व्यक्ति : माननीय उमादेवी वादी

जनक नेपाल

उमादेवी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य छिन् । उनीप्रति बादी मात्र होइन, सीमान्तीकृत समुदायको भरोसा छ । ३१ साउन ०६४ । उमादेवी बादीले सायदै बिर्सनेछिन् । बाध्यात्मक यौन शोषणको विरोधमा उनकै नेतृत्वमा बादी समुदायले सिंहदरबार गेटमै चढेर अर्धनग्न प्रदर्शन गरेका थिए ।

दलितभित्र पनि दलित मानिने बादीको मुद्दाले सोही प्रदर्शनपछि मात्र सिंहदरबारमा प्रवेश पाएको थियो । उनै उमादेवी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य छिन् ।


बादी समुदाय वर्षौंदेखि जातीय विभेद, यौन शोषण र छुवाछूतको जाँतोमा पिसिँदै आएको छ । त्यही समुदायबाट उठेर माननीय भएकी उमादेवीसँग बादी मात्र होइन, सीमान्तीकृत समुदायको भरोसा छ । प्रतिपक्ष कित्तामा छिन् उनी । त्यसैले समस्या उठाउन पार्टीका कुनै ह्विप छैन । ‘संसद्मा बोल्न पार्टीको रोक छैन’ ५९ वर्षीया भन्छिन्, ‘पीडा त बरु सत्तापक्षका साथीहरूलाई रहेछ । प्रतिपक्षले जस्तो बोल्न मिल्दैन रे ।’


डेढवर्षे प्रदेशसभा अभ्यासमा उनी जतिपटक बोलिन्, बादी, दलित, राजी, सोनाहा र मुस्लिमका समस्या उठाइन् । पार्टीले सीमान्तीकृत समुदायका विषय आउँदा उनलाई नै बोल्न भन्दो रहेछ । मानौं पार्टीका अरू सांसदले यी विषयबारे बोल्नै हुँदैन । उमादेवीलाई आफ्नोजस्तै आवाजविहीन समुदायका कुरा प्रदेशसभामा राख्दा सन्तोष लाग्छ रे । ‘गरिब दुःखीका कुरा उठाइदिन मलाई भेट्न आउँछन् । मैले उनीहरूका कुरा संसद्मा पुर्‍याइदिन्छु,’ उनी भन्छिन् ।


उमादेवीको घर टीकापुरमा छ । कांग्रेसले प्रदेशसभा सदस्य मनोनीत गरेपछि उनी धनगढी गइन् । केही दिन होटल र आफन्तको घरमा बसेपछि डेरा खोजिन् । सांसदले डेरा पाउन मुस्किल थिएन । उनले पनि कोठा पाइन् । घरेबेटीले पछि थाहा पाएछन्, सांसद त बादी परिछन् । घरेबेटी पढालेखा थिए, पत्नी महिला स्वास्थ्य स्वयम्सेविका । तर, सोच पुरानै युगमा रहेछ । उमादेवीको कोठा छेउमै धारो थियो, त्यो नजिकै पूजाकोठा । एक दिन घरेबेटीले भनिछन्— हाम्रा त देउता कडा छन्, नछोइदिनुहोला । अर्को दिन धारोमा त्यस्तै छोइछिटो । उकुसमुकुस धेरै दिन चलेनछ । कोठा खाली गराउने जुक्ति निकालिछन्, ‘छोराबुहारी आउने भए । कोठा खाली गरिदिनुपर्ने भयो ।’


जिन्दगीभर छुवाछूत, विभेद र शोषण बेहोर्दै आएकी उमादेवीले नबुझ्ने कुरै थिएन् । तर, कुनै प्रतिवाद गरिनन् । हाँसीहाँसी कोठा खाली गरिदिइन् र अन्यत्र सरिन् । पछि थाहा पाइन्, छोराबुहारीका लागि खाली गरिदिएको कोठामा अरू नै सरेछ । ‘जात थाहा नपाउँदासम्म दलितले पनि कोठा पाउँछन् । थाहा पाए कि छाड्नुपर्छ । दलितलाई सुदूरपश्चिममा धेरै गाह्रै छ,’ उनी भन्छिन् ।
संसद् पुग्नुअघि उमादेवीलाई सडकभन्दा सदन ठूलो लाग्थ्यो रे ।

