कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जोत्न नजान्दा

गंगा बीसी

 सानोमा यति दुब्लो थिएँ कि हाम्रो घरमा आउने जोकोहीले भन्थे, ‘यसले खनजोत गरेर खान सक्दैन  । यति दुब्लो ज्यानले कसरी हलो, हलगोरु कसरी थाम्ला ?’ त्यति बेला गाउँलाई हलो अर्थतन्त्रले धानेको थियो । हलोको भरमा वर्षभरि गाउँ चल्थे । अर्थात् खेतीको भरमा सिङ्गो गाउँ थिए ।

जोत्न नजान्दा

त्यसैले जसले सानै उमेरमा राम्ररी हलो समाउन जान्थ्यो, उसले खेतीपाती राम्रो गर्न सक्थ्यो । उसलाई भन्थे, ‘यसले जोतेर खान्छ । यसले गरेर खान्छ ।’ सानैमा राम्ररी हलोले जोत्न जान्नेहरू हिरोजस्ता कहलिन्थे । हलो र हलीको महिमा चल्थ्यो । खासगरी सानै उमेरमा हलो जोत्न जान्नेको राम्रै चर्चा चल्थ्यो ।

हलोजत्तिकै पातलो ज्यानले हलो थाम्न नसक्ने मेरो बाबाको ठहर भएर होला, सानोमा जोत्न सिकाउन जबरजस्त गरेनन् । आफूसँगका साथीहरू हलो जोत्न पोख्त हुन भइसक्न लागेका थिए, मैले खेतबारीमा हलो छोएको थिएन । कताकता ग्लानिजस्तो हुने । साथीहरू बारीमा मजाले जोतिरहेका हुन्थे, मलाई भने त्यो हेर्न मन लाग्दैनथ्यो । कारण थियो, आफूलाई जोत्न आउँदैनथ्यो ।


हलो अर्थतन्त्रको आफ्नै नियम छ । सुरुमा अक्षर लेख्न जानेजस्तै, मोटरसाइकल गाडी सिकेजस्तै हो । सुरुमा लेख्न सिक्दा धर्को हाल्न कति गाह्रो हुन्छ, त्यति नै गाह्रो हुन्छ, हलाले सीधा जोत्नु वा राम्ररी जोत्नु । अक्षरको सानो रेखा, हलोको ठूलो रेखा । फरक यत्ति हो । कलमले कापीमा लेख्छ, हलोले बारीमा । कलमको अक्षर साक्षर सबैले पढ्न सक्छन् । हलोको अक्षर पढ्न सक्छन्, केवल हलो जोत्नेले । हलोका अक्षर बाली बनेर झुल्छन् । फसल बनेर फुल्छन्, अनि फल्छन् । त्यसैले कमलको अक्षरभन्दा हलोको अक्षर कमजोर छ भनेर कसले भन्न सक्छ ?


अहिले त हलोको रूप फेरिएको छ । फलामको आधुनिक हलो । ट्र्याक्टर, मेसिनले पनि हलोको काम गरेको छ । तर हलाको काम खेतबारी जोत्नु हो । हलोको लिपि यस्तै हुनुपर्छ भन्ने छैन । त्यसको सम्बन्ध केवल उत्पादनसँग गाँसिएको छ । हाल मुलुकमा हलो अर्थतन्त्र कमजोर हुँदै गएको छ । खेतीपाती घटेको छ । उपभोग्यवस्तु आयात बढ्दो छ । मैले जहाँ अक्षरसँगै हलोले रेखा कोर्न सिकेको थिएँ, त्यहाँ पनि हलो अर्थतन्त्र कमजोर हुँदै गएको छ । स्थानीय उत्पादनको साटो आयातित चामल, दाल, तेल उपभोग हुन थालिएको छ । तर, हाम्रा साढे सात दशक उमेरका बाबाको हलो कमजोर भएको छैन । पुर्ख्यौली खेतबारी एक टुक्रा पनि बाँझो हुन दिएका छैनन् । घरमा एक हल गोरु र हलो चलेन भने बा, आमालाई चयन हुँदैन । त्यसकारण बाआमाका हलो र हलगोरु सधैंका साथी । हामी छ सन्तानको हरेक पाइलामा हलो र हलगोरुको कथा गाँसिएको छ । हाम्रो मनमा हलो र हल गोरुको गहिरो छाप छ । हलो, गोरु र खेतबारी नभएको भए जीवन अघि बढ्न सहज थिएन । हामी बाका पाखुरा र हलोको उत्पादनले बाँचेका हौं ।

