हिमालका हिमताल

प्रकृति
सन् १९७७ देखि २०१७ सम्मको अवधिमा नेपालमा हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ ।
गोविन्द पोखरेल

तिलिचो मास्तिर पनि अर्को ताल देखिएपछि मनाङका बासिन्दा खुसी भए । गत साउन दोस्रो साता चामे गाउँपालिका–४ को अग्लो स्थानमा हिमताल भेटिएको भन्दै निकै चर्चा भयो ।

लमजुङ हिमालको बेस क्याम्पमा अवस्थित उक्त हिउँकुण्ड ५ हजार २ मिटर उचाइमा अवस्थित छ ।

एक किमि लम्बाइ र ६ सय मिटर चौडाइ रहेको तालको गाउँपालिकाका अध्यक्षलगायतको समूहले स्थलगत अवलोकन गर्दै संसारकै अग्लो ठाउँको जलाशय भन्दै प्रचारमा ल्याए । स्थानीयले ताललाई ‘सिंगर’ नामकरण गरे ।

चाइनिज एकेडेमी अफ साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ तिब्बेतियन प्लेटुसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातवरण विज्ञान विभागका सहप्राध्यापक डा. सुदीप ठकुरीको अनुसन्धानले उक्त ताल संसारकै अग्लो नभएको पत्ता लगाएका छन् । ठकुरीसहित तीन जना मिलेर गरेको अनुसन्धानले नेपालका सबैभन्दा अग्लो स्थानमा रहेको हिमताल मुस्ताङको दोलामे गाउँपालिकामा अवस्थित ‘धौ धुनधुन’ ताल हो । ५ हजार ९ सय ८ मिटरको उचाइमा अवस्थित उक्त तालको क्षेत्रफल २.८ हेक्टर छ । अवस्थिति ८३.७८९८ पूर्वी देशान्तर र २९.१३७३ उत्तर अक्षांश छ ।

ठकुरीको समूहका अनुसार नेपालमा १ सय १० वटा हिमताल समुद्र सतहदेखि ५ हजार ५ सय मिटरमाथि छन् । ५ हजारदेखि ५५ सय मिटरको उचाइमा ५ सय २३, ४५ सय ५ हजार मिटरमा ५ सय ६९, ४ हजारदेखि ४५ सय मिटरको उचाइमा ३ सय ७, ३५ सयदेखि ४ हजारको उचाइमा २९, ३ हजारदेखि ३५ सय मिटरको उचाइमा २ र ३ हजारभन्दा कम उचाइमा रहेको हिमताल एउटा मात्रै छ ।

५ हजार ५ सय मिटरभन्दा माथिका अधिकांश हिमताल मुस्ताङमा छन् । ०.३६ हेक्टरभन्दा ठूला नेपालका ९८ प्रतिशत हिमतालहरू ४ हजार मिटरभन्दामाथि रहेको सहप्राध्यापक ठकुरी बताउँछन् । ‘हामीले संसारकै अग्लो वा देशकै अग्लो–होचो भनेर दाबी गरिहाल्नुअघि अनुसन्धान जरुरी छ,’ उनी भन्छन्, ‘हिमतालका विषयमा अझै धेरै अनुसन्धानको खाँचो छ ।’
....

हिमतालहरूलाई विभिन्न प्रकारका हुन्छन् । ग्लेसियर अगाडि बन्ने साइडमा बन्ने प्रो ग्लोसियर ताल भनिन्छ । हिमनदीबाट बनेकालाई अनकनेक्टेड हिमताल भनेर चिनिन्छ । हिमनदीको सतहमा हुनेलाई सुप्रा–ग्लेसियर ताल भनिन्छ । हिमनदीको बरफबीचमा रहने र बाहिरबाट नदेखिने तालहरूलाई सब ग्लेसियल ताल भन्ने गरिन्छ । हिमनदीमुनि बन्नेलाई इन–ग्लेसियर ताल भन्ने भनिन्छ । यसरी हिमनदीहरूलाई वर्गीकरण गरिएको छ ।

