कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तिमीले ठीक भनेकी थियौ– मालिनी

ब्रजेश

उसले एकदमै सहज रूपमा भनी, ‘खासै केही छैन । भट्ट साहबको एउटा नयाँ सिनेमा साइन गरेकी छु । नायिकाको रूपमा ।’ ‘भट्ट साहब... ? मतलब... महेश भट्ट ?’ मैले पक्का गर्न चाहें । ‘हो ।’ मानौं ऊ कुनै कार्यालयमा सहायकको जागिर पाएको कुरा गर्दै थिई ।

तिमीले ठीक भनेकी थियौ– मालिनी

अन्नपूर्ण होटलको लबी पार गरेर पछाडि गार्डेनमा पुगेपछि मैले चारैतिर आँखा डुलाएँ । त्यहाँ भएका छिटपुट मानिसहरूमा मेरा आँखाहरू सर्सरी बरालिए पनि कसैमा फोकस भइरहेका थिएनन् । अलि पर एउटा ठूलो बगैंचे पिङमा बसिरहेको आकृतिमा पुगेपछि चाहिँ मेरा आँखाहरू स्वयं टक्क अडे । त्यो आकृति एउटी युवतीको थियो । अघिल्लो दिन फोनमा कुरा भएर समय तय भएअनुसार म जसलाई भेट्न आएको थिएँ, त्यो ऊ नै मात्र हुन सक्थी । अरू त कोही पनि भारतीय युवती थिएनन् । मैले तैपनि पक्का गर्न खोजेर उसलाई परैबाट नियालेर हेरें । ऊ दुवै गोडा पिङमा माथि फैलाएर एक छेउमा अडेस लागेकी थिई । मेरा आँखाहरू फोकस मिलाउन थाले । फोकस मात्र किन, जुम नै गरेर उसलाई नजिकबाट हेर्न चाहन्थे मेरा आँखाहरू । तर, जति चाहे पनि मानिसका आँखा कहाँ जुम हुन्छन् र ? तसर्थ अब मेरा पाइलाहरू ऊ भएतिर अग्रसर भए । त्यसै पनि सिनेमाको सन्दर्भमा भनिन्छ, जुम गर्नुभन्दा ट्रलीमा राखेर क्यामरालाई नै पात्र वा वस्तुको नजिक लगेको राम्रो हुन्छ । जसै म उसको नजिक–नजिक हुँदै गएँ, ती युवतीलाई अझै राम्ररी देख्दै गएँ । टाढाबाट हेक्का नभएका अरू डिटेलहरू झनै स्पष्ट हुन थाले ।
उसले कालो रङको टाइट्स लगाएकी थिई । माथिबाट ह्वार्लाङ्ग परेको खरानी रङको लामो स्वेटर भिरेकी थिई जुन उसको कम्मरभन्दा केही तलसम्म पुग्ने थियो । त्यसले उसको लामा र बान्की परेका खुट्टाहरूलाई लुकाउन सकेको थिएन । उसको कपाल घुम्रिएको र कुमसम्म आइपुग्ने थियो । पक्कै डाई गरिएको हुनुपर्छ किनभने त्यसमा पछाडिबाट परेका सूर्यका किरणहरूले एक प्रकारको सुनौला आभा छरिरहेका थिए । ऊ गोरी थिई । मेरा पाइलाहरू अझै अघि बढिरहेका थिए तर उसलाई भने अझै पनि कोही आफूतिर आइरहेको आभास भइसकेको थिएन । मैले देखें, उसको काखमा कुनै एउटा अंग्रेजी किताब खुलेको थियो । ऊ त्यसैमा तन्मय भएर डुबिरहेकी थिई । अब त म झन्डैझन्डै उसको छेउमै पुगिसकेको थिएँ ।
