इतिहास : बाह्र मगरातमा शाही कटक

यादव देवकोटा

मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ  । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ  ।

मगरात
तत्कालीन ‘बाह्रथरे’ मगरहरूको इलाकाका रूपमा परिचित बाह्र मगरातभित्र अर्घा, खाँची, गुल्मी, इस्मा, मुसीकोट, घिरिङ, बल्ढेङगढी, रुद्रपुरगढी, देउचुली, तनहाङ/तनु–ह्युला’ (तनहुँ), पर्वत, गलकोट, रिसिङ, घिरिङ, भीरकोट, सतहुँ, गरहुँ, पैयुँ, ढोर, कास्की, ल्यहे–मुऊ–ह्युला (लमजुङ), काहुँ, लिगलिग, गोर्खाकोट, बुङकोट, बाह्राकोट (बाहकोट), तार्घाकोट (ताकुकोट), मकवानपुर लगायतका रैथाने सामन्ती इलाका आबद्ध थियो । कतै कविला राज्यको रूपमा त कतै रजौटा र स्थानीय सामन्तका रूपमा । आफ्नै सिक्का नभएको, स्थायी सेना पनि नभएको ।


मग्वर मगरातको प्राचीन नाम हो । मगरहरूको मूलथलो या मगरात मर्स्याङ्दी नदीदेखि प्यूठानसम्मको प्रदेशलाई भनिन्थ्यो (पन्त/शर्मा–द टु अर्लिएस्ट कपरप्लेट इन्स्क्रिप्सन्स फ्रम नेपाल, मिसेनेन्स पेपर, पृ. ६) । निसी–भुजीलाई सीमा मानेर त्यस पश्चिमको भेग अठार मगरात र पूर्वको भेग बाह्र दर्लाम अर्थत् बाह्र मगरातका रूपमा परिचित थियो । अठार मगरात (राप्ती) मा पाङ (खाम) र बाह्र मगरात (गण्डकी) मा ढुट मगर भाषा बोल्ने गरिन्छ (बुढामगर, भोजविक्रम–मगर जातिको राजनीतिक इतिहास, पृ. ६९/७३) ।


त्यही बाह्र मगरातका विभिन्न राज्यहरू सुरुमा रिडी–भीरकोटबाट अस्तित्वमा देखिने आरम्भिक समयमा मगर नै रहेका भनिएका र पछि खान/साही/शाहको पदवी धारण गरी ठकुरी कहलिन गएकाहरूले एकपछि अर्को गर्दै निल्न पुगे । भीरकोट, सतहुँ, गरहुँ, बल्ढेङ, किहुँ, रामकोटजस्ता अनेकन मगर प्रशासित इलाका बिनाकुनै लडाइँ खानहरूको हातमा गएको देखिन्छ । तर, जहाँ गुरुङहरूको इलाका थियो, त्यहाँ भने खानहरूले चर्को भिडन्त बेहोर्नुपरेको थियो ।


त्यसरी बाह्र मगरातका मगर राज्यहरूमा शाही कटकको सिलसिला गोर्खा माझकोटमा आइपुग्दा भने भीषण भिडन्तमा परिणत हुन्छ । पन्ध्र दिन लामो निरन्तरको प्रतिवादपछि बाह्र मगरातको अन्तिम मगर राज्य गोर्खा माझकोट द्रव्य शाहको हातमा जान्छ । मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ ।

लसर्घादेखि गोर्खाकोटसम्म
पश्चिमको खस राज्यमा स–साना राजा–रजौटाको स्वतन्त्र अस्तित्व देखिन थालेको बेला खस राज्यकै सामन्त इलाकाका सामन्त गज ब्रम्हका छोरा धर्म पालले विसं १४८० तिर रिब्दीकोट नामक स्वतन्त्र राज्यको स्थापना गरेका थिए । यसपछि कालीगण्डकी आसपासका पहाडी भेगमा अर्घा, खाँची, धुरकोट, मुसिकोट, इस्मा, पर्वत पनि स्वतन्त्र रियासतका रूपमा स्थापित हुन पुगे ।

रिब्दीकोटको सेन राज्यको मुकाम रुद्र सेनले पाल्पा सारेका थिए (खनाल, मोहनप्रसाद–सेनराज्यको राजनीतिक इतिहास, पृ. १९) । रिब्दीकोट नजिक बल्ढेङगढीमा मगरहरूको बलियो राज्य अस्तित्वमै थियो । गण्डकी प्रदेशमा सेन राज्य स्थापना भएको समयकै हाराहारीमा त्यही प्रान्तको केही उत्तरी भेकमा ‘खान’ राज्यको स्थापना भएको थियो । खानहरूले पूर्वतिर बढ्दै गएर गोर्खासम्म पुग्दा आठ राज्य स्थापना गरेका थिए । यी राज्यलाई आठ टीका पनि भनिन्थ्यो ।


विसं १५०० को आसपासमा लसर्घामा जैन (जैत) ‘खाँन/खाँण’ बाट आजका शाहहरूको स्थानीय जरो उठेको विभिन्न समयमा लेखाइएका वंशावलीहरूमा उल्लेख भएको पाइन्छ । केही वर्षपछि आँधीखोलाको दायाँ किनाराको खिलुङमा जमिन आवाद गराई भीरकोट ठकुराईको जग बसाएको देखिन्छ (आचार्य बाबुराम–श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (१), पृ. ६) ।


गोरखा राजवंशावलीअनुसार जैन खानका छोरा सूर्यखानले लसर्घाबाट बढेर खिलुङमा राज्य जमाए । उनका जेठा छोरा कर्हान्चा (खाञ्चा) ले खिलुङ छाडेर भीरकोटमा र कान्छा छोरा मिर्हन्चा (मिचा) ले नुवाकोटमा रजाइँ कायम गरे । रैथाने मगर बोलीमा कर्हान्चा भनेको जेठा र मिर्हन्चा भनेको कान्छा हो । शाहवंशीहरू चित्तौरबाट आएका राजपूतहरू नै थिए भने उनीहरूले आफ्ना छोराहरूलाई रैथाने मगरबोलीमा जेठा र कान्छा राख्ने बाध्यतै के थियो र ?