बढ्दै हिमताल

तालहरूको क्षेत्रफल बढ्दै गएको अनुसन्धानले देखाउँछ । सन् १९७७ देखि २०१७ सम्मको अवधिमा नेपालमा हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमतालको संख्या सन् १९८७ मा १ हजार १ सय ३७ वटा थिए । २०१७ मा आएर यसको संख्या १ हजार ५ सय ४१ पुगेको छ । यिनमा ‘प्रो ग्लेसियल’ हिमतालको संख्या १ सय ८१ प्रतिशतले बढेको देखिन्छ ।

केही वर्षयता ४१ सय मिटर उचाइमा अवस्थित लाङटाङको झ्याब्रू हिमतालको क्षेत्रफल पनि बढिरहेको छ । उक्त हिमतालको अध्ययन गरिरहेकी त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकोत्तर गरिरहेकी प्रिया बेलबासेका अनुसार झ्याब्रू हिमतालमा सन् २०११ देखि २०१७ सम्ममा आमूल परिवर्तन आएको छ ।

उनका अुसार झ्याब्रू हिमताल २०११ मा २५ हजार ७ सय ३३ वर्गमिटरमा फैलिएको थियो । २०१२ मा आएर यसको क्षेत्रफल ४६ हजार ६ सय ४,२०१५ मा ६३ हजार ३ सय ५५ र २०१७ मा पुनः बढेर ६७ हजार २ सय ४० वर्गमिटर पुगेको छ । यसले हिमताल बढ्दै गएको देखिन्छ भने अर्कोतर्फ केन्जिन उपत्याका आसपासका बस्ती जोखिममा परेका उनले सुनाइन् ।

यसरी बनिन्छ हिमताल
पृथ्वीको विकासक्रमको इतिहास हेर्ने हो भने आज हामीले देख्न हिमालय र हामी बस्ने भूभाग कुनै बेला तेत्थिस समुद्र थियो । इन्डियन र तिब्बतियन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किँदा हिमालयको उत्पत्तिको भएको मानिन्छ । त्यही भएर हिमाली क्षेत्र खुकुलो ढुंगा र मोटोले बनेको हो । त्यही समुद्रका ‘सेडिमेन्टस’ हरू हिमालयमा पाइन्छ ।

जब हिमालयमा रहेका ग्लेसियरहरू पग्लन थाल्छन्, तब हिमतालहरू बन्ने गरेका छन् । ग्लेसियर हिउँ र बरफको एउटा ठूलो थुप्रो हो जो बिस्तारै बग्छ र बग्ने क्रममा धेरै वस्तु आफूसँगै सोरेर लैजान्छ । ग्लेसियर बग्ने क्रममा कुनै ठाउँहरू खाली हुन्छन् । त्यही खाली ठाउँमा हिउँहरू पग्लन्छन् अनि खाली ठाउँ भर्छन् । यी खाली ठाउँहरूमा हिमतालहरू बन्छन् ।


‘हिउँ पग्लने क्रममा हिमालको माटो अझ झन् खुकुलो हुन्छ र त्यहाँ हिउँ पग्लेर बनेको पानी त्यही ठाउँमा भरिँदै जान्छ । त्यही कुण्ड, ताल वा पोखरी बन्छ ।’ त्रिविका वातवरण विज्ञानका विद्यार्थी एवं जलवायु परिवर्तनसम्बन्धी शोध गरिरहेका पदम ढकालले भने ।

हिमताल विस्फोटनको घटना बढ्दै

मताल विस्फोटनका घटनाहरू नेपालमा बढ्दै गएको विभिन्न घटनाक्रमहरूले देखाउँछन् । सन् २०११ मा इसिमोडले निकालेको एक प्रतिवेदनमा नेपालमा २४ वटा हिमताल विस्फोटनको घटना भएको उल्लेख गरेको छ । जसमा १४ वटा नेपालबाटै उत्पत्ति भएका भने अन्य १० वटा तिब्बतबाट फुटेर नेपालमा क्षति गरेको उल्लेख छ ।

२०११ पछि थप ४ वटा हिमताल विस्फोटनको घटना भएको तथ्यांक छ । पुरानो र नयाँ गरर २८ वटा हिमताल विस्फोटनका घटनाहरू नेपालमा भइसकेका छन् । सन् लोहोत्से हिमतालमा २०१५ र २०१६ मा हिमतालभित्र रहेको ताल फुटेको थियो । सन् २०१६ मा सिन्धुपाल्चोकमा तिब्बती ताल फुटेर सेचरमोचो ताल नजिकैको ताल फुट्दा भोटेकोसी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । बरुण उपत्यकामा रहेको सन् २०१७ मा लाङमाले हिमताल फुटेको थियो ।

