२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

व्यक्ति : वालेस्टेइन 'लिगेसी'

पश्चिमाहरूले 'तिमीहरू पछौटे हौ, परम्परागत प्रविधि, राजनीतिक र संस्कार संस्कृतिका हिसाबले तिमीहरूभन्दा हामी विकसित छौं' भन्दै गरिआएको दावालाई वालेस्टेइनले 'तिम्रो विकास मूलतः शोषणमा आधारित हो' भनेर जोरी खोज्ने आधार तयार गरिदिए ।
नारायणी देवकोटा

 अगस्ट ३१ मा समाजशास्त्री चैतन्य मिश्रको किताब ‘लोकतन्त्र र आजको मार्क्सवाद’ को विमोचन थियो  । यो किताब आउनुअघिदेखि नै मिश्रले आफू युवा अवस्थाको हुँदा प्रभावित र लेखनमा केन्द्रित भएको सिद्धान्तबाट अल्लि पर फरक निर्णयमा पुगेको बताउँदै आएका थिए  ।

व्यक्ति : वालेस्टेइन 'लिगेसी'

त्यो अल्लि पर पुगेको विषय मुख्यतः मार्क्सवाद र मार्क्सवादभित्रको आधुनिक विश्वब्यवस्था सिद्धान्त दृष्टिकोण (मोर्डन ओर्ल्ड सिस्टम थ्यौरी पर्सपेक्टिभ) थियो । आधुनिक विश्व व्यवस्था सिद्धान्त दृष्टिकोणमा इमान्युवल वालेस्टेइनलाई आफूले गुरु मान्दै आएको कुरा मिश्रले अन्तर्वार्ताहरूमा भन्दै आएका छन् । त्रिवि समाजशास्त्र विभागमा एमफिल र पीएचडीको कक्षामा ह्वाइट बोर्डसँगै मिश्रले नै विश्वव्यवस्था सिद्धान्तका सिद्धान्तकारहरू एजी फ्रेंक, वालेस्टेइन, जिओभ्नी अरिघी र समीर अमिनको एउटा सानो फोटो झुन्डाएका छन् ।


संयोग नै भन्नुपर्ला चैतन्य मिश्रको नयाँ किताब काठमाडौंमा सार्वजनिक भएकै दिन वालेस्टेइनको मृत्यु भयो ।
इमान्युवल वालेस्टेइन मुख्य त मार्क्सवादी समाजशास्त्री हुन् । मानवसमाजको विकासको क्रममा भएको शोषणमाथि उनले गरेको व्याख्या समाजशास्त्रसहित इतिहास र अर्थशास्त्रका विद्यार्थीले पनि नपढी उनीहरूको शास्त्रको ज्ञान पूरा हुँदैन । उनी सन् १९३० सेप्टेम्बर २८ मा अमेरिकाको न्युयोर्कमा जन्मेका थिए । सन् १९५१ मा बीए पढ्न कोलम्बिया विश्वविद्यालय प्रवेश गरेका उनले सोही वर्ष अमेरिकी सेनामा जागिर सुरु गरेका थिए । अमेरिकी सैनिको जागिर र विद्यार्थी जीवनलाई अगाडि बढाइरहेका उनले आफ्नो एमएको थेसिसमा ‘म्याकार्थिज्म’ केस स्टडीको रूपमा राखे ।


अमेरिकी सामाजिक कार्यकर्ता जोसेफ म्याकार्थी (जो पनि सिनेटर पनि भए) ले चलाएको कम्युनिस्टविरोधी व्यवहारलाई म्याकार्थिज्म भनिन्थ्यो । शीतयुद्धको समयमा म्याकार्थिले अमेरिकाका विश्वविद्यालय, फिल्म र सरकारी संयन्त्रभित्र अलिकति आलोचनात्मक विचार राख्नेलाई कम्युनिस्ट, सोभियत जासुस, दलाल भनेर सामाजिक रूपमा बहिष्करण गर्ने अभियान उनले चलाएका थिए । यो अभियानलाई केस स्टडीको रूपमा राखिएको थेसिस र त्यसमा आधारित लेखले उनलाई निकै चर्चित बनायो । उनले आफ्नो वेवसाइटमा भनेका छन्, ‘उक्त लेख धेरै चर्चित र साइट भयो अनि मैले आफूलाई राजनीतिक समाजशास्त्रीको रूपमा केन्द्रित गर्नुपर्छ भन्ने सोच्न थालेँ ।’ उनले आफूलाई राजनीतिक समाजशास्त्री बनाउन चाहे पनि अमेरिकाको राजनीतिमा आफ्नो चासो नभएको र अमेरिका, युरोपबाहिरको दुनियाँको राजनीतिमा हाइस्कुलको विद्यार्थी हुँदादेखि चासो भएको त्यसमा पनि भारतका गान्धी र नेहरूलाई नजिकबाट नियाल्दै आएको बताएका थिए ।