कर्हान्चाका सन्तानले भीरकोटबाट बढेर गरहुँ र ढोरमा रजाइँ कायम गरे । मिर्हन्चा आफ्ना छोरा लिएर लगभग विसं १५१० तिर बाह्रदर्लामको नवकोट पुगे । बहदर्लाम भनेको मगरको बस्ती हो । उनका जेठा छोरा भक्ति खान आफ्नो मूलराज्यमा रहिरहे पनि कान्छा विचित्र खान भने आँधीखोला आसपास रहेका मगर आवादीहरूबाट मात्र सन्तुष्ट नभई त्यहाँबाट उत्तरतर्फ आवाद भएर रहेका बस्तीहरू नियन्त्रणमा लिई स्वतन्त्र राज्यको गठन गर्न पुगे । यही राज्य नै पछि आएर कास्की राज्यको नामले प्रसिद्ध हुन पुग्यो (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त (२), पृ. ८९) ।


विचित्र खानपछि जगती खानले घलेमा रहेको घलेहरूको राज्य (क्होल, सिक्लिस, अर्मलाकोट) स्थानीय शासक राकसे गुरुङको नायकत्वबाट खोसेर खानहरूको कास्की राज्यमा सामेल गराएका थिए (मेचीदेखि महाकाली, भाग ३, पृ. ४४५) । कास्की राज्यको विस्तार गरी कुलको इज्जत बढाउन सकेकाले उनले ‘कुलमण्डन’ नाम धारण गरेका थिए, जगतीको ठाउँमा । कुलमण्डलले पौराणिककालीन कुण्डिन देशका मण्डन राजा नलसँग तुलना गरी कुण्डिन मण्डन भन्दाभन्दै उनको कुलमण्डन हुन गएको देखिन्छ (शर्मा, गोपीनाथ–चौबीसी राज्यको इतिहास, पृ. ३२) ।


उनका सात भाइ छोरा थिए । जेठा नरराज खान कास्कीको राजा रहे । पहिले कालु साही र पछि जसबम (यशोब्रह्म) साही लमजुङ लगेर राजा थापिए । तिनै नरराज खानले ‘साही’ उपाधि प्रयोग गरेपछि त्यसैको सिकोमा यशोब्रह्मले पनि साही उपाधि धारण गरे । यशोब्रह्मका जेठा छोरा नरहरि साही लमजुङकै राजा रहे भने उनका कान्छा द्रव्य साहीलाई उनले मर्स्याङ्दी तथा चेपे नदीभन्दा दक्षिणपूर्वमा रहेको मगरातको रागिनासकोटको प्रशासक बनाएर पठाएका थिए (आचार्य, उही (२), पृ. ९०) ।


तिनै द्रव्य शाहले विसं १५१५ मा रैथाने मगर प्रशासित लिगलिगकोट कब्जा गरे भने विसं १६१६ भदौ २५ मा हाल गोरखा दरबार रहेको तत्कालीन माझकोटका मानसिङ खड्गालाई पराजित गरी बाह्र मगरातको अन्तिम मगर राज्य हडपेर साही धुन्य फहराए । योसँगै बाह्र मगरातमा रहेको मगर राज्यमाथिको साही कटकले विश्राम लियो र उप्रान्त यो तमु, तामाङ, नेवार, किराँत र अन्य रैथाने राज्य निलेर एकात्मक साही राज्यको आकार बढाउन अघि बढ्यो ।


फलाम काट्न फलाम
गोर्खा भेकमा पछिल्लो समय खस राज्य र पाल्पासहितका राज्यहरूको विस्तार र विघटनको क्रममा अघि बढ्दै, बसाइ सर्दै हिँडेका पश्चिमी पहाडी भेगका ब्राह्मण, क्षत्री, दलितहरूको आवादी सघन हुन गएको थियो । निश्चित संस्कार, संस्कृतिबाट संस्कारित ब्राह्मण, क्षत्रीहरूले रैथाने संस्कृति, परिशीलनमा अभ्यस्त गोर्खा भेकमा आफूलाई असहज र असुरक्षित महसुस गरिरहेको थियो ।


आगन्तकु बाहुन, क्षत्रीको बढ्दो आकांक्षा, बल र संख्यालाई रैथाने मगरहरूले थेग्न नसक्ने अवस्था आएपछि ती दुई समुदायबीच अन्तरविरोध तीव्र हुन गएको थियो । पश्चिमबाट अनेकन आकांक्षा र बढ्दो आवश्यकता थेग्न पूर्व हान्निएको नवआगन्तुक खसहरूको हूलको महत्त्वाकांक्षा र आवश्यकताको सम्बोधन परम्परागत सामाजिक रीति थामेर बसेको प्रशासक, सामन्तहरूसँग थिएन ।


बग्ने पानीजस्तै चहार्दै, डुल्दै, लड्दैभिड्दै हिँडेका खस, पर्वत, इस्मा, पाल्पालगायतबाट गोर्खामा केन्द्रीकृत हुन गएका क्षत्रिय र तिनका बिचारी ब्राह्मणको बुद्धि, बल, तिक्डमलाई सामना गर्न सक्ने अवस्थामा एकै ठाउँ जमेर बसेको रैथाने मगर समुदाय थिएन नै ।
उसै पनि सामन्ती प्रथा धानेर बसेका मगर प्रशासकसँग असन्तुष्ट रैथाने मगर गंगारामलगायतलाई भड्काएर फलाम काट्न फलाममै धार साँध्ने कुटिल चलाखी मगरविरोधीहरूले अपनाएका थिए ।

भुसुन्डीखोला पानीढलो, चेपे पानीढलो र दरौंदी पानीढलोबीचमा आवादी चलाएर बसेका घले/खड्गा मगरहरू र राना, वुषाल, मास्की, पुलामीमगरहरूबीच जारी तीव्र अन्तरविरोधले असन्तुष्ट मगरसँग असुरक्षित र असन्तुष्टिको भुंग्रोमा परेको क्षत्री, ब्राह्मणहरूको हातेमालो भएपछि त्यसको मार खेप्न रैथाने घले/खड्गामगरको तागत पर्याप्त भएन ।

पाल्पाबाट तत्कालीन छोप्राक बेलबासमा बसेका गणेश पाँडे, इस्माबाट आएका नारायणदास अर्याल, अर्घाबाट आएका सर्वेश्वर खनाल र भगीरथ पन्थ, सल्यानबाट आएका केशव बोहराबीच मोर्चावन्दी भएपछि यो बाहिरिया समूहले रैथाने मगरहरूलाई आफ्नो शासक मान्न अस्वीकार गर्‍यो । अनेक कारणले मगर शासकसँग असन्तुष्ट गंगाराम पनि त्यही समूहमा मिसिएपछि रागिनासको प्रशासन चलाई बसेका भीरकोटे खान/साही खलकका द्रव्यलाई अघि सारेर आफ्नो तुष्टि पूरा गर्ने दाउमा यो समूह लाग्यो ।

मगरले नमानेको दसैं
विसं १६१५ को दसैंमा दौडमा सामेल भई आफ्नो राजा छान्न सामेल घलेमगरहरूलाई गिंडेर द्रव्य शाहले लिगलिगकोट कब्जा गरेको मूलधारको इतिहासकारहरूले उल्लेख गरेको पाइन्छ । तर द्रव्य शाहले लिगलिगमा विजयादशमीको दिनमा राजाको दौडमा सामेल घलेहरू मारेर लिगलिग दख्खल गरेको कुराचाहिँ किन पनि मिल्दैन भने घलेहरू तिब्बतीकरण भएको बौद्ध धर्म मतावलम्बी थिए ।

