अनुभूति : त्यो झरिलो दिन...

बुबा अघिल्लो दिन मात्र घर आउनुभएको थियो । त्यसैले खासै कुरा हुन पनि पाएको थिएन । भोलिपल्ट बिहान मेरो परिवारका लागि भने औंसीको चकमन्न रात बनेर उदायो । कसैले भनिरहेको थियो, ॅतिम्रो बुबालाई अहिले भर्खरै माओवादीहरूले गोली हानेर मारे ।’
नीरु राजवंशी

गत हप्ता कुशेऔंसीको दिन सामाजिक सञ्जालका भित्ताहरू पिताहरूका तस्बिरले रंगिए  । त्यो हेर्दा सन्तानहरूले वर्षभरि अरू दिन जे जसो गरे पनि बुबाको मुख हेर्ने दिनचाहिँ वर्षभरिको माया एकै दिन पोखेजस्तो लाग्थ्यो  ।

अनुभूति : त्यो झरिलो दिन...

मलाई भने यो तिथि कहिल्यै पनि नआओस्जस्तो लाग्छ । किनभने मैले कलिलै उमेरमा मेरो बुबालाई गुमाएकी थिएँ । मलाई थाहा छ यसो भन्दा म एकदमै स्वार्थीजस्तो सुनिन्छु होला । हुन त पिताको अभाव सन्तानलाई सधैं खट्किन्छ । तर जन्मदाताको मृत्यु देखेका सन्तानहरूका लागि कुशेऔंसी कति नमज्जाको दिन हो भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । उनीहरूका लागि त्यो दिन अरूभन्दा भारी हुन्छ । त्यो दिनको हरेक सेकेन्ड एक घण्टा जसरी अघि बढ्छ । हरेक मिनेटमा सेकेन्डमा साठी मात्र हुँदैन अनि एक घण्टामा पनि साठीभन्दा कति हो कति बढी मिनेट हुन्छ । पिताविहीन सन्तानका लागि कुशेऔंसी पर्व हैन पीडा भएर आउँछजस्तो मलाई लाग्छ ।

म त्यतिबेला सानै थिएँ, कक्षा नौमा पढ्थें । भदौ महिनाको अन्तिम दिन । म स्कुल जान तयार हुँदै थिएँ । हाम्रो घर मूल सडकभन्दा करिब दुई सय मिटर भित्र थियो । त्यही सडकतिरबाट केही ढ्वांग पड्किएको आवाज आयो । केटाकेटीहरूले केही पड्काएका होलान् भनेर मैले खासै वास्ता गरिनँ । त्यसको दस–पन्ध्र मिनेटमा एम्बुलेन्सको चर्को आवाज वातावरणमा गुन्जियो । आवाजसँगै मेरो आँखा मूल सडकमा पर्‍यो । १६ वर्षअघि हाम्रो एरियामा अहिलेको जस्तो धेरै घर थिएनन् । त्यसैले हाम्रो घरबाटै मूल सडकमा कुदेका गाडीहरू सजिलै देखिन्थे । मैले देखें बाटोमा मानिसको भीड लागेको छ । सोचें, कुनै दुर्घटना भयो होला । स्कुल जानु थियो, कपाल कोर्न थालें । मैले देखें— त्यो मानिसको हूल हाम्रै घरतिर सोझियो । म स्कुल ब्याग टिपेर गेट पार गर्न लागेकी थिएँ, कसैले भनेको एउटा यस्तो वाक्य मेरो कानमा आएर ठोक्कियो, अचानक मैले टेकेको धरती भास्सियो । आकाश मेरै टाउकोमाथि खसेजस्तो भयो । त्यसपछि मेरो चेतना लुप्त भयो । मलाई केही पनि होसहवास रहेन । मेरो बुबा राष्ट्रिय अनुसन्धान विभागमा अधिकृतको रूपमा जागिरे हुनुहुन्थ्यो । त्यो बेला उहाँको पोस्टिङ धरानमा थियो । अघिल्लो दिन मात्र घर आउनुभएको थियो । त्यसैले खासै कुरा हुन पनि पाएको थिएन । भोलिपल्ट बिहान मेरो परिवारका लागि भने औंसीको चकमन्न रात बनेर उदायो । कसैले भनिरहेको थियो, ‘तिम्रो बुबालाई अहिले भर्खरै माओवादीहरूले गोली हानेर मारे ।’