उनी अन्तर्राष्ट्रिय युवा कंग्रेसमा हुँदादेखि अफ्रिकी नेताहरूको संगतमा पुगे, जुनबेला अफ्रिकी देशहरूमा स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो । यसपछि उनले आफूलाई अफ्रिकाको विषयमा केन्द्रित गरे । १९५५ मा फोर्ड फाउन्डेसनले दिने पीएचडीको अफ्रिकन फेलोसिप पाए । उनले आइभेरिकोस्ट र गोलकोस्टमा भएको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा केन्द्रित भएर अध्ययन गरे । पीएचडीपछि १९५८ मा कोलम्बिया विश्वविद्यालयमै प्रध्यापन गर्न थाले । १९५५ पछिको २० वर्षमा उनले पूरै अफ्रिका घुमे र धेरै किताब लेखे ।


१९७१ मा उनी क्यानडाको म्याकगिल विश्वविद्यालयमा प्राध्यापक भएर गए । म्याकगिलमा हुँदा नै उनी अफ्रिकी समाजको अध्ययन गर्ने अफ्रिकन स्टडिज एसोसिएसनको अध्यक्षसमेत भए । उनी १९७० देखि कथित तेस्रो विश्व आफ्नै असक्षमताको कारण नभई नियमित शोषणका कारणले पछि परेको हो भन्ने निष्कर्षमा पुगेका थिए । १९७४ मा उनको ‘मोर्डन वर्ल्ड सिस्टम’ को पहिलो भोलुम र त्यसमा नै आधारित ‘द राइज एन्ड फ्युचर डेमिस अफ वर्ल्ड क्यापिटालिज्म ः कन्सेप्ट फर कम्पाराटिभ एनालिसिस’ लेख प्रकाशित भयो । जसले उनलाई संसारभर राजनीतिक र प्राज्ञिक दुवै रूपमा चिनायो । त्यसपछिका दिनहरूमा उनले ‘मोर्डन वर्ल्ड सिस्टम’ का चार भागसम्म लेखे । जसमा युरोप र अमेरिकाको वैभव खासमा लुटमा आधारित हो भन्ने विषयमा केन्द्रित थियो ।


१९७६ मा उनी न्युयोर्कस्थित् विङ्घमटन विश्वविद्ययालयको फर्नान्ड ब्राउडेल (जर्मन समाजशास्त्र) सेन्टर फर द स्टडी अफ इकोनोमीको प्रमुख भए र सन् १९९९मा रिटायर्ड नहुँदासम्म विङ्घमटन विश्वविद्यालयमा समाजशास्त्रका प्राध्याकमको रूपमा काम गरिरहे । विङ्घमटन विश्वविधालयको प्राध्यापक हुँदा नै १९९४ देखि १९९८ सम्म अन्तर्राष्ट्रिय समाजशास्त्र संघको प्रमुख भए । २००० मा रिटायर्ड भएदेखि उनी याले विश्वविद्यालयमा वरिष्ठ अनुसन्धाताको रूपमा कार्यरत थिए । २८ वर्षको उमेरमा प्राध्यापक भएका वालेस्टेइन ६१ वर्षसम्म प्राध्यापन र लेखनमा नियमित सक्रिय थिए । दर्जनभन्दा बढी जर्नलको सम्पादन, बीसभन्दा बढी प्राज्ञिक संस्थासँगको आबद्धता, बीसौं विश्वविद्यालयमा लेक्चरर र प्रोफेसर भएका उनका इतिहास र समाजशास्त्रमा चार सयभन्दा बढी लेख प्रकाशित छन् । १९९८ को अक्टुबरदेखि उनले विभिन्न विषयमा हरेक महिनाको एक र १५ तारिखमा नियमित कमेन्ट्री लेख्थे । जुलाई १ तारिखमा उनले आफ्नो अन्तिम अर्थात् ५०० औं कमेन्ट्री ‘दिस इज द इन्ड ! दिस इज द बिगिनिङ !’ शीर्षकमा कोही पनि सधैं बाँचिरहन सक्दैन भन्दै आफूले पनि लेखिरहन नसक्ने बताएका थिए ।


