क्रिकेट : फेरि फर्किएला 'क्रेज'?

महिला क्रिकेटको सुरुआत गर्ने नेपालगन्ज नै अहिले संकटमा पर्न थालेको छ । ममता र नेरीसहित २००७ को पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालगन्जबाट सात खेलाडी राष्ट्रिय टिममा थिए । त्यस बेला नेरी र महिला क्रिकेटको क्रेज छुट्टै किसिमको थियो ।
सविना कार्की

- मलेसिया, सन् २००७ जुलाई १२ तारिख । नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेको दिन । पहिलो प्रतिद्वन्द्वी थियो थाइल्यान्ड । थाइल्यान्ड र नेपालको मात्र होइन एसोसिएट राष्ट्र सबैको त्यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । नेपालले थाइल्यान्डमाथि सहजै ५५ रनको जित हात पार्‍यो । पहिलो सहभागितामै नेपाल फाइनल पुग्यो । बंगलादेशसँग पराजित भएपछि उपविजेता बनेको नेपाल महिला क्रिकेटमा भविष्य उज्यालो छ भन्ने सन्देश दिन सफल भयो ।

- सन २०१९, सेम्टेम्बर ५ । थाइल्यान्डले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनायो । छनोट खेलमा पपुवा न्युगिनीमाथि सेमिफाइनलमा आठ विकेटको जित हात पारेपछि थाइल्यान्डले अर्को वर्ष आयोजना हुने विश्वकपमा स्थान पक्का गर्दै इतिहास रच्यो ।

मंसिरमा घरेलु मैदानमा हुने दक्षिण एसियाली खेलकुद (साग) खेल्ने टोलीको पहिलो चरणको बन्द प्रशिक्षणमा छन् पहिलो पुस्ताका चार खेलाडी ममता थापा, रीतु कनोजिया, नेरी थापा र सीता रानामगर । टेलिभिजनमा थाइल्यान्डको खेल हेरिरहनुपर्ने बाध्यता थियो उनीहरूसँग । थाइल्यान्ड विश्वकप पुग्दा नेपाली खेलाडी पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने खुसीमै सीमित छन् ।