त्यसैले तिनलाई हिन्दूहरूको विजयादशमी कुनै चाड, उत्सवको दिन थिएन नै (आचार्य, उही (१), पृ. ४३) । रैथाने अनुश्रुतिअनुसार पाल्पाली सेन राज्य विभाजित भएपछि विसं १६०५ पछिका दिनहरूमा रैथाने दलसुर घलेमगर प्रशासक छँदा अनेक विवाद उब्जिएपछि उनले हरेक चैत्र पूर्णिमाको दिन दौडमार्फत आफ्नो शासक छान्ने रीति छानेकामा एक जना घले लगातार बाह्र वर्षदेखि दौडमा प्रथम भई शासक बन्दै आएका थिए ।

उसै पनि त्यसबखत, बल हुनेहरू नै आफ्नो इलाकाको रक्षार्थ सामर्थ्यवान मानिने समय थियो र घलेहरूको अभ्यास त्यही ‘तिघ्रे’ तागतको मापन गर्ने एउटा हिस्सा थियो । द्रव्य शाहीले लिगलिग महविलथोक तल तिघ्रे गणतन्त्रको अभ्यास गर्दै दौडमा भाग लिइरहेका पाँच घलेहरू काटेर लिगलिगमा ‘पाखुरे’ एकात्मक साहीतन्त्रको धुन्य फहराएका थिए ।


समावेशी फौज
त्यसरी लिगलिग हान्न आउँदा द्रव्य शाहले साथमा केही लमजुङे गुरुङहरू पनि ल्याएका थिए, जसलाई उनले पछि उमरा पद दिएर राखेका थिए । राम साहीको पालासम्म वार्पाक, स्यार्तान, अठार सयखोला, सल्यान, वस्याहारी, खरी, मैधी, धादिङ आदि राज्यहरू गोर्खामा गाभिएपछि गोर्खामा मगर, गुरुङ, घले, तामाङहरूको संख्या बढ्न गयो ।

लिगलिगकोट, माझकोट, उपल्लोकोट, तल्लोकोट, सिह्रानचोक, अजिरगढमा खान/साही दखलपछि गोर्खालीसँग पहिल्यैदेखि मगर, बराम, क्षत्री, ब्राह्मण, माझी, कुमाल, ‘दलित’, गुरुङहरूको शक्ति एकीकृत भएकै थियो । उसो त, द्रव्य शाहलाई रागिनासबाट बोकेर गोर्खा ल्याउने काम बरामहरूले गरेका थिए (बराम र छन्त्याल–बराम जातिको चिनारी, पृ. २८) । गोरखाका कुमालहरूले गोर्खा राज्य विस्तारको क्रममा दौडाहाको रूपमा परिचालित भई सन्देश सम्प्रेषकको भूमिका निर्वाह गरेका थिए (मुखिया, बाघवीर–कुमाल जातिको अध्ययन, पृ २९) ।

यसरी गोर्खाले आफ्नो आकार बढाउँदै जाँदा देशको सबैभन्दा लडाकु शक्ति एउटै सैन्य क्याम्पमा एकीकृत भयो । त्यसले निश्चित एकल जातीय बनोटमा रहेका राज्यका सैन्यहरूलाई कहीँ पनि टिकेर अडिन दिएन । काठमाडौं उपत्यकाका राजाहरूले भाडामा ल्याएका नगरकोटी र गुहारमा बेलाइएका शक्तिशाली बाह्य अंग्रेज फौजले समेत उपत्यकाको राज्य गोर्खाली तारोमा परेपछि एक दशकभन्दा बढी समय थेग्न सकेन ।

कोट र थुमैपिच्छेका भुरे टाकुरे राज्य र सामन्तहरू रिझाउँदा रिझाउँदै जनतालाई त्यो झ्याउलो अत्यासलाग्दो काउसो बन्न गएको थियो । त्यसमाथि त्यस्ता सामन्तहरूको तीव्रत्तर परिवर्तनले जनतामा स्थिर र बलियो राज्यको आवश्यकता खड्किन गएको थियो । बढ्दो बसाइसराइ र पश्चिमबाट पूर्व बत्तिएको नवआगन्तुक चेतनासँगको संसर्गले समाजको परम्परागत शासकीय चेतनासँग तीव्र अन्तरविरोध बढ्न गएको थियो ।

समाज सामूहिक जातीय संरचनामा बदलिएको थियो भने रैथाने सत्तासीन फौज एकलजातीय स्वरूपमा घिडघिडाएर रहेको थियो । परिणामस्वरूप, सामूहिक बुद्धि र तागत मिसाएर खनिएपछि त्यस्ता एकल जातीय फौजहरू समावेशी गोर्खाली फौजको सामु कहीं पनि टिक्न सकेन । बरु, कीर्तिपुरकै फौजमा काठमाडौं, पाटन, भक्तपुरको बहुल चरित्रको फौजी तागत जुटुन्जेल त्यसले गोर्खाली हमलाको सानदार प्रतिवाद जमाइराखेको थियो ।

तर जब, गोर्खालीहरूको फुटाउने र त्यही मौकामा मार हान्ने रणनीति अघि बढ्यो, उपत्यकाको एकलजातीय फौजले गोर्खालीहरूको बहुजातीय फौजसँग टाउको उठाउने मौकासमेत पाएन । बरु, तुलनात्मक तवरले समावेशी रहेको लमजुङे फौजले भने गोर्खालीहरूलाई जित्दै पूर्वोत्तर भेग पुगिसक्दा पनि छेवैमा सधैंभर हैरान खेलाइरह्यो ।


एकीकृत गोर्खाली फौजले अंग्रेज र मुसलमानी फौजको हुंकारलाई समेत सिन्धुली र मकवानपुरमा निचोरेपछि आक्रामक रूपमा विस्तारमा अघि बढ्यो । गोर्खा राज्यले जे–जति भुरे–टाकुरे राज्य आफूमा समाहित गर्‍यो, कालान्तरमा गोर्खा विस्तार अभियानको परिणामले एउटा भीमकाय देशको स्वरूप हासिल गर्‍यो र नेपालको रूपमा अस्तित्वको झन्डा फहरायो । विसं १८७२ को अंग्रेजसँग विभिन्न मोर्चाहरूमा नेपालले बेहोरेको महाभिडन्तपछि खुम्चिएको राज्य विस्तारको नेपाली मनोबल आजको भूगोलको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान जोगाउने अविराम प्रयत्नहरूमा विघटित भएर बसेको छ ।
.....


