कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेलायती नागरिक जोन ह्वेप्टन भन्छन्, 'जुद्धशमशेर तानाशाह मात्रै थिएनन्'

बेलायती नागरिक जोन ह्वेप्टन चाइनिज युनिभर्सिटी अफ हङकङमा रिसर्च एसोसिएसट छन्  । अ हिस्ट्री अफ नेपाल’ (सन् २००५) पुस्तकका लेखक ह्वेप्टन विशेषतः जंगबहादुरको उदय, राणाकालीन नेपाल र त्यसपछिको प्रजातान्त्रिक जागरण युग सम्बद्ध अध्येता हुन् ।

बेलायती नागरिक जोन ह्वेप्टन भन्छन्, 'जुद्धशमशेर तानाशाह मात्रै थिएनन्'

उनका 'जंगबहादुर इन युरोप’ (१९८३), 'नेसनालिजम् एन्ड इथ्निसिटी इन अ हिन्दू किङडम’ (१९९७), 'किङ्स, सोल्जर एन्ड प्रिस्ट’ (१९९२) ह्वेप्टन नेपालसम्बद्ध भएर राष्ट्रियताको सीमा, जातीयता र धार्मिक प्रभावमाथि अन्तर्संवाद गर्दै हिँड्ने अन्तर्राष्ट्रिय प्रतिनिधि पात्र हुन् ।

पछिल्ला वर्षमा भने अर्का अध्येता डा. माइकल हट संयोजक रहेको 'आफ्टर द अर्थ भायोलेन्ट स्वे’ परियोजनामा नेपालमा गएका भूकम्पहरूको सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभावमाथि अध्यन गर्नमा ह्वेप्टन व्यस्त छन् । लामो समयदेखि नेपाली इतिहासमाथि शोध र लेखन गरेबापत गत वर्ष राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट सम्मानित डा. ह्वेप्टन आफ्नो भूकम्प अध्ययन विषयमा स्रोतसन्दर्भ जुटाउन गत महिना काठमाडौं आएका थिए । 'म ३२ वर्षयता नेपाल–नेपालीमाझ नियमित भ्रमणमा आइराख्ने कुहिरे–पाहुना हुँ’ भन्न रुचाउने ६९ वर्षीय डा. ह्वेप्टनसँग गरिएको कुराकानी :

नेपाल र नेपाली विषयसँगको सरोकारमा तपाईं कसरी जोडिनुभयो ?

म पहिलोपटक सन् १९७२–७४ मा कलेजमा पढाउन लेक्चररका रूपमा त्रिभुवन विश्वविद्यालयमा आएको थिएँ । त्यो पनि सुरुमा भारत वा पाकिस्तान जानुपर्ला भन्ने ठानेको थिएँ । संयोगले तानिएर अंग्रेजी शिक्षकका रूपमा नेपाल आएको हुँ । त्यसपछि आफ्नो छुट्टी मनाउन १९७७ मा आएको थिएँ । अनि, नेपालसँग अध्ययन र अनुसन्धानका कामहरूमा जोडिएर सन् १९८२ यता नियमितजसो आइरहेकै हुन्छु ।

त्यसमाथि आफ्नो पीएचडीको विषय ‘जंगबहादुरको उदय’ केन्द्रित र अझ भीमसेन थापाकै समयदेखिको (सन् १८१३) इतिहासमाथिको शोधसमेत भएकाले यहाँ अभिलेखालयमा आउने, पुस्तकालय धाउने र विज्ञहरूलाई भेट्ने काम निरन्तर भैरह्यो । सन् १९८७ यता म हङकङवासी भएकाले भौगोलिक आधारमा पनि तुलनात्मक रूपमा नेपालनजिकै आएर बसेको छु । समयमा आएको फेरबदल हेर्दा, सुरुमा नेपाल–नेपालीबारे अध्ययन गर्न थाल्दा म हङकङमा रहेका केही नेपालीको बूढा पुस्ता वा रेग्मी डाइजेस्ट (डिल्लीरमण संग्रह) आदिमा भर पर्नुपर्थ्यो ।

आज इन्टरनेट र अनलाइन सेवाबाट, गुगलबाटै भीमसेन थापा खोज्न सकिने समय आएको छ । आज म नेपाली पनि पढ्न सक्छु, अलिकति समय दिन सक्यो भने शोध–अनुसन्धानमा स्रोतसामग्री जुटाउन सकिने अलिक सजिलो समय आएको छ । मेरा लागि, व्यक्तिगत रूपमा भने अभि सुवेदी, कृष्ण हाछेथु, प्रत्यूष वन्त, किशोर नेपाल, डेभिड गेल्नर, माइकल हटजस्ता मित्रहरू नेपाल–नेपाली चिनाउने उहिलेदेखि अहिलेसम्मका सूत्रधार पनि हुन् ।

भूकम्प वा कुनै प्राकृतिक विपत्तिको विषयमा सरोकार राखेर प्राज्ञिक अध्ययन गर्नुपर्ने आवश्यकता किन देख्नुभयो ?