सडकको आवाजभन्दा संसद्को आवाज बलियो लाग्थ्यो । तर, हैन रहेछ । डेढ वर्षपछि उनलाई लाग्न थालेको छ, सडक र सदन उस्तैउस्तै रहेछन् । जसले ठूलो आवाज गर्न सक्यो, उसैको कुरा सुनुवाइ हुने । सानो आवाजले, तल्लो वर्ग वा सीमान्तकृतको आवाज सदन र सडक दुवै ठाउँ मधुरो हुने रहेछ । नसुनिने रहेछ ।


बरु सडकको आवाज दरिलो लाग्न थालेको छ । ढिलोचाँडो काम गर्ला, तर सशक्त आवाज रोक्ने सामर्थ्य सरकारसँग हुँदैन । त्यतिबेला पनि ३१ साउनदेखि सुरु आन्दोलन २८ असोजमा सम्झौतामा टुंगिएको थियो । सिंहदरबार प्रदर्शनपछि सरकारसँग २६ बुँदे सम्झौता गरियो । सम्झौतापछि नागरिकता सहज भयो । सरकारले आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गर्‍यो । विगतमा प्रशासनका अधिकारीले हेपेर राखेका जथाभावी थरहरू भाड, बदेनी, पातर सच्याइए । भूमिहीन बादीलाई घर बनाइदिने भनियो । तर, निकै सुस्त काम भइरहेको छ ।


२३ पुस ०६५ को मन्त्रिपरिषद् बैठकले बाध्यात्मक यौनशोषणमा परेका महिलालाई आयआर्जनसहित पुनःस्थापना गर्ने निर्णय गरेको थियो । आश्रित बालबालिकालाई शिक्षाको ग्यारेन्टी गर्ने भनिएको थियो । बादी उत्थान समिति, बालबालिकालाई निःशुल्क शिक्षा र यौन शोषणबाट मुक्तिको घोषणा गरियो ।

कुनै बेला सल्यानमा मात्र सीमित बादी समुदाय अर्धफिरन्ते जातिका रूपमा पूर्वमा गोरखादेखि पश्चिममा कमाउ गढवालसम्म पुगेका थिए । पछिल्लो जनगणनाअनुसार, बादीको जनसंख्या ५५ हजार धेरै छ । ती सबै घोषणा कार्यान्वयन भइसकेका छैनन् । भएका काम पनि सुस्त छन्, योजनाहरू कनिका छरेझैं भए । लगत लिएर समस्याको दिगो समाधान खोज्नेभन्दा थुमथुमाउने काम मात्र भएको बादीहरूको बुझाइ छ ।


उमादेवीले संसद्मा जतिपटक बोले पनि तल्लो वर्ग समुदायलक्षित कार्यक्रम परेनन् । सत्ता–प्रतिपक्षको तानातानमा झन्डै तीन साता संसद् अवरुद्ध भयो । रातो किताब जलाइयो । अनि, सहमतिपछि संसद् सुचारु भयो । तर, सीमान्तकृतका माग सम्बोधन भएनन् । ‘जति बोले पनि नसुनिने रहेछ । मैले त झल्झली सडक सम्झिरहेको छु । सडकमा जे दम छ नि, त्यो सदनमा नहुँदो रहेछ,’ उमादेवी भन्छिन् ।


बाह्र वर्षअघिको त्यो आन्दोलन कुनै रहरले गरिएको थिएन । जातीय विभेद र यौन शोषणबाट मुक्तिका लागि अर्धनग्न प्रदर्शन गर्नुपरेको उनी बताउँछिन् । उमादेवी भन्छिन्, ‘ज्ञापनपत्र, विरोध जुलुस र र्‍याली त कति गरिए, गरिए । हाम्रा कुरै नसुनिएपछि बाध्य भएर सिंहदरबारमै पुगेर वस्त्र खोल्नुपरेको थियो ।’