यस्तै नेपालका २१ वटा हिमताल फुट्ने खतरामा रहेको इसिमोडकै अध्ययनले देखाएको छ । जसमध्ये ६ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने चेतावनी दिइएको थियो । च्छो रोल्पा, इम्जा, ठुलागी, चामलाङ, वरुण, लुम्दिङ हिमताल उच्च जोखिममा रहेको इसिमोडले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । सेनाले इम्जा र च्छो–रोल्पा हिमतालबाट ३ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गर्ने काम गरेको थियो ।

हिउँ पग्लँदै जाँदा तालमा पानीको मात्रा पनि त्यही अनुपातमा बढ्दै जान्छ अनि क्षेत्रफल बढ्छ । तालमा पानी धेरै हुन थालेपछि बाधमा दबाब पर्न थालेपछि ताल भत्कने गर्छ । यही ताल भत्कनुलाई हामी हिमताल विस्फोट भन्छौ । तालहरू चहिले पनि उच्च स्थानमा बनेका हुन्छन् । तालको भिरोलोतर्फको भागमा पानीको मात्रा बढ्दै जाँदा भत्कन्छ र विस्फोट हुन्छ ।

विशेषतः हिमतालहरू हिउँदको समयमा फुट्ने सम्भावना कम हुन्छ । त्यसबेला हिउँ जमेको हुन्छ । वर्षायाममा फुट्ने सम्भावना बढी देखिने गरेको इतिहास छ । कहिलेकाहीं तालमा ठूलठूला चट्टान वा पहिरो खस्दा पनि ताल भत्कने गरेको सहप्राध्यापक ठकुरी बताउँछन् ।विश्वमा बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रका ग्लेसियरहरू नेपालमा १५ प्रतिशतले ग्लेसियरको क्षेत्रफल घटेको देखिन्छ ।

ठकुरीले गरेकै अर्कै रिसर्च पेपरले ग्लेसियरको क्षेत्रफल घटेको देखाउँछ । दक्षिणी र उत्तरी ध्रुवपछि बढी हिउँहरू रहेको हिमालय जलवायु परिवर्तनको दृष्टिकोणले उच्च जोखिम मानिन्छन् । पृथ्वीमा दुई धुव्रपछि तेस्रो बढी हिउँ जम्ने र बरफको क्षेत्रफल धेरै भएकाले हिमालयलाई तेस्रो ध्रुव भन्ने गरिन्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

सत्तारुढ दलकै सांसदको आक्रोश: कतिजना सांसदलाई डेंगु लागेपछि सरकारको ध्यान जान्छ ?

गोविन्द पोखरेल

काठमाडौँ — लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै सत्तारुढ दलकै सांसदले सरकार विरुद्ध आक्रोश पोखेका छन् । नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले जताततै डेंगु फैलिरहँदा सरकारको आधिकारिक धारणा नआएको भन्दै आपत्ति जनाए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले भने,'मन्त्री डेंगुको पीडित, वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत डेंगुको पीडित। अब हामी कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो।'

उनले जताततै डेंगुआतंक हुँदा पनि सरकार नबोलेको भन्दै आपत्ति जनाए।नेपाल सरकारको सट्टा अमेरिकी सरकारले नेपालमा डेंगु रहेको कुरा उल्लेख गरेकोसांसद श्रेष्ठको भनाइ छ।भने,' अमेरिकी सरकारले आफ्ना नागरिकहरुलाई नेपालमा डेंगु आतंक रहेको र त्यहाँ नजान भनेको छ। नेपालमा रहेका अमेरिकी नागरिकहरुलाई सचेत रहनु भनेको छ। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? '

उनले स्वास्थ्यमन्त्रीलाई तत्काल सदनमा बोलाउन माग राख्दै डेंगु बारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग राखे।

यस्तै, सभामुख कृष्णबहादुर महराले डेंगुको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई यस विषयमा यधाशिघ्र जानकारी गराउन निर्देशन दिएका छन्।

यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । उनले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : भाद्र २६, २०७६ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्