गौशालाको एक होटलमा यी चार खेलाडीलाई भेट्दा उनीहरूको लगभग एकै मतजस्तो थियो— के हामी हामी थाइल्यान्डभन्दा अघि नै विश्वकप खेल्न सक्षम थिएनौं र ? उनीहरूको प्रश्नको जवाफ कसले दिने ? महिला टिमकी पहिलो कप्तान नेरीले आफूहरूले सहजै हराउने टिम विश्वकप पुगेको देख्दा खुसी हुने कि दुःखी हुने थाहै नभएको बताइन् । छेउमै रहेकी रीतुको अनुहारमा सफलताबाट सुरु भएको यात्राले गन्तव्य भेट्न नसकेको भाव झल्किरहेको थियो । सीताले सुरुआतदेखि नै छनोट खेल पछ्याइरहेकी थिइन् । उनले थाइल्यान्डलाई समर्थन गर्दै सामाजिक सञ्जालमा पोस्टहरू गरिरहिन् । थाइल्यान्ड टिमका धेरै सदस्य आफूसँगै खेलेका साथी भएकाले पनि सीता थाइल्यान्ड विश्वकप पुगोस् भन्ने चाहन्थिन् । भयो पनि त्यस्तै । विश्वकप पुगेपछि थाइल्यान्डलाई बधाई दिँदा उनको मन भने अमिलो भइरहेको थियो ।
‘थाइल्यान्ड विश्वकपमा पुग्यो खुसी भए अनि सँगै खेल हेरिरहेका अरू साथीतिर फर्केर हेर्दा मन खल्लो भयो,’ सीताले थाइल्यान्ड विश्वकपमा पुगेपछि दिएको पहिलो प्रतिक्रिया थियो, ‘हामी थाइल्यान्डभन्दा अघि नै विश्वकप खेल्नुपर्ने टिम हौं । तर हामी त ग्लोबल छनोटमा पुग्न नै संघर्षरत छौं ।’ नेपाल अहिलेसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन । थाइल्यान्डले एसिया छनोटमा नेपाललाई पराजित गरेको थियो ।
नेपालले २००८ देखि २०१२ सम्म तीनपटक एसीसी यू–१९ को उपाधिमाथि ह्याट्रिक गर्‍यो । पत्रकारितामा आउनुअघि खेलाडी हुँदा मलाई पनि कहिल्यै थाइल्यान्ड बलियो टोली लागेन । २००८ मा एसीसी यू–१९ को उपाधि हामीले थाइल्यान्डमै उचाल्दा थाइल्यान्डलाई नै सेमिफाइनलमा ८३ रनले पराजित गरेका थियौं । २५ ओभरको खेलमा जित–हारको यो ठूलो भिन्नता हो । यति बेलासम्म पनि थाइल्यान्ड मैदानभित्र नेपालका सामु कमजोर नै थियो । उसको घरेलु क्रिकेटको लगानीले नेपाललाई धेरै पछाडि छोडिसकेको थियो । २०११ को एसीसी महिला च्याम्पियनसिपमा पहिलो पटक नेपाल थाइल्यान्डसँग सात विकेटले पराजित भयो । त्यसयता अहिलेसम्म नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन ।
सफ्टवल, बेसबललगायत खेलका खेलाडीलाई बटुलेर टिम बनाएको थाइल्यान्डलाई महिला क्रिकेटले विश्वकपमा पुर्‍याएको छ । सहजै थाइल्यान्ड विश्वकपमा पुगेको पनि होइन । उसले महिला क्रिकेटमा विश्वकप खेल्ने सम्भावना देख्यो र त्यहीअुनसारको लगानी र एक्सपोजर दियो । घरेलु मैदानमा लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्दै खेलाडीको क्षमतालाई फर्कने अवसर प्रदान गर्‍यो । वैदेशिक्षक प्रशिक्षण र भ्रमणहरूको निरन्तरताले थाइल्यान्ड नेपाललाई पछि पार्दै बलियो टिमको रूपमा अघि आयो र विश्वकपसम्मको यात्रा तय गर्‍यो । कुनै समय नेपालको पुरुष क्रिकेटभन्दा अघि विश्वकप खेल्ने सपना देखेको दिनलाई सम्झँदै ममताले भनिन्— अब त हाम्रो पहिलो लक्ष्य नै थाइल्यान्डलाई हराउनु हो ।
महिलाले पुरुषभन्दा छिटो विश्वकप खेल्छन् भनेर आफ्नै खर्चमा महिला टोलीलाई २०१० को एसियाली खेलकुदमा पठाएको क्यानका तत्कालीन अध्यक्ष विनयराज पाण्डे सम्झन्छन् । ‘तर, महिला क्रिकेट यसरी खस्केला भनेर कहिल्यै सोचेको थिइनँ,’ पाण्डे भन्छन् । कुनै पनि खेलमा लगानी नतिजामा भर पर्छ । महिला क्रिकेटले उमेर समुहमा तीन उपाधि जितेर प्रमाणित गर्दा पनि उनीहरू ओझेलमै परे । उचाइमा हुँदा त बेवास्ता गरियो अहिले त झन् कसलाई मतलब छ र रीतुको गुनासो छ ।
महिला क्रिकेट सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि नेपालले एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने आँट गरेन । आगामी सागको आयोजक नेपाल रहेको र क्रिकेट समावेश गरिएकाले महिला खेलाडीले आफ्नो मैदानमा खेल्ने अवसर पाएका हुन् । आफन्त र घरेलु समर्थकका अगाडि खेल्न पाउँछौं भन्ने उनीहरूले सोचेका पनि थिएनन् । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्छ भन्ने उनीहरूलाई विश्वास कहिल्यै लागेन । विश्वास दिलाउने काम पनि कतैबाट भएन । नेपाली महिला क्रिकेटमा लगानीका बारेमा यसैले छर्लङ्ग पार्छ । क्रिकेट नै नबुझ्नेले पनि सहजै अनुमान लगाउन सक्छन् ।
महिला क्रिकेटको सुरुआत गर्ने नेपालगन्ज नै अहिले संकटमा पर्न थालेको छ । ममता र नेरीसहित २००७ को पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालगन्जबाट सात खेलाडी राष्ट्रिय टिममा थिए । त्यस बेला नेरी र महिला क्रिकेटको क्रेज छुट्टै किसिमको थियो । धेरै युवती नेरीजस्तै बन्ने सपना बोकेर समाजका बाधा तोड्दै ब्याट र बल बोकेर घरबाट निस्किन्थे । त्यही पुस्ताले अहिलेसम्म महिला क्रिकेट धानेको छ । ‘अहिले त नेपालगन्जमै पनि एक दुई महिना खेल्छन् रहर पुग्छ अनि हराउँछन्,’ ममता र नेरी मलिनो स्वरमा सुनाउँछन् ।