बादी संघर्षको कथा कम मार्मिक छैन । कैलालीको सती बजारका बादी महिला यौनकर्म गर्न बाध्य थिए । आफ्ना चेलीबेटीलाई शोषणबाट मुक्त गर्न त्यहाँका युवाले अभियान चाले । आत्मनिर्भर हुन र जातीय विभेदविरुद्ध आवाज उठाउन सामुदायिक सहयोग समिति बनाए । उमादेवीले सोही संस्थाको ब्यानरमा देशव्यापी आन्दोलन उठाएकी हुन् । ‘महिलाले आफू शोषणमा परेर परिवार पाल्नुपर्ने । भाइछोरालाई त्यो देखी साध्य नभएपछि आन्दोलन थालियो,’ उनी सुनाउँछिन्, ‘आफैं गरी खाऊँ भन्दा न जग्गा छ, न सम्मान छ । गाउँमा बस्न नसकेर युवाहरू भारत जानुपर्थ्यो ।’ यौन शोषणको अन्त्यपछि बादी समुदायले शोषणबाट थोरै भए पनि मुक्ति र आत्मसम्मान पाएको उनी बताउँछिन् ।


३० वर्षअघि काठ व्यवसायीका रूपमा टीकापुर पुगेका बर्दियाका प्रेमलाल भट्टसँग उनले अन्तर्जातीय विवाह गरिन् । उनीहरूका दुई छोरा र एक छोरी छन् । श्रीमान्ले स्विकारे पनि परिवारले नस्विकार्दा लामो समय समस्या भोग्नुपरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘परिवर्तनका लागि समय लाग्दो रहेछ । धैर्य गरेरै यो सम्बन्धलाई बचाउन सकेकी हुँ ।’


उमादेवीले अझै हिम्मत हारेकी छैनन् । सरकारी रवैया देख्दा उनलाई बारम्बार सडकमा ओर्लिनुपर्ने दिन आउलाजस्तो लाग्छ । संसद्मा बोल्छिन्, सुनिँदैन । तल्लो वर्गको भरोसा लिएर हिँड्दा कुनै सम्बोधन नभए आफू असफल हुने भयले पनि उनलाई सताइरहन्छ । सँगै, प्रदेशसभा पुगेर थुप्रै उपलब्धि हासिल भएकोमा उनी खुसी छिन् । भन्छिन्, ‘संसद् के हो थाहै थिएन । बोल्न त सिकियो नि।’

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

यात्रानुभूति : हिरोसिमामा खसेको आँसु

यात्रानुभूति
घनश्याम खड्का

मलाई थाहा छैन तेस्रो विश्वयुद्ध कस्तो हतियारले लडिन्छ, तर चौथो विश्वयुद्धचाहिँ निश्चय नै लाठा र ढुंगामुढाहरूबाट लडिनेछ  । –आइन्सटाइन हिरोसिमाको शान्ति स्मारकमा गत साता पुगेपछि मलाई आइन्सटाइनको ज्यादै सम्झना हुन गयो  ।

परमाणु बमको सूत्र पत्ता लगाउने यस शताब्दीका यी महान् वैज्ञानिकलाई हिरोसिमा र नागासाकीमा भएको परमाणु अस्त्रको प्रयोगले अतिशय पछुतो भएको थियो किनभने उनले नै त्यतिबेलाका अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजबेल्टलाई यस्तो हतियार बनाउन सहमति दिएका थिए ।

अणु बमको विनाशकारी प्रयोगपछि हिरोसिमा र नागासाकी निमेषमै खरानीमा परिणात भएको थियो । यो देखेपछि आइन्सटाइनले आणविक बम बनाइयोस् भनी रुजबेल्टलाई लेखेको पत्रमा गरेको हस्ताक्षर आफ्नो जीवनको महाभूल भनेका थिए, जसलाई न्युयोर्क टाइम्सले १९ अगस्ट १९४६ को अंकमा छापेको छ । तेस्रो विश्वयुद्धमा आणविक अस्त्रको प्रयोग निश्चय नै हुने र त्यसले मानव सभ्यतालाई नामेट पार्ने भय देखेपछि आइन्सटाइन चौथो विश्वयुद्ध (मान्छे बाँचे भने) चाहिँ आदिम युगमा झैं लाठा र ढुंगामुढाले लड्नुपर्ने अवस्था आउने निष्कर्षमा पुगेका थिए ।


