१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

व्यक्ति : माननीय उमादेवी वादी

जनक नेपाल

उमादेवी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य छिन् । उनीप्रति बादी मात्र होइन, सीमान्तीकृत समुदायको भरोसा छ । ३१ साउन ०६४ । उमादेवी बादीले सायदै बिर्सनेछिन् । बाध्यात्मक यौन शोषणको विरोधमा उनकै नेतृत्वमा बादी समुदायले सिंहदरबार गेटमै चढेर अर्धनग्न प्रदर्शन गरेका थिए ।

व्यक्ति : माननीय उमादेवी वादी

दलितभित्र पनि दलित मानिने बादीको मुद्दाले सोही प्रदर्शनपछि मात्र सिंहदरबारमा प्रवेश पाएको थियो । उनै उमादेवी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य छिन् ।


बादी समुदाय वर्षौंदेखि जातीय विभेद, यौन शोषण र छुवाछूतको जाँतोमा पिसिँदै आएको छ । त्यही समुदायबाट उठेर माननीय भएकी उमादेवीसँग बादी मात्र होइन, सीमान्तीकृत समुदायको भरोसा छ । प्रतिपक्ष कित्तामा छिन् उनी । त्यसैले समस्या उठाउन पार्टीका कुनै ह्विप छैन । ‘संसद्मा बोल्न पार्टीको रोक छैन’ ५९ वर्षीया भन्छिन्, ‘पीडा त बरु सत्तापक्षका साथीहरूलाई रहेछ । प्रतिपक्षले जस्तो बोल्न मिल्दैन रे ।’


डेढवर्षे प्रदेशसभा अभ्यासमा उनी जतिपटक बोलिन्, बादी, दलित, राजी, सोनाहा र मुस्लिमका समस्या उठाइन् । पार्टीले सीमान्तीकृत समुदायका विषय आउँदा उनलाई नै बोल्न भन्दो रहेछ । मानौं पार्टीका अरू सांसदले यी विषयबारे बोल्नै हुँदैन । उमादेवीलाई आफ्नोजस्तै आवाजविहीन समुदायका कुरा प्रदेशसभामा राख्दा सन्तोष लाग्छ रे । ‘गरिब दुःखीका कुरा उठाइदिन मलाई भेट्न आउँछन् । मैले उनीहरूका कुरा संसद्मा पुर्‍याइदिन्छु,’ उनी भन्छिन् ।


उमादेवीको घर टीकापुरमा छ । कांग्रेसले प्रदेशसभा सदस्य मनोनीत गरेपछि उनी धनगढी गइन् । केही दिन होटल र आफन्तको घरमा बसेपछि डेरा खोजिन् । सांसदले डेरा पाउन मुस्किल थिएन । उनले पनि कोठा पाइन् । घरेबेटीले पछि थाहा पाएछन्, सांसद त बादी परिछन् । घरेबेटी पढालेखा थिए, पत्नी महिला स्वास्थ्य स्वयम्सेविका । तर, सोच पुरानै युगमा रहेछ । उमादेवीको कोठा छेउमै धारो थियो, त्यो नजिकै पूजाकोठा । एक दिन घरेबेटीले भनिछन्— हाम्रा त देउता कडा छन्, नछोइदिनुहोला । अर्को दिन धारोमा त्यस्तै छोइछिटो । उकुसमुकुस धेरै दिन चलेनछ । कोठा खाली गराउने जुक्ति निकालिछन्, ‘छोराबुहारी आउने भए । कोठा खाली गरिदिनुपर्ने भयो ।’


जिन्दगीभर छुवाछूत, विभेद र शोषण बेहोर्दै आएकी उमादेवीले नबुझ्ने कुरै थिएन् । तर, कुनै प्रतिवाद गरिनन् । हाँसीहाँसी कोठा खाली गरिदिइन् र अन्यत्र सरिन् । पछि थाहा पाइन्, छोराबुहारीका लागि खाली गरिदिएको कोठामा अरू नै सरेछ । ‘जात थाहा नपाउँदासम्म दलितले पनि कोठा पाउँछन् । थाहा पाए कि छाड्नुपर्छ । दलितलाई सुदूरपश्चिममा धेरै गाह्रै छ,’ उनी भन्छिन् ।
संसद् पुग्नुअघि उमादेवीलाई सडकभन्दा सदन ठूलो लाग्थ्यो रे ।

सडकको आवाजभन्दा संसद्को आवाज बलियो लाग्थ्यो । तर, हैन रहेछ । डेढ वर्षपछि उनलाई लाग्न थालेको छ, सडक र सदन उस्तैउस्तै रहेछन् । जसले ठूलो आवाज गर्न सक्यो, उसैको कुरा सुनुवाइ हुने । सानो आवाजले, तल्लो वर्ग वा सीमान्तकृतको आवाज सदन र सडक दुवै ठाउँ मधुरो हुने रहेछ । नसुनिने रहेछ ।


