कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वन, पर्यावरण र साहित्य

रोशन शेरचन

१. वनलाई रूखहरूको जत्था मात्र भनेर बुझ्दा अर्थ निस्कँदैन  । वन्यजन्तु, पन्छीहरू, सरिसृपको बासस्थान पनि हो वनक्षेत्र र यसमा सिमसार पनि पर्छ भनेर मान्दा वनको महत्त्व बेपत्ता बढ्छ । वन क्षेत्र त्यस अवस्थामा समस्त जीव र प्राकृतिक वातावरणको अन्तरक्रियाको एकाइ बन्छ ।

वन, पर्यावरण र साहित्य

र, खास विशेषतासहितको पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्छ । उक्त प्रणाली सन्तुलनमा रहुन्जेल, स्वस्थ रहन्छ । अन्यथा आश्रित जीवहरूको संख्या ओरालो लाग्छ र लोप पनि हुन सक्छ । वनको दोस्रो परिभाषा फराकिलो र विज्ञानसम्मत छ । साहित्य पनि वन र पर्यावरणसँग अभिन्न गाँसिएको हामी पाउँछौं । थोरै मात्र सचेत भएर हेर्ने हो भने, सम्बन्ध जति अन्योन्याश्रित छ, उत्तिकै ऐतिहासिक छ । कविता, कथा र उपन्यासमा वन र पर्यावरण विम्ब, प्रतीक, विषय र उत्प्रेरणा भएर आएको धेरथोर देख्न सकिन्छ । केही उदाहरण अगि सार्न सकिन्छ ।
२.
वन, वातावरण, पर्यावरण र साहित्यको अन्तरसम्बन्धको प्रसंग चल्दा संरक्षण कविता आन्दोलन स्मृतिमा आउँछ । साथै आउँछ, आर्थिक, सामाजिक मेरुदण्डको रूपमा वनमा परम्परादेखि आश्रित केही मध्यपहाडी गाउँहरूको चित्र । पहाड, मधेस र हिमाली गाउँहरूलाई वन वा प्रकृतिबाट अलग्याएर हेर्न सम्भवै छैन । कृषि र पशुपालन वनमै गएर ठोकिन्छ । कति विपन्न परिवारले त दाउरा, च्याउ, निगुरो, टुसाकै बेचबिखन गर्छ ।

लेखक सरुभक्तको नेतृत्वमा थालिएको यस आन्दोलनले प्रकृति संरक्षणको विषयलाई जोड दिएको छ । वन, वातावरण र समग्र पर्यावरण अतिक्रमण, दोहन र जलवायु परिवर्तनको मारमा परेकाले त्यसप्रति आन्दोलनको सरोकार छ । मानिस वन, वनस्पति र वन्यजन्तुसँग जोडिने नै खाद्यजालो (फुड वेभ) मार्फत हो । पिरामिड आकारको यो सम्बन्ध, अत्यन्त सूक्ष्म छ । कुनै एक तह हटाइदिने हो भने वा त्यसको हैसियत बिग्रँदा समग्र पिरामिडकै सन्तुलन बिग्रन्छ । त्यति अन्तरसम्बन्धित । पिरामिड आकारले नै भन्छ, मानिस अस्तित्वको केन्द्रमा छैन । बरु सबै एकआपसमा निर्भर छन् । खाद्यजालो वर्तुल आकारको भएको भए, भाष्य अर्कै हुन्थ्यो । केन्द्र र परिधिको कुरा आउँथ्यो । मान्छेले आफू केन्द्रमा रहेको धाक लगाउँदा पनि तर्कसंगत सुनिन्थ्यो तर यथार्थ त्यस्तो छैन । प्रकृतिले दिएको यी सूक्ष्मतम अन्तरसम्बन्धहरूलाई साहित्यले कसरी पक्डने ? ठूलो चुनौती छ ।


माटो, तालतलैया, घाँस, पतकर स्याउला, चरन र डालेघाँसमा ग्रामीण जीवन कसरी आश्रित छन् ? निर्भरताका देखिने र नदेखिने पाटाहरू के हुन् ? स्थानीय बासिन्दाले निर्भरतालाई कसरी लिएका छन् ? संरक्षण कविता आन्दोलनको भ्रमणमा निरीक्षण गर्ने अवसर मिल्यो । आन्दोलनको उद्देश्य पनि त्यस्तै थियो । प्रकृति र जनजीवनलाई नजिकबाट बुझ्ने र तदस्थानीय कविता सिर्जना गर्ने । वाचन गर्ने । अन्तरक्रिया गर्ने । अभियन्ताहरूबीचको वार्तालाप, बहस र अन्तरक्रिया त बोनस नै भयो ।