स्कुले विद्यार्थी छँदै सुनेको उनको उपरोक्त वचनको मर्म त्यस क्षण बढी प्रस्टसँग खुलेजस्तो भएको थियो । सन् १९४५ को अगस्ट ६ मा जापानको हिरोसिमामा खसेको ‘लिटल ब्वाई’ र त्यसको तीन दिनपछि नागासाकी सहरमा खसेको ‘फ्याट म्यान’ ले दोस्रो विश्वयुद्धको अन्त त गरायो, तर त्यस घातक आणविक हमलाले मान्छेको मनमा पारेको घाउ अनि उमारेको डर भने अहिले पनि उस्तै छ, शान्ति स्मारकको अवलोकन गरेपछि यस्तै लाग्छ ।


अणु बमको दुस्प्रभाव कतिसम्म पर्दोरहेछ भन्ने तथ्यलाई स्मारकले सकेसम्म सम्प्रेष्य हुने गरी तस्बिर र भग्नावशेषहरू राखेर देखाउन खोजेको छ । हिरोसिमाभन्दा ३ सय मिटरमाथिको आकाशमा खसेको बमले त्यस सुन्दर सहरलाई केही मिनेटमै बलिरहेको आगाको डल्लोमा परिणत गरिदियो जसका कारण एक लाख ४२ हजार मानिसको ज्यान गयो ।


स्मारक छिर्नुअघि भित्तामा मानिसहरू मुस्कुराइरहेको, सडकमा मोटरहरू गुडिरहेको र बच्चाहरू मुस्कुराइरहेका तस्बिर छन् । बम खस्नु ठीकअघिको हिरोसिमा हो यो । त्यसपछि ढोकामा बडेमानको चित्र छ घडीको जसमा बिहानको आठ बजेर १५ मिनेट पुगेपछि समय रोक्किएको छ । यही क्षण त हो संसारको पहिलो आणविक बम विस्फोट भएको । त्यसपछि हिरोसिमाका मानिसहरूमा के गुज्य्रो होला ? त्यसको ठीकठीक वर्णन त जति नै गरे पनि सम्भव छैन । र पनि, त्यस नारकीय समयले दिएको त्रासदी र अवर्णनीय पीडाको सानो झल्को दिने वस्तुहरू भित्र छन्, आउनुस् भित्र जाऊँ एक क्षण ।


ठूलो हलको माझमा एउटा उभिएको चम्किलो विद्युतीय मण्डल तपाईं देखिरहनुभएको छ ? यो हो त्यस क्षणको शान्त हिरोसिमा । अब हेर्नुस्, आकाशमा केही उड्दै आइरहेको छ । त्यो तीव्र गतिमा सहरतिर नजिकिँदै छ । केही क्षणमा त्यसले कुनै चम्किलो वस्तु आफूबाट झार्‍यो । भुइँमा खस्न नपाउँदै त्यो हजार सूर्यको तेज निकाले जसरी विस्फोट भयो । अहो, पूरै सहरलाई आगाको लप्काले ढाक्यो अब ! आगाको विशाल रोटी लाखौं टाउकामाथि एकैपटक बस्न आयो भने कस्तो होला ? निश्चय नै, जीउबाट मासु पग्लिएर खस्न थाल्छ, रगत नसामै सुक्छ र मान्छे क्षणमै खरानी हुन्छ । अहो, कस्तो भयानक !