उसलाई आफ्नो छेउमा कोही आएको थाहा भयो । उसले पुलुक्क मलाई हेरी । उसका आँखाहरू म अझै स्पष्ट सम्झिन्छु । उसका आँखाहरू ठूलाठूला थिए । अनि गहिरा थिए ती आँखाहरू । महासागरजस्तै । अलि बेर हेरिरह्यो भने कसैलाई पनि आफ्नो अथाह गहिराइमा चुर्लुम्मै पार्न सक्ने मारियाना ट्रेन्च थिए ती आँखाहरू । अहिले नै बोल्लान् भनेजस्ता ती आँखाहरूमा उसले हल्का लाइनर मात्र लगाएकी थिई । तर प्रश्नवाचक भाव लिएर मतिर हेरिरहेका ती आँखाहरूमा किन हो किन मलाई एक किसिमको उदासी देखेजस्तो लाग्यो । के मेरो भ्रम थियो ? मैले मुसुक्क हाँसेर आफ्नो नाम भनें । ऊ पनि मुस्काउँदै पिङबाट उठी । उसका आँखाहरू पनि हाँसे । उसको भारबाट मुक्त भएको पिङ हलुकासँग अघिपछि गर्न थाल्यो । कि आफूलाई उसले छोडेकोमा प्रतिवाद गरेको थियो त्यो पिङले ? उसले मतिर हात बढाउँदै भनी, ‘हेलो । नाइस अफ यू टु कम ।’
हामीले हात मिलायौं । उसको हात कोमल, मुलायम र न्यानो थियो ।
मलाई त्यति बेला के थाहा म दिनको झलमल्ल उज्यालो मै एउटी यस्ती युवतीसँग हात मिलाइरहेको छु, जो चाँडै भूत बन्दै छे, प्रेतात्मा ।
.....
त्यति बेला नेपालमा भर्खर एफएम आएको थियो र निकै लोकप्रिय थियो । रेडियो नेपालले १०० मेगाहर्जको फ्रिक्वेन्सीमा त्यसको प्रसारण गर्थ्यो र त्यही एउटा मात्र एफ एम थियो । निजी प्रदायकहरूलाई बेचिएको समयमा हिट्स, म्युजिक नेपाल, क्लासिक र गुडनाइटजस्ता संस्थाहरूले कार्यक्रम सञ्चालन गर्थे । म म्युजिक नेपाल एफएमको कार्यक्रम प्रबन्धक र सञ्चालक पनि थिएँ । मसँग रवि लामिछाने, मीरा आचार्य, ममता दीपबिम, अर्चना प्रधान, प्रदीप भट्टराई र अमोददेव भट्टराईको समूह थियो । म्युजिक नेपाल आफैं गीत–सङ्गीत प्रकाशन गर्थ्यो । अर्थात् क्यासेट तथा पछि सीडीका रूपमा । त्यति बेला क्यासेटको बजार उर्वर थियो । फलतः मास्टर रेकर्डिङ, सनराइज, सान्तानालगायतका थुप्रै क्यासेट निर्माताहरू पनि बजारमा हाम्फालिसकेका थिए । अहिले पुस्तक बिक्छ भनेर होलसेलमा प्रकाशकहरूले होलसेलमा पुस्तकहरू छापेजस्तै थियो त्यतिबेलाको क्यासेट बजार । हाम्रो कुनै पनि व्यापार ठूलो पोखरीमा माछाको भुरा छोडेजस्तो हुने गर्छ । जो जो टिके, बाँचे, मोटाए तिनको बिक्रीबाट कुस्त आम्दानी भइहाल्यो । जो जो डुबे, तिनको लगानी मोटाएकाबाट उठिहाल्छ । म्युजिक नेपालको भागमा परेको अपराह्न तीनदेखि चार बजेको समय आफ्नै क्यासेटहरूको विज्ञापनका लागि प्रयोग गर्ने नीति थियो ।
त्यही बेलातिर एउटा एल्बम निस्केको थियो, जीवन भाग दुई । त्यो लोकलयमा आधारित गीतहरूको नै संकलन थियो । त्यसका गायक थिए खेमराज गुरुङ जो त्यति बेलासम्म चर्चित थिएनन् । तर उनको स्वरमा एउटा अनौठो ओज थियो । मोटाघाटा र खाइलाग्दो ज्यानका खेम निकै फरासिला र नम्र थिए । त्यस एल्बममा एउटा गीत थियो जसले कालान्तरमा नेपाली गीत–सङ्गीत क्षेत्रमा एक प्रकारको क्रान्ति ल्यायो ।