नाताले भतिज पर्ने विजय र मामाको छोरा खिम दाइचाहिँ सानैमा जोत्न अलि सिपालु थिए । दुवै जनाको ज्यान अलि मोटो र बलियो भएको हुनाले हलो र गोरु चलाउन सक्ने ताकत थियो । उनीहरूका बाबा खाजा र खाना खान गएको बेला उनीहरू खुब फुर्ती लगाएर हलो जोतेको देखेर मलाई भित्रैदेखि रहर र जलन हुन्थ्यो । किनकि मसँग हलो जोत्ने हिम्मत र शक्ति थिएन । त्यतिबेला हामी सानै भएको हुनाले हलो जोत्नैपर्ने र स्कुल जानैपर्ने बाध्यता थिएन । दुवै रहरका विषय थिए । मौका पर्दा जोते पनि हुने, रहर लागे स्कुल गए पनि हुने । दुवै विषय स्वैच्छिक । तर पनि गाउँमै स्कुल भएको हुनाले हामी स्कुल जान्थ्यौं । पढे–नपेढेको कमै मात्र बाआमालाई चासो हुन्थ्यो । उनीहरूको एउटै चासो हुन्थ्यो, ठूलो भएपछि यसले हलो जोतेर खान सक्छ कि सक्दैन ? मलाई पनि यही कडीले हेरिन्थ्यो । मेरोबारे सबैको निष्कर्ष करिब एउटै थियो, यो असाध्यै दुब्लो छ । यसले हलो र हल गोरु थाम्न सक्दैन । सुर्खेत छिन्चुबाट नुन बोकेर ल्याएर खान सक्दैन ।


समय त्यस्तै थियो । पढेर जागिर खाने सपना थिएन । किनकि पुर्खाको एक मात्र बाँच्ने आधार खेतीकिसानी थियो । हलो, हलगोरु र खेतबारी एकअर्काबीच नङ र मासुको सम्बन्ध थियो । मेरा साथीहरू विजय र खिम दाइ जोत्न सिपालु भइसकेका थिए । हामी ११ वर्ष जति थियौ होला । मंसिरका महिना थियो, गहुँ, तोरी रोप्ने चटारो थियो । शनिबार बाबाले जोतिरहेको बेला म नजिकै बारीका डल्ला फुटाउँदै थिए सकीनसकी । बाबाले भने, ‘कान्छा जोत्छइ ? अरूले त जोत्दै छन् ।’ ‘हुन्छ’ यति भनेर मेरो हातमा म जत्रै अग्लो हलोसहित हलगोरु जिम्मा लगाएर बा पानी खान गए । लौ बर्बाद । न मैले भनेको गोरुले मान्छन्, न हलो भनेको ठाउँमा जान्छ । तोरी रोप्न सम्याइएको बारी लेख्न सिक्दा बच्चाले कापीको कोरेजस्तो भयो । तैपनि प्रयास जारी थियो । केही गरे पनि मैले हलो र गोरु बाले जोतेको रेखा (सिया) मा लान नसकेपछि म रोकिएँ । बाबाले जोतेर आधा पुर्‍याएको बारीको पाटो अब नजोतेजस्तो भयो । म डरले धरधर काँप्न थालें । म हलो चलाउन पूरै असफल । यो कुरा गाउँलेले थाहा पाए भने मेरो हालत के होला ? मैले पहिलो पटक हलो समात्नुअघि गरेको पूर्वानुमान सही सावित भयो, जातेर खान मुस्किल छ ।


मैले पहिलो पटक जोतेको देखेर बाबाको कन्सिरी नतात्ने कुरै भएन । मेरा साथीहरू मजासँग जोतिरहेका थिए । हलीले गोरु धपाउन समाएको सानो बलियो लट्ठी (स्याक्रा) खुट्टामा स्याट्ट परेपछि म उफ्रिए । दुई स्याक्रा हाने पनि बाले आफैं जोत्न थाले । म छोक्राएर बारीको छेउमा डरले काम्दै उभिरहें । मेरो मनमा त्यही कुरा खेल्न थाल्यो, ‘मैले जोतेर खान नसक्ने भएँ । के गर्ने होला ? जोत्न सिक्ने कसरी होला ?’