पहाडी गाउँहरूमा वनप्रतिको निर्भरता धेरै गहिरो रहेछ । कहाँसम्म भने, संस्कृति र रहनसहन पनि पर्यावरणबाटै निर्धारण हुँदा रहेछन् । ‘कल्चरल इकलोजी थ्योरी’ ले भन्ने पनि त्यही हो । संस्कृति मानिसको स्वतन्त्र छनोटको विषयभन्दा हामी बाँचिरहेको प्राकृतिक वातावरणले बढी निर्देशित गर्ने क्रिया हो । उपल्लो मुस्ताङमा अवशेषको रूपमा रहेको बहुपति प्रथा त्यहाँको प्राकृतिक वातावरणकै सहउत्पादन हो । सिक्लेस, याङ्जाकोट, घलेखर्क, घाचोक, सारङ्कोट आदि गाउँहरू पुग्यौं । गुरुङ, मगर गाउँहरू अग्लामा भेटिने । बस्तुभाउ पाल्ने भएकाले घाँस र स्याउलाको निम्ति लेकै च्याप्ने । त्यसैले प्रकृति संरक्षणको विषयमा मात्र सीमित नभई सामाजिक र सांस्कृतिक पाटाहरूबारे पनि लेख्नुपर्छ भन्दै त्यतापट्टि पनि लाग्यौं उबेला ।

३.
वन सन्दर्भमा चरा छुट्ने कुरै भएन । साहित्यमा चरा अत्यधिक प्रयोग भएको जैविक विम्ब होला । कवितामा त साह्रै धेरै । चरा प्रजातिका आफ्नै प्राथमिक बासस्थान हुन्छन् । वन, खोला किनार, खेतफाँट आदि । बासस्थानपिच्छे फरक आनीबानीका चराहरू भेटिन्छ । साउन ३२ गते शनिबार भक्तपुर साँगा क्षेत्रमा चरा अवलोकन गर्न गएको थिएँ । सबैले दूरबिन बोकेका थियौं । शाली नदीको किनाराको वन र खेत वरपर करिब डेढ दर्जन चरा देख्न पाएँ । चराविद्बाट थाहा पाउँथ्यौं, कुन प्रजाति हो ? त्यसको बासस्थान र आनीबानीबारे । हिउँ चितुवाविद् कमल थापाले निम्त्याएका थिए मलाई ।


नाम सुनिराखेको तर कहिल्यै देख्न नपाएको चरा पनि देखे । जस्तै ः न्याउली चरा । न्याउली सुन्दर चरा रहेछ तर आवाजलाई चाहिँ हामी विरही भन्छौं । न्याउलीको आवाजलाई विरही मानेको मान्छेले नै हो । त्यो आवाज आफैंमा विरही वा के हो ? थाहा छैन । न्याउलीको हकमा त्यसको जैविक कर्महरूमा त्यो आवाजले मज्जाले सघाइरहेकै होला । विरही, मुग्ध पार्ने, कर्कश, सुरिलो आवाज सबै मान्छेकै व्याख्या न हो । भन्ने नै हो भने, यी सबै मान्छेले स्वयम्लाई अस्तित्वको केन्द्रमा राखेर निर्माण गरेका भाष्य हुन् । मानव केन्द्रित दृष्टिकोण– एन्थ्रोपोसेन्ट्रिक प्रस्पेक्टिभ ।
यसै विषयमा केही समयअघि लेखक संजीव उप्रेतीसँग छोटो वार्तालाप भएको थियो । भीष्म उप्रेतीको निबन्ध संगालोको विमोचन कार्यक्रममा । नेपाल पन्छी संघले आयोजनामा गरेको चरा अवलोकनको कार्यक्रममा उप्रेती सहभागी भएका रहेछन् । पछिल्ला समयमा उनी चराहरूको अध्ययनमा लागेका छन् । चरा अवलोकनमा चरा मात्र अवलोकन हुँदैन । चरा समग्र प्राकृतिक पर्यावरण नियाल्ने आँखिझ्याल बन्छ । चराले के खान्छ ? कहाँ बस्छ ? कसबाट जोगिन खोज्छ ? कहा गुँड बनाउँछ ? केले बनाउँछ ? कुन महिना अण्डा पार्छ ? कहिले हेरचाह गर्छ ? भाले र पोथीको विभिन्न काममा कस्तो भूमिका हुन्छ ? सिङ्गो पर्यावरण भेटाउन सकिन्छ ।


