१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कथा : झ्याल्चा

यो मध्यरातको समय । प्राचीन झ्यालबाहिर उभिएर राजा योगनरेन्द्र मल्लको प्रेम हेर्ने भ्रममा बाक्लो भीड जम्मा भएको छ । पर्दाभित्र उनीहरूको सलबलाहटले भीडमा एक किसिमको तरंग फ्याँकिदिन्छ ।
मणि लोहनी

पटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्  । ‘तिमीले यहाँ राजा योगनरेन्द्र मल्लको रासलीला देख्नेछौ  ।

कथा : झ्याल्चा

‘राजा योगनरेन्द्र मल्ल ?’ म जिल्ल पर्छु ।
‘हो । उनकै प्रेम कहानी यहाँ वर्षौंदेखि चल्दै आएको छ ।’
‘वाइहात ।... नचाहिने कुरा ।’ मैले भनेँ ।


‘ऊ हेर न । अनि पत्याउनेछौ,’ उनले झ्याल्चा चपा भन्ने एउटा पुरानो घरतिर देखाइन् । घरको उत्तरपट्टि मोडामा ठूलो झ्याल थियो । त्यही झ्यालमा टाँगिएको छ सेतो पर्दा । भित्रको उज्यालोले पर्दामा एकाएक दुई मानव आकृति सलबलाउँछन् । एउटा पुरुष र अर्को महिलाको मानव आकृति ठम्याउन मलाई गाह्रो पर्दैन । त्यति नै बेला नेवारी संगीत गुन्जिन्छ । कुनै फिल्मको रोमान्स दृश्यमा झैं संगीतको तालमा ती दुई आकृति नजिकिन्छन् । चुम्बन गर्छन् । आलिङ्गनमा बाँधिन्छन् र एकअर्कालाई माया गर्न थाल्छन् । उत्तेजित र आक्रामक किसिमको शारीरिक प्रेम ।


अरू थोक पनि गर्छन् कि ? भनेजस्तो हुन्छ । भित्र कताकता उकुसमुकुस हुन्छ । काउकुती लाग्छ । म उनको हात जोडले समाउँछु । मैलेजस्तै त्यहाँ भएका अरूहरूले पनि आआफ्नी प्रेमिकाको नजिक हुन खोजेको आभास मिल्छ । भीडमा रहेका अधिकांश जोडी टाँसिएका छन् एकअर्कासँग ।


यो मध्यरातको समय । प्राचीन झ्यालबाहिर उभिएर राजा योगनरेन्द्र मल्लको प्रेम हेर्ने भ्रममा बाक्लो भीड जम्मा भएको छ । पर्दाभित्र उनीहरूको सलबलाहटले भीडमा एक किसिमको तरंग फ्याँकिदिन्छ । मानिसहरू रोमाञ्चक अनुभूतिमा ताली बजाउँछन् । सिटी फुक्छन् । पाटनको च्यासल चोक हल्लाले गुञ्जायमान हुन्छ ।


उनी र म पनि त्यही भीडमा छौं ।
‘त्यो को हो चिन्यौ ?’ उनले सोधिन् ।
‘अहँ चिनिनँ ।’
‘राजा योगनरेन्द्र मल्ल ।’ उनले मेरो कानमा सुस्तरी भनिन्, ‘पर्दामा देखिएको पुरुष आकृतिको शिरमा मुकुट देखेनौ ? हो, त्यही हो राजा योगनरेन्द्र मल्ल ।’
‘अँ हुन्छ ?.. अनि त्यो केटीचाहिँ को हो नि ?’
‘अघि त्यसले बत्ती कातिरहेकी देखेनौ ? त्यो यहीँकी लोकल नेवार्नी । व्यञ्जनकारकी छोरी ।’ म रनभुल्लमा परेँ । कसरी यो सम्भव छ ? राजाको स्थानीय नेवार्नीसँग प्रेमलीला ?
‘यो प्रेम थिएन,’ उनी गम्भीर भइन् ।
‘एक छिनअघि त तिमीले नै राजा योगनरेन्द्र मल्लको प्रेम भनेकी थियौ ।’
‘होइन, मैले रासलीला भनेकी थिएँ । प्रेमलीला भन्ने त एउटा कथन मात्र हो । वास्तविकतामा त ‘एउटा शक्तिशाली राजाले निर्धन जनताका छोरीहरूमाथि गरेको यौन शोषण नै हो ।’
‘अनि अहिलेसम्म किन आत्मसात् गरिरहेका त पाटनवासीले ?’
‘राजाको विरोधमा बोल्ने आँट कसको ? तैपनि पाटनवासी सृजनात्मक छन् । कलाकार हुन् । त्यही भएर विरोधको नयाँ तरिका अपनाएर झ्याल्चा सुरु गरे ।’ उनले मलाई प्रस्ट पार्ने कोसिस गरिन् । तर मैले अझै बुझिनँ ।
‘के हो झ्याल्चा भनेको ?’ मैले उनैलाई सोधेको हुँ । तर भीडबाट एक जना बूढो एक्कासि करायो, ‘झ्याल्चा एउटा यौनलीला हो । राजा र जनताकी छोरीबीचको यौनलीला ।’
‘अब राजा नै छैन यो देशमा । के अर्थ यस्ता झ्याल्चाहरूको ?’ म चिच्याए । भीडका मानिसहरू झाल्चा चपाको झ्याल हेर्न छाडेर मतिर फर्किन्छन् ।
‘राजा नभएर त यसको महत्त्व बढेको नि ।’ उनले भनिन् र मेरो पाखुरा चपक्क समातेर चुप लाग्न भनिन् । मैले मानिनँ, ‘झ्याल्चा भ्रम मात्र हो । जात्राका नाममा मजाक मात्र ।’
भीडलाई मेरो कुरा चित्त बुझेन सायद । भीड मतिर लम्कियो ।
‘झ्याल्चा हाम्रो संस्कृति हो ।’
‘झ्याल्चा हाम्रो परम्परा हो ।’
‘झ्याल्चा हाम्रो जात्रा हो ।’
‘झ्याल्चा हाम्रो इतिहास हो ।’
औंला ठडाउँदै आएको भीडले मलाई घेर्‍यो ।


