पटनामा बीपी

नयाँदिल्लीमा बीपीका बारेमा चर्चा भइरहँदा मेरो मन भने सीधै बिहारको राजधानी पटनातर्फ हुर्रियो  ।गत जेठमा भारतीय लोकसभा चुनावको रिपोर्टिङका लागि त्यहाँ पुग्दा उक्त सहरको बीपीप्रतिको स्नेह र सम्मान देखेर चकित भएको थिएँ ।
सुरेशराज न्यौपाने

अघिल्लो साता (२४ भदौ) बीपी कोइरालाको जन्मजयन्ती । नेपालमा मात्र नभएर विदेशमा पनि त्यस अवसरमा विभिन्न कार्यक्रमहरू गरेर बीपीलाई सम्झना गरियो । भारतको राजधानी नयाँदिल्लीमा पनि एकाध कार्यक्रम भए । जहाँ बीपीको राजनीतिक र साहित्यिक व्यक्तित्वमाथि चर्चा परिचर्चा भए । बीपी र उनको भारतसँगको सम्बन्धहरूमाथि प्रकाश पारिए ।

पटनामा बीपी

भारतको स्वतन्त्रता आन्दोलनमा उनले खेलेको भूमिकादेखि भारतीय राजनेताहरूसँगको उनको निकटतामा पनि धेरैले शब्दहरू खर्चे । तर, नयाँदिल्लीमा बीपीका बारेमा चर्चा भइरहँदा मेरो मन भने सीधै बिहारको राजधानी पटनातर्फ हुर्रियो । गत जेठमा भारतीय लोकसभा चुनावको रिपोर्टिङका लागि त्यहाँ पुग्दा उक्त सहरको बीपीप्रतिको स्नेह र सम्मान देखेर चकित भएको थिएँ । पटना पुगेपछि मात्र थाहा भयो, यो मैथिलीभाषी सहरले भने बीपीलाई कुन हदसम्म माया गर्छ भन्ने कुरा । र, बीपीको पटनासँगको राजनीतिक र आत्मीय सम्बन्धसँग पनि जानकार हुने अवसर मिल्यो ।


विराटनगर र पटनाबीचको धेरै पहिलेदेखि नै आर्थिक, व्यापारिक र सामाजिक सम्बन्ध रहँदै आएको छ । त्यसबाहेक चालीसको दशकसम्म पनि नेपालीहरूका लागि उच्च शिक्षा अध्ययनका लागि प्रमुख गन्तव्यका रूपमा चिनिन्थ्यो । त्योभन्दा पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा पटनाले विशेष भूमिका खेलेको पाइन्छ । बीपीले पटनालाई प्रवासमा रहँदा राजनीतिको मूल कार्यथलो नबनाए पनि त्यहाँका राजनीतिज्ञहरूसँगको सम्बन्धले उनलाई पटनातर्फ डोर्‍याइरहन्थ्यो । त्यसो त बिहारसँग भने कोइराला परिवारको भावनात्मक सम्बन्ध नै छ भन्दा हुन्छ । राणा शासकहरूले देश निकाला गर्दा बिहारले नै आश्रय दिएको थियो । चन्द्रशमशेरले पिता कृष्ण कोइरालाप्रति प्रतिशोध साध्न देश निकालाको निर्णय गरेपछि पूरै कोइराला परिवार भारत निर्वासनमा गयो । सुरुमा उनीहरू बिहारको पूर्णियामा बसे । पछि उनीहरू केही समय पटनामा पनि बसे । जानकारहरूका अनुसार सात सालको क्रान्तिताका बीपीको पूरै परिवार पटनामै थियो । बीपीपत्नी सुशीलाले श्रीहर्ष, प्रकाश, निरञ्जनहरूलाई पटनामै हुर्काएकी थिइन् । तीनै जना पटनाको सेन्ट जेभियर्स स्कुलमा पढ्थे । प्रजातन्त्र बहालीपछि उनीहरू सबै नेपाल फर्किए ।