‘वारि जमुना, पारि जमुना, जमुनाको फेदैमा मनकामना’
हामी एफएममा त्यस गीतलाई खुब बजाइरहेका थियौं । धेरैलाई थाहा नहुन सक्छ, सुरुमा जीवन भाग दुई नामको त्यो एल्बम र वारि जमुना भन्ने गीत दुवै बजारमा चलेका थिएनन् । तर कुनै एक कार्यक्रममा त्यसमा गरिएको नृत्य नेपाल टेलिभिजनमा देखाइएपछि अचानक एकै पटक मानिसहरूको ध्यान त्यसले तान्यो । हेर्दाहेर्दै वारि जमुना हरेक औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा नाच्ने गीत बन्न थाल्यो । विद्यालयका सांस्कृतिक कार्यक्रम, बिहे–व्रतबन्धको भोज, दोहोरी रेस्टुराँ, साथीभाइको साँझपख हुने टिन्चुपानीको जमघट, घर, रेडियो, टीभीलगायत कुनै पनि स्थानमा वारि जमुना अपरिहार्यजस्तै भयो । पूर्वेली लोकभाका त्यसै पनि बडो मादक हुन्छ । वारि जमुनामा प्रयोग भएको मन्ध्रतालका कारण त्यो कुनै पनि मानिसले सजिलैसँग अलिअलि हल्लिएर वा खुट्टा चलाएर पनि त्यसमा निकै बेर नाचिरहन सक्छ । सङ्गीतका विशेषज्ञहरू त्यो गीत त्यसरी चल्नुमा सम्भवतः त्यही कुरा प्रमुख कारण हुनुपर्छ भन्ने गर्छन् । अहिलेको जस्तो सामाजिक सञ्जालको युग भएको भए त झन् त्यसले के गर्थ्यो होला भन्ने कल्पनै गर्न सकिन्नथ्यो । बजारमा त्यो क्यासेटको माग पुर्‍याउन धौ–धौ हुन थालेको थियो । वारि जमुनाले खेमराज गुरुङलाई हेर्दाहेर्दै निकै ठूलो स्टार बनाइदियो । तापनि उनमा अहंको अंश रत्तिभर पनि चढेको थिएन । खेमसँग एउटा कार्यक्रमका लागि धरान पुगेको बेला त्यहाँ मैले उनको क्रेज प्रत्यक्ष देखेको छु । एक बजे दिउसो सुरु भएको उक्त कार्यक्रममा सञ्चालकले बीचबीचमा ‘अब केही बेरमा खेमराज गुरुङको प्रस्तुति हुनेछ’ भन्दै दर्शकहरूलाई रातिको साढे एघार बजेसम्म फकाएर राखेका थिए । भनिरहनु नपर्ला, सबै दर्शक उनकै लागि त्यत्रो समय आतुर भएर कुरेर बसेका थिए । उनी स्टेजमा गएपछि नाच्थे, आफूसँग सबैलाई नचाउँथे तर अरू बेला उनी असाध्यै लजालु स्वभावका थिए । मैले उनको एल्बमको एउटा गीतको म्युजिक भिडियो निर्देशन गरेको थिएँ । हामी कुरिनटार नजिक त्रिशूलीको बगरमा त्यसको छायांकन गर्दै थियौं । त्यही क्रममा एकपटक नायिकाको कम्मरमा हात राख्न पर्दा खेम कानसम्म रातो बनाएर आत्तिएका थिए । उनले मलाई एउटा कुनामा लगेर सानो स्वरमा सोधेका थिए, ‘दाइ, यस्तो गर्नैपर्छ र ?’
