हिमालका हिमताल

प्रकृति
सन् १९७७ देखि २०१७ सम्मको अवधिमा नेपालमा हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ ।
गोविन्द पोखरेल

तिलिचो मास्तिर पनि अर्को ताल देखिएपछि मनाङका बासिन्दा खुसी भए । गत साउन दोस्रो साता चामे गाउँपालिका–४ को अग्लो स्थानमा हिमताल भेटिएको भन्दै निकै चर्चा भयो ।

हिमालका हिमताल

लमजुङ हिमालको बेस क्याम्पमा अवस्थित उक्त हिउँकुण्ड ५ हजार २ मिटर उचाइमा अवस्थित छ ।

एक किमि लम्बाइ र ६ सय मिटर चौडाइ रहेको तालको गाउँपालिकाका अध्यक्षलगायतको समूहले स्थलगत अवलोकन गर्दै संसारकै अग्लो ठाउँको जलाशय भन्दै प्रचारमा ल्याए । स्थानीयले ताललाई ‘सिंगर’ नामकरण गरे ।

चाइनिज एकेडेमी अफ साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ तिब्बेतियन प्लेटुसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातवरण विज्ञान विभागका सहप्राध्यापक डा. सुदीप ठकुरीको अनुसन्धानले उक्त ताल संसारकै अग्लो नभएको पत्ता लगाएका छन् । ठकुरीसहित तीन जना मिलेर गरेको अनुसन्धानले नेपालका सबैभन्दा अग्लो स्थानमा रहेको हिमताल मुस्ताङको दोलामे गाउँपालिकामा अवस्थित ‘धौ धुनधुन’ ताल हो । ५ हजार ९ सय ८ मिटरको उचाइमा अवस्थित उक्त तालको क्षेत्रफल २.८ हेक्टर छ । अवस्थिति ८३.७८९८ पूर्वी देशान्तर र २९.१३७३ उत्तर अक्षांश छ ।

ठकुरीको समूहका अनुसार नेपालमा १ सय १० वटा हिमताल समुद्र सतहदेखि ५ हजार ५ सय मिटरमाथि छन् । ५ हजारदेखि ५५ सय मिटरको उचाइमा ५ सय २३, ४५ सय ५ हजार मिटरमा ५ सय ६९, ४ हजारदेखि ४५ सय मिटरको उचाइमा ३ सय ७, ३५ सयदेखि ४ हजारको उचाइमा २९, ३ हजारदेखि ३५ सय मिटरको उचाइमा २ र ३ हजारभन्दा कम उचाइमा रहेको हिमताल एउटा मात्रै छ ।

५ हजार ५ सय मिटरभन्दा माथिका अधिकांश हिमताल मुस्ताङमा छन् । ०.३६ हेक्टरभन्दा ठूला नेपालका ९८ प्रतिशत हिमतालहरू ४ हजार मिटरभन्दामाथि रहेको सहप्राध्यापक ठकुरी बताउँछन् । ‘हामीले संसारकै अग्लो वा देशकै अग्लो–होचो भनेर दाबी गरिहाल्नुअघि अनुसन्धान जरुरी छ,’ उनी भन्छन्, ‘हिमतालका विषयमा अझै धेरै अनुसन्धानको खाँचो छ ।’
....

हिमतालहरूलाई विभिन्न प्रकारका हुन्छन् । ग्लेसियर अगाडि बन्ने साइडमा बन्ने प्रो ग्लोसियर ताल भनिन्छ । हिमनदीबाट बनेकालाई अनकनेक्टेड हिमताल भनेर चिनिन्छ । हिमनदीको सतहमा हुनेलाई सुप्रा–ग्लेसियर ताल भनिन्छ । हिमनदीको बरफबीचमा रहने र बाहिरबाट नदेखिने तालहरूलाई सब ग्लेसियल ताल भन्ने गरिन्छ । हिमनदीमुनि बन्नेलाई इन–ग्लेसियर ताल भन्ने भनिन्छ । यसरी हिमनदीहरूलाई वर्गीकरण गरिएको छ ।

बढ्दै हिमताल

तालहरूको क्षेत्रफल बढ्दै गएको अनुसन्धानले देखाउँछ । सन् १९७७ देखि २०१७ सम्मको अवधिमा नेपालमा हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमतालको संख्या सन् १९८७ मा १ हजार १ सय ३७ वटा थिए । २०१७ मा आएर यसको संख्या १ हजार ५ सय ४१ पुगेको छ । यिनमा ‘प्रो ग्लेसियल’ हिमतालको संख्या १ सय ८१ प्रतिशतले बढेको देखिन्छ ।

केही वर्षयता ४१ सय मिटर उचाइमा अवस्थित लाङटाङको झ्याब्रू हिमतालको क्षेत्रफल पनि बढिरहेको छ । उक्त हिमतालको अध्ययन गरिरहेकी त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकोत्तर गरिरहेकी प्रिया बेलबासेका अनुसार झ्याब्रू हिमतालमा सन् २०११ देखि २०१७ सम्ममा आमूल परिवर्तन आएको छ ।

उनका अुसार झ्याब्रू हिमताल २०११ मा २५ हजार ७ सय ३३ वर्गमिटरमा फैलिएको थियो । २०१२ मा आएर यसको क्षेत्रफल ४६ हजार ६ सय ४,२०१५ मा ६३ हजार ३ सय ५५ र २०१७ मा पुनः बढेर ६७ हजार २ सय ४० वर्गमिटर पुगेको छ । यसले हिमताल बढ्दै गएको देखिन्छ भने अर्कोतर्फ केन्जिन उपत्याका आसपासका बस्ती जोखिममा परेका उनले सुनाइन् ।