महिला क्रिकेटमा नयाँ खेलाडीलाई आकर्षित गर्ने सरकारसँग कुनै कार्यक्रम छैन । मान्छेहरूले बिस्तारै ममता, सीता, नेरीलाई बिर्सन थालेका छन् । ममता भन्छिन्, ‘कहिलेकाहीं सञ्चारमाध्यममा नाम आउँदा दिदी तपाईंहरू त क्रिकेट खेल्नुहुन्थ्यो रे नि भन्ने सुन्दा मन चसक्क हुन्छ । हामी ‘रे’ मा पुगिसक्यौं तर खेलप्रतिको माया र लगाव किन कम हुँदैन ?’ अगाडिको बाटो अन्योल देख्दा पनि राष्ट्रिय टिमको जर्सीको किन यति धेरै मोह ? उनीहरू आफैंलाई प्रश्न गर्छन् ।
पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षत्री नेपालमा महिला क्रिकेटको सुरुआत गर्नेमध्येका एक हुन् । २००४ मा नेपालगन्जमा पहिलोपटक महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । यही प्रतियोगिताको आधारमा नेपालले राष्ट्रिय टिम तयार गरेर २००७ मा मलेसिया खेल्न पठाएको थियो । क्षत्रीलाई नेपालले पहिलो सहभागितामा प्राप्त गरेको सफलता अहिले पनि अविश्वसनीय लाग्छ । क्षत्री भन्छन्, ‘त्यही बेला महिला क्रिकेटलाई क्यानले छुट्टै समिति बनाएर काम गर्नुपर्थ्यो । समकालीन देशहरूको तुलनामा हामी धेरै राम्रो थियौं । सबै राम्रो भइदिएको भए म दाबीका साथ भन्छु— पुरुषभन्दा महिला क्रिकेटले पहिले विश्वकप खेल्ने थियो ।’
२०१० देखि नेपालमा महिला क्रिकेट आरालो लागेको क्षत्रीको बुझाइ छ । ‘लक्ष्य किटान भएन, दीर्घकालीन योजना कहिल्यै बनेन,’ उनी भन्छन् । स्पष्ट दृष्टिकोणको अभावमा महिला क्रिकेट यो अवस्थामा आइपुगेको उनको विश्लेषण छ ।
जुनसुकै देशले पनि सम्भावना भएको खेलमाथि लगानी गर्छ । थाइल्यान्डले त्यही गर्‍यो । पुरुषभन्दा महिला क्रिकेटले छिटो सफलता हात पार्ने देखेपछि उसले प्रभावकारी योजनाहरू कार्यन्वयन गर्‍यो । चीनले त्यसै गरिरहेको छ । क्षत्री भन्छन्, ‘अब एक दिन चीनले पनि हामीलाई माथ खुवाउँछ । त्यसमा केही अचम्म मान्नुपर्दैन ।’ उनलाई चिन्ता छ कुनै बेला नेरी थापा, रुविना क्षत्री, सरिता मगरजस्ता खेलाडी थिए र नेपालमा महिला क्रिकेट खेलिन्थ्यो भन्ने दिन नआओस् ! भिजनबिनाको नेतृत्व भनेको के हो भनेर कसैले बुझ्न चाहे नेपाली महिला क्रिकेटलाई हेरे पुग्ने क्षत्रीको विश्लेषण छ ।
हाल बन्द प्रशिक्षणमा रहेका ३५ जना खेलाडीमध्ये कसैलाई पनि अबको दुई वर्षपछि हामी कहाँ पुग्छौं भन्ने यकिन छैन । जुनियर खेलाडीले सोध्छन्, ‘हामी घरबाट सहयोग मागेर कहिलेसम्म खेल्ने ?’ सिनियर खेलाडीसँग यसको जवाफ छैन । उनीहरू आफैंले यो प्रश्नको जवाफ अहिलेसम्म पाएका छैनन् । यो बीचमा धेरै खेलाडी पलायन भइसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षदेखि निलम्बनमा रहेको असर सबैभन्दा धेरै महिला खेलाडी नै छ ।
१२ वर्षमा खोलो फर्किन्छ भन्ने भनाइ छ । महिला क्रिकेटरले पनि आफ्नो भूमिमा खेल्न १२ वर्ष नै कुर्नुपर्‍यो । सागमा खेल्ने सबै खेलाडीको लक्ष्य स्वर्ण पदक हो । महिला क्रिकेटरको लक्ष्य पदकसँगै अस्तत्विको लडाइँ पनि हो । उनीहरू देखाउन चाहन्छन् देशमा महिला क्रिकेट छ र यो टिम विश्वकप खेल्न सक्षम छ । हामीमाथि लगानी गर्ने हो भने खेर जाँदैन भन्न चाहन्छन् उनीहरू ।
महिला टिमकी कप्तान रुविना श्रत्रीले साग प्रशिक्षणकै क्रममा भनेकी थिइन्, ‘महिला क्रिकेट खेलाडीलाई पनि ब्रान्ड एम्बास्डर बनाउँदा हुन्छ, तपाईंको व्यवसाय घाटामा जाँदैन ।’ तापनि उनीहरूले कहिल्यै पुरुष खेलाडीसँग आफूहरूको तुलना गरेनन् । पुरुष टिम पनि धेरै संघर्ष गर्दै आजको स्थानसम्म आइपुगेको छ । यो टिमका आफ्नै समस्या छन् । पुरुष क्रिकेटलाई जति हेरचाह गरिन्छ अलिकति महिला क्रिकेटलाई पनि गरिदिए खेल्ने प्रेरणा मिल्ने थियो ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