सुनाउने मान्छेका लागि त्यो एउटा खबर मात्र थियो । म र मेरो परिवारका लागि त्यो हिरोसिमा र नागासाकीमा खसालिएको फ्याट म्यान वा लिटल ब्वाईभन्दा कम थिएन । त्यो मानिसले भनेझैं बुबा मरिसक्नुभएको थिएन । त्यही हल्ला गर्दै आएको एम्बुलेन्समा उहाँलाई भद्रपुर अस्पताल लगियो । त्यहाँबाट सिलिगुडी रेफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि अन्ततः उहाँलाई सेनाको हेलिकप्टरबाट काठमाडौं पुर्‍याइयो । बुबा बहादुर हुनुहुन्थ्यो । भदौ ३१ गते गोली खाएर ढलेर पनि उहाँ असोज ४ गतेसम्म मृत्युसँग लडिरहनुभयो । तीन दिनको कोमाबाट अन्ततः उहाँले हामीलाई छाडेर जानुभयो । मलाई अझै सम्झना छ, त्यो दिन झमझम पानी परिरहेको थियो । हामी सानो छँदा बेलाबेला बुबाले भन्नुहुन्थ्यो, ‘म जन्मिँदा खुब पानी परेको थियो रे । मेरो बिहेमा पानी परेको थियो । हेरिराख्नू, म मरेको दिन पनि खूब धेरै पानी पर्छ ।’ कस्तो नमीठो संयोग ! नभन्दै त्यस दिन मुसलधारे पानी पर्‍यो ।

त्यस घटनाको अर्को नमीठो
संयोग के भने, बुबाको १३ औं दिन सकिएको भोलिपल्ट नै त्यस सालको दसैंको टीका थियो । आज १६ वर्ष बितिसक्दा पनि मलाई लाग्छ— दसैं कहिल्यै नआओस् । दसैंले अरूको घरमा हर्षोल्लास र उमंग ल्याउँछ भने मेरो घरमा ल्याउँछ केवल शून्यता र एकांकीपन । बुबाको अभाव, जुन कहिल्यै पनि पूरा हुन सक्दैन । त्यसैले दसैं बिदामा घर गएको बेला सधैंजस्तै म प्रायः घरमै बस्ने र एकदमै सीमित आफन्तकहाँ जाने हुनाले गाउँघरमा के बितिरहेको छ भन्ने मलाई खासै थाहा पनि हुँदैन ।

हामी अक्सर आमाको मात्रै महिमा गान गर्छौं । कथा कविता र श्लोकहरू पनि आमाकै नाममा धेरै बनेका हुन्छन् ।

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवती ।’

त्यस्तो बेला बाबुको भूमिका छायामा पर्ने गर्छ । तर सन्तानका लागि बाबुको भूमिका पनि उत्तिकै हुन्छ । आमा धरती हुन् भने बाबु पनि त्यो विशाल आकाश हुन् जसले दिने संरक्षण र भरोसा अरू कसैबाट पाउन सम्भव हुन सक्दैन । मेरो बुबाले मलाई सधैं पढ्न प्रेरित गर्नुहुन्थ्यो । छोरी मान्छे भएर होला अलि नक्कलझक्कलमा मन लगाउँदा उहाँ भन्नुहुन्थ्यो, ‘नक्कलझक्कल पनि पढेको मान्छेलाई बढी सुहाउँछ छोरी ।’

समग्रमा मैले उहाँलाई जहिले पनि एउटा आदर्श पिताको रूपमा नै मात्र सम्झिन्छु । हरेक छोरीहरूका लागि जस्तै उहाँ मेरा लागि पनि सुपर हिरो नै हुनुहुन्थ्यो । भनिन्छ— हरेक छोरी मानिसले आफ्नो जीवनसाथीको कल्पना गर्दा कहीं न कहीं आफ्नो पिताको झल्को खोज्छन् रे । हो म पनि मनमनै कल्पना गर्छु, कम्तीमा दुई–चारवटा गुण त मेरै पिताका जस्तो भएको पति परोस् ।

१४ वर्षको उमेरमै बुबालाई गुमाउनुको पीडालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । त्यो दसवर्षे कथित जनयुद्ध हाम्रा लागि बिर्सनलायक तर केही गरे पनि बिर्सन नसक्ने कालखण्डको रूपमा रहेको छ । अझ मजस्ता त्यसको प्रत्यक्ष मारमा परेकाहरूका लागि त झनै कालो खण्ड । त्यस अवधिमा १७ हजारले ज्यान गुमाए । कति घाइते र बेपत्ता पारिए । कैयौं परिवार विस्थापित भए । तर त्यसको परिणाम के भयो ? के त्यस बेला माओवादीले ठोकुवा गरेजस्तो परिवर्तन देशमा भयो त ? अनाहकमा मेरा पितालगायत अरू धेरैले ज्यान गुमाए, कति बालबालिका टुहुरा भए, कैयौं आमाको काख रित्तियो, थुप्रै पत्नीको सिन्दूर पखालियो ।

ती सबका बाबजुद देशको अवस्था भने दिनदिनै झनै जीर्ण हुँदै गएको छ । मेरो बुबाको अनाहकमा ज्यान गयो भन्ने कुरालाई स्विकार्नुको कुनै विकल्प मसँग छैन । तर मान्छे मारेर परिवर्तन ल्याउँछौ भन्नेहरू आजसम्म पनि सत्ताका लागि लुछाचुँडी गरिरहेको देख्दा बेलाबेला मेरो मन उद्वेलित हुन्छ । त्यतिका मान्छे मरे, तर खै त बाँचेकाहरूले ढुक्कसँग बाँच्न पाएको ?

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?