अनपेक्षित मोडहरू

राजु घिसिङ

नेपाली फुटबल टिमको प्रदर्शन निरन्तर एक रूपको छैन । त्यसैले अनपेक्षित नतिजा आइरहेको छ । जसले खेलाडीको कौशलमा विश्वास गर्नेभन्दा बढी शंका गर्ने ठाउँ दिएको छ ।

अनपेक्षित मोडहरू

खाखाडी मुलुक कुवेत सन् १९८० को एसियन कप फुटबल च्याम्पियन हो । त्यही वर्ष कुवेत गृष्मकालीन ओलम्पिकमा क्वाटरफाइनलसम्म पुगेको थियो । उसले स्पेनमा १९८२ मा भएको विश्वकप पनि खेल्यो, जुन विश्व फुटबलको महाकुम्भको उसको पहिलो र हालसम्मकै एक मात्र उपस्थिति हो । त्यस बेला एसियाली फुटबलको शक्ति रहेको कुवेतले विश्वकपमा एन्टोनिन पानेन्काको चेकोस्लोभाकिया, मिसेल प्लाटिनी नेतृत्वको फ्रान्स र पिटर सिल्टनको इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उसले स्प्नेी भूमिमा तीनै खेल हार्‍यो । विश्वकपमा त्यस्ता ठूला टिमविरुद्धको खेलले पनि ठूलै महत्त्व राख्छ । र, उसले शिरै निहुराउनुपर्ने गरी गोल खाएको पनि थिएन ।
कुवेती टिम स्पेनबाट फर्केको चार महिनापछि एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नयाँ दिल्ली आइपुग्यो । त्यस बेला एसियाडमा पनि सिनियर राष्ट्रिय टिम सहभागी हुन्थ्यो । दिल्ली एसियाड नेपाली टिमको लागि औपचारिक प्रतियोगिताको रूपमा पहिलो नै थियो । नोभेम्बर, १९८२ को त्यो खेलमा कुवेतले नेपाललाई ३–१ ले हरायो । वाईबी घले नेपालको पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता बने । एसियाली फुटबलमा तहल्का मच्चाइरहेको र भर्खरै विश्वकप खेलेर फर्किएको टिमलाई अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पाइला राखेको नेपालले तीन गोलमै रोक्नु असाधारणजस्तै थियो । त्यसमा नेपालका प्रदर्शनको सर्वत्र प्रशंसा भयो ।
दिल्ली भेटको ३७ वर्षपछि नेपालले कुवेतविरुद्ध विश्वकप २०२२ छनोटमा ७–० को हार बेहोर्‍यो । सन् १९८० को दशक र यस बेलाको कुवेती टिममा ठूलै भिन्नता छ । अन्तर्राष्ट्रिय फुटबलमा दुई वर्षको प्रतिबन्धपछि २०१७ को अन्त्यतिर मैदानमा फर्किएको कुवेती टिम महादेसीय शक्तिमा पर्दैन । उसका खेलाडी पनि नाम चलेका वा ठूला स्टार होइनन् । बल्ल बलियो टिम बनाउनका लागि लगानी थालेको सुरुआती टिम हो कुवेत । उसलाई गत मार्चमा कुवेत सिटमी भएका दुई मैत्रीपूर्ण खेलमा नेपालले पहिलोमा ०–० मा खेलेको थियो भने दोस्रोमा पेनाल्टीमा गोलमा १–० ले हारेको थियो । त्यसैले अघिल्लो साता विश्वकप २०२२ छनोटको पहिलो खेलमा बेहोरेको सात गालको हार अनपेक्षित नै थियो ।
नेपालभन्दा फिफा वरीयतामा १० स्थानमाथिको टिम हो कुवेत । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले त्यो वरीयताभन्दा कुवेत स्तरीय टिम भएको बताएका थिए । तर, नेपाललाई सात गोल हान्ने स्तरको टिम भने होइन कुवेत । हुन त क्रोएसियाली प्लेमेकर ल्युका मोडरिचलाई एकेडेमीमा सिकाएका प्रशिक्षक रोमियो जोज्याकले सम्हालेको कुवेतले दुई महिनाअघि साउदी अरेबियालाई पनि वेस्ट एसियन च्याम्पियनसिपमा पराजित गरेको थियो । तैपनि यो विश्वकप छनोटको कुवेती टिममा मार्चमा नेपालसँग दुई मैत्रीपूर्ण खेलमा मैदानमा ओर्लिएका खोलडीकै वर्चस्व थियो । नेपाली टिम पनि तिनै खेलाडीहरूले भरिएको थियो । त्यसैले नेपालले कुवेतलाई पराजित गर्नेभन्दा पनि त्यो ‘अवे’ खेमला अंक खोस्न सक्ने आशासम्म गरिएको थियो । यस्तोमा ठूलो अन्तरको हार, त्यो पनि ५–७ गोलको त कल्पना गर्ने कुरा नै भएन । तर, त्यस्तै अविश्वसनीय नतिजा निस्कियो ।