खोलाको चिसो पानी भन्ने गीतको भिडियोमा त्यो ‘सट’ नियालेर हेर्ने हो भने अहिले पनि उनको त्यो अप्ठ्यारो स्पष्टसँग देख्न सकिन्छ ।
.......
म त्यस दिन एफएम कार्यक्रममा बज्ने गीतहरू छान्दै थिएँ । खेम स्याँस्याँ गर्दै आए । थचक्क अगाडिको सोफामा बस्दै भने, ‘दाइ, तपाईंको एउटा सहयोग चाहियो ।’
भारतीय टीभी च्यानल जीको एउटा गीत–सङ्गीतसँग सम्बन्धित कुनै कार्यक्रम नेपालमा छायांकन गर्न आएको रहेछ । उनीहरूले यहाँ त्यति बेला वारि जमुनाको क्रेज देखेपछि त्यसका गायकसँग सानो अन्तर्वार्ता गर्न चाहेका रहेछन् । त्यसैका लागि म्युजिक नेपालमा सम्पर्क गरेका रहेछन् । रिसेप्सनमा बस्ने पुष्पा बहिनीले पछि फोन गर्न भनेर खेमलाई बोलाइदिएकी रहिछन् । केही बेरमा जीटीभीवालाहरूको फोन आउने थियो । खेमले लजाउँदै भने, ‘मैले के भन्नु ? तपाईंले नै एक पटक कुरा गरिदिनुस् न ।’
फोन आएपछि मैले कुरा गरें । उनीहरू अन्तवार्ताका लागि आउन चाहन्थे । म्युजिक नेपालको कार्यालय अनामनगरको घुमाउरो गल्लीभित्र अप्ठ्यारो ठाउँमा थियो । फेरि नेपालको सबैभन्दा ठूलो सङ्गीत प्रकाशन संस्था भनेर भारतीय टीभीमा देखाउनेजस्तो न भवन थियो न कार्यालय । त्यसैले उनीहरू बसेकै अन्नपूर्ण होटलमा अन्तर्वार्ता खिच्ने कार्यक्रम मिलाइयो । त्यसपछि त खेम झनै लजाएर भन्न थाले, ‘मलाई अंग्रेजी र हिन्दी दुवै बोल्न खासै सजिलो लाग्दैन । के कुरा गर्नु ?’
मैले भनें, ‘भाषाले केही हुँदैन खेमजी । हात्ती अंग्रेजी वा हिन्दी बोलेर ठूलो भएको हो र ? संसारका अरू ठूला गायकहरू पनि आफ्नो भाषामा अन्तर्वार्ता दिन्छन् । यसलाई सहज रूपमा लिनुस् ।’
उनी बल्लबल्ल माने तर भन्न थाले, ‘तपाईं पनि मसँग हिँड्नुस् है त त्यसो भए ।’
मैले सहमति जनाएँ । यसरी म आवश्यक परेको अवस्थामा खेमको दोभाषेको रूपमा अन्नपूर्ण होटल पुगेको थिएँ र ती आकर्षक र सुन्दरी युवतीसँग हात मिलाइरहेको थिएँ ।
खेमसँग उनीहरूको कुराकानी सकिएपछि ती युवती र म केही बेर गफियौं । त्यो कार्यक्रम सञ्चालन गर्नुअघि उसले बम्बै भाइकिङ भन्ने ब्यान्डको एउटा गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेकी रहिछ । उसले गीतको बोल भनेपछि मलाई अलिअलि त्यसको सम्झना आयो । ‘क्या सुरत है क्या सुरत है’ भन्ने त्यो गीत एकताका चर्चित भएको थियो । केही समय अघि जीटीभीकै झन्डु फिल्मी बातें भन्ने कार्यक्रम नेपालमा छायांकन हुँदा त्यसको केही भाग मैले सञ्चालन गरेका थिएँ । यिनै सेरोफेरामा कुराकानी हुँदा उसले भनी, ‘मलाई नयाँ कामहरू गर्न मन लाग्छ । गीतमा मोडलिङ र टीभीमा कार्यक्रम सञ्चालनबाट म अघाइसकेकी छु ।’