उप्रेतीले भनेको सम्झन्छु, ‘हामीले एकदम ह्युमन सेन्ट्रिक हिसाबले सोचिरहेका रहेछौं । भिन्न जीवहरूको महत्त्वलाई बुझ्ने हो भने प्रकृतिको दृष्टिविन्दुबाट सोच्नुपर्ने रहेछ ।’ ‘सिद्धान्तका कुरा’ जस्ता दूरगामी महत्त्वको सैद्वान्तिक पुस्तक लेख्ने लेखकले त्यसो भन्नु सुखद थियो । व्यस्तताले लामो कुरा हुन पाएन । सहचार्यमा जीव वैज्ञानिकहरू राचेल कार्सन, एल्डो लियोपल्ड, इडवर्ड व. विल्सन, जर्ज स्कालर, रिचर्ड डकिन्स, प्रह्लाद योञ्जन, तीर्थबहादर श्रेष्ठ सम्झें । यी वैज्ञानिकहरूले प्रकृति, जैविक विविधता र मान्छेका अन्तरसम्बन्धलाई पर्गेलेका छन् र ज्ञानोपयोगी पुस्तक लेखेका छन् ।

४.
एक जना जीववैज्ञानिकको भनाइ सम्झन्छु । पृथ्वीलाई घर नभई डेरा मान्ने अवधारणाले वन, पर्यावरण र जैविक विविधतालाई जोगाउन अधिक सघाउँछ । पृथ्वीलाई डेरा मान्दा हामीभन्दा अघि अरू मानिस थिए, अहिले हामी छौं र हामी पछि पनि अरू मानिस बस्न आउँछन् भन्ने भाव आउँछ । भावी सन्ततिलाई सकिन्छ भने झन् राम्रो अवस्थामा, नसके कम्तीमा पनि बिग्रन नदिई हामीले हाम्रो कोठा छाडेर जाने हो भन्ने विचारलाई यस दृष्टिकोणले बल प्रदान गर्छ । आफ्नो जीवनकाललाई मात्र नसोची, आगामी पुस्ताको निम्ति पनि सोच्ने विचार संरक्षणको निम्ति हितकर छ ।
सत्य पनि हो, धुपीको रूखजति लामो पनि बाँच्दैन मान्छे । मान्छेले विशेष आफ्नो उपभोगको अवस्थालाई परख गर्न जरुरी छ । कस्ता आर्थिक, सामाजिक र राजनीतिक संरचनाहरूले पर्यावरणलाई जोगाउँछ, कस्ताले बिगार्छ, थाहा पाउन आवश्यक छ ।


५.
निजगढको प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल र अमेजनको वन डढेलो पनि सामयिक विषय हुन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अत्यावश्यक छ । काठमाडौं उपत्यकाको ल्यान्डस्केपमा अहिलेको एयरपोर्टले भार थेग्न नसकेको जगजाहेर नै छ । तर, प्रस्तावित २४ लाख रूख काट्नुपर्दा वन्यजन्तुको बासस्थान र जैविक मार्ग, पानीको मुहान फुटाउने त्यसको इकोसिस्टम सर्भिसेज र स्थानीय बस्तीको विस्थापनको तुलनामा फाइदा के ? तुलनात्मक प्रश्न गर्ने हो भने चित्तबुझ्दो जवाफ भेटिँदैन । भौतिक विकास पूर्वाधारमा वन क्षेत्र नै किन रोजिन्छ ? झाडी क्षेत्र, बाँझो जमिन, हैसियत बिग्रेको वन किन खोजिँदैन ? प्रश्न पेचिलो बन्छ । विकासको सजिलो बाटो मात्र खोज्दा पर्यावरणले धेरै नकारात्मक असर भोगेको उदाहरणहरू हाम्रासामु अनगिन्ती छन् ।


अझै भयावह पर्यावरणीय घटनाचाहिँ अमेजनको वन डढेलो हो । बाईस लाख वर्गमाइल क्षेत्रफलमा फैलिएको यस वनले करिब नब्बे अर्ब टन कार्बनडाइअक्साइड आफूमा खिँचेर राखेको जर्ज मासन युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्मी थोमस लव्जोय बताउँछन् । यो जुलाईमा मात्र लस एन्जेलस सहरभन्दा बढी क्षेत्रफलको रेन फरेस्ट फँडानी भएको अनुमान छ । अमेजनमा जनवरीदेखि अगस्तसम्म ८७,००० वन डढेलो गइसकेको छ । वन डढेलोले वायुमण्डलमा उत्सर्जन हुने त्यो स्केलको कार्बन कल्पनाभन्दा बाहिर छ । यसले पृथ्वीकै प्रतिरोध क्षमता शक्तिलाई कमजोर बनाउँछ । आगलागीले वन्यजन्तु, पन्छी र साना स्तनधारीमा पार्ने असर त सम्झँदै कहाली लाग्छ ।