स्कुलका सुरुमा लेख्न सिकाउने गुरु, गुरुआमा हुन्छन् । हात समातेर लेख्न सिकाउँछन् । तर बाबाले हात समातेर जोत्न सिकाएनन् । सिक्न थालेको दुई स्याक्रा खाएर भाउन्ने भइसकेको थियो । सुरुमा लेख्न सिकेजस्तै हो रहेछ, हलोले जोत्नु पनि । भनेको ठाउँमा रेखा जाँदै नजाने । साइकल, मोटरसाइकल र गाडी सिकेजस्तै रहेछ त्यो । जोत्न खोज्दा सन्तुलन मिल्दै नमिल्ने ।


त्यसपछि मेरो मनमा अठोट आयो जसरी पनि जोत्न सिक्ने । अनि मौका पाउनासाथ हलो समाउन थाले । अलिअलि गर्दै म जोत्न सक्ने भए । तर अर्को समस्या थपियो । जोत्न त जोत्ने तर त्यति ठूला र लामो बारी कसरी जोत्ने ? दिनभर हलो र गोरुसँग कसरी हिँड्नु ? त्यो पनि पातलो ज्यानसँग सम्बन्धित थियो । बाबा घरमा हुन्जेल जोत्ने चिन्ता थिएन । मौका पारेर जोत्नबाट उम्कन सकिहालिन्थ्यो । बरु गाई, बाख्राको गोठालो गएर बिदाको दिन सक्ने रणनीति बन्थ्यो । सकेसम्म जोत्न नपाए हुन्थ्यो भन्ने मेरो नीति थियो ।

उखानै छ, हलो अड्काएर गोरु पिट्ने । सिकारुले जोत्ने बेला बाको एउटै ध्यान हुन्थ्यो । हलो ढ्गाँमा अड्कियो भने बर्बाद हुन्छ । पहाडका बारीमा ढुंगा हुनु सामान्य कुरा हो । यदि हलो र गोरुको ताल मिलाउन जानिएन भने हलो ढुंगामा अड्किएर भाँचिने बढी सम्भावना हुन्छ । हलो विशेष काठबाट बनेको हुनाले तत्काल बनाउन सकिँदैनथ्यो । रुकुमतिर सादन भन्ने रूखबाट हलोको मुख्य भाग र फाली राख्ने फराँईचाहिँ सालको हुन्थ्यो । रुकुमतिरको हलो, हलो, फराँई, फाली, हताँसो, जुवा, हलुर (डोरी), र गोरुको काँध अड्काउने सोइला गरी आठवटा पाटपुर्जा हुन्छन् । त्यसमा एक हल गोरु र एक हली भएपछि जोततन्त्र चल्छ ।


बाबाचाहिँ केटाले हलो ढुंगामा अड्कायो भने बर्बाद हुन्छ भनेर जोत्ने बेला सधैं भन्थे, ‘कान्छा ढुंगामा हलो अड्केला है । होस गर्नु । केही गरी अड्कियो भने गोरुलाई रोकेर, पछाडि तानेर निकाल्नू ।’ सिकारु चालकले गाडी ठोकाएजस्तै एक दिन त्यस्तै भयो । जोत्दै गर्दा हलो ढुंगामा अड्किएर कर्‍याप्प भाँचियो । बा रिसले फायर । ‘भन्दाभन्दै ढुंगामा हलो अड्काएर भाँच्यो । यसको ठाँडो’ बा पड्किए । जगेडा अर्को हलो ल्याएर त्यस दिन काम चल्यो । त्यस दिन हलो अड्काएर गोरु चुट्ने उखानजस्तै भयो । त्यसको केही समयपछि मलाई हलो छुन पनि दिइएन ।


पहाडमा सानो बारीको पाटोमा जोत्न साह्रै गाह्रो काम हो । बल्ल एक हल गोरु हलोजुवासहित अट्न पनि गाह्रो गरामा जोत्दा म आफैं एक कान्ला तल पुगेको छु । सिपालु हलीले मात्र त्यस्तो बारीमा होस पुर्‍याएर जोत्न सक्छन् ।

मैले एसएलसी दिएपछि बाबा काम गर्न भारततिर लागे । बाली लगाउन आउँछु भनेका बाबा बढी कमाउनुपर्‍यो भन्दै आएनन् । चिठीमा लेखे, ‘घरमा कान्छो छँदै छ । बाली लगाउन सकिहाल्छ । अप्ठ्यारो परे छिमेकीले सघाइहाल्छन् ।’ स्कुलमा गएर पढ्ने र खेल्ने बानी लागेको थियो । अब पूरै हिउँदे बाली लगाउने अवस्था भएपछि ‘बाउको बिहे देख्छस्’ भन्ने उखानसँग मिल्ने दिन सुरु भए ।