यात्रानुभूति : हिरोसिमामा खसेको आँसु

यात्रानुभूति
घनश्याम खड्का

मलाई थाहा छैन तेस्रो विश्वयुद्ध कस्तो हतियारले लडिन्छ, तर चौथो विश्वयुद्धचाहिँ निश्चय नै लाठा र ढुंगामुढाहरूबाट लडिनेछ  । –आइन्सटाइन हिरोसिमाको शान्ति स्मारकमा गत साता पुगेपछि मलाई आइन्सटाइनको ज्यादै सम्झना हुन गयो  ।

परमाणु बमको सूत्र पत्ता लगाउने यस शताब्दीका यी महान् वैज्ञानिकलाई हिरोसिमा र नागासाकीमा भएको परमाणु अस्त्रको प्रयोगले अतिशय पछुतो भएको थियो किनभने उनले नै त्यतिबेलाका अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजबेल्टलाई यस्तो हतियार बनाउन सहमति दिएका थिए ।

अणु बमको विनाशकारी प्रयोगपछि हिरोसिमा र नागासाकी निमेषमै खरानीमा परिणात भएको थियो । यो देखेपछि आइन्सटाइनले आणविक बम बनाइयोस् भनी रुजबेल्टलाई लेखेको पत्रमा गरेको हस्ताक्षर आफ्नो जीवनको महाभूल भनेका थिए, जसलाई न्युयोर्क टाइम्सले १९ अगस्ट १९४६ को अंकमा छापेको छ । तेस्रो विश्वयुद्धमा आणविक अस्त्रको प्रयोग निश्चय नै हुने र त्यसले मानव सभ्यतालाई नामेट पार्ने भय देखेपछि आइन्सटाइन चौथो विश्वयुद्ध (मान्छे बाँचे भने) चाहिँ आदिम युगमा झैं लाठा र ढुंगामुढाले लड्नुपर्ने अवस्था आउने निष्कर्षमा पुगेका थिए ।


स्कुले विद्यार्थी छँदै सुनेको उनको उपरोक्त वचनको मर्म त्यस क्षण बढी प्रस्टसँग खुलेजस्तो भएको थियो । सन् १९४५ को अगस्ट ६ मा जापानको हिरोसिमामा खसेको ‘लिटल ब्वाई’ र त्यसको तीन दिनपछि नागासाकी सहरमा खसेको ‘फ्याट म्यान’ ले दोस्रो विश्वयुद्धको अन्त त गरायो, तर त्यस घातक आणविक हमलाले मान्छेको मनमा पारेको घाउ अनि उमारेको डर भने अहिले पनि उस्तै छ, शान्ति स्मारकको अवलोकन गरेपछि यस्तै लाग्छ ।


अणु बमको दुस्प्रभाव कतिसम्म पर्दोरहेछ भन्ने तथ्यलाई स्मारकले सकेसम्म सम्प्रेष्य हुने गरी तस्बिर र भग्नावशेषहरू राखेर देखाउन खोजेको छ । हिरोसिमाभन्दा ३ सय मिटरमाथिको आकाशमा खसेको बमले त्यस सुन्दर सहरलाई केही मिनेटमै बलिरहेको आगाको डल्लोमा परिणत गरिदियो जसका कारण एक लाख ४२ हजार मानिसको ज्यान गयो ।