पछि राजा महेन्द्रले बीपी नेतृत्वको निर्वाचित सरकारलाई बर्खास्त गरेर पञ्चायत शासन लागू गरेपछि पटना कांग्रेसका कार्यकर्ताहरूका लागि प्रमुख आश्रयस्थल बनेको थियो । नेपाली कांग्रेसको प्रवासको पहिलो कार्यकर्ता भेला पनि पटनामै भएको थियो । २०१७ साल माघ १२–१४ मा भएको उक्त भेलाले विपक्षी पार्टीहरूसँग मिलेर राजाको उक्त कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको थियो । त्यति बेला बनारसमा रहे पनि बीपी आफ्ना नेता कार्यकर्ता भेट्न पटना गइरहन्थे । त्यसले पनि बीपी र पटनाबीच सुमुधर सम्बन्ध स्थापित गरेको थियो । स्थानीय कांग्रेस नेता तथा बीपीका मित्र सर्जु मिश्राको पटनास्थित सरकारी निवासमै पार्टी कार्यालय राखिएको थियो । पञ्चायतकालमा त्यही कार्यालयमा चक्र बाँस्तोला, दुर्गा सुवेदीलगायतका थुप्रै नेता/कार्यकर्ता बस्ने गर्थे ।


तर, यतिका वर्ष बितिसक्दा पनि बीपी पटनामा अझै पनि भेटिन्छन् । झट्ट सुन्दा अचम्म लाग्छ । तर, होइन, पटनाको मध्यभागमा छ गान्धी मैदान । ६ मार्च १९७५ मा यही मैदानबाट तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध लक्षित ‘सम्पूर्ण क्रान्तिको आन्दोलन’ को घोषणा गरेका थिए । त्यही अभियान देशव्यापी बन्दै गएपछि गान्धी संकटकाल फिर्ता लिन बाध्य भइन् । र, करिब दुई वर्षपछि भएको चुनावमा गान्धी र उनको पार्टीले नमीठो हार चाख्नुपरेको थियो ।
तिनै जयप्रकाश नारायणसँग बीपीको निकै आत्मीय सम्बन्ध थियो । पटनाले बीपीलाई माया र सम्मानका गर्नुका पछाडि प्रमुख रूपमा उनी र भारतका समाजवादी आन्दोलनका नेता लोकनायक जयप्रकाश नारायण सिंहबीचको त्यही आत्मिक सम्बन्ध नै प्रमुख कारण रहेको मानिन्छ । त्यही भएर नै पटना पुगेका बेला बीपी सीधै यही घरमा पुग्ने गर्थे । र, उनको पहुँच सीधै जेपीको शयनकक्षसम्मै थियो । जेपी र बीपीको सम्बन्धबारे जानकारहरू जेपीले बीपीलाई आफ्नै भाइसरह ठान्थे । त्यही भएर नै हुनुपर्छ बीपीको जेपीको घरमा सहज पहुँच भएको ।


जेपीसँगको संगतले भारतको स्वतन्त्रता आन्दोलनमा पनि बीपी सक्रिय रूपमा सहभागी भएका थिए । राजनीतिक चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले धेरैपटक लेखिसकेका छन्, जेपीको राजनीतिक विचारधाराबाट बीपी असाध्यै प्रभावित थिए । र, जेपी पनि बीपीबाट उत्तिकै प्रभावित थिए । यसबाहेक बीपीको देवेन्द्रप्रसाद सिंह (देवेन्द्र बाबु) सँग पनि घनिष्ठ सम्बन्ध थियो । देवेन्द्र बाबुसँग बीपीको सम्बन्ध बीएचयू पढ्दादेखिको थियो । पछि तिनै देवेन्द्रबाबु भागलपुर विश्वविद्यालयको उपकुलपति पनि भए । २०३० सालको चर्चित विमान अपहरण काण्डलाई सफल पार्न देवेन्द्रबाबुले प्रमुख भूमिका नै खेलेको कुरा दुर्गा सुवेदीले आफ्नो पुस्तक विमान विद्रोहमा समेत उल्लेख गरेका छन् । यसबाट पनि उनीहरूबीच निकटता थाहा हुन्छ । भनिन्छ, कोइराला परिवारको देवेन्द्रबाबुसँग पारिवारिक सम्बन्ध पनि थियो । घनिष्ठ मित्र भएकाले पनि बीपी बेलाबखत बिहार पुगिरहन्थे । हिन्दी साहित्यका प्रसिद्ध लेख फणिश्वरनाथ रेणुका कारण पनि बीपीको बिहारसँग विशेष लगाव बनेको थियो । बीपीले रेणुलाई त आफ्नो परिवारको सदस्यकै रूपमा ठान्थे । रेणु पनि जेपीसँग निकट मानिन्थे । त्यसैगरी बिहारका पूर्वमुख्यमन्त्री कर्पुरी ठाकुर पनि बीपीका अत्यन्त निकट मित्र थिए ।