यी हेर्न्स्,ु पारदर्शी कक्षहरूमा राखिएका पग्लिएका फलाम र सिसाका आकारहीन डल्लाहरू । यी वस्तु त्यस बेला पग्लिएका धातुहरू हुन् । यहाँ भित्तामा टाँसिएको चित्रभित्र नदीमा लाखौंलाख मान्छे पसिरहेको देख्नुहुन्छ ? जीउ पग्लिन थालेपछि चिसोको खोजीमा जाने ठाउँ नै सहरको बीचमा भएको त्यही एक नदी त थियो नि ! कठै, नदी भने आफैं छट्पटिएर उम्लिरहेको र बाफ बनेर उडिरहेको थियो । तीन हजार डिग्री सेल्सियसको त्यो तातोमा शीतल कुरा कहाँ थियो र !

कक्षामा भर्खरै पसेका केटाकेटीहरू भवनसहितै पग्लिए, एउटा बालकले आफ्नो दसौं जन्मदिवसका दिन पाएको साइकल पग्लिँदा पग्लिँदै पनि काखी च्यापेर बसिरह्यो । त्यो खिइन बाँकी साइलकजस्तो फलामलाई तपाईं पग्लिरहेका मान्छेको चित्र मुन्तिर देख्न सक्नुहुन्छ । तस्बिरहरू मुन्तिरको प्रदर्शनीमा आगाको रापले डढेका बालकहरूका केही टुक्रा लुगा पनि देख्न सक्नुहुन्छ । बम खसेको ठाउँको पाँच किलोमिटरको वृत्तमा सबै मानिस यसरी नै पग्लिए र जमिनमा पछारिन नपाउँदै ती ज्वालामुखी फुटेर बगिरहेको लाभाजस्ता राता खरानी बनेर जमिनमा फिँजिए ।

पाँच किलोमिटरभन्दा परतिरचाहिँ मानिसहरू पग्लिहालेनन्, जले मात्रै । घाइते भए र बाटामा लडे । तिनको शरीरबाट मासु पोल्दा आउने अनौठो गन्ध आउन थाल्यो र पूरै सहरमा त्यो व्याप्त भयो । दुई दिनसम्म यसरी हिरोसिमा जलिरह्यो अनि बिस्तारै त्यो कालो कोइलामा परिणत भयो ।

हेर्दाहेर्दै हिरोसिमा कहिल्यै बस्ती नै नभएको ठाउँजस्तो निर्जन र खण्डहर भयो । त्यसै क्षण जलेका ७० हजार मानिसका खरानीमाथि कैयौं दिन छटपटिएका हजारौं मानिसले त्यस दग्ध जीउको पीडाबाट विश्राम लिए र आधा जलेको मुढोजसरी पसारिए । सहरको कुनाकुनामा चाहिँ घाइतेहरू र भोकले रन्थनिएकाहरू शोकको अतिरेकमा पानीको खोजीमा लागे ।

त्यसैबेला, ऊ हेर्नुस् चित्रमा, भयंकर वर्षा भयो ! तर, पानी कालो थियो, ठूलठूला थोप्लाहरू भएको । घाइतेहरूले जिब्रो निकाले, त्यस अनौठो कालो पानीको केही थोपाबाट अलिकति भए पनि तिर्खा मेट्न खोजे । तिनलाई त्यस बेला यो युरेनियमको वर्षा हो, त्यसबाट जोगिनुपर्छ भनेर सम्झाउने को थियो र !


त्यस कालो वर्षाले बाँच्नेहरूको जीउमा हजार नर्कहरूको पीडा छाडेर गयो । त्यसपछिका हरेक दिन, हप्ता, महिना र वर्षहरूमा मानिसहरूको जीउमा क्यान्सर देखिन थाल्यो, फुतुफुतु हरेक दिन कोही न कोही मर्न थाल्यो । असह्य पीडाले कतिपयले आत्महत्या गरे । कतिपयले त्यति पनि गर्न नसक्ने अवस्थमा आफूलाई घिसारिरहन बाध्य भए । एउटा बूढो मानिसको चित्रसहितको कथा लौ पढ्नुहोस् जो २१ पटक क्यान्सर लागेर ९३ वर्षको उमेरमा काल पर्खेर बसिरहेको छ ।


‘सबैलाई आउने काल मलाईचाहिँ किन आउँदैन,’ बूढाको एउटै अभिलाषा रहेछ, ‘यसरी बाँचिरहनुभन्दा त त्यसै क्षण मरेको भए हुने, किन मरिनँ होला म ?’