त्यसरी एकल चरित्रको फौजी र राजकीय स्वरूपको कमजोरीमाथि सामूहिक र समावेशी तागत संकेन्द्रित गरेर आफूलाई श्रेष्ठ सावित गरेको समाजको नेतृत्व गरेको गोर्खाली शाहवंशलाई महेन्द्रको पालामा आएर एकल भाषा, एकल भेष, एकल चिन्तनमा लागेर एकात्मकतामा केन्द्रित हुँदा त्यसले समाजमा बढिरहेको बहुल विचार, बहुल चेतना र सामाजिक विविधताका बहुल रङको बढ्दो यथार्थसँग सामना गर्न नसक्ने अवस्थामा पुर्‍यायो ।

सामाजिक बहुलता र निरंकुश एकात्मकताबीचको निर्णायक संघर्षमा पाँच सय वर्षअघि आफैंले अरूलाई घुँडा टेकाएको यथार्थ भुल्दा महेन्द्र निर्मित एकल चेतनाको सत्ता भाष्य र त्यसको आडमा बहुलता र विविधताको घाँटी अठ्याउन अग्रसर राजतन्त्र समाजमा विकसित नयाँ आवश्यकता, सामाजिक सम्बन्धहरूको निर्णायक संघर्षमा टिक्न सकेन र सधैंका लागि बिदा भयो । जसरी, हिजोका एकलजातीय सत्ताहरू बहुलजातीय सामाजिक यथार्थहरूका कारण ढलेको थियो, उसैगरि सामाजिक बहुल चिन्तनको यथार्थले राजतन्त्रात्मक एकल चिन्तनलाई बिदाइ गरिदियो ।

गोर्खाकोटमा शाहीे कटक
लिगलिग दखल गरेको वर्षदिन नपुग्दै आफ्ना सेनामेना लिएर द्रव्य माझकोट (हाल गोर्खा दरबार रहेको स्थान) हान्न पुगेका थिए । पन्ध्र दिन लामो फौजी भिडन्तपछि सोह्रौं दिनमा खड्गा राजा मारिएपछि द्रव्य साहीलाई नारायणदास अर्यालले विसं १६१६ भदौ २५ मा गोर्खाको ‘राजा’ का रूपमा अभिषेक दिएका थिए । त्यसरी द्रव्य साहीले जोडेको त्यही गोर्खा माझकोटको राज्य उनकै समयमा सिह्रानचोक, अजिरकोटमा विजयको शंखनाद गर्न पुगिसकेको थियो ।

नरभूपाल साहको पालासम्म अनेकन पटक जित्दै, गुमाउँदै फेरि जित्दै गोर्खा बारपाक, सल्यान, खरी, मैधी, धादिङ, सिम्जुङ, मझुवा, स्यार्तान, अठार सयखोला, बसेरी, चरङ्गे, निभारचोक, फिर्केप, कटुञ्जे कब्जा गरी त्रिशूली नदीमा सीमामा गोरखाको साँध लगाउन पुगेको थियो । नरभूपालकै पालामा त्रिशूलीमा खुँडा पखालेर नुवाकोटमाथि जाईकटक गरे पनि कठमाडौंको झिटीकटकमा पराजित भएपछि पृथ्वीनारायणको शासनारम्भ हुनुअघि गोर्खा १२ हजार घरधुरी भएको राज्यका रूपमा उपस्थित थियो ।

मुसलमान कि मगर ?
नेपालका विभिन्न भेग हुँदै कालान्तरमा केन्द्रीय नेपालमा शासक बन्न पुगेका शाहहरूको पुर्खा को थिए भन्ने विवादित बहसहरू सर्वथा नौलो होइन । कतिले उनीहरूलाई खान उपाधि जोडेको र शाहका पुर्खाहरूमा खांचा र मिंचाजस्ता नामहरू देखिएको कारण उनीहरू मुसलमान थिए भन्ने अड्कल काटेको देखिन्छ ।

तर, यो तर्क खास वलशाली देखिँदैन । बरु शाहहरूको पुर्ख्यौली मगर थियो भन्ने तथ्यहरूको फेहरिस्त भने प्रशस्तै भेटिन्छन् । गण्डकी क्षेत्रका मगरहरूले निकै उन्नति गरेर बाह्र खान (राजाहरू) को संघ खडा गरी ‘बाह्र मगरात’ नामको राज्य खडा गरेका थिए । यी सबै स्थानमा आ–आफ्ना खान (राजा) थिए । तर पनि भीरकोटका खान (राजा) लाई बडाखानको मनितो थियो (शर्मा, उही, पृ. ४) ।


लसर्घाको आलमदेवी जैनखानको दुर्ग हो । दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने गरिन्छ । विजयध्वजलाई स्थानीय भाषामा ‘आलम’ भन्ने गरिन्छ । त्यसैकारण दुर्गा भवानीलाई आलमदेवी भन्ने गरिन्छ । आलमदेवी आठटीकाका खान एवं साही/शाह वंशका कुलदेवी हुन् । आलमदेवीको पूजा विवाह नभएका मास्की रानामगरबाट हुने गर्छ (गुरुङ, जगमान– गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ. १०२) । काठमाडौंमा गद्दीनसीन छउन्जेल राजदरबारबाट वर्षैपिच्छे एक असर्फी आलमदेवीलाई जाने गर्थ्यो (शर्मा, उही, पृ. ९) ।


पाल्पाली सेनवंशी अभय राणक (मगर) ले सेनले मकवानपुरे गजसिंह नामका मगर राजाको छोरी कान्तिमतीसँग बिहे गरेको सेनहरूको वंशावलीमा उल्लेख भएको पाइन्छ (घिमिरे, विष्णुप्रसाद–पाल्पा राज्यको इतिहास, भाग २, पृ. १५) । अभय र कान्तिमतिका तेह्रौं पुस्ताका थिए मुकुन्द सेन । मुकुन्द सेनले पनि पारकोटका मगर राजा (?) की छोरी महादेवी सुवर्णमालासँग बिहे गरेका थिए ।

तिनैबाट जन्मेका माणिक्य सेन पाल्पाली गद्दीमा बसेका थिए (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ. १९) ।
सिक्किमबाट लेखिएका पुस्तकमा पनि सेनवंशी राजाहरूलाई मगर राजा भनेर सम्बोधन गरेको देखिन्छ (प्रधान, कुमार–एक प्रहर, पृ. ६) । केशर पुस्तकालयमा रहेको हस्तलिखित ग्रन्थ ‘नारदस्मृति’ मा सेनवंशी राजा मुकुन्द सेनलाई मगर राजा उल्लेख भएको पाइन्छ । काठमाडौंका मल्ल राजाहरूले सत्रौं शताब्दीको पहिलो दशकमा गरेको मैत्री सहमतिमा पाल्पाली मगरहरूको आक्रमणबाट बच्न एक हुनुपर्ने उल्लेख भएको पाइन्छ ।


पृथ्वीनारायणको मावली पाल्पाली सेन राज्य थियो । उनकी माता कौशल्यावती पाल्पाली राजा गन्धर्व सेनकी छोरी थिइन् । विभिन्न वंशावली, टिपोट, बिहेवारीले मगर देखाएका पाल्पाली सेनहरूसँग गोर्खाली/भीरकोटे खान/शाहहरूको बिहेवारी चल्नु रोचक मात्रै छैन, त्यसको गहनताले शाहवंशको खास जरो खोज्न सघाउँछ । पृथ्वीनारायण आफैंले ‘मगरातको राजा मै हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ (योगी र आचार्य, दिव्य उपदेश, पृ. २८) ।