जेपीसँगको सम्बन्ध त थप विशेष थियो । वैचारिक रूपमा निकटता त थियो नै, यी दुईबीच आत्मीय सम्बन्ध पनि थियो । विशेषगरी दुवै जना लोकतान्त्रिक शासनपद्धति कट्टर हिमायती थिए । र, दुवै देशको लोकतान्त्रिक आन्दोलनमा यी दुईबीच विशेष साथ र सहयोग थियो । जेपी राजाको पञ्चायतशासनको कट्टर विरोधी थिए । जब २०३३ सालमा मेलमिलाप नीति लिएर बीपी नेपाल फर्कने निर्णयमा पुगे । भनिन्छ त्यतिबेला जेपी भने बीपी नेपाल नफर्किऊन् भन्ने चाहन्थे । उनलाई राजाले कठोर सजाय दिन सक्छन् भन्ने थियो । बीपीको स्वास्थ्य र सुरक्षालाई लिएर जेपी बढी चिन्तित थिए । तर, जब बीपी नेपाल फर्कने निर्णयमा अडिग रहे तब जेपी आफैं आफ्ना हजारौं कार्यकर्तासहित बीपीलाई एअरपोर्टसम्म छाड्न गएका थिए । त्यसको तीन वर्षपछि जेपीको निधन भयो ।


जेपी र बीपीबीचको त्यो सम्बन्धको साक्षी हो, पटनाको जेपी संग्रहालय । जेपीको निधनपछि पटनाको कदमकुवास्थित उनको घरलाई संग्रहालयमा रूपान्तरण गरियो । बीपीलाई र, त्यसको उद्घाटन बीपीले स्वयंले नै गरेका थिए । उद्घाटन कार्यक्रममा बीपीले सम्बोधनसमेत गरेका थिए । ‘जेपीले जहाँ बसेर आफ्ना कार्यकर्तालाई सम्बोधन गर्नुहुन्थ्यो त्यहीबाट बीपीले पनि सम्बोधन गर्नुभएको थियो,’ सग्रंहालयकी पूर्वप्रमुख डा. किरण नाथले भनिन् । किरणका अनुसार उद्घाटनको दिन आगन्तुक पुस्तिकामा बीपीले जेपीको सम्झनामा निकै भावपूर्ण पंक्तिहरू लेखेका थिए । उनका अनुसार ती पंक्तिहरूका बारेमा पछिसम्म पनि चर्चा हुने गरेको थियो । किरण स्वयं पनि जेपीको समाजवादी आन्दोलनबाट प्रेरित थिइन् । र विद्यार्थी हुँदादेखि नै जेपीको आन्दोलनमा सहभागी हुने गर्थिन् । पटना विश्वविद्यालयबाट इतिहासमा विद्यावारिधि गरेकी किरण पछि गएर जेपी संग्रहालयकै प्रमुख बन्न पुगिन् । उनी केही महिनाअघि मात्र सेवानिवृत्त भइन् । किरणले आफूले विद्यार्थी बेलादेखि नै बीपी र जेपीको सम्बन्धका बारेमा सुनेको बताइन् । ‘हामीहरू विद्यार्थी हुँदा पनि यहाँ आइरहन्थ्यौं, बीपी र जेपीको सम्बन्धका बारेमा निकै सुनिन्थ्यो । पछि प्रत्यक्ष देख्न पनि पाइयो । संग्रहालय उद्घाटन गर्न आउँदा बीपीको अनुहारमा देखिएको भाव र पछि उनले आगन्तुक पुस्तिकामा लेखेका शब्दले पनि उहाँहरू कति नजिक हुनुहुन्थ्यो भन्ने प्रस्ट हुन्थ्यो,’ किरणले भनिन् । हुन पनि संग्रहालयमा राखिएको तस्बिरहरूले पनि बीपी र जेपीबीचको सम्बन्ध प्रस्ट पार्छन् । एउटा तस्बिरमा त जेपीसँगै एउटै शयनकक्षमा देखिन्छन् । त्यसैगरी किरणले त्यहाँ राखिएका दुईवटा कुर्सीतर्फ हेर्न संकेत गरिन् । किरणका अनुसार त्यही कुर्सीमा बसेर जेपी र बीपीबीच विभिन्न राजनीतिक मुद्दामा लामो छलफल हुने गर्थ्यो । संयोग नै मान्नुपर्छ पछि बीपीकै भाइ गिरिजाप्रसाद कोइरालाले पनि संग्रहालयको विस्तारित भवनको उद्घाटन गरेको उनले बताइन् । पछि जेपी संग्रहालयको विस्तारित खण्ड २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । ‘कोइराला परिवारसँग जेपीको सम्बन्ध त्यसबाट पनि प्रस्ट हुन्छ,’ उनले भनिन् ।