क्यान्सरपीडित हिरोसिमाका मानिसका यस्ता कथा त कति हुन् कति ! अझ दुःखलाग्दो स्थिति त त्यस क्षण गर्भिणी भएका महिलाको छ जसले सग्लो बालक जन्माउनै सकेनन् । यी भित्तामा हेनुस्, एउटी आमाको मुस्कुराइरहेको तस्बिर । उनी बम प्रहार हुँदा हिरोसिमाको एउटा गाउँमा गर्भिणी जीवन बिताइरहेकी थिइन् ।

हावा, पानी र माटो गरी सबै महाभूतहरूमा फैलिएको युरेनियम उनको जीउ, फोक्सो र रगतमा मात्रै होइन, पेटमा हुर्किरहेको छोराको जीउमा पनि मिसिन पुग्यो । परिणामतः बालक मन्दबुद्धिको जन्मियो जसको स्याहारमा ती महिलाको पूरा जीवन खर्च भयो । धेरै वर्षपछि, रेडियमको विकिरणले दिएको असह्य पीडाले उनको छोराको ज्यान लियो । छोरो बितेको दुई महिनामा आमाले पनि चोला बदलिन् । छोराकै मायाले उनलाई विकिरणले ल्याएको क्यान्सरले पनि मार्न सकेको थिएन । अहो मातृ शक्ति !


आणविक बमपछि कष्टकर जीवन बाँचिरहेका एक–एक मान्छेका तस्बिर र कथाहरू शान्ति स्मारकका निर्देशकले भन्दै गर्दा मेरा आँखा बर्सिरहे । संयमित हुन खोज्दाखोज्दै पनि हरेक मान्छेलाई त्यहाँ पुगेपछि भक्कानो छाडेर रुन मन लाग्दो रहेछ ।


‘हामीले भोगेको पीडा कुनै पनि भाषामा भन्न सकिने कुरा होइन, न सम्पूर्ण रूपमा शब्दले यसलाई बुझाउन सक्छ,’ त्यस आणविक हमलामा बाँच्ने थोरैमध्येकी एक केइको ओगुरा भन्दै थिइन्, ‘आज पौने सय वर्षपछि तस्बिरमा हेर्दा त तपाईं यसरी रुनुभयो, हामी त्यसै क्षणमा यो नरक भोग्नेलाई कस्तो भयो होला ?’


बयासी वर्षीया ओगुराले त्यस क्षणलाई सम्झिरहँदा सिंगो स्मारकले देखाउन खोजेको समयको तस्बिर थप प्रस्ट हुँदै गएजस्तो अनुभव हुन्थ्यो । बम हमला हुँदा आठ वर्षकी उनी त्यस दिन स्कुल गएकी भए अरू साथीसँगै खरानी हुने रहिछन् । केही दिनदेखि आकाशमा अनौठोसँग घुमिरहेको अमेरिकन जहाजलाई देखेर त्यस क्षण उनका बाबुले ओगुरालाई भनेका रहेछन्, ‘आज स्कुल नजाऊ, पक्कै केही अनिष्ट हुनेवाला छ ।’


त्यस भयानक क्षणको पूर्वाभास पाएर हो वा किन हो, केही दिनअघि नै उनका बाबुले सहरभन्दा पर बसाइ सारिेसकेका थिए ।
‘त्यहाँ नसरेको भए त स्कुल नगए पनि म मर्ने रहिछु नि,’ ओगुरा भन्छिन्, ‘धन्न, संयोगले हामी बाँच्यौं, हाम्रो परिवारलाई नै केही भएन ।’