खान/शाह ठकुरीहरूका निकटतम सहयोगीको कोटीमा आउने मगरहरूलाई ठकुरीका मावली खलक पनि भनिएको लोकाख्यानहरू प्रचलित छन् (सुवेदी, राजाराम–कास्की राज्यको इतिहास, पृ. ८७) । भीरकोटे ‘खान’ बाट विस्तरित हुँदै साही/शाह भएकाहरूको कुलपूजा हुने आलमदेवीमा मास्की रानामगर पुजारी रहनु उत्तिकै रोचक विरोधाभास देखिन्छ । कुनै पनि वंशको कुलपूजा हुने मन्दिरमा आफ्नै वंशको मात्रै पुजारी रहने हरेक परिवार, गोत्र, वंशहरूको सर्वमान्य प्रचलन हेर्ने हो भने खान/शाहहरूको कुलपूजाको मन्दिरमा मात्रै किन मगर पुजारी रहे भन्ने सवालहरूले शाहहरूको वंशीय नश्लको यथार्थ पर्गेल्न मद्दत गर्छ ।


शाह/खान/सेनहरूमा प्रचलित एकथरी अनुश्रुति अनुसार भूपालजी रावले वाँगे (च्वाँचे) पूजा गरी च्वाँचे (सुँगुर) को मासु खाएको हुनाले अरू भाइले ‘तिमीले अभक्ष्य खायौ, अब तिमी मास्सियौ’ भनेपछि उनी अरू भाइसँग छुट्टिएको र रैथाने मगरकी छोरी बिहे गरेर पूजा चलाएर बसेका थिए । दसैंको बेलामा आलमदेवीमा अहिले पनि सुँगुर बलि दिने गरिन्छ । नेपालका शाह राजाहरूले पनि राणाकालको मध्यान्तरसम्म आलमदेवीमा मगरहरूले जसरी नै सुँगुर र रक्सी चढाउने गर्थे । पछिबाट मात्रै सुँगुरको ठाउँमा शाह राजाहरूले बँदेल बलि दिन थालेको देखिन्छ ।


लसर्घा आलमदेवीमा मात्रै होइन मगरहरूलाई शाहवंशीय राजतन्त्रले सबैतिर आफ्नै साथमा राखेको र आफ्ना कुलदेवी र इष्टदेवीहरूको मन्दिरको पुजारी बनाएको देखिन्छ । खान/शाहहरूको प्रारम्भिक थलो मानिएको भीरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारु, नुवाकोटमा सारु, सतहुँकोटमा पुलामी, सराङकोटमा चुमी थापा, ढोरमा दर्लामी, लमजुङमा दूधराना, गोर्खा कालिकामा भुसाल/मास्की, सल्यानकोट धादिङमा सारु/रानामगरहरू पुजारी रहेको देखिन्छ । यसले शाहहरूको वंशीय नशो मगरहरूतिरै केन्द्रित गर्न बल पुर्‍याउँछ ।

खान/साही/साह/शाह
राम शाहले चित्रविलासलाई लेख्न लगाएको ‘राजवंशावली’ ले शाहहरूको पुर्ख्यौली चित्तौरगढमा जोड्न पुगेको देखिन्छ । तर गोर्खाको राजवंश चन्द्रवंशी र चित्तौरको रावलवंश सूर्यवंशी भएकाले साहीहरूलाई चित्तौरमा जोड्ने राम शाहको प्रयास उदांगिएपछि त्यसलाई टाल्न धरणीधर (टिप्पणीकार ?) लाई ‘गोरक्ष वंशावली’ लेख्न लगाई सच्याउन खोजेको देखिन्छ ।

यसपटक भने साहीवंशलाई सूर्यवंशी राजा अयतिवुमदेखि उठाएर सूर्यवंशी देखाउन खोजिएको छ । राजेन्द्रविक्रमको पालामा लेखाइएको ‘गोरक्षधीस–चम्पु’ मा गोर्खाली शाह वंशलाई चित्तौरका राणावंश सावित गर्ने प्रयास गराइएको छ । राजेन्द्रकै पालामा शेरमान सिंह र उनका भाइ बुद्धिमान सिंहले लेखेको ‘जीवनचरित्र’ र ‘गोर्खा वंशावली’ ले पनि शाह वंशावलीलाई चित्तौरका ऋषिराज भट्टारक राणाजी रावमा जोड्न पुगेको छ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग १ का विभिन्न पृष्ठहरू) ।
.....


राजा/सरदार/बडाप्रतिष्ठित व्यक्तिको अर्थमा व्यवहार हुने तुर्की भाषाको ‘खान’ उपाधि भिरेको देखिन्छ जैनले । जुम्लाका कल्याल राजाहरूले सुरुमा राई र पछि साहीका रूपमा धारण गरेको राजपदवी कास्कीका जगति या नरराज खानले अनुकरण गरेको देखिन्छ । राम शाहको पालामा लेखाइएका पुस्तकमा साही र साह दुवै प्रयोग भएको देखिन्छ । त्यस समयमा दिल्लीमा जहाँगीर शाह सत्तासीन रहेकाले त्यसैको सिकोमा जुम्ली ‘साही’ को ठाउँमा दिल्ली ‘साह’ लेखाउन रहर गरेको बुझ्न सकिन्छ । तर साहीको प्रयोग भने पृथ्वीनारायणको समयसम्म सर्दै आइरहेकै देखिन्छ ।

विसं १८११ मा पृथ्वीनारायणले ढलाएको मोहरमा उनले साही उपाधि नै राखेका छन् । उनकै समयकालमा अविवाहितापट्टिका सन्तानलाई ‘साही’ र विवाहितापट्टिका सन्तानलाई ‘साह’ उपाधि व्यवहार गर्ने प्रवृत्ति देखिन्छ ।

शूर र वीरलाई जनाउन तुर्की भाषामा प्रयोग गरिने ‘बहादुर’ उपाधि पाल्पाली मुकुन्द सेन (द्वितीय) ले प्रयोग गरेकाले त्यसैको सिकोमा हुन सक्छ तरबार र लडाइँको अर्थमा प्रयोग हुने फारसीको ‘शम्शीर’ र ‘जगं’ शब्दका साथमा ‘बहादुर’ जोडेर ‘शमशेर जंगबहादुर’ को उपाधि धारण गरेका थिए पृथ्वीनारयणले –आचार्य, उही(१), पृ. ३९–४१) । त्रिभुवनको पालामा फारसीको शुद्ध रूप ‘शाह’ बिग्रेर ‘साह’ बन्न गएको व्याख्या गराई त्यसपछिका व्यवहारमा ‘शाह’ उपाधि लेखाउन थालेको पाइन्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

यात्रानुभूति : हिरोसिमामा खसेको आँसु

यात्रानुभूति
घनश्याम खड्का

मलाई थाहा छैन तेस्रो विश्वयुद्ध कस्तो हतियारले लडिन्छ, तर चौथो विश्वयुद्धचाहिँ निश्चय नै लाठा र ढुंगामुढाहरूबाट लडिनेछ  । –आइन्सटाइन हिरोसिमाको शान्ति स्मारकमा गत साता पुगेपछि मलाई आइन्सटाइनको ज्यादै सम्झना हुन गयो  ।