जेपीसँगको बीपीको घनिष्ठ सम्बन्धकै कारण समाजवादी आन्दोलनमा लागेका जर्ज फर्नान्डिस, लालु यादव, नीतीशकुमार सबैले बीपीलाई उच्च सम्मान गरेको पाइन्छ । त्यही सम्मानस्वरूप लालुले आफ्नो मुख्यमन्त्री भएकै बेला पटनाको गान्धी मैदानमा बीपी सालिक बनाउन लगाएका थिए । उक्त सालिकको अनावरण लालुले गरेका थिए । र, अनवारण कार्यक्रम बीपीपत्नी सुशीला कोइराला पनि प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । पछि त्यही सालिकलाई गोलघरको पार्कमा स्थानान्तरण गरिएको हो । मुलुकबाहिर कुनै पनि नेपाली राजनीतिज्ञको सालिक भएको यो नै एक मात्र उदाहरण हो ।


तर, अहिले भने नेपाली राजनीति र अझै नेपाली कांग्रेसको पटनासँगको सम्बन्ध पातलिएको छ । बिहारका राजनीतिज्ञहरू पछिल्लो समय काठमाडौंले सीधै दिल्लीसँग हिमचिम बढाएका कारण पटनासँगको पुरानो र आत्मीय सम्बन्ध ओझेलमा परेको बताउँछन् । त्यस्तो धारणा राख्नेमध्येका हुन् बिहारका वरिष्ठ राजनीतिज्ञ शिवानन्द तिवारी । उनी नेपाल र भारत सम्बन्धमा पछिल्ला वर्षहरूमा देखिएको उतारचढाव आउनुका पछाडि काठमाडौंले पटना एवं बिहारसँगको आफ्नो ऐतिहासिक सम्बन्धलाई बिर्सेर दिल्लीको मात्र मुख ताक्नुलाई नै प्रमुख कारण ठान्छन् । ‘बीपीको आन्मवृत्तान्तबाट नै थाहा हुन्छ बिहार र पटनासँगको उहाँको सम्बन्ध । उहाँको जेपी र लोहियासँगको आत्मीयता । अहिले नेपालले सबै भुलेको छ । सबै दिल्लीतिर मात्र हेर्छन् । अनि किन नआओस् सम्बन्धमा उतारचढाव ?’ लालुका पार्टी राष्ट्रिय जनता दलका वरिष्ठ उपाध्यक्षसमेत रहेका तिवारीले भने । तिवारीका अनुसार पटना र काठमाडौंबीचको सम्बन्ध आत्मप्य हो, त्यसमा कुनै कृत्रिमता छैन र छलकपट थिएन र त्यो सम्बन्ध बीपीकै कारण बनेको थियो । नेपाली कांग्रेसको पछिल्लो पुस्ताले त्यसलाई बिर्सेको तिवारीको गुनासो छ । नेपाली राजनीति र कांग्रेस पार्टीले बिर्से पनि पटना सहरको केन्द्रमै ठडिएको बीपीको सालिक र जेपी संग्रहालयले भने नेपाली राजनीतिका शिखरपुरुषको पटनासँगको सम्बन्धलाई सधैं ताजा बनाइरहेका छन् ।

प्रकाशित : आश्विन ४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?