यसरी बनिन्छ हिमताल
पृथ्वीको विकासक्रमको इतिहास हेर्ने हो भने आज हामीले देख्न हिमालय र हामी बस्ने भूभाग कुनै बेला तेत्थिस समुद्र थियो । इन्डियन र तिब्बतियन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किँदा हिमालयको उत्पत्तिको भएको मानिन्छ । त्यही भएर हिमाली क्षेत्र खुकुलो ढुंगा र मोटोले बनेको हो । त्यही समुद्रका ‘सेडिमेन्टस’ हरू हिमालयमा पाइन्छ ।

जब हिमालयमा रहेका ग्लेसियरहरू पग्लन थाल्छन्, तब हिमतालहरू बन्ने गरेका छन् । ग्लेसियर हिउँ र बरफको एउटा ठूलो थुप्रो हो जो बिस्तारै बग्छ र बग्ने क्रममा धेरै वस्तु आफूसँगै सोरेर लैजान्छ । ग्लेसियर बग्ने क्रममा कुनै ठाउँहरू खाली हुन्छन् । त्यही खाली ठाउँमा हिउँहरू पग्लन्छन् अनि खाली ठाउँ भर्छन् । यी खाली ठाउँहरूमा हिमतालहरू बन्छन् ।


‘हिउँ पग्लने क्रममा हिमालको माटो अझ झन् खुकुलो हुन्छ र त्यहाँ हिउँ पग्लेर बनेको पानी त्यही ठाउँमा भरिँदै जान्छ । त्यही कुण्ड, ताल वा पोखरी बन्छ ।’ त्रिविका वातवरण विज्ञानका विद्यार्थी एवं जलवायु परिवर्तनसम्बन्धी शोध गरिरहेका पदम ढकालले भने ।

हिमताल विस्फोटनको घटना बढ्दै

मताल विस्फोटनका घटनाहरू नेपालमा बढ्दै गएको विभिन्न घटनाक्रमहरूले देखाउँछन् । सन् २०११ मा इसिमोडले निकालेको एक प्रतिवेदनमा नेपालमा २४ वटा हिमताल विस्फोटनको घटना भएको उल्लेख गरेको छ । जसमा १४ वटा नेपालबाटै उत्पत्ति भएका भने अन्य १० वटा तिब्बतबाट फुटेर नेपालमा क्षति गरेको उल्लेख छ ।

२०११ पछि थप ४ वटा हिमताल विस्फोटनको घटना भएको तथ्यांक छ । पुरानो र नयाँ गरर २८ वटा हिमताल विस्फोटनका घटनाहरू नेपालमा भइसकेका छन् । सन् लोहोत्से हिमतालमा २०१५ र २०१६ मा हिमतालभित्र रहेको ताल फुटेको थियो । सन् २०१६ मा सिन्धुपाल्चोकमा तिब्बती ताल फुटेर सेचरमोचो ताल नजिकैको ताल फुट्दा भोटेकोसी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । बरुण उपत्यकामा रहेको सन् २०१७ मा लाङमाले हिमताल फुटेको थियो ।

यस्तै नेपालका २१ वटा हिमताल फुट्ने खतरामा रहेको इसिमोडकै अध्ययनले देखाएको छ । जसमध्ये ६ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने चेतावनी दिइएको थियो । च्छो रोल्पा, इम्जा, ठुलागी, चामलाङ, वरुण, लुम्दिङ हिमताल उच्च जोखिममा रहेको इसिमोडले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । सेनाले इम्जा र च्छो–रोल्पा हिमतालबाट ३ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गर्ने काम गरेको थियो ।

हिउँ पग्लँदै जाँदा तालमा पानीको मात्रा पनि त्यही अनुपातमा बढ्दै जान्छ अनि क्षेत्रफल बढ्छ । तालमा पानी धेरै हुन थालेपछि बाधमा दबाब पर्न थालेपछि ताल भत्कने गर्छ । यही ताल भत्कनुलाई हामी हिमताल विस्फोट भन्छौ । तालहरू चहिले पनि उच्च स्थानमा बनेका हुन्छन् । तालको भिरोलोतर्फको भागमा पानीको मात्रा बढ्दै जाँदा भत्कन्छ र विस्फोट हुन्छ ।

विशेषतः हिमतालहरू हिउँदको समयमा फुट्ने सम्भावना कम हुन्छ । त्यसबेला हिउँ जमेको हुन्छ । वर्षायाममा फुट्ने सम्भावना बढी देखिने गरेको इतिहास छ । कहिलेकाहीं तालमा ठूलठूला चट्टान वा पहिरो खस्दा पनि ताल भत्कने गरेको सहप्राध्यापक ठकुरी बताउँछन् ।विश्वमा बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रका ग्लेसियरहरू नेपालमा १५ प्रतिशतले ग्लेसियरको क्षेत्रफल घटेको देखिन्छ ।

ठकुरीले गरेकै अर्कै रिसर्च पेपरले ग्लेसियरको क्षेत्रफल घटेको देखाउँछ । दक्षिणी र उत्तरी ध्रुवपछि बढी हिउँहरू रहेको हिमालय जलवायु परिवर्तनको दृष्टिकोणले उच्च जोखिम मानिन्छन् । पृथ्वीमा दुई धुव्रपछि तेस्रो बढी हिउँ जम्ने र बरफको क्षेत्रफल धेरै भएकाले हिमालयलाई तेस्रो ध्रुव भन्ने गरिन्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?