‘मान्छेहरूको हातहातमा प्रविधि छ आजकाल । एक पलमै विश्वभरका अनेक नयाँनयाँ कुराहरू हेर्न सक्छन् । फरकफरक आसनका प्रोनो फिल्महरू डाउनलोड गर्न सक्छन् । के अर्थ यो पुरानो र सिम्बोलिक झ्याल्चाको ?’ मेरा शब्दहरू नसकिँदै भीडले मलाई छोप्यो ।


‘के यहाँ देखिएको दृश्यले तलाई तरंगित बनाएन ? के रोमाञ्चित हुँदै तैंले आफ्नी प्रेमिकाको हात समातिनस् ?’ भीड ममाथि जाइलाग्यो । आफूलाई जोगाउन टाउको दुवै हातले छोपेर म घोप्टो परेँ । उनले मेरो हात समातेर मलाई उठाइन् र भीडभन्दा पर लिएर भागिन् ।


इन्द्रजात्राको अघिल्लो रात पाटनको च्यासलमा जात्रा हेर्न, उनले मलाई दौडाइरहिन् रातभर ।
रातभर उनले मेरो हात छोडिनन् ।
मैले पनि रातभर उनको साथ छोडिन ।
च्यासल चोक... कृष्ण मन्दिर... गोल्डेन टेम्पल । यसैको वरपर दौडिरहेँ उनको हातमा हात राखेर ।
....


रातभर उनीसँग दौडिरहँदा मल्लकालीन प्राचीन सभ्यताको ढोका खुल्छ । विक्रम संवत् १६३२ को एउटा साँझ म उनीसँगै पाटनको कृष्णमन्दिर अगाडिपट्टि दरबारको पटाङ्गिनीमा पुग्छु । र झ्याल्चाको इतिहास हाम्रो अघिल्तिर वर्तमान बनेर फैलिन्छ ।
राजाको दरबारको झ्यालमा सुन्दर युवक देखिन्छ । उनले त्यो युवकलाई निहुरिएर ढोग्छिन् । र मलाई पनि त्यसै गर्न भन्छिन् । मैले पनि निहुरिएर उसलाई ढोग्छु ।
‘को हो यो ?’ इसारामा उनलाई सोधेँ ।
‘राजा योगनरेन्द्र मल्ल ।’ उनले सुस्तरी भनिन् ।


दरबार आसपासमा कृष्णमन्दिर, भीमसेनस्थान, ढुंगेधारा, केही मन्दिर र सत्तलबाहेक अरू केही थिएन । सबैतिर खेतैखेत । दरबार अघिपट्टिको सत्तलमा केही युवतीहरू बत्ती कातिरहेका थिए ।


‘कति राम्रा केटीहरू,’ मैले भनेँ । उनले मलाई ‘चुप लाग’ भनेर इसारा गरिन् । अघि हामीले राजा भनेर ढोगेको युवक पनि सत्तलमा नै पुगेको रहेछ । बत्ती कातिरहेकी एक युवती दौडेर पुरानो घरभित्र छिरी । त्यो मुकुट लगाएको युवक पनि युवतीको पछिपछि भाग्यो । उनी र म पनि तिनीहरूको पछिपछि लाग्यौं । लुकेर हामी पनि घरभित्र छिर्‍यौं ।


