कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तुम्खेवाको संवेग र समय

महेश पौड्याल

विमला तुम्खेवाको कविताको फेहरिस्तमा नारीका अनुभूति लेखिनु उनको परिचित कविताकारिताको निरन्तरता हो भनेर कतिपय पाठकले भन्न सक्छन्  । तर, कविको रूपमा उनको नवीनतम स्वरूप उनका राजनीतिक कवितामा खोजिनुपर्छ  ।

तुम्खेवाको संवेग र समय

जीवनलाई चेतानाको नाङ्लोमा मिहिन ढङ्गले केलाउनु र भेटिएका कसरमसरलाई विद्रोहको हावाले उडाइदिनु कवि विमला तुम्खेवाको काव्यिक विशेषता हो । उनको सम्मूर्ण काव्यकारिता केही मान्यताको मियो वरिपरि घुमेको देखिन्छ । काव्यको शालीन मर्यादाभित्र रहेर जनजातिका पहिचानजन्य यथार्थहरूको उद्घाटन, नारी हुनुको निजी अनुभूति, एक न्यायप्रेमी नागरिक हुनुको अर्थमा अन्याय र दमनको विरोध र एक रुमानी कवि हुनुको अर्थमा जीवनसँगको सुन्दर र भावनात्मक सम्बन्ध उनको काव्यकारिताका मूल आधार हुन् ।
लामो समयदेखि कविता लेखिरहेकी कवि विमला तुम्खेवाले भर्खरै आफ्नो नवीनतम कृति, ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ बजारमा ल्याएकी छन् । साङ्ग्रिला बुक्सले प्रकाशित गरेको पुस्तकमा ४७ वटा कविता सङ्गृहीत गरिएको छ । विविध आकारका यी कविता, धेरैजसो ठाउँमा निजात्मक छन्, र हृदयसंवेद्य र भावप्रधान छन् । केही कविताले भने बद्लिँदो समयसँगै सतहमा अएका राजनीतिक र सामाजिक विषयहरूसँग प्रत्यक्ष संवाद पनि गरेका छन् । यी पछिल्लो कोटिहरूका कविताहरूमा कवि तुम्खेवाको कवित्व जनजानीय तथा नारीजन्य पहिचान तथा अधिकारको पक्षमा बढी मुखरित भएर आएको प्रतीत हुन्छ । रुमानी कविताको भँगालो कवि तुम्खेवाले पहिल्यैदेखि लेख्दै ल्याएको कविताको निरन्तरता हो भने, जातीय चेतनासहितका कविता उनको कविताकारितामा एक नयाँ र राजनीतिक चेतनाबाट प्रेरित भँगालो हो । त्यसैले, यो सङग्रहमा पाठकले कवि विमला तुम्खेवालाई आफूले उत्तराधिकारमा ग्रहण गरेको स्वच्छन्द काव्य परम्परा तथा आफूले बाँचेको समयले उनको हातमा थमाइदिएको विद्रोही र पहिचानजन्य कविताको दोभानमा उभिएको भेट्टाउने छन् । तर यस्तो दोभान बनाउने दुवै भँगालाहरूमा उनीहरूले किराँती मिथक र संस्कृति तथा नेपालको पूर्वी पहाडको भूगोलबाट टिपिएका विम्बहरूको सुन्दर संयाजन भेट्नेछन् । आखिर उनले घोषणै गरेकी छन् :
बरु लेखिदिन्छु कवितामा किनिमाको मीठो स्वाद
बरु लेखिदिन्छु अकबरे खोर्सानीको मीठो स्वाद
पहिलो चर्चा रुमानी र स्वच्छन्द कविताहरूको । विमलाको स्वच्छन्द कविताको अन्तर्यमा प्रेम र मानवीय सम्बन्धहरूको कलात्मक प्रतिविम्बन भेटिन्छ । उनले चित्रण गरेको प्रेम रैखिक मात्रै पनि छैन । सनातनी शैलीमा त्यो फगत एक चिरन्तन आदर्शवाद पनि होइन । प्रेममा उनी कतै चमत्कारको पनि परिकल्पना गर्छिन् भने कतै त्यसै प्रेममा उनी विपर्यासहरूको पनि अनुभूति गर्छिन् । प्रेमको चामत्कारिक परिलक्षणको नमुना, उनको कविता ‘झरी र तिमी’ मा उनी प्रेमिलाई भेटपछि हुने मुस्कानसहितको बिदाइएको बेला सधैँ सिमसिम पानी परिरहेको परिघटनालाई ‘मात्र संयोग हो कि’ अथवा ‘हो व्यक्त गर्न नसकेको तिम्रो भावनाको आवाज ?’ भनेर सोध्छिन्, जुन प्रश्न आफैँमा एक उच्च र स्वच्छन्द कल्पनाशीलताको परिचायक हो । प्रेममा यस्ता अलौकिक संयोगहरूको बल भेट्टाउने तुम्खेवालाई प्रेम नै काव्य शक्तिको स्रोत हो जस्तो पनि लाग्छ । ‘कवि’ शीर्षकको अधिकवितात्मक कवितामा उनी आफ्नो प्रेमीलाई सम्झन खोज्दा ‘हृदयबाट रगतको बाटो हुँदै निस्किएको प्रेम’ नै सुन्दर कविता बनेकाले नै मानिसहरूले उनलाई कवि भनेको जिकिर गर्छिन् । कविताको मूल स्रोत वा प्रेरणा के हो भन्ने एउटा अविच्छिन्न तर्कपरम्परामा विमला तुम्खेलाले आफ्नो एउटा निजी दलिल यसरी प्रस्तुत गरेकी छन् । मायाको अभिव्यक्तिमा ‘तिमीलाई माया गर्छु’ भन्न नसक्नु अथवा प्रेमीसँग ‘गुनासो गरिरहनु’ पनि प्रेमको लक्षण हो भन्ने उनको बुझाइ छ । यस अर्थमा, प्रेम पनि उनका लागि रैखिक अनुभूति होइन । यसका आफ्नै र कतिपय सन्दर्भमा परस्पर विरोधी अभिव्यक्ति हुन्छन् । उनको परिभाषामा प्रेम आँखामा बेप्रसङ्ग आइबस्ने रङ पनि हो र एक ‘मीठो पीडा’ पनि हो । प्रेम आकाशमा उडी हिँड्ने बादलले जस्तो आफ्नो स्वरूप बद्लिरहने अनुभूति पनि भएको उनको कविता ‘प्रेमको स्वरूप’ को निष्कर्ष छ । तर कवि तुम्खेवा सोच्छिन्, अभिव्यक्तिका यी तमाम विविधताका बाबजुद प्रेमलाई जोडिरहने कडी भनेको नाटक गर्न छोडेर मनको भावलाई सोझै, जस्ताको तस्तै अभव्यक्त गर्ने सामर्थ्य जुटाउनुमा छ ।
कवि विमला तुम्खेवाको रुमानी उडानमा प्रेमजस्तो सकारात्मक अनुभूति मात्रै पनि छैन । त्यहाँ सहरका गल्लीहरूमा अँगालेका दुःख र पीडाका अनेक कथा पनि छन् । भयानक विद्रोहको हुँकार पनि छ । शान्तिको पक्षमा गरिएको बृहत् कामना पनि छ कतै, त कतै मृत्यु र आत्महत्याका दारुण प्रसङ्ग पनि छन् । कतै ‘आकाशको बाटो हुँदै हिँडेको बर्सातको बादल’ अथवा ‘झरीको अन्तिम थोपाजस्तो’ एक्लो हुनुको विषाद अनुभूति पनि उनको कवितामा भेटिन्छन् । यस अर्थमा, प्रकृतिका विम्बहरू टिपेर मनको आवेग पोख्ने कवि विमलाको रुमानी मन पनि प्रकृतिजस्तै छ, जुन फेरिइरहने मौसमको अनिश्चित आकारजस्तो छ । त्यो अस्थिर छ र त्यसैले त्यो आकारमा अनिश्चित छ । त्यो अस्थिर छ र त्यसैले त्यो स्वच्छन्द पनि छ ।
आफ्नो कविताकारिताको लभगभ पूरै समय विमला तुम्खेवा नारी हुनुको अस्तित्वबोध र त्यसैसँग गाँसिएर आउने अवसर र चुनैतीप्रति सचेत भएको देखिन्छ । उनको यस सङ्ग्रहमा पनि आमा वा छोरीको स्वरूपमा नारी हुनुको अनुभूति र त्यसैसँग गाँसिएर आउने खुसी, पीडा र विद्रोह पाठकहरूले यत्रतत्र पढ्न पाउनेछन् । उनको कविताभरि ‘चुलो सम्हालेर जुग बित्यो’ तर पनि ‘यो घर मेरो कहिल्यै मेरो भएन’ भन्ने नारीपात्रदेखि ‘तिमीले भनेजस्तै स्वास्नी हुन चेतनाले दिएन’ भनेर विद्रोह गर्न सक्ने वाचाल पात्रहरू भेटिन्छन् । कतै छोरीलाई ‘तिमीले पनि आमा भएर मलाई बोध गर्नछौ’ भनेर मातृत्वको उत्सव मनाउने आमाहरू भेटिन्छन् भने कतै प्रेमको यात्रामा ‘किन सधैँ स्वास्नीमान्छे नै जल्नुपर्ने’ भनेर प्रश्न गर्ने एकाङ्गी र अतिशय पूर्वाग्रही पात्र पनि भेटिन्छन् । कतैकतै उनका नारीपत्र राज्यलाई सीधै प्रश्न पनि गर्छन्, ‘यो देशले, स्वास्नी मान्छेलाई मान्छे भनेर कहिले सम्बोधन गर्छ ?’ नारीसम्बन्धी कतिपय कवितामा भने उनले जिम्मेवारीको बोझले थिचिएका तर सुखको छायासम्म छुन नपाउँदै उमेरको अन्तिम बिसौनीमा आइपुगेका जेठी सुब्बेनीजस्ता पात्रका आत्मकथा सेमेटेकी छन् । नारीचित्रणमा सायद विमला तुम्खेवाको सबैभन्दा सुन्दर कविता ‘ऐना’ हो, जसमा भनिएको छ :