परमाणु बमको सूत्र पत्ता लगाउने यस शताब्दीका यी महान् वैज्ञानिकलाई हिरोसिमा र नागासाकीमा भएको परमाणु अस्त्रको प्रयोगले अतिशय पछुतो भएको थियो किनभने उनले नै त्यतिबेलाका अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजबेल्टलाई यस्तो हतियार बनाउन सहमति दिएका थिए ।

अणु बमको विनाशकारी प्रयोगपछि हिरोसिमा र नागासाकी निमेषमै खरानीमा परिणात भएको थियो । यो देखेपछि आइन्सटाइनले आणविक बम बनाइयोस् भनी रुजबेल्टलाई लेखेको पत्रमा गरेको हस्ताक्षर आफ्नो जीवनको महाभूल भनेका थिए, जसलाई न्युयोर्क टाइम्सले १९ अगस्ट १९४६ को अंकमा छापेको छ । तेस्रो विश्वयुद्धमा आणविक अस्त्रको प्रयोग निश्चय नै हुने र त्यसले मानव सभ्यतालाई नामेट पार्ने भय देखेपछि आइन्सटाइन चौथो विश्वयुद्ध (मान्छे बाँचे भने) चाहिँ आदिम युगमा झैं लाठा र ढुंगामुढाले लड्नुपर्ने अवस्था आउने निष्कर्षमा पुगेका थिए ।


स्कुले विद्यार्थी छँदै सुनेको उनको उपरोक्त वचनको मर्म त्यस क्षण बढी प्रस्टसँग खुलेजस्तो भएको थियो । सन् १९४५ को अगस्ट ६ मा जापानको हिरोसिमामा खसेको ‘लिटल ब्वाई’ र त्यसको तीन दिनपछि नागासाकी सहरमा खसेको ‘फ्याट म्यान’ ले दोस्रो विश्वयुद्धको अन्त त गरायो, तर त्यस घातक आणविक हमलाले मान्छेको मनमा पारेको घाउ अनि उमारेको डर भने अहिले पनि उस्तै छ, शान्ति स्मारकको अवलोकन गरेपछि यस्तै लाग्छ ।


अणु बमको दुस्प्रभाव कतिसम्म पर्दोरहेछ भन्ने तथ्यलाई स्मारकले सकेसम्म सम्प्रेष्य हुने गरी तस्बिर र भग्नावशेषहरू राखेर देखाउन खोजेको छ । हिरोसिमाभन्दा ३ सय मिटरमाथिको आकाशमा खसेको बमले त्यस सुन्दर सहरलाई केही मिनेटमै बलिरहेको आगाको डल्लोमा परिणत गरिदियो जसका कारण एक लाख ४२ हजार मानिसको ज्यान गयो ।


स्मारक छिर्नुअघि भित्तामा मानिसहरू मुस्कुराइरहेको, सडकमा मोटरहरू गुडिरहेको र बच्चाहरू मुस्कुराइरहेका तस्बिर छन् । बम खस्नु ठीकअघिको हिरोसिमा हो यो । त्यसपछि ढोकामा बडेमानको चित्र छ घडीको जसमा बिहानको आठ बजेर १५ मिनेट पुगेपछि समय रोक्किएको छ । यही क्षण त हो संसारको पहिलो आणविक बम विस्फोट भएको । त्यसपछि हिरोसिमाका मानिसहरूमा के गुज्य्रो होला ? त्यसको ठीकठीक वर्णन त जति नै गरे पनि सम्भव छैन । र पनि, त्यस नारकीय समयले दिएको त्रासदी र अवर्णनीय पीडाको सानो झल्को दिने वस्तुहरू भित्र छन्, आउनुस् भित्र जाऊँ एक क्षण ।


ठूलो हलको माझमा एउटा उभिएको चम्किलो विद्युतीय मण्डल तपाईं देखिरहनुभएको छ ? यो हो त्यस क्षणको शान्त हिरोसिमा । अब हेर्नुस्, आकाशमा केही उड्दै आइरहेको छ । त्यो तीव्र गतिमा सहरतिर नजिकिँदै छ । केही क्षणमा त्यसले कुनै चम्किलो वस्तु आफूबाट झार्‍यो । भुइँमा खस्न नपाउँदै त्यो हजार सूर्यको तेज निकाले जसरी विस्फोट भयो । अहो, पूरै सहरलाई आगाको लप्काले ढाक्यो अब ! आगाको विशाल रोटी लाखौं टाउकामाथि एकैपटक बस्न आयो भने कस्तो होला ? निश्चय नै, जीउबाट मासु पग्लिएर खस्न थाल्छ, रगत नसामै सुक्छ र मान्छे क्षणमै खरानी हुन्छ । अहो, कस्तो भयानक !


यी हेर्न्स्,ु पारदर्शी कक्षहरूमा राखिएका पग्लिएका फलाम र सिसाका आकारहीन डल्लाहरू । यी वस्तु त्यस बेला पग्लिएका धातुहरू हुन् । यहाँ भित्तामा टाँसिएको चित्रभित्र नदीमा लाखौंलाख मान्छे पसिरहेको देख्नुहुन्छ ? जीउ पग्लिन थालेपछि चिसोको खोजीमा जाने ठाउँ नै सहरको बीचमा भएको त्यही एक नदी त थियो नि ! कठै, नदी भने आफैं छट्पटिएर उम्लिरहेको र बाफ बनेर उडिरहेको थियो । तीन हजार डिग्री सेल्सियसको त्यो तातोमा शीतल कुरा कहाँ थियो र !

कक्षामा भर्खरै पसेका केटाकेटीहरू भवनसहितै पग्लिए, एउटा बालकले आफ्नो दसौं जन्मदिवसका दिन पाएको साइकल पग्लिँदा पग्लिँदै पनि काखी च्यापेर बसिरह्यो । त्यो खिइन बाँकी साइलकजस्तो फलामलाई तपाईं पग्लिरहेका मान्छेको चित्र मुन्तिर देख्न सक्नुहुन्छ । तस्बिरहरू मुन्तिरको प्रदर्शनीमा आगाको रापले डढेका बालकहरूका केही टुक्रा लुगा पनि देख्न सक्नुहुन्छ । बम खसेको ठाउँको पाँच किलोमिटरको वृत्तमा सबै मानिस यसरी नै पग्लिए र जमिनमा पछारिन नपाउँदै ती ज्वालामुखी फुटेर बगिरहेको लाभाजस्ता राता खरानी बनेर जमिनमा फिँजिए ।

पाँच किलोमिटरभन्दा परतिरचाहिँ मानिसहरू पग्लिहालेनन्, जले मात्रै । घाइते भए र बाटामा लडे । तिनको शरीरबाट मासु पोल्दा आउने अनौठो गन्ध आउन थाल्यो र पूरै सहरमा त्यो व्याप्त भयो । दुई दिनसम्म यसरी हिरोसिमा जलिरह्यो अनि बिस्तारै त्यो कालो कोइलामा परिणत भयो ।

हेर्दाहेर्दै हिरोसिमा कहिल्यै बस्ती नै नभएको ठाउँजस्तो निर्जन र खण्डहर भयो । त्यसै क्षण जलेका ७० हजार मानिसका खरानीमाथि कैयौं दिन छटपटिएका हजारौं मानिसले त्यस दग्ध जीउको पीडाबाट विश्राम लिए र आधा जलेको मुढोजसरी पसारिए । सहरको कुनाकुनामा चाहिँ घाइतेहरू र भोकले रन्थनिएकाहरू शोकको अतिरेकमा पानीको खोजीमा लागे ।

त्यसैबेला, ऊ हेर्नुस् चित्रमा, भयंकर वर्षा भयो ! तर, पानी कालो थियो, ठूलठूला थोप्लाहरू भएको । घाइतेहरूले जिब्रो निकाले, त्यस अनौठो कालो पानीको केही थोपाबाट अलिकति भए पनि तिर्खा मेट्न खोजे । तिनलाई त्यस बेला यो युरेनियमको वर्षा हो, त्यसबाट जोगिनुपर्छ भनेर सम्झाउने को थियो र !