अमिताभ घोषको ‘हंग्री टाइड’ यस विषयमा लेखिएको राम्रो आख्यान हो । नरभक्षी बाघको आतंक, गोही बस्ने समुद्री किनार, बाढीले बारम्बार प्रलय मच्चाइरहने सुन्दरवनका आदिवासीहरूको जीवनको जोखिम र संघर्ष पढ्दा सिङ्गो प्राकृतिक र सांस्कृतिक पर्यावरण अनुभव हुन्छ । त्यस्तै मारियो भर्गास लोस्लाको ‘स्टोरी टेलर’ छ । पेरूको अमेजनको जंगलमा बसोबास गर्दै आएको रैथानेहरूको अस्तित्व संकटको बारेमा लेखिएको मस्तिष्क हल्लाउने आख्यान । ‘स्टोरी टेलर’ लेखक नारायण ढकालबाट प्राप्त भएको थियो । उपेन्द्र सुब्बाको कथा ‘लाटो पहाड’ ले पनि आदिवासी लिम्बू समाजको वनप्रतिकै आलम्बनको कथा भन्छ । च्याब्रुङ यथार्थ विम्ब छ । दैलेखमै फिरन्ता राउटेलाई बजार अर्थतन्त्रले प्रत्यक्ष–परोक्ष प्रभाव पारिरहेको देख्न सकिन्छ । सदियौंदेखि वनमा असाध्य निर्भर राउटेको जीवन संस्कृतिमा आएको दबाब बुझ्न टाढा गइराख्नु पर्दैन । बिग्रँदो पर्यावरण र भूमण्डलीकृत अर्थ–राजनीतिको अन्तरसम्बन्ध साहित्यको अर्को विषय हो । कवितामा केही प्रयोग भए पनि आख्यानमा यस्ता विषय खासै प्रवेश गरेको छैन ।


देशीय र बाहिरका वातावरणीय विनाश र प्रदूषणका घटनाहरू र त्यसका जरा कारणहरूलाई साहित्यको विषयवस्तु बनाउन जरुरी छ । वातावरणप्रति मान्छेको संवदेनालाई ब्युँताउन सके, ठूलो योगदान हुन्छ । वैयक्तिक चार घेराबाट निस्केर पर्यावरणप्रति जिज्ञासु बन्न जरुरी छ ।
रूख सधैं नयाँ पालुवामा रमाउँदो रहेछ
नयाँ पातको प्रतीक्षामा हुँदो रहेछ
कति झरे पातहरू भुइँमा
रूखसँग दुःखमन कति पनि रहेनछ
यसरी पो एउटा रूख
अजङ्गको भएर बाँचेको हुँदो रहेछ
–उपेन्द्र सुब्बा



अक्सिजन उत्सर्जन र कार्बनडाइअक्साइड आफूभित्र खिच्ने हुनाले वनको महत्त्व भविष्यमा झनै बढ्ने पक्का छ । त्यसै अमेजनलाई धरतीको फोक्सो भनिएको होइन । जीव वैज्ञानिक इडवर्ड व. विल्सन यस सवालमा कडा धारणा राख्छन् । आफ्नो पुस्तक ‘आधा पृथ्वी ः अस्तित्वको निम्ति हाम्रो ग्रहको लडाइँ’ मा पृथ्वीको आधा भूभागलाई जैविक विविधता संरक्षण हेतु संरक्षित क्षेत्र घोषणा गर्दै विकासका गतिविधिलाई प्रतिबन्ध नै लगाउनुपर्ने जिकिर गर्छन् । पृथ्वीलाई संरक्षणभन्दा बढी दोहन गरेको इतिहासको आलोकमा मान्छे प्रकृतिको सबैभन्दा ठूलो शत्रु भएको निष्कर्ष गलत छैन । भौतिकशास्त्री स्टिफेन हकिन्सको भविष्यवाणीले डरलाग्दो छ । यही दरमा मान्छेका उपभोग र गतिविधि बढ्ने हो भने, मानिसले अबको करिब ६ सय वर्षभित्र पृथ्वी छाड्नुपर्छ । पृथ्वीकै अस्तित्वको निम्ति । सौरमण्डलको कुनै उपयुक्त स्थान अन्वेषण गरी बसाइ नसरेसम्म मानव अस्तित्व जोखिममा छ ।



जबसम्म आकाशमा चराहरू उडिरहन्छन् । आकाशले पूर्णता पाउँछ । शून्य आकाश रित्तो लाग्दैन । वनले चरालाई वासस्थान दिएर साहित्यलाई सघाएको छ । मान्छेलाई चरा जहिल्यै मन पर्छ । चराजस्तो स्वतन्त्र उड्ने मान्छेको आदिम
आकाङ्क्षा हो । तर मान्छेको आफ्नै सीमा छ । त्यसैले ऊ उड्न असमर्थ छ । त्यो विशिष्ट सीमा भन्न विगतमा मैले छोटो कविता रचेको थिएँ । के कविताले त्यतातिर संकेत गर्न सक्यो ?
चराजस्तो स्वतन्त्र हुन मन लाग्छ
चराजस्तो सुन्दर हुन मन लाग्छ
तर चराजस्तो निस्फिक्री हुन सकिएन

प्रकाशित : आश्विन ४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?