‘अब के गर्ने योजना छ त ?’ मैले सोधें ।
उसले एकदमै सहज रूपमा भनी, ‘खासै केही छैन । भट्ट साहबको एउटा नयाँ सिनेमा साइन गरेकी छु । नायिकाको रूपमा । केही समयमा त्यसको छायांकन हुन्छ ।’
‘भट्ट साहब... ? मतलब... महेश भट्ट ?’ मैले पक्का गर्न चाहें ।
‘हो ।’
मानौं ऊ कुनै कार्यालयमा सहायकको जागिर पाएको कुरा गर्दै थिई । बम्बै सिनेमाको प्रतिस्पर्धात्मक संसारमा अवसर पाउनु भनेको त्यति साधारण कुरा कहाँ हो र ?
‘अनि यो कुरा सुनाउँदा तिमी किन पटक्कै उत्साहित छैनौं त ?’ मैले अचम्म मान्दै सोधें ।
उसले कुम उचाल्दै सहज रूपमा भनी, ‘उत्साहित हुनुपर्ने कुरा के छ र ? मलाई अफर आयो, अनि मैले एउटा नयाँ अनुभव हुन्छ भनेर हुन्छ भनें । बुझ्यौ, त्यो सिनेमा चले पनि नचले पनि म फेरि अर्को सिनेमाचाहिँ खेल्दिनँ ।’
मैले केही बेर उसलाई अनपत्यारिलो आँखाले हेरें । हुन त ऊ आकर्षक थिई, राम्री थिई । तर के साँच्चै त्यति ठूलो ब्यानरको सिनेमा पाएकी नै होला त ? मैले सुनेको, पढेको र अलिअलि संगत गरेको आधारमा बम्बैका अधिकांश मानिस, विशेषगरेर सिने नगरीकाहरू महागफाडी हुन्छन् । उनीहरूको भाषामा भन्दा फेँकु । अलिअलि भएको कुरा पनि यति बढाइचढाइ विश्वासिलो हिसाबले गर्न खप्पिस हुन्छन्, सुन्ने मान्छेलाई मन्त्रमुग्ध बनाउँछन् । त्यति मात्र पनि कहाँ हो र, हुँदै नभएको कुरासमेत उनीहरूले सुनाउँदा साँच्चै हो भन्ने विश्वास लाग्छ । बम्बैको पानीमा नै केही अनौठो रसायन छ जसले मानिसलाई त्यस्तो बनाउँछ होला । मलाई ऊ पनि त्यस्तै नै लागी । त्यतिबेला मैले लख काटें, ऊ कुनै भारेभुरे भूमिकामा अनुबन्धित भएकी हुनुपर्छ । नत्र महेश भट्टको सिनेमामा नायिका बन्न लागेकी युवतीले त्यति सहज रूपमा त्यो भन्दैनथिई होला । उसको अनुहारमा त्यसको कुनै उत्साह नै नहुनु भनेको सम्भव कुरा होइन । केही बेर अरू यता उतिका कुरा भए र हाम्रो भेट टुंगियो । ऊ माया नगरी फर्केर गई । केही समयसम्म बेलाबेला उसको सम्झना आउँथ्यो जुन बिस्तारै धमिलो–धमिलो हुँदै अन्ततः मानसपटलबाट बिलायो ।
......