स्मारक छिर्नुअघि भित्तामा मानिसहरू मुस्कुराइरहेको, सडकमा मोटरहरू गुडिरहेको र बच्चाहरू मुस्कुराइरहेका तस्बिर छन् । बम खस्नु ठीकअघिको हिरोसिमा हो यो । त्यसपछि ढोकामा बडेमानको चित्र छ घडीको जसमा बिहानको आठ बजेर १५ मिनेट पुगेपछि समय रोक्किएको छ । यही क्षण त हो संसारको पहिलो आणविक बम विस्फोट भएको । त्यसपछि हिरोसिमाका मानिसहरूमा के गुज्य्रो होला ? त्यसको ठीकठीक वर्णन त जति नै गरे पनि सम्भव छैन । र पनि, त्यस नारकीय समयले दिएको त्रासदी र अवर्णनीय पीडाको सानो झल्को दिने वस्तुहरू भित्र छन्, आउनुस् भित्र जाऊँ एक क्षण ।


ठूलो हलको माझमा एउटा उभिएको चम्किलो विद्युतीय मण्डल तपाईं देखिरहनुभएको छ ? यो हो त्यस क्षणको शान्त हिरोसिमा । अब हेर्नुस्, आकाशमा केही उड्दै आइरहेको छ । त्यो तीव्र गतिमा सहरतिर नजिकिँदै छ । केही क्षणमा त्यसले कुनै चम्किलो वस्तु आफूबाट झार्‍यो । भुइँमा खस्न नपाउँदै त्यो हजार सूर्यको तेज निकाले जसरी विस्फोट भयो । अहो, पूरै सहरलाई आगाको लप्काले ढाक्यो अब ! आगाको विशाल रोटी लाखौं टाउकामाथि एकैपटक बस्न आयो भने कस्तो होला ? निश्चय नै, जीउबाट मासु पग्लिएर खस्न थाल्छ, रगत नसामै सुक्छ र मान्छे क्षणमै खरानी हुन्छ । अहो, कस्तो भयानक !


यी हेर्न्स्,ु पारदर्शी कक्षहरूमा राखिएका पग्लिएका फलाम र सिसाका आकारहीन डल्लाहरू । यी वस्तु त्यस बेला पग्लिएका धातुहरू हुन् । यहाँ भित्तामा टाँसिएको चित्रभित्र नदीमा लाखौंलाख मान्छे पसिरहेको देख्नुहुन्छ ? जीउ पग्लिन थालेपछि चिसोको खोजीमा जाने ठाउँ नै सहरको बीचमा भएको त्यही एक नदी त थियो नि ! कठै, नदी भने आफैं छट्पटिएर उम्लिरहेको र बाफ बनेर उडिरहेको थियो । तीन हजार डिग्री सेल्सियसको त्यो तातोमा शीतल कुरा कहाँ थियो र !

कक्षामा भर्खरै पसेका केटाकेटीहरू भवनसहितै पग्लिए, एउटा बालकले आफ्नो दसौं जन्मदिवसका दिन पाएको साइकल पग्लिँदा पग्लिँदै पनि काखी च्यापेर बसिरह्यो । त्यो खिइन बाँकी साइलकजस्तो फलामलाई तपाईं पग्लिरहेका मान्छेको चित्र मुन्तिर देख्न सक्नुहुन्छ । तस्बिरहरू मुन्तिरको प्रदर्शनीमा आगाको रापले डढेका बालकहरूका केही टुक्रा लुगा पनि देख्न सक्नुहुन्छ । बम खसेको ठाउँको पाँच किलोमिटरको वृत्तमा सबै मानिस यसरी नै पग्लिए र जमिनमा पछारिन नपाउँदै ती ज्वालामुखी फुटेर बगिरहेको लाभाजस्ता राता खरानी बनेर जमिनमा फिँजिए ।

पाँच किलोमिटरभन्दा परतिरचाहिँ मानिसहरू पग्लिहालेनन्, जले मात्रै । घाइते भए र बाटामा लडे । तिनको शरीरबाट मासु पोल्दा आउने अनौठो गन्ध आउन थाल्यो र पूरै सहरमा त्यो व्याप्त भयो । दुई दिनसम्म यसरी हिरोसिमा जलिरह्यो अनि बिस्तारै त्यो कालो कोइलामा परिणत भयो ।

हेर्दाहेर्दै हिरोसिमा कहिल्यै बस्ती नै नभएको ठाउँजस्तो निर्जन र खण्डहर भयो । त्यसै क्षण जलेका ७० हजार मानिसका खरानीमाथि कैयौं दिन छटपटिएका हजारौं मानिसले त्यस दग्ध जीउको पीडाबाट विश्राम लिए र आधा जलेको मुढोजसरी पसारिए । सहरको कुनाकुनामा चाहिँ घाइतेहरू र भोकले रन्थनिएकाहरू शोकको अतिरेकमा पानीको खोजीमा लागे ।

त्यसैबेला, ऊ हेर्नुस् चित्रमा, भयंकर वर्षा भयो ! तर, पानी कालो थियो, ठूलठूला थोप्लाहरू भएको । घाइतेहरूले जिब्रो निकाले, त्यस अनौठो कालो पानीको केही थोपाबाट अलिकति भए पनि तिर्खा मेट्न खोजे । तिनलाई त्यस बेला यो युरेनियमको वर्षा हो, त्यसबाट जोगिनुपर्छ भनेर सम्झाउने को थियो र !