गत मार्चमा नेपाली टिम सम्हाल्न आइपुगेका स्विडिस प्रशिक्षक योहान कालिनको टिमले यो विश्वकप छनोटअघि चार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा २ हार र २ बराबरी नतिजा थियो । मलेसियाविरुद्ध २–० ले हारेको खेलमा नेपालले सुरुमै १० मिनेटभित्र घरेलु टिमलाई दुई गोल गर्न दिएको थियो । त्यो १० मिनेटलाई कालिनले आफ्नो करिअरकै सबभन्दा खराब भनेका थिए । त्यसो भए कुवेतविरुद्ध ७–० को हारलाई के मान्ने ? सातै गोल घरेलु टिमकै मिहिनेतले मात्रै सम्भव भएको थिएन, सबैमा पाहुना खेलाडीको उत्तिकै गल्ती रहेको थियो । सातै गोल नेपाली खेलाडीको गल्तीमा भएका थिए । कुवेती खेलाडीले नेपाली पेनाल्टी क्षेत्रभित्रैबाट पनि खुलेरै बल प्रहार गर्ने अवसर पाइरहेका थिए । दुई मैत्रीपूर्ण खेलमा उनीहरूले त्यस्तै अवसर दुर्लभै पाएका थिए । त्यसको पाँच दिनभित्रै नेपालले चाइनिज ताइपेईविरुद्ध भने नेपालले २–० को जित हात पार्‍यो, जुन विश्वकप छनोटमा नेपालको पहिलो ‘अवे’ जित हो । कुवेतमा त्यस्तो विरक्त लाग्दो प्रदर्शनपछि नेपाली टिमबाट ताइपेई सहरमा वरीयतामा ४१ स्थानमाथिको टिमविरुद्ध तीन अंक अपेक्षाभन्दा बाहिरको उपलब्धि हो । हुन त नेपालले गत जुनमा उसैको भूमिमा ताइपेईविरुद्ध मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको थियो । तर, कुवेतविरुद्ध पछिल्लो प्रदर्शनले पुराना यादगार नतिजाहरूलाई पनि बिर्साइदिएको थियो । छनोटमा नेपालविरुद्ध अस्ट्रेलिया र जोर्डनले कति गोल गर्छन् भन्ने अनुमान नै हुन थाल्यो । कुवेत र ताइपेईविरुद्ध रक्षापंक्तिमा नेपाली खेलाडीले गरेको प्रदर्शन बिल्कुलै फरक छ, आकाश–जमिनजस्तै । कुवेती खेलाडीले पूरा खेलभरि नै खुला रूपमा नेपाली पोस्टमा खुलेरै आक्रमण गर्ने अवसर पाएका थिए । ताइपेईविरुद्ध पूरा खेलमा उसका अग्रपंक्तिका खेलाडीलाई नेपाली टिमले कडा निगरानीमा राखेको थियो । त्यसैले ताइपेईका खेलाडीहरूले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि पोस्टमा प्रहार गर्ने बेला खुला र सहज अवसर पाएका थिएनन् । अञ्जन विष्टले दुई गोल गरिसकेपछि फरवार्ड विमल घर्तीमगरले आफ्नो अगाडि गोलकिपर मात्रै रहेको अवस्थामा दुईपल्ट पाएको अवसरमा दुईपल्टै बल अगाडि नबढाई पछाडितिर घुमाएको दृश्यले फुटबलप्रेमीलाई निराश पारेको थियो ।
प्रशिक्षक कालिनले कुवेती टिमको रणनीति अध्ययन गरेर जुन तरिकाले उसले आक्रमण गर्छ त्यसलाई विफल पार्नको लागि उस्तै रक्षात्मक योजनाहरूलाई सातदोबाटोमा भएको ट्रेनिङमा निरन्तर अभ्यास गराएका थिए । तर, ती अभ्यास कुवेतमा काम लागेन । उनले कुवेतविरुद्धको टिममा तीन खोलडी परिवर्तन गर्दै ताइपेईविरुद्ध नेपाली टिमलाई उतारेका थिए । तैपनि ताइपेईका अग्रपंक्तिका खेलाडीलाई कुवेतीलाई जस्तै खुलमखुला छाडेको भए फेरि नतिजा उस्तै हुन सक्थ्यो । उता ताइपेईमा जस्तै सबैले मिहिनेत गरेर विपक्षीलाई निगरानीमा राखेको भए कुवेतविरुद्ध सात गोल बेहोर्नुपर्ने थिएन । त्यो पनि पहिलो हाफमा दुई गोल भएको थियो भने दोस्रोमा ५ गोल ।