ओगुरालाई झैं बमले सीधासीधा क्षति नपुर्‍याएका ‘भाग्यमानी’ हिरोसिमावासीलाई पछि बिहा गर्न गाह्रो हुन थाल्यो । बम खसेको सहरको मानिस भनेपछि बोल्नसमेत पनि तर्किनेहरू भए । यसले गर्दा ओगुरा आफ्नो गोप्यता भंग नहोस् भनेर चालीस वर्षको उमेरसम्म चुप लागिन् । बिहा गरिन् र घर व्यवहार सम्हालेर जीवनको गुप्त घाउलाई कसैले नदेख्ने गरी सम्हालेर राखिन् । उनको पहिलो सन्तान मृत जन्मियो ।


‘मेरा आँखा हतपत त्यस मरेको बालकका औंलाहरूमा गयो,’ ओगुरा भन्छिन्, ‘उसका औंला दसका दस थिए, त्यो देख्दा मलाई केही खुसी पनि लाग्यो ।’


युरेनियमको प्रभावका कारण बच्चाहरूको औंला ६ वटा हुने र शारीरिक रूपले पनि अस्वस्थ देखिने बेला थियो त्यो । आफ्नो छोरा मरे पनि सबलाङ्गै भएको कुराले उनलाई राहत दियो । त्यसपछि उनले सग्लो छोरा जन्माइन् । केही वर्षपछि पति बिते ।

‘त्यसपछि भने मलाई पीडा सहेर होइन, भनेर ठीक पार्नुपर्छ भन्ने लाग्यो, अनि म आफ्ना कुरा भन्नतिर लागेँ ।’


त्यसपछि उनले अंग्रेजी सिकिन्, आफ्नो कुरा संसारलाई भन्न थालिन् । अमेरिका, युरोप सबैतिर पुगेर उनले दोस्रो युद्धको समयमा भएको ज्यादतीबारे बोलिन् । ‘हिरोसिमा इन्टरप्रेटर्स फर पिस’ भन्ने संगठन स्थापना गरेर त्यसको निर्देशकका रूपमा उनी तीन दशकदेखि यसबारे बोल्दै आइरहेकी छन् । संसारमा आणविक निशस्त्रीकरण कति जरुरी छ भनेर मानिसहरूलाई थाहा दिन जरुरी भएकाले आफू लागिपरेको उनी बताउँछिन् ।


हिरोसिमामा युरेनियमबाट बनेको अणु बम खसालिएको थियो जसले पूरै सहरलाई ध्वस्त पार्‍यो । त्योभन्दा पनि शक्तिशाली प्लेटोनियम बम नागासाकीमा खसालियो लगत्तै । हिरोसिमामा झैं सहरको मध्यभागमा त्यो बम खसालिएको भए लाखौं मानिस त्यसले मार्ने थियो तत्क्षणै । तर, निर्जन पहाडमा खसाल्दा पनि त्यसले ४० हजारको ज्यान लियो । दोस्रो बम ज्यादा शक्तिशाली भएको पुष्टि भएपछि आज संसारैभर प्लेटोनियमयुक्त आणविक हतियार बनाउने होड चलेको छ ।


स्टक होम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया गरी ९ देशसँग जम्मा गरी हाल विश्वमा १३ हजार ८ सय ९० आणविक हतियार छन् ।


‘यी प्रत्येक हतियार हिरोसिमा र नागासाकीमा खसालिएका हतियारभन्दा कैयौं गुणा शक्तिशाली भएकाले पृथ्वीलाई नै ध्वस्त पार्न सक्ने क्षमताका छन्,’ ओगुरा भन्छिन्, ‘त्यसो हुनाले यी हतियारलाई नास गर्नुपर्छ, जसरी पनि आणविक युद्धबाट संसारलाई जोगाउनुपर्छ, त्यसैले म यो बूढो उमेरमा पनि बोलिरहेको छु ।’


इतिहासबाट सिक्नुपर्छ र हिरोसिमाबाट शान्ति कति आवश्यक कुरा रहेछ भन्ने थाहा पाउनुपर्छ भन्ने उनको आवाजमा अचम्मको आग्रह छ समग्र मानव समुदायप्रति । आणविक हमलाको यो अत्यासलाग्दो इतिहास साक्षात्कार गरेपछि र ओगुराको कथा सुनिसकेपछि स्मारकबाट बाहिर निक्लँदा आँखामा डिजिटल घडीजस्तो एउटा स्तम्भ देखा पर्छ जसको माथिल्लो स्क्रिनमा हिरोसिमामा बम आक्रमण भएको दिन गन्ती भएको अंक र तल्लो स्क्रिनमा आणविक हतियारको पछिल्लो परीक्षण भएयताको दिनको गन्ती अंकित छ ।