त्यस कालो वर्षाले बाँच्नेहरूको जीउमा हजार नर्कहरूको पीडा छाडेर गयो । त्यसपछिका हरेक दिन, हप्ता, महिना र वर्षहरूमा मानिसहरूको जीउमा क्यान्सर देखिन थाल्यो, फुतुफुतु हरेक दिन कोही न कोही मर्न थाल्यो । असह्य पीडाले कतिपयले आत्महत्या गरे । कतिपयले त्यति पनि गर्न नसक्ने अवस्थमा आफूलाई घिसारिरहन बाध्य भए । एउटा बूढो मानिसको चित्रसहितको कथा लौ पढ्नुहोस् जो २१ पटक क्यान्सर लागेर ९३ वर्षको उमेरमा काल पर्खेर बसिरहेको छ ।


‘सबैलाई आउने काल मलाईचाहिँ किन आउँदैन,’ बूढाको एउटै अभिलाषा रहेछ, ‘यसरी बाँचिरहनुभन्दा त त्यसै क्षण मरेको भए हुने, किन मरिनँ होला म ?’


क्यान्सरपीडित हिरोसिमाका मानिसका यस्ता कथा त कति हुन् कति ! अझ दुःखलाग्दो स्थिति त त्यस क्षण गर्भिणी भएका महिलाको छ जसले सग्लो बालक जन्माउनै सकेनन् । यी भित्तामा हेनुस्, एउटी आमाको मुस्कुराइरहेको तस्बिर । उनी बम प्रहार हुँदा हिरोसिमाको एउटा गाउँमा गर्भिणी जीवन बिताइरहेकी थिइन् ।

हावा, पानी र माटो गरी सबै महाभूतहरूमा फैलिएको युरेनियम उनको जीउ, फोक्सो र रगतमा मात्रै होइन, पेटमा हुर्किरहेको छोराको जीउमा पनि मिसिन पुग्यो । परिणामतः बालक मन्दबुद्धिको जन्मियो जसको स्याहारमा ती महिलाको पूरा जीवन खर्च भयो । धेरै वर्षपछि, रेडियमको विकिरणले दिएको असह्य पीडाले उनको छोराको ज्यान लियो । छोरो बितेको दुई महिनामा आमाले पनि चोला बदलिन् । छोराकै मायाले उनलाई विकिरणले ल्याएको क्यान्सरले पनि मार्न सकेको थिएन । अहो मातृ शक्ति !


आणविक बमपछि कष्टकर जीवन बाँचिरहेका एक–एक मान्छेका तस्बिर र कथाहरू शान्ति स्मारकका निर्देशकले भन्दै गर्दा मेरा आँखा बर्सिरहे । संयमित हुन खोज्दाखोज्दै पनि हरेक मान्छेलाई त्यहाँ पुगेपछि भक्कानो छाडेर रुन मन लाग्दो रहेछ ।


‘हामीले भोगेको पीडा कुनै पनि भाषामा भन्न सकिने कुरा होइन, न सम्पूर्ण रूपमा शब्दले यसलाई बुझाउन सक्छ,’ त्यस आणविक हमलामा बाँच्ने थोरैमध्येकी एक केइको ओगुरा भन्दै थिइन्, ‘आज पौने सय वर्षपछि तस्बिरमा हेर्दा त तपाईं यसरी रुनुभयो, हामी त्यसै क्षणमा यो नरक भोग्नेलाई कस्तो भयो होला ?’


बयासी वर्षीया ओगुराले त्यस क्षणलाई सम्झिरहँदा सिंगो स्मारकले देखाउन खोजेको समयको तस्बिर थप प्रस्ट हुँदै गएजस्तो अनुभव हुन्थ्यो । बम हमला हुँदा आठ वर्षकी उनी त्यस दिन स्कुल गएकी भए अरू साथीसँगै खरानी हुने रहिछन् । केही दिनदेखि आकाशमा अनौठोसँग घुमिरहेको अमेरिकन जहाजलाई देखेर त्यस क्षण उनका बाबुले ओगुरालाई भनेका रहेछन्, ‘आज स्कुल नजाऊ, पक्कै केही अनिष्ट हुनेवाला छ ।’


त्यस भयानक क्षणको पूर्वाभास पाएर हो वा किन हो, केही दिनअघि नै उनका बाबुले सहरभन्दा पर बसाइ सारिेसकेका थिए ।
‘त्यहाँ नसरेको भए त स्कुल नगए पनि म मर्ने रहिछु नि,’ ओगुरा भन्छिन्, ‘धन्न, संयोगले हामी बाँच्यौं, हाम्रो परिवारलाई नै केही भएन ।’


ओगुरालाई झैं बमले सीधासीधा क्षति नपुर्‍याएका ‘भाग्यमानी’ हिरोसिमावासीलाई पछि बिहा गर्न गाह्रो हुन थाल्यो । बम खसेको सहरको मानिस भनेपछि बोल्नसमेत पनि तर्किनेहरू भए । यसले गर्दा ओगुरा आफ्नो गोप्यता भंग नहोस् भनेर चालीस वर्षको उमेरसम्म चुप लागिन् । बिहा गरिन् र घर व्यवहार सम्हालेर जीवनको गुप्त घाउलाई कसैले नदेख्ने गरी सम्हालेर राखिन् । उनको पहिलो सन्तान मृत जन्मियो ।


‘मेरा आँखा हतपत त्यस मरेको बालकका औंलाहरूमा गयो,’ ओगुरा भन्छिन्, ‘उसका औंला दसका दस थिए, त्यो देख्दा मलाई केही खुसी पनि लाग्यो ।’


युरेनियमको प्रभावका कारण बच्चाहरूको औंला ६ वटा हुने र शारीरिक रूपले पनि अस्वस्थ देखिने बेला थियो त्यो । आफ्नो छोरा मरे पनि सबलाङ्गै भएको कुराले उनलाई राहत दियो । त्यसपछि उनले सग्लो छोरा जन्माइन् । केही वर्षपछि पति बिते ।