त्यस कालो वर्षाले बाँच्नेहरूको जीउमा हजार नर्कहरूको पीडा छाडेर गयो । त्यसपछिका हरेक दिन, हप्ता, महिना र वर्षहरूमा मानिसहरूको जीउमा क्यान्सर देखिन थाल्यो, फुतुफुतु हरेक दिन कोही न कोही मर्न थाल्यो । असह्य पीडाले कतिपयले आत्महत्या गरे । कतिपयले त्यति पनि गर्न नसक्ने अवस्थमा आफूलाई घिसारिरहन बाध्य भए । एउटा बूढो मानिसको चित्रसहितको कथा लौ पढ्नुहोस् जो २१ पटक क्यान्सर लागेर ९३ वर्षको उमेरमा काल पर्खेर बसिरहेको छ ।


‘सबैलाई आउने काल मलाईचाहिँ किन आउँदैन,’ बूढाको एउटै अभिलाषा रहेछ, ‘यसरी बाँचिरहनुभन्दा त त्यसै क्षण मरेको भए हुने, किन मरिनँ होला म ?’


क्यान्सरपीडित हिरोसिमाका मानिसका यस्ता कथा त कति हुन् कति ! अझ दुःखलाग्दो स्थिति त त्यस क्षण गर्भिणी भएका महिलाको छ जसले सग्लो बालक जन्माउनै सकेनन् । यी भित्तामा हेनुस्, एउटी आमाको मुस्कुराइरहेको तस्बिर । उनी बम प्रहार हुँदा हिरोसिमाको एउटा गाउँमा गर्भिणी जीवन बिताइरहेकी थिइन् ।

हावा, पानी र माटो गरी सबै महाभूतहरूमा फैलिएको युरेनियम उनको जीउ, फोक्सो र रगतमा मात्रै होइन, पेटमा हुर्किरहेको छोराको जीउमा पनि मिसिन पुग्यो । परिणामतः बालक मन्दबुद्धिको जन्मियो जसको स्याहारमा ती महिलाको पूरा जीवन खर्च भयो । धेरै वर्षपछि, रेडियमको विकिरणले दिएको असह्य पीडाले उनको छोराको ज्यान लियो । छोरो बितेको दुई महिनामा आमाले पनि चोला बदलिन् । छोराकै मायाले उनलाई विकिरणले ल्याएको क्यान्सरले पनि मार्न सकेको थिएन । अहो मातृ शक्ति !


आणविक बमपछि कष्टकर जीवन बाँचिरहेका एक–एक मान्छेका तस्बिर र कथाहरू शान्ति स्मारकका निर्देशकले भन्दै गर्दा मेरा आँखा बर्सिरहे । संयमित हुन खोज्दाखोज्दै पनि हरेक मान्छेलाई त्यहाँ पुगेपछि भक्कानो छाडेर रुन मन लाग्दो रहेछ ।


‘हामीले भोगेको पीडा कुनै पनि भाषामा भन्न सकिने कुरा होइन, न सम्पूर्ण रूपमा शब्दले यसलाई बुझाउन सक्छ,’ त्यस आणविक हमलामा बाँच्ने थोरैमध्येकी एक केइको ओगुरा भन्दै थिइन्, ‘आज पौने सय वर्षपछि तस्बिरमा हेर्दा त तपाईं यसरी रुनुभयो, हामी त्यसै क्षणमा यो नरक भोग्नेलाई कस्तो भयो होला ?’