त्यसको करिब वर्ष डेढ वर्षपछि, म यसै टेलिभिजनका च्यानलहरू फेरिरहेको थिएँ । अचानक एउटा च्यानलमा म अडें । नयाँ आउन लागेको कुनै सिनेमाको प्रोमो चल्दै थियो । एउटा सुन्दर पहाडी बस्ती, ठूलाठूला रूखहरू, झरीको मौसम । पछाडि उडिरहेको बाक्लो भुइँ कुहिरो । एउटा मोटो रूखको आडमा कालो लुगा लगाएकी एउटी युवती । उसको एउटा हातमा भ्वायलिन छ । अर्को हातमा भएको बो ऊ भ्वायलिनमा रेटिरहेकी छ । मीठो हुँदाहुँदै पनि मुटु नै छेड्लाजस्तो धुनसँगै एउटा गीतको टुक्रा सुनिन्छ, जसको भावले भन्छ, ‘म तिम्रो मायामा सिंगारिन थालेकी छु...।’
अब उसको अनुहार पनि देखिन्छ, क्लोज अपमा । म झसंग हुन्छु । ऊ त त्यही युवती हो । मालिनी शर्मा । अचानक अन्नपूर्ण होटलमा भएको भेट र कुराकानी सुकिसकेका सम्झनाका पलहरू दुबोमा पानी छर्किए जसरी ताजा र हरियो भएर आउँछन् । सिनेमाका लागि गरिएको मेकअप, प्रकाश संयोजन र लेन्सको अगाडि जोडिएका फिल्टरका कारण केही भिन्न, अझ चम्किलो तर केही अप्राकृतिक रूपमा बाहिरभन्दा अझ बढी सुन्दर पनि देखिइएकी थिई । ‘राज’ भन्ने उक्त चलचित्रका प्रोमोहरू त्यसपछि त धमाधम आउन थाले । साँच्चै त्यसका दुईमध्ये एक नायिका रहिछ मालिनी । उसले मसँग सहज रूपमा भए पनि भएकै कुरा गरेकी रहिछ । तर मैले पत्याएको थिइनँ । धेरै गफाडीको संगत गरिसकेपछि कसैले सत्य बोल्दा पनि विश्वास नलाग्ने हुँदो रहेछ । सबै बम्बैया फेंकु हुँदैन रहेछन् ।
अन्ततः राज प्रदर्शन भयो । त्यो हरर विधाको सिनेमामा मालिनी भूत रहिछ, एउटी प्रेतात्मा । भूत भए पनि सिनेमा हेर्नेहरूको उसप्रति सहानुभूति भयो ।
ऊभन्दा पहिले नै सिनेमामा नाम बनाइसकेकी स्थापित नायिका विपाशा वसुको भन्दा बढी मालिनीको चर्चा हुन थाल्यो । चलचित्र पनि त्यस वर्षको ठूलो हिटमा दरियो । मालिनीले निकै सशक्त अभिनय गरेकी थिई । आम दर्शक त भइहाले, समीक्षकहरूले पनि उसको मुग्ध कण्ठले प्रशंसा गरे । त्यस वर्ष नवनायिकाको लागि दिइने पुरस्कार पनि उसकै पोल्टोमा खस्यो । मालिनी शर्मा रातारात निकै ठूलो स्टार बनिसकेकी थिई । कुनै चलचित्र हिट भएपछि त्यससँग आबद्ध सबैको खोजी बढ्छ, बजार बढ्छ र भाउ पनि बढ्छ । उसलाई पनि अरू सिनेमाका प्रस्तावहरूको ओइरो लागे । तर मालिनीले साँच्चै नै त्यसपछि कुनै सिनेमामा अभिनय गरिन् । बम्बैको मायानगरीको चमकले तानिएर भनिन्छ, हरेक दिन हजारौं युवा युवती आइरहेका हुन्छन् । अवसरहरूको सहर भनिए पनि उपलब्धिका लागि भने उनीहरूले कठिनभन्दा