‘त्यसपछि भने मलाई पीडा सहेर होइन, भनेर ठीक पार्नुपर्छ भन्ने लाग्यो, अनि म आफ्ना कुरा भन्नतिर लागेँ ।’


त्यसपछि उनले अंग्रेजी सिकिन्, आफ्नो कुरा संसारलाई भन्न थालिन् । अमेरिका, युरोप सबैतिर पुगेर उनले दोस्रो युद्धको समयमा भएको ज्यादतीबारे बोलिन् । ‘हिरोसिमा इन्टरप्रेटर्स फर पिस’ भन्ने संगठन स्थापना गरेर त्यसको निर्देशकका रूपमा उनी तीन दशकदेखि यसबारे बोल्दै आइरहेकी छन् । संसारमा आणविक निशस्त्रीकरण कति जरुरी छ भनेर मानिसहरूलाई थाहा दिन जरुरी भएकाले आफू लागिपरेको उनी बताउँछिन् ।


हिरोसिमामा युरेनियमबाट बनेको अणु बम खसालिएको थियो जसले पूरै सहरलाई ध्वस्त पार्‍यो । त्योभन्दा पनि शक्तिशाली प्लेटोनियम बम नागासाकीमा खसालियो लगत्तै । हिरोसिमामा झैं सहरको मध्यभागमा त्यो बम खसालिएको भए लाखौं मानिस त्यसले मार्ने थियो तत्क्षणै । तर, निर्जन पहाडमा खसाल्दा पनि त्यसले ४० हजारको ज्यान लियो । दोस्रो बम ज्यादा शक्तिशाली भएको पुष्टि भएपछि आज संसारैभर प्लेटोनियमयुक्त आणविक हतियार बनाउने होड चलेको छ ।


स्टक होम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया गरी ९ देशसँग जम्मा गरी हाल विश्वमा १३ हजार ८ सय ९० आणविक हतियार छन् ।


‘यी प्रत्येक हतियार हिरोसिमा र नागासाकीमा खसालिएका हतियारभन्दा कैयौं गुणा शक्तिशाली भएकाले पृथ्वीलाई नै ध्वस्त पार्न सक्ने क्षमताका छन्,’ ओगुरा भन्छिन्, ‘त्यसो हुनाले यी हतियारलाई नास गर्नुपर्छ, जसरी पनि आणविक युद्धबाट संसारलाई जोगाउनुपर्छ, त्यसैले म यो बूढो उमेरमा पनि बोलिरहेको छु ।’


इतिहासबाट सिक्नुपर्छ र हिरोसिमाबाट शान्ति कति आवश्यक कुरा रहेछ भन्ने थाहा पाउनुपर्छ भन्ने उनको आवाजमा अचम्मको आग्रह छ समग्र मानव समुदायप्रति । आणविक हमलाको यो अत्यासलाग्दो इतिहास साक्षात्कार गरेपछि र ओगुराको कथा सुनिसकेपछि स्मारकबाट बाहिर निक्लँदा आँखामा डिजिटल घडीजस्तो एउटा स्तम्भ देखा पर्छ जसको माथिल्लो स्क्रिनमा हिरोसिमामा बम आक्रमण भएको दिन गन्ती भएको अंक र तल्लो स्क्रिनमा आणविक हतियारको पछिल्लो परीक्षण भएयताको दिनको गन्ती अंकित छ ।


म त्यहाँ पुगेको गत ६ सेप्टेम्बरका दिन हिरोसिमामा बम खसेको २७ हजार ६० दिन पुगेको रहेछ अनि पछिल्लो आणविक परीक्षणचाहिँ २ सय ६ दिनअघि भएको रहेछ । त्यस स्तम्भको छेवैमा हिरोसिमाका मेयर मात्युई काजुमीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै लेखेको पत्र सिंगमर्मरको प्लेटमा राखिएको छ जसमा उनले संयुक्त राज्यले गत फेब्रुअरीको १३ तारिखका दिन गरेको आणविक बम परीक्षणको विरोध गरिएको छ ।


हिरोसिमामा आणविक बम प्रहारले गर्दा भएको क्षतिलाई बुझेर यस्ता हतियारको थप उत्पादन नगर्न ट्रम्पका नाममा लेखिएका यो पत्रभन्दा पूर्वतिर ज्यान गुमाएका सबै नागरिकको समाधिस्थलमाथि अविच्छिन्न बलिरहने आगाको लप्का छ । संसार आणविक अस्त्रबाट मुक्त भएका दिन मात्रै यो ज्योतिलाई निभाउने जापानको योजना सुन्दा शान्तिको एक मौन तर सबभन्दा प्रस्ट पुकार सुनेझैं लाग्छ ।


हरेक वर्ष दस लाखको हाराहारीमा संसारभरबाट हिरोसिमाको यो स्मारकमा आउनेहरू इतिहासको त्यो क्षणलाई सम्झाउने प्रमाण र प्रयत्नहरूबाट गुज्रँदै ओगुराको कथा सुनेर त्यस समाधिस्थलसम्म आइपुग्दा त्यसै क्षण संसारमा आणविक हतियार नष्ट भइदिए हुन्थ्यो भन्ने कामना गर्ने अवस्थामा स्वतः पुग्छ ।

सन् २०१६ को मे २७ का दिन बाराक ओबामाले हिरोसिमा भ्रमण गरे । अणु बम खसेको ठाउँमा पुग्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा उनले त्यहाँ हिरोसिमाबाट सिक्नुपर्छ भन्ने एक भावुक मन्तव्य पनि दिए । तर, अमेरिकाले औपचारिक रूपमा माफी माग्छ भन्ने जापानीहरूको आशा भने त्यस बेला पनि पूरा भएन ।


‘ओबामा त्यहाँ आउने हिम्मत गर्नु नै माफी मागेभन्दा ठूलो कुरा हो,’ ओगुरा भन्छिन्, ‘उहिले कहाँ कसको गल्ती थियो भनेर केलाई बसिरह्यो भने झगडै मात्रै भइरहने हुनाले सबै कुरा बिर्सेर एक–अर्कालाई अँगालो हाल्न सकेकै राम्रो हो । त्यसैले म अमेरिकालाई दोष दिन्नँ, जापानले गरेको गल्तीलाई कोरिया र चीनले पनि यसैगरी माफी दिए हुन्थ्यो भन्ने चाहन्छु ।’


यत्रो विध्वंसका बाबजुद ओगुराको शान्त वाणी अनि संयमित भाव देख्दा उनप्रतिको श्रद्धा त्यसै त्यसै चुलिएर आउँदोरहेछ । ओगुराजस्ता क्षमाशील हृदय भएका जापानी जनताले दिनरात पसिना बगाएर खण्डहर हिरोसिमालाई त्यहाँ कहिल्यै केही भएकै थिएन जस्तो विकास र समृद्धिले चिटिक्क पारेका छन् । हिरोसिमाले शान्तिको कामना त गरेको छ नै, बितेको सबै कुरा बिर्सेर आउने दिनलाई रामो पार्न अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्