विश्वव्यवस्था सिद्धान्तलाई धेरैले आधुनिकता सिद्धान्तको आलोचनामा आएको मान्छन् । यसलाई धेरै हदसम्म सही मान्न सकिन्छ । आधुनिक हुनु भनेको पुँजी र प्रविधिमा अगाडि हुनु, लोकतन्त्र भनेको निश्चित समयमा निर्वाचन हुनु र पश्चिमा संस्कृतिलाई मान्नु हो भनेर लामो समयदेखि समाजविज्ञहरूले भन्दै आएका थिए । संसारभर उपनिवेशविरुद्ध स्वाधीनताको लडाइँले जितेपछि पनि पश्चिमाहरू आफैँले शोषण गरिरहेका मुलुकमा नयाँ ढङ्गले हैकम जमाउँदै अगाडि बढिरहेका, उपनिवेशबाट निस्कँदै गरेका मुलुकलाई अविकसित, अल्पविकसितजस्ता लेबल लगाएर । विश्वव्यवस्था सिद्धान्तले पश्चिमा समाजविज्ञद्वारा स्थापित समाज विकासको परम्परागत र आधुनिक वा पछौटे र विकसित भन्दै गरिएको व्याख्यालाई तर्क र तथ्य मार्फत खण्डन गर्‍यो । र, नयाँ सोच प्रदान गर्ने काम गर्‍यो । त्यसको ठाउँमा यसले समाज विकासको प्रक्रियामा पछि परेका मुलुकहरू आफ्नै असक्षमताका कारण नभई अर्को मुलुकसँगको असमान शक्तिसम्बन्ध र अर्को मुलुकले गरेको शोषणको कारण पछि परेको निष्कर्ष निकाल्यो ।


वालेस्टेइनका यी दुई लेख र किताब भर्खरै युरोपको शोषणबाट मुक्त भएका मुलुकहरूका राजनीतिज्ञका लागि वैचारिक आधारका रूपमा खडा भए । उपनिवेशको कहर भोगेका राजनेता र समाजविज्ञहरूको हकमा उनको किताब धेरै हदसम्म सही सत्य कुरा थिए । उनी आफैँले पनि ‘मोर्डन वर्ल्ड सिस्टम’ किताब सिद्धान्तभन्दा बढी सत्यको खोज भएको बताएका थिए । यही सत्यको खोजले उनलाई विश्वभर चिनाउने काम गर्‍यो ।


समाजशास्त्रभित्र विश्व व्यवस्था सिद्धान्तलाई ‘नियो मार्क्सिस्ट’ दृष्टिकोणको रूपमा वालेस्टेइनसँगै जर्मन समाजशास्त्री अल्फ्रेड गुन्डर फ्रेंकको परनिर्भरताको सिद्धान्तसँगै पढिन्छ । विश्व व्यवस्था सिद्धान्तको निर्माण वालेस्टेइनले गर्दै गर्दा फ्रेंकले आफ्नो किताब ‘रिओरिएन्ट ः ग्लोबल इकनमी इन एसियन एज’ मा पुँजीवादको विकासलाई १६ शताब्दीपछि मात्र अध्ययन गर्नुभन्दा दुई हजार वर्षअगाडि लैजान पर्नेमा जोड दिएका छन् । फ्रेंकको परनिर्भरताको सिद्धान्त र उनको प्रभावशाली लेख ‘इन्टडक्सन टु रियल वर्ल्ड हिस्टोरी भास युरोसेन्ट्रिक सोसियल थ्योरी×’ मा वालेस्टेइनको व्याख्या गरेको समयलाई तन्काएर १८ सय वर्षअगाडिको एसियाको वैभवको कुरा अगाडि बढाएका छन् । समीर अमिनले धनी देशबाट हुने शोषणबाट बच्न गरिब मुलुकले उनीहरूसँगको सम्बन्ध तोड्नुपर्नेमा जोड दिए ।