हो, इतिहासको सन्दर्भ र विविध पक्षको लेखाजोखामा एउटा समाज वा सभ्यता के–कसरी प्रभावित बन्दै गयो, कसरी बदलिँदै गयो र परिवर्तनका कडीहरू के–के थिए भन्ने विषयमाथि पनि अध्ययन–मनन हुनैपर्छ । जस्तो, राणाकाल (१९९०) मा अहिलेसम्मकै नेपालमा आएमध्ये ठूलो महाभूकम्प आएको थियो, जहाँ १० हजारभन्दा बढी मानिस मरेका थिए ।

त्यसबेला त्यो विपत्बाट नेपाली समाज कसरी उठेको थियो, त्यस बेलाको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव के–कस्तो थियो भन्ने अध्ययन हुनु जरुरी छ । अहिले अध्ययन गरिंदै गरेको योजना २०१७ वसन्तबाट सुरु भएको हो, यो ३ वर्षे योजना हो । म भने १९९०, २०४५ र २०७२ सालका भूकम्पबीचको तुलनात्मक अध्ययन गर्दै छु ।

यस क्रममा १९९० सालको भूकम्प प्रभाव बुझ्न अधिकांशतः यसबारे लेखिएका लिट्रेचर भर पर्नुपर्‍यो । २०४५ सालको भूकम्पको प्रभाव सबैभन्दा बढी पूर्वको सुनसरी क्षेत्रमा परेकाले त्यहाँको स्थलगत, वस्तुगत अध्ययन गर्ने किशोर नेपालजस्ता पत्रकारको त्यस बेलाको अनुभव पनि बटुल्ने काम भयो । २०४५ को भूकम्पताका म काठमाडौं, कालधारामा बस्थें । त्यस बेला भक्तपुरमा समेत केही स्थानीय हताहत भएका थिए । तर, २०७२ को भूकम्पपछि मात्रै सही अर्थको सचेतना र भूकम्पप्रतिरोधी निर्माणका स्वरूपहरू देखा पर्न थालेका हुन् । यसपछि मात्रै भूकम्प र सचेतनाबारे बौद्धिक मन्थन, विलास सुरु भएको हो ।

‘रेडपान्डा’ भिडियोजस्ता प्राकृतिक विपत्तिमा जोखिम न्यूनीकरणसम्बन्धी सार्वजनिक सन्देश बाहिर आउन थालेका हुन् । प्रकोपको अवस्थामा आउन सक्ने र भूकम्पीय जोखिम न्यूनीकरण सिलसिलामा सार्वजनिक हितका यी सन्देशहरूले सचेतना बढाउन मद्दत गरेको देखिन्छ । यी स्रोत, सामग्री र सन्दर्भको त अध्ययन हुनैपर्छ भन्ठानेर यो काममा हात हालेको हुँ ।

तपाईंको अध्ययनमा १९९० को भूकम्पपछिको नेपाली सामाजिक स्थिति वा तत्काल उद्धार/समन्वयको स्थिति के–कस्तो थियो ?

इतिहासको सम्झना र मूल्यांकन त्यस घडीमा आइपरेका कठिनाइ तथा संकटको सामना कसरी गरिएको रहेछ भन्ने अध्ययनबाट पनि सम्भव हुन्छ । जस्तो, १९९० को महाभूकम्पमा तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले कसरी उद्धार/समन्वय गरेका थिए भन्ने जिज्ञासा सबैभन्दा महत्त्वपूर्ण हो । सबैले थाहा पाएको र बुझेको यथार्थ के हो भने जुद्धशमशेर एक तानाशाह थिए तर मानवीय संकट र कठिनाइको त्यो घडीमा नेपाली जनताको घाउमा मलमपट्टी गर्ने सबैभन्दा असल शासक पनि उनै थिए ।

उनी तत्काल भूकम्पप्रभावित स्थलमा पुगेका थिए, मरेका वा घाइतेका परिवारमाझ सहयोगी हात फैलाउँदै हिँडेका थिए, मानवीय उद्धारको घडीमा कुनै प्रकारको विदेशी सहयोग नलिने भनेर देशभित्रकै स्रोतसाधनको परिचालनमा खुलेर लागेका थिए ।

विशेषत कुनै साम्राज्यवादी मुलुकको ‘अधीनस्थ’ हुन सकिने र सार्वभौम स्वतन्त्र मुलुकको हैसियतमा विदेशी छाया पर्ला कि भन्ने त्रास जुद्धमा थियो । भारतीय राज्य–रजौटा र उपनिवेशलाई सहयोग गरिरहेको बेलायती अधिराज्यले दिने सहयोग स्वीकार गरेमा त्यस्तै ‘अधीनस्थ’ होइएला भन्ने डर उनमा थियो । आज इतिहासको मूल्यांकन गर्दा एउटा शासकमा रहेको यो सोच आफैंमा निकै महत्त्वपूर्ण र दूरदर्शीसमेत रहेछ भन्ने लाग्छ ।

१९९०, २०४५ र २०७२ को भूकम्पपछिको स्थितिमा नेपाली समाजको अध्ययन गर्दा के विशेषता पाउनुभयो ?