बयासी वर्षीया ओगुराले त्यस क्षणलाई सम्झिरहँदा सिंगो स्मारकले देखाउन खोजेको समयको तस्बिर थप प्रस्ट हुँदै गएजस्तो अनुभव हुन्थ्यो । बम हमला हुँदा आठ वर्षकी उनी त्यस दिन स्कुल गएकी भए अरू साथीसँगै खरानी हुने रहिछन् । केही दिनदेखि आकाशमा अनौठोसँग घुमिरहेको अमेरिकन जहाजलाई देखेर त्यस क्षण उनका बाबुले ओगुरालाई भनेका रहेछन्, ‘आज स्कुल नजाऊ, पक्कै केही अनिष्ट हुनेवाला छ ।’


त्यस भयानक क्षणको पूर्वाभास पाएर हो वा किन हो, केही दिनअघि नै उनका बाबुले सहरभन्दा पर बसाइ सारिेसकेका थिए ।
‘त्यहाँ नसरेको भए त स्कुल नगए पनि म मर्ने रहिछु नि,’ ओगुरा भन्छिन्, ‘धन्न, संयोगले हामी बाँच्यौं, हाम्रो परिवारलाई नै केही भएन ।’


ओगुरालाई झैं बमले सीधासीधा क्षति नपुर्‍याएका ‘भाग्यमानी’ हिरोसिमावासीलाई पछि बिहा गर्न गाह्रो हुन थाल्यो । बम खसेको सहरको मानिस भनेपछि बोल्नसमेत पनि तर्किनेहरू भए । यसले गर्दा ओगुरा आफ्नो गोप्यता भंग नहोस् भनेर चालीस वर्षको उमेरसम्म चुप लागिन् । बिहा गरिन् र घर व्यवहार सम्हालेर जीवनको गुप्त घाउलाई कसैले नदेख्ने गरी सम्हालेर राखिन् । उनको पहिलो सन्तान मृत जन्मियो ।


‘मेरा आँखा हतपत त्यस मरेको बालकका औंलाहरूमा गयो,’ ओगुरा भन्छिन्, ‘उसका औंला दसका दस थिए, त्यो देख्दा मलाई केही खुसी पनि लाग्यो ।’


युरेनियमको प्रभावका कारण बच्चाहरूको औंला ६ वटा हुने र शारीरिक रूपले पनि अस्वस्थ देखिने बेला थियो त्यो । आफ्नो छोरा मरे पनि सबलाङ्गै भएको कुराले उनलाई राहत दियो । त्यसपछि उनले सग्लो छोरा जन्माइन् । केही वर्षपछि पति बिते ।

‘त्यसपछि भने मलाई पीडा सहेर होइन, भनेर ठीक पार्नुपर्छ भन्ने लाग्यो, अनि म आफ्ना कुरा भन्नतिर लागेँ ।’


त्यसपछि उनले अंग्रेजी सिकिन्, आफ्नो कुरा संसारलाई भन्न थालिन् । अमेरिका, युरोप सबैतिर पुगेर उनले दोस्रो युद्धको समयमा भएको ज्यादतीबारे बोलिन् । ‘हिरोसिमा इन्टरप्रेटर्स फर पिस’ भन्ने संगठन स्थापना गरेर त्यसको निर्देशकका रूपमा उनी तीन दशकदेखि यसबारे बोल्दै आइरहेकी छन् । संसारमा आणविक निशस्त्रीकरण कति जरुरी छ भनेर मानिसहरूलाई थाहा दिन जरुरी भएकाले आफू लागिपरेको उनी बताउँछिन् ।


हिरोसिमामा युरेनियमबाट बनेको अणु बम खसालिएको थियो जसले पूरै सहरलाई ध्वस्त पार्‍यो । त्योभन्दा पनि शक्तिशाली प्लेटोनियम बम नागासाकीमा खसालियो लगत्तै । हिरोसिमामा झैं सहरको मध्यभागमा त्यो बम खसालिएको भए लाखौं मानिस त्यसले मार्ने थियो तत्क्षणै । तर, निर्जन पहाडमा खसाल्दा पनि त्यसले ४० हजारको ज्यान लियो । दोस्रो बम ज्यादा शक्तिशाली भएको पुष्टि भएपछि आज संसारैभर प्लेटोनियमयुक्त आणविक हतियार बनाउने होड चलेको छ ।


स्टक होम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया गरी ९ देशसँग जम्मा गरी हाल विश्वमा १३ हजार ८ सय ९० आणविक हतियार छन् ।


‘यी प्रत्येक हतियार हिरोसिमा र नागासाकीमा खसालिएका हतियारभन्दा कैयौं गुणा शक्तिशाली भएकाले पृथ्वीलाई नै ध्वस्त पार्न सक्ने क्षमताका छन्,’ ओगुरा भन्छिन्, ‘त्यसो हुनाले यी हतियारलाई नास गर्नुपर्छ, जसरी पनि आणविक युद्धबाट संसारलाई जोगाउनुपर्छ, त्यसैले म यो बूढो उमेरमा पनि बोलिरहेको छु ।’