समाजशास्त्र अध्ययनका हाम्रा गुरु चैतन्य मिश्रको ‘विश्व व्यवस्था सिद्धान्त’ प्रति झुकाव रहेकाले नेपालको समाजशास्त्र अध्ययनमा यो सिद्धान्तले गहिरो गरी जरो गाडेको छ । चैतन्य मिश्रको लेख ‘डेभलपमेन्ट एन्ड अन्डरडेभलपमेन्ट ः अ प्रेरिलिमिनरी सोसियलजिकल पर्स्पेक्टिभ’ र त्यसपछिका धेरै लेखमा नेपाल सुगौली सन्धिपछि इस्ट इन्डिया कम्पनी त्यसपछि पनि ब्रिटिस भारत र स्वतन्त्र भारतसँगको शताब्दी लामो व्यापार घाटा र शोषणका कारण पछि परेका निष्कर्षहरू ठाउँठाउँमा पाउन सकिन्छ । मानवशास्त्रका प्राध्यापक डोरबहादुर विष्टको किताब ‘फेटालिज्म एन्ड डेभलपमेन्ट ः नेपाल्स स्ट्रगल फर मोडर्नाइजेसन’ मा नेपाल पछाडि पर्नुको मुख्यका कारण बाहुनवाद हो भन्ने मुख्य निष्कर्ष छ । यी दुई प्राध्यापकले मानेका कारण खासगरी कम्युनिस्ट विचारसँग निकट विद्यार्थीहरू ‘विश्व व्यवस्था सिद्धान्त’ का पक्षधर हुनु स्वाभाविक पनि भयो ।


सन् १९८० मा प्रकाशित भएको डभिड सेडन, जोन क्यामरुन र पीएम ब्लाइकीले लेखेको ‘नेपाल इन क्राइसिस’ ले झन् नेपालका मार्क्सवादीहरू प्राज्ञ र राजनीतिज्ञहरूमा गहिरो छाप छोड्न सफल भएको थियो । जुन बुटवलदेखि नारायणघाट, पोखरादेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको सडक निर्माणपछि सञ्जालले नेपालमा कत्तिको विकास भयो भनी बेलायत सरकारले अध्ययन गर्न पठाएका पाँज जना अनुसन्धानकर्मीले बेलायत सरकारलाई बुझाएको रिपोर्टका आधारमा लेखिएको थियो । तीमध्येका तीन जनाले किताब लेखेका थिए ।


किताबमा उक्त सडकको निर्माणले नेपालमा विकासभन्दा बढी परनिर्भरता बढेको कुरालाई मसिनो गरी उल्लेख गरिएको छ । कसरी नवलपरासीमा राजमार्ग छेउमा बस्तीहरू बसे र यिनका कारण नेपालका परम्परागत व्यापारी नेवारहरूको व्यापार घटेर भारतीय माडवाडीहरूको हातमा गयो भन्ने पुस्तकमा उल्लेख गरिएको छ । कसरी पुराना मुख्य बजारहरू (पाल्पा, बन्दीपुर) सुनसान भए र सडकको सञ्जालपछि डुम्रे–दमौली गुल्जार भए भन्ने पनि यसमा छ । अन्नमा आत्मनिर्भर नेपाल उक्त सडकको निर्माणपछि भारतप्रति निर्भर भए भन्ने कुरा उनीहरू जोडेका छन् । तत्कालीन पञ्चायत सरकारले प्रतिबन्ध लगाएपछि किताब झन् चर्चित भएको लेखकहरूको भनाइ छ । माओवादी द्वन्द्वकालमा पनि यो किताब राख्नेलाई सुरक्षाकर्मीले दुःख दिने गरेको थियो ।


फेरि वालेस्टेइनतिरै फर्किउँ । पश्चिमाहरूले ‘तिमीहरू पछौटे हौ, परम्परागत प्रविधि, राजनीतिक र संस्कार संस्कृतिका हिसाबले तिमीहरूभन्दा हामी विकसित छौं’ भन्दै गरिआएको दावालाई वालेस्टेइनले ‘तिम्रो विकास मूलतः शोषणमा आधारित हो’ भनेर जोरी खोज्ने आधार तयार गरिदिए । जसले कथित् तेस्रो भनिने विश्वका राजनीतिक नेता र समाजविज्ञलाई आत्मविश्वास बढाउने काम गर्‍यो भन्दा फरक नपर्ला । त्यो साथसाथै उनी एक प्रतिबद्ध प्राध्यापक थिए जो लगातार ६१ वर्षसम्म प्राज्ञिक कर्ममा लागिरहे । इतिहास भनेको घटनाहरूको संग्रह मात्रै होइन भनेर लगातार प्राज्ञिक पैरवी गरिरहे ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?