ऐना
विमला तुम्खेवा
कति दुख्छ मलाई
त्यो अँध्यारो कोठामा बसेर
जब,
उनी द्रौपदीले झैँ हेरिरहन्छिन्
आफ्नो मलिन अनुहार मेरो धमिलो आँखामा ।
विमला तुम्खेवाको कविताको फेहरिस्तमा नारीका अनुभूति लेखिनु उनको परिचित कविताकारिताको निरन्तरता हो भनेर कतिपय पाठकले भन्न सक्छन् । त्यो मनासिफ पनि छ । तर, कविको रूपमा उनको नवीनतम स्वरूप उनका राजनीतिक कवितामा खोजिनुपर्छ, जसमा उनी एकतन्त्रीय राज्य व्यवस्था र विभेदकारी इतिहासलाई कठघरामा उभ्याँछिन् । उनका पात्रहरू ‘संसारभरिका तानाशाहहरूलाई खुलापत्र’ मार्फत् चुनौती दिन्छन्, ‘आफ्नै शरीर बेचेर भए पनि इमानको भात खान्छु र एक बारको जीवन मुस्कुराएर बाँच्छु ।’ किनकि, निचोड छ, ‘मुस्कुराएर बाँच्न सक्नु संसार जित्नु हो ।’ तर त्यस्ता मुस्कानले भरिएको जीवनको बाटोमा थुप्रै अवरोध विद्यमान छन्, जसको सङ्केत विमलाको कविताभरि भेटिन्छ । अनागरिक हुनुको पीडा, युद्धको त्रासदीले छोडेका गहिरा अभिघात, लैङ्गिक विभेदको जग खडा गर्ने इतिहासको विरोध, ‘मानिसको लासको व्यापार गर्ने ठेकेदारजस्तो’ देखिने सरकारको विरोध, तथा कुकुरलाई बिनारोकटोक प्रवेशाज्ञा दिने तर मान्छेलाई रोक्ने सिंहदरबारजस्तो व्यवस्थाको पोल खोल्नु उनका राजनीतिक कविताको अभीष्ट रहेको पाइन्छ ।
यस सङ्ग्रहले निकै लामो अन्तालपछि विमला तुम्खेवालाई पुनः नेपाली कविताको फाँटमा थप स्पष्टता र परिपक्वताका साथ उभ्याएको छ । माथि उल्लिखित दुई प्रमुख आयामहरूका अतिरिक्त यस सङ्ग्रहले पाठकहरूलाई पूर्वी नेपाल र किराँत सभ्यताको एउटा मैलिक स्वरूपसँग पनि परिचित गराउने छ । उनले प्रयोग गरेका किनिमा, ताक्लुङ, चान्सिङगढी, मुन्धुम, ख्यालीजस्ता शब्द तथा सप्तमी बजार, बमबम खोलो, युमाथेवा, फेदापेनी तथा जेठी सुब्बेनीजस्त नामहरूले पाठकलाई स्थानीय रङको आभास दिलाउनेछन् ।
विमलाका कवितामा केही सामान्य सीमाहरू छन् । ‘प्रेमको यात्रामा किन सधैँ स्वास्नीमान्छे नै जल्नुपर्ने’ जस्ता कथनहरूले उनलाई प्रश्नहरूको घेरामा ल्याउन सक्छ, किनकि यो सत्य होइन । ‘यो समाजको व्यवहार कतिबिघ्न काँडाजस्तो बिझाउने’ जस्ता अभिव्यक्तिमा उनले समाजको सकारात्मक पाटोको अन्देखा गरेको ठहर्छ । ‘यी प्रशान्त महासागरहरू’ भन्नु एक व्याकरणिक त्रुटि हो, जसलाई पोयटिक लाइसेन्सको आडमा अन्देखा गर्न सकिँदैन । बिहेलाई ‘जीवनमा कहिल्यै नसकिने दुःखको सुरुआत’ भनिरहँदा यसले दिने सन्देशको सापेक्षता स्वतः बहसमा तानिन्छ । लैङ्गिक संवेदनशीलताको आजको समयमा, यी प्रश्नमा उनी थप सन्तुलित हुनुपर्ने देखिन्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?