म त्यहाँ पुगेको गत ६ सेप्टेम्बरका दिन हिरोसिमामा बम खसेको २७ हजार ६० दिन पुगेको रहेछ अनि पछिल्लो आणविक परीक्षणचाहिँ २ सय ६ दिनअघि भएको रहेछ । त्यस स्तम्भको छेवैमा हिरोसिमाका मेयर मात्युई काजुमीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै लेखेको पत्र सिंगमर्मरको प्लेटमा राखिएको छ जसमा उनले संयुक्त राज्यले गत फेब्रुअरीको १३ तारिखका दिन गरेको आणविक बम परीक्षणको विरोध गरिएको छ ।


हिरोसिमामा आणविक बम प्रहारले गर्दा भएको क्षतिलाई बुझेर यस्ता हतियारको थप उत्पादन नगर्न ट्रम्पका नाममा लेखिएका यो पत्रभन्दा पूर्वतिर ज्यान गुमाएका सबै नागरिकको समाधिस्थलमाथि अविच्छिन्न बलिरहने आगाको लप्का छ । संसार आणविक अस्त्रबाट मुक्त भएका दिन मात्रै यो ज्योतिलाई निभाउने जापानको योजना सुन्दा शान्तिको एक मौन तर सबभन्दा प्रस्ट पुकार सुनेझैं लाग्छ ।


हरेक वर्ष दस लाखको हाराहारीमा संसारभरबाट हिरोसिमाको यो स्मारकमा आउनेहरू इतिहासको त्यो क्षणलाई सम्झाउने प्रमाण र प्रयत्नहरूबाट गुज्रँदै ओगुराको कथा सुनेर त्यस समाधिस्थलसम्म आइपुग्दा त्यसै क्षण संसारमा आणविक हतियार नष्ट भइदिए हुन्थ्यो भन्ने कामना गर्ने अवस्थामा स्वतः पुग्छ ।

सन् २०१६ को मे २७ का दिन बाराक ओबामाले हिरोसिमा भ्रमण गरे । अणु बम खसेको ठाउँमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा उनले त्यहाँ हिरोसिमाबाट सिक्नुपर्छ भन्ने एक भावुक मन्तव्य पनि दिए । तर, अमेरिकाले औपचारिक रूपमा माफी माग्छ भन्ने जापानीहरूको आशा भने त्यस बेला पनि पूरा भएन ।


‘ओबामा त्यहाँ आउने हिम्मत गर्नु नै माफी मागेभन्दा ठूलो कुरा हो,’ ओगुरा भन्छिन्, ‘उहिले कहाँ कसको गल्ती थियो भनेर केलाई बसिरह्यो भने झगडै मात्रै भइरहने हुनाले सबै कुरा बिर्सेर एक–अर्कालाई अँगालो हाल्न सकेकै राम्रो हो । त्यसैले म अमेरिकालाई दोष दिन्नँ, जापानले गरेको गल्तीलाई कोरिया र चीनले पनि यसैगरी माफी दिए हुन्थ्यो भन्ने चाहन्छु ।’


यत्रो विध्वंसका बाबजुद ओगुराको शान्त वाणी अनि संयमित भाव देख्दा उनप्रतिको श्रद्धा त्यसै त्यसै चुलिएर आउँदोरहेछ । ओगुराजस्ता क्षमाशील हृदय भएका जापानी जनताले दिनरात पसिना बगाएर खण्डहर हिरोसिमालाई त्यहाँ कहिल्यै केही भएकै थिएन जस्तो विकास र समृद्धिले चिटिक्क पारेका छन् । हिरोसिमाले शान्तिको कामना त गरेको छ नै, बितेको सबै कुरा बिर्सेर आउने दिनलाई रामो पार्न अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्