घरभित्र पुगेपछि त्यो युवकले बिस्तारै त्यो युवतीलाई आफ्नो बाहुपासमा लियो । युवतीको औंलाभरि अबिर लागेको थियो । उसले त्यो औंला चुसिदियो । युवती लाजले त्यही अबिरझैं राती भई । उसले बिस्तारै युवतीको पहिरन खोलिदियो । आफू पनि नांगियो ।
‘आँखा बन्द गर,’ उनले मेरो कानैमा आएर भनिन् ।


‘किन गर्ने ? गर्दिनँ,’ मैले भनेँ ।
‘लाज नभएको मान्छे ।’
‘तिमीसँग केको लाज,’ मैले उनलाई चुम्बन गरेँ ।
‘उता हेर,’ उनले आफ्नो दुवै हातले मेरो अनुहारलाई राजाको यौनलीलातिर फर्काइदिइन् । मलाई एक्काईसौं शताब्दीको प्रोर्न फिल्म र राजा योगनरेन्द्र मल्लको यौनलीला उस्तै लाग्यो ।


‘छिः हिँड जाऊ । यस्तो हेर्नु हुँदैन,’ उनी फेरि आफ्नो ओठले मेरो कान छुन्छिन् । मलाई सिरिङ हुन्छ । ‘एकै छिन पर्ख,’ म उनको हात समात्छु । उनी आँखा चिम्लिन्छिन् । म घरी योगनरेन्द्र मल्लको उत्तेजना त घरी उनको अनुहारमा दौडिरहेका लाजका रेखाहरू हेरिरहन्छु ।


‘कस्तो फोहोरी मान्छे,’ उनी फेरि कानैमा आएर बोल्छिन्, सासले । म केही नबोली उनलाई अँगालोमा कस्छु । उनको अनुहार लाज र उत्तेजनाले झनै आकर्षक देखिन्छ । म उनलाई प्रेमपूर्वक आफूमा कस्छु । एक छिनपछि उनले मलाई धकेल्छिन् ।


राजा योगनरेन्द्र मल्लको यौनलीला सकिएछ । राजा सन्तुष्ट अनुहार लिएर ढोकाबाट बाहिरिन्छन् । म आफूलाई सम्हालेर उनको पछि लाग्छु । दरबारको मूलद्वारमा पुगेपछि उनले मलाई देख्छन् । मलाई पुनः एक छिनअघिको घटना सम्झना हुन्छ । म राजाको अनुहार हेरेर हाँस्छु । म हाँसेको देखेर राजा पनि मुस्कुराउँछन् ।


‘सधैं आउने गर्नुभएको छ महाराज ?’ उनको मुस्कान देखेर मुखबाट फुत्किहाल्छ । उनले घुरेर मलाई हेर्छन् ।
‘मैले सबै देखेँ महाराज । हजुरको अनुहारमा आएको आकर्षणको रहस्य त्यो पो रहेछ,’ मेरो कुरा सुनेर राजा भित्रभित्रै खितखिताउँछन् । अनि सोध्छन्, ‘को हौ तिमी ?’


‘राजा हटेको नेपालको एक सामान्य लेखक । च्यासलमा झ्याल्चा हेदौहेर्दै तपाईंलाई देखें, अनि केही कुरा गर्न आइपुगेँ ।’
‘ए तिमी नयाँ नेपालको नयाँ लेखक ?’ उनी फेरि हाँसे ।
‘पहिलो किताब लेखेको नै २५ वर्ष भइसक्यो महाराज । र पनि अझै नयाँकै उपाधि ?’
‘समस्या यही त छ । तिमी लेखकहरू साधनालाई समयकाल र उपाधिसँग तुलना गर्छौ । यति गरेँ र उति गरेँ भन्न हतारिन्छौं तर केही गर्दैनौ । तिम्रो सृजनाले नयाँ समाज निर्माण गर्न सक्नुपर्छ । त्यो असली उपाधि हो । यति वर्ष भयो उति वर्ष भयो या यो पुरस्कार त्यो उपाधिले के गर्न सक्छ ?’ उनले मलाई नराम्रो गरी भनेँ ।