पछिल्लो दशक नेपाली फुटबललाई ‘म्याच फिक्सिङ’ काण्डले पनि छोप्यो । नेपालको खेलको फिक्सिङ विशेषतः बेटिङ (सट्टेबाजी) का लागि भएको अन्तर्राष्ट्रिय जगत्मा भएका अनुसन्धानले देखाएको छ । बेटिङमा नेपालका पछिल्ला दुई खेलको ‘बोली’ पनि सामन्य छैन । वरीयतामा १० स्थानमाथिको कुवेतविरुद्ध बराबरी नतिजाको लागि ५.८२ देखि १० सम्म बोली दिइएको थियो । कुवेतको जितमा १.०४ देखि १.१५ र नेपालको जितको लागि १२.६४ देखि ७१ सम्म । नेपाली टिमको पक्षमा यति उच्च भाउ दिनुको अर्थ नेपालको सम्भावना अत्यन्तै न्यून वा असम्भव भनेजस्तै हो । जबकि मैत्रीपूर्ण खेलमा बराबरी र एक गोलको मात्रै फरक थियो ।
नेपालको अर्को खेल ४१ स्थानमाथिको टिमविरुद्ध थियो । त्यसमा ताइपेईको जितलाई १.४४ देखि १.५२ सम्म, बराबरीलाई ३.५७ देखि ४.२० सम्म र नेपालको जितका लागि ४.२० देखि ७ सम्म भाउ दिइएको थियो । वरीयतामा यति ठूलो अन्तरको बाबजुद पनि नेपालको पक्षमा बाजी राख्ने यति भाउ पाउनु भनेको नेपालको सम्भावना कम छैन भन्ने नै हो । जबकि विश्व वरीयतामा तेस्रो स्थानको फ्रान्स र १३६ औंमा रहेको एन्डोराको युरो २०२० को खेलमा फ्रान्सको पक्षमा १.०१ देखि १.००५ सम्म, बराबरीलाई २१.२५ देखि ४१ सम्म र एन्डोरको जितका लागि ३२.७५ देखि ६७ सम्म भाउ तोकिएको थियो । त्यो खेल फ्रान्सले ३–० ले जित्यो र त्यो खेल फ्रान्समै भएको थियो । यस्तोमा घरेलु मैदानले पनि बेटिङलाई प्रभावित पार्छ । तर, नेपालले दुवै खेल विपक्षी टिमको मैदानमा खेलेको थियो ।
फिक्सिङ काण्डमा नेपालका तत्कालीन कप्तानसहित पाँच खेलाडी र एक फिजियोलाई चार वर्षअघि एसियाली फुटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको थियो । नेपाल प्रहरीको कारबाही सूचीमा तीन दर्जनभन्दा बढी खेलाडीको नाम थियो । त्यसयता नेपाली टिमका अनपेक्षित नतिजालाई शंकाको दृष्टिले हेरिन्छ । विश्व विख्यात फिक्सर पेरुमलको किताबमै पनि नेपाली राष्ट्रिय टिमको फिक्सिङ गरिएको खेलबारे उल्लेख छ । फिक्सरहरूको काठमाडौं यात्रा र ‘पशुपतिनाथको कसम’ पनि कम रोचक छैन । कुवेतविरुद्धको हारपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीलाई सोधेका थिए, ‘के हो त्यस्तो प्रदर्शन ? टिममा पुरानै रोग अझै छ ?’ यस्ता प्रश्न फुटबलप्रेमीको मन कटक्क पार्छ ।
बेटिङ कम्पनीहरूले आफ्नो बजार नभएको क्षेत्रमा त्यतिकै लगानी गर्दैनन् । नेपालको उमेर समूहको खेलमा बेटिङ कम्पनीहरूले गरिरहेको लगानी र तथ्यांक खरिद गर्न देखाइरहेको चाहनाले पनि केही भइरहेको छ भन्ने संकेत गर्छ । मैदान भित्र वा बाहिरको प्रभाव हो केही भन्न सकिदैन, नेपाली टिमको प्रदर्शन पनि त्यस्तै अनपेक्षित भइरहेको छ । नेपालले जोर्डनविरुद्ध अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै सन् २०११ मा भएको विश्वकप छनोटमा दशरथ रंगशालामा १–१ को नतिजा निकालेको थियो । त्यो अम्मान यात्रापछिकै खराब हो नेपालको लागि कुवेतविरुद्ध ७–० को हार ।
सन् २००१ मा इराकविरुद्ध बगदादमा ९–१ ले हारेको नवौं दिनमा अल्माटीमा नेपालले त्यही टिमलाई ४–२ (हार) को अन्तरमा सीमित गरेको थियो । इन्चोनमा २००३ मा दक्षिण कोरियाविरुद्ध १६–० ले हारेको नेपालले अर्को महिना उसैलाई मस्कटमा ७–० मा रोकेको थियो । हुन त नेपालले कोरियाले ३२ बर्षपछि विश्वकप खेल्दाको छनोट (विश्वकप १९८६) मा २–० को हार बेहोरेको थियो । अर्को कोरिया (उत्तर) विश्वकप खेलेर फर्किएको दुई बर्षपछि हैदरावाद (एएफसी च्यालेन्ज कप २००८) मा आउँदा उसको जितलाई नेपालले १–० मै सीमित पारेको थियो । यस्तै–यस्तै अनपेक्षित नतिजाले नेपाली फुटबलको कथालाई नयाँ–नयाँ मोड दिइरहेको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?