इतिहासमा उभिएका मुस्किलका घडीहरू हेर्दा नेपाली समाज र यहाँका सर्वसाधारण जन जत्तिको सहनशील तथा सहृदयी अरू कोही छैनन् भन्ने पुष्टि हुन्छ । ९० सालको भूकम्पपछि एक जना ब्रिटिस सर्जनले घाइते सर्वसाधारणको उपचारमा सहयोग गरेका रहेछन्, उनले लेखेका छन्— स्थानीयवासी नेपाली जत्तिको सहृदयी कोही पाइनँ । उनीहरू घाइते थिए, तर दुःख देखाइरहेका थिएनन् ।

उनीहरू एउटा खुला चौरमा भेला भएर बसेका थिए, कसरी सहज भएर दिन–रात काट्न सकिएला भन्ने ध्यानमा देखिन्थे । त्यस बेला पनि भत्केका निजी घर र सार्वजनिक स्थलहरूको झन्डै ४ वर्षको अन्तरमा मात्रै पुनर्निर्माण सम्भव भएको थियो । तर, सबै आन्तरिक स्रोत–साधनकै भरमा निर्माण भएका थिए ।

कुनै प्रकारको दातृ सहयोग लिइएको थिएन । त्यस बेला भूकम्पपीडित जनतालाई निश्चित मापदण्डमा ऋण दिइएको थियो, जुन पछि अनुदानमा बदलियो । २०४५ सालमा पनि ऋण प्रवाह त भयो तर, केही अंश मात्रै अनुदानस्वरूपमा बदलियो । २०४५ सालमा ५ हजार रुपैयाँको ऋण १ प्रतिशत ब्याजदरमा दिइएको थियो । त्यसभन्दा माथिको ऋणको ब्याजदर भने अलिक बढी थियो ।

पछि गएर सुरुमा लिइएको ५ हजार रुपैयाँ भने अनुदानमा बदलियो, त्यसमाथिको भने किस्तामा तिर्नैपर्थ्यो । त्यस बेला विश्व बैंकबाट सरकारले ऋण सहयोग लिएको थियो । त्यसमाथि पञ्चायती ‘कनेक्सन’ का आधारमा ऋण पाउन सकिने त्यस बेलाको अवस्था उति जनप्रिय बन्न सकेको भने थिएन । पछिल्लो भूकम्पपछि भने बैंकहरूको ब्याजदर र सर्तका कारण ऋण प्रवाहको स्थिति त्यति सहज रहेन, प्रभावकारी पनि देखिएको छैन ।


नेपालमा डिल्लीरमण रेग्मी, पुरुषोत्तमशमशेर जबरा, हृषीकेश शाह, मुकुन्दराज अर्याल आदिजस्ता विज्ञले पनि इतिहासमा जोडिएको विपत्बारे धेरै कुरा बताएका छन्, लेखेका छन् । अर्यालका अनुसार, १९९० मा पाटनमा महाबौद्ध मन्दिर पुनर्निर्माण गरिएको थियो । त्यसका लागि जुद्धशमशेरले स्थानीय गुठीलाई सुरुमा ऋण दिएर पछि अनुदानमा रूपान्तरित गरेका थिए ।

यति लामो समयदेखि नेपाली समाजको अध्ययनमा जुट्नुभएको छ । यहाँका अनुसन्धानकर्ता, विज्ञ र अध्ययन/अनुसन्धान आधारित संस्थामा के परिवर्तन पाउनुभएको छ ?

होइन, समयको बदलावले सबै कुरा बदलिएको छ । यहाँका प्रबुद्ध व्यक्ति वा संस्थासमेत अन्तर्राष्ट्रिय ज्ञान, पढाइ र दक्षता लिएर ‘ग्लोबल्ली’ सोच्ने तर ‘लोकल्ली’ काम गर्ने’ स्थितिमा पुगेका छन् । विषयमा निकै विविधता छाएको छ ।

माइग्रेसन, रेमिट्यान्सजस्ता विषय शोधमा आउन थालेका छन् । समावेशी र समानुपातिक महत्त्वका सामग्रीहरू अनुसन्धानबाट निस्कन थालेका छन् । ज्ञान, प्राज्ञ र प्रज्ञाको आयाम भने निकै आसलाग्दो देखिएको छ । बरु अलिक बृहत् रूपमा हेर्दा नेपाली सन्दर्भमा भ्रष्टाचार र बेथितिको कुरा भने ‘यथास्थितिवादी’ स्थितिमा छ कि जस्तो लाग्छ ।
—देवेन्द्र भट्टराई

प्रकाशित : आश्विन ४, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?