे टेर स्टेनले नरोकेको भए खेलको कथा अर्कै हुन सक्थ्यो । डर्टमुन्ड यात्राले क्याटलन क्लबमा मेसी रोकिँदाको विकल्प खोज्नुपर्ने आवश्यकता महसुस गरायो । जर्मन क्लबले जसरी आक्रामक रूपमा प्रस्तुत भए, त्यसअनुसार बार्साको डिफेन्स पनि भरपर्दो देखिएन । एट्लेटिको म्याड्रिडले स्पेनमै २–० ले पछाडि परेको स्थितिमा सुधार गरेर इटालियन च्याम्पियन युभेन्ट्सलाई २–२ मा रोक्नु उसका लागि उपलब्धि नै हो । तर, इटालियन क्लबले दुई गोलको अग्रता जोगाउन नसक्नु भने टुरिन क्लबका लागि राम्रो होइन ।


अस्ट्रियन क्लब साल्जबर्गले बेल्जियमको गेन्कलाई ६–२ ले पराजित गर्दा हिरो बने १९ वर्षे एर्लिङ बर्ट हालन्ड । नर्वेका यी फरवार्डले यो सिजनको सनसनीपूर्ण प्रदर्शनलाई कायमै राख्ने क्रममा साल्जबर्गमा पनि ह्याट्रिक गरे । गत वर्ष साल्जबर्ग पुगेका उनले यो सिजन नौ खेलमा चार ह्याट्रिकससिहत १७ गोल गरिसकेका छन् । उनीप्र्रति ठूला क्लबहरूले आँखा लगाउन थालिसकेका छन् । २५ वर्षपछि च्याम्पियन्स लिगको समूह चरणमा खेल्ने मौका पाएको साल्जबर्ग भने उनीसहितको टिमबाटै गत सिजन आयक्सले गरेजस्तै प्रदर्शन चाहन्छ ।


डच क्लब आयक्सको युवा टिम गएको सिजन सनसनी मच्चाउँदै रियल म्याड्रिड र युभेन्ट्सलाई हराएर सेमिफाइनल पुगेको थियो । उसको त्यो यात्रामा उत्कृष्ट प्रदर्शन गरेका फ्रेंकी डे जोङ बार्सिलोना पुगे, म्याथिस डे लिग्ट युभेन्ट्स । डच लिग र कपको उपाधि विजेता उनीहरूसहित ११ खेलाडीले छाडे पनि आयक्स यसपालिको पहिलो खेलमा फ्रान्सेली क्लब लिलेलाई ३–० ले हरायो । हुन त उसले युरोपा लिग २०१७ को फाइनल खेलेका थुप्रै खेलाडीले डच लिग छाडे पनि आयक्स कमजोर भएको थिएन ।


इटालीको १११ वर्षअघि स्थापित क्लब एट्लान्टाविरुद्ध डायनमो जाग्रेबको जितमा तीन गोल गरेका थिए, ओरसिचले । यी २६ वर्षीय खेलाडी दक्षिण कोरिया र चीनको लिगमा चार वर्ष बिताएर स्वदेश फर्किएका हुन् । यसले एसियाली क्लब फुटबललाई सम्झाइदिएको छ । रोस बार्कली पेनाल्टीमा चुकेपछि चेल्सी स्टामफोर्डब्रिजमै अंक गुमाउन बाध्य भएको थियो, जुन उसका लागि पछि नकआउटको समीकरणमा महँगो पर्न सक्छ ।

भ्यालेन्सियाविरुद्धको हारले उसको युरोपमा अपराजित यात्रा (युरोपा लिग उपाधि जित्ने क्रममा १२ जित ३ बराबरी) मा पनि पूर्णविराम लाग्यो ।
नेयमार, एम्बाप्पे र कभानीबिनाको थोमस टसेलको टिम पीएसजीविरुद्ध रियलले बेहोरेको ठूलो हारसँगै म्याड्रिडमा जिनेदिन जिदानको पद धरापमा पर्न सक्नु अनुमान गर्न थालिएको छ । हुन पनि हो, युरोपको सर्वाधिक सफल क्लबलाई पेरिसमा निरी पार्न एन्जेल डी मारिया, माउरो इकार्डी र पाब्लो साराबिया नै पर्याप्त भए । यससँगै पीएसजीले नेयमार, एम्बाप्पे र कभानी फर्केपछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेल्ने सपना बुन्न थालेको छ ।
गत वर्ष छैटौंपल्ट युरोपेली च्याम्पियन हुँदा मोहमद सलाह, साडियो माने र रोबर्टो फिरमिनो अग्रपंक्ति विश्व फुटबलकै उत्कृष्ट देखिएको थियो । तर, उनीहरूले मंगलबार नेपल्समा थुप्रै अवसर खेर फाले । युरोपको वर्ष खेलाडीको अवार्ड जितेका डफेन्डर भर्जिल भान डाइकले पनि उस्तै लयमा देखिएनन् । उनको उपहारजस्तै थियो इन्ज्युरी समयमा फर्नान्डो लोरेन्टले गरेको गोल । त्यसअघि ड्राइज मार्टेन्सले पेनाल्टीमा ८२ औं मिनेटमा गोल गरेका थिए । लिभरपुलको आफ्नो कीर्तिमान १४ जितको शृंखलालाई पनि नेपल्सको नतिजाले पूर्णविराम लगाइदियो । अब क्लोपको टिमलाई त्यसबाट पाठ सिक्नेबाहेक अरू के नै विकल्प छ र !


क्रोएसियाको डायनमो जाग्रेब, चेक रिपब्लिकको स्लाभिया प्राग, सर्वियाको रेड स्टार बेल्ग्रेड, नेदरल्यान्ड््सको आयाक्स, बेल्जियन ब्रुग, ग्रिसको ओलम्पियकोस गरी ६ क्लब प्ले–अफबाट च्याम्पियन्स लिगको समूहमा पुगेका हुन् । युरोपका ठूला मानिएका लिग स्पेन, इंग्ल्यान्ड, जर्मनी र इटालीका ४–४ क्लबले सीधै समूहमा प्रवेश पाए । फ्रान्सका ३, रुसका २ तथा पोर्चुगल, युक्रेन, बेल्जियम, टर्की र अस्ट्रियाका १–१ टिमले पनि प्ले–अफबाट गुज्रिनुपरेन । सबै खेलमा सफलता हात पार्दै उपाधि जित्नेले यो सिजन ८ करोड २२ लाख युरोसम्म पुरस्कार पाउनेछ । ‘मार्केट पुल’ र दस वर्षयताको मूल्यांकनको आधारमा पाउने रकम बेग्लै छ । त्यसैले च्याम्पियन्स लिगलाई धनाढ्यहरूको प्रतियोगिता पनि भनिन्छ । यसपालि समूह चरणमा १६ देशका ३२ टिम छन् । नौ महिनासम्म चल्ने प्रतियोगितालाई पहिलो साताकै नतिजाले रोमाञ्चक बनाइदिएको छ ।

प्रकाशित : आश्विन ४, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?