पहाडमा हलो र जुवा बोकेर टाढा खेतबारीमा नगई काम चल्दैन । हलो र जुवाको तौल करिब ३० देेखि ३५ किलोसम्म हुन्छ । कुनै पनि बाली लगाउने बेला एक प्रकारको दबाब हुन्छ । छिमेकीभन्दा ढिला लगायो भने ‘त्यो घरले काम गर्न सकेन’ भनेर कुरा काट्ने चलन हुन्छ । सिँचाइको सुविधा नभएको बारीमा चिस्यान हुँदै बाली लगाएर सक्नुपर्छ । दबाबबीच मैले हिउँदे बाली लगाउनुपर्‍यो । टाढा बारीसम्म हलो र जुवा बोकेर लान मेरा लागि ठूलै पहाड चढेजस्तो हो । पातालो ज्यानमा हलो जुवा बोकेर त्यही दिन जोत्नु पूरै असम्भव हुन्थ्यो । त्यसैले भोलि जोत्नु छ भने आजै समय लगाए्र बारीमा हलो जुवा लगेर छाड्थे । अर्को दिन गोरु लिएर जोत्थे ।


बाध्यतावश बनेको किसानसँग जाँगर हुँदैन । म पनि त्यस्तै । बाबा घरमा नभएकाले बाली लगाउने काम हुँदै थियो । मेरो जोताइ देखेर कोही–कोही मजाले हाँस्थे । काम छिटो होस् भनेर मैले ग्याप राखेर जोत्थें, बीचबीचमा जमिन बाँझो छुट्थ्यो । जोत्दा छुटेको जमिनलाई राँटो भन्ने चलन छ रुकुमतिर । जोत्दा राँटा नै राँटा अर्थात् बीचबीचमा बाँझो । सँगै काममा गएकी हाम्री आमाले भन्थिन्, ‘राँटा फोरेर जोत है कान्छा ।’ हिउँदे बाली लगाउँदा मकै लगाएको बारी र धान काटिसकेपछिको खेत जोत्न दाँतबाट पसिना आएको मलाई अहिले पनि तीतो सम्झना छ । कहिले गोरुले हलोसँगै घिसारेको, कहिले जोतिसकेपछि जमिन सम्याउन लिड्को लगाउने बेला आफू मुनि परेको, कहिले रोपाइँमा हिल्याउँदा दाँतेमा खट्टा अल्झेर गोरुले तानेर अर्को कुना पुर्‍याएका यादले मलाई त्यही गाउँमा पुर्‍याउँछ ।


लेखाजोखा त भएन मैले बाली लगाएको वर्ष पक्कै पनि उत्पादन घटेको हुनुपर्छ । किनकि मसँग बाली लगाउने सीप थिएन । थियो केवल कामचलाउ मात्र ।


एउटा भनाइ छ, हलो जोत्न, साइकल चलाउन, मोटरसाइकल, गाडी चलाउन, पौडी खेल्न सिकेको मान्छेले कहिलै बिर्सन्न । पोहोर घर जाँदा हलो फरक थियो, गोरु फरक थिए, बारी भने उही थियो । त्यहाँ रमाइलो गर्नका लागि जोत्दा खासै फरक परेन । राम्रो जोत्न कहिले जानेको होइन, जोत्न बिर्सेको पनि होइन ।

महिलाले जोत्न हुँदैन भन्ने रुढीवादी परम्परा छ । महिला नभएको घरमा ढिलो खेतीपाती हुन्थ्यो । अरू सबैले आफ्नो बाली लगाएपछि मात्र महिला मात्र भएको घरको खेती लगाइदिन्थे । माओवादी सशस्त्र युद्ध सुरु भएपछि पुरुष भूमिगत भए, कोही विदेशतिर लागे । गाउँमा पुरुष नभएपछि खेतीपाती लगाउन संकट पर्‍यो । परम्परा तोड्दै माओवादीले महिलाले हलो जोते पनि केही फरक पर्दैन भन्दै रुकुम, रोल्पामा अभियान नै चलायो । मैले पहिलो पटक महिलाले हलो जोतेको त्यही देखेको हो ।


खेतीपातीको साधन हलो यसरी माओवादीका लागि सांस्कृतिक क्रान्तिको साधन बन्यो । माओवादी युद्धकालभरि रुकुम रोल्पातिर महिलाले जोत्नु सामान्य बन्यो । हाल महिलाले जोत्नु बाध्यता छैन ।


यसरी नै जमिन बाँझो हुँदै गयो भने हलोतन्त्रको राज अन्त्य हुन के बेर ?

प्रकाशित : आश्विन ४, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?