बरु सडकको आवाज दरिलो लाग्न थालेको छ । ढिलोचाँडो काम गर्ला, तर सशक्त आवाज रोक्ने सामर्थ्य सरकारसँग हुँदैन । त्यतिबेला पनि ३१ साउनदेखि सुरु आन्दोलन २८ असोजमा सम्झौतामा टुंगिएको थियो । सिंहदरबार प्रदर्शनपछि सरकारसँग २६ बुँदे सम्झौता गरियो । सम्झौतापछि नागरिकता सहज भयो । सरकारले आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गर्‍यो । विगतमा प्रशासनका अधिकारीले हेपेर राखेका जथाभावी थरहरू भाड, बदेनी, पातर सच्याइए । भूमिहीन बादीलाई घर बनाइदिने भनियो । तर, निकै सुस्त काम भइरहेको छ ।


२३ पुस ०६५ को मन्त्रिपरिषद् बैठकले बाध्यात्मक यौनशोषणमा परेका महिलालाई आयआर्जनसहित पुनःस्थापना गर्ने निर्णय गरेको थियो । आश्रित बालबालिकालाई शिक्षाको ग्यारेन्टी गर्ने भनिएको थियो । बादी उत्थान समिति, बालबालिकालाई निःशुल्क शिक्षा र यौन शोषणबाट मुक्तिको घोषणा गरियो ।

कुनै बेला सल्यानमा मात्र सीमित बादी समुदाय अर्धफिरन्ते जातिका रूपमा पूर्वमा गोरखादेखि पश्चिममा कमाउ गढवालसम्म पुगेका थिए । पछिल्लो जनगणनाअनुसार, बादीको जनसंख्या ५५ हजार धेरै छ । ती सबै घोषणा कार्यान्वयन भइसकेका छैनन् । भएका काम पनि सुस्त छन्, योजनाहरू कनिका छरेझैं भए । लगत लिएर समस्याको दिगो समाधान खोज्नेभन्दा थुमथुमाउने काम मात्र भएको बादीहरूको बुझाइ छ ।


उमादेवीले संसद्मा जतिपटक बोले पनि तल्लो वर्ग समुदायलक्षित कार्यक्रम परेनन् । सत्ता–प्रतिपक्षको तानातानमा झन्डै तीन साता संसद् अवरुद्ध भयो । रातो किताब जलाइयो । अनि, सहमतिपछि संसद् सुचारु भयो । तर, सीमान्तकृतका माग सम्बोधन भएनन् । ‘जति बोले पनि नसुनिने रहेछ । मैले त झल्झली सडक सम्झिरहेको छु । सडकमा जे दम छ नि, त्यो सदनमा नहुँदो रहेछ,’ उमादेवी भन्छिन् ।


बाह्र वर्षअघिको त्यो आन्दोलन कुनै रहरले गरिएको थिएन । जातीय विभेद र यौन शोषणबाट मुक्तिका लागि अर्धनग्न प्रदर्शन गर्नुपरेको उनी बताउँछिन् । उमादेवी भन्छिन्, ‘ज्ञापनपत्र, विरोध जुलुस र र्‍याली त कति गरिए, गरिए । हाम्रा कुरै नसुनिएपछि बाध्य भएर सिंहदरबारमै पुगेर वस्त्र खोल्नुपरेको थियो ।’


बादी संघर्षको कथा कम मार्मिक छैन । कैलालीको सती बजारका बादी महिला यौनकर्म गर्न बाध्य थिए । आफ्ना चेलीबेटीलाई शोषणबाट मुक्त गर्न त्यहाँका युवाले अभियान चाले । आत्मनिर्भर हुन र जातीय विभेदविरुद्ध आवाज उठाउन सामुदायिक सहयोग समिति बनाए । उमादेवीले सोही संस्थाको ब्यानरमा देशव्यापी आन्दोलन उठाएकी हुन् । ‘महिलाले आफू शोषणमा परेर परिवार पाल्नुपर्ने । भाइछोरालाई त्यो देखी साध्य नभएपछि आन्दोलन थालियो,’ उनी सुनाउँछिन्, ‘आफैं गरी खाऊँ भन्दा न जग्गा छ, न सम्मान छ । गाउँमा बस्न नसकेर युवाहरू भारत जानुपर्थ्यो ।’ यौन शोषणको अन्त्यपछि बादी समुदायले शोषणबाट थोरै भए पनि मुक्ति र आत्मसम्मान पाएको उनी बताउँछिन् ।


३० वर्षअघि काठ व्यवसायीका रूपमा टीकापुर पुगेका बर्दियाका प्रेमलाल भट्टसँग उनले अन्तर्जातीय विवाह गरिन् । उनीहरूका दुई छोरा र एक छोरी छन् । श्रीमान्ले स्विकारे पनि परिवारले नस्विकार्दा लामो समय समस्या भोग्नुपरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘परिवर्तनका लागि समय लाग्दो रहेछ । धैर्य गरेरै यो सम्बन्धलाई बचाउन सकेकी हुँ ।’


उमादेवीले अझै हिम्मत हारेकी छैनन् । सरकारी रवैया देख्दा उनलाई बारम्बार सडकमा ओर्लिनुपर्ने दिन आउलाजस्तो लाग्छ । संसद्मा बोल्छिन्, सुनिँदैन । तल्लो वर्गको भरोसा लिएर हिँड्दा कुनै सम्बोधन नभए आफू असफल हुने भयले पनि उनलाई सताइरहन्छ । सँगै, प्रदेशसभा पुगेर थुप्रै उपलब्धि हासिल भएकोमा उनी खुसी छिन् । भन्छिन्, ‘संसद् के हो थाहै थिएन । बोल्न त सिकियो नि ।’

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?