कठिन संघर्ष गर्नुपर्छ । त्यो मानवसागरमा अधिकांश हराउँछन् । वर्षौंको संघर्षपछि पनि निकै थोरैले मात्र उल्लेख्य उपलब्धि हासिल गर्न सक्छन् । मालिनीले पहिलो सिनेमाबाटै पाएको जस्तो सफलताको आशामा अधिकांश त कुनै चाल भनिने अँध्यारो र साँघुरो बस्तीमै निभेर जान्छन् । तर त्यस्तो दुर्लभ सफलतापछि आएका जति सबै प्रस्ताव उसले लत्याइदिई । उसले हात परेको ब्ल्यांक चेक साट्ने रहर देखाइन । बरु खासै नजमेका कुनै एक अभिनेतासँग बिहे गरी भन्ने समाचारहरू आए । त्यो बिहे पनि धेरै नटिकेर सम्बन्धविच्छेद भएपछि भने मालिनी साँच्चै नै चकाचौंधको संसारबाट हराई । हरेक शुक्रबार नयाँ स्टार जन्मिने बम्बैमा उसको खोजीनीति कसले गरिरहोस्, कहिलेसम्म गरिरहोस् । ऊ पत्रिकाका पाना, टीभीका काँच र मानिसहरूको मथिंगलबाट पनि बिस्तारै फुङ्ग उडेर बिलाई । मेरो पनि । तर कहिलेकाहीं अनायास कतै ‘राज’ को त्यो गीत सुनिन्छ,
‘आप के प्यार में हम सँवरने लगे....’
त्यस्तो बेला बादलका भुवाहरू आकाशमा उडेर आए जसरी उसका सम्झनाहरू आउँछन् । मालिनी शर्माले त्यो छोटो भेटमा मलाई भनेको कुरा सम्झिन्छु, ‘बुझ्यौ ? सफलता र असफलता भनेको सब सतही कुराहरू हुन् । आफूले कसरी लिने भन्ने कुरा मात्र हो । यी सबको केही अर्थ छैन । के खुसी हुनका लागि स्टारडम नै चाहिन्छ र ? त्यसका लागि मानिसले आफ्ना अरू हजारौं कुरासँग सम्झौता गर्नुपर्छ । आफूलाई के गर्न मन लागेको छ, त्यही गर्न पायो भने मात्र मान्छे खुसी हुन्छ । मेरा सपनाहरू ठूला छैनन् । खुसी हुनका लागि चाहिने कुरा साह्रै सानातिना हुन सक्छन् । त्यो हामी बिर्सन्छौं ।’
हो मालिनी । तिमीले ठीकै भनेकी थियौ । बाँच्ने भनेकै आफ्ना लागि हो । तर हामीमध्ये कति जनामा त्यसो गर्न सक्ने आँट हुन्छ ? हामी त अरूका लागि बाँचिरहेका हुन्छौं । महत्त्वाकांक्षा र आवश्यकताको झिनो अन्तर बुझ्न नसकेर जीवनपर्यन्त एउटा यस्तो भोकको दौड प्रतियोगितामा सहभागी हुन्छौं, जसको कुनै अन्त्य नै हुँदैन । अनावश्यक ठूला कुराहरूको खोजीमा यसरी भौंतारिन्छौं, आवश्यक साना कुराहरू देख्दा पनि देख्दैनौं । तिमीआज कहाँ, के गरिरहेकी छ्यौ भन्ने मलाई थाहा छैन । कसैलाई पनि थाहा छैन । अरू त कुरै छोड मालिनी, गुगल पनि अन्योलमा रहेछ । तर म आशा गर्छु, जहाँ भए पनि तिमी सायद आफूलाई खुसी लाग्ने कुनै काम गरेर नै बसेकी छ्यौ होला । आफैंसँग सन्तुष्ट भएर आफैंमा रमाएर ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?