इतिहासबाट सिक्नुपर्छ र हिरोसिमाबाट शान्ति कति आवश्यक कुरा रहेछ भन्ने थाहा पाउनुपर्छ भन्ने उनको आवाजमा अचम्मको आग्रह छ समग्र मानव समुदायप्रति । आणविक हमलाको यो अत्यासलाग्दो इतिहास साक्षात्कार गरेपछि र ओगुराको कथा सुनिसकेपछि स्मारकबाट बाहिर निक्लँदा आँखामा डिजिटल घडीजस्तो एउटा स्तम्भ देखा पर्छ जसको माथिल्लो स्क्रिनमा हिरोसिमामा बम आक्रमण भएको दिन गन्ती भएको अंक र तल्लो स्क्रिनमा आणविक हतियारको पछिल्लो परीक्षण भएयताको दिनको गन्ती अंकित छ ।


म त्यहाँ पुगेको गत ६ सेप्टेम्बरका दिन हिरोसिमामा बम खसेको २७ हजार ६० दिन पुगेको रहेछ अनि पछिल्लो आणविक परीक्षणचाहिँ २ सय ६ दिनअघि भएको रहेछ । त्यस स्तम्भको छेवैमा हिरोसिमाका मेयर मात्युई काजुमीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै लेखेको पत्र सिंगमर्मरको प्लेटमा राखिएको छ जसमा उनले संयुक्त राज्यले गत फेब्रुअरीको १३ तारिखका दिन गरेको आणविक बम परीक्षणको विरोध गरिएको छ ।


हिरोसिमामा आणविक बम प्रहारले गर्दा भएको क्षतिलाई बुझेर यस्ता हतियारको थप उत्पादन नगर्न ट्रम्पका नाममा लेखिएका यो पत्रभन्दा पूर्वतिर ज्यान गुमाएका सबै नागरिकको समाधिस्थलमाथि अविच्छिन्न बलिरहने आगाको लप्का छ । संसार आणविक अस्त्रबाट मुक्त भएका दिन मात्रै यो ज्योतिलाई निभाउने जापानको योजना सुन्दा शान्तिको एक मौन तर सबभन्दा प्रस्ट पुकार सुनेझैं लाग्छ ।


हरेक वर्ष दस लाखको हाराहारीमा संसारभरबाट हिरोसिमाको यो स्मारकमा आउनेहरू इतिहासको त्यो क्षणलाई सम्झाउने प्रमाण र प्रयत्नहरूबाट गुज्रँदै ओगुराको कथा सुनेर त्यस समाधिस्थलसम्म आइपुग्दा त्यसै क्षण संसारमा आणविक हतियार नष्ट भइदिए हुन्थ्यो भन्ने कामना गर्ने अवस्थामा स्वतः पुग्छ ।

सन् २०१६ को मे २७ का दिन बाराक ओबामाले हिरोसिमा भ्रमण गरे । अणु बम खसेको ठाउँमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा उनले त्यहाँ हिरोसिमाबाट सिक्नुपर्छ भन्ने एक भावुक मन्तव्य पनि दिए । तर, अमेरिकाले औपचारिक रूपमा माफी माग्छ भन्ने जापानीहरूको आशा भने त्यस बेला पनि पूरा भएन ।


‘ओबामा त्यहाँ आउने हिम्मत गर्नु नै माफी मागेभन्दा ठूलो कुरा हो,’ ओगुरा भन्छिन्, ‘उहिले कहाँ कसको गल्ती थियो भनेर केलाई बसिरह्यो भने झगडै मात्रै भइरहने हुनाले सबै कुरा बिर्सेर एक–अर्कालाई अँगालो हाल्न सकेकै राम्रो हो । त्यसैले म अमेरिकालाई दोष दिन्नँ, जापानले गरेको गल्तीलाई कोरिया र चीनले पनि यसैगरी माफी दिए हुन्थ्यो भन्ने चाहन्छु ।’


यत्रो विध्वंसका बाबजुद ओगुराको शान्त वाणी अनि संयमित भाव देख्दा उनप्रतिको श्रद्धा त्यसै त्यसै चुलिएर आउँदोरहेछ । ओगुराजस्ता क्षमाशील हृदय भएका जापानी जनताले दिनरात पसिना बगाएर खण्डहर हिरोसिमालाई त्यहाँ कहिल्यै केही भएकै थिएन जस्तो विकास र समृद्धिले चिटिक्क पारेका छन् । हिरोसिमाले शान्तिको कामना त गरेको छ नै, बितेको सबै कुरा बिर्सेर आउने दिनलाई रामो पार्न अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्