१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

माछी मार न हो... भाइ हो !

केही दिनअघिदेखि म बस्ने भक्तपुर कालोपाटीस्थित घरछेउको खेतमा केही युवा बल्छी लिएर माछा मारिरहेका देखिइरहन्थे  । हरेक दिनजसो बल्छी थापिरहेका यिनको टोलीलाई देखेर मलाई लाग्थ्यो– यिनको बल्छीमा साँचिकै माछा पारिरहेका छन् त ?

माछी मार न हो... भाइ हो !

न वरिपरि खोला छ ? न कुनै राजकुलो ? न कुनै नहर ? कहाँबाट यहाँ माछा आउँछन् ? भन्ने मनमा एक किसिमको खुल्दुली थियो । जहिले पनि अफिस समय पर्ने भएकाले फोटो खिच्न पाइरहेको थिइनँ । कुनै दिन यिनको फोटो खिच्छु भनेर सोचिरहेको थिएँ । गत शनिबार बल्ल त्यो अवसर मिल्यो ।


चार–पाँचजना केटा बल्छी थापिरहेका थिए । मैले सोधें– भाइ यहाँ माछा पर्छ र ? प्रश्न भुइँमा झर्न नपाउँदै ‘हेर्नु त दाइ’ भनेर एकजनाले बोतलमा राखेको माछा देखाए । मेरै अगाडि फुत्तुफुत्तु दुई चारवटा माछा ताने । हो त रहेछ ! रमाइलो लाग्यो । एकछिन बसेर हेरिरहें । सानो छँदा आफूले पनि काँधमा बल्छी राखेर खेतखेत डुलेर माछा मारेको याद आयो ।

बल्छीमा पर्ने प्रायः सबै हिले माछा थिए ।प्राध्यापक भरत सुब्बा दलदल वा सिमसारमा माछाका प्रजाति हुने र धान रोपिएपछि तीनै माछा बाहिर देखिने बताउँछन् । ‘अलिअलि हिलो भएको ठाउँमा माछा बाँच्न सक्छन्,’ उनले भने, ‘धान रोपिएपछि पानी जम्ने भएकाले माछा बाहिर निस्किन्छन् ।’ पानीको कुनै स्रोत नभए पनि धेरै समयसम्म पानी जमिरहने स्थानमा माछाले प्रजनन गराउन सक्ने उनको भनाइ छ । उनले भने ‘पानीको स्रोत धेरै टाढा भए पनि अलिअलि पानी भएको ठाउँमा माछा भेटिन सक्छन् ।’


दुवाकोट बस्ने यी युवाहरू छुट्टीको बेला वरिपरि पानी जमेको खेतमा माछा मारेर समय बिताउने गरेको बताए । मारेको माछा सानो छ र कम चोट लागेको छ भने पाल्ने र ठूलो भए खाने गरेको उनीहरूले बताए । केही बेरसम्म माछा मारेर उनीहरू आफ्नो घरतिर लागे ।









प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?