‘निर्धो जनताकी छोरीलाई ललाई फकाई यौन शोषण गर्ने राजा, मलाई साधनाको बारेमा बताउने ? लाज लाग्दैन ?’ मेरो पनि धैर्य टुट्छ ।
‘मूर्ख लेखक ! मेरो प्रेमलाई शोषणको नाम दिने, तिम्रो के हैसियत ?’ उनी गर्जिन्छन् ।
‘शोषणलाई शोषण भन्ने हैसियत लेखकसँग मात्रै हुन्छ । अरू त शासकसँग डराइहाल्छन् नि,’ म पनि रोकिन्नँ ।
‘यो शोषण होइन, प्रेम हो । मेरो स्त्रीजातिप्रतिको प्रेम । समस्त जनताप्रतिको प्रेम ।’
‘निरर्थक ! प्रेम भए बिहे गरेर भित्र्याउनु न दरबारमा ।’
‘मेरो यसअघि नै दरबारमा रानी छे । नीतिसंगत रूपमा अर्को बिहे गर्न मिल्दैन ।’
‘नीतिसंगत त प्रेमको नाटक गरेर एक युवतीलाई यौन शोषण गर्न पनि मिल्दैन ।’


‘यो नाटक होइन लेखक, प्रेम हो । तिमीलाई त थाहा हुनुपर्ने प्रेमको अर्थ विवाह होइन भन्ने । तिमी आफैं प्रेम र सम्बन्ध फरक–फरक कुरा हो भन्दै भाषण ठोक्दै हिँड्छौ,’ राजाको तर्कले म मौन हुन्छु ।


‘के राजालाई प्रेम गर्ने अधिकार छैन ? म उनलाई प्रेम गर्छु । उनको सुखदुःखमा साथ दिन्छु । उनको पिताजी सुवर्ण व्यञ्जनकार गरिब थिए । मैले च्यासलमुनिको खेत दिएँ । राम्रो उब्जनी गर्छन् । अहिले उनको परिवारको जिन्दगी सजिलो भएको छ ।’
‘ए, त्यसो भए पिताजीलाई पनि किनिसक्नु भो ?’
‘यो मेरो प्रेम हो, व्यापार–व्यवसाय होइन ।’
‘यो कस्तो प्रेम हो महाराज ?’
‘नामहीन सम्बन्धको प्रेम । आफ्नो भएर पनि आफ्नो भन्न नसकिने प्रेम । तिम्रो किताब छ नि ‘परास्त प्रेम’ ? हो त्यस्तै प्रेम हो यो । आफैभित्र हारेको ।’
राजाले मेरो किताबको नाम पनि सुनेका रहेछन् ।
‘महाराज, तपाईंको लीला पनि बुझिनसक्नु रहेछ ।’
‘यो मेरो होइन समयको लीला हो, मणि,’ उनले मलाई लेखक भनेनन् मणि भनेर सम्बोधन गरे । सायद मनले बोलेको हुनुपर्छ । राजाको अनुहार दुःखी देखियो ।


‘मेरो त पूरै जीवनलाई यौनमा लगेर जोडिदिए मानिसहरूले । त्यतिले नपुगेर हरेक वर्ष झ्याल्चा देखाउँछन् । अपमान सहनुको पनि त सीमा हुन्छ । मेरा प्रेम, मेरो इतिहास पाटनवासीले यौनकर्ममा सीमित गराइदिए ।’ राजा थप गम्भीर बने, ‘मैले गरेका राम्रो कामहरू पनि छन् । मैले पाटनमा मठमन्दिरहरू बनाए । गुबाजू र वैद्यहरूको व्यवस्था गरेँ । सबैलाई स्वस्थ र आयआर्जन गर्न सक्ने वातावरण निर्माण गरेँ । तर त्यतातिर कसैको ध्यान गएन । मात्र मेरो प्रेमको धज्जी उडाए । त्यसैलाई जात्रा मनाए,’ राजा योगनरेन्द्र मल्ल भावुक देखिए ।


आफ्नो दुवै हात अगाडि बढाएर उनले मेरो हात समाए । उनको आँखाबाट आसु झर्‍यो । उनको आँसु मेरो हातमा पर्‍यो— हात पोलेको जस्तो भयो । कस्तो तातो आँसु ।
‘आत्था ..’ म झस्किएँ ।
‘के भो ?’ उनले मलाई झक्झकाइन् । मेरो अघि राजा थिएनन् । उनी थिइन् ।
‘के भयो ?’ उनले सोधिन् ।
‘पोल्यो,’ मैले भने ।
‘के ले पोल्यो ?’ उनले फेरि सोधिन् ।
‘राजा योगनरेन्द्र मल्लको आँसुले,’ मैले भनेँ । उनी खिलखिलाएर हाँसिन्, ‘झ्याल्चा हेरेर तिमी फनि बहुलायौ ।’

प्